घमन्डी हामान
घमन्डी हामान
घमन्ड अति घिनलाग्दो पाप हो। घमन्डी व्यक्तिले आफूलाई सृष्टिकै सर्वोच्चस्थानमा बसिरहेको जस्तै देख्दछ। उसले आफूलाई सारा सृष्टिकै सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको रूपमा देख्दछ। घमन्डी व्यक्तिको ठूलो समस्या भनेको उसको ठूलो “म” नै हो। उसको निम्ति अरू कुनै कुरा महत्त्वपूर्ण छैन, केवल उसको “म, मलाई र मेरो”।
घमन्डीज्यूको भनाइ यस प्रकारको छ:
मलाई हेर त।
मलाई ध्यान देऊ, म को हुँ चिनिराख।
मैले गरेका कामलाई हेर।
म कति महान् छु।
म कति अचम्मको छु।
मेरो तारीफ गर।
म सबैभन्दा महान् हुँ।
सबभन्दा पहिलो पाप के थियो? सबभन्दा पहिलो पाप हत्या थिएन। चोरी थिएन। झूट थिएन। खराब वा फोहोर बोली पनि थिएन। सबभन्दा पहिलो पाप घमन्ड थियो। सबभन्दा पहिलो पाप गर्ने व्यक्ति को थियो (हेर्नू: १ यूहन्ना ३:८)? _______________। उसले के गरेको थियो? १ तिमोथी ३:६ बाट हामी जान्न सक्छौं, ऊ “_____________” ले फुलेको थियो।
परमेश्वरले एउटा सुन्दर स्वर्गदूत सृजनुभएको थियो जो पवित्र र असल थियो। त्यो स्वर्गदूत कहिलेकाहीँ “बि______को _________ (यशैया १४:१२, अङ्ग्रजी किङ्ग जेम्स बाइबलमा “लुसिफर”) भन्ने नाउँले चिनिन्छ। ऊ परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरूमध्येमा अत्यन्तै महत्त्वपूर्ण दूत थियो।
यो स्वर्गदूतलाई एउटा अति नराम्रो कुरा भयो। लुसिफरको सम्बन्धमा बाइबलले बताउँछ, “तेरो सुन्दरताले गर्दा तेरो हृदय _____________ ____________” (इजकिएल २८:१७)। आफ्नो सुन्दरता, आफ्नो बुद्धि र आफ्नो शक्तिको कारण ऊ घमन्डले फुलियो। उसले यस प्रकारले भनेको हुनुपर्छ:
लुसिफरले भन्यो (आफ्नो मनमा, यशैया १४:१३)
“म कति सुन्दर छु। म कति बुद्धिमान् छु। परमेश्वर मात्र महान् छैन। म पनि महान् छु। सबै स्वर्गदूतहरूले किन परमेश्वरलाई मात्र पूज्नुपर्छ र? मलाई पनि पूज्नुपर्दैन र? म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु” (हेर्नू: यशैया १४:१२-१४)।
घमन्डको भयङ्कर पापले गर्दा स्वर्गदूत “लुसिफर” बदलेर “डियाबलोस” शैतान बन्न पुग्यो। उसले आफूलाई यति माथिसम्म उचाल्यो तर परमेश्वरले उसलाई ज्यादै तलसम्म झार्नुहुनेछ (हेर्नू: यशैया १४:१४-१५)। हामी शैतानको पापमा नफसौं (१ तिमोथी ३:६) र आफ्नो विषयमा बढी सोच्न नथालौं (हेर्नू: रोमी १२:३) भन्ने हेतुले हामी एकदम होसियार बस्नुपर्छ।
के आफू कोही हुँ जस्तो लाग्छ तपाईंलाई ?
तपाईं आफ्नो विषयमा के सोच्नुहुन्छ? आफ्नो विषयमा तपाईंको धारणा कस्तो छ? तपाईंको आफ्नै मूल्याङ्कन कस्तो छ? (औसतभन्दा कम? ओसतबराबर? असल? महान्? सबभन्दा महान्?) तपाईं आफूलाई कुन तहमा देख्नुहुन्छ?
सबैजना “केही न केही बन्न” चाहन्छन्। हामी महत्त्वपूर्ण व्यक्ति बन्न चाहन्छौं। हामी केही न केही महत्त्व बोकेका व्यक्ति हुन चाहन्छौं। “म कोही हुँ” भनेर भन्न सकौं भन्ने चाहन्छौं। तसर्थ हामीलाई अलिक अचम्म लाग्न सक्छ जब हामी गलाती ६:३ मा पढ्छौं र पत्ता लगाउँछौं कि यद्यपि हामी आफू _________ _______ भन्ने सम्झन्छौं तरैपनि वास्तवमा (परमेश्वरको दृष्टिकोणमा) हामी ________ होइनौं। हामी आफूलाई जति महत्त्वपूर्ण सम्झन्थ्यौं त्यति महत्त्वपूर्ण रहेनछौं।
यदि आज नै तपाईं मर्नुभयो भने (हेर्नू: लूका १२:२०), के संसार तपाईंबिना चलिरहन सक्नेथ्यो होला? तपाईंको मृत्युलाई देशव्यापी समाचारको रूपमा रेडियो वा टेलिभिजनमा प्रसारण हुनेथ्यो होला? के तपाईंलाई कुनै महान् र ख्यातिप्राप्त व्यक्तिको रूपमा लामो समयसम्म सम्झना गरिने थियो होला?
धेरै व्यक्तिहरू आफूहरू भीआइपीहरू (“भेरी इम्पोर्टेन्ट पर्सन्स्” अर्थात् “अति महत्त्वपूर्ण व्यक्तिहरू”) हौं भनी सोच्दछन्। आफूहरू यति महत्त्वपूर्ण हौं कि आफूहरू बिना संसारै ठप्प हुनेछ भनी तिनीहरू सोच्दछन्। अर्को पालि जब तपाईंलाई यस्तो लाग्न थाल्छ, त्यसबेला तलको कविता पढ्नुहोला:
जब तिमी आफ्नै महत्त्वको भावनाले गमक्क फुल्न थाल्छौ
जब तिम्रो अहम हिमशिखरको चुचुरोमा पुग्दछ
जब तिमी आफू भीआइपी हुँ भन्ने कुरालाई स्वयंसिद्ध तथ्यको रूपमा मानिलिन्छौ
जब तिमीमा “म नभए मेरो रिक्त स्थान कसैगरी भरिन्न” भन्ने भावना आउँदछ
तब यो सरल निर्देशनलाई पछ्याऊ, र तिम्रो प्राणलाई क्षुद्रताले झुकेको हेर।
एउटा बाल्टीन लिएर त्यसलाई पानीले भर
आफ्नो हातलाई नाडीसम्म डुबाऊ
अब हातलाई झट्टै बाहिर निकाल अनि बाँकी रहेको रिक्त स्थान नै त्यो नाप हो जुन नापले तिमीलाई गुमाइएको अनुभव हुनेछ।
हात छिराउँदा जतिसुकै छप्ल्याङ्ग छुप्लुङ्ग गरौला
अनि पानीलाई जतिसुकै हल्लाऊला
तर रोक अनि एक मीनेटमा नै जान्नेछौ
त्यो पहिला जस्तो थियो त्यो त्यस्तै हुनेछ।
–Saxon White Kessinger, “Indispensable Man” को नेपाली रूपान्तरण
यस पाठमा हामी एउटा मान्छेको अध्ययन गर्न चाहन्छौं जसले आफूलाई भीआईपी ठान्दथ्यो। उनको धारणा थियो, सबैले उसलाई मान गरोस् र ध्यान देओस्। उनको नाम थियो हामान अनि उनको बारेमा हामी एस्तरको पुस्तकमा पढ्न पाउँछौं।
“घुँडा टेक्नू, सबैजना!”
हामान शैतानको आफ्नै मान्छे थियो। ऊ परमेश्वरका जनहरू अर्थात् यहूदीहरूको शत्रु थियो (एस्तर ३:१०, ७:६)। हामान घमन्डी थियो, ठीक शैतानजस्तै।
हामानको पदोन्नति गरेर उसलाई उच्च अधिकारी बनाउने काम कसले गरेका थिए (एस्तर ३:१)? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्: (क) परमेश्वरले (ख) एउटा मान्छे (राजा) ले (ग) एस्तरले
हामानलाई अन्य भारदारहरूलाई भन्दा श्रेष्ठ र उच्च पद दिइयो। ऊ फारस राज्यकै दोस्रो महत्त्वपूर्ण र शक्तिशाली व्यक्ति थियो। ऊभन्दा शक्तिशाली व्यक्ति केवल राजा थियो। जब कुनै व्यक्ति ज्यादै उच्च पारिन्छ, उसले तब केवल एउटै मात्र दिशा लिन सक्दछ – तल! हामी देख्नेछौं, हामान सिंहासनबाट फाँ_______को (एस्तर ७:१०) काठमा झुण्डिन पुग्यो। परमेश्वरले त्यस मानिसलाई कसरी तल होच्च्याउनुभयो, यो एक चाखलाग्दो कहानी छ।
यदि एउटा विश्वासी उच्च हुन चाहन्छ भने उसले पहिला के गर्नुपर्छ (१ पत्रुस ५:६; याकूब ४:१०)? _________________________________________। “घमन्डी” को उल्टो “नम्र” हो। यदि कोही साँच्ची नै उच्च हुन चाहन्छ भने ऊ पहिला होच्चिनुपर्छ (सही प्रकारले नम्र भएर, घमन्डले फुलिएर होइन)। कसैलाई उठाउन सक्ने र महान् बनाउन सक्ने को हुनुहुन्छ (याकूब ४:१०, १ इतिहास २९:१२,२५)? _________________
राजाका सबै भारदारहरूले के गर्दथे (एस्तर ३:२)? ___________________________________। तिनीहरूले यो किन गर्दथे (एस्तर ३:२)? ______________________________________। कसले उक्त कुरा गर्न मानेनन् (एस्तर ३:२)? _____________________ मोर्दकैले उसलाई दण्डवत् नगरेको देख्दा हामानलाई कस्तो लाग्यो (एस्तर ३:५)? (क) ऊ आनन्दले गद्गद भयो (ख) उसलाई अलिकति अफसोस लाग्यो (ग) ऊ रिसले चूर भयो (घ) उसलाई खास कुनै असर परेन
घमन्डी हामान उसलाई मान्छेले दण्डवत् गरेको देख्न चाहन्थ्यो। मानिसहरूले उसलाई महान् महत्त्वपूर्ण ठानोस् भन्ने ऊ चाहन्थ्यो। एकजनाले त्यसो गर्न नमानेकोले ऊ रिसले चूर भयो।
चोट लागेको घमन्डीदेखि होसियार!
आफूले चाहेको कुरा नपाउने घमन्डी मान्छेदेखि होसियार हुनुहोस् है! ऊ डरलाग्दो हुन्छ। हामान, उसको उम्लिरहेको रिसले, मोर्दकैलाई बाहेक अरू कसलाई समेत नाश गर्न अभिप्रेरित भयो (एस्तर ३:६)? सबै ____________। यहूदीहरूलाई नाश गर्ने “शुभ” दिनको तय गर्न हामानले चिठ्ठा समेत हाल्न लगाए (एस्तर ३:७)। यसरी समस्त यहूदी जाति नाश गरिनका लागि बाह्रौं महिनाको तेह्रौं दिनको “साइत” पर्यो। त्यो दिन आइपुग्न करिब एघार महिना बाँकी थियो (हेर्नू: एस्तर ३:१३)। तर त्यो दिन उसले देख्नै नपाईकन ऊ मर्छ भनेर हामानले कल्पनै गरेको थिएन।
दुष्ट हामान राजालाई मनाईवरी यहूदीहरूलाई त्यस दिन नाश गरियोस् भन्ने शाही उर्दी निकाल्नालाई समेत सफल भयो। एस्तर ३:९ अनुसार हामान यहूदीहरूको ___________ चाहन्थ्यो। हामानको लिखित आज्ञाको हुकुमअनुसार समस्त यहूदीहरूलाई त्यस दिन के-के गरिनेवाला थियो (एस्तर ३:१३)? १) ________ गर्ने २) ____________ ३) __________________________ ४) __________________________। हामानको दुष्ट योजना फटाफट अगाडि बढ्दै थियो। यहूदी जातिका लागि वातावरण अत्यन्तै प्रतिकूल देखिन्थ्यो। अब यस्तो जटिल समस्यालाई परमेश्वरले कसरी सुल्ट्याउनुहोला त?
घमन्डी हामान झन् रिसाउँछ
अब रानी एस्तरले हामानलाई भोजमा निम्तो दिन्छिन्। एस्तर एक यहूदी हुन् भन्ने कुरा हामानलाई थाहा थिएन। भोजमा एस्तरले हामान र राजालाई बाहेक अरू कसैलाई निम्त्याएकी थिइनन्। यस्तो भोजमा उसलाई मात्र डाकिएकोमा आफू एकदम विशेष छु भनेर के हामानले सोचेका थिए (एस्तर ५:१२)? ___________। भोज खाएर बाहिर निस्कँदा हामान किन हर्षले लट्ठ परेको थियो (एस्तर ५:९,१२)? ___________________________________________________________। के देख्नेबित्तिकै हामानको हर्ष तुरुन्त रिसमा परिणत भयो (एस्तर ५:९)? ______________________________________। हामान आफ्नो शत्रुलाई तत्कालै नाश गर्न चाहन्थ्यो तर आफैलाई सम्हाल्दै ऊ घर गयो (एस्तर ५:१०)।
घर पुगेपछि हामानले आफ्ना साथी-भाइहरूलाई जम्मा पार्छ, आफ्नो स्वास्नीलाई बोलाउँछ र भएभरको धाक लगाउन थाल्छ: १) आफ्नो धन-सम्पत्तिको धाक, २) थुप्रै छोराहरू भएको धाक (एस्तर ५:११ र हेर्नू: एस्तर ९:१०), ३) आफ्नो उच्च ओहोदाको धाक (एस्तर ५:११), ४) उसलाई दिइएको विशेष निम्तोको धाक (एस्तर ५:१२)। हामानका यति धेरै “आशिषहरू” थिए तरैपनि कुनचाहिँ मान्छे नमरेसम्म ऊ खुशी हुन सक्दैथ्यो (एस्तर ५:१३)? _____________। एक रूपैयाँको एउटा सानो सिक्कालाई आँखाको सामु ल्याउँदा त्यसले सिङ्गो घामलाई छेकिदिए जस्तै बदलाको भावनाले हामानलाई पनि उसका सबै आशिषहरूदेखि छेकिदियो।
हामानको समस्यालाई समाधान गर्न उसको स्वास्नी लगायत साथी-भाइहरूले उसलाई एउटा सल्लाह दिन्छन्। “__________ मीटर अल्गो एउटा फाँसीको काठ खडा गर्नुहोस्” (एस्तर ५:१४)। फाँसी जति अल्गो बनाइयो त्यो त्यति नै परसम्म देखिन्छ। विहानै मोर्दकैलाई त्यसमा झुन्ड्याउन (अर्थात् रोपेर प्राणदण्ड दिन, भालाजस्तो तीखो टुप्पा भएको खम्बामा शूली चढाउन) हामानले राजालाई विन्ती चढाउने भए। हामानलाई यो विचार साह्रै मन पर्यो र उसले फाँसी तयार गरायो।
हामान आफ्नै शत्रुलाई सम्मान गर्छन्
त्यही रात राजालाई एउटा जानकारी मिल्यो – मोर्दकैले विगतमा, करिब चार वर्ष अगाडि, राजाको ज्यान बचाएर पनि तिनको यस्तो असल सेवाबापत तिनलाई कुनै इनाम प्रदान गरिएको रहेनछ (एस्तर ६:१-३)। यो कुरा थाहा पाउनेबित्तिकै राजाले मोर्दकैलाई विशेष सम्मान गर्न चाहे। हामानले जसलाई फाँसी दिन चाहिरहेको थियो उसैलाई राजाले सम्मान गर्न चाहिरहेका थिए!
बिहान सबेरै हामान राजाको दर्शनभेट गर्ने आशामा बाहिरपट्टिको चोकमा उपस्थित भयो। ऊ राजासित के कुरा गर्न चाहन्थ्यो (एस्तर ६:४)? _______________________________________________
हामानले मुख खोल्न नपाउँदै राजाले भने, “राजा आफैले सम्मान दिने इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?” यो सुन्नेबित्तिकै हामानलाई बिर्सेर आफ्नै विषयमा सोच्न थाल्यो। राजा वास्तवमा कसको बारेमा सोच्दैथिए (एस्तर ६:३)? ______________। तर हामानले राजा कसको बारेमा सोच्दैछन् भनी ठान्यो (एस्तर ६:६)? ________________
एस्तर ६:७-९ मा हामी देख्छौं, राजाको प्रश्नको जवाफ दिन हामान एकदम तयार थियो। यो हामानले अगिबाटै सोचेको र कल्पना गरेको कुरा हुनुपर्छ। उसलाई यो खुशीको खबर आफ्ना स्वास्नी र साथी-भाइहरूलाई बताउन हतार भयो। सायद ऊ सोच्दैथ्यो, “मेरा सुन्दर सपनाहरू अब सब पूरा हुनेभए।” तर, हाय, विपनामा अब के-के हुन लाग्दै थियो, त्यसको उसलाई एक छेउ पनि थाहा थिएन।
एस्तर ६:१० पढ्नुहोस्। एक्कासी हामान छाँगाबाट खस्छ – राजाले सम्मान दिन इच्छा गरेको व्यक्ति आफू नभएर उसलाई सबभन्दा मन नपर्ने मान्छे मोर्दकै पो रहेछ! मोर्दकैलाई फाँसी दिनु त कहाँ अब हामानले उसलाई सम्मान दिनुपर्ने भयो। उसलाई फाँसी दिने अनुमति पाउनुको सट्टा उसलाई सम्मान दिने आज्ञा पो उसमाथि आइपर्यो। हामान फन्दामा पर्यो। “महाराजा, यो विचार मलाई अलिकति ठीक लागेन” – त्यसो भन्न मिल्यो त अब? त्यो त बिलकुलै उसको विचार थियो!
अघिल्लो दिन हामान रानीको भोजबाट फुरुक्कै परेर घर फर्केको थियो (एस्तर ५:९)। अब मोर्दकैलाई शहर परिक्रमा गराएपछि के हामान फुरुक्क परेका थिए (एस्तर ६:१२)? ___________। फारसको साम्राज्यलाई ऊजत्तिकै अपमानित व्यक्ति सायद कहिल्यै देख्नु परेको थिएन।
हामानको स्वास्नी र साथी-भाइहरूले कुरा बुझे, उसलाई भएको कुरा सिर्फ बिग्रेको भाग्य मात्र थिएन। हामान कहिल्यै नउठ्ने गरी पतन हुन लागिरहेको छ भनेर उनीहरूले देखिसकेका थिए (एस्तर ६:१३)। जसले आफूलाई घमन्डमा उचाल्छ, त्यो जान सक्ने ठाउँ एउटै मात्र हुन्छ – तल। “विनाशको अघि ____________ आउँछ, र ___________को अघि चाहिँ हठी मन आउँछ” (हितोपदेश १६:१८)।
हामानको पतन
एस्तर, राजा र हामान भोज खान दोस्रो पटक बसे। यसै भोजमा एस्तरले राजालाई हामान यहूदीहरूका शत्रु हुन् भनी बताइन् (एस्तर ७:३-६)। राजाले जब हामानको बारेमा यो कुरा थाहा पाए तब उनी रिसाए कि रिसाएनन् (एस्तर ७:७)? _____________। राजाले हामानलाई मृत्युदण्ड दिने हुकुम दिए (एस्तर ७:९)।
दुष्टका पाप प्रायः एक न एक दिन तिनैका टाउकामा फर्केर आउँछन् (हितोपदेश २६:२७, भजनसङ्ग्रह ७:१५-१६)। हामानले फ्याँकेको “बम” मोर्दकैलाई लागेन, उल्टो त्यो फर्केर उसकै टाउकोमा लाग्यो (एस्तर ५:१४)। भजनसङ्ग्रह ९:१५-१६ लाई विचार गर्नुहोस्। हामानले कस्तो किसिमको पासो थापेको थियो (एस्तर ५:१४)? ______________________________। त्यसमा हामानले कसलाई पार्न चाहन्थ्यो (एस्तर ७:९)? ______________। आखिरमा त्यसमा को पर्न गयो (एस्तर ७:१०)? ______________। जुन व्यक्ति शहरका बासिन्दाका सामु सम्मानका साथ घोडामा परिक्रमा गराइन र प्रदर्शन गराइन चाहन्थ्यो (एस्तर ६:७-९), त्यो व्यक्ति सबैले देख्ने गरी एकदमै अल्गो स्थान (फाँसी) मा प्रदर्शित गरियो (एस्तर ७:१०)। उच्च पारिन चाहेको हामान उसले चिताउँदै नचिताएको तरिकामा उच्च पारियो। ऊ एउटा लज्जाजनक मृत्युदण्ड पाउनालाई उच्च पारियो।
साँचो महानता
हामानले आफूलाई महान् बनाउन खोज्यो तर ऊ एक महामूर्ख ठहरियो। यहूदी मोर्दकै महान् बनाइए (एस्तर १०:३) यद्यपि उनी महान् बन्न खोजेका थिएनन्।
येशूले साँचो महानताको रहस्य एक पटक यसरी बताउनुभयो। यो रहस्य के हो (मत्ती १८:१-४)? __________________________________________________। यदि कुनै व्यक्ति साँच्ची नै उच्च पारिन चाहन्छ भने, उसले के गर्नुपर्छ (मत्ती २३:१२)? _______________________________________________। याकूबले यही कुरा याकूब ४:१० मा बताउँछन्, “प्रभुको सामु आफूलाई ________ तुल्याओ, र उहाँले तिमीहरूलाई ________ ________________।”
विनय दाज्युको अभिव्यक्ति यस प्रकारको छ:
“म केही होइन, सो म जान्दछु। म केवल मान्छे हुँ, म साह्रै सीमित छु। म सर्वशक्तिमान छैन। सबै कुरा म जान्दिनँ। म थोरै जान्दछु। म अति कमजोर छु, माटोले बनेको। म सधैं बाँच्ने होइन। म ज्यादै पापी छु, मेरो हृदय एकदमै दुष्ट छ। म हराएको छु, म बचाइनु मेरो ठूलो खाँचो हो। म आफैले आफूलाई बचाउन सक्दिनँ, तर म जान्दछु येशू ख्रीष्टले मलाई बचाउन सक्नुहुन्छ। अब म येशू प्रभुलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा विश्वास गर्छु। मानिसहरूले मलाई ध्यान दिएको, मलाई महत्व दिएको अब म चाहन्न तर उनीहरूले मेरा परमेश्वरलाई ध्यान दिएको र उहाँ कति महान् हुनुहुन्छ भनेर देखेको चाहन्छु। धाक देखाउनुको सट्टा म परमेश्वरलाई देखाउन चाहन्छु। आफैमा गर्व गर्नुको सट्टा म परमेश्वरको बारेमा र उहाँले गरिदिनुभएको कुरामा गर्व गर्न चाहन्छु। म मेरा परमेश्वरमा ज्यादै घमन्ड गर्दछु।”
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)