abel

हाबिल एक विश्वासका वीर

हाबिलको संसार बेग्लै थियो। उसका बाबुआमा अदनको बगैंचारूपी स्वर्गलोकमा बसेका थिए जहाँ कुनै कुराको कमी थिएन, कुनै किसिमको चिन्ता फिक्री थिएन। सबै कुरा राम्रो थियो। त्यहाँ कुनै समस्या वा कठिनाइ थिएनन्। तर अब, बगैंचादेखि बाहिर, त्यहाँ काँडा र लोहोंडेहरू थिए, पीडा र कष्ट थियो, कठिन परिश्रम र पसिना थियो। अवश्य नै त्यो बगैंचामा जीवन कस्तो थियो होला भन्ने बारेमा हाबिलसित धेरै प्रश्नहरू हुन्थे। त्यहाँ दिउँसोको शीतल क्षणमा परमेश्वर आदम र हव्वासित भेट गर्नुहुन्थ्यो। अब त उनीहरू परमेश्वरदेखि अलग भएका थिए। उनीहरूले उहाँसित खुल्लासित कुरा गर्न सक्दैनथे। उनीहरूले आफ्‍नो सम्बन्ध गुमाएका थिए। उनीहरू पापी भएकाले परमेश्वरको नजीकमा जान सक्दैनथे। उनीहरू आत्मिक रूपमा मरेका थिए। किनकि पापको ज्याला मृत्यु हो, परमेश्वरदेखि अलग हुनु हो। अब त परमेश्वरको नजीकमा पुग्न उनीहरूले एउटा पशुको बलिदान ल्याउनुपर्थ्यो। हाबिलले आफ्‍नै आँखाका सामु उसका बाबु आदमले एउटा पशुको बलिदान चढाएको देख्न सक्थ्यो। त्यो पशु आदमको सट्टामा मरेको हुन्थ्यो जब कि आदम मर्नुपर्नेथ्यो।

हाबिल समझमा बढ्दै गयो र उसले पनि आफू परमेश्वरबाट अलग भएको, मृत्युदण्ड पाउन योग्य पापी हुँ भन्ने कुरा महसुस गर्‍यो। उसलाई यो पनि थाहा भयो कि केवल परमेश्वरले मात्र उसको समस्या समाधान गर्न सक्नुहुन्छ। ऊ परमेश्वरकहाँ परमेश्वरकै उपायअनुसार आउनुपर्छ ठीक जसरी उसका बुबा आएका थिए। आदमले उसलाई परमेश्वरको बारेमा सिकाएका सत्यतालाई हाबिलले विश्वास गर्‍यो। प्राणको निम्ति प्राण दिएर तिर्नुपर्छ। त्यसैले विश्वासैद्वारा हाबिल आफ्‍नो बगाल भएको ठाउँमा गयो (किनकि ऊ एक गोठालो थियो) र उसले बगालको एउटा पाठो लियो र त्यसलाई परमेश्वरकहाँ बलिदान चढायो। त्यसको रगत बहाउँदा उसले यो स्वीकार गर्‍यो कि ऊ त्यो मृत्युदण्ड पाउन योग्य छ। हाबिलले आफ्‍नो बारेमा र आफ्‍नो पापको बारेमा र एउटा बलिदानको आवश्यकताको बारेमा, एउटा प्रतिस्थापक र मुक्तिदाताको बारेमा परमेश्वरलाई विश्वास गर्‍यो। अनि परमेश्वर हाबिलको विश्वाससित खुशी हुनुभयो। हाबिलले क्षमा पायो।

अब हाबिलको एकजना कैन नाम गरेको दाजु थियो। कैनलाई पनि आफ्‍नो पापको निम्ति एउटा बलिदान र प्रतिस्थापक चाहिन्छ भनेर थाहा थियो। प्राणको निम्ति तिर्न प्राणै चाहिन्छ भनेर उसलाई थाहा थियो तर एउटा पशु ल्याउनुको सट्टा र त्यसको प्राणको रगत बहाउनुको सट्टा कैनले उसले आफ्‍नो खेतबारीबाट आफ्‍नै हातका कामहरूबाटको उब्जनी ल्यायो (किनकि ऊ एक किसान थियो)। निश्चय नै उसले सबैभन्दा उत्तम फलफुल र सागसब्जी छान्यो तर ती उनकै उत्पादनका कुरा थिए। ती कुराले मृत्युद्वारा उसको प्राणको निम्ति तिर्न सक्दैनथे। परमेश्वर कैनको बलिदानसित खुशी हुन सक्नुहुन्नथ्यो। तिनमा जीवनको रगत थिएन। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

संसारमा भएका सबै मानिसहरू यी दुईजना दाजुभाइ जस्तै छन्। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन् (रोमी ३:२३)। हामी हरेकलाई एकजना मुक्तिदाताको खाँचो छ, अर्थात् परमेश्वरको विरुद्धमा हाम्रा पापको समस्याको निम्ति समाधानको उपायको खाँचो छ। जोहरू परमेश्वरको उपायअनुसार आउँछन् अर्थात् आफ्‍नो बारेमा, पापको बारेमा र मुक्तिदाताको बारेमा परमेश्वरको वचनलाई विश्वास गर्दै आउँछन्, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दै आउँछन् उनीहरूलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ, उनीहरूले पापको क्षमा र अनन्त जीवन पाउँछन् किनकि येशू नै संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा वा पाठो हुनुहुन्छ किनभने त्यसैका लागि उहाँले क्रूसमा आफ्‍नो रगत बहाउनुभयो र मर्नुभयो र चिहानबाट बौरेिउठ्नुभयो। तर जोहरूले आफ्‍नै कामहरू, असल कामहरू, धर्मकर्महरू आदि चढाउँछन् उनीहरूलाई ग्रहण गरिँदैन र उनीहरूले पापको क्षमा पाउँदैनन्, अनन्त जीवन पाउँदैनन् तर उनीहरू अनन्त मृत्युमा जान्छन् (परमेश्वरबाट अलग हुन्छन्)। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी रहेछन् भन्ने गवाही तिनले प्राप्त गरे। परमेश्वरलै नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; र यसैद्वारा तिनी मरे तापनि अझै बात गर्दछन्। हिब्रू ११:४

 

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email