आधारात्मक बाइबल शब्दावली भाग ३

आधारात्मक बाइबल शब्दावली भाग ३
डेविड क्लाउड
मिलाप (RECONCILIATION)
शत्रुताको सट्टा मित्रतामा परिवर्तित हुनु; सम्बन्ध पुनःस्थापित गर्नु (मत्ती ५:२४; १ कोरिन्थी ७:११)। मानिसले परमेश्वरको आज्ञा तोडेर उहाँलाई क्रोधित तुल्याएको थियो तर ख्रीष्टको बलिदानद्वारा पवित्र परमेश्वरसँग विश्वास गर्ने पापीहरू उहाँसित मिलाप गराइन्छन् (२ कोरिन्थी ५:१८-१९)। विश्वास गर्नु अघि हामी उहाँका शत्रु हुन्छौं; विश्वास गरेपछि उहाँसँग हाम्रो मिलाप हुन्छ।
गन्नु, ठहर्याउनु (IMPUTATION)
कसैको हिसाबमा राखिदिनु, ठान्नु, कसैलाई दोषारोपण गर्नु। योचाहिँ कसैको बैङ्क खातामा पैसा जम्मा गरिदिनु जस्तै हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका लागि परमेश्वरले यस्तै गरिदिनुहुन्छ। ख्रीष्टको धार्मिकता ख्रीष्टियनको हिसाबमा राखिन्छ (रोमी ४:६-९, २२-२५)।
धर्मपुत्र ग्रहण (ADOPTION)
यस नयाँ नियमको शब्दको माने पुत्रको रूपमा परिवारमा स्थापित गर्नु भन्ने हो। कुनै धनी मानिसले कुनै टुहुरालाई छनोट गरी उसलाई सम्पूर्ण अधिकारसहित आफ्नो वैधानिक पुत्र र हकवाला बनाउने कुरा हो यो। यो शब्द ख्रीष्टमा भएको मुक्तिको बयान गर्नलाई प्रयोग गरिएको छ (रोमी ८:१५; गलाती ४:५; एफेसी १:५)।
विश्वासीहरू परमेश्वरका धर्मपुत्र भइसकेका छन् तरैपनि हामीले आफ्नो पुत्रत्वका सबै आशिषहरू उपभोग गर्न अझै बाँकी छ (१ यूहन्ना ३:१-२)। बौरिउठाइपछि मात्र हामीले नयाँ शरीरहरू प्राप्त गर्नेछौं र पिताको अनन्त राज्यको धनको भरपूरिलाई उपभोग गर्नेछौं। हामी यस अर्थमा आशाको रूपमा हाम्रो धर्मपुत्र ग्रहणको बाटो हेर्दछौं (रोमी ८:२३)।
“नयाँ जन्म” / “नयाँ सृष्टि” (REGENERATION)
नयाँ जन्मको माने आत्मिक रूपमा नयाँ बनाइनु हो। नयाँ नियममा यो शब्दावली दुई पटक मात्र प्रयोग भएको छ।
- पापीहरूले जब येशू ख्रीष्टमा विश्वास गर्दछन् तब उनीहरू नयाँ बनाइन्छन् (तीतस ३:५)। यसले नयाँ जन्मलाई जनाउँदछ।
- ख्रीष्ट जब फेरि आउनुहुनेछ तब इस्राएल जाति नयाँ बनाइनेछन् (मत्ती १९:२८)।
पवित्र, पवित्र बनाउनु (HOLY, SANCTIFY)
“पवित्र” को माने के हो?
“पवित्र” को आधारभूत माने परमेश्वरको उद्देश्यका लागि अलग गरिएको भन्ने हो (लेवी २०:२६)।
मानिसहरू बाहेक अरू कुराहरूलाई पनि “पवित्र” भनेर उल्लेख छ: भूमि (प्रस्थान ३:५), विश्राम दिन (प्रस्थान १६:२३), हारूनका वस्त्रहरू (प्रस्थान २८:२), भेट हुने पालको वेदी (प्रस्थान २९:३७)। तसर्थ, पवित्र पार्नु भनेको शुद्ध पार्नु वा धर्मी बनाउनु नै भन्ने अर्थ सधैं नलाग्न सक्छ। हारूनका वस्त्रहरू आफैमा शुद्ध वा पापरहित थिएनन्। ती केवल परमेश्वरको सेवाका निम्ति अलग गरिएका थिए। पोथ्रामा परमेश्वरको उपस्थिति आउँदा र मोशाले आफ्ना जुत्ता फुकाल्दा, मोशा उभिएको पवित्र भूमि पाप हटाइएको अर्थमा शुद्ध पारिएको थियो भन्ने त होइन। उक्त भूमि परमेश्वरको उपस्थितिद्वारा उहाँको उद्देश्यका लागि अलग पारिएको थियो।
यसरी, पवित्र हुनुको मूल तात्पर्य परमेश्वरको निम्ति अलग गरिएको हुनु भन्ने हो। एक पवित्र व्यक्ति भनेको त्यो व्यक्ति हो जो परमेश्वरको निजी भएको छ।
साथै धार्मिकता र नैतिक शुद्धतासित पवित्रताको निकट सम्बन्ध छ (यर्मिया ३१:२३; लूका १:७५; रोमी ६:१९; एफेसी ४:२४)। पवित्रता अशुद्धताबाट भिन्न रहेको बताइएको छ (यशैया ३५:८; १ थेस्सलोनिकी ४:७) र पापबाट धोइएको भन्ने कुरासित सम्बन्धित छ (२ कोरिन्थी ७:१; १ थेस्सलोनिकी ४:३)।
ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?
ख्रीष्टिय जीवनमा पवित्रताका दुई पक्ष छन् — ओहोदाको (positional) र अवस्थाको अर्थात् व्यावहारिक(practical)। एकातिर त्यहाँ अनन्तताको पवित्रता छ, अर्कोतिर समयको; एकातिर सिद्ध, अर्कोतिर क्रमिक; एकातिर पूर्ण, अर्कोतिर प्रगतिशील। एक ख्रीष्टियन एकातिर ख्रीष्टमा भएको उसको अनन्त ओहोदाको कारण पवित्र छ, र अर्कोतिर व्यावहारिक अर्थमा दिन प्रति दिन ऊ पवित्र हुँदै जाँदैछ।
विश्वासी अनन्तसम्म परमेश्वरको परिवारभित्र अलग गरिएको कुराले उसको ओहोदीय पवित्रतालाई जनाउँदछ। यस अर्थमा ख्रीष्टमा हुनु भनेको पवित्र हुनु हो (एफेसी १:४; हिब्रू ३:१)। परमेश्वरको सामु ओहोदामा हरेक साँचो विश्वासी ऊ नयाँ गरी जन्मिएको दिनदेखि पवित्र हुन्छ। यसको कारण ऊ ख्रीष्टभित्र अवस्थित गराइएकोले हो जसको फलस्वरूप अबदेखि उसो परमेश्वरले उक्त व्यक्तिलाई एक दोषी पापीको रूपमा हेर्नुहुन्न। परमेश्वरले विश्वासीलाई आफ्नो पुत्रको रगतसितको सम्बन्धमा देख्नुहुन्छ। ख्रीष्टिय जन ऊ आफै असल भएको कारणले नभएर ख्रीष्टले प्रायश्चित गर्नुभएको आधारमा परमेश्वरले उसलाई धर्मी ठहराउनुभएको कारणले यस ओहोदीय अर्थमा ऊ पवित्र छ। परमेश्वरको हरेक सन्तान पवित्र छ; यस ओहोदीय अर्थमा परमेश्वरको हरेक सन्तान एक पवित्र जन हो।
व्यावहारिक पवित्रता भनेको दैनिक जीवनमा पवित्र हुनु हो। ख्रीष्टमा हरेक विश्वासी ओहोदीय अर्थमा पवित्र छ र साथै व्यवहारमा ऊ पवित्र हुनु परमेश्वरको इच्छा हो (१ पत्रुस १:१५-१६)।
पवित्रताका यी दुई पक्षलाई कलस्सी ३:१२ मा देख्न सकिन्छ। विश्वासीहरू ख्रीष्टमा भएको ओहोदामा पवित्र र प्रिय भएका हुनाले उनीहरू दैनिक जीवनमा पवित्र हुनुपर्छ। हामी पवित्र जनहरू भएकाले हामी पवित्र जनहरू जस्तै जिउनुपर्छ। हरेक साँचो ख्रीष्टियन ख्रीष्टको रगतमाथिको उसको भरोसाले परमेश्वरको सामु ऊ सिद्ध र पवित्र छ — येशू जत्तिकै पवित्र — तर हरेक ख्रीष्टियन दैनिक रूपमा पवित्र जीवन जिउने गर्दैन। ख्रीष्टियनले आफ्नो पवित्रतालाई सिद्ध बनाउँदै लैजानुपर्छ (२ कोरिन्थी ७:१)। यसले ख्रीष्टिय जीवनको आत्मिक वृद्धिको प्रक्रियालाई बयान गर्दछ।
येशू ख्रीष्टमा अोहोदामा पहिला पवित्र नबनाइएसम्म दैनिक जीवनमा पवित्र बन्नु असम्भव छ। नयाँ गरी जन्मिएपछि मात्र एक व्यक्तिले दैनिक पवित्रताको निम्ति गरेको प्रयासलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ। ख्रीष्टबाहिर कुनै साँचो पवित्रता छैन। केवल उहाँको रगतले मात्र एक व्यक्ति पापबाट शुद्ध पारिन सक्छ र परमेश्वरलाई धार्मिकता र सत्यतामा सेवा गर्न योग्य बनाइन सक्छ (गलाती २:२०; ६:१४-१६)।
पवित्रता र रगतको बीचको सम्बन्ध के हो?
बाइबलले पवित्रता र ख्रीष्टको रगतको बीच घनिष्ट सम्बन्ध भएको देखाउँछ (हिब्रू ९:१२,२०-२५)। भेट हुने पालका प्रतीकहरूले यस कुरालाई जोड दिन्थे। भेट हुने पालका सामग्रीहरू परमेश्वरको सामु रगतद्वारा पवित्र पारिन्थे (प्रस्थान ३०:१०)। पूजाहारीहरू रगतद्वारा समपर्ण गरिन्थे (लेवी १४:१४)। उपासकहरू रगतद्वारा शुद्ध पारिन्थे (लेवी ४:१५-१८,३०,३४)। महापूजाहारी पवित्र स्थानभित्र परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्नुको र मानिसहरूका निम्ति प्रायश्चित गर्न सक्नुको कारण रगत नै थियो (लेवी १६:१४-२०)। लेवीको पुस्तकमा “रगत” शब्द ६० पटक उल्लेख भएको छ जुन पुस्तक इस्राएलले गर्ने परमेश्वरको उपासनाको र बलिदानद्वारा हुने शुद्धिकरणको पुस्तक हो। हिब्रूको पुस्तकमा “रगत” शब्द २० पटक उल्लेख भएको छ जसले देखाउँछ कि पुरानो नियमका प्रतीकहरूले सङ्केत गरेको कुरा चाहिँ ख्रीष्टको रगत हो।
बाइबलका आधारात्मक शब्दहरू भाग ३ का पुनरावलोकन प्रश्नहरू
- “मिलाप” को माने के हो?
- पापीहरू परमेश्वरसित कसरी मिलाप गराइन्छन्?
- विश्वास गर्नु अगाडि हामी परमेश्वरका के थियौं?
- रोमी ४:६-९ मा “ठहराउनु” र ४:२२-२५ मा “गनियो” को माने के हो?
- येशूको खातिर परमेश्वरले ख्रीष्टियनलाई कुन कुरा उसको हिसाबमा गन्नुहुन्छ?
- “धर्मपुत्र ग्रहण” को माने के हो?
- विश्वासीले धर्मपुत्र ग्रहणको बाटो किन आशाको रूपमा हेर्दछ भनेर बाइबलले भन्दछ?
- “नयाँ जन्म” वा “नयाँ सृष्टि” के हो?
- ख्रीष्टिय जीवनको नयाँ जन्मले कुन कुरालाई जनाउँछ?
- “पवित्र” हुनुको आधारभूत माने के हो?
- पुरानो नियममा मानिसलाई बाहेक अन्य कस्ता कुरालाई पवित्र भनिएको छ? तीनओटा कुरा उल्लेख गर्नुहोस्।
- ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।