यूहन्ना
यूहन्ना
हामीले अघिल्लो पाठमा सिकेका कुराहरूको आधारमा हामीलाई यूहन्नाको बारेमा केही कुराहरू थाहा भइसकेको हुनुपर्छ। यूहन्ना कसका भाइ थिए (मत्ती ४:२१, १०:२) ? ______________। यूहन्नका बाबु को थिए (मत्ती ४:२१)? ______________। यूहन्नाको पेशा के थियो (मत्ती ४:२१)? ______________।
अलमल नहोस्, प्रेरित यूहन्ना र यूहन्ना नाम गरेको अर्को महत्त्वपूर्ण व्यक्ति (हेर्नुहोस्, यूहन्ना १:६) बेग्लाबेग्लै व्यक्तिहरू हुन्। यूहन्ना १:६ मा उल्लेखित “यूहन्ना” चाहिँ बप्तिस्मा दिने यूहन्ना हुन्। यी दुई व्यक्तिहरूका बीच निम्न भिन्नताहरू छन्:
बप्तिस्मा दिने यूहन्ना | प्रेरित यूहन्ना |
---|---|
उनका कुनै दाजुभाइ थिएनन्। | याकूब उनका दाजु थिए। |
उनी एक महान् अगमवक्ता थिए। | उनी एक मछुवा थिए। |
उनी येशूका बाह्रचेलाहरू मध्येका थिएनन्। | उनी येशूका बाह्रचेलाहरू मध्येका एक थिए। |
उनी ख्रीष्ट क्रुसमा जानुअघि मरे (उनको टाउको हेरोदले काटिदिए, हेर्नुहोस् मत्ती १४) | उनी ख्रीष्ट क्रूसमा जानुभएको धेरै वर्षपछि आफ्नो वृद्धवस्थमा मरे। |
उनले बाइबलका कुनै पुस्तक लेखेनन्। | उनले बाइबलका पाँच पुस्तकहरू लेखे। |
प्रेरित यूहन्ना बप्तिमस्मा दिने यूहन्नाका एक चेला थिए भन्ने बुझिन्छ। किनभने यूहन्ना १:३५-३९ मा अन्द्रियासको साथमा भएका, नाम उल्लेख नगरिएका चेला सम्भवतः यिनै यूहन्ना थिए। टिप्पणी: यूहन्नाको सुसमाचारको किताबभरि, लेखकले आफ्नो विषयमा लेख्नुपर्दा आफ्नो नाम कहिल्यै बताउँदैनन्। तुलना गर्नुहोस्, यूहन्ना २०:२-८। तसर्थ, यूहन्नाको शुरूको इतिहास अन्द्रियासको जस्तै थियो (अन्द्रियासको पाठ हेर्नुहोस्)।
सबभन्दा घनिष्ट
हामीले अघिल्लो पाठमा हेर्यौं, येशूका चेलाहरूमध्येमा एउटा “भित्री घेरा” थियो जसमा तीनजना थिए — पत्रुस, याकूब र यूहन्ना। समय समयमा बाह्रचेलामध्येबाट येशूले यी तीन जनालाई अलग गरी आफूसगँ लाने गर्नुहुन्थ्यो। यी तीन जनाले केही यस्ता कुराहरू गर्न पाए जो अरू नौ जनाले पाएनन्।
यी तीन जनामा पनि यूहन्ना प्रभुको सबभन्दा नजिकमा रहने चेला थिए। प्रभुका सबै भेडाहरूमध्येमा यूहन्नाचाँहि महान् गोठालाका सबभन्दा नजिकमा रहेका देखिन्छन्। उक्त निष्कर्षको पछाडि निम्न कारणहरू छन्:
- उनका मुक्तिदाताले उनलाई कति धेरै प्रेम गर्थे भन्ने कुरा यूहन्नाले गहिरो गरी बुझ्दथे। घरीघरी उनले आफूलाई त्यो चेलाको रूपमा उल्लेख गर्छन् “जसलाई __________ले __________ गर्नुहुन्थ्यो” (यूहन्ना १३:२३ र साथै हेर्नुहोस्, यूहन्ना १९:२६; २०:२; २१:७,२०)। गोठालाले आफ्ना सबै भेडाहरूलाई प्रेम गर्नुहुन्छ तर सबै भेडाहरू उहाँको प्रेमलाई उत्तिकै कदर गर्दैनन् वा त्यसलाई उत्तिकै बुझ्दैनन् वा त्यसैमा उत्तिकै मग्न हुँदैनन्। येशू यूहन्नालाई प्रेम गर्नुहुन्थ्यो, यूहन्ना सो जान्दथे र विश्वास गर्दथे! तपाईं नि? मुक्तिदाता येशू तपाईंलाई प्रेम गर्नुहुन्छ भनी के तपाईं विश्वस्त हुनुहुन्छ? तपाईं यो कसरी जान्नुहु्न्छ? जसको प्रेममा तपाईं निश्चित हुनुहुन्न उसको नजिक हुन वा नजिक जान तपाईंलाई गाह्रो हुन्छ। यूहन्ना निश्चित थिए! उनले ख्रीष्टको प्रेमलाई जान्दथे र त्यस प्रेमले उसलाई आफ्नो प्रभुको झन् झन् नजिक खिँच्ने काम गर्यो।
- क्रूसमा मर्नुअघिको रात टेबल वरिपरि बस्दाखेरि कुनचाहिँ चेला येशूको सबभन्दा नजिकमा बसे (यूहन्ना १३:२३)? ______________। टेबल वरिपरि सबै चेलाहरू थिए तर आफ्नो प्रभुको सबभन्दा नजिक चाहिँ यूहन्ना थिए।
- क्रूसमा येशू झुण्डिरहनुहुँदा कुनचाहिँ चेला क्रूसकै फेदमा उभिरहेका थिए, यति नजिकमा कि येशू उनीसित कुराकानी गर्न सक्नुभयो (यूहन्ना १९:२६)? ______________
- मर्कूस १०:३५-३७ मा यूहन्नाले घमण्ड र महत्त्वाकाङ्क्षाले अभिप्रेरित भएर बोलेका भए तापनि, उनलाई राजाकै नजिकमा रहने ठूलो इच्छा थियो भन्ने कुरा बुझ्न सकिन्छ । उनी येशूकै छेउमा बस्न चाहन्थे (मर्कूस १०:३७)! प्रभुदेखि उनी अलिकति पनि टाढा बस्न चाहँदैनथे।
- बाइबलका ६६ ओटा मध्ये पाँचओटा पुस्तकहरूको मानवीय लेखक बन्ने (बाह्रचेलामा अधिक सङ्ख्यामा पुस्तकहरू लेख्ने) सौभाग्य यूहन्नालाई दिइयो। यूहन्नाले लेखेका पाचँओटा पुस्तकहरू कुन कुन हुन्? (१) ______________________ (२) ______________________ (३) ______________________ (४) ______________________ (५) ______________________
- यूहन्ना आफ्नो प्रभुप्रति अति संवेदनशील थिए। रित्तो चिहानको महत्त्व बुझ्ने पहिलो चेला को थिए (यूहन्ना २०:२-८)? ______________। येशूलाई ठम्म्याउने पहिलो चेला को थिए (यूहन्ना २१:१-७)? ______________
हरेक विश्वासी उहाँको झन् झन् नजिक आएको प्रभु चाहनु्हुन्छ। एउटा विश्वासी कसरी परमेश्वरको नजिक आउन सक्छ? परमेश्वर किन कहिलेकाहीँ “टाढा” हुनुभएझैं लाग्छ? विश्वासी र प्रभुका बीच कहिलेकाहीँ किन “दुरी” खडा भएझैं हुन्छ? निम्न पदहरूले परमेश्वरको नजिक आउने सम्बन्धमा हामीलाई के सिकाउँछन्? भजनसङ्ग्रह ३४:१८; भजनसङ्ग्रह ११९:१५०-१५१, भजनसङ्ग्रह १४५:१८; याकूब ४:८।
यूहन्ना प्रेरितका केही झलकहरू
बाइबलले यूहन्ना प्रेरितका बारेमा धेरै बताउँदैन। उनको विषयमा जान्न हामीले सुसमाचारका पुस्तकहरू र प्रेरितको पुस्तकमा भएका विभिन्न टुक्राटाक्रीहरूलाई हेर्नुपर्ने हुन्छ।
लूका ९:४९ मा यूहन्नाले एकजनालाई के गरिरहेका देखे? _____ ______________________________________________________ उनले उक्त काम कसका नाममा गर्दै थिए?______________। के यूहन्ना र अरूहरूले त्यस मानिसलाई उक्त काम गर्नदेखि रोक्न खोजे? ___________। किन? __________________________ __________। के यूहन्नाले त्यसो गर्नु ठीक थियो (लूका ९:५०)? ______________। ती मानिस वास्तवमा यूहन्नाका शत्रु (“हाम्रो विरोधमा”) थिए कि मित्र (“हाम्रो पक्षमा”) थिए? ______________
धेरैले यूहन्नाको गल्तीलाई दोहोर्या एका छन्। तिनीहरू यसरी सोच्दछन्, “यदि ऊ हाम्रो झुण्ड वा मण्डलीको होइन भने उसले ख्रीष्टको सेवा गरिरहेको हुन सक्दैन।” तिनीहरूको कल्पनामा कुनै पनि व्यक्ति ख्रीष्टको सिपाही हुन सक्दैन जबसम्म उसले दुरुस्तै तिनीहरूको जस्तै पोशाक लगाउँदैन। तिनीहरू त्यस्ता प्रत्येक व्यक्तिलाई रोक्न खोज्दैछन् जसले ख्रीष्टलाई तिनीहरूकै तरिकामा सेवा गर्दैनन्। तिनीहरू सोच्दछन्, “यदि मानिसहरू हामीलाई हरेक कुरामा पछ्याइरहेका छैनन् भने उनीहरू कसरी ख्रीष्टलाई पछ्याइरहेका हुन सक्छन् र?”
उदाहरण: मानौं “विश्वास ब्याप्टिस्ट चर्च” नाम गरेको एउटा बाइबलीय मण्डली छ। के उक्त मण्डलीले “ब्याप्टिस्ट” नाम नगरेका अन्य मण्डलीहरूले ख्रीष्टको सेवा गरिरहेका छैनन् भनेर ठान्नु उचित हुन्छ?____________। के “ब्याप्टिस्ट” नामको पोशाक नलगाउने प्रत्येक व्यक्तिलाई दोषी ठहर्याउनु उचित हुन्छ?______________। आज मानिसहरू यूहन्नाकै गल्तीलाई कसरी दोहोर्याउँदैछन् भन्ने कुराको अन्य उदाहरणहरू दिन सक्नुहुन्छ?
लूका २२:८ मा हामी सिक्छौं, पत्रुस र यूहन्ना प्रभु येशूद्धारा एउटा काममा पठाइएका थिए। पद ९-१३ मा पनि हेर्नुहोस्। यूहन्ना १३:२३-२६ मा यूहन्नाले प्रभुलाई एउटा महत्त्वपूर्ण प्रश्न सोधे। यूहन्ना पत्रुसका एक नजिकका सहकर्मी थिए र यी दुई व्यक्तिहरू घरीघरी सँगै उल्लेख गरिएका छन्:
यूहन्ना २०:१-१० | पत्रुस र यूहन्नाले चिहान रित्तो भएको भेट्टाउँछन्। |
यूहन्ना २१:१८-२३ | पत्रुस र यूहन्नाले उनीहरूको भविष्यको बारेमा प्रभुले बताउनुभएको सुन्न पाउँछन्। |
प्रेरित ३:१-१३ | लङ्गडाको चङ्गाइ गरिँदा पत्रुस र यूहन्ना सँगै हुन्छन्। |
प्रेरित ४:१-२२ | पत्रुस र यूहन्ना उनीहरूले सुसमाचार प्रचार गरेकाले पक्राउ पर्दछन्। |
गर्जनका पुत्र प्रेमका प्रेरित बन्छन्
येशूले याकूब र यूहन्नालाई “____________ का पुत्रहरू” (मर्कूस ३:१७)भन्ने नाम दिनुभएको थियो भन्ने कुराको अध्ययन हामीले अघिल्लो पाठमा गरेका थियौं। यी दुईजनाले प्रभुको विरोध गर्ने कुनै पनि व्यक्तिलाई सहन सक्दैनथे (लूका ९:५१-५५) जसबाट यो देखिन्छ कि प्रभुले आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्नुहुन्छ भन्ने कुरा उनीहरूले त्यसबेला सम्म बुझ्न सकेका थिएनन् (लूका ९:५६)।
तर यूहन्नाले आफ्नो पाठ सिके, राम्रै गरी सिके। येशूले यूहन्नालाई हप्काउनुभयो र भन्नुभयो, “किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई ______________गर्न होइन्, तर ______________ आएका हुन्।” ख्रीष्ट संसारमा किन आउनुभएको थियो भनेर यूहन्नाले अन्तमा राम्ररी बुझ्न सके कि सकेनन् भनी पत्ता लगाउन हामी यूहन्नाको आफ्नै लेखोटहरूमा हेरौं:
यूहन्ना ३:१७ – ख्रीष्ट किन पठाइनुभयो?
_________________________________________________________________________
यूहन्ना १२:४७ – ख्रीष्ट किन आउनुभयो?
_________________________________________________________________________
१ यूहन्ना ४:१४ – पिताले पुत्रलाई किन पठाउनुभयो?
_________________________________________________________________________
बुद्धिमानी मान्छे भनेको गल्ती नै नगर्ने मान्छे होइन तर आफ्नो गल्तीहरूबाट सिक्ने मान्छे हो! यूहन्नाले सिके!
आफूसित सहमत नहुने जोकोहीमाथि चट्याङ्ग प्रहार गर्न तत्पर यि जोशिला गर्जनका पुत्र परमेश्वरको अनुग्रहले पछिबाट अर्कै व्यक्ति बने। गर्जनका पुत्र त प्रेमको प्रेरित बने। यूहन्नाको पहिलो पत्र (१ यूहन्ना) लाई सरसरती पढ्नुभई यस महत्त्वपूर्ण विषय अर्थात् प्रेमको विषयमा लेखिएका पदहरू (विशेष गरी चौथौ अध्याययमा) भेट्टाउनुहोस् र तीमध्ये केही पदहरूको एउटा सूची बनाउनुहोस्: _________ ____________________________________________________
ठीक किसिमले प्रेम गर्ने हो भने ठीक किसिमले घृणा पनि गर्नुपर्ने हुन्छ! कसैले सत्यलाई प्रेम गर्दछ भने उसले झूटलाई घृणा गर्दछ। यूहन्ना प्रेम गर्न राम्ररी जान्दथे साथै उनले घृणा गर्न पनि जान्दथे! उनले झूट र खराबीलाई घृणा गर्थे। उनले असत्यलाई एकछिन पनि ठाउँ दिएनन्। (हेर्नुहोस् १ यूहन्ना ४:१-६)। झूट र खराबीको विरुद्धमा यूहन्नाको आफ्नो जोश अलिकति पनि घटेको थिएन! भजनसङ्ग्रह ९७:१० मा बाइबलले भन्छ – “परमप्रभुलाई ______________ गर्ने सबैले ______________ लाई घृणा गरून्।”
गलाती २:९ मा प्रेरित यूहन्नालाई पावलले प्रशंसा गरेका छन्। पावलले याकूब (येशूका भाइ), केफास (पत्रुस) र यूहन्नालाई “खाँ ___________” भनी उल्लेख गरेका छन्। एउटा भवनमा खाँबाजत्तिकै महत्त्वपूर्ण कुरा अरू कुनै हुँदैन। तुलना गर्नुहोस् न्यायकर्ता १६:२९-३०। खाँबाविना भवन ढलेर जान्छ! यसरी यूहन्ना शुरूको मण्डलीका एक अति महत्त्वपूर्ण व्यक्ति थिए।
यूहन्नाका जीवनका पछिल्ला घटनाहरू
हामीलाई थाहा भएसम्म, बाह्रचेलाहरू मध्येमा सहीदको रूपमा नमरेका एउटै मात्र चेला यूहन्ना थिए। उनी ई.सं. ९८ मा राज्य गर्न थालेका सम्राट ट्राजनको शासनकालको शुरूतिर वृद्धावस्थामा मरे। तसर्थ यूहन्ना पहिलो शताव्दीको अन्ततिर मरे (उनी शायद ई.सं. १-५ तिर जन्मेका थिए)। उनी आफ्नो मृत्युको बेलामा ९० वा ९५ वर्ष उमेरका थिए।
यूहन्ना एक सहीदको रूपमा नमरे तापनि उनले आफ्नो मुक्तिदाताको निम्ति सतावटचाहिँ भोगेकै थिएः
- हामीले अघिबाटै देख्यौ, उनी सुसमाचार प्रचार गर्ने क्रममा पत्रुससित पक्राउमा परे (प्रेरित ४)।
- उनी अन्य प्रेरितहरूसँगै फेरि पक्राउमा परे अनि पिटिए (प्रेरित ५:१८,४०)।
- उनी सम्भवतः अन्य थुप्रै सतावटहरूमा परेका थिए जसका बारेमा हामीलाई बताइएको छैन (तुलना गर्नुहोस् यूहन्ना १६:१-४, ३३)।
- “फोक्सेज बुक अफ मार्टर्स्” (Foxe’s Book of Martyrs) को अनुसार, सम्राट डोमिशियनको आदेशमा यूहन्ना बाँधिएर रोममा पठाइए जहाँ उनी उम्लिरहेको तेलको कराहीभित्र फ्याँकिए। तर परमेश्वरको आश्चर्यपूर्ण हस्तक्षेपले गर्दा उक्त तेलले उनलाई कुनै हानि गरेन। यो साँच्ची नै भएको थियो या थिएन हामी यकिन गर्न सक्दैनौ, तर हामीलाई थाहा भएकै कुरा हो कि परमेश्वरले आफ्ना प्रेरितहरूलाई अलौकिक तवरले रक्षा गर्ने प्रतिज्ञा गर्नुभएको थियो (मर्कूस १६:१८)। यसले हामीलाई यो पनि सम्झना गराउँछ, परमेश्वरले दिनुभएको उसको काम नसकिएसम्म एउटा विश्वासी मरिहाल्दैन। यूहन्नाको निम्ति परमेश्वरको काम बाँकी नै थियो!
- यूहन्ना पत्मोस् भनिने सानो टापुमा निर्वासन गरिए (प्रकाश १:९)। त्यहाँ नै उनले प्रकाशको पुस्तक लेखेका हुन्, र परमेश्वरले उनलाई भविष्य सम्बन्धी उदेकका कुराहरू देखाउनुभयो।
बाह्रचेलाहरू मध्येमा यूहन्ना सबभन्दा पछि मरेका हुन्। सबभन्दा पहिला मर्ने चेला को थिए (प्रेरित १२:१-२)? _________। दाजुचाहिँ सबभन्दा पहिला मरे, भाइचहिँ सबभन्दा पछि मरे। यसबाट हामी यो सिक्छौँ प्रत्येक विश्वासीका निम्ति परमेश्वरको भिन्न-भिन्नै योजना हुन्छ। याकूबको निम्ति परमेश्वरको योजना र यूहन्नाको निम्ति परमेश्वरको योजना बेग्ला-बेग्लै हुन्छ। प्रत्येक व्यक्तिका निम्ति परमेश्वरको योजना फरक हुन्छ। याकूबको निम्ति परमेश्वरको एउटा योजना थियो। अनि यूहन्नाको निम्ति अर्को। प्रत्येक व्यक्तिलाई विशेषरूपले सुहाउने परमेश्वरको योजना हुन्छ। यूहन्ना २१:१८-२२ मा हामी सिक्छौं यूहन्ना र पत्रुसका निम्ति परमेश्वरका बेग्लाबेग्लै योजनाहरू थिए। परमेश्वर अरू विश्वासीहरूसित जसरी व्यवहार गर्नुहुन्छ ठीक त्यसरी नै तपाईंसित पनि व्यवहार गर्नुहुन्छ भनी नसोच्नुहोस्। परमेश्वरले तपाईंको जीवनमा त्यस्ता कुराहरू आइपर्न दिनुहोला जुन अरूलाई आइपर्न नदिनुहोला। प्रत्येक व्यक्तिको निम्ति कुनचाहिँ सर्वोत्तम छ, सो परमेश्वर जान्नुहुन्छ। केवल उहाँमाथि भरोसा गर्नुहोस्। अरूहरूलाई नहेर्नुहोस् (यूहन्ना २१:२१-२२) बरू ख्रीष्टलाई पछ्याउनुहोस्!
प्रेरित यूहन्नाको जीवनको लागि के तपाईं धन्यवादी हुनुहुन्छ? उनको जीवनको अध्ययनबाट तपाईंले के कस्ता पाठहरू सिक्नुभयो? यूहन्नाका कुन कुराहरूलाई हामी असल नमुनाको रूपमा पछ्याउन सक्छौं। कुन कुराहरूमा यूहन्नाका गल्तीहरूबाट हामी सिक्न सक्छौ? के कुनै कुराहरूमा तपाईं यूहन्नाजस्तै हुनुहुन्छ? के कुनै कुराहरूमा यूहन्ना तपाईंजस्तै थिए?
निम्न शब्दहरूले तपाईंलाई यूहन्नाको कसरी सम्झना दिलाउँछन्?
प्रेम गर्जन घृणा लेखक सबभन्दा नजिकमा वृद्धजन विश्वासयोग्य
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)