देखावटी यहूदा

देखावटी यहूदा

 

यस पाठमा हामी एउटा देखावटी जीवन जिउने व्यक्तिको अध्ययन गर्न लागिरहेका छौं। उसले आफूलाई साँचो चेलाको रूपमा प्रस्तुत गर्‍यो। तर ऊ वास्तवमा साँचो चेला थिएन। उसले येशूलाई प्रेम गरेको जस्तै देखायो तर वास्तवमा उसले येशूलाई प्रेम गर्दैनथ्यो। ऊ एक देखौवा मात्र थियो, तरैपनि उसले धेरैलाई झुक्क्याउन सफल भयो। उसको नाम थियो यहूदा इस्करयोती। सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का पन्नाहरूमा हामी उसको बारेमा पढ्न सक्छौं।

येशूले किन एउटा शैतानलाई रोज्नुभयो?

येशूका चेलाहरूको विषयमा विचार गर्दा हामीलाई प्रायः बाह्रजनाको याद आउँछ। के तपाईंलाई थाहा छ, सुरुमा त येशूका बाह्रभन्दा बेसी चेलाहरू थिए? लूका ६:१२-१३ मा बताइएको छ, येशू रातभरि प्रार्थना गर्नुभयो अनि त्यसपछि आफ्ना चेलाहरू (बाह्रभन्दा बेसी) लाई बोलाउनुभई उनीहरूलाई भेला गराउनुभयो । अनि ती धेरैजनामध्येबाट उहाँले बाह्रजनालाई विशेषरूपमा आफूसँगै हुनलाई रोज्नुभयो।

यी बाह्रजना चेलाका नाम लूका ६:१४-१६ मा पढ्न सकिन्छ। यहूदा इस्करयोतीको नाम पुछारमा उल्लेख छ (पद १६), जहाँ उसलाई वि_____________ भनेर पनि चिनाइएको छ।

यहूदा इस्करयोतीलाई बाह्रजनामध्ये हुनलाई किन चुनियो? यस विश्वासघातीलाई किन चुनियो? उहाँले छान्न सक्नुहुने थुप्रै व्यक्तिहरूबाट किन यिनै मानिसलाई प्रभुले चुन्नुभयो?

यूहन्ना ६:७० मा येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रजनालाई _____________ र? तर तिमीहरूमध्ये ________जना ____________ हो।” यहाँ येशूले कसको कुरा गर्दैहुनुहुन्थ्यो (यूहन्ना ६:७१)? _________________। येशूको भनाइको तात्पर्य यो थियो – “मैले बाह्रजना चेलाहरू चुनेको छु अनि तिमीहरूमध्ये एकजना शैतानपट्टिका हौं! मेरा चेलाहरूमध्येका एकजना शैतानको सन्तान हो। यो चेलालाई शैतानले आफ्नो उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्नेछ (यूहन्ना १३:२) अनि यो चेला संसारकै एउटा महापराधको दोषी हुनेछ। ऊ शैतानकै मान्छे बन्नेछ।”

आज शैतानका मान्छेहरू को हुन्? हत्याराहरू? गुण्डाहरू? झ्यालखानका जघन्य अपराधीहरू? शैतानको मान्छे कहाँ भेटिएला? त्यो मान्छे कुनै बाइबलीय मण्डलीमा भजन गाउँदै गरेको भेटिएला कि? परमेश्वरका जनहरूकै बीचमा शैतानको मान्छे भेटिएला कि? नबिर्सौं, एक पटक येशूले उहाँलाई प्रेम गर्छौं भन्ने दाबी गर्नेहरूलाई हेर्दै भन्नुभयो, “तिमीहरूमध्ये एकजना शैतान हो।”

येशूले किन एउटा शैतानलाई बाह्रजनामध्येका हुनलाई चुन्नुभयो? प्रभुले यहूदालाई किन चुन्नुभयो? के उहाँले भूल गर्नुभएको हो? के उहाँले गलत व्यक्तिलाई चुन्नुभएको हो?

यूहन्ना ६:६४ मा हेर्नुहोस्। येशूले भन्नुभयो, “‘तर तिमीहरूमध्ये कतिजना छन्, जसले विश्वास ___________।’ किनभने विश्वास _________हरू को-को हुन्, अनि उहाँलाई पक्राउने को हुनेछ, सो येशूले __________देखि नै __________भएको थियो।” यस भनाइले स्पष्‍ट देखाउँछ, येशू कुनै हालतले पनि चुक्नुभएको थिएन! आफू के गर्दैहुनुहुन्थ्यो भन्ने कुरा उहाँ राम्ररी जान्नुहुन्थ्यो! उसलाई चुन्नुभएको घडिमा नै उहाँ यहूदाको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। यहूदाले उहाँलाई विश्वासघात गर्नेछ भन्ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थियो।

यहूदाको छनोट कार्यको पछाडि परमेश्वरको ज्यादै महत्त्वपूर्ण उद्देश्य थियो। यस व्यक्तिबाट हामीले केही पाठहरू सिकेको प्रभु चाहनुहुन्छ। यहूदाको खेदपूर्ण जीवनबाट हामीले महत्त्वपूर्ण पाठहरू सिक्नुपर्छ।

फेरि पनि यूहन्ना ६:६४ पढ्नुहोस् र आफ्नो बाइबल क्लासमा भएकाहरूको विषयमा विचार गर्नुहोस्, आफ्नै विषयमा पनि। विश्वास गर्नेहरू को हुन्, विश्वास नगर्नेहरू को हुन् भनी के प्रभु जान्नुहुन्छ? को-को स्वर्ग जानेछन्, को-को जानेछैनन् भनी के येशू अहिले नै जान्नुहुन्छ? कुनै व्यक्ति साँचो ख्रीष्टियन हुनुपर्छ भन्ने हामीलाई लागेको होला तर उसले हामीलाई झुक्क्याइरहेको हुन सक्छ। तर उसले प्रभुलाई कहिल्यै झुक्क्याउन सक्दैनन्। उहाँलाई थाहा छ। यहूदाले अरूहरूलाई झुक्क्यायो तर येशूलाई कहिल्यै झुक्क्याउन सकेन।

परमेश्वरले यहूदालाई आफ्नो उद्देश्यअनुरूप चुन्नुभएको थियो। यहूदाको खेदपूर्ण जीवनबाट परमेश्वरले हामीलाई कमसेकम तीनओटा पाठ सिकाउन चाहनुहुन्छ।

(१) कसैले मुक्तिका बाह्य सङ्केतहरू देखाउँदैमा उसले मुक्ति पाएकै हुनुपर्छ भन्न सकिन्न

सुसमाचारका पुस्तकहरूमा यहूदालाई सात पटक “बाह्रजनामध्येका एक” भनी उल्लेख गरिएको छ (हेर्नू: यूहन्ना ६:७१)। मानौं तपाईं बाह्रमध्येका एक हुनुहुन्छ; अब यहूदाप्रति तपाईंको हेराइ कस्तो हुन्थ्यो होला? तपाईंलाई यहूदा अरू चेलाभन्दा बेग्लै छ जस्तो लाग्थ्यो कि लाग्दैनथ्यो? कि यहूदाले आफू बाँकी एघारजनाजस्तै भएको देखाई तपाईंलाई झुक्क्याउन सफल हुन्थ्यो कि?

यहूदा ठाउँ-ठाउँमा गएर परमेश्वरको वचन प्रचार गर्थ्यो; के यो कुरा तपाईंलाई थाहा थियो? मत्ती १०:४-७ मा पढ्नुहोस्। येशूले बाह्रजना (यहूदा समेत) लाई ठाउँ-ठाउँमा गएर राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभयो। हामीलाई थाहा भएसम्म यहूदाले प्रचार गरेकै थियो। गएर उसले यस्तो सन्देश प्रचार गर्‍यो, “पश्चात्ताप गर! किनभने स्वर्गको राज्य नजिकै छ!” (हेर्नू: मत्ती १०:७)।

अझ अचम्मको कुरा, यहूदाले सम्भवतः आश्चर्यकर्महरू समेत गर्‍यो! मत्ती १०:१ मा हामी सिक्छौं, येशूले आफ्ना बाह्रजना चेलाहरू (यहूदा समेत) लाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभएको थियो, साथै सबै किसिमका रोगलाई निको पार्न सक्ने सामर्थ्य दिनुभएको थियो (मत्ती १०:८ मा पनि हेर्नुहोस्)। सम्भवतः प्यालेस्टाइनका कति मानिसहरूले यस्तो गवाही दिन सक्थे, “मलाई यहूदाले चङ्गाइ पार्‍यो” अथवा “यहूदाले मभित्र भएको दुष्ट आत्मालाई हटाइदियो!” चेलाहरू आफ्ना कामबाट फर्केर आएपछि उनीहरूले यसरी भनेको पाइँदैन — “प्रभु, तपाईंको नाममा हामीले मानिसहरूलाई निको पार्न सक्यौं, दुष्ट आत्माहरू धपायौं। तर प्रभु, यो यहूदाको के समस्या हो कुन्नी। उसले कसैलाई निको पार्न सकेन, दुष्ट आत्माहरूले उसलाई टेरेन।” अहँ, नयाँ नियमको अभिलेखले दिएको सङ्केत एउटै छ ‍- यहूदाले अन्य चेलाहरूले जस्तै आश्चर्यकर्महरू गरेकै हुनुपर्छ।

यहूदाले प्रचार गर्‍यो र आश्चर्यकर्महरू गर्‍यो, तरैपनि यहूदा मुक्ति नै नपाएको मान्छे थियो! मत्ती ७:२२ लाई विचार गर्नुहोस्। सायद एक दिन यहूदाले यसरी भन्नेछ कि, “प्रभु, प्रभु, के मैले तपाईंको नाममा प्रचार गरिनँ र? अनि तपाईंको नाममा मैले दुष्ट आत्माहरू धपाइनँ र? अनि तपाईंको नाममा रोगीहरूलाई चङ्गाइ गरिनँ र? अनि तपाईंको नाममा थुप्रै आश्चर्यकर्महरू गरिनँ र?” येशूले उसलाई के जवाफ दिनुहुनेछ (मत्ती ७:२३)? __________________________________________________ ______________________________

आज पनि यो साँचो छ। कतिजना हुन्छन् जोहरूले सबै बाह्य लक्षण देखाए तापनि मुक्ति उनीहरू नपाएका हुन सक्छन्। के एउटा व्यक्तिले प्रचार गरे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले भजन गाए तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले प्रार्थना गरे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के ‍एउटा व्यक्तिले अरूलाई ख्रीष्टको बारेमा सुनाए तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले बाइबल पढे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ?

(२) सबैलाई झुक्क्याउन सके तापनि परमेश्वरलाई झुक्क्याउन सकिन्न

यहूदाको हृदय परमेश्वरसँग ठीक थिएन तर त्यो कुरा उसले आफ्ना सहकर्मीहरूबाट लुकाउन सक्यो। बाँकी एघारजनालाई यहूदा कपटी हो भनेर कहिल्यै लागेन; उनीहरूलाई यहूदाको यसरी शङ्का लागेको सङ्केत कहीँ देखिँदैन। बरू तिनीहरूले पछिल्लो घडीसम्मै उसलाई विश्वास गरिराखेको देखिन्छ। यहूदा चेलाहरूको खजाञ्ची थियो अनि उसले येशूलाई धोका दिएको रातसम्मै पैसाको थैली उसकै हातमा थियो (यूहन्ना १३:२९)। त्यसबेला सम्म पनि तिनीहरूले उसलाई विश्वास गरिराखेकै थिए।

यूहन्ना १२:३-५ मा यहूदाले आफूलाई गरिबहरूको वास्ता गर्ने व्यक्तिको रूपमा प्रस्तुत गरेको छ। के उसको वास्ता साँचो कि बनावटी मात्र थियो (यूहन्ना १२:६)? _______________। उसलाई वास्तवमा कसको मात्र वास्ता थियो? ________________। यहूदा एक देखावटी मात्र थिएन, ऊ चोर पनि थियो। तर अरू चेलाहरूलाई त्यस्तो लाग्दैनथ्यो। यहूदाको भनाइ सुनेर (यूहन्ना १२:४-५) तिनीहरूले सम्भवतः यसरी सोचे, “यहूदालाई गरिबहरूको वास्ता छ। भोकमरीमा परेका गरिब नानीहरू र गरिब विधवाहरूका निम्ति उसको हृदयमा बोझ छ।” यहूदाले आफूलाई सज्जनको रूपमा देखाउन जानेको थियो। उसले अरूलाई झुक्क्याउन जानेको थियो।

मानौं प्रभु आफै तपाईंको बाइबल क्लासको सामु देखा पर्नुभयो। तपाईंहरूलाई उहाँले के भन्नुहुनेथ्यो होला? के उहाँले “तिमीहरू सबै शुद्ध छौ” भन्नुहुनेथ्यो होला कि “तिमीहरू सबै शुद्ध छैनौ” भन्नुहुनेथ्यो? तपाईं नि? के तपाईं शुद्ध हुनुहुन्छ कि अशुद्ध? के तपाईंका पापहरू क्षमा भए कि अझै तपाईं आफ्ना पापहरूमै हुनुहुन्छ? के तपाईंलाई आफ्ना पापहरू क्षमा भए भन्ने निश्चयता छ?

अन्तिम घडिसम्म पनि चेलाहरूले विश्वासघात गर्ने यहूदा नै हुनुपर्छ भनेर शङ्का गरेनन्। मत्ती २६:२१ मा येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ।” उहाँले यो कुरा भन्नेबित्तिकै चेलाहरूले के सोच्न थाले? के तिनीहरू सबैले यसो भने? – “प्रभु, तपाईंलाई पक्राइदिने व्यक्ति यही यहूदा नै हुनुपर्छ। उसको केही न केही समस्या हुनुपर्छ भन्ने हामीलाई पहिलेदेखि नै लाग्थ्यो।” अहँ, तिनीहरूले यस्तो कुरा गरेनन्। तिनीहरूले भने, “प्रभु, के त्यो _____ _____” (मत्ती २६:२२)? यहूदाले उनीहरू एक-एकलाई झुक्क्यायो, केवल प्रभुलाई र आफूलाई झुक्क्याउन सकेन (प्रभुसँग मेरो सम्बन्ध ठीक छैन भनेर यहूदालाई आफ्नो हृदयभित्र थाहा थियो)।

घृणाको हृदयबाट प्रेमको चुम्बन

लूका २२:४७-४८ मा हामी देख्छौं, यहूदाले येशूलाई __________ गरेर धोका दियो। “चुम्बन” भन्ने शब्द एउटा क्रियापदबाट आएको शब्द हो जसको अर्थ हुन्छ, “प्रेम गर्नु, साथी वा प्रिय व्यक्तिप्रति आफ्नो स्नेह देखाउनु।” यहूदाले मित्रता र स्नेहको मुकुण्डो लगाएर विश्वासघातको घिनलाग्दो पाप गरे। बरू येशूकहाँ गएर उहाँको मुखमा उसले थुकेको भए वा थप्पड लगाएको भए त्यो उसको इमानदारीता गनिन्थ्यो, उसको खास चरित्रलाई सुहाउँथ्यो। यहूदाले उहाँलाई वास्तवमा घृणा गरे तापनि उहाँलाई प्रेम गरेको बाहना किन गर्‍यो? ऊ वास्तवमा उहाँको शत्रु भए तापनि यहूदाले आफू उहाँको मित्र भएको बाहना किन गर्‍यो?

यहूदासित धेरै रिसाउनु अघि हामीले आफ्नै हृदयलाई जाँचौं। के म प्रभु येशूलाई साँच्ची नै प्रेम गर्दछु कि म केवल देखावटी मात्र हुँ? के ख्रीष्टप्रति मेरो प्रेम र स्नेह साँचो छ कि देखावटी? के म सङ्गतिको एक दिनमा उहाँलाई चुम्बन गरेर बाँकी ६ दिन आफ्नो हिँडाइद्वारा उहँलाई धोका दिँदैछु?

समयले बताउनेछ

येशूका शत्रुहरू उहाँलाई पक्रन आउँदा तिनीहरूसँगै त्यहाँ को समेत उभिरहेको थियो (यूहन्ना १८:३,५)? _____________। यहूदा प्रभुका शत्रुहरूसँगै थियो। यहूदाले अब कसैलाई झुक्क्याउने कुरा भएन। यहूदा कसको पक्षमा रहेछ भनेर अब सबैले देख्‍न सक्थे। अझ, यहूदा शत्रु दलसँगै पछारियो पनि (पद ६)। एकातिर प्रभुका साँचा विश्वासीहरू येशूका साथमा आफ्ना खुट्टामै खडा थिए भने अर्कोतिर येशूको झूटो चेला (यहूदा) प्रभुका शत्रुहरूसँगै भुइँमा पछारिएको थियो (यूहन्ना १८:५-६)।

फेरि तपाईं आफ्नो बाइबल क्लासमा भएकाहरूको विचार गर्नुहोस्, विशेष गरी आफ्नो विषयमा। आजको ५ वा १० वर्षमा तपाईं कहाँ हुनुहुनेछ होला? के तपाईं परमेश्वरकै जनहरूसँगै हुनुहुनेछ कि तपाईं प्रभुका शत्रुहरूसँग हुनुहुनेछ? के तपाईं त्यसबेला पनि परमेश्वरका जनहरूसँगै एउटा बाइबलीय मण्डलीसँग सङ्गति गर्दै रहनुहुनेछ होला? कतिपय जवान व्यक्तिहरू बाबुआमाले उनीहरूलाई ल्याएकाले मात्रै मण्डली सभामा आउने गर्छन्। भविष्यमा मण्डली जाने निर्णय आफ्नै हातमा हुँदा तपाईंले कस्तो निर्णय गर्नुहुन्छ? के तपाईं त्यसबेला पनि जानुहुनेछ? के तपाईंलाई त्यसबेला पनि परमेश्वरका जनहरूका बीचमा भेट्टाउन सक्नेछौं? समयले प्रायः बताउनेछ, एक व्यक्ति कतापट्टि छ, परमेश्वरपट्टि कि शैतानपट्टि।

३) प्रभुको ज्यादै नजिक पुगेर पनि अनन्त विनाशमा पुग्न सम्भव छ

यहूदा प्रभुको नजिकमा थियो; प्रभुको त्यति नै नजिक हुने मौका त थोरैले पाउँछन्। यहूदाले प्रभुसँग जति समय बितायो, थोरैले त्यति समय उहाँसँग बिताउन पाउँछन्। एउटा व्यक्तिले पाउन सक्ने जति सबै सुअवसरहरू उसले पायो। संसारकै सबभन्दा असल बाइबल शिक्षकबाट उसले सिक्न सक्थ्यो, सबभन्दा असल प्रचारकबाट उसले सुन्न सक्थ्यो। उसले मुक्तिको सन्देश मुक्तिदाताकै ओठहरूबाट सुन्यो, त्यसमा पनि घरीघरी। ख्रीष्टका दाबीहरू सबै सत्य छन् भनेर पुष्टि गर्ने उहाँका थुप्रै आश्चर्यकर्महरू यहूदाले आफ्नै आँखाले देख्यो। उसले परमेश्वरको पुत्रकै सामु हिँडडुल गर्न, सँगै यात्रा गर्न, सँगै खान, बस्न, सुत्‍न पायो। एउटा मान्छेलाई अरू के चाहिन्छ र? एउटा मान्छेलाई अरू के दिन सकिन्छ र? तरैपनि यो मान्छेको विषयमा येशूले यसो भन्नुभयो, “मानिसका पुत्र साँच्चै उनको विषयमा लेखिएअनुसार जान्छन् नै तर ________ त्यस मान्छेलाई जसद्वारा मानिसका पुत्र पक्राइँदछन्। त्यो मान्छे ________________ भए त्यसका लागि असल हुनेथियो” (मत्ती २६:२४)।

साथै यूहन्ना १७:१२ मा येशूले यहूदालाई “___________ को __________” को उपनाम दिनुभयो। ऊ नष्ट हुनेछ, दण्ड पाउनेछ, सदाकाल नरकमा पर्नेछ। बाइबलमा केवल अर्को एकजना व्यक्तिलाई मात्रै विनाशको पुत्र भन्ने नाम दिइएको छ; त्यो हो पापको पुरुष अर्थात् भविष्यमा आउने ख्रीष्टविरोधी। २ थेस्सलोनिकी २:३ मा हेर्नुहोस्।

आफूले ठूलो पाप गरेको कुरा यहूदालाई थाहा थियो (मत्ती २७:४) तर ऊ पश्चात्तापी भई प्रभुकहाँ कहिल्यै आएन। बरू गएर उसले आत्महत्या गर्‍यो: “त्यो (यहूदा) हिँडयो, अनि गएर आफैलाई __________ लगायो” (मत्ती २७:५)। यहूदाले आत्महत्या गर्‍यो तर परमेश्वरले उसलाई केवल झुण्डिएर मर्न दिनुभएन। प्रेरित १:१८ अनुसार यहूदा “उँधोमुन्टो भई खसेर बीचैमा फुट्‍यो, र त्यसका सबै आन्द्रा-भुँडी बाहिर निस्के।” फाँसीको डोरी चुडिँदा मान्छे खसेर चुच्चो चट्टानमाथि बजारिएर भुँडी फुटेको हुन सक्छ। उक्त घटनालाई खुलस्त नबताइएको भए तापनि परमेश्वरले उसको फाँसीलाई असाधारण तुल्याइदिनुभएको कुरा प्रस्ट देखिन्छ। तरैपनि यो मृत्यु जतिसुकै अप्रिय भए तापनि नरकको कहालिलाग्दो अनन्तताको दाँजोमा यहूदाको निम्ति त्यो ठूलो कुरा थिएन।

के यहूदा तपाईंजस्तै थियो कि? तपाईं साँचो हुनुहुन्छ कि नक्कली? हृदयभित्र कुनै वास्तविकताबिना नै तपाईं बाहिरी कामहरू मात्र गरिरहनुभएको छ कि (चर्च जाने, प्रार्थना गर्ने, बाइबलको चर्चा गर्ने आदि)? आफूले मुक्ति नपाएको कुरा तपाईंलाई थाहा भएर पनि के अरूहरूका सामु आफूलाई एउटा मुक्ति पाएको व्यक्तिको रूपमा प्रस्तुत गर्नुहुन्छ कि? परमेश्वरले तपाईंलाई के कस्ता सुअवसरहरू र सत्यताहरू दिनुभएको छ? के तपाईंले मुक्ति पाउने उपाय घरीघरी सुन्नुभएको छ? तपाईंलाई प्रभुले बाइबल दिनुभएको छ? एउटा असल मण्डली? इसाई बाबुआमा? असल पास्टर तथा शिक्षकहरू? तपाईंले यी सबै मौकाहरू पाएर के गर्दैहुनुहुन्छ?

यहूदाजस्तै देखावटी ख्रीष्टियन नबन्नुहोस्। प्रभुको एक साँ___ चेला बन्नुहोस् (यूहन्ना ८:३१)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email