परिचय
परिचय
बाइबल पढ्दा कतिपय कुराहरू हामीलाई निकै अनौठो वा असाधारण लाग्छ। बाइबलका व्यक्तिहरू धेरै हिसाबमा बेग्लै खालका देखिन्छन्। तिनीहरू बेग्लै किसिमले जिउँथे, बेग्लै किसिमको व्यवहार गर्थे, बेग्लै किसिमले कामकाज गर्थे। यसको कारण के होला?
बाइबल पढ्ने क्रममा त्यहाँ धेरै कुराहरू पाउँछौं जससित हामी परिचित हुँदैनौं। जस्तै; उँटहरू, रथहरू, भिन्नै खालका पैसा, खुट्टा धुलाइको चलन, बाल देउता, जैतुनको रूख, महसूल उठाउने व्यक्ति, फरसी, निस्तार चाड, भेट हुने पाल इत्यादि। हामीलाई यी कुराहरू अनौठो लाग्छ। महसूल उठाउने व्यक्ति कस्तो हुन्छ? दिनार भनेको कति पैसा हो? हिन्दूहरूले पुज्ने देउताका नामहरू हामीले सुनेका छौं होला, तर बाल देउता को हो? साल र उत्तीसका रूखहरू हामीले देखेका छौं तर जैतूनको रूख कस्तो हुन्छ? आफ्नो दाँत माझ्दाको अनुभव त छ तर आजसम्म कसैले हाम्रो खुट्टा नै धोइदिएको छ त? कुकुर, बिरालो जतासुकै देखिन्छन् तर उँट कतै देख्न पाएका छौं र? खानलाई हामी स्टिलका भाँडाहरू निकै प्रयोग गर्छौं तर माटाका भाँडा नि? हामीले सैनिक ट्याङ्कका चित्रहरू दैखेका छौं होला, तर रथहरू कस्ता हुन्थे र ती केका लागि प्रयोग हुन्थे? हामीले मठ-मन्दिरका पुजाहारीहरू देखेका छौं तर को हुन् फरसीहरू?
मानौं एउटा चीनियाँ युवती एक वर्षको लागि तपाईंको परिवारमा बस्न आउने कुरा छ। के उनले कतिपय कुराहरू तपाईं र तपाईंका अन्य साथीहरूले भन्दा फरक तरिकाले गर्नेछिन्? उनले खाना कसरी खानेछिन्? उनले कस्तो लुगा लगाउनेछिन्? उनले कसरी बोल्नेछिन्? उनले नेपाली बोल्न जानेकी भएता पनि के उनको उच्चारण बेग्लै खालको हुन्छ होला?
यदि तपाईं एक वर्षको लागि हुम्ला वा जुम्ला जस्तो नेपालको कुनै एउटा बिकट ठाउँमा बस्न जानुभयो भने तपाईंलाई कस्तो अनुभव होला? के तपाईंले त्यहाँका मानिसहरूले कतिपय कुराहरू भिन्नै तरिकामा गरेको पाउनुहुन्छ होला? के उनीहरूले तपाईंले खाने जस्तै खाना खान्छन् होला? के तिनीहरूले तपाईंले जस्तै बस, कार, साइकल, मोटर साइकल चढेर यात्रा गर्छन् होला? यदि तपाईं छिमेकी राष्ट्र भारत, श्रीलङ्का वा बंगलादेशमा एक वर्ष बिताउनुभयो भने के तपाईंलाई त्यहाँको चालचलन र अन्य थुप्रै कुराहरू असाधारण लाग्नेथ्यो होला?
मोटर, हवाईजहाज, बस, बिजुली बत्ती, रेडियो, पत्रपत्रिका, टेलिफोन, कम्प्युटर, फ्रिज, कोक्, फ्यान्टा, म:म: पसल, घडी, बच्चालाई दूध खुवाउने बोतल आदि बिनाको जीवन कस्तो होला? यी थोकहरू बिना तपाईंको जीवन कत्तिको सजिलो हुनेथ्यो होला? बाइबलकालीन व्यक्तिहरू, बाल-बालिकाहरूसँग यी कुनै पनि कुराहरू थिएनन् तापनि तिनीहरूले पनि सुचना आदनप्रदान गर्थे, यात्रा गर्थे, समय (घडी) बताउँथे, खान्थे, लाउँथे र आफ्ना नानीहरूलाई हुर्काउँथे। हाम्रो दैनिक जीवनमा अत्यावश्यक बनेका आधुनिक सुविधाका साधनहरू बिना नै तिनीहरूले यी सबै काम गर्थे। पावलले फिलिप्पीहरूलाई पठाएको पत्र हवाईजहाज मार्फत पुर्याइएको थिएन! त्यो कि स्थलयात्रा वा पानीजहाज मार्फत पुर्याइएको थियो।
दुई ठूला अन्तरहरू
कुनै दुई हिमाललाई अलग गर्ने विशाल धाँदोलाई विचार गर्नुहोस्। ती दुई हिमालको बीचमा ठूलो खाली ठाउँ वा अन्तर हुन्छ।
त्यस्तै बाइबलकालीन मानिस र आजको मानिसको बीचमा पनि ठूलो भिन्नता वा अन्तर छ। र्सवप्रथम त्यहाँ समयको ठूलो अन्तर छ। बाइबलमा उल्लेखित मानिसहरू हजारौं वर्ष अगाडि जिउँथे। उदाहरणको लागिः
- अब्राहाम आजभन्दा करिव ४००० वर्ष अगाडि जिउँथे।
- मोशा आजभन्दा करिव ३५०० वर्ष अगाडि जिउँथे।
- दाऊद आजभन्दा करिव ३००० वर्ष अगाडि जिउँथे।
- पत्रुस र पावल आजभन्दा करिव २००० वर्ष अगाडि जिउँथे।
समयले ठूलो फरक पार्छ। एकछिनको लागि कल्पना गरौं, तपाईं एउटा यस्तो विशेष यानभित्र पस्नुभयो जसले तपाईंलाई आजभन्दा २५० वर्ष अगाडि पुर्याइदियो। के तपाईंले अहिले र पहिलेका मानिसहरूको जीवन शैलीमा केही भिन्नताहरू पाउनुहोला? बाइबलमा असाधारण चलनहरू र बेग्लै खालका अन्य कुराहरू उल्लेख भएकोमा हामीले अचम्म मान्नुपर्दैन किनकि बाइबलले त हजारौं वर्षअघिका मानिसहरूको विषयमा बताउँदछ।
त्यहाँ दूरीको पनि अन्तर छ। बाइबलको पन्नाहरूमा भेटिने मानिसहरू नेपालमा बस्दैनथे। तिनीहरू हिमालको काखमा बस्दैनथे न ता चारकोसे झाडीको छेउछाउमा नै। बाइबलमा उल्लेख गरिएका मानिसहरू भू-मध्य सागर (Mediterranean Sea) को छेउछाउमा मध्य-पूर्व (Middle East) मा बस्दथे। बाइबलको भूमि हामी बसेको देश नेपालबाट हजारौं किलोमीटर टाढा छ।
यदि तपाईं मध्य-पूर्व भ्रमणमा जानुभयो भने तपाईंले बाइबलकालीन जीवन शैलीलाई आज पनि देख्न पाउनुहुनेछ। तपाईंले अहिले पनि भेडा चराइरहेका गोठालाहरू र मरुभूमिमा पाल टाँग्दै बसाइ सर्दै हिंडिरहेका घुमन्तेहरू देख्नुहुनेछ। इस्राएल र मध्यपूर्वका अन्य देशहरूमा केही संख्यामा आधुनिक शहरहरू भएता पनि त्यहाँ धेरै मानिसहरू छन् जो हजार वर्ष पुरानो पूर्ख्यौली जीवन शैलीमा जिउँदै छन्।
समयको अन्तर वर्षौंले अलग | बाइबलमा उल्लेखित मानिसहरू आजभन्दा हजारौं वर्षअघि जिउँथे। | |
दूरीको अन्तर कयौं किलोमीटरले अलग | बाइबलमा उल्लेखित मानिसहरू नेपालदेखि हजारौं किलोमीटर पर बस्थे। |
बाइबलमा उल्लेखित व्यक्तिहरूको जीवन शैली, काम गराइ इत्यादि आजको भन्दा भिन्न पाइनुका कारणहरू यिनै हुन्।
सबै कुरा नै फरक छैन
तपाईंको परिवारमा बस्न आउने भनिएको त्यो चीनियाँ युवतीलाई फेरि विचार गरौं। उनमा धेरै भिन्नताहरू भएता पनि धेरै समानताहरू पनि हुन्छन् नै। उनी पनि तपाईं जस्तै एक मान्छे त हन्। उनी पनि तपाईं जस्तै हास्न र रुन जान्दछिन्। उनमा पनि तपाईंमा जस्तै विभिन्न भावनाहरू हुन्छन् (दु:खित, क्रोधित, आनन्दित)।
त्यहाँ अरु पनि समानताहरू हुन्छन्। उनको आँखाको आकार नेपाली युवतीहरूको भन्दा फरक होला, तापनि सबैको जस्तै उनको पनि गिदी, मुटु, कलेजो, फोक्सो, छाला, कपाल भएकै शरीर हुन्छ। तपाईंलाई बनाउनुहुने परमेश्वरले उनलाई पनि बनाउनुभएको हो। उनीसँग पनि हाम्रो जस्तै पापी हृदय छ (यर्मिया १७:९) र बेलाबखत उनी पनि हामी जस्तै चिन्ता गर्छिन्, डराउछिन्, रिसाउछिन्, इर्ष्यालु बन्छिन् इत्यादि। हाम्रा निम्ति मर्नुहुने ख्रीष्ट उनको निम्ति पनि मर्नुभएको हो।
जुम्ला वा हुम्लामा बस्ने त्यो मानिसको फेरि विचार गर्नुहोस्। उनी धेरै कुरामा हामी भन्दा फरक भएता पनि के उनमा समानताहरू पनि भेट्टाउन सक्नुहुन्छ? के तपाईंले जाति, संस्कार वा देशलाई छोडेर सारा मानिसमा कतिपय समानताहरू भेट्टाउन सक्नुहुन्छ?
असाधारण चलनको एउटा उदाहरण
मानौं तपाईं रंगशालामा एउटा ठूलो फुटबल प्रतियोगिता हेर्दैहुनुहुन्छ। तपाईंको टिमले जसरी होस् जित्नु छ! अन्तिम घडीसम्म पनि नतीजा राम्रै होला जस्तो देखिन्छ। तपाईंको टिम शून्यको विरुद्ध एक गोलले अगाडि छ, बल पनि तिनीहरूकै नियन्त्रणमा छ र खेल सकिन तीन मीनेट मात्र बाँकी छ। विजेता पक्का भइसक्यो। अचानक, कसरी हो, अप्रत्याशितरुपले, तपाईंको टिमले बल फुत्काउँदा अर्का टिमको खेलाडीहरूले बल छिटो-छिटो पास गर्दै गोल गरिदिन्छ! त्यति मात्र नभएर त्यसपछि तुरुन्तै अर्को गोल गरेर तपाईंको टिमलाई त नाटकीय ढङ्गले हराइदिन्छ! त्यस्तो परिस्थितिमा तपाईं के गर्नुहुन्छ होला? यदि तपाईं बाइबलको समयमा हुनुहुन्थ्यो भने तपाईंले पक्कै पनि आफ्नो लुगा च्यात्नुहुनेथ्यो।
उसबेला कसैले आफ्नो लुगा च्यात्यो भने कुनै न कुनै अप्रिय घटना घटेको छ भन्ने बुझिन्थ्यो। लुगा च्यात्ने काम कुनै विपत्ति वा सङ्कट परेको कुराको एउटा बाहिरी चिन्ह थियो। कसैको मृत्युमा दुःख र गहिरो शोकको व्यक्त गर्ने चिन्ह पनि थियो त्यो। पापको खातिर अति दु:खित वा क्रोधित बन्दा कहिलेकाही यसो गरिन्थ्यो। लुगा च्यात्दा प्रायः पूरै लुगा च्यातचुत पारिँदैनथ्यो केवल कपडाको तल्लो भाग च्यात्ने चलन थियो। कुनै अप्रिय घटना हुँदा के तपाईं यस्तै गर्नुहुन्छ र?
हेर्नुहोस् २ शमूएल १:११। राजा शाऊलको मृत्यु भएको थाह भएपछि दाऊदले के गरे त्यहाँ बताइएको छ। दाऊदले के गरे? _________________________________________। शाऊलको मृत्युमा के दाऊद खुशी थिए (स्मरण होस्, शाउलले दाऊदलाई मार्ने पटक पटक प्रयास गरेका थिए) कि उक्त घटनालाई उनले अप्रिय माने? _________________________।
आफूले युसुफलाई खाडलमा नभेट्टाउँदा रुबेनले के गरे (उत्पत्ति ३७:२९)? ____________ __________________। के तिनको लागि यो ज्यादै दुःखको कुरा थियो? _____________।
१ शमूएल ४:१०-१७ पढ्नुहोस्। यदि तपाईं बाइबलीय समयमा जिइरहनुभएको भए अनि यदि लुगा च्यातिएको एउटा मान्छेलाई तपाईंतर्फ दर्गुदै आउँदै गरेको देख्नुभएको भए तपाईंले के ठान्नुहुनेथ्यो — उसले राम्रो खबर ल्याएको छ भनेर कि नराम्रो?
प्रेरित १४:११-१४ मा लुस्त्राका मानिसहरूले पावल र बर्नाबासलाई देवता ठानेर उनीहरूलाई पूजा र बलिदान चढाउन लागेका थिए। के पावल र बर्नाबास यस कुरामा खुशी थिए (पद १४)? _____________। के उनीहरूले यसो भने, “यी मानिसहरूले हामीलाई यसरी उच्च आदर दिएकोमा हामीलाई निकै गर्व लागेको छ!”? अहँ, उनीहरूले त यस कुरालाई अति नराम्रो माने। आफूहरू केवल मानिस (सृष्टि) हरू हौं र सृष्टिलाई पुज्नु ठूलो पाप हो भनी उनीहरू जान्दथे।
एज्रा ९ अध्यायमा एज्राले, इस्राएलका सन्तानले परमेश्वरको विरुद्धमा अन्यजातिहरूसँग विवाह गरी पाप गरेको कुरा थाह पाए (पद १-२)। एज्राले उक्त महापापको बारेमा सुन्दा के उनी गम्भीर भए (एज्रा ९:३)? ____________। आफू कति शोकित छु भनी देखाउन उनले के गरे (एज्रा ९:३)? _________________________________।
आज हामी आफ्नो लुगा च्यात्ने त गर्दैनौं, तैपनि हामीले यसबाट पाठ सिक्नुपर्छ। हामी पापको बारेमा कत्तिको गम्भीर छौं? पाप कति घीनलाग्दो कुरा हो भनेर के हामी साँच्ची नै विश्वास गर्छौं?
मानिसले फोहर कुरा गर्नु, फोहर कथा सुनाउनु के घीनलाग्दो कुरा हो? मानिसले ईश्वरको नाम लिई कसम खानु, बेठीक प्रकारले प्रभुको नामलाई प्रयोग गर्नु के घीनलाग्दो कुरा हो? एउटा विद्यार्थीले जाँचमा चोरेर सही जवाफहरू दिनु के घीनलाग्दो कुरा हो? अर्काको कुनै पनि सर-सामान चोर्नु के घीनलाग्दो कुरा हो?
के म पापमा दुःखित बन्दछु? अर्काले गल्ती गरिरहेको देख्दा के मलाई दुःख लाग्छ? सबभन्दा त, आफैले पाप गरेको देख्दा के म दु:खित बन्दछु? आफ्नै जीवनमा पाप देख्दा, के त्यसमा मलाई गम्भीर बन्दछु र के म त्यसबारे साँच्ची नै दु:खित बन्दछु? अरुलाई हानी पुर्याउने र चोट पार्ने काम मबाट हुँदा के म दु:खित बन्दछु? परमेश्वरलाई चोट पार्ने र दु:खित पार्ने काम मबाट हुँदा के म दु:खित बन्दछु? विश्वासीले पाप गर्दा को शोकित बन्नुहुन्छ (एफिसी ४:३०)? ______________________।
हुन त हामीले बाइबलकालीन व्यक्तिहरूले जस्तै आफ्नो लुगा नच्यातौंला, तरैपनि च्यातिनुपर्ने एउटा कुरा त्यहाँ छ! योएल २:१३ मा हामी यसरी लेखिएको पाउँछौं: “आफ्नो ___________ होइन तर आफ्नो __________ फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क किनकि उहाँ अनुग्रही, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ र विपत्ति ल्याउनुहुँदा उहाँ दुःखित हुनुहुन्छ।” मेरो जीवनमा पाप हुँदा के त्यसको खातिर ममा एक चूर्ण हृदय हुन्छ?
कहिलेकाही हामी हाम्रा पाप र गल्तीमा जति गम्भीर हुनुपर्थ्यो त्यति हुदैनौं तर त्यहाँ एकजना हुनुहुन्छ जो पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ। जिउँदो परमेश्वर पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ तर यो हामी कसरी जान्दछौं? के परमेश्वरले कुनै काम गर्नुभएको छ जसले प्रमाणित गर्छ कि उहाँ पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ र पापलाई घृणा गर्नुहुन्छ अनि पापदेखि मानिसलाई बचाउन चाहनुहुन्छ? उहाँले के गर्नुभयो (१ तिमाथी १:१५ र १ यूहन्ना ४:९-१०)? _______________ _____________________________________________।
ख्रीष्टलाई तीन पटक इन्कार गरेर पत्रुसले उहाँको विरुद्धमा पाप गरेपछि के उनमा एक चूर्ण हृदय थियो (लूका २२:६१-६२)? ______________________।
आफूले परमेश्वरको विरुद्धमा ठूलो पाप गरेपछि के दाऊदमा एक चूर्ण हृदय थियो (हेर्नुहोस् भजनसंग्रह ५१ जुन दाऊदले आफूले ठूलो पाप गरेपछि लेखे)? _______________।
आज संसारका अधिकांश मानिसहरूलाई पापको विषयमा त्यति मतलव छैन (किनकि यदि तिनीहरूलाई पापको विषयमा साँच्ची नै मतलव भएको भए तिनीहरूले त्यसको विषयमा केही न केही गर्नेथिए)। दिनदिनै तिनीहरू आफ्ना पापपूर्ण मार्गहरूमा अगाडि बढ्छन् अनि तिनीहरूलाई जीवन परिवर्तनको कुनै चाहाना नभएको देखिन्छ। तिनीहरू आफ्ना पापको लागि दु:खित छैनन् नता तिनीहरूले ख्रीष्ट तिनीहरूकै पापको लागि क्रूसमा जानुभयो भन्ने कुराको वास्ता गर्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नो पापको घमण्ड समेत गरेर त्यसको खुल्लमखुल्ला प्रदर्शनी गर्छन् (हेर्नुहोस् यशैया ३:९) र आफ्ना पापलाई लुकाउँदैनन्!
हामी अर्कालाई उनको पापको विषयमा गम्भीर बनाउन सक्दैनौं। परमेश्वरले उनको हृदयमा काम गरिदिनुभएको होस् भनी हामी प्रार्थना चढाउन सक्छौं। तर हामी आफ्नै जीवनको पापको विषयमा गम्भीर हुन सक्छौं। “अरुहरू फोहरै बस्न चाहन्छन् भने त्यो तिनीहरूकै कुरा हो, तर म फोहरलाई घृणा गर्छु र आफूमा भएको फोहरको विषयमा म गम्भीर छु र म शुद्ध हुन चाहन्छु।”
मुक्ति नपाएको व्यक्तिको लागि शुद्ध हुने उपाय प्रेरित १०:४३ मा पाउँछौं भने मुक्ति पाएको व्यक्तिको लागि उपाय १ यूहन्ना १:९ मा पाउँछौं।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)