बाइबलको प्रमाण (भाग २)

बाइबलको प्रमाण (भाग २)
डेविड क्लाउड
पद कण्ठ: हिब्रू ११:१; २ पत्रुस १:१६
अघिल्लो पाठमा बाइबलको ईश्वरीय प्रेरणाका चारओटा प्रमाणहरू हेर्यौं। यस पाठमा हामी अरू तीनओटा प्रमाणहरू हेर्नेछौं।
५) बाइबलको तथ्यात्मकताले यो परमेश्वरको वचन भएको प्रमाणित गर्दछ
बाइबलले बताएका सबै कुरा साँचो र तथ्यात्मक छन्।
जस्तै, बाइबलले भन्छ, मानिस पापी छ; यस कुरालाई पुष्टि गर्नु कुनै गाह्रो कुरा होइन। आँखा खोलेर केवल संसारलाई हेर्नुहोस्! प्रारम्भिक पापको बारेमा उसको धारणा कस्तो छ भनेर प्रश्न गरिँदा प्रख्यात बेलायती शब्दकोषकार शमूएल जोनसन (Samuel Johnson) ले जवाफ दिए, “प्रारम्भिक पापको सम्बन्धमा प्रश्न गर्नु आवश्यक छैन, किनभने मानव भ्रष्टताको कारण जेसुकै होस्, मानिस प्रत्यक्ष तवरले र आफ्नै स्वीकारले यति भ्रष्ट छ कि स्वर्ग र पृथ्वीका सारा नियमहरू समेत उसलाई अपराध गर्नदेखि रोक्नलाई अपर्याप्त छन्।” प्रिन्स्टन विश्वविद्यालयबाट शिक्षा हासिल गरेका “धर्मनिरपेक्ष यहूदी” डेभिड बर्लिन्स्कि (David Berlinski) भन्छन्, “यी टिकाटिप्पणीमा पाइने बुद्धिको सराहना गर्नलाई एकजना व्यक्ति ख्रीष्टियन नै हुनुपर्छ भन्ने छैन” (The Devil’s Delusion, p.33)।
बाइबल, मानव सम्बन्धीका अभिव्यक्तिहरूमा मात्र नभएर सबै कुरा सम्बन्धीका अभिव्यक्तिहरूमा साँचो छन्। बाइबल एक वैज्ञानिक निर्देशिका नभए तापनि यो वैज्ञानिक तवरले अचूक छ, यसका सबभन्दा प्रथम अध्यायहरूदेखि नै, जो झण्डै ४,००० वर्ष अगाडि लेखिएका हुन्।
बाइबलको वैज्ञानिक विशुद्धताका केही उदाहरणहरू यस प्रकार छन्; हामी अय्यूबको पुस्तकबाट शुरु गर्छौं जुनचाहिँ बाइबलकै सम्भवतः सबभन्दा पुरानो पुस्तक हो। हाइड्रलिक इन्जिनियरिङ्गमा डाक्टर उपाधि पाएका हेनरी मोरिस (Henry Morris) ले भने,
“यी उल्लेखहरू दृष्टिकोणमा आधुनिक छन् जसमा अवास्तविक बढाइ चढाइ र त्रुटीहरूको एउटै छनक कहिल्यै भेटिन्न जब कि त्यस्ता कुरा अन्य प्राचीन लेखोटहरूमा स्वभावैले भेटिन्छन् … शायद अझ ठूलो महत्त्वको कुरा यो छ कि प्रत्यक्ष प्राकृतिक वस्तुका थुप्रै उल्लेखहरूले भरिएको यो ४००० वर्ष पुरानो पुस्तकमा कुनै पनि वैज्ञानिक त्रुटी वा तर्कदोष छैनन्” (The Remarkable Record of Job)।
अय्यूबले पृथ्वी शून्यमा झुन्डिएको छ भनी भने (अय्यूब २६:७)। अहिलेको आधुनिक पुस्ताको लागि यो त थाह भएकै कुरा हो किनकि हामीले अन्तरीक्षमा पृथ्वी झुन्डिरहेको वास्तविक फोटोहरू नै देखेका छौं, तर विगतका पुस्ताहरूमा यो त्यत्तिकै थाह हुने कुरा थिएन; बरु त्यतिबेला पृथ्वी आटलास वा कछुवा वा हात्ती आदिको ढाडमा अडिरहेको छ भन्ने जस्ता थुप्रै किंवदन्तिहरूले मान्यता पाएका हुन्थे।
अय्यूबले हावाको तौल छ भनी भने (“हावाको तौल ठहर्याउनलाई” अय्यूब २८:२५)। सत्रौं शताब्दिमा आइपुगेर मात्र ग्यालेलियो (Galileo) ले वायुमण्डलको पनि तौल छ भनेर पत्ता लगाएका हुन्, र एरोडाइनामिक्स (aerodynamics) नामक आधुनिक विज्ञान यही वैज्ञानिक तथ्यमा आधारित छ। अझ, पृथ्वीको मौसमको क्रियाकलापमा हावाको तौलले महत्त्वपूर्ण भूमिका खेल्दछ। “हावाको तौल” ले समुद्रहरूबाट वाष्पिकरण भएको पानीलाई महादेशहरूको माथि-माथि भू-भागहरूमा बोकेर पुर्याउने विश्वव्यापी हावाको प्रवाहलाई नियन्त्रण गर्दछ (Morris, The Remarkable Record of Job)।
अय्यूबले समुद्रका मुहानहरूको बारेमा लेखे (अय्यूब ३८:१६)। मानिसले आफ्नै आँखाले देखेर समुद्रको पीँधमा भएका ताजा पानीका मूलहरूको बारेमा जान्न सक्न हिजोआज मात्र सम्भव भएको हो। आधुनिक विज्ञानद्वारा हजारौं अन्तर्जलीय मूलहरू भेटिएका छन् जसले हरेक वर्ष समुद्रहरूमा करौडौं टन पानी थपिरहेका हुन्छन्।
प्रकाशको एउटा बाटो हुन्छ र अन्धकारको ठाउँ हुन्छ भनेर अय्यूबले बुझ्दथे (अय्यूब ३८:१९)।
“यसको मतलब, प्रकाश कुनै स्थान वा परिस्थितिमा अवस्थित हुने कुरा होइन। न ता त्यो त्यत्तिकै एक्कासि प्रकट हुने वा अलप हुने वस्तु हो। प्रकाशले यात्रा गरिरहेको हुन्छ! त्यो एउटा “बाटो” मा वास गर्दछ, सधैं कुनै अन्यत्र स्थानतर्फ गइरहेको हुन्छ। यद्यपि त्यो सामान्यतयाः किरणहरूको रूपमा यात्रा गर्दछ, कहिलेकाहिँ त्यसले कणहरूको खोलोको रूपमा हिँडिरहेको जस्तै गर्दछ, तर त्यो जहिले पनि चलिरहेकै हुन्छ। जब प्रकाश रोकिन्छ, तब त्यहाँ अन्धकार हुन्छ। तसर्थ, अन्धकार अचल कुरा हो, स्थानमा बसिरहने; तर प्रकाश गतिशील कुरा हो, बाटोमा वास गरिरहने” (Morris)।
प्रकाशले हावा उत्पन्न गराउँछ भनेर बाइबलले भन्दछ (अय्यूब ३८:२४)। सूर्यको किरणले पृथ्वीको सतहलाई तताएदिएर हावा उत्पन्न हुन्छ जसमा तातो हावा मास्तिर उठ्छ र चिसो हावा तल खस्छ र फलस्वरूप विभिन्न मौसमहरू उत्पन्न हुने गर्छन् भन्ने कुरा आधुनिक मौसम विज्ञानले आविष्कार गरेको त भर्खरै मात्र हो।
अय्यूबले त्यो अचम्मको जलचक्रको बयान गरे (वाष्पीकरण, वायु सञ्चार, संघनन, वृष्टिपात, बहाउ) (अय्यूब ३८:२५-३०)। सत्रौं शताब्दिभन्दा अगाडि वाष्पीकरण (पानीबाट वाफ बन्ने) र संघनन (वाफबाट पानी बन्ने) प्रकृयाको पत्ता समेत लागेको थिएन र बीसौं शताब्दिसम्म यसलाई राम्ररी बुझिएको पनि थिएन।
बोटबिरूवा र पशुपक्षीहरूले आफ्नो-आफ्नो जातिअनुसार पुनरुत्पादन गर्दछन् भनेर बाइबलले भन्दछ (उत्पत्ति १)। यो कुरा आधुनिक विज्ञानको सारा अवलोकन र परीक्षणसित ठ्याम्मै मेल खान्छ। हरेक जातिअन्तर्गत निकै विविधता पाइन्छ, विभिन्न खालका गुलाफहरू, रूखहरू, भ्यागुताहरू, कुकुरहरू, तर फरक-फरक जातबीच — गुलाफ र रूख र भ्यागुता र कुकुरकाबीच — पुनरुत्पादन हुने गर्दैन।
अन्तरीक्ष नाप्न नसकिने गरी असीम र ताराहरू गन्न नसकिने गरी धेरै छन् भनेर बाइबलले बताउँछ (उत्पत्ति २२:१७; यर्मिया ३१:३७)। दूरदर्शक यन्त्र (टेलिस्कोप) को आविष्कार अघि मानिसको नाङ्गो आँखाले केही हजार तारा मात्र देख्न सक्थ्यो। तर आज हामीलाई थाह भएको छ ताराहरू अनगिन्ती छन् ठीक जसरी बाइबलले बताएको थियो। हाम्रो आकाशगङ्गा तारामण्डल (Milky Way Galaxy) मा नै ३०० खरब ताराहरू छन्। सन् १९९९ मा नासा (NASA) का खगोलशास्त्रीहरूले हबल स्पेस टेलिस्कोप प्रयोग गरेर सारा ब्रह्माण्डमा १२५ खरब तारामण्डलहरू भएको अनुमान लगाए। सबभन्दा नयाँ तारा-गणना जुलाई २००३ को घोषणा अनुसार अवलोकन गर्न सकिने ताराको सङ्ख्या ७० सेक्स्टिलियन पुगेको छ अर्थात् ७०,०००,०००,०००,०००,०००,०००,०००।
समुद्रमा मार्गहरू छन् भनेर बाइबलले बताएको छ (यशैया ४३:१६)। उन्नाइसौं शताब्दिदेखि समुद्री धारहरू वा मार्गहरूको नक्सा निकाल्ने गरिएको छ; पानी जहाजहरू यिनै धारहरूमा यात्रा गर्दछन् जसरी ट्रकहरू बाटोमा यात्रा गर्दछन्। सन् १८०० को बीचतिर वाशिङ्टनस्थित अमेरिकी नेभीको डिपो अफ चार्ट्स र इन्स्ट्रुमेन्ट्सका माथ्यु फोन्टेन मउरी (Matthew Fontaine Maury) ले लेखे,
समुद्रमा नदी छ: विषम खडेरीमा पनि त्यो टुट्दैन, र भयङ्कर बाढीमा पनि त्यो उर्लेर आउँदैन; त्यसका किनारहरू र पीँध चीसो पानीमा रहेका छन्, जब कि त्यसको धारचाहिँ न्यानो छ; मेक्सिको खाडी त्यसको मुहान हो भने त्यसको मुखचाहिँ आर्कटिक समुद्रमा पर्दछ। यसैलाई भनिन्छ गल्फ स्ट्रीम” (Maury, The Physical Geography of the Sea, 6th ed., 1856, p.25)।
उक्त आविष्कारपछि थप अरू समुद्री मार्गहरू पत्ता लाग्न थाले।
प्राणचाहिँ रगतमा हुन्छ भनेर बाइबलले बताएको छ (लेवी १७:११)। यो कुरा करीब ३,५०० वर्ष अगाडि लेखिएको थियो तर हालको समयमा आएर मात्र यसलाई वैज्ञानिक तवरले बुझ्न सकियो। शताब्दियौंसम्म रोगीलाई रक्तस्राव गराएर उपचार गर्ने चलन (blood-letting) थियो। अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङ्टन यही गलत अभ्यासले गर्दा अनावश्यक रूपमा चाँडै मरेको हो भनिन्छ। आधुनिक औषधी विज्ञानले बाइबलले उहिलेदेखि सिकाउँदै आएको कुरालाई अब सिकेको छ, कि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। रक्तनली र केशिकाहरू मिलेर बनेको अचम्मको रक्तसञ्चार प्रणालीले जीवन-दिने अक्सिजन र अन्य आवश्यक तत्त्वहरूलाई शरीरको प्रत्येक अङ्गमा पुर्याउने काम गर्दछ। साथै संक्रमणको प्रतिकार गर्ने र रगत जम्ने जस्ता “जीवधारीको प्राण” लाई आवश्यक पर्ने प्रकृयामा पनि रगतले महत्त्वपूर्ण भूमिका खेल्दछ।
बाइबल विज्ञानको पुस्तक होइन, तर जुन-जुन ठाउँमा बाइबलले विज्ञानलाई छुन्छ त्यहाँ बाइबल अचूक छ। यस कुराले बाइबलको ईश्वीय उद्भवको प्रमाण दिन्छ, किनकि सबै अन्य प्राचीन पुस्तकहरू वैज्ञानिक त्रुटीहरूले भरिएका छन्। भन्नुपर्दा १०० वर्ष मात्र पुरानो विज्ञानकै पुस्तकहरू त्रुटीहरूले भरिएका हुन्छन्।
६) बाइबलको सच्चाइ (निष्कपटता) ले यो परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ।
आफ्ना वीरहरूका जीवनी लेख्दा मानिसहरूले तिनका दोषहरूलाई प्रायः उल्लेखै गर्दैनन् वा तिनलाई चुनले सेतो पोत्ने गर्दछन्; तर मानिस जस्तो छ त्यस्तै प्रस्तुत गरीकन बाइबलले आफ्नो ईश्वरीय गुणलाई प्रदर्शन गरेको छ। हामी पढ्छौं आदमको विद्रोह, नूहको मत्तापन, दाऊदको व्यभिचार, सोलोमनको सत्यत्याग, योनाको आत्मदया, पत्रुसको इन्कार, पावल र बर्नबासको विवाद, र ख्रीष्टको बौरिउठाइ सम्बन्धी चेलाहरूको अविश्वास। बाइबल यहूदीहरूबाट लेखिएको हो, तर यसले निष्कपटतासाथ यहूदीहरूको दोषहरूलाई वर्णन गरेको छ: उनीहरूको हठ र अविश्वासले गर्दा उनीहरू ४० वर्षसम्म उजाडस्थानमा घुम्नुपरेको; न्यायकर्ताहरूको कालमा उनीहरूको मूर्तिपूजा; उनीहरूको विद्रोहले गर्दा उनीहरू आफ्नो भूमिबाट उखेलिएर विश्वभरि दुई हजार वर्षसम्म तितरबितर हुनुपरेको कुरा; उनीहरूले मसीहलाई इन्कार गरेको कुरा।
७) बाइबलको मुक्ति सम्बन्धी शिक्षाले यो परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ।
अनुग्रहले मुक्ति पाइन्छ भन्ने मुक्ति सम्बन्धी शिक्षा सिकाउने एउटै मात्र धर्मशास्त्र बाइबल हो। अन्य सबैले कामहरूले मुक्ति पाइन्छ भन्ने सिकाउँछ। हिन्दूधर्म अनुसार आफ्नो धर्म गरेर र आफ्नो कर्म पूरा गरेर मुक्ति पाइन्छ। मुस्लिमधर्म अनुसार अल्लाहमा समपर्ण गरेर र उहाँका आज्ञाहरू पालन गरेर मुक्ति पाइन्छ। बुद्धधर्म अनुसार जीवनकर्मद्वारा र ध्यानद्वारा र सन्यासद्वारा मुक्ति पाइन्छ। काठमाडौंको बौद्ध स्तूपलाई हेर्न जानुभयो भने त्यहाँ तपाईंले दिनको कुनै पनि समयमा बौद्धमार्गीहरू स्तूपलाई चक्कर मारिरेहिका, माला जपिरहेका, “ओम्मेमे-पेमे” घुमाइरहेका देख्न सक्नुहुन्छ। मुक्ति कमाउन खोजिरहेका हुनाले नै तिनीहरू यी सब गर्दछन्।
तर बाइबलले मात्र बताउँछ, मुक्ति त पापीहरूलाई परमेश्वरको सित्तैंको वरदान हो। यो वरदान दिनलाई उहाँले ठूलो मूल्य चुकाउनुपरेको थियो। यो ठूलो मूल्यमा किनिएको थियो जुनचाहिँ क्रूसमा परमेश्वरकै पुत्रको प्रायश्चितकारी बलिदान थियो। तर पापीको निम्ति भने यो सित्तैंमा पाइने कुरा हो।
“किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ” (एफेसी २:८-९)।
बाइबलले बताएको छ, आफ्नो पापहरूको प्रायश्चित गर्न पापीले परमेश्वरलाई दिन सक्ने कुनै पनि कुरा छैन। हामीले के दिन सक्छौं? धर्मी कामहरू? बाइबलले भन्छ, हाम्रा सबै धार्मिकता परमेश्वरको महान् पवित्रताको सामु फोहोर झुत्राझैं छन् (यशैया ६४:६)। पैसा? सारा सृष्टिका मालिकले हाम्रो जाबो पैसाले के गर्नुहुन्थ्यो र? चोखो हृदय? बाइबलले भन्दछ मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ र त्यो साह्रै दुष्ट छ (यर्मिया १७:९)। तब कसरी हामीले आफ्नै मुक्ति कमाउन सक्थ्यौं र?
“तर हामी सबै अशुद्ध थोकजस्ता छौं, र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्; अनि हामी सबै पातजस्तै ओइलिन्छौं, र हाम्रा अधर्महरूले बतासले झैं हामीलाई उडाएर लगेका छन्” (यशैया ६४:६)।
होइन, मुक्ति अति गहिरो दया गर्ने प्रेमिलो परमेश्वरबाटको अनर्जित सित्तैंको वरदान हो। एउटा ख्रीष्टियन भजनमा जसरी भनिएको छ, “हामीलाई तिर्नै नसक्ने ऋण लागेको थियो; उहाँले तिर्नै नपर्ने ऋण तरिदिनुभो।”
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।
बाइबल कस्तो अचम्मको पुस्तक!
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।