
आधारात्मक बाइबल शब्दावली २
डेविड क्लाउड
शरीर
“शरीर” (flesh) भन्ने शब्दलाई नयाँ नियममा चार फरक-फरक अर्थमा प्रयोग गरिएको छ
- मानिस लगायत पशुका शरीर (लूका २४:३९; १ कोरिन्थी १५:३९)
- सामान्यरूपमा मनुष्य जाति (मत्ती २४:२२; १ कोरिन्थी १:२९)
- मानव स्वभावको दुर्बलता (मत्ती २६:४१)
- पतित, पाप स्वभाव (रोमी ७:१८; ८:१२-१३; गलाती ५:१६-२४; कलस्सी २:११)। शरीरलाई पुरानो मानिस पनि भनिन्छ (एफेसी ४:२२; कलस्सी ३:९)।
ख्रीष्टियन जीवनमा शरीरको बारेमा पाठहरू (गलाती ५:१६-२४)
- हामीले मुक्ति पाइसकेपछि पनि शरीर हामीसँगै हुन्छ। ख्रीष्टियनसँग दुईटा “स्वभावहरू” हुन्छन्: शरीर र आत्मा (गलाती ५:१६)।
- शरीरचाहिँ भित्रपट्टि बास गरिरहेको शत्रु हो (गलाती ५:१७)। परमेश्वरले ख्रीष्टियनभित्र शरीर छोडिराख्नुभएको छ, हामीलाई रूप देखेर होइन तर विश्वासद्वारा हिँड्नुपर्छ भनी सिकाउनलाई।
- शरीर यही जीवनमा निर्मूल हुँदैन। पापरहित सिद्धता यस जीवनमा हुँदैन। दाँज्नुहोस्, १ यूहन्ना १:८,१०। नयाँ नियमका पत्रहरूमा पापको समस्याको समाधानस्वरूप “आत्माको बप्तिस्मा” को अनुभव वा “पूर्ण पवित्रता” जस्ता कुरालाई कहिल्यै प्रस्तुत गरिएको छैन। १ पत्रुस २:१-२ लाई विचार गर्नुहोस्। पत्रुसले पापको समस्याको चर्चा गर्दैछन्, तर उनले त्यहाँ कुनै पनि त्यस्तो पापरहित सिद्धताको सम्भावना भएको कुरा बताउँदैनन्। बरु, उनले विश्वासीलाई आत्मिक रूपमा बढ्ने प्रक्रियाको रूपमा पापलाई एकातिर पन्साउनुपर्छ र परमेश्वरको वचनलाई ग्रहण गर्नुपर्छ भनेर बताउँछन्।
- एक ख्रीष्टियनले कि त शरीरमा कि त आत्मामा हिँड्नलाई रोज्दछ (गलाती ५:१६)। अनि यो दैनिक रोजाइको कुरा हो।
- शरीरका दुईटा पक्षहरू छन्: ओहोदा (गलाती ५:२४) र अभ्यास (गलाती ५:२५)। यस कुरालाई हामीले ओहोदा र अभ्यास भन्ने पाठमा चर्चा गरेका छौं।
शरीरमाथि विजयी कसरी भइन्छ?
- हामीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्माको नियन्त्रणमा आफूलाई सुम्पेर शरीर वशमा ल्याइन्छ (गलाती ५:१६)।
- आत्माका कुरामा मन लगाएर शरीर वशमा ल्याइन्छ (रोमी ८:५)।
- शरीरका लागि प्रबन्ध नगरेर त्यसलाई वशमा ल्याइन्छ (रोमी १३:१४)। परीक्षा ल्याउने ठाउँहरू लगायत परीक्षा दिने कुराहरूदेखि पर बस्नुहोस्।
- शरीरका लागि छर्नुको सट्टा आत्माका निम्ति छरेर शरीर वशमा ल्याइन्छ (गलाती ६:८)।
धर्मीकरण
धर्मीकरण (justification) को माने “धर्मी ठहराउनु” वा “धर्मी भनी घोषणा गर्नु” हो (रोमी ३:२४)। धर्मीकरण परमेश्वरबाटको घोषणा हो र जस-जसले येशू ख्रीष्टमाथि भरोसा राख्छन् तिनीहरू उहाँका सामु सिद्ध रूपमा धर्मी गनिन्छन्।
धर्मीकरण एक कानूनी अवधारणा हो, जसरी जब एक न्यायधीशले आफ्नो फैसला सुनाउँछ। परमेश्वर नै सर्वोच्च न्यायधीश हुनुहुन्छ। उहाँकै नियमहरू हामीले तोडेका थियौं। मुक्ति पाउनुअघि परमेश्वरले मलाई एक दोषी पापी भनेर घोषणा गर्नुहुन्छ। म ख्रीष्टकहाँ आएपछि ख्रीष्टले मेरो निम्ति कलवरीमा सम्पन्न गर्नुभएको उद्धार-कार्यको कारणले परमेश्वरले मलाई धर्मी भनेर घोषणा गर्नुहुन्छ।
धर्मी ठहरिनु भनेको परमेश्वरको सामु एउटा नयाँ आत्मिक ओहोदामा ल्याइनु हो (रोमी ५:१-२)। विश्वासी अब उसो आदमको श्रापित घरानासँग आवद्ध रहन्न, बरु उसले ख्रीष्टिको आशिषमय घरानाभित्र प्रवेश पाएको हुन्छ।
रोमी ३:२४ अनुसार धर्मीकरण कलवरीमा ख्रीष्टले तिरिदिनुभएको ठूलो मूल्यले प्रबन्ध गरिएको परमेश्वरको अनुग्रहको सित्तैंको वरदान हो।
उद्धार
उद्धार (redemption) को माने किनिएर स्वतन्त्र पारिनु हो। यसले त्यो कार्यलाई बयान गर्दछ जहाँ एकजना दासलाई स्वतन्त्र पारिनका लागि उसलाई बजारबाट किन्ने काम गरिन्छ। “उद्धार” भनेर अनुवाद गरिएका त्यहाँ तीनओटा ग्रीक शब्दहरू छन् जसले ख्रीष्टमा भएको हाम्रो मुक्तिलाई अति सुन्दररूपमा दर्शाउने काम गर्दछन्।
आगोराजोको माने बजारमा किन्नु हो। यो शब्द मत्ती १३:४४,४६ लगायत अन्य ठाउँमा सामान्यरूपमा प्रयोग भएको छ। मुक्तिको सवालमा चाहिँ, आगोराजो विभिन्न ठाउँहरूमध्येमा १ कोरिन्थी ६:२०, ७:२३ र प्रकाश ५:९ मा प्रयोग भएको छ। आगोराजोले प्रभु येशू ख्रीष्टले हाम्रो घिनलाग्दो पापले गर्दा आवश्यक परेको त्यो भयङ्कर मूल्य चुक्ता गर्नुभएको कामलाई दर्शाउँदछ। येशू ख्रीष्ट यस पतित संसारको पापको दास-बजारमा आउनुभयो र आफ्नो रगत र मृत्युद्वारा मानिसहरूलाई छुटकारा दिनलाई पूरै मूल्य तिर्नुभयो।
एक्सागोराजोको माने बजारबाट किनेर निकाल्नु हो। माथिको शब्द “आगोराजो” को अगाडि “एक्स” (“बाट बाहिर”) भन्ने नामयोगी उपसर्ग जोडिएर यो शब्द बनेको छ। येशूले केवल छुटकाराको दाम तिर्नुभएको मात्र होइन, उहाँले विश्वास गर्ने पापीलाई दण्डको आज्ञाबाट र शैतानको प्रभुत्वबाट पूरै हटाएर निकाल्ने काम गर्नुभएको हो।
लुट्रोओको माने फुकाउनु छुटाउनु, फुक्का गराउनु हो। यस शब्दले यस कुरामा जोड दिन्छ कि परमेश्वरले विश्वासीलाई दिन प्रति दिन पाप, शैतान र संसारमाथि विजय बनाउनुहुन्छ। हामी किनिएका हौं, बाहिर निकालिएका हौं, र ख्रीष्टमा आत्मिक स्वतन्त्रता र विजयको नयाँ जीवन जिउनका लागि फुक्का गरिएकाहरू हौं। लुट्रोओ तीतस २:१४ लगायत अन्य ठाउँमा प्रयोग भएको छ।
प्रायश्चित
पुरानो नियममा “प्रायश्चित” भनी अनुवाद गरिएको हिब्रू शब्द “काफार” को माने हो “ढाक्नु”। यसलाई प्रथम पटक उत्पत्ति ६:१४ मा प्रयोग गरिएको छ जहाँ नूहलाई जहाजको भित्र र बाहिरपट्टि अलकत्राले “लिप्सनू” भन्ने निर्देशन दिइएको थियो। अन्य ठाउँमा यस हिब्रू शब्दलाई “प्रायश्चित” भनी अनुवाद गरिएको छ। यो धेरैपटक प्रस्थान र लेवीमा पशु बलिदानहरूलाई जनाउन प्रयोग भएको छ (जस्तै प्रस्थान ३०:१०)। ती बलिदानले पापलाई हरण गर्न सक्दैनथे, तर साङ्केतिक रूपमा तिनले येशूलाई दर्शाउँदैथिए जसले आफ्नो बहाइएको रगतले पापलाई हटाउनुभएको छ (हिब्रू १०:११-१४)। “काफार” लाई “कृपा आसन” भनेर पनि अनुवाद गरिएको छ (प्रस्थान ४०:२०)। कृपा आसनले दस आज्ञा भएको सन्दुकलाई सिद्ध रूपमा ढाक्ने काम गर्थ्यो जुन कुराले परमेश्वरको व्यवस्थाका मागहरूलाई परमेश्वरको अनुग्रहले ढाक्दछ वा पूरा चुक्ता गर्दछ भनेर सङ्केत दिँदैथियो।
नयाँ नियममा “प्रायश्चित” भनी अनुवाद गरिएको ग्रीक शब्द “हिलास्मोस्” को माने ऋण चुक्ता गर्नु (satisfaction of debt), दायित्व पूरा गर्नु हो। यसले त्यो मूल्यलाई जनाउँदैछ जनु ख्रीष्टले तिर्नुभयो, जसको ऋण पापीले परमेश्वरको पवित्र व्यवस्था भङ्ग गरेकोले तिर्नु आवश्यक थियो (रोमी ३:२४-२५; १ यूहन्ना २:२)। व्यवस्था भङ्ग गरेकोले पापीले परमेश्वरलाई तिर्नुपर्ने ऋण ठूलो छ, यहाँ सम्म कि उसले कुनै हालतले त्यो तिर्न सक्दैन। येशू ख्रीष्टले, क्रूसमा भएको उहाँको मृत्युद्वारा, विश्वासीका लागि उक्त ऋणलाई पूरै तिरिदिनुभयो। उहाँले ऋणलाई प्रायश्चित गरिदिनुभयो। यो ग्रीक शब्दलाई “कृपा आसन” भनेर पनि अनुवाद गरिएको छ। जसरी कृपा आसनले सन्दुकभित्र रहेको व्यवस्थालाई पूरै ढाकेको हुन्थ्यो (प्रस्थान २५:१७,२१), त्यसरी नै ख्रीष्टले परमेश्वरको व्यवस्थाका मागहरूलाई पूरै ढाकिदिनुभयो र सन्तुष्ट पार्नुभयो। महापूजाहारीले कृपा आसनमा छर्केको रगतले ख्रीष्टको रगतलाई दर्शाउँदैथियो, जुनचाहिँ प्रायश्चितको दाम थियो (लेवी १६:११-१७)।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।