धूर्त याकूब
धूर्त याकूब
परिचय
आफ्नो जीवन यात्राको क्रममा षड्यन्त्र गर्ने, चालबाजी गर्ने र छलकपट गर्नेहरू त्यहाँ धेरै हुन्छन्। स्वार्थपूर्ति र व्यक्तिगत फाइदाकै निम्ति तिनीहरू त्यसो गर्ने गर्छन्। प्रभुले जुटाउनुहुने सर्वोत्तमको निम्ति उहाँमै भरोसा गर्नुको सट्टा तिनीहरू आफ्नै तरिकामा कामकुरो मिलाउन खोज्छन्। तिनीहरू प्रायः असल कुराकै चाहा गर्छन् (सुख, स्वतन्त्रता, सुरक्षा, उज्ज्वल भविष्य, सुखी दाम्पत्य जीवन आदि) तरैपनि तिनीहरू ती असल कुराहरूलाई प्राप्त गर्न गलत तरिकाहरू अपनाउँदछन्।
के तपाईं धूर्त हुनुहुन्छ? के तपाईं छलछाम र चालबाजी गर्ने व्यक्ति हुनुहुन्छ? याकूब निश्चय त्यस्तै थिए, अनि यस पाठमा हामी उसका केही चालबाजीहरूको बारेमा अध्ययन गर्नेछौं। साथै, जसरी याकूबले अरूलाई आफ्नो धूर्त्याइँले छलेका थिए त्यसरी नै परमेश्वरले याकूब आफैंलाई कसरी अरूहरूको धुर्त्याइँको शिकार बन्न दिनुभयो भन्ने कुरा पनि हेर्नेछौं। धूर्त्याइँले आखिरमा फाइदा गर्दैन भन्ने कुरा याकूबले हण्डर खाएरै सिक्नुपर्यो।
“कुर्कुच्चा समात्ने” जन्मछन्
इसहाकका पत्नी रिबेकाले जुम्ल्याहा दाजुभाइ जन्माइन्। उत्पत्ति २५:२५ अनुसार जेठा छोरा को थिए (को पहिला बाहिर निस्के)? ___________ । कान्छा छोरा को थिए (उत्पत्ति २५:२६)? -___________। आफू जन्मँदा याकूबले हातमा के कुरालाई समातेर जन्मे (उत्पत्ति २५:२६)? ______________________
“याकूब” को अर्थ हो, “कुर्कुच्चा समात्ने व्यक्ति, धोका र चालबाजीद्वारा कसैको स्थान कब्जा गर्ने व्यक्ति”। याकूबको नाउँ उसलाई सुहाउने नाउँ हो भन्ने के एसावलाई लागेको थियो (उत्पत्ति २७:३६)? ___________
घरका जम्मै दोषी
ती दुई बालकहरू जन्मनुभन्दा अगाडि परमेश्वरले रिबेकालाई एउटा महत्त्वपूर्ण कुरा बताउनुभएको थियो: “र _______ले ________को सेवा गर्नेछ” (उत्पत्ति २५:२३)। जेठा को थियो? ___________। कान्छा को थियो? ___________। अतः परमेश्वर भन्दैहुनुहुन्थ्यो, “___________ले ___________को सेवा गर्नेछ। परमेश्वरले कुनचाहिँ छोराले आशिष् पाउने कुरा गर्नुभयो, याकूबले कि एसावले? ___________
- इसहाक दोषी: आशिष् याकूबलाई दिइनेछ भन्ने कुरा परमेश्वरले अगाडिबाटै जनाउनुभएको भए तापनि उक्त आशिष् आफ्नो मनपर्ने छोरा एसावलाई नै दिलाउन इसहाक तल्लीन थिए (हेर्नुहोस्, उत्पत्ति २५:२८; २७:१,४)। उनी परमेश्वरको इच्छाविपरित लड्दैथिए।
- रिबेका दोषी: याकूब (रिबेकाको मनपर्ने छोरा) आशीर्वादी हुनेछ भन्ने परमेश्वरको प्रतिज्ञा जानेर पनि त्यसलाई पूरा गराउन रिबेका चालबाजी गर्नपट्टि लागिन् (उत्पत्ति २५:२८; २७:६-१०)। तिनले राम्रै कुरालाई नराम्रो तरिकाले प्राप्त गर्न खोजिन्।
- याकूब दोषी: उनले आफ्नी आमाको षड्यन्त्रमा मतियार बन्नलाई स्वीकार गरे र फलस्वरूप उनी एक ठग र ढँटुवा बने (उत्पत्ति २७:१२,१९)।
- एसाव दोषी: जुन आशिष् वास्तवमा उनको थिएन एसाव त्यसैलाई पाउन चाहा गरे अनि त्यसलाई गुमाउनुपर्दा उनी आफ्नो रिसमा भाइको हत्या समेत गर्नलाई तम्सिए (उत्पत्ति २७:४१)। हिब्रू १२:१६-१७ हेर्नुहोस्।
उक्त घरका जम्मै दोषी थिए! यसका बाबजुद पनि परमेश्वरले आफ्नो असल योजनालाई आफ्नो धार्मिकतामा अघि बढ़ाउँदै हुनुहुन्थ्यो।
पहिलो चालबाजी: याकूबले ज्येष्ठ अधिकारलाई हात पार्छन्
उत्पत्ति २५:२७ अनुसार खुला मैदानहुँदो डुलिहिँड्न रुचाउने को थिए? ___________। पालभित्रै बसिरहन रुचाउने को थिए? ___________। एक दिन एसाव बेसरी भोकाएर घर आएका थिए। त्यही बखत याकूबको साथमा एक भाँडोभरी सुरूवा अर्थात् अनाजको झोल थियो, ठीक एसाबलाई चाहिएकै कुरा! उसलाई सुरुवा बिनादाम दिनुको सट्टा याकूबले मौकाको फाइदा उठाए (पढ्नुहोस्, उत्पत्ति २५:२९-३४)। उनले आफ्ना दाजुसित मोलतोल गरे – “एसाव, मलाई चाहिएको कुरो तिमीसँग छ अनि तिमीलाई चाहिएको कुरो मसँग छ। म तिमीलाई सुरुवा दिन्छु अनि तिमीले मलाई तिम्रो ज्येष्ठ-अधिकार देऊ।” याकूब एसावको मन्जुरीनामा लिन सफल भए, लेनदेनको काम पूरा भयो! एसाव ठगिए; उनी पछिबाट आफ्नो निर्णयलाई सम्झेर ज्यादै नाराज बने (उत्पत्ति २७:३६)।
शिक्षा: जीवन भनेको पेट भर्नलाई मात्र होइन, महत्त्वपूर्ण कुरा त्यसभन्दा अरू नै छ। एसावको छोटो विचारले उनी जीवनपर्यन्त मूर्ख बने। उसले विचारै नगरी, कमसल कुरा पाउनलाई बहुमूल्य कुरालाई मिल्काइदिए (हिब्रू १२:१६)। के आज पनि एसावले जस्तै निर्णय गर्नेहरू हुन्छन्?
दोस्रो चालबाजी: याकूब आशिषलाई हात पार्छन्
दोस्रो चालबाजीको बयान उत्पत्ति २७ मा पाइन्छ। याकूब र एसाव अब जवान ठीटा छैनन्। तिनीहरू ७७ वर्ष पुगिसकेका छन्। तिनीहरूका बाबु इसहाक ज्यादै वृद्ध छन्। उनी १३७ वर्ष पुगेका छन् अनि आँखा देख्न सक्दैनन् (उत्पत्ति २७:१)।
उत्पत्ति २७:८,१२-१३ पढ़ौ। के हामीले बाबु-आमाको आज्ञालाई सधैं नै पालन गर्नु सही हुन्छ? ___________। के यस कुरामा याकूबले रिबेकाको आज्ञा मान्नु उचित थियो? ___________। किन थियो अथवा थिएन? _______________________________________________________। उत्पत्ति २७:१२ को कुनचाहिँ शब्दले याकूबको वास्तविक व्यक्तित्वको बयान गर्छ? ___________। उत्पत्ति २७:१३ लाई विचार गरौं। मानौं, एउटा साथीले तपाईंलाई कुनै खराब काममा सहभागी बन्न कर गर्दछ (कुनै गलत काम गर्न वा गलत ठाउँमा जान)। मानौं, उसले तपाईंलाई रिबेकाले याकूबलाई भनेजस्तै यसरी भन्दछ, “डराउनु पर्दैन। केही गरी काम बिग्र्यो भने सबै दोष मै लिऊँला।” यस्तो विचार किन गलत छ? कसैले खराब काम गर्छ भने के उसले त्यसको प्रतिफल भोग्नेछैन र? मत्ती २७:२४-२५ पढ्नुहोस्। यहूदीहरूले भने, “येशूलाई क्रूसमा मारेको दोष हामीमाथि परोस्। पिलातस ज्यू, धन्दा नमान्नुहोस्। हामीलाई आफ्नो इच्छा गर्न दिनुहोस्। यसको सम्पूर्ण जिम्मा हामी लिन्छौं।” के यस भनाइले पिलातसलाई निर्दोष तुल्याउन सक्यो? ___________। पिलातसले आफ्ना हात धोए तापनि के परमेश्वरले तिनलाई निर्दोष ठान्नुभयो? ___________। के पिलातसले पाप गरेकै ठहरियो (यूहन्ना १९:११ हेर्नुहोस्)? ___________।
रिबेका परमेश्वरको प्रतिज्ञा जान्दथिन् (उत्पत्ति २५:२३) तर तिनले मानवीय जालझेल गरी त्यसलाई पूरा गराउन खोजिन्। अनि याकूब (जो अनजान नाबालक बिलकुलै थिएनन्) रिबेकाको चालबाजीमा सहमत भए र उक्त जालझेलमा पूर्ण रूपमा सहभागी बने।
शिक्षा १– “खराब कुरा गरौं र असल कुरा निस्कोस्” (रोमी ३:८)। हुन त रिबेका र याकूबको लक्ष्य राम्रो नै थियो- परमेश्वरको आशिष पाउनु। तर तिनीहरूले असल कुरा प्राप्त गर्नलाई खराब गरे। “लक्ष्य राम्रो छ भने उपाय जस्तोसुकै अपनाए हुन्छ” भन्ने सिद्धान्त सोह्रै आना असत्य छ, गलत छ! असल लक्ष्य (प्रतिज्ञा गरिएको आशिष) ले पापपूर्ण उपाय (इसहाकलाई छल्ने, झूट बोल्ने काम) लाई कहिल्यै औचित्य प्रदान गर्दैन।
शिक्षा २– “तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ” (गन्ती ३२:२३)। रिबेका र याकूबको भण्डाफोर भयो, उनीहरूको छलकपट प्रकट भयो। एकदिन याकूबको पापले उसलाई फेला पार्नेछ! अर्कालाई ठग्नुको सट्टा ऊ आफैं ठगिनेछ!
शिक्षा ३– परमेश्वर सर्वोपिर हुनुहुन्छ! परमेश्वर कति महान् हुनुहुन्छ- उहाँले मानिसका खराब युक्तिहरूलाई समेत आफ्नो ईश्वरीय योजना पूरा गराउनलाई प्रयोग गर्न सक्नुहुन्छ। मानिस त दुष्ट अपराधी नै हो तर परमेश्वरले आफ्नो अद्भुत योजनालाई अघि बढ़ाउँदै हुनुहुन्छ। परमेश्वरले यूसुफका दुष्ट दाजुहरूका युक्तिलाई आफ्नो ईश्वरीय इच्छा पूरा गराउन प्रयोग गर्नुभयो (उत्पत्ति ५०:२०)। परमेश्वरले यहूदाजस्तो व्यक्तिको षडयन्त्रलाई समेत आफ्नो उदेश्य पूरा गराउनलाई प्रयोग गर्न सक्नुभयो (लूका २२:२२)। प्रेरित २:२३ पढ्नुहोस्। यस पदले, परमेश्वरले मानव इतिहासकै सबभन्दा ठूलो अपराधलाई कसरी आफ्नो असल योजना पूरा गराउनलाई प्रयोग गर्नुभयो भन्ने कुरा कसरी देखाउँछ?
याकूबका अप्रत्याशित समस्याहरू
हाम्रा खराब योजना तथा चालबाजीहरू हाम्रा आकांक्षा अनुरुप प्रायः पूरा हुँदैनन्। इसहाकको पहिलो प्रश्न के थियो (उत्पत्ति २७:१८)? ____________________________। शायद याकूब मुखले झूट नबोलीकनै आफ्नो लक्ष्य हासिल गर्ने सोचाइमा थिए, तर ठग्ने नीति अपनाएकाले उनलाई झूट नबोली सुख भएन; उनले एकपछि अर्को पाप गरे (अघिल्लो पाठमा चर्चा गरिएको पापको भुमरीलाई याद गर्नुहोस्)।
उत्पत्ति २७:२० मा याकूबलाई तिनका बाबुले अर्को पनि अप्ठ्यारो प्रश्न सोध्छन्। “कसरी तिमीले यति चाँडै शिकार मारेर, त्यसलाई पकाएर समेत ल्याउन भ्यायौ? एसावलाई प्रायः बढ़ी नै समय लाग्थ्यो!” लौ हेर्नुहोस् त, याकूबले कस्तो जवाफ दिन्छन् (पद २०)। उनले झूट मात्र बोल्दैनन् तर झूटसित परमेश्वरको नामलाई गाँस्छन् पनि। त्यसले त उनको पापलाई झनै नराम्रो तुल्यायो।
पद २१ मा इसहाकले भन्छन्, “नजिक आऊ अनि म तिमीलाई छामेर हेर्न सकूँ!” यतिखेर सम्म याकूब उनका बाख्राको रौंमुनि निश्चय चिटचिट पसिना काढ्दै थिए! पद २४ मा हेरौं। एउटा झूटले अर्को झूटलाई जन्माउँछ!
परमेश्वरसित इसहाकको पुनः मिलाप
इसहाक परमेश्वरको स्पष्ट इच्छा (उत्पत्ति २५:२३) को विरुद्ध, आफूले मन पराएको छोरा एसावलाई नै आशिष दिलाउन कस्सिएका थिए। आखिरमा जब इसहाकले आफू छलिएर याकूबलाई आशिष दिन पुगेको कुरा थाह पाए, उनी “भयानक रूपमा कामे” (उनी भयानक कम्पनका साथ कामे) – उत्पत्ति २७:३३ हुर्नुहोस्। उनी अपराध गर्दागर्दै पक्राउ परे! परमेश्वरले इसहाकलाई भेट्टाइछाड्नुभयो, इसहाकले बल्ल आफ्नो भूल महसुस गरे। इसहाक धोकामा परेर मात्र याकूबलाई आशिष दिए, तर उक्त काम आफूले सीधै गर्नुपर्ने काम थियो भन्ने कुरा उनले अब महसुस गरे! अब इसहाक मानौं यसो भन्दै थिए, “प्रभु, तपाईं सही हुनुहुन्छ, मचाहिँ गलत छु। यतिका वर्षसम्म म तपाईंको इच्छा विरुद्ध लडेँ, तर अब म आत्मसमर्पण गर्दछु। तपाईंकै इच्छा पूरा होस् भन्ने म चाहन्छु! मैले याकूबलाई आशिष दिएको छु अनि त्योचाहिँ आर्शीवादी हुनेछ।” (उत्पत्ति २७:३३)
याकूब पत्नी खोज्न हिँड्छन्
याकूब पत्नी खोज्न हारानतर्फ लाग्छन्। कुनै व्यक्ति ७७ वर्ष पुगेको छ भने उसले विवाहको सोचाइ राख्ने समय पनि त भयो नि! हारान उही ठाउँ हो जहाँबाट रिबेका आएकी थिई। याकूब केवल पत्नी खोज्न यात्रा गरिरहेका थिएनन्, उनी एसावदेखि भाग्दै पनि थिए (उत्पत्ति २७:४१-४३)।
त्यो यात्रा जोखिमपूर्ण र कठिन थियो। याकूबले हजारौं किलोमीटर एकलै यात्रा गर्नुपर्यो। याद गर्नुहोस्, उनी बाहिरतिर डुल्न रुचाउने व्यक्ति थिएनन्। उनी आमाको साथमा घरै बस्न रुचाउने व्यक्ति थिए (उत्पत्ति २५:२७)। यही यात्रामा परमेश्वरले याकूबसित विशेष भेट गर्नुभयो (उत्पत्ति २८:१०-२२)। परमेश्वरले याकूबको हृदयमा काम गर्न शुरू गर्नुभयो, तरैपनि याकूबलाई परमेश्वरले सिकाउनुपर्ने कुराहरू थुप्रै थिए। आखिरमा याकूब आफ्नो गन्तव्य स्थानमा आइपुगे अनि उसले त्यहाँ लाबानलाई भेटे (उत्पत्ति २९:१३-१४)। अब याकूब उनको बराबरीको व्यक्तिसँग भिड्नु पर्ने भयो! लाबान, “कुर्कुच्चा समात्ने” लाई उल्टै समात्न र छल्नलाई गजबको षड्यन्त्र रच्न तुरुन्तै थाल्छन्! याकूबको पापले अब उसलाई भेट्टाउने भयो!
धूर्त याकूब धूर्त्याइँकै शिकार!
याकूबलाई जे चाहिएको थियो ठीक त्यही कुरा लाबानको हातमा थियो अर्थात् राहेल (उत्पत्ति २९:१५-२० हेर्नुहोस्)। राहेललाई सित्तैंमा दिनुको सट्टा, लाबान मौकाको फाइदा उठाउनपट्टि लाग्छन्। उनले याकूबसित मोलतोल गर्छन्। याद गर्नुहोस्, एक समय याकूबले भोकाएको एसावसित पनि मोलतोल गरेको थियो (हेर्नुहोस्, याकूबको पहिलो चालबाजी)।
लाबानले मानौं यसो भन्दै थिए, “याकूब, मलाई चाहिएको कुरो तिमीसित छ अनि तिमीलाई चाहिएको कुरो मसित छ। म तिमीलाई राहेल दिन्छु, तिमीचाहिँ ७ वर्ष मेरो सेवा गर।” लाबान याकूबको मन्जुरीनामा लिन सफल भए – लेनदेनको सम्झौता पारित भयो! हामीलाई याद छ, एक समय याकूबले पनि एसावलाई मन्जुरीनामा गराइछाडेका थिए!
याकूबलाई ७ वर्ष केहीजस्तो लागेन (उत्पत्ति २९:२०)! राहेलका लागि उनी सात समुद्र पार गर्न समेत तयार थिए। आफूले प्रेम गरेको केटीको निम्ति उनी खुशीसित सात वर्ष सेवा गर्न तत्पर थिए!
सात वर्षको अन्तमा याकूब ८४ वर्ष पुगेका छन्। अब विहेको दिन आइपुगेको छ (उत्पत्ति २९:२१-२२)। तर याकूबलाई राहेल दिनुको सट्टा लाबानले कसलाई पो दिन्छन् (उत्पत्ति २९:२३)? ______________ । विवाहमा दुलहीले घुम्टो लगाएकी हुन्छे! घुम्टो पछाडि राहेल नै छन् भनी याकूब निर्धक्क थिए तर उनी पूर्णरूपमा ठगिएका थिए। उनले “बिहान हेर्दा त ___________ पो रहिछन्! (उत्पत्ति २९:२५)।” याकूब छलिए! याद गर्नुहोस्, एक समय याकूबले इसहाकलाई कसरी छलेका थिए!
त्यस रातको बातचीत तपाईं कल्पना गर्न सक्नुहुन्छ होला। याकूब प्रश्न गर्छन्, “स्वर त चिनेको जस्तो लागेन। हैन, तिमी को हौ?” लेआ बनावटी स्वरमा जवाफ दिन्छिन्, “म राहेल हुँ।”
तुलना गर्नुहोस् उत्पत्ति २७:१८,१९,२०। साथै हेर्नुहोस्, याकूबको दोस्रो चालबाजी। कुर्कुच्चा समात्ने त उल्टै समातियो!
याकूबले के गर्नुपर्नेथ्यो
लाबान याकूबलाई स्पष्टिकरण दिन्छन्, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विहे अघिबाट गर्नुहुन्न (उत्पत्ति २९:२६)। लौ, अहिले आएर चलनको कुरो निकाल्छ लाबान मामाले! लाबान याकूबलाई भन्छन्, सात दिनपछि उसले राहेललाई पनि प्राप्त गर्न सक्नेछ, तर एउटा शर्तमा- “दुबै पत्नीहरूको मोल तिर्न तिमीले थप ७ वर्ष मेरो सेवा गर्नुपर्छ!”(उत्पत्ति २९:२६-२७)
राहेलको सट्टा लेआ पो रहिछन् भन्ने थाहा पाएपछि याकूबले के गर्नुपर्नेथ्यो? उसले आफ्नो बाबुले जस्तै गर्नुपर्नेथ्यो जब उनले एसावको सट्टा याकूब रहेछ भनी थाहा पाएका थिए। “ऊ भयानक कम्पनका साथ” काम्नुपर्नेथ्यो। उसले यसरी पुकारा गर्नुपर्नेथ्यो, “प्रभु, मेरो पापले मलाई भेट्टाएको छ! मैले जसरी मेरा बाबुसित व्यवहार गरेको थिएँ, उहाँलाई छल गरेको थिएँ, त्यस्तै खालको व्यवहार मैले अर्काबाट भोग्नुपरेको छ। प्रभु, म तपाईंद्वारा पक्राउ परेको छु, मैले जे भोग्नुपर्थ्यो त्यही भोगिरहेको छु। अब लेआसित नै सन्तुष्ट हुन मलाई मद्दत गर्नुहोस्। म तपाईंको इच्छाअनुसार जिउन चाहन्छु!”
के याकूबले त्यसो गरे ? ___________। परमेश्वरले दिनुभएको पत्नीलाई स्वीकार गर्नुको सट्टा उनले तिनलाई अ_____________ गरे (उत्पत्ति २९:३१)! परमेश्वरले उनलाई दिनुभएको पत्नीलाई याकूबले घृणा गरे! तर लेआलाई प्रभुले भने एकदमै आशिष दिनुभयो। परमेश्वरले तिनलाई ६ जना सन्तान दिनुभयो (याकूबका अन्य पत्नीहरूलाई भन्दा ३ गुणा बढ़ी; उनका अन्य ३ जना पत्नीहरूका दुई-दुईजना मात्र सन्तान भए), अनि अझ उल्लेखनीय कुरा यो छ- परमेश्वरले लेआलाई मसीहका आमा तुल्याउनुभयो! लेआले यहूदालाई जन्माइन् अनि ख्रीष्ट यहूदाको कूलबाट आउनुभयो (मत्ती १:२-३)।
ठग फेरि ठगिन्छ
उत्पत्ति ३७:३१-३५ पढ्नुहोस्। इसहाक आफ्ना छोरा याकूबद्वारा ठगिए। के याकूब पनि आफ्ना छोराहरूद्वारा ठगिन्छन्? ______________। आफ्ना बाबुलाई ठग्न याकूबले बाख्राको छाला प्रयोग गरे। के याकूब पछिबाट बाख्राकै माध्यमद्वारा ठगिन्छन्? _____________। आफू ठगिएको कुरा एसावले त्यही दिन थाहा पाए तर याकूबले भने आफू ठगिएको कुरा वर्षौंसम्म थाहा पाएनन्। मरेको भनी ठानिएका छोरा यूसुफ त यतिका वर्ष जिउँदै रहेछन्। धूर्त याकूबले आफ्नो जीवनकालमा केही कठिन पाठहरू सिक्नुपर्यो।
छलकपट र ठगठागले राम्रो प्रितफल ल्याउँदैन। तर परमप्रभुमाथि भरोसा राख्दा, उहाँलाई आफ्नो काम गर्न दिँदा राम्रो प्रतिफल मिल्दछ। याकूब जस्ता ठग्ने र ठगिने व्यक्तिहरू त्यहाँ सधैं हुनेछन् (२ तिमोथी ३:१२-१७), तर याद गर्नुहोस्, त्यहाँ एकजना हुनुहुन्छ जसलाई तपाईं कहिल्यै ठग्न सक्नुहुन्न- “_________मा नपर; परमेश्वर _________मा _________________; किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ” (गलाती ६:७)। याकूबले कपटरूपी बीऊ छरेको थियो अनि पछिबाट ठीक त्यसैको कटनी गर्नुपर्यो। हामी उनका पाइला नपछयाऔं।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)