दैनिक बाइबल अध्ययन

दैनिक बाइबल अध्ययन
डेविड क्लाउड
पद कण्ठ: यहोशू १:८; भजनसङ्ग्रह १:१-३; ११९:९, १०५; यूहन्ना ८:३१-३२; प्रेरित २०:३२; हिब्रू ४:१२
ख्रीष्टियन जीवनमा असल-असल ईश्वरीय बानीहरू बसाल्नु ज्यादै महत्त्वपूर्ण कुरा हो। येशूको सभाघरमा जाने “रीति” (लूका ४:१६) अथवा आदत नै थियो। यो उहाँको बानी थियो। त्यसरी नै विश्वासीको पनि मण्डली सभामा जाने र दिनहुँ बाइबल अध्ययन गर्ने बानी हुनु अनिवार्य छ।
परमेश्वरको वचनमा यस्तो सामर्थ्य छ जसले विश्वासीलाई पवित्र पार्न र उसलाई ख्रीष्टमा बढाउँदै लैजान सक्छ। यसले उसलाई निश्चयता, ज्ञान, आत्मिक बल, विश्वास, बुद्धि, पश्चात्तापमा डोर्याउँदछ।
निम्न पदहरूलाई विचार गर्नुहोस्: यहोशू १:८; भजनसङ्ग्रह १:१-३; ११९:९, १०५; यूहन्ना ८:३१-३२; प्रेरित २०:३२; २ तिमोथी ३:१५-१७; हिब्रू ४:१२; १ पत्रुस २:२; २ पत्रुस १:१९।
ख्रीष्टमा बढ्न र उहाँको सिद्ध इच्छा प्राप्त गर्न, विश्वासी उसको मनको नयाँ हुवाइद्वारा बदली हुँदै जानुपर्छ र यस्तो बदली हुने कामचाहिँ उसभित्र बास गर्नुहुने पवित्र आत्माको सामर्थ्यले परमेश्वरको वचनद्वारा प्रभावकारी हुन्छ।
दैनिक बाइबल पठनका लागि यहाँ दसओटा सल्लाहहरू दिइएका छन्:
१) एउटा समय कायम गर्नुहोस्
दिनको एउटा निश्चित समयमा, दैनिक रूपमा, बाइबल पढ्नलाई बानी बसाल्नुभएन भने तपाईंले शायद आकलझुकलमा मात्र बाइबल पढ्नुहुनेछ। आफ्नो परिस्थितिअनुसार तपाईंलाई सबभन्दा सुहाउने समय कुनचाहिँ हुन्छ त्यो निश्चित गर्नुहोस्। मेरो जीवनमा, विभिन्न चरणहरू पार गर्दै जाने क्रममा, परिस्थितिअनुसार मैले फरक-फरक समयमा यसरी समय बिताउने गरेको छु। साधारणतयाः बिहानको शुरुको समय सर्वोत्तम हुन्छ जुनबेला तपाईंको मन त्यस दिनको कामकुराले भरिभराउ हुन पाएको हुँदैन। तर तपाईंको लागि अन्य समय अझ राम्रो होला; यस विषयमा तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ। महत्त्वपूर्ण कुरा यो हो कि दैनिक रूपमा बाइबल पढ्ने बानी चाहिँ बसाल्नैपर्छ। यदि तपाईंले हरेक दिनबाट केही समय प्रभुसँग भेट्नलाई र उहाँको वचन अध्ययन गर्नलाई अलग गर्नुभयो भने तपाईं बाइबलको ज्ञानमा बढ्नुहुन्छ र आफ्नो ख्रीष्टियन जीवनमा प्रगति गर्नुहुन्छ, तर तपाईंले यो बानी बसाल्नैपर्छ। यो कति अनिवार्य कुरा हो भनेर मैले यसलाई जोड दिएर साध्य छैन।
२) एउटा ठाउँ कायम गर्नुहोस्
सम्भव भएसम्म एउटा शान्त र एकान्त ठाउँ हुनु आवश्यक छ। मैले विश्वासीहरूलाई मानिसहरू कुराकानी गरिरहेको र रेडियो बजिरहेको कोठामा बसेर बाइबल अध्ययन गर्न खोजिरहेको देखेको छु। परिस्थितिवश कहिलेकाहीँ त्यो आवश्यक होला तर आदतको रूपमा यो बुद्धिमानी होइन र साथै हाम्रो पूरा ध्यान दिइनुपर्ने प्रभुलाई यो आदर दिने कुरा होइन। बाइबल परमेश्वरकै वचन हो। के परमेश्वरलाई निम्तो दिनु र त्यसपछि उहाँ हामीसित कुरा गरिरहनुभएकै बखतमा त्यहाँ अनेकौं थोकहरू हुन दिइरहनु उचित हो र?
३) केही आधारभूत अध्ययन सामग्रीहरू हुनु आवश्यक छ
हामी निम्न पुस्तकहरू सुझावस्वरूप सूचित गर्छौं (हालमा अङ्ग्रेजी सामग्रीहरू मात्र यहाँ सूचित गरिएको छ):
- एक अध्ययन बाइबल (Study Bible) – अरू केही नभए पनि सान्दर्भिक पदहरू भएको र साथै क्रमशब्द सूची भएको एउटा “अध्ययन बाइबल” धेरै उपयोगी हुन्छ। यस्ता उपयोगी अध्ययन बाइबलहरूमध्ये तीनओटा चाहिँ यस प्रकार छन्: पूरानो स्कोफिल्ड रेफरेन्स बाइबल (Scofield Reference Bible), थम्सन चेन रेफरेन्स बाइबल (Thomson Chain Reference Bible) र किङ्ग जेम्स स्टडी बाइबल (King James Study Bible)। (यस बारेमा थप जानकारीका लागि वे अफ लाइफ वेबसाइटको “रेफरेन्स् बाइबलहरू” अन्तर्गत हेर्नुहोस्।)
- क्रमशब्द (Concordance) –
अङ्ग्रेजी पाठकका लागि, मेरो मूल्याङ्कनमा स्ट्रङ्ग्स् एक्जस्टिभ कन्कोर्डान्स् (Strong’s Exhaustive Concordance) हालसम्म प्रकाशित सबै बाइबल अध्ययन सामग्रीमध्ये एउटा ज्यादै महत्त्वपूर्ण सामग्री हो। यसले अङ्ग्रेजी बाइबलका शब्दहरूलाई पूर्णरूपले उतार्ने काम मात्र नभएर तिनलाई तिनका मूल हिब्रू र ग्रीक शब्दहरूको एउटा उपयोगी शब्दकोषसित समेत लिङ्क गरेको छ।
- ट्रेजरी अफ स्क्रिप्चर नलेज (Treasury of Scripture Knowledge)
- वे अफ लाइफ इन्साइक्लोपिडिया अफ बाइबल एण्ड क्रिस्चियानिटी (Way of Life Encyclopedia of Bible and Christianity)
४) साथमा नोटकापी र कलम होस्
प्रभुले तपाईंलाई सिकाउनुभएका कुराहरू लेखेर राख्नु महत्त्वपूर्ण बानी हो। मैले मुक्ति पाएको पहिलो वर्षमा मैले विभिन्न नोटकापीहरू लेखेर भरेँ। जस्तै, मैले एउटा नोटकापीचाहिँ बाइबलका विषयहरू अध्ययन गर्नलाई विभिन्न शीर्षकमा बाँडेँ जस्तै, मुक्ति, पाप, सान्त्वना, ख्रीष्टको ईश्वरत्व, शैतान, नरक, स्वर्गदूतहरू र अन्य विषयहरू जसको अध्ययन गर्नलाई मलाई त्यसबेला रूचि भयो। ती शीर्षकसँग मिल्ने पदहरू मैले भेट्टाउँदै जाने क्रममा मैले तिनलाई तिनका शीर्षकअन्तर्गत सूचित गर्दैगएँ। मैले पूरै बाइबललाई वर्षको दुई-तीन पटक पढ्दै थिएँ, त्यसैले विभिन्न शीर्षकका बारेमा बाइबलले बताएका सबैजसो कुराहरू जम्मा पार्न र आफैंले शिक्षागत अध्ययनहरू गर्न मैले सक्ने भएँ।
५) बाइबलमा चिन्हहरू लगाउन साथमा शीशाकलम होस्
किन शीशाकलम प्रयोग गर्न म सल्लाह दिन्छु भने गल्ती भएमा त्यसलाई मेट्न सकिन्छ र साथै मसीले जस्तो पन्नाको अर्कोपट्टी भिजेर जाँदैन। मेकानिकल पेन्सील सर्वोत्तम हुन्छ किनकि त्यसलाई तिखारिरहनु पर्दैन।
सान्दर्भिक पदहरू, शब्दका परिभाषा, रूपरेखा र छोटो-छोटो टिप्पणीहरू लेख्नलाई बाइबलको किनाराहरू प्रयोग गर्नुहोस्। ती कुरालाई थप्दै जाँदा तपाईंले आफ्नै अध्ययन बाइबल निर्माण गर्नुहुन्छ। यसको लागि चौडा किनाराहरू भएको बाइबल उपयोगी हुन्छ।
बाइबलमा चिन्ह लगाउनलाई यहाँ केही सुझावहरू छन्:
क) विचार पुराएर मात्र चिन्ह लगाउनुहोस्। बाइबल त तपाईंकै हो र तपाईंले आफ्नो खुशी गर्न सक्नुहुन्छ, तर भिन्नता नै नराखी जहाँतहीँ चिन्ह नलगाउनलाई म सुझाव दिन चाहन्छु। नत्र भने केही समयपछि तपाईंको बाइबल अर्थ न व्यर्थको चिन्ह र धर्सोले केरकार हुनेछ। चिन्ह लगाउँदा अलिकति विचार पुर्याउनु बरु उत्तम हुन्छ। उत्पत्ति १ लाई लिएर म केही सुझाव दिऊँ:
खण्डका विभाजनहरू झ्वाट्ट देखिने गरी त्यस्ता कुरालाई चिन्ह लगाउनुहोस्। उत्पत्ति १ मा मैले “साँझ पर्यो, र बिहान भयो” को मुन्तिर अधोरेखा तानेको छु, किनभने यस वाक्यांशले सृष्टिका दिनहरूलाई छुट्ट्याउँदछ। (प्रकाश २-३ मा मैले सात मण्डलीका नामहरूलाई चिन्ह लगाएको छु र त्यस खण्डलाई झ्वाट्ट हेर्दा नै मैले त्यसका विभाजनहरू देख्न सक्छु।)
सबभन्दा महत्त्वपूर्ण कुराहरूको मुन्तिर अधोरेखा तान्नुहोस्। उत्तपत्ति १ मा मैले पद २७ को मुन्तिर अधोरेखा तानेको छु।
दोहोरिएका विचारको मुन्तिर अधोरेखा तान्नुहोस्। उत्पत्ति १ मा मैले “परमेश्वरले भन्नुभयो” र “आफ्नो-आफ्नो जातिअनुसार” जस्ता वाक्यांशलाई चिन्ह लगाएको छु। (उपदेशकमा मैले “सूर्यमुनि” लाई र इजिकिएलमा मैले “तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्” लाई भेटिएका जति प्रत्येक ठाउँमा चिन्ह लागाएको छु।)
ख) विचार पुराएर मात्र टिप्पणी लेख्नुहोस्। चिन्ह लगाएजस्तै, यदि तपाईंले आफ्नो बाइबलमा जेसुकै कुरा वा जस्तोसुकै कुरा टिपोट गर्न थाल्नुभयो भने, तपाईंले चाँडै नै ती टिप्पणीहरू करिब-करिब कामै नलाग्ने ठहरिनेछन्। प्रचारकले वा शिक्षकले भनेका कुनै कुरालाई टिपोट गर्नु अघि, त्यसको स्रोतलाई विचार गर्नुहोस्। के ती बोल्ने व्यक्ति मेहनत गर्ने अध्येता हुन् जसका भनाइहरू सम्भवतः अचूक हुन्छन्? होइन भने आफ्नो बाइबलमा टिपोट गर्नलाई एकदम होशियार हुनुहोस्। मैले थुप्रै प्रचारकहरू र शिक्षकहरूले त्यस्ता कुरा बोलेका सुनेको छु जो सही थिएनन्। बाइबलको किनाराहरू विशेष कुराहरू र कुनै शङ्का बिना सत्य र अचूक टिपोट गर्नलाई जोगाइराख्नुहोस्। अन्य कुराहरूलाई छुट्टै नोटकपिमा लेख्न सकिन्छ।
बाइबलको किनारामा के कस्ता कुरा लेख्ने?
शब्द र नामका परिभाषा कठीन शब्द र सैद्धान्तिक शब्दका परिभाषा लगायत व्यक्ति र स्थानका नामका परिभाषा सिक्दै जाने क्रममा तिनलाई आफ्नो बाइबलको किनारामा टिपोट गर्दै जानुहोस् र तिनलाई तपाईंले सम्झिराख्न सक्नुहुनेछ। मैले आफ्नो बाइबलमा सयौं परिभाषाहरू टिपोट गरेको छु। जस्तै:
रोमी ३:२४ — छुटकारा = दाम तिरेर किनिएको
रोमी ३:२५ — प्रायश्चित = ऋणचुक्ता
अन्योन्य सन्दर्भ (cross-reference, प्रतिसङ्केत) कुनै पनि सिङ्गो प्रतिसङ्केत प्रणाली पूर्ण छैन। ट्रेजरी अफ सक्रिप्चर नलेजमा समेत हरेक सम्भव अन्योन्य सन्दर्भ समेटिएको छैन। अध्ययन गर्नमा मेहनती हुनुभयो भने तपाईंले अरु थुप्रै नयाँ अन्योन्य सन्दर्भहरू भेट्टाउनुहुनेछ जसलाई तपाईंले आफ्नो बाइबलमा थप्न सक्नुहुन्छ। जस्तै, मत्ती ६:२३ लाई हितोपदेश २८:२२ सित प्रतिसङ्केतले जोडिनुपर्छ, तर मैले हेरेको कुनै पनि प्रतिसङ्केत प्रणालीमा यो भेटेको छैन। र एफेसी १:३ को “स्वर्गीस्थानहरूमा आत्मिक आशिषहरू” कलस्सी ३:१-३ र १ पत्रुस १:४ सित प्रतिसङ्केतद्वारा जोडिनुपर्छ तर यी कुनै पनिलाई ट्रेजरी अफ स्क्रिप्चर नलेजमा भेटिँदैनन्।
सैद्धान्तिक र शिक्षामूलक रूपरेखा मैले आफ्नो बाइबलकै किनाराबाट धेरैओटा प्रवचनहरू प्रचार गर्न सक्छु। साथै त्यहाँ टिपोट गरिएका टिप्पणी र रूपरेखाहरूद्वारा मैले झूटा शिक्षाहरूको खण्डन गर्न सक्छु। मलाई एउटा घटनाको याद आउँछ जब म नयाँ ख्रीष्टियन थिएँ र अनजानमा म एक कट्टर यहोवाका साक्षी महिलाको घरमा गएँ। त्यो घरमा निम्तो गरिएपछि मैले आफूलाई त्यहाँ उनीहरूको बाइबल अध्ययनका लागि जम्मा भएको एउटा समूहको बीचमा पाएँ। ती महिलाले सभाको नियन्त्रण आफ्नो हातमा लिए र मलाई प्रश्न गरे, “के ख्रीष्टियनहरू मरेपछि स्वर्ग जान्छन्?” मैले जवाफ दिएँ, “जान्छन्”। तब तिनले मलाई विश्वासी स्वर्ग जानेछ वा स्वर्ग उसको घर हो भनेर बाइबलमा कहाँ लेखिएको छ त्यसलाई देखाउनलाई चुनौती दिए। केही बेर मैले खोजी गरेँ तर त्यही कुरा बताउने मैले कुनै पनि खण्ड भेट्टाउन सकिनँ र यसरी म उक्त झूटा शिक्षिकाको सामु शर्ममा पारिएँ। त्यसपछि झूटा शिक्षकहरूलाई जवाफ दिन सक्न सधैं तयार हुनलाई मैले आफ्नो मेहनतलाई दोब्बर गतिमा अघि बढाएँ। मैले अपनाएको एउटा उपायचाहिँ आफ्नो बाइबलको किनारामा सान्दर्भिक टिप्पणीहरू लेख्नु हो जसलाई आवश्यक पर्दा मैले छिट्टै भेट्टाउन सक्दछु।
- प्रस्थान २० मा मैले विश्रामदिन किन नयाँ नियमका विश्वासीहरूलाई किन बन्धनकारी छैन भन्ने कारणहरू टिपोट गरेको छु।
- हितोपदेश २३ मा मैले मात लगाउने पेय पद्धार्थका खतराको बारेमा रूपरेखा लेखेर राखेको छु।
- मत्ती १६:१८ मा मैले “चट्टान” ले पत्रुसलाई नभएर ख्रीष्टलाई जनाउँछ भन्ने कारण टिप्पणी गरेको छु।
- मर्कूस १:२३ मा मैले बाइबलका आधुनिक अनुवादहरूमा पाइने केही मूलभूत त्रुटीहरूलाई टिपोट गरेको छु।
- मर्कूस ९ मा मैले नरक सम्बन्धी विभिन्न बाइबलीय बयानहरू लगायत ख्रीष्टले नरकको प्रचार गर्नुभएको खण्डहरू उल्लेख गरेको छु।
- यूहन्ना ३:५ मा मैले “पानीबाट जन्मनु” भनेको बप्तिस्मा होइन भन्ने कारणहरू टिपोट गरेको छु।
- यूहन्ना १३ मा मैले पाउ-धुलाइ माण्डलिक विधि किन होइन भनेर टिपोट गरेको छु।
- प्रेरित २:३८ मा मैले यसले बप्तिस्माले मुक्ति पाइने कुरा गरेको किन होइन भन्ने कारणहरू टिप्पणी गरेको छु।
यीचाहिँ केही उदाहरणहरू हुन्। मैले एउटा कारागारमा गई बाइबल सिकाउने गर्थें र झण्डै हरेक हप्ता नै यी टिप्पणीहरू मैले प्रयोग गर्थें जब कैदीहरूले प्रश्न गर्थे। मलाई जवाफ थाहा नभएको कुनै प्रश्न सोधिएको खण्डमा, अर्को पटक त्यसको जवाफ दिन म तयार हुन सकूँ भनेर मैले त्यसको जवाफ खोजेर मेरो बाइबलमा समावेश गरिहाल्थें।
नापतौलका टिप्पणी जस्तै, प्रस्थान २५-२७ मा मैले भेट हुने पालका विभिन्न सामग्रीका आधुनिक नापतौलहरू लेखेर राखेको छु।
पदको छोटो टिप्पणी कुनै खण्डको बारेमा जब तपाईंले कुनै उपयोगी कुरा सिक्नुहुन्छ तब त्यसलाई किनारामा छोटकरीमा टिपोट गर्नुहोस्। पछि त्यस खण्डलाई पढ्नुहुँदा प्रत्येक पटक नै उक्त टिपोट सम्झनास्वरूप त्यहीँ हुनेछ। जस्तै, लूका १६:८ मा यस संसारका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ्ता चतुर कसरी हुन्छन्। “कसरी बढ्ता चतुर? १) भविष्यको लागि तयारी गरेर २) पैसाको प्रयोगमा। ख्रीष्टले अनन्तको बारेमा दर्शाउन सांसारिक उदाहरणबाट सिकाउँदै हुनुहुन्छ।” रोमी ३:३१ मा मैले “पावलले व्यवस्थालाई त्यो जुन उद्देश्यको लागि दिइएको थियो त्यसकै लागि स्थिर पारे। हेर्नू: पद १९-२२।”
खण्डका विभाजनहरू कुनै-कुनै बाइबल खण्डहरू छुट्ट्याएर छापिएका हुन्छन्, तर यो काम आफैंले गर्न मलाई मन परेको छ। जस्तै, प्रस्थान ७-११ मा मैले मिश्रमाथिका १० विपत्तिहरूलाई चिन्ह लगाएको छु। प्रस्थान २० मा मैले दस आज्ञाका प्रत्येक आज्ञालाई चिन्ह लगाएको छु। लेवी १-७ मा मैले ती विभिन्न बलिदानहरूलाई चिन्ह लगाएको छु।
चाबी विचार र दोहोरिएका महत्त्वपूर्ण उल्लेखहरू जस्तै, पावलका पत्रहरूमा, रोमी १:८-१० बाट शुरु गरेर, मैले उनका सबै प्रार्थनाहरूलाई परकाष्ठ-चिन्हद्वारा छुट्ट्याएको छु, र त्यसको अगाडि भएको र त्यसको पछाडि आउने प्रार्थनाको टिपोट गरेको छु। रोमी १:८-१० को छेउमा मैले “रोमी १५:५-६” लेखेको छु, किनभने पावलको त्यसपछिको प्रार्थना त्यही नै हो। रोमी १५:५-६ को छेउमा मैले “रोमी १:८-१०” लेखेको छु किनकि त्यो पावलको अघिल्लो प्रार्थना हो, र “रोमी १५:३” लेखेको छु किनकि त्योचाहिँ उसको पछिल्लो प्रार्थना हो। उत्पत्ती १ मा, उत्पत्ति १२ बाट शुरु गरेर, मैले परमेश्वरले अब्राहामलाई आफ्नो करार दोहोर्याउनुभएको प्रत्येक उल्लेखलाई परकाष्ठ-चिन्हले छुट्ट्याएको छु। अनि प्रत्येक पद भेट्टाउन सजिलो पार्न मैले पदको छेउमा तारा-चिन्ह पनि लगाएको छु।
ग) रङ्गीन चिन्हका प्रयोग रङ्गीन शीशाकलम अथवा हाइलाइटरहरू बाइबललाई चिन्ह लगाउने उत्तम उपाय हुन्। कतिले बाइबलभरि एउटै रङ् प्रणाली प्रयोग गर्न खोज्छन्; तर मैले बाइबलका फरक-फरक भागहरूलाई फरक-फरक रङ्ग प्रणाली प्रयोग गर्नु अझ सजिलो र प्रभावकारी भएको पाएको छु। मेरो आफ्नै बाइबलमा मैले प्रयोग गरेको केही प्रणालीहरू यस प्रकार छन्:
- भजनसङ्ग्रहमा मैले अनन्तताको उल्लेखलाई रातो प्रयोग गरेको छु, दोस्रो आगमनको निम्ति गाढा नीलो, परमेश्वरमाथिको भरोसालाई सुन्तला, आशिषका लागि हरियो, सङ्कष्टको लागि बैजनी, प्रशंसाको लागि पहेँलो, प्रार्थनाको लागि गुलाफी, परमेश्वरको वचनको लागि खैरो। मसीही भविष्यवाणीका पदका अङ्कहरूलाई नीलो रङ्ले गोलो चिन्ह लगाएको छु। साथै पूरा हुन बाँकि रहेका भविष्यवाणी वा भविष्यका घटनालाई मैले रातो रङ्गको परकाष्ठ चिन्ह( )ले छुट्ट्याएको छु।
- पुरानो नियम अगमवाणीका खण्डहरूमा मैले परमप्रभुको दिन सम्बन्धीका पदहरूका लागि खैरो, मसीही खण्डहरूका लागि हल्का नीलो, बचेकाहरू (remnant) सम्बन्धीका खण्डहरूका लागि हरियो, नयाँ करारका लागि सुन्तला, इस्राएलको पुनस्थापनाको लागि गाढा नीलो, हजार वर्षे राज्यको बयान गर्ने खण्डहरूका लागि पहेँलो, दोस्रो आगमनका लागि रातो रङ्ग प्रयोग गरेको छु। साथै पूरा हुन बाँकि रहेका भविष्यवाणी वा भविष्यका घटनालाई मैले रातो रङ्गको परकाष्ठ चिन्ह( )ले छुट्ट्याएको छु।
- हितोपदेशमा मैले सल्लाह र (व्यावहारिक) शिक्षाप्राप्ति सम्बन्धीका पदहरूलाई रातो, जिब्रो र बोली सम्बन्धीका पदहरूलाई पहेँलो, सुधारको लागि हरियो, रिस र झगडालाई बैजनी, अमरतालाई सुन्तला, मित्रतालाई खैरो, छोराछोरीको तालिमलाई नीलो रङ्ग प्रयोग गरेको छु। घर तथा परिवार सम्बन्धीका पदका अङ्कहरूलाई मैले नीलो गोलो रङ्ग लगाएको छु, अल्छे सम्बन्धीका पदको अङ्कलाई सामान्य शीशाकलमले गोलो लगाएको छु, सरकार सम्बन्धीका पदको अङ्कलाई हरियो गोलो, गरीब र गरीबी सम्बन्धीलाई खैरो गोलो र घमन्डलाई बैजनी गोलो लगाएको छु।
- प्रेरितको पुस्तकमा मैले विश्वासद्वारा मुक्ति पाइने भन्ने शिक्षा सिकाउने पदहरूलाई रातो, बप्तिस्मा सम्बन्धीका पदहरूलाई नीलो, पश्चात्तापलाई हरियो, पावल पुगेका ठाउँका नाउँहरूलाई पहेँलो, ख्रीष्टको बौरिउठाइको उल्लेख गर्ने पदहरूलाई सुन्तला रङ्गले चिन्ह लगाएको छु।
- प्रकाशको पुस्तकमा मैले सात मण्डलीका नामहरूलाई नीलो, छापहरूलाई बैजनी, तुरहीहरूलाई सुन्तला, परमेश्वरको क्रोधको उल्लेखहरूलाई रातो र कचौराहरूलाई खैरो रङ्गले चिन्ह लगाएको छु।
६) साथमा एउटा पठन-तालिका होस्
बाइबल पढ्नु (व्यवस्था १७:१८-१९; प्रकाश १:३) र बाइबल अध्ययन गर्नु (२ तिमोथी २:१५) दुईटै महत्त्वपूर्ण कुरा हुन्। पढ्नु र अध्ययन गर्नु दुई फरक-फरक कुरा हुन्। पहिला, बाइबल पढ्नु महत्त्वपूर्ण कुरा हो। विश्वासीलाई बाइबल झन् झन् राम्ररी बुझ्नलाई मद्दत दिलाउने एउटै कुरा छ भने त्यो हो बाइबललाई केवल पढेको पढै, पढेको पढै, पढेको पढै गर्ने। मेरी आमाले ७७ वर्षको उमेर पुगेर बाइबललाई वर्षको दुई पटक पूरै पढ्न थालेकी हुन् र त्यसबेलादेखि उहाँलाई मैले भेटेको हरेक पटक नै उहाँले आफू बाइबललाई अझ राम्ररी बुझ्न सकेको कुरा बताउनुभएको छ। साथै, बाइबल अध्ययन गर्नु पनि आवश्यक छ। यसको मतलब अब अलि बिस्तारै जानु हो, शब्दको अध्ययन गर्नु हो, खण्ड-खण्डलाई विश्लेषण गर्नु हो, विषयगत अध्ययन गर्नु हो, टिप्पणीहरूको प्रयोग गर्नु हो इत्यादि। यहाँ आइपुगेर हो हामी बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्न थाल्ने।
बाइबल पठन सम्बन्धी केही सुझावहरू
- प्रणालीबद्ध रूपले पढ्नुहोस्। यसको माने शुरुदेखि अन्तसम्म पढ्नुहोस्। बाइबल किन प्रणालीबद्ध रूपले पढिनुपर्छ? बाइबल केवल विभिन्न लेखोटको सँगालो मात्र होइन; यो एउटै सिङ्गो पुस्तक हो; अनि यसलाई बुझ्ने हो भने यो सिङ्गो पुस्तककै रूपमा पढिनुपर्छ। बाइबलको प्रत्येक एकल पुस्तकले बाँकी पुस्तकहरूको परिपूरकको रूपमा काम गर्दछ, र जति बाइबल प्रणालीबद्ध रूपले पढिन्छ तयतयि नै यसका खण्डहरू बिस्तारै आपसमा मेल खाएको देखिन थाल्छ।
- पुरानो र नयाँ नियमहरू दुवैबाट पढ्नलाई म सल्लाह दिन्छु। यसको लागि तपाईंले हरेक दिन पुरानो र नयाँ नियमबाट पढ्न सक्नुहुन्छ, अथवा पुरानो र नयाँ नियम पढ्नलाई तपाईंले पालो गर्न सक्नुहुन्छ, जस्तै तपाईं पहिला पुरानो नियमको एउटा पूरै किताब वा विभाजन पढ्न सक्नुहुन्छ (जस्तै उत्पत्ति अथवा पूरै पञ्चग्रन्थ) अनि त्यसपछि नयाँ नियमको एउटा पूरै किताब वा विभाजन पढ्न सक्नुहुन्छ (जस्तै मत्ती अथवा चारओटै सुसमाचारका पुस्तकहरू)।
एक वर्षमा पूरै बाइबल पढ्नलाई प्रयोग गर्न सकिने एउटा तालिका ([PDF, 1.39MB download]) यस वेबसाइटले उपलब्ध गराएको छ। यस तालिकाअनुसार पढ्दा पाठकले हरेक दिन करीब दुईटा अध्याय पुरानो नियमबाट र दुईटा अध्याय नयाँ नियमबाट पढ्दछ र एक वर्षमा पुरानो नियम एक पटक र नयाँ नियम दुई पटक पूरै पढिन्छ (साथै भजनसङ्ग्रह पनि दुई पटक पढिन्छ)।
५२-हप्ताको पठन-तालिका पनि अर्को राम्रो उपाय हो। यसअनुसार पढ्दा पुरानो नियम एक पटक र नयाँ नियम दुई पटक पढिन्छ। यो पूरा गर्न हरेक दिन चारओटा अध्याय पढ्नुपर्ने हुन्छ।
- बिहान र साँझ गरी दुईपटक पढ्ने समय लिन सकिन्छ (भजनसङ्ग्रह ११९:१४७-१४८), अथवा बिहान र मध्यदिन। केही सुझाव यस प्रकार छन्:
- बिहान पुरानो नियमबाट एउटा भाग पढ्नुहोस् र साँझ नयाँ नियमबाट एउटा भाग पढ्नुहोस्।
- बिहानचाहिँ प्रणालीवद्धरूपमा पढ्नुहोस्, दिनको तीन-चार अध्याय गर्दै; अनि साँझचाहिँ अझ बढी प्रार्थना गर्दै पढ्नुहोस्, पवित्र आत्मालाई फरक-फरक खण्डमा डोर्याउन दिँदै।
- बिहानचाहिँ प्रणालीवद्धरूपमा पढ्नुहोस् अनि साँझचाहिँ भजनसङ्ग्रह र हितोपदेश पढ्नुहोस्।
- पढ्ने समयलाई दुई भाग लगाउन सक्नुहुन्छ: पहिलो भागमा पढ्नुहोस् र दोस्रोमा अध्ययन गर्नुहोस्। एक वर्षमा पूरै बाइबल पढ्नलाई आवश्यक दैनिक तीन वा चार अध्यायहरू पढ्न धेरै समय लाग्दैन। त्यसैले पठनपछि अध्ययनको समय लिन सकिन्छ। समयको यसरी विभाजन गर्नलाई यहाँ केही सुझावहरू छन्:
- पठन र अध्ययन एउटै अवधिभित्र गर्न सकिन्छ; यस महत्त्वपूर्ण कार्यको लागि लगभग एक घण्टा जति लिन सकिन्छ।
- पठन र अध्ययनलाई दिनको दुई बेग्लाबेग्लै समयमा विभाजित गर्न सकिन्छ, एक समयमा पढ्न र अर्कोमा अध्ययन गर्न सकिन्छ।
- वर्षको पहिलो भागमा पठनमा लागिपर्न सक्नुहुन्छ र वर्षको बाँकी भागमा अध्ययनमा लागिपर्न सक्नुहुन्छ। जस्तै, वर्षको पहिलो भागमा तपाईंले दिनको छ अध्यायहरू पढ्न सक्नुहुन्छ र त्यसरी साँढे छ महिनमा पूरै बाइबल पढेर भ्याउन सक्नुहुन्छ (बाइबलमा १,१८९ अध्यायहरू छन्)। तब बाँकी झण्डै आधा वर्ष तपाईंले बाइबलको अध्ययन गर्ने काममा बिताउन सक्नुहुन्छ।
- बाइबल पढ्न भर्खरै शुरु गर्दै हुनुहुन्छ भने (चाहे नयाँ विश्वासीको रूपमा वा पुरानोको रूपमा), वर्षको एक पटक पूरै पढ्नुहोस्। एउटा सरल बाइबल सर्वेक्षण पुस्तकको साथ-साथै पढ्नुहुन म सुझाव दिन चाहन्छु। कम्प्यूटर हुने अङ्ग्रेजी पढ्न सक्नेले Walter Groom को “Genesis to Revelation Bible Course” इन्टरनेटबाट यसको इ-बुक निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ (http://www.wayoflife.org/pdf/genesistorevelation.pdf)।
७) प्रार्थनासहित शुरु गर्नुहोस्
तपाईंको समझका आँखा खोलियोस् भनी परमेश्वरलाई पुकारा गर्नुहोस्। आफैले बाइबल बुझ्न सक्छु जस्तो सोचेर अतिआत्मविश्वासी नबन्नुहोस्। हामीले भजनसङग्रहका लेखको नमुनालाई पछ्याउनुपर्छ जसले पुकारे, “मेरा आँखाहरू खोलिदिनुहोस्, र म तपाईंका व्यवस्थाबाट अद्भुत कुराहरू देख्न सकूँ” (भजनसङ्ग्रह ११९:१८)। हितोपदेशले भन्छ, हामीले समझ पाउनको निम्ति पुकारा गरेपछि मात्र बुद्धि प्राप्त गर्नेछौं (हितोपदेश २:१-५)।
८) मन लगाएर पढ्नुहोस्
यदि तपाईं बाइबलमा ध्यान लगाएर पढ्न सक्नुहुन्न भने तपाईंको अध्ययन समय त्यति लाभदायक बन्दैन। मन सजिलै यताउता जान सक्दछ, त्यसैले हामीले जसरी भए पनि पवित्रशास्त्रमै आफ्नो विचार लगाइराख्नुपर्छ र परमेश्वरका वचनहरूलाई आफ्नो हृदयमा सम्हालिराख्नुपर्छ ताकि तिनले असल फल फलाऊन्। हामी एक कमजोर, आत्मिक भन्दा प्राणीक शरीरमा जिउँदछौं (जसलाई रोमी ७:२४ मा “यस मृत्युको शरीर” भनिएको छ) जो थाक्छ, जसलाई रोग लाग्छ। त्यति मात्र होइन, हामी अनेक फिक्री र सङ्कष्टले भरिएको संसारमा बाँचिरहेका छौं। त्यति मात्र होइन हाम्रो प्रगतिलाई रोक्न खोजिरहने हाम्रो एउटा सक्रिय आत्मिक शत्रु पनि छ। उसको नाम शैतान हो जसको माने हो “शत्रु” जो हाम्रो विरोध गर्नलाई हाम्रो सामु उभिन्छ। बाइबल अध्ययन आत्मिक युद्ध हो र यस युद्धमा विजयी बन्नलाई हामीले आवश्यक भएभरको कुराहरू गर्नैपर्छ।
पवित्रशास्त्रलाई बुझ्न र प्रयोग गर्न मान्छले यत्न गर्नुपर्छ नत्र भने शैतानले सत्यतालाई उसको हृदयबाट चोरेर लान्छ भन्ने कुरा बीउ छर्नेको दृष्टान्तले सिकाउँदछ (मत्ती १३:१९)। सत्यतामाथि मनन गरेर र त्यसको अर्थ पत्ता लगाएर हामीले त्यसलाई पक्रनैपर्छ।
बाइबल पठनमा मन लगाउनलाई यहाँ केही सुझावहरू छन्:
- यसबारे प्रार्थना गर्नुहोस्। बाइबल अध्ययनको समयमा तपाईंको मन धेरै यता र उता गरिरहेको पाउनुहुन्छ भने यस कुरालाई प्रभुको सामु लैजानुहोस्। उहाँको ज्ञानमा र उहाँको वचनको ज्ञानमा बढ्न चाहनुहुन्छ भन्दै उहाँलाई भन्नुहोस्, आफ्नो समस्या उहाँको सामु आफ्नो खाँचोको रूपमा ल्याउनुहोस् र पठनमा ध्यान दिन सक्नलाई उहाँको सहायताको माग गर्नुहोस्।
- कुनै विषयको फिक्री लागिरहेको छ भने त्यसलाई प्रभुमा राखिदिनुहोस् (१ पत्रुस ५:७) र त्यसको निम्ति उहाँमा भरोसा गर्नुहोस् अनि आफ्नो पूरै ध्यान उहाँको वचनतिर फर्काउनुहोस्।
- कोठामा तपाईंको ध्यानाकर्षण गर्ने कुनै कुरा छ भने त्यसलाई हटाउनुहोस्। मैले एकजना पास्टरलाई चिन्छु जसले आफ्नो कोठाको किताबका सबै चम्किला खोलहरू निकालेर हटाउनुभयो किनकि बाइबल अध्ययन गर्न खोज्दा उहाँको ध्यानलाई तिनले बाधा दिँदैथिए।
- बाइबल पढ्ने समयमा कम्प्यूटर प्रयोग गर्ने बारेमा होसियार हुनुहोस्। बाइबल अध्ययन गर्नलाई मैले कम्प्यूटर प्रयोग गर्दछु किनकि यो एकदम प्रभावकारी छ, तर पवित्रशास्त्रहरूमा मेरो दैनिक प्रार्थनामय समय बिताउँदा म कम्प्यूटर प्रयोग गर्दिन। किन अरू कुराले ध्यान यताउता जान ज्यादै सजिलो छ।
- अनेक विचारहरू आउँदा होसियार हुनुहोस्। बाइबल अध्ययन गरिरहँदा कतिपटक यस्तो हुन्छ कि अरू कुराका बारेमा विभिन्न विचारहरू वेगले आउने गर्छन् र बाइबल अध्ययन गर्न छोडेर ती कामहरू गर्नलाई तपाईंलाई परीक्षा हुन्छ। यसैले गर्दा आफूसँग कलम र कागत हुनु राम्रो हुन्छ ताकि ती विचारलाई टिपोट गर्न सक्नुहुन्छ र पछि ती कामलाई पूरा गर्न सक्नुहुन्छ। यसरी तिनलाई आफ्नो मनबाट हटाउन सक्नुहुन्छ र अध्ययनमा अगाडि बढ्न सक्नुहुन्छ। यदि तपाईं अरू काम पूरा गर्नलाई यता र उता कुद्ने बानी गर्नुहुन्छ भने, फलदायी बाइबल अध्ययन गर्न सक्ने तपाईंको क्षमताको सवालमा तपाईं अपाङ्गजस्तै बन्नुहुन्छ।
- फर्केर फेरि खण्डलाई पढ्नुहोस्। पवित्रशास्त्र पढ्ने क्रममा जब तपाईंले आफ्नो मन अन्यत्र पुगेको महसुस हुन्छ, महत्त्वपूर्ण कुरा के हो भने तपाईं फेर फर्केर उक्त खण्डलाई पढ्नुपर्छ जबसम्म आफूले पढिरहेको खण्डलाई तपाईं बुझ्नुहुन्न; पटक-पटक पढ्नुपर्ने पनि हुन सक्छ। कञ्चन बुझाइसहित एउटा पद पढ्नु बरु असल हो, विचार एकातिर भएको बेलामा पूरै अध्याय पढ्नुभन्दा।
- सकेसम्म बाइबल पढ्ने काम थकाइको बेलामा नपार्नुहोस्। कहिलेकाहिँ यसो नगरूँ भन्दा पनि नसकिएला; थाकेको बेलामा पढ्दै नपढ्नुभन्दा त पढ्नु नै बेस हुन्छ। तर बाइबल अध्ययन गर्न चाहने बुद्धिमानी व्यक्तिले आफ्नो समय तालिका यस्तो प्रकारले मिलाउनेछ ताकि उसले आफ्नो दिमाग ताजा हुँदा उसले पवित्रशास्त्रहरू अध्ययन गर्न सक्नेछ।
- विचार अन्यत्र घुम्न खोज्ने हुन्छ भने दिनमा अरू कुनै काम गर्नु अगाडि बाइबल पढ्ने काम गर्दा फरक पर्न सक्छ। मैले पहिला अन्य कुराहरू पढ्न र अध्ययन गर्न थालेँ भने, मलाई बाइबलमा ध्यान दिन झन् गाह्रो भएको महसुस गरेको छु।
- विचार अन्यत्र जान खोज्दा कहिलेकाहिँ स्वर निकालेर पढ्नु राम्रो हुन्छ। तपाईंको ध्यान पठनमा केन्द्रित गराइराख्न यसले मदत गर्न सक्छ।
- पढ्नलाई ठूलो अक्षरको बाइबल प्रयोग गर्दा पनि ध्यान दिन मदत हुन सक्छ किनकि त्यसलाई पढ्न सजिलो हुन्छ र बाइबलको पृष्ठ ज्यादा छितरबितर हुँदैन।
- लागिपर्नुहोस्। बाइबल पठनमा शैतानले तपाईंलाई पराजित नपारोस्। कुनै अवधिभरि तपाईंले ध्यान दिन सक्नुभएन भने पनि पढ्ने काम नछोड्नुहोस्। जीवनका अरू कुरामा जस्तै बाइबल पठनमा उतारचढाव आउँछन्। प्रभावकारी बाइबल अध्ययनको लागि सर्वोत्तम सुझाव भनेको त्यसमा लाग्न नछोड्नु हो!
९) आफ्नो बाइबल पठनबाट हरेक दिन कुनै न कुनै व्यावहारिक कुरा लिन खोज्नुहोस्
दिमागी ज्ञानको लागि मात्र बाइबल नपढ्नुहोस्; ख्रीष्टसितको आफ्नो सम्बन्धमा र उहाँसितको आफ्नो दैनिक हिँडाइमा बढ्दै जाने उद्देश्यले पढ्नुहोस्।
बाइबल पठनको एउटा डायरी कायम गर्नु राम्रो हुन्छ। मिति लेख्नुहोस्, आफूले पढेको खण्ड लेख्नुहोस् र पढ्दाहुँदि तपाईंले पाउनुभएका व्यावहारिक पाठहरू टिपोट गर्नुहोस्। आफैलाई सोध्नुहोस्, “आज यस खण्डबाट परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ?”
१०) प्रार्थनाको एउटा नोटकापी कायम गर्नुहोस्
धेरैजना विश्वासीहरूले आफ्नो दैनिक बाइबल पढ्ने समयसित अन्तर्विन्तीको प्रार्थना गर्ने समय पनि समावेश गर्दछन्। यो भनेको अरूका लागि प्रार्थना गर्नु हो। यसलाई १ तिमोथी २:१-२ मा बयाउन गरिएको छ। दैनिक रूपमा तपाईंले प्रार्थना गर्ने विभिन्न कुरा र विभिन्न व्यक्तिको सूचीसहित एउटा प्रार्थनाको नोटकापी (डायरी) कायम गर्दा मद्दत हुन्छ: सुझावस्वरूप, पतिहरूका लागि, पत्नीहरूका लागि, छोराछोरीहरूका लागि, आमाहरूका लागि, बाबुहरूका लागि, पास्टरहरूका लागि, मिसनरीहरूका लागि, मुक्ति नपाएका आफन्तका र चिनारूहरूका लागि, बिरामीका लागि, सतावटमा परेका विश्वासीका लागि र सरकारको लागि। निश्चित कुराका लागि प्रार्थना गर्नुहोस् र परमेश्वरबाट मिलेका आफ्ना प्रार्थनाका जवाफ टिपोट गर्न उक्त प्रार्थना डायरी प्रयोग गर्नुहोस्।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।