माहुरी

बालबालिका विशेष
परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।
माहुरीहरू परागसेचनका प्रमुख इञ्जिनियरहरू हुन्। हामीले देखेका आधा जति सुन्दर फूलहरू हराएर जाने थिए यदि उनीहरू नभएका भए। मह बनाउने माहुरी (honeybee) ले परागकणहरू आफ्ना बच्चालाई खुवाउँछ। उसले अन्य किसिमको मौरीले भन्दा धेरै काम गर्छ र अरूले भन्दा बढी इलाका चहार्छ। भमरा (bumblebee) को भन्दा माहुरीका पराग-झोलाहरू उत्तम हुन्छन्। यी झोलाहरू उसका पछाडिका खुट्टाहरूमा दह्रिलो झूसका पङ्ति-पङ्तिले बनेका हुन्छन्। यी रौंका बीच महले भिजाइएका परागकणहरू टनाटन खाँदेर माहुरीले १ लाख कण भएको परागको डल्लो जम्मा पार्न सक्छ जुनचाहिँ ६ मिलीमिटर सम्म ठूलो हुन सक्छ।
माहूरीहरू यति छिटो काम गर्छन् कि हामीलाई छक्क लाग्छ। आफ्नो नाक एउटा फूलदेखि अर्को फूलभित्र घुसाउँदै माहुरीले एक मिनेटमा ३० ओटा जति फूलमा परागसेचन गराउन सक्दछ!
सामान्यतया माहुरीहरूले एउटा यात्रामा एउटै मात्र किसिमको फूलबाट जम्मा गर्ने गर्छन्। जस्तै, उस्तै खालको बैजनी रङ्गका दुई फरक-फरक फूलहरू नजिक-नजिक फूलिरहेको ठाउनेर आएर माहूरीहरू हावामा एकअर्कासित झण्डै-झण्डै ठोकिन पुग्लान् तर गलत फूलको परागकणलाई छुन भने एउटै माहूरी पनि जाँदैन।
कसले सिकायो यी माहुरीलाई? कुन किताब पढे होलान् तिनले? कहाँको स्कूलमा पढे तिनीहरू? उनीहरूलाई कसैले सिकाएन। उनीहरूले कहिल्यै सिकेका होइनन्। जन्मँदा नै उनीहरूभित्र यस्तो ज्ञान लिएर आए। उनीहरूले खास रोज्न सक्दैनन्। सुरुबाटै उनीहरूको निम्ति जे उद्देश्य र योजना थियो त्यसैलाई पूरा गर्न उनीहरू खुशी छन् र त्यसैमा सन्तोष मान्छन्।
तर प्रिय मित्र, तपाईं माहूरीभन्दा फरक हुनुहुन्छ। तपाईंको एउटा उद्देश्य छ तर उक्त योजना र उद्देश्य पूरा गर्न सक्न तपाईं जन्मनुहुँदा त्यो ज्ञान लिएर आउनुभएन। तपाईंले रोज्नुपर्छ। परमेश्वरले मानिसको निम्ति यस्तो योजना गर्नुभयो र उद्देश्य राख्नुभयो कि मानिसहरू उहाँजस्तै होऊन्। यसको माने तिनीहरूले आफ्ना भावना, विचार र इच्छाको प्रयोगद्वारा मानिसहरूले परमेश्वरलाई प्रतिबिम्बित गर्नुपर्छ र उहाँलाई दर्शाउनुपर्छ।
हामीले परमेश्वरको विरोधमा विद्रोह गरेर, हाम्रा आफ्नै इच्छाहरूलाई, आफैलाई र शैतानलाई दर्शाएर, हामीले परमेश्वरको स्वरूपलाई बिगारेका छौं अनि यसको परिणामस्वरूप संसार पाप र दुष्टता, रोगबिमार, दु:खकष्ट, र मृत्युले भरिएको छ। हामीले आफ्नो उद्देश्यलाई पूरा गरेका छैनौ अनि त्यसैले गर्दा हो हामीसित आनन्द र सुन्तुष्टि छैन।
तर परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो। उहाँ मानिसको शारीरिक स्वरूपमा आउनुभयो तर उहाँ अदृश्य परमेश्वरकै स्वरूप हुनुहुन्थ्यो, सिद्ध रूपमा उहाँलाई दर्शाउनुभयो र हामीले बिगारेको स्वरूपलाई ठीकठाक पार्न आउनुभयो। परमेश्वरको चिन्ने ज्ञानद्वारा मात्र हामीले हाम्रो उद्देश्य पूरा गर्न सक्छौं। अनि येशू ख्रीष्टद्वारा मात्र हामीले परमेश्वरलाई चिन्न सक्छौं।
अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् — अनन्त जीवन यही हो” (यूहन्ना १७:३)
प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभु भनेर विश्वास गरेर तपाईंले आफ्नो उद्देश्य पूरा भएको पाउनुहुनेछ र आनन्द पाउनुहुनेछ।
“प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३१)
“न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ” (प्रेरित ४:१२)
Translated and published with permission from bibleline.org