निष्कर्ष

निष्कर्ष

अघिबाटै उल्लेख भएअनुसार रोमन क्याथोलिक चर्चभित्र फरक-फरक तत्त्वहरू छन् भन्ने कुरालाई हामीले बुझ्न आवश्यक छ। ती हुन्:

१) उदारवादीहरू (Liberals)

यसमा हान्स कुङ्ग (Hans Kung) जस्ता व्यक्तिहरू पर्दछन्। उनले रोमन क्याथोलिक शिक्षाहरूको आलोचना गर्दै पुस्तकहरू लेखेका छन् यद्यपि उनी आफै सिद्धान्तमा आधारभूतवादी होइनन् बरु उनका विचारधारा उदारवादी [खाँटी होइन खुकुलो शिक्षा अपनाउने] प्रोटेस्टेन्टहरूसित मेल खान्छन्।

२) परम्परावादीहरू (Traditionalists)

यी व्यक्तिहरू ती हुन् जसले क्याथोलिक चर्चका परम्परागत शिक्षाहरूहरूलाई पक्रिराखेका छन्।

३) क्यारिज्म्याटिकहरू (Charismatics)

धेरैजना क्याथोलिकहरूलाई आधुनिक क्यारिज्म्याटिक लहरको हावाले छोएको छ र तिनीहरू रोमन क्याथोलिकवादको परिधिभित्र रहेर आफ्ना दृष्टिकोणलाई अभ्यास गर्दैछन्। तरैपनि, एकजना लेखकले टिप्पणी गरेजस्तै, “आफ्नो नयाँ खालको विश्वासलाई मण्डलीको सिद्धान्तहरूसित मिलान गर्नालाई त्यहाँ विभिन्न तहका समस्याहरू छन्।”

४) सांस्कृतिक रोमन क्याथोलिकहरू (Cultural Roman Catholics)

यी व्यक्तिहरू ती हुन् जो चर्चमै जन्मे र क्याथोलिक चर्चसित उनीहरूको भावनात्मक (साथै प्रायः जातीय) सम्बन्ध छ यद्यपि उनीहरूको संलग्नता सैद्धान्तिक (theological) भन्दा सांस्कृतिक हुन्छ।

तरैपनि क्याथोलिक चर्चको औपचारिक अडान यस्ता वर्ग वा वर्गका व्यक्तिहरूद्वारा निर्धारित हुने होइन। क्याथोलिक चर्चको औपचारिक अडान त्यसका औपचारिक शिक्षाहरूद्वारा प्रतिपादित हुन्छ। मण्डलीका औपचारिक शिक्षकहरूको यस आधिकारिक सँगालो नै “क्याथोलिक सिद्धान्तहरू” को रूपमा गनिन्छन्। रोमन क्याथोलिक चर्चले “आफूलाई ख्रीष्टले प्रतिज्ञा गर्नुभएको शान्तिदाता-आत्मा (Paraclete-Spirit) को माध्यमको रूपमा हेर्दछ जसले उसलाई दिइएका कुराहरूलाई लिएर यस युगमा ख्रीष्टियनहरूलाई सत्यको मार्गमा डोर्‍याउने काम गर्दछ” (यूहन्ना १६:१३)।2 अर्को शब्दमा, क्याथोलिक चर्चको धर्मतन्त्र नै सबै ख्रीष्टियनहरूका निम्ति नियुक्त गरिएको “शिक्षक” हो।

के रोमन क्याथोलिकहरू साँच्चै नै “इभान्जेलिकलहरू” हुन्? यस प्रश्‍नको जवाफ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ किनकि उसले नयाँ नियमको शिक्षालाई कत्तिको महत्त्व दिन्छ भन्ने कुरामा त्यो भर पर्दछ। डेविड वेल्स (David Wells) ले यसरी लेख्दा उनको मूल्याङ्कन सही थियो भन्ने कुराको हामीलाई डर लाग्दछ, “मैले देखेअनुसार, बीसौं शताब्दीको संस्कृतिसितको बेमेल साँठगाँठहरूद्वारा [इसाई] विश्वास गम्भीर हिसाबले ह्रास हुँदै गइरहेको छ। यसको परिणाम के भएको छ भने इभान्जेलिकलवाद (evangelicalism) अब मुख्यतया उसको सत्यताको प्रसङ्गमा नभएर उसको अनुभवको प्रसङ्गमा परिभाषित हुँदछ। अनि इभान्जेलिकल अनुभव कति पटक क्याथोलिक अनुभव जस्तै-जस्तै सुनिने भएको हुनाले, सैद्धान्तिक भिन्नताहरूलाई गम्भीर रूपमा लिइन वा त्यसलाई ज्यादै जोड दिइन मिल्छ त?”3 यस प्रश्नको जवाफमा बहुतै इभान्जेलिकलहरूले “हुँदैन” भन्छन्। परिचित लेखक तथा क्रिश्चियानिटि टुडे (Christianity Today) का भूतपूर्व सम्पादक, केनेथ क्यान्टजर (Kenneth Kantzer) त्यस्ता प्रवक्ता हुन् जसको अनुसार हामी “रोमन क्याथोलिक चर्चभित्र नयाँ गरी भेट्टाइएका इभान्जेलिकलहरूसित रमाहट” गर्नुपर्छ र हामीले “[विगतको] रोमन क्याथोलिक शिक्षाको छुटपुट अवशेष जस्ता कुराहरूलाई लिएर आक्रमण गर्ने काम” गर्नुहुँदैन।4 जब सम्म यिनीजस्ता अग्रज देखिने इभान्जेलिकल अगुवाहरूले क्याथोलिकवाद अन्तर्गतका थुप्रै-थुप्रै भ्रमहरूलाई हामीले चुनौती दिनु वा खण्डन गर्नु हुँदैन भन्ने अवधारणाको प्रचार-प्रसार गरिरहन्छन् तबसम्म हामीले समग्रमा इभान्जेलिकलवादको सैद्धान्तिक अडान (doctrinal position) मा ह्रास नै आइरहेको र एकतावाद (ecumenism) को विकास द्रुत गतिले भइरहेको देख्नेछौं।

गलातीका मण्डलीहरूभित्र व्यवस्थावादीहरू (legalizers) को अतिक्रमणको खबर सुनेपछि पावल प्रेरित कति व्याकुल भए भन्ने कुराको हामीलाई अहिले याद आइरहेछ। “झूटा भाइहरू” [आफूहरू सो नभएर पनि “इभान्जेलिकलहरू” भएको दावी गर्नेहरू]। तिनीहरू “सुटुक्कै [गुप्‍त तवरले, चाल नपाउने गरी] भित्र आए”, “हामीलाई बन्धनमा हुल्नाका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्नालाई” (गलाती २:४)। ती व्यक्तिहरू (जसमध्ये कोही त प्रसिद्ध थिए) लाई पावल प्रेरितको प्रत्युत्तर के थियो जोहरूले सुसमाचारलाई च्यातचुत पारी बिनाशक्तिको बनाउने चेष्टा गरिरहेका थिए? पावल भन्छन्, “सुसमाचारको सत्यता तिमीहरूसित रहिरहोस् भनेर तिनीहरूलाई हामीले एक घण्टा पनि अधीनतामा रहीकन ठाउँ दिएनौं” (गलाती २:५)। पावल भन्छन्, तिनीहरूमध्ये कोही-कोही “केही हुन्” भन्ने [अर्थात् महत्त्वपूर्ण देखिने] हरू भए तापनि, उनले कसैको मुख हेरेनन्, बरु आइलाग्ने जोसुकैको पनि सामना गरी विश्वास [गरिने सत्यता] को प्रतिरक्षा गर्नालाई उनले रोजे। आज पनि हामीले यस्तै गर्नुपर्छ। हाम्रा राजा येशूबाटको आदेश अहिलेसम्म जारी नै छ: “यसकारण खराब दिनमा सामना गर्न सक्नालाई र सबै कुराहरू गरेर खडा हुन सक्नालाई परमेश्वरका सारा हतियारहरू उठाओ” (एफेसी ६:१३)।

  1. Kenneth Kantzer, editorial, “Church On The Move,” Christianity Today, November 7, 1986, p.17.
  2. Raymond Brown, op. cit.
  3. David Wells, “To Dialogue or Not To Dialogue,” Action, March-April, 1987, p. 8.
  4. Kenneth Kantzer, op. cit.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

सिर्फ “हुन्न” भन्न सिक्नुहोस्

सिर्फ “हुन्न” भन्न सिक्नुहोस्

रोमन क्याथोलिकवादसित घनिष्ट बन्नुपर्छ भन्ने धारणाका समर्थकहरूद्वारा खुलेआम बेवास्ता भइरहेका स्पष्ट बाइबलीय सिद्धान्तहरूलाई हामी विचार गरौं:

झूटा शिक्षा सिकाउनेहरूलाई ग्रहण होइन परित्याग गरिनुपर्छ। पावलले गलातीका मण्डलीहरूका बीच फैलिएका गम्भीर सैद्धान्तिक पथभ्रष्टताहरूको सामना गरे। उनले ती पथभ्रष्टताहरूलाई ज्यादै प्रखर रूपमा सामना गरे। तिनीहरूको शिक्षालाई परित्याग गरिनुपर्थ्यो। तिनीहरू “श्रापित” थिए (गलाती १:८)। प्रेरित पत्रुस डराएर तिनीहरूको भ्रमात्मक लचिलोपनलाई सम्मान दिन पुग्दा पावल भन्छन्, “मैले आमनेसामने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए” (गलाती २:११)। न ता ती यहूदीकरणवादीहरू (Judaizers) सित न तिनका “इभान्जेलिकल” मतियारहरूसित “नवीन अन्तर्दृष्टि” छ भन्ने वा तिनीहरू “विश्वासी-पूजाहारीको रूपमा आ-आफ्ना अधिकारलाई अभ्यास गर्दैछन्” भन्ने अवधारणा पावलको थियो। उनले तिनीहरूको शिक्षालाई घातक र खतरनाक कुराको रूपमा हेर्दथे र उनले त्यसलाई उदाङ्गो पार्नलाई धेरै कष्ट गरे।

सत्य-तथ्यहरूलाई हामी नियालेर हेरौं। रोमन क्याथोलिक चर्चका चाबी शिक्षाहरू असंदिग्ध रूपमा झूटा शिक्षाहरू हुन्। ती शिक्षाहरू परमेश्वरको वचनद्वारा समर्थित छैनन्। तसर्थ प्रभुमा विश्वासयोग्य हुन चाहनेहरूको प्रतिक्रया कस्तो हुनुपर्छ त? “यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न ता त्यसलाई सलाम भन; किनकि जसले त्यसलाई सलाम भन्छ, ऊ त्यसका दुष्ट कामहरूको भागी बन्छ” (२ यूहन्ना १०,११)। झूटा शिक्षा सिकाउने कामलाई परमेश्वरले “दुष्ट काम” को संज्ञा दिनुभएको छ भन्ने कुरालाई ख्याल राख्‍नुहोस्। त्यो शिक्षा शिष्ट व्यक्तित्व भएको, सद्‍भावी र सन्तोषप्रद धार्मिक शिक्षकहरूको माध्यमद्वारा आउन सक्छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू “राम्रा” मान्छे हुन्छन् जोहरू ख्रीष्ट र ख्रीष्टले गर्नुभएको कार्यको चर्चा गर्छन्। तरैपनि हामी मूल विषयदेखि बरालिनुहुन्न। मूल विषय भनेको यही हो: के तिनीहरूले नयाँ नियममा भएका शिक्षाहरू सिकाउँदैछन्? यदि छैनन् भने हामीले उनीहरूलाई अस्वीकार गर्नुपर्छ।

मुक्ति पाउनका निम्ति गलत उपायमा भरोसा राख्‍नेहरूलाई “ख्रीष्टियन दाजुभाइ-दिदीबहिनीहरू” को रूपमा हेरिनुहुन्न। गलातीहरूलाई लेख्दाखेरि पावलको मुख्य जोड यस कुरामा थियो: यदि कसैले ख्रीष्टको विशुद्ध सुसमाचारमा कुनै पनि किसिमको सुकर्मलाई थप-थाप गरी सुसमाचारलाई बिगार्दछ भने, त्यो व्यक्तिलाई अस्वीकार गरिनुपर्छ। “तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि, हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्। जस्तो हामीले पहिले भन्यौं, त्यस्तै अब म फेरि भन्दछु – कुनै मानिसले, जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ, त्योभन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्” (गलाती १:८-९)। गलाती यहूदीकरणवादीहरू के गर्दै थिए? तिनीहरू भन्दै थिए, केवल विश्वासद्वारा मात्र मुक्ति पाउनु सम्भव छैन। सुकर्महरू पुण्यकारी हुन्छन् र मुक्ति कमाइनलाई ती अनिवार्य छन्। रोमको शिक्षा ठीक यही शिक्षा हो भनेर हामीले अघिबाट नै हेरिसक्यौं। मार्टिन लुथर (Martin Luther) लगायत अन्य सुधारवादीहरू (Reformers) ले रोमले सुसमाचारलाई बिगारेको छ भनेर विरोध गरेदेखि आजसम्म पनि त्यो बदलिएको छैन। तिनीहरूले सजिलै ठगिने इभान्जेलिकलहरूलाई विश्वास दिलाउने किसिमले कुरा गर्न सिकेका छन् तर यस कुरामा तिनीहरूले आफ्नो आधारभूत शिक्षाको एउटा विन्दु पनि बदलेका छैनन्। मार्टिन लुथर आफू क्याथोलिक सन्यासी (monk) छँदै रोम गए र “हे स्वर्गमा हुनुहुने हाम्रा पिता” (pater noster) आदि जप्दै-जप्दै र पर्गेटरी (purgatory) का आत्माहरूका निम्ति प्रार्थना गर्दै कथित “पिलातसका सिँढीहरू” (scala santa) चढे। यी सुकर्महरूद्वारा त्यस पिडादायी स्थान अर्थात् पर्गेटरीदेखि पीडित आत्माहरूलाई छुटकारा दिलाउने उनले आशा गरे। यस्ता धारणाहरू उनले कहाँबाट सिके? रोमन क्याथोलिक चर्चका शिक्षाहरूबाट! तिनीहरू आजसम्मै यी कुराहरू सिकाइरहेका छन्।

के स्वर्ग पुग्नका लागि आफ्ना वा अरूका सुकर्महरूमा भरोसा गरिरहेका व्यक्तिहरूलाई बाइबलीय आधारमा ख्रीष्टको शरीरका अङ्गहरू, नयाँ जन्म साँच्चै पाएका व्यक्तिहरूको रूपमा हेर्न सकिन्छ? तर कसैको भनाइ यस्तो होला, के कोही-कोही क्याथोलिकहरूले मुक्ति पाएका हुनु सम्भव छैन र? अवश्य त्यो सम्भव हुन सक्छ, तर केही कुराहरूलाई ध्यानमा राखिनु आवश्यक पर्छ:

  1. त्यस्ता व्यक्तिहरूको सङ्ख्या क्याथोलिकहरूको कूल सङ्ख्याको दाँजोमा ज्यादै न्यून हुनुपर्छ।
  2. साँच्ची नै नयाँ-जन्म पाएको व्यक्ति, पवित्र आत्माद्वारा सिकाइएको व्यक्ति, त्यस्तो सत्यत्यागी (apostate) संस्थाको अँगालोभित्र धेरै लामो अवधिसम्म रहन सक्नेछैन।
  3. रोमन चर्चभित्र त्यस्ता व्यक्तिहरूको उपस्थिति चाहिँ चर्चको औपचारिक शिक्षाहरू स्वीकारयोग्य हुनुपर्छ भन्ने कुराको सङ्केत कदापि होइन।

अति नै खुकुला (liberal) प्रोटेस्टेन्ट मण्डलीका सदस्यहरू बीच नयाँ-गरी जन्मेका व्यक्तिहरू भेटिन्छन् तर यस कुराले उनीहरू आवद्ध भएको प्रणालीको सत्यत्याग (apostasy) लाई माफि दिँदैन। उनीहरू निस्केर आउनुपर्छ साथै रोमनवादसित अझै पनि आवद्ध रहेका विश्वासीहरूले पनि त्यसै गर्नुपर्छ। अति खेदको कुरा यो छ कि बिल्ली ग्राहाम (Billy Graham) जस्ता अगुवाहरूले यसबारे सुझाव माग्ने क्याथोलिकहरूलाई आफ्नो चर्च छोड्नुहुँदैन बरू त्यसैमा रहेर त्यसलाई सुधार्न खोज्नुपर्छ भनेर बताउने गर्छन्। मूल कुरा त यो छ। यदि एकजना व्यक्तिले आफ्नो मुक्तिका लागि केवल ख्रीष्टले पूरा गरिसक्नुभएको काममाथि मात्र भरोसा गरिरहेको छैन भने त्यो व्यक्ति ख्रीष्टियन होइन। हामी “आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार” (तीतस ३:५) मुक्ति पाउँदछौं। ख्रीष्टको बलिदान, पूर्ण र सिद्ध छ र त्यसलाई न बारम्बार दोहोर्‍याइन्छ न त्यसको नक्कल गर्न सकिन्छ। “तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो” (हिब्रू १०:१२)। उहाँ “बस्नुभयो” भन्ने तथ्यले उहाँले गर्नुभएको कार्य पूरा भइसकेको छ भन्ने कुरालाई जोड दिन्छ। पुरानो नियमका पूजाहारीहरू आफ्ना कर्तव्य कार्यान्वयन गर्ने क्रममा कहिल्यै बस्दैनथे। किनकि उनीहरूले जहिले पनि केही न केही गर्न बाँकी नै हुन्थ्यो। ख्रीष्टले गर्नुपर्ने काम चाहिँ कुनै बाँकी छैन। उहाँले सबै पूरा गरी भ्याइसक्नुभयो। उहाँले सिद्ध्याउनुभएको काममा मानवीय सुकर्महरू थप‍-थाप गर्न खोज्नु उहाँलाई अपमान गर्नु हो र साथै उहाँको कार्य सम्बन्धी सिकाइएको बाइबलको शिक्षालाई इन्कार गर्नु हो।

हाम्रो समाजलाई नैतिक सङ्कटबाट उद्धार गर्ने लक्ष्य राख्‍दैमा परमेश्वरको वचनका सुस्पष्ट शिक्षाहरूलाई उल्लङ्घन गर्न मिल्दैन। “अमेरिका नैतिकरूपमा टाट पल्टिएको छ। यहूदी-इसाई नीतिशास्त्र (Judeo-Christian morality) को सम्पदामा विश्वास गर्ने हामीहरू सबै सँगै खडा हुनुपर्छ। हामी अनावश्यक सैद्धान्तिक भिन्नताहरूले विभाजित हुनुहुँदैन।” आज धेरै इभान्जेलिकलहरूको तर्क यही छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू पनि यो कुरा फुकिरहेका छन्। क्रिश्चियानिटी टुडे (Christianity Today) मा प्रकाशित “व्हाइ क्यान्ट वी वर्क टुगेदर?” (Why Can’t We Work Together? अर्थात् किन हामी सँगै मिली काम नगर्ने?) शीर्षक गरेको लेखमा क्याथोलिक वकिल विलियम बेन्टली बलको तर्क यही नै थियो। लेखको सारांशमा भनिएको छ: सुपरिचित क्याथोलिक वकिल क्याथोलिक तथा इभान्जेलिकलहरूलाई बढ्दो धर्मनिरपेक्षवादको विरुद्धमा सहकर्मी बन्न आग्रह गर्दछन्।”1 उक्त लेखमै उनका आधारभूतवादी ग्राहकहरूले उनले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेका छन् कि छैनन् भनी बललाई प्रायः सोध्ने गरेको बताउँछन्। उनको जवाफले नयाँ जन्म सम्बन्धी एक सामान्य क्याथोलिकको भयङ्कर अज्ञानतालाई प्रकट गर्दछ। बल भन्छन्: “मेरो प्यारिशको नाउँ आखिरमा Sacred Heart of Jesus हो — जो आफैंमा एउटा मर्मपूर्ण आदरभावले भरिएको वाक्यांश हो। कम्युनियन (Communion, क्याथोलिक म्यासमा लिइने रोटी र कचौरा) लिँदा नै हामीले येशूको बास्तविक शरीर र रगत ग्रहण गर्दछौं भन्ने हाम्रो विश्वास हो।”2 देखिहाल्नुभयो, यहाँ एक शिक्षित, रोमन क्याथोलिक सदस्यले आफूले बारम्बार चर्चको पवित्र संस्कार (holy sacrament, म्यासको रोटी) लाई लिने गरेको हुनाले आफूलाई ख्रीष्टलाई ग्रहण गरेको भनी ठान्दछन्। किन क्याथोलिकहरूलाई सुसमाचार सुनाइनुपर्छ भन्ने कुराको आधारस्वरूप यो भन्दा प्रभावशाली गवाही के हुन सक्छ र? तर ठीक यही कुरा इभान्जेलिकल अगुवाहरूले हामीलाई गर्नु हुँदैन भन्दैछन्। हालका यस्तो गञ्जागोल दिनहरूमा परमेश्वरले आफ्नो मण्डलीमाथि कृपा गर्नुभएको होओस्!

के नैतिक गिरावटदेखि समाजलाई उद्धार गर्ने लक्ष्यले इभान्जेलिकलहरूलाई रोमनवादको निर्लज्ज झूटा सिद्धान्तहरूप्रति आँखा बन्द गर्न, कट्टर तथा सक्रिय रोमन क्याथोलिकहरूलाई साँचो विश्वासीको संज्ञा दिन र तिनीहरूसँग सामूहिक आराधनामा संलग्न हुन छुट दिन्छ र? हाम्रो समाजमा नैतिकताको स्तरलाई सुधार्नका निम्ति हामीले महत्त्वपूर्ण र बृहत् सैद्धान्तिक भिन्नताहरूलाई न्यूनीकरण गर्न हुन्छ र? धेरैको विचारमा हामीले त्यसै गर्नुपर्छ भन्ने छ। यो धारणा, अघि उल्लेखित नर्मन गाइस्लरको धारणामा झल्कन्छ जो दुवै डालस सेमिनरी (Dallas Seminary) र लिवर्टी यूनिभर्सिटी (Liberty University) मा अध्यापन गराइसक्नुभएको हुनाले एक परिचित इभान्जेलिकल इश्वरशास्त्री हुनुहुन्छ। इभान्जेलिकलहरू र रोमनवादीहरूका बीचको सम्बन्धको सवालमा उहाँको मूल्याङ्कनको सार यस विषयमा उहाँसित लिइएको एउटा अन्तर्वार्ताको शीर्षकले दिन्छ: “इफ वी डोन्ट ह्याङ्ग टुगेदर, वी आर गोइङ्ग टु ह्याङ्ग सेपरेटली” (“If we don’t hang together, we’re going to hang separately” अर्थात् “यदि हामी एकजुट भएनौं भने हामी अलग-अलग्गै नष्ट हुनेछौं”)।3

पवित्र शास्त्रबाट यो स्पष्ट छ – मण्डलीको मुख्य काम समाज-सुधार होइन तर पवित्र जनहरूलाई “एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वास” (यहूदा ३) लाई जारी राख्‍नु र त्यसलाई फैलाउनु हो। सामाजिक विकृतिहरूलाई सुधार्नका निम्ति हामी अरूहरूसँग सहकार्य गर्दैछौं भन्ने तर्कको आधारमा हामीले सुविवेकमा परमेश्वरको वचनका सत्यताहरूलाई परित्याग गर्न, सम्झौता गर्न वा हेरफेर गर्न सक्दैनौं। मानव जीवनको अलङ्घ्यता (sanctity of human life) को पक्षमा खडा हुने र गर्भपतनको विरोध गर्ने ती रोमन क्याथोलिकहरूका निम्ति हामी खुसी छौं। तरैपनि, उनीहरूले त्यो अडान लिँदैमा हामी रोमन चर्चका डरलाग्दा पथभ्रष्टताहरूप्रति आँखा चिम्लन र तिनका समर्थकहरूलाई साँचो विश्वासीहरूको संज्ञा दिन सक्दैनौं। ख्रीष्टलाई साँच्ची नै आदर गर्ने पास्टर “आफूले पाएको शिक्षामुताबिक विश्वासयोग्य वचन बलियोसँग पक्रेर खाँटी शिक्षाद्वारा विरोधीहरूलाई अर्ती दिन र कायल गराउन सक्ने हुनुपर्छ” (तीतस १:९)। यस पदमा केही महत्त्वपूर्ण तत्त्वहरू पाइन्छन्:

  1. खाँटी शिक्षा महत्त्वपूर्ण छ र त्यो सिकाइनुपर्छ।
  2. खाँटी शिक्षालाई विरोध गर्ने व्यक्तिहरू हुन्छन्।
  3. खाँटी शिक्षालाई दृढतापूर्वक कायम राखिनुपर्छ र यसको विपरितका प्रणालीहरूको रोकथाम गर्नुपर्छ।

रोमन क्याथोलिकहरू खाँटी शिक्षा सिकाउँदैनन्। तसर्थ तिनीहरूलाई प्रतिरोध गरिनुपर्छ र तिनीहरूका झूटा शिक्षाहरूको भन्डाफोर गरिनुपर्छ।

रोमन क्याथोलिकवादलाई ख्रीष्टियन विश्वासको एउटा औचित्यपूर्ण अभिव्यक्ति (valid expression) को रूपमा समर्थन गर्नुको तात्पर्य अनगिन्ती क्याथोलिकहरूलाई अनन्त नरकको दण्डाज्ञा सुनाउनु बराबर हो। केवल विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भनेर क्याथोलिक सिद्धान्तले समर्थन गर्दैन भनेर हामीले अघि नै हेरिसक्यौं। मुक्ति पाउनलाई विश्वासमा सुकर्महरू अनिवार्य शर्तको रूपमा थप्ने काम रोमनवादले गर्दछ। क्रिश्चियानिटी टुडेले लिएको एक अन्तर्वार्तामा आफ्नो इभान्जेलिकल पाठकवर्ग नरिसाओस् भनेर विद्यमान मुद्दाहरूको यताउती होशियारपूर्वक नाँच्ने प्रयास जेसुइट इश्वरशास्त्री एभरी डुल्स (Jesuit theologian Avery Dulles) ले गरेका छन्। तरैपनि मुक्ति सम्बन्धी इभान्जेलिकलहरू के विश्वास गर्छन् र रोमन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुराको बीचमा विशाल अन्तरहरू छन् भनेर उनले समेत स्वीकार गर्दछन्। “धर्मी ठहराइने” (justification, धर्मीकरण) विषयमा बताउँदा डुल्स भन्छन्, “धर्मी ठहरिएपछि एक व्यक्ति थप अरू धर्मी ठहरिन सम्भव छ” [धर्मीकरण र पवित्रीकरण बीचका भिन्नतालाई धमिल्याउने कार्य]। साथै उनले भन्छन्, “अनुग्रहमा लागिरह्यौं भने हामीले मुक्ति कमाउन सक्छौं…हामीले मुक्ति पाइसक्यौं भनेर अर्थात् हामी नष्ट हुन नै सक्दैनौं भनेर हामी गर्व गर्दैनौं…त्यसैले हामी मुक्ति पाउने आशा गर्छौं…पूर्णरूपमा हुने निश्चयता होइन यो।”4 रोमन चर्चकै एक अग्रज इश्वरशास्त्रीबाट आएको कति दुःखलाग्दो गवाही यो। उहाँले मुक्ति पाउनु होला भन्ने हामीले आशा मात्र गर्न सक्छौं। तैपनि अग्रवर्ती इभान्जेलिकल आवाजहरू रोमन क्याथोलिकवाभित्र कुनै झूटा शिक्षा छैन भनेर हामीलाई सुनाउँदैछन्।

रोमन क्याथोलिकहरूलाई कुन कुराको खाँचो छ? ख्रीष्टले आफ्नो सुसम्पन्न कार्यद्वारा प्रदान गर्नुभएको उदेकको मुक्तिको बारेमा सुन्न नै उनीहरूलाई खाँचो छ। परमेश्वरको वचनका प्रतिज्ञाहरूमा आड लिइकन मुक्तिको पूर्ण निश्चयता पाउन सम्भव छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। कथित “पवित्र संस्कारहरू” (holy sacraments) द्वारा मुक्ति पाइने नभई पूरोहितको हस्तक्षेपबिना केवल विश्वासद्वारा त्यो पाइन्छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। इभान्जेलिकलहरूले रोमन क्याथोलिकहरूलाई मुक्ति पाइसकेका व्यक्तिहरूको रूपमा हेर्न थाले भने उनीहरूले उनीहरूलाई सुसमाचार प्रदान गर्न छाड्नेछन् र यसरी उनीहरूलाई अनन्त नरकका लागि त्यागिदिनेछन्। आज इभान्जेलिकल अगुवाहरूले प्रतिपादन गरिरहेको “नयाँ थिअलजी” (“New Theology”) को यो ज्यादै गम्भीर भावार्थ हो।

देश-विदेशमा सुसमाचार प्रचार गर्ने प्रयत्‍नमाथि यो नयाँ अडानले भयङ्कर ठूलो असर पार्नेछ। हाम्रा थुप्रै आधारभूतवादी मिसनरीहरू क्याथोलिकहरूको बाहुल्य भएको मुलुकहरूमा परिश्रम गर्दछन् जहाँ वर्षौंदेखि अधिकांश विश्वास गर्नेहरू रोमन क्याथोलिक चर्चबाट परिवर्तित भई आएकाहरू छन्। के अब हामी यी व्यक्तिहरूलाई सुसमाचार सुनाउने प्रयासलाई छाडौं? हामी के भनौं ती व्यक्तिहरूलाई जसले रोमन क्याथोलिकवादलाई छाडिसके, कति त ठूलो मूल्य चुकाएर? के हामी उनीहरूलाई भनौं कि हामी भूलमा परेका रहेछौं र उनीहरू जुन मण्डलीमा जन्मेका र हुर्केका थिए त्यो आखिरमा वास्तवमै एक नयाँ नियम अनुरूप मण्डली रहेछ भनेर? यस्तो स्वीकारोक्तिले कत्रो गञ्जागोल ल्याउनेथ्यो। के हामीले शताब्दियौंको समय खेर फाल्यौं त र प्रभुको पैसाबाट कयौं करोडौं डलर खेर फाल्यौं त – ती व्यक्तिहरूलाई मुक्तिमा ल्याउन प्रयास गरेर जब कि उनीहरूले मुक्ति पाइसकेका थिए?

विरोधशमन (conciliation) को यस अभियानमा प्रतिविम्बित इभान्जेलिकल एकतावाद (evangelical ecumenism) परमेश्वरको वचनप्रति वफादार हुन प्रयासरत स्थानीय मण्डली लगायत संस्थाहरूका निम्ति एक धराप बन्नेछ।वर्तमान “इभान्जेलिकल एकतावाद” को धेरैजना समर्थकहरूको प्रतिष्ठाको कारण धेरैजना इसाईहरू उनीहरूले भनेका कुराले प्रभावित बन्नेछन्। उनीहरूको विचारधारा इसाई सञ्चार माध्यमद्वारा लोकमान्य बनाउने कामको थालनि भइसकेको छ। कलेज तथा सेमनरीहरूका जवान विद्यार्थीवर्ग यस अवधारणाले सङ्क्रमित पारिनेछन्। बाइबलीय सत्यताका निम्ति पहरेदार बन्न खोजिरहेका पास्टर तथा अगुवाहरूले बढ्दो दवावको समाना गर्नुपर्नेछ। उनीहरूलाई बखेडियाहरूको रूपमा हेरिनेछन् र उनीहरूलाई अचाक्ली लडाकु तथा प्रेमरहित आत्मा भएका भनी दोष्याइनेछन्। साथै यो नयाँ दृष्टिकोणको बारेमा सुन्ने रोमन क्याथोलिकहरू (उनीहरूका अगुवाहरूले यी कुरा चारैतिर फुक्न थालेपछि उनीहरूले पक्कै पनि सुन्नेछन्), सुसमाचारप्रति झन् झन् कठोर बन्नेछन् र उनीहरूलाई प्रचार गर्नेहरूप्रति उनीहरू झन् झन् विरोधी बन्नेछन् किनकि उनीहरू भन्नेछन्, ‘हामी हराएका छैनौं। हामी ख्रीष्टको शरीरका अङ्ग हौं। तिमीहरूका आफ्नै अगुवाहरूले त्यसो भन्दछन्। हामीलाई सुसमाचार प्रचार गरिनु आवश्यक छैन।”

क्याथोलिकहरू सच्चा बाइबल विश्वासीहरूभन्दा फरक छैनन् भन्ने भान इभान्जेलिकलहरूलाई परोस् भन्ने हेतुले र उनीहरूलाई यो धारणा अँगाल्न लाउन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुरालाई उनीहरूका अगुवाहरूले चलाकिपूर्ण शब्द-चयन गरी रचिएका अभिव्यक्तिहरू दिने गरेका छन्। एउटा क्याथोलिक खबर पत्रिकामा “बाइबलीय आधारभूतवाद: हामी कसरी प्रत्युत्तर दिऔं?” (Biblical Fundamentalism: How Should We Respond) शीर्षक गरेको लेखमा यस्तै खालको अभिव्यक्ति छापिएको थियो: पूरोहीत रेमण्ड ब्राउनले आधारभूतवादीहरूले प्रायः सोध्ने गरेका दसओटा प्रश्नहरूको प्रत्युत्तर दिएका थिए। ती प्रत्युत्तरहरूमा शब्द-चयन यस्तो किसिमले गरिएको छ कि क्याथोलिक शिक्षासित गहिरोसँग परिचित नभएकाहरूले तिनलाई सकारात्मक रूपमा लिने देखिन्छ।”5 यस्ता लेखहरू निसन्देह दुवै पक्षका प्रतिनिधिहरूद्वारा अरू छापिनेछन्। गञ्जागोलको वृद्धि र निरन्तरता नै यसको परिणाम हुनेछ।

  1. William Bentley Ball, “Why Can’t We Work Together?” Christianity Today, July 16, 1990, p. 22.
  2. Loc. cit.
  3. Op. cit., Interview with Norman Geisler.
  4. “America’s Catholics: What They Believer,” Christianity Today, November 7, 1986, p. 27.
  5. Raymond Brown, “Biblical Fundamentalism: How Should Catholics Respond?” St. Anthony Messenger, June 1950.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

“इभान्जेलिकल्स एण्ड क्याथोलिक्स टुगेदर” (Evangelicals and Catholics Together) नामक औपचारिक दस्तावेजमा निम्न अभिव्यक्ति भेटिन्छ: ‘हामी इभान्जेलिकलहरू र क्याथोलिकहरू सँगै मिली ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति इच्छा गर्नभएको एकताको विरुद्धमा भएका हाम्रा पापहरू स्वीकार गर्दछौं।’ यस अभिव्यक्तिलाई पढेपछि एउटा प्रश्‍न उठाइनुपर्ने खाँचो देखिन्छ: के क्याथोलिक चर्चसँग आत्मिक सङ्गति गर्नदेखि अलग रहिरहनु पाप हो? के यस्तो अलगपनता अपनाइरहेका हामीहरू आफ्नो पक्षपातदेखि पश्चात्ताप गरी क्याथोलिक चर्चलाई एक साँचो मण्डलीको रूपमा अँगालौं? इभान्जेलिकल एकतावादीहरूले यस्तै गर्नुपर्छ भनेर हामीलाई कर गर्दैछन्।

शताब्दियौंदेखि ब्याप्टिस्टहरू जत्तिकै अन्य कुनै समूह रोमन क्याथोलिकवादसितको सहकार्यको विरुद्धमा प्रबल रूपमा खडा भएको पाइँदैन। तब निम्न अभिलेख पढ्दा हामीलाई ताजुप लाग्नु स्वाभाविक हो:

“आफ्नो आदतअनुसार फ्र्याङ्क रफ (Frank Ruff) गल्लीहरूहुँदो हाँक्दै ‘ब्याप्टिस्ट भ्याटिकन’ (‘Baptist Vatican’) भनी चिनिएको भिमकाय भवन कम्प्लेक्सकै मुटुभित्र आफ्नो गाडी हुल्छन्। ‘गुड मर्निङ्ग, फादर फ्र्याङ्क’ भन्दै रिचार्ड बेनेट नाम गरेका सुरक्षाकर्मी, आफैं पनि एक क्याथोलिक, सदर्न ब्याप्टिस्ट कन्भेन्सन (Southern Baptist Convention) को प्रशासनिक कार्यालयभित्र प्रवेश गर्दै गरेका फ्र्याङ्क रफलाई अभिवादन गर्दछन्। ती पूरोहीतका कालो रङ्गको पूजाहारी-पोशाक र सेतो रङ्गको रोमन कलर (collar) सदर्न ब्याप्टिस्टहरूको भीडमा अलग्गै छुटि्टन्छन्। तर सदर्न ब्याप्टिस्टकै गढीभित्र नेशनल कन्फरेन्स अफ क्याथोलिक विशप्स् (National Conference of Catholic Bishops) का प्रतिनिधिका रूपमा फ्र्याङ्क रफ आफ्ना कामकाजमा यहाँ‍ व्यस्त भई हिँडडुल गर्दा कसैलाई आश्चर्यजनक लागेको देखिँदैन। हिजोआजको ठूलो र नयाँ खबर भनेको बरु यो पो भएको छ: अमेरिकाको ५.९ करोड रोमन क्याथोलिक र १.५ करोड सदर्न ब्याप्टिस्टका अगुवाहरू बीचको सहकार्य अब पुरानो खबर भइसकेको छ।”1

क्याथोलिक-इभान्जेलिकल सहकार्यता सम्बन्धी नीजको धारणा कस्तो छ भनेर बुझ्नलाई सुपरिचित इसाई प्रवक्ता (apologist) नर्मन गाइस्लर (Norman Geisler) सित अन्तर्वार्ता लिइएको थियो। उहाँले निष्कर्षमा भन्नुभयो, “भिन्नताहरू साधारणतया सोचिए जत्तिकै न ठूला छन् न ता महत्त्वपूर्ण (crucial) छन्। मेरो विचारमा पर्खालका दुवै पट्टि झूटा शिक्षा (heresy) को सवाल खडा छैन।”17 उहाँलाई प्रश्‍न गरिएको थियो, “के हाम्रा सह-इभान्जेलिकलहरूले आफूहरू र क्याथोलिकहरूका बीचमा साझा सैद्धान्तिक धरातल रहेको कुरालाई झन्-झन् महसुस गर्दै आएका छन्?” उहाँको जवाफ: “अधिक मात्रामा इभान्जेलिकलहरू सामाजिक र नैतिक क्षेत्रमा सहकार्य गर्नुपर्ने खाँचो देख्छन् भन्ने कुरालाई मैले स्वीकार गर्नुपर्छ। यो राम्रो हो किनकि यसले इभान्जेलिकलहरूलाई रोमन क्याथोलिकहरूसितको आफ्नो सम्बन्धलाई पुनःमूल्याङ्कन गर्न बाध्य तुल्याएको छ। तर साथसाथै म यहाँ सैद्धान्तिक समझदारिताको बढ्दो महसुस भइरहेको पनि देख्दछु। कतिपय चर्चित इभान्जेलिकलहरूसित इभान्जेलिकल थियोलजिकल सोसाइटी (Evangelical Theological Society) को आखिरी बैठकमा मेरो कुराकानी भएको थियो र उहाँहरू मैले यहाँ व्यक्त गरेका कुराहरूसित पूर्णरूपमा सहमत हुनुहुन्थ्यो।”2

यो त साँच्ची नै एउटा डरलाग्दो अभिव्यक्ति हो! इभान्जेलिकल ईश्वरशास्त्रीहरू मध्येका एक अग्रज, रोमन क्याथोलिकवादप्रति हामी खुल्ला हुनुपर्छ भनेर मात्र ठान्नुहुन्न तर उहाँको यस्तो भावनाप्रति सहानुभूति राख्‍ने त्यहाँ उहाँका धेरैजना मित्रहरू छन्। उहाँहरूको प्रभावमनि आइपर्ने हजारौं जवान विद्यार्थीहरू लगायत इभान्जेलिकल मण्डलीहरूका सदस्यहरूका निम्ति यो राम्रो लक्षण होइन। रोमका झूटा शिक्षाहरूलाई हामीहरूले अबदेखि उसो विरोध गर्नु आवश्यक छैन कारण ती शिक्षाहरू वास्तवमा “झूटा” (heresies) होइनन् भन्ने धारणा अब चाँडै नै व्यापक बन्नेछ।


  1. Press release by Baptist Press, March 4, 1994.
  2. “If We Don’t Hang Together, We’re Going to Hang Separately,” Interview with Norman Geisler, The Southern Cross, January 13, 1994.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

के चितुवाले आफ्नो छालाको थोप्ला बदलेको छ र?

के चितुवाले आफ्नो छालाको थोप्ला बदलेको छ र?

के रोमन क्याथोलिक चर्च बदलिएको छ र? के बाइबल विश्वास गर्ने इसाईहरू रोमसित हातेमालो गर्न अब स्वतन्त्र छन् र? के हामीले आफ्नो “धर्मान्धता” लाई पन्छाएर बरू विशालहृदयतालाई धारण गरौं त?

सन् १९६२ मा पोप जोन XXIII ले रोमन क्याथोलिक चर्चको २१ औं एकतावादी परिषद (ecumenical council) को बैठक बोलाएका थिए। उक्त बैठकलाई शताब्दीकै सबभन्दा उल्लेखनीय धार्मिक जमघट मान्न सकिन्छ। रोमन क्याथोलिक चर्चलाई aggiornamento (“फेरि चम्किलो” पार्ने कार्य) गरिन तर्जुमा गरियो। चर्चलाई युगको बदलिँदो परिस्थितिहरूसँगै अनुकूल बनाइने निर्णय गरियो। चर्चप्रतिको संसारको धारणालाई सपार्नाका निम्ति अर्थात् चर्च विगतमा भन्दा सहिष्णु र खुल्ला छ भनी देर्शाउन थुप्रै संरचनात्मक, प्रक्रियात्मक तथा विधिगत हेरफेरहरू गरिए। उक्त ऐतिहासिक सभा सम्पन्न भएदेखि यता धेरै इभान्जेलिकलहरूले रोमन क्याथोलिक चर्च बाइबलविपरित भएको भनी उदाङ्गो गरिनुपर्ने संरचना नभएर, यो एक स्वीकारयोग्य वैधानिक चर्च भएको, पर्याप्‍त रूपमा बदलिएको, एक ग्रहणयोग्य धार्मिक सङ्गति भएको धारणा राख्दै आएका छन्।

तर उक्त धारणा साङ्घातिक तवरले त्रुटीपूर्ण छ। दोस्रो भ्याटिकन परिषद (Vatican Council II) ले क्याथोलिक चर्चको एउटै पनि आधारभूत सिद्धान्तलाई हेरफेर गरेन। धेरै वर्ष अगाडि बाल्टिमूरका आर्चबिशप, एक प्रतिष्ठित रोमन क्याथोलिक अगुवा, जेम्स कार्डिनल गिब्बन्स्‌ (James Cardinal Gibbons) ले भनेका थिए, “रोमन क्याथोलिक चर्चलाई सुधार्न सकिन्न… शिक्षाको सवालमा चर्च सुधारप्रति ग्रहणक्षम छैन। चर्च देहधारी परमेश्वरकै कार्य हो। तसर्थ, परमेश्वरका अन्य सबै कार्यहरू जस्तै यो पनि सुधारको घेराभन्दा बाहिर पर्दछ।”1 यो दोहोर्‍याइन आवश्यक छ कि कार्डिनल गिब्बन्सले सो कुरा शिक्षा बदल्ने कुराको सवालमा भन्दै थिए, कुनै अभ्यास वा आराधना-विधि बदल्ने कुराको सवालमा होइन। रोमन क्याथोलिक चर्चले आफू शिक्षामा कतै गलत भएको कुरा स्वीकार गरेको खण्डमा त्यसले चर्चको पूरै सैद्धान्तिक (theological) संरचनालाई तहसनहस पार्नेथ्यो। पोप अमोघ (infallible, गल्ती गर्न नै नसक्ने) छन् भन्ने धारणामाथि र “शिक्षा प्रतिपादक मण्डली” (teaching church) को अधिकार अविवाद्य र बन्धनकारी हुन्छ भन्ने शिक्षाको आधारशीलामाथि नै रोमन क्याथोलिक सिद्धान्त (theology) को सम्पूर्ण संरचना अडेको छ।

रोमका कुनै पूरोहीत, कार्डिनल वा अन्य अगुवाका मुखबाट फाट्टफुट्ट निस्केका अभिव्यक्तिहरूलाई रोमको औपचारिक अडान मानिँदैन। आज रोमन क्याथोलिक चर्चभित्र रहेका थुप्रै क्यारिज्म्याटिकहरू “इभान्जेलिकलहरूसित बढी मिल्दोजुल्दो भएको” र तिनीहरूले ऐतिहासिक रोमनवादसित नमिल्ने कतिपय धारणाहरू बोकेको कुरालाई ठूलो कुरा मानिएको छ। त्यो साँचो नै भए तापनि क्याथोलिक चर्चभित्र रहेका वैयक्तिक सदस्यहरूले नै चर्चको सैद्धान्तिक आधारलाई निर्धारण गर्दैन। रोमन क्याथोलिकवादले बाइबललाई वैयक्तिक रूपमा व्याख्या गर्ने अधिकारलाई स्वीकार गर्दैन यद्यपि प्रोटेस्टेन्टहरूले गर्छन्। आधिकारिक शिक्षण चर्चबाटै आउँदछ र त्यसलाई शताब्दियौंदेखि सङ्ग्रह गरिँदै आएको रोमन क्याथोलिक सिद्धान्तहरूको सँगालोभित्र समाविष्ट गरिन्छ।

चर्चको अमोघत्त्व (The infallibility of the Church)

रोमन क्याथोलिक चर्च स्वयम् परमेश्वरबाट नियुक्त गरिएको बाइबलको एक मात्र आधिकारिक अर्थ प्रकाशक (interpreter) हो भनेर रोमनवादले अडान लिन्छ। एउटा क्याथोलिक स्रोतको व्याख्या यस प्रकार छ: अमोघत्त्व (infallibility) को माने “त्रुटि हुन नसक्ने वा चुक्न नसक्ने, त्यसो हुनदेखि बञ्चित वा स्वतन्त्र रहेको; (विशेष गरी) सैद्धान्तिक (theological) मामलामा, ईश्वरको विशेष सहायताले यो एउटा अलौकिक विशेषाधिकार नै हो जसद्वारा ख्रीष्टको मण्डली आफ्नो विश्वास र व्यवहारमा कुनै पनि त्रुटि हुन सक्ने सम्भावनादेखि सुरक्षित राखिन्छ।”2

“एक्स् कथिड्रा” (ex cathedra = “चर्चको आधिकारिक शिक्षकको रूपमा पत्रुसको आसनबाट”) बोल्दाखेरि पोप सिद्धान्त प्रतिपादन गर्ने परमाधिकारले सुसम्पन्न हुन्छन्। “पोपले जगतमा येशू ख्रीष्टको ठाउँ ओगटेको हुन्छ…. ईश्वर-प्रदत्त अधिकारद्वारा विश्वास र व्यवहारको सवालमा एक-एक पास्टर तथा उनका बगालमाथि पोपको सर्वाधिकार र पूर्णाधिकार हुन्छ। उनी ख्रीष्टका साँचो vicar (“भिकर”, विकल्पमा काम गर्ने व्यक्ति) हुन्, सबै मण्डलीका शिर हुन्, सबै ख्रीष्टियनहरूका पिता र शिक्षक हुन्। उनी नै अमोघ शासक हुन्, शिक्षा-सिद्धान्तहरू (dogmas) का प्रवर्तक हुन्, परिषदहरूका कर्ता तथा न्यायकर्ता हुन्, जगतका निर्णायक हुन्, स्वर्ग र पृथ्वीका सर्वोच्च न्यायधीश हुन्, कसैद्वारा न्याय नगरिने सबैका न्यायधीश हुन्, पृथ्वीमा स्वयम् परमेश्वर हुन् (the judge of all, being judged by no one, God himself on earth)।”3

बप्‍तिस्मा

इसाई कहलिएका प्रायः समूहहरूले बप्‍तिस्मालाई “मण्डलीभित्र छिर्ने ढोका” को रूपमा हेर्ने गर्छन्। दोस्रो भ्याटिकन परिषद् (Vatican Council II) मा गैर-क्याथोलिकहरू [रोमन क्याथोलिक] चर्चका सदस्य हुन सक्ने तथ्यलाई स्थान दिएर रोमले मण्डलीको परिभाषालाई अलिकति खुकुलो बनाएको देखिन्छ भन्ने कुरालाई धेरै इभान्जेलिकलहरूले अचाक्ली महत्त्व दिएका छन्। तरैपनि क्याथोलिकहरूको बुझाइमा यो साँचो चर्च रोमको चर्चभित्र कायम रहेको हुन्छ भन्ने कुरालाई स्मरण गरिनु आवश्यक छ। रोमी अडानको औपचारिक घोषणा ट्रेन्ट क्याटाकिज्म (Trent Catechism) को अभिव्यक्ति अहिलेसम्म खडा नै छ: “शिशुहरू, बप्‍तिस्माको अनुग्रहद्वारा परमेश्वरतर्फ नवीकरण नभएसम्म, उनीहरूका बाबुआमा चाहे इसाई हुन् या नहुन्, अनन्त पीडा र विनाशका निम्ति जन्मेका हुन्छन्।”4 यस्तो किसिमको सिद्धान्तको त्रासको सामना गर्ने प्रयासमा क्याथोलिक शास्त्रीहरूले “लिम्बस इन्फन्टम” (Limbus Infantum) नाम दिइएको एउटा वासस्थानको सृजना गरेका छन् जहाँ बप्‍तिस्मा नपाइकन मरेका शिशुहरू रहन्छन्, स्वर्गबाट बञ्चित तर पीडाको चेतनाबिना।

बप्तिस्माले आत्मिक जीवन पाइन्छ (baptismal regeneration) भनेर क्याथोलिक चर्चले शुरुदेखि आजसम्मै अडान लिँदै आएको छ। बप्तिस्मा नै “आत्मिक जीवनभित्र पुर्‍याउने ढोका अर्थात् प्रवेश द्वार हो, जसद्वारा हामी ख्रीष्टका अङ्गहरू बन्दछौं … बप्तिस्मा नै आत्मिक पुनर्जन्मको स्रोत हो।”5 यदि असल विवेक कायम राख्ने हो भने, आधारभूतवादी [बाइबल] विश्वासी (fundamentalist) हरू ले बप्तिस्माद्वारा इसाई बनिन्छ भनी विश्वास गर्ने चर्चलाई कसरी स्वीकार गर्न सक्छन् र कसरी त्यससित सहकार्य गर्न सक्छन् र? [मुक्ति बप्तिस्माले पाइन्न भन्ने तथ्यलाई बाइबलबाट बुझ्न यहाँ पढ्नुहोस्।]

मास (The Mass)

क्याथोलिक आराधनाको केन्द्रीय स्थान ओगटेको छ मास भनिने उत्सवले। कतिपय गैर-क्याथोलिकहरूको त्रुटी यसैमा छ कि उनीहरू मासलाई प्रभु-भोजसँग मिल्दोजुल्दो भएको ठान्छन्। त्यो होइन। [क्याथोलिक शिक्षाअनुसार]”पवित्र मास येशू ख्रीष्टको शरीर र रगतको बलिदान हो जुन शरीर र रगत रोटी र दाखमद्यको रूपमा वेदीमा उपस्थित भएका हुन्छन् र यसलाई जीवित र मरेका दुवैका निम्ति परमेश्वरकहाँ चढाइन्छ।”6 मास ख्रीष्टको मृत्युको केवल सम्झना मात्र होइन।

“मास वास्तवमै प्रायश्चितकारी बलिदान हो जसद्वारा प्रभुलाई रिझाइन्छ र … जसले भूल गल्तीहरू र पापहरूको क्षमा दिलाउँछ….। अन्तमा, मासचाहिँ कलवरीको आर्जनलाई बितरण गर्ने परमेश्वरद्वारा नियुक्त गरिएको माध्यम हो। ख्रीष्टले संसारका निम्ति मुक्ति र पवित्रताका निम्ति आवश्यक सबै अनुग्रहहरू हासिल गर्नुभयो। तर यी आशिषहरू अलि-अलि गरी र लगातार गरी प्रदान गरिने कुरा हुन्…मूलतः मासको माध्यमद्वारा…। पूरोहीतचाहिँ अपरिहार्य हुन्छ किनभने आफ्ना शक्तिहरूद्वारा उसैले मात्र रोटी र दाखमद्यका तत्त्वहरूलाई ख्रीष्टको शरीर र रगतमा परिणत गर्न सक्दछ…। [मासको] बलिदान जति धेरै पटक चढाइन्छ उति नै धेरै उपलब्धिहरू बितरण गरिन्छ…”।7

यस्तो शिक्षाले ख्रीष्टको बलिदान-कार्य पूर्णरूपमा सिद्ध थियो भन्ने बाइबलीय शिक्षालाई ठाडै इन्कार गर्दछ। ख्रीष्ट “धेरैका पापहरू बोक्नाका निम्ति एकपल्ट बलि चढाइनुभयो” (हिब्रू ९:२८)। “तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो” (हिब्रू १०:१२)। यस्तो विश्वास राख्ने व्यक्तिहरूलाई “इसाई बन्धुहरू” मान्नु भनेको बाइबलीय सुसमाचारकै केन्द्रीय विश्वासलाई इन्कार गर्नु हो।

तप (सास्ती)

रोमन क्याथोलिक सिद्धान्त (theology) को एउटा मुख्य कुना ढुङ्गाचाहिँ तप (penance) को शिक्षा हो। “तप, पूरोहीतबाटको पापमोचनद्वारा बप्तिस्मा लिएपश्चात् गरिएका पापहरूको क्षमा हुने धार्मिक संस्कार (sacrament) हो।8 क्याथोलिक शिक्षाअनुसार, बप्तिस्माद्वारा बप्तिस्माको धार्मिक संस्कारलाई ग्रहण गर्नुभन्दा अघि गरिएका पापहरूको क्षमा मिल्दछ। तर, त्यसपश्चात् गरिएका पापहरूका निम्ति भने त्यहाँ स्वीकार, अनुतापको साथसाथै कुनै पनि माग गरिएको असल-असल कामहरूको सन्तोषजनक कार्यान्वयन गरिन आवश्यक पर्छ। यसरी एक रोमन क्याथोलिक सदस्य निरन्तर पूरोहीतकै बन्धनमा रहन्छ जसले मात्र उसलाई उसका पापहरूदेखि छुटकारा पाउन मदत गर्न सक्दछ।

मुक्ति

आफ्नो चर्चको शिक्षाहरूलाई मान्ने एक रोमन क्याथोलिकले आफ्नो मुक्ति पक्का हुने आशा कहिल्यै गर्न सक्दैन। ट्रेन्ट परिषद (Council of Trent) ले आफूसित अनन्त मुक्ति भएको दाबी गर्नेहरूमाथि श्राप लगायो। “एक पटक धर्मी ठहरिएको व्यक्तिले अनुग्रह गुमाउन सक्दैन भनेर यदि कसैले भन्छ भने… त्यो श्रापित होस्।”9 विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भन्ने कुरालाई क्याथोलिकहरूले इन्कार गर्छन्। प्रोटेस्टेन्ट रेफर्मेशन (Protestant Reformation) मा यो नै एउटा मुख्य मुद्दा थियो। क्याथोलिकवाद अनुसार मुक्तिका लागि विश्वास र काम दुवै आवश्यक हुन्छन्। “तसर्थ असल-असल कामहरूकै कारण परमेश्वरले इनामस्वरूप अनन्त जीवन प्रदान गर्नुहुन्छ।”10

मुक्ति सम्बन्धी यस्ता धारणाहरूलाई पछिको रोमन क्याथोलिकवादले अस्वीकार गरेको छ भन्ने कसै-कसैलाई लागेको हुन सक्छ। तर होइन। क्याथोलिक शिक्षकहरूबाटको हालैको निम्न अभिव्यक्तिलाई सुन्नुहोस्:

“ख्रीष्टको मृत्युले ‘प्रायश्चित तथा पुण्यहरू कमायो जोचाहिँ एउटा ‘ढुकुटी’ मा सञ्चय गरिएको छ जसमा ‘कन्या मरियमका प्रार्थना तथा सुकर्महरू लगायत सबै सन्तहरूका प्रार्थना र सुकर्महरू थपिएका छन्…। अति प्राचीन समयदेखि चर्चमा पापीहरूको उद्धारका निम्ति सुकर्महरू परमेश्वरकहाँ अर्पण गरिँदै आएको छ…। साँच्ची नै पवित्र व्यक्तिहरूका प्रार्थना र सुकर्महरूद्वारा पश्चात्तापी जनको उद्धार हुन्थ्यो…। ख्रीष्टको पाइलाहरूलाई पछ्याउने क्रममा उहाँमाथि विश्वास गर्नेहरूले आफ्ना पापहरू र अरूका पापहरूका निम्ति प्रायश्चित गर्नाका निम्ति सधैं आफ्ना क्रूसहरू बोकेका छन्। परमेश्वरबाट मुक्ति प्राप्‍त गर्नाका निम्ति आफ्ना दाजुभाइहरूलाई मद्दत गर्न सक्छौं भनी उनीहरू विश्वस्त थिए।”11

यस्तो किसिमको सिद्धान्त नयाँ नियमको बिलकुल विपरित छ भन्ने कुरा प्रस्ट छ। तरैपनि यस तथ्यले एक परम्परागत रोमन क्याथोलिकलाई विचलित पार्दैन। आधिकारिक क्याथोलिक स्रोतबाट उद्‍धृत निम्न अभिव्यक्तिले यस कुराको कारण देखाउँछ:

“उसले कहाँबाट आफ्नो विश्वासको विषयवस्तु प्राप्‍त गर्दछ भनेर एक क्याथोलिक अनुयायीलाई प्रश्न गरिँदा उसको जवाफ यो हुन्छ: जिउँदो शिक्षण अधिकारबाट…। उक्त अधिकारचाहिँ वर्तमान पोप लगायत विशपहरूमा निहित रहेको हुन्छ जोहरूको कर्तव्य नै प्रकटित सत्यताको ज्ञानको सम्वर्धन गर्नु हो। यसरी सैद्धान्तिक प्रश्नहरूलाई व्यक्तिगत रूपमा छानविन गर्नुपर्ने आवश्यकतादेखि एक क्याथोलिक व्यक्ति स्वतन्त्र हुन्छ र चर्चको शिक्षा नै स्वयम् ख्रीष्टकै शिक्षा हो भन्ने शान्तमय निश्चिन्ततामा ऊ जिउन सक्दछ।”12

कुनै एउटा शिक्षा पवित्र शास्त्रमा भेट्टाउन नसकिएको खण्डमा एक रोमन क्याथोलिक विचलित बन्दैन। त्यसलाई मण्डलीको शिक्षण निकाय अर्थात् म्याजेस्टेरियम (magesterium) द्वारा आधिकारिक शिक्षाको रूपमा घोषणा गरिसकिएको छ भने त्यसलाई सकली भनेर ग्रहण गर्न सकिन्छ। यसलाई क्याथोलिकहरूले, विशेष गरी अमेरिकामा, व्यावहारिक तहमा चुनौती दिएका भए तापनि यो रोमको दृढ सिद्धान्तको रूपमा विद्यमान नै छ। स्मरण रहोस्, रोमन क्याथोलिक चर्चको अडान अनुयायीहरूको धारणाले परिभाषित गर्दैन, न ता पूरोहित वर्गको धारणाद्वारा नै, तर विशपहरू र पोपको निश्चित निर्देशन (directive) द्वारा परिभाषित हुन्छ।

  1. James Cardinal Gibbons. The Faith of Our Fathers, p. 73.
  2. P.J. Toner. “Infallibility,” The Catholic Encyclopedia, 1910 Edition, VII, 790.
  3. New York Catechism.
  4. Trent Catechism.
  5. N. G. M. Van Doornick, S. Jelsma, and A. Van de Lisdonk. A Handbook of the Catholic Faith, edited by John Greenwood.
  6. Catechism of Christian Doctrine, “What Is The Holy Mass?”
  7. Pocket Catholic Dictionary, pp. 248-49.
  8. Baltimore Catechism, p. 300.
  9. Council of Trent, Canon 23.
  10. Van Doornick, et. al., op. cit., p. 217.
  11. Vatican II, Flannery’s Edition, I, 64-66.
  12. Van Doornick, et. al., op. cit., p. 137.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

सम्झौताको चिप्लो भीर

सम्झौताको चिप्लो भीर

हैन, प्रतिष्ठित इभान्जेलिकल अगुवाहरू, माथि बयान गरिएजस्ता निष्कर्षहरूमा कसरी पुग्न सकेका? उहिलेदेखिका ऐतिहासिक अडानहरूलाई यसरी ठाडै कसरी परित्याग गर्न सकेका? विगत वा वर्तमानमा ख्रीष्टको मण्डलीभित्र के-कस्ता कुराको विकास हुन गएकोले इभान्जेलिकलवादले यस्तो नयाँ मोड लिन सक्यो?

एकजना व्यक्तिको व्यापक प्रभाव
रोमन क्याथोलिक चर्चको सम्बन्धमा विद्यमान सैद्धान्तिक गञ्जागोल (theological confusion) को अधिकांश श्रेय एकजना व्यक्तिलाई जान्छ — बिल्ली ग्राहाम (Billy Graham)। अन्य कुनै एकल व्यक्तिभन्दा थुप्रै-थुप्रै इभान्जेलिकलहरूबाट अगाध श्रद्धा पाएका बिल्ली ग्राहाम नै इभान्जेलिकल समुदायलाई रोमको मण्डलीसितको न्यानो र निकट सम्बन्धमा डोर्‍याउनमा जिम्मेवार छन्। उनले धेरै वर्ष अगाडिदेखि नै क्याथोलिक धर्मतन्त्रलाई खुशी पार्ने खेल खेल्न थालेका हुन्। उनले बेलमन्ट आब्बी (Belmont Abbey) नामक रोमन क्याथोलिक प्रतिष्ठानबाट सम्मानार्थ उपाधि प्राप्‍त गरेका छन्। शहर-शहरमा समारोहको आयोजना गर्दा उनले रोमन क्याथोलिक अगुवाहरूको सहकार्यता मागेका छन्। सम्मेलनमा आएकामध्येबाट अघि बढ्न चाहेका नयाँहरूलाई उनले रोमन क्याथोलिक चर्चहरूमै फिर्ता पठाएका छन्। उनले रोमन क्याथोलिक अगुवाहरूको सार्वजनिक सम्मान र प्रशंसा गरेका छन्। उनले रोमका डरलाग्दा अबाइबलीय शिक्षाहरूका बारेमा एउटै चेताउनी दिन सकेका छैनन्। रोमन क्याथोलिक चर्चसित आत्मिक सङ्गति गर्ने कामलाई बिल्ली ग्राहामले कत्ति पनि समस्याजनक नठानेकाले, र इभान्जेलिकलहरूबीच उनको प्रभाव ज्यादै ठूलो भएको हुनाले, अरूले पनि उनकै पाइला पछ्याएकोमा हामीले त्यति अचम्म मान्नु पर्दैन।

शिक्षामा जोड दिने समर्पणतामा ह्रास
नो प्लेस फोर ट्रुथ (No Place for Truth, “सत्यतालाई छैन ठाउँ”) नामक उल्लेखनीय कृतिका लेखक डेविड वेल्स (David Wells) ले “ह्वाटएभर ह्यापन्ड टु इभान्जेलिकल थिअलोजी” (“Whatever Happened to Evangelical Theology?”, “इभान्जेलिकल ईश्वर-शास्त्रको किन यस्तो हालत?”) भन्ने उपशीर्षकमै आफ्नो विस्मय प्रकट गर्दछन्। धेरैले वर्षौंदेखि अवलोकन गर्दै आएको एउटा बास्तविकताको उनले प्रशस्त प्रमाण दिन्छन् — कैयौं इभान्जेलिकलहरूका लागि शिक्षा (doctrine) अब सर्वाधिक महत्त्वको विषय होइन। विगतमा सैद्धान्तिक पूर्णनिश्चयता (doctrinal convictions) लाई सङ्गतिको आधारशीला मानिन्थ्यो भने गत वर्षहरूमा “साझा अनुभव” लाई महत्त्व दिन थालिएको छ। “येशूलाई प्रेम गर्ने सबै नै” सैद्धान्तिक भिन्नतालाई बेवास्ता गरी आपसी एकतामा आउनुपर्छ अरे। समग्र इभान्जेलिकलवादलाई “न्यानो भावुकता” को नराम्रो रोगले पक्रेको छ। “यदि एकजना रोमन क्याथोलिकले येशूलाई प्रेम गर्छन् भने, मैले उसलाई ख्रीष्टमा आफ्नो भाइ सम्झेर अँगालो मार्नुपर्छ” अरे। धेरैको साझा धारणा यही छ।

क्यारिज्म्याटिक तत्त्व
चासोको विषय, चर्चित एक्युमेनिकल दस्तावेजको हस्ताक्षरको समाचार सम्प्रेषण गर्दा “राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक रिपोर्ट” (“National and International Religion Report”) ले यस्तो टिप्पणी गर्‍यो: “यी दुई समुदायहरूलाई यहाँसम्म एक्यवद्ध बनाउन कुन कुरोले सम्भव तुल्यायो भन्ने कुराको सवालको जवाफमा कतिपय हस्ताक्षरकर्ताले क्यारिज्म्याटिक अभियानअन्तर्गत रहेर सँगै आराधना गरिँदाको अनुभवहरूलाई औंल्याए…”।3 आधुनिक क्यारिज्म्याटिक लहरले एक्युमेनिकलवादतर्फको गति शक्तिमा उर्जा थपेको यो अझ अर्को प्रमाण हो। क्यारिज्म्याटिकहरू साझा अनुभवलाई नै साझा धरातलको रूपमा हेर्दछन् र एकअर्कासितको पूर्ण सहकार्यलाई रोक्ने त्यहाँ कुनै सैद्धान्तिक व्यवधान देख्दैनन्। क्यारिज्म्याटिकहरू सबभन्दा बेमेल सैद्धान्तिक पक्षहरूलाई समेत कुनै समस्याबिना समेट्न सक्छन्।

साझा राजनीतिक मुद्दाहरू
गत वर्षहरूमा रोमन क्याथोलिक तथा इभान्जेलिकलहरू गर्भपतन, समलिङ्गता आदिजस्ता साझा मुद्दा लिएर तिनका विरुद्धको सङ्घर्षमा संयुक्त-शक्तिको रूपमा राजनीतिक रणभूमिमा उत्रेका छन्। यी संयुक्त कार्यकलापको कारणले दुवै पक्षका नेतृत्व वर्ग एक साथ हुन गएका छन् जब कि बिगतमा उनीहरू कहिल्यै सहकार्य गर्ने गरेका थिएनन्। व्यक्तिगत मित्रताहरू गाँसिएका छन्, र फलस्वरूप गम्भीर सैद्धान्तिक भिन्नतालाई एकातिर पन्छाउने काम हुन थालेको छ। कतिपय सामाजिक मुद्दामा सहमति भएको हुनाले, र यी मुद्दाहरू अमेरिकाको जन-जीवनमा यति धेरै महत्त्वको मानिएकाले “अमेरिका बचाऊ” अभियानमा सहकार्य गर्नुपर्छ भन्ने आधार बनाई दुवै पक्षका धेरैजना अगुवाहरू सैद्धान्तिक झगडालाई न्यूनीकरण गर्न इच्छुक छन्। [टिप्पणी: लेखकले खास गरी अमेरिकाको सन्दर्भमा यो लेख्‍नुभएको भए तापनि यो थाह भएको कुरा हो कि भ्रमका छालहरू प्रायः एकै ठाउँमा सीमित रहँदैनन्। त्यसैले क्याम्पस क्रूसेडका प्रमुख बील ब्राइट समेत उक्त दस्तावेजमा हस्ताक्षर गर्ने मध्ये एक भएका हुनाले नेपाल लगायत अन्य देशमा रहेका क्याम्पस क्रूसेड यस कदमबाट कसरी प्रभावित हुँदैछन् अनुसन्धान गर्नु आवश्यक देखिन्छ। जस्तै, के नेपालको क्याम्पस क्रूसेडले रोमन क्याथोलिकलाई सुसमाचार सुनाउनुपर्छ भन्ने धारणा राख्दछ?]

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

रोम पुग्ने पुलका निर्माण

रोम पुग्ने पुलका निर्माण

एक पर्यवेक्षकले यसलाई “गत ५०० वर्षको मण्डली इतिहासकै सबैभन्दा उल्लेखनीय घटना”1 भन्ने संज्ञा दिए। एउटा घोषणा-पत्रमा हस्ताक्षर गर्ने काम भएको थियो जसको शीर्षक थियो “इभान्जेलिकल तथा क्याथोलिक एकता: तेस्रो सहस्राब्दीमा इसाई लक्ष्य” (Evangelicals and Catholics Together: The Christian Mission in the Third Millennium)। यसमा दुवै इभान्जेलिकल तथा रोमन क्याथोलिक अगुवाहरू संलग्न भएका हुनाले उक्त घोषणा-पत्र बास्तवमै स्मारकीय थियो। आ-आफ्ना “अस्त्र बिसाई” मेलमिलाप गर्न र शताब्दियौंदेखिको महत्त्वपूर्ण शिक्षागत भिन्नताहरूलाई पन्छाएर अबदेखि प्रतिद्वन्द्वीका रूपमा नभई एउटै “टीम” का मित्रका रूपमा सहकार्य गर्नका लागि मुख्य प्रवक्ताहरूको संयुक्त प्रयासबाटको अभिव्यक्ति भएको हुनाले सन् १९९४ मार्च २९ मा न्यु योर्कमा हस्ताक्षरित उक्त अभिलेख सर्वाधिक महत्त्वको एक्युमेनिकल दस्तावेज थियो।

हस्ताक्षर गर्ने को-को थिए?
उक्त दस्तावेजका प्रमुख रचयितामध्ये ख्यातिप्राप्‍त लेखक तथा भूतपूर्व लुथरन ईश्वर-शास्त्री रिचार्ड जन न्युहास् (Richard John Neuhaus) एक थिए। करिब चार वर्ष अघि उनले आफ्नो मत परिवर्तन गरी रोमन क्याथोलिक चर्चसँग आवद्ध बनेका घटनाले इभान्जेलिकल अखबारहरूको अघिल्लो पन्ना ओगटेको थियो। आफ्नो दल बदलको बारेमा बताउँदै न्युहास्‌ले भने, “सोह्रौं शताब्दीमा विश्वासद्वारा धर्मीकरण हुन्छ भन्ने कुराको घोषणा गर्ने उद्देश्यले बाध्य तुल्याएको विभाजनको अब औचित्य छैन।”

न्युहास्‌का साथै अन्य इभान्जेलिकल लब्धप्रतिष्ठितहरूले उक्त दस्तावेजमा हस्ताक्षर गरे जसमध्येका केही नाम यस प्रकार छन्:

  • क्याम्पस क्रुसेडका बिल ब्राइट (Bill Bright of Campus Crusade)
  • ह्विटन विश्वविद्यालयका मार्क नोल (Mark Noll of Wheaton University)
  • प्रिजन फेलोशिपका अध्यक्ष चार्ल्स कोल्सन (Charles Colson, President of Prison Fellowship)
  • जेनेभा कलेजका अध्यक्ष तथा नेशनल असोसिएसन अफ इभान्जेलिकल्स्‌का भूतपूर्व अध्यक्ष जोन ह्वाइट (John White, President of Geneva College and former president of the National Association of Evangelicals)
  • जे आइ प्याकर, प्रसिद्ध ब्रिटिश लेखक (J. I. Packer, noted British author)
  • जेस्सी मिरान्डा, एजी चर्चहरूका एक अगुवा (Jesse Miranda, leader in the Assemblies of God)
  • प्याट रबर्टसन्, टिभि प्रचारक तथा इभान्जेलिकल राजनैतिक अगुवा (Pat Robertson, television preacher and evangelical political leader)
  • रिचार्ड ल्यान्ड, सदर्न ब्याप्टिस्ट अधिकारी (Richard Land, Southern Baptist official)
  • ल्यारी लुइस्, सदर्न ब्याप्टिस्ट अधिकारी (Larry Lewis, Southern Baptist official)
  • बस्टनका आर्चबिशप विलियम मर्फि (Archbishop William Murphy of Boston)
  • डेन्भरका आर्चबिशप फ्रान्सिस्‌ स्टाफ्फोर्ड (Archbishop Francis Stafford of Denver)
  • न्युयोर्कका कार्डिनल जोन ओकनर (Cardinal John O’Connor of New York)

दस्तावेजमा के थियो?
उक्त दस्तावेजले सकभर धेरैलाई, विशेष गरी रोमन क्याथोलिकहरू, इस्टर्न अर्थडक्स (Eastern Orthodox) काहरू र इभान्जेलिकल घेराबाहिरका प्रोटेस्टेन्टहरूलाई समेट्नका निमित्त “ख्रीष्टियन” शब्दको परिभाषालाई फराकिलो पार्ने प्रयास गरेको छ। तरैपनि मूलरूपमा यो रोमन क्याथोलिकहरू र इभान्जेलिकलहरू बीचको सम्बन्धको विषयमा केन्द्रित छ। ती दुईबीचका फाटोमा यसले अफसोस मानेको छ र क्याथोलिक/इभान्जेलिकल द्वन्द्वलाई स्थगित गर्ने प्रस्ताव ल्याएको छ।

रोमन क्याथोलिकहरू इभान्जेलिकलहरू जस्तै साँचा विश्वासी हुन् भन्ने दृष्टिकोणको प्रतिवादमा दुवै समूहले अपसल्स्‌ क्रिड (Apostle’s Creed) लाई स्वीकार गर्छन् भन्ने तर्कलाई अघि सारिएको छ। अपसल्स्‌ क्रिडको स्वीकार गराइले एक व्यक्तिलाई कसरी ख्रीष्टियन बनाउँदछ भन्ने कुराको स्पष्टिकरण दिइएको छैन। जतिसुकै सही किन नहोस्, तर कुनै पनि मत (creed) को दिमागी स्वीकारले एउटै आत्मालाई बचाउन सक्दैन।

यस दस्तावेजले “भेडा चोर्ने” कामको विरुद्धमा चेताउनी दिएको छ। यसले भन्छ, “एउटा इसाई समुदायले अर्को इसाई समुदायका सक्रिय अनुयायीहरूका बीच आस्था बदल्न लगाउने काम गर्नु ईश्वर-शास्त्रीय दृष्टिकोणमा न्यायसङ्गत होइन न ता स्रोत-साधनको बुद्धिमानी प्रयोग नै हो।” अर्को शब्दमा भन्दा, अबदेखि उसो हामीले आफ्ना रोमन क्याथोलिक छिमेकीहरूलाई ख्रीष्टमा ल्याउन गरिने संयुक्त र यत्‍नपूर्वक प्रयासलाई त्याग्नुपर्छ। तिनीहरू इसाई भइसकेका हुनाले किन टाउको दुखाउने? सुसमाचारको प्रचार र विश्वव्यापी मिसनमाथि यस्तो धारणाले कहाँसम्म असर पार्ला भन्ने कुरा सजिलै देख्‍न सकिने कुरा हो।

दुवैले अनुग्रहले मुक्ति पाइन्छ भनेर विश्वास गर्छन् भन्ने आधारमा इभान्जेलिकलहरू र रोमन क्याथोलिकहरूले एक अर्कालाई स्वीकार गर्न र आपसमा सङ्गति गर्न सकिने भन्ने कुराको समर्थन गरिएको छ। परन्तु, एउटा क्याथोलिकले ‘अनुग्रह’ भन्नाले रोमद्वारा नियमपूर्वक नियुक्त भएको पुजाहारीद्वारा प्रदान गरिने रोमन क्याथोलिक संस्कारहरू (sacraments) को माध्यमद्वारा प्राप्‍त हुने ईश्वरीय अनुग्रह हो भनेर विश्वास गर्दछ। अनुग्रहको इभान्जेलिकल (अर्थात् बाइबलीय) धारणा भने अनर्जित निगाह (unmerited favor) हो जुनचाहिँ केवल विश्वासद्वारा मात्र प्राप्‍त गरिन्छ। यी दुई धारणाबीच अतिठूलो भिन्नता छ।

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।