बहानाहरू!

बहानाहरू!

 

लुगाको बारेमा बाइबलीय शिक्षा सुनेपछि विश्‍वासी दिदीबहिनीहरूको सामु दुई विकल्पहरू छन्। १) यस शिक्षालाई ग्रहण गर्नु र आफ्नो पोशाक र सिँगारलाई परिवर्तन गर्नु। २) बहानाहरू बनाएर यस शिक्षालाई इन्कार गर्नु।

केही सामान्य बहानाहरू यी हुन् –

१) एक ख्रीष्टियन बहिनीले भन्नुभयो, “मलाई लामो कुर्ता र पन्जाबी सुरुवाल लाउन मन त लाग्छ तर मैले त्यस्तो लुगा लगाएँ भने मेरो साथीहरूले मलाई “ए यो त बुढी भइछ” भनेर जिस्काउँछन्। उनीहरूले जस्तै मैले पनि पाइन्ट लगाएर मडर्न बन्नुपर्छ भनेर भन्छन्।”

यस बहिनीलाई बाइबलीय सल्लाहको खाँचो छ। हिब्रू ११:२४-२६ मा मोशाको बारेमा यस्तो लेखिएको पाइन्छ –

“विश्‍वासैद्वारा मोशाले, उमेरदार भएपछि फाराओकी छोरीको छोरो कहलाइन इन्कार गरे; थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश‍वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; तिनले ख्रीष्टको निन्दालाई चाहिँ मिश्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनामतिर लागेको थियो।”

मोशालाई मिश्र देशको राजा फाराओकी छोरीले पालेकी थिइन्। राज दरबारमा हुर्केका मोशा अधिकार-प्राप्त व्यक्ति थिए। मोशा भविष्यमा मिश्र देशका धन सम्पत्तिहरूका अधिकारी हुनसक्थे। उनी शिक्षित, धनाढ्य, सु-सम्पन्न व्यक्ति थिए। तर मिश्र देशका बासिन्दाहरू मूर्तिपूजक र भक्तिहीन मानिसहरू भएका हुनाले धर्मी मोशाले मिश्र देशका सम्पूर्ण अभिलाषाहरूबाट पूर्ण रुपमा अलग हुने हुर्णय गरे। यस निर्णयले उनको सुखविलाषी जीवनलाई कष्टमा परिंणत गर्ने थियो भन्ने कुरा उनलाई थाहा थियो। ख्रीष्टको निम्ति दुःख भोग्नु नै मोशाले रोजे। “अहिले दुःख, पछि सुख। अहिले सुख पछि दुःख” भन्नु अत्युक्ति नहोला!

यदि तपाईं अभिलाषी जीवन रोज्नुहुन्छ भने अवश्‍य तपाईंले रमाइलोको महसुस गर्नुहुनेछ। तर त्यो केही समयको लागि मात्रै एउटा क्षणिक आनन्द हो। संसारको रमाइलोमा आफूलाई समर्पण गर्नेहरूले परमेश्‍वरको इच्छाभन्दा आफ्ना साथीहरूको इच्छा जान्न चाहन्छन्। तपाईंको प्रेम, ध्यान, र आशाहरू संसारमा भएको हुनाले तपाईंलाई परमेश्‍वरको विचारको मतलब हुँदैन। परमेश्‍वरबाट प्रशंसा पाउनुभन्दा साथीहरूको प्रशंसा पाउन तपाईंलाई रमाइलो लाग्न सक्छ।

“हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु – प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस; अनि अन्यजातिहरूका बीचमा तिमीहरूले असल चालचलन देखाओ; र जुन कुरामा कुकर्म गर्नेहरू भनी तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा परमेश्‍वरको महिमा गरून्” (१ पत्रुस २:११,१२)।

“र अब उसो उसले आफ्नो बाँकी समय शरीरमा मनिसहरूका अभिलाषाहरू अनुसार होइन, तर परमेश्‍वरको इच्छाअनुसार जिओस्” (१ पत्रुस ४:२)।

२) “मसँग लुगा किन्नलाई पैसा छैन। कुर्ता सुरुवालभन्दा पाइन्ट र शर्ट सस्तो पर्छ। के गर्ने?” एक जना बहिनीले यस्तै प्रश्‍न गरिन्।

परमेश्‍वरका आज्ञाहरूचाहिँ बजारमा पइने गोलभेँडा जस्ता होइनन् जुनलाई सस्तो लागेमा घर लैजान्छौं नभए छाडेर हिँड्छौं। उहाँका आज्ञाहरू अपरिवर्तनीय र सबै परिस्थितिमा लागु हुने नियम हुन्। विश्‍वासमा बढ्दै जाऔं! स्वर्गमा विराजमान हाम्रा पिताले आफ्नो वचनमा हामीलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। ती प्रतिज्ञाहरू अँगाल्दै हामीले उहाँसँग प्रार्थना गर्नुपर्छ। अवश्य उहाँले हाम्रा खाँचोहरू पूरा गर्नुहुनेछ! (फिलिप्पी ४:१९ र मत्ती ६:२५-३३)।

३) “मैले टाइट, मडर्न लुगा लगाएको मेरो आमाबाबु चाहनुहुन्छ।”

प्रेरित ५:२९ “तब पत्रुस र अरु प्ररितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरकै आज्ञा पालन गर्नुपर्छ।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

जाँचेर हेर!

जाँचेर हेर!

 

ख्रीष्टियनलाई जे गर्न मन लाग्छ उसले त्यो गर्न सक्छ भनेर पावलले बाइबलमा कहिले पनि सिकाएनन्। कुनै पनि कार्य वा व्यक्तिलाई आफ्नो जीवनमा निम्त्याउनुभन्दा पहिले विश्‍वासीले त्यो कार्य वा कुरा वा व्यक्तिको जाँच गर्नु पर्ने हुन्छ। चारओटा प्रश्‍नहरू यस प्रकारका छन् –

१) के यस कार्य वा कुरा वा व्यक्तिले मलाई त्यसको वशमा पार्छ? (म ख्रीष्टियन हुँ, त्यसैले मेरो शरीर ख्रीष्टको वशमा रहनुपर्छ।)
२) के यसो गर्नु/ लाउनु/ खानु/ हेर्नु/ सुन्नु उचित छ?
३) के यसद्वारा मेरो र अरु विश्‍वासीहरूको उन्नति हुन्छ?
४) के यसले गर्दा अरुहरूले ठेस खान्छ? यसद्वारा अरुहरूको आत्मिक जीवन कसरी प्रभावित हुन्छ?

जुन कार्यहरू परमेश्‍वरले उहाँको वचनमा मनाही गर्नुभएको छ, ती कार्यहरू गर्नु विश्‍वासीको लागि पाप हो। परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ। तर मानिसचाहिँ परिवर्तनशील प्राणी हो र नयाँ-नायाँ पापपूर्ण कार्यहरू रच्नु मानिसको विशेषता हो। २००० बर्ष अगाडि जब बाइबलको नयाँ करार लेखियो, त्यसबेला टेलिभिजन वा च्यानल वा इन्टरनेटको सुरुआत भइसकेको थिएन। तर पनि यी नयाँ कुराहरूलाई (नयाँ-नयाँ फेसनहरूलाई पनि) बाइबलद्वारा आधुनिक विश्‍वासीहरूको जीवनको जाँच गर्‍यौं भने धेरै मण्डलीका सदस्यहरूको जीवनशैली बाइबलसँग मेल नखाने किसिमको भेटिन्छ।

बाइबलद्वारा आजकालका फेसनहरूको जाँच गर्छौं भने ती फेसनहरू विश्‍वासीको लागि अनुचित छन् भनेर सजिलै थाहा पाउन सक्छौं। पहिलो कुरा, ती फेसनहरूले दिदीबहिनीहरूलाई वशमा पार्छन्। सांसारिक फेसनको लत लागेर युवतीहरू ज्यादा समय र पैसा त्यसैमा खर्च गरिरहेका छन्। परमेश्‍वरको वचनलाई भन्दा धेरै उनीहरूले ती सांसारिक कुराहरूलाई प्रेम गर्छन्। परमेश्‍वरको इच्छा बमोजिम हिँड्नुपर्ने दिदीबहिनीहरू आज संसारको इच्छा अनुसार हिँडिरहेका छन्। यो त अचम्मको कुरा भयो!

दोश्रो कुरा, छाडा लुगा लगाउनु विश्‍वासीको लागि उचित छैन किनभने त्यस्तो पहिरनद्वारा अरु विश्‍वासीहरूको भलाइ हुन सक्दैन। त्यस्तो लुगा पवित्रतालाई सुहाउने लुगा होइन, किनभने छाडा लुगाले कुइच्छा, प्रवल वासना, र व्यभिचारको लागि बाटो खोल्छ। स्त्रीको छाडा लुगाको कारण पुरुषहरू ठेस खान सक्छन् र आत्मिक रूपमा बढ्न उनीहरूलाई बाधा हुन्छ। छाडा लुगा लगाउँदा स्त्रीले उन्नति होइन तर समाजमा, मण्डलीमा, र परिवारमा विकृति निम्त्याउँछिन्।

१ यूहन्ना २:१५-१७ र याकूब ४:४

“संसारलाई प्रेम नगर, न ता संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै कुराहरू – शरीरको अभिलाषा, आखाँहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन, तर संसारबाटको हो्।”

“हे व्यभिचारी र व्यभिचारिणीहरूहो, संसारसँगको मित्रता चाहिँ परमेश्‍वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ, उसले आफुलाई परमेश्‍वरको शत्रु बनाउँछ।”

यस वर्तमान संसारका मानिसहरू दुष्ट छन् र उनीहरू परमेश्‍वरको विद्रोही हुन्। यस संसारका शासकहरू (देखिने र नदेखिने) पनि परमेश्‍वरका विरुद्धमा छन्। संसार परमेश्‍वको शत्रु सैतानको अधीनमा रहेको हुनाले संसारलाई प्रेम गर्ने व्यक्तिले वास्तवमा परमेश्‍वरलाई प्रेम गर्दैन। यो कडा वचन हो, कठोर शब्द हुन् यी, र धेरै मानिसहरूले यस्तो शिक्षा पचाउन सक्दैनन्। तर यो मानिसको वचन वा शिक्षा होइन। बाइबलले नै हामीलाई यी कुराहरू सिकाएको छ। संसारको साथी परमेश्‍वर साथी होइन! यस कुरामा हामी ठेस नखाऔँ, धोकामा नपरौं! आज धेरैजसो चर्चहरूमा विश्‍वासीजनहरू संसारका साथी भई हिँडिरहेका छन्। सङ्गतीमा भजन गाउँछन्, जोशसाथ वचन सुनाउँछन्, आँसु बहाउँछन्, इत्यादी, तर हप्ताको ६ दिन चाहिँ उनीहरूले आफ्ना आँखा र कान नअघाउन्जेल संसारकै विचारहरूले आफ्नो मन भर्छन्। जब सिपाही लडाईंमा खटाइन्छ, तब के त्यो सिपाही आफ्नो शत्रुको सिद्घान्त र शिक्षा सुनेर बस्छ? तर कोही-कोही विश्‍वासीहरू परमेश्‍वरलाई हप्ताको चार-पाँच घण्टा दिएर बाँकी समय आफ्नो प्राणको शत्रुलाई दिइरहेका छन्। यसो गर्नुचाहिँ परमेश्‍वरको वचनको ठाडो उल्लङ्घन गर्नु हो। यसरी विश्‍वासीहरूको जीवनद्वारा येशूको प्रशंसा होइन तर बेइज्जत भइरहेको छ।

यस पुस्तिका पढ्ने दिदीबहिनीहरूको मनमा एउटा प्रश्‍न उठ्न सक्छ। “वास्तवमा, ‘संसार’ भनरको के हो, त?” “‘संसारबाट अलग होओ’ त भनिएको छ, तर कसरी? हावा-पानी, जमीनबाट अलग होओ भनेको हो कि? परिवारबाट अलग होओ भनेको हो कि?” होइन। परमेश्‍वरको वचनमा “संसार” ले संसारमा भएका दुष्ट कुराहरूलाई सङ्केत गर्छ। “दुष्ट कुरा” भन्नाले अनैतिक सङ्गीत, टेलिभिजन (किनभने त्यसमा प्रसारण हुने अधिकांश कार्यक्रमहरू अनैतिक र अभिलाषापूर्ण छन्), विभिन्न पत्रिकाहरू, भित्तामा टाँसिने अनैतिक तस्वीरहरू इत्यादी। त्यस्ता कुराहरू विश्‍वासीको कोठामा नहोऊन्! ती कुराहरूबाट अलग रहनुपर्छ। तर परमेश्‍वरको सृष्टिबाट अलग होओ भनेको होइन।

रोमी १२:१-२

“यसकारण भइहरूहो, परमेश्‍वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु: आफ्ना शरीरहरूलाई तिमीले पवित्र, परमेश्‍वरलाई मन पर्ने, जिउँदो बलिदानको रूपमा चढाइदेओ; यही तिमीहरूको उचित सेवा हो। अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्‍वरको असल, ग्रहणयोग्य त‍र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरू बदली हुँदै जाओ।”

यस खण्डअनुसार, यदि हामी हाम्रो जीवनमा परमेश्‍वरको इच्छा थाहा गर्न चाहन्छौं भने हामीलाई संसारबाट अलग हुनु आवश्यक छ। मुक्तिचाहिँ परमेश्‍वरबाटको उपहार हो र त्यो हामी सितैंमा पाउँछौं। जसरी कुनै परिवारमा एउटा बालकको जन्म हुन्छ – त्यस बालकले त्यस परिवारमा छोराको स्थान सित्तैमा पाउँछ। उसले त्यो स्थान आफै कमाएको होइन। तर जब ऊ बढ्दै जान्छ, उसको आमाबाबुलाई प्रसन्न तुल्याउनलाई उसले केही मेहनत गर्नुपर्छ, आज्ञाकारी हुनुपर्छ।

संसारबाट अलग हुनु भनेको संसारको देखासिकी नगर्नु हो – संसारको वशमा आफूलाई नसुम्पिनु – त्यसको सिद्धान्त र विचार अनुसार नहिँड्नु। जुन विश्‍वासीहरू वास्तवमा संसारबाट अलग छन् उनीहरू संसारको फेसन, मनोरञ्जन र मित्रतामा रमाउन सक्दैनन्।

कसरी बद्ली हुने? कसरी नयाँ हुने? कसरी परमेश्‍वरको इच्छा जान्ने? परमेश्‍वरको वचनद्वारा नै, किनकि यो “कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ” (हिब्रू ४:१२)। पवित्र शास्त्र बाइबललाई पढेर, अध्ययन गरेर, र कण्ठ पारेर ख्रीष्टियनहरू परमेश्‍वरको मन बुझ्न सक्छन् र जीवनको हरेक क्षेत्रमा उहाँको निर्देशन पाउन सक्छन्। तर सांसारिक ख्रीष्टियन नबढेको बालकझैं कमजोर भइरहन्छ र उसको जीवनमा बुद्धिको कमी हुन्छ। ( तपाईंलाई सल्लाहको खाँचो परेमा, सांसारिक ख्रीष्टियनकहाँ नजानुहोस्!) जो परमेश्‍वरको वचनको ज्ञानले भरिएका छन्, उनीहरूको ज्ञानेन्द्रियहरू “काममा परी-परीकन दुवै असल र खराब छुट्टयाउनका निम्ति अभ्यस्त भएका हुन्छन्” (हिब्रू ५:११)। लुगाको सन्दर्भमा पनि परिपक्क्व वा बलियो विश्‍वासी असल र खराब छुट्याउन सक्ने हुन्छ।

तर सल्लाह लिँदा पनि होशियार हुनुपर्छ। किनभने आजभोलि यस्ता धेरै मण्डलीका अगुवाहरू हुनुहुन्छ जो विश्‍वासीहरूलाई खाँटी शिक्षा वा बाइबलको कडा शिक्षा दिन चहानुहुन्न। ती व्यक्तिहरूको शिक्षामा ध्यान दिनेहरूको बयान २ तिमोथी ४:३-४ मा दिइइको छ, “किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले खाँटी शिक्षा सहनेछैनन्, तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन्।” विश्‍वासीहरू संसारबाट अलग रहनु पर्दैन भन्ने धेरै अगुवाहरूको विचार बाइबलमा आधारित नभएको हुनाले त्यो केवल एउटा दन्त्यकथा मात्र हो! परमेश्‍वरलाई खुसी पार्ने प्रचारकले खाँटी शिक्षा दिन हिच्किचाउनेछैन। “वचन प्रचार गर; समयमा र असमयमा तयार बस; सारा सहनशिलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ” (२ तिमोथी ४:२)।

संसारबाट अलग रहने विश्‍वासीले संसारका खराब कुराहरूलाई आफ्नो घरमा निम्त्याउँदैन! ख्रीष्टियन अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई संसारबाट अलग राख्‍न सकभर प्रयास गर्नुपर्छ। संसारले हाम्रा छोराछोरीलाई सिकार बनाउन खोजिरहेको छ! घरभित्र पस्ने हरेक चीजलाई ख्रीष्टियन अभिभावकले जाँच्नु पर्छ, चाहे त्यो पत्रिका, सीडी, सङ्गीत, फिल्म, पुस्तक, भिडियो गेम् वा छिमेकीका छोराछोरीहरू किन नहोस्। जुन कुराहरूद्वारा परमेश्‍वरको पवित्रता झल्किँदैन, ती कुराहरूलाई इन्कार गर्नुपर्छ।

धार्मिकतामा आफ्ना छोराछोरीहरूलाई तालिम दिने जिम्मेवारी परमेश्‍वरले अभिभावकहरूलाई दिनुभएको छ। त्यसैले उचित काम, बानी र व्यवहार के हो भनेर आमाबाबुले आफ्ना बालबालिकाहरूलाई सिकाउनुपर्छ। विश्‍वासी अभिभावकहरूले आफ्ना छोराछोरीलाई सांसारिक मनोरञ्जन, सांसारिक पोशाक, सांसारिक साथीहरू र विचारहरूबाट अलग पार्नुपर्छ। शैतानको बन्धनबाट यदि हामी साँचै हाम्रा छोराछोरीहरूलाई जोगाउन चाहन्छौं भने गम्भीरतापूर्वक हामीले यस जिम्मेवारीलाई बहन गर्नैपर्छ।

स्कूलको प्रभाव

“तिमी ठूलो मान्छे बन्नुपर्छ, धेरै पढ्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ” भनेर सबैले बालबालिकालाई सम्झाउने गर्छन्। प्रायजसो विश्‍वासीहरूको पनि यस्तै विचार होला। दुःख कसले भोग्न चाहन्छ र? सुखी जीवनको कल्पना कसले पो गर्दैन? तर, प्रिय विश्‍वासी दिदीबहिनीहरूहो, आज संसारको अवस्था सदोम र गमोराको अवस्था जस्तै छ (उत्पत्ति १९ अध्याय)। स्कूल र कलेजले तपाईंका छोराछोरीहरूलाई कस्तो प्रशिक्षण दिन्छ भन्ने बारेमा सयौं पानाको पुस्तक लेख्‍न मन लाग्दा-लाग्दै हामी आफूलाई नियन्त्रण गर्दै यति मात्र भन्नेछौं: १) स्कूलको ड्रेसले तपाईंको छोरीलाई निर्लज्ज लुगा लगाउन सिकाइरहेको छ (प्रायजसो पाइन्ट वा हाफ स्कर्ट लगाउनुपर्छ)। २) स्कूलका साथीहरूले तपाईंकी छोरीलाई फिल्म, रक सङ्गीत, र केटाहरूलाई मन पराउन सिकाइरहेका छन्। ३) स्कूलका सर मिसहरूले (जसले परमेश्‍वरलाई चिन्नुभएको छैन) बाइबलका सत्यताहरूलाई शङ्का गर्न सिकाइरहेका छन्। ४) स्कूलका पुस्तकहरूले तपाईंकी छोरीलाई दन्त्यकथाहरू सिकइरहेका छन्। (ईश्‍वर छैन, पृथ्वी आफै हुन आएको हो, समलिङ्गीहरूको व्यवहार उचित छ, इत्यादी)।

सायद माथि उल्लेखित कुराहरूले तपाईंलाई निराश पारेका छन्। “यो त अति नै भयो, नि। बच्चालाई स्कूलै पठाउनु नहुने रे! के लेखेको होला यस्तो?” तर तपाईंलाई तर्साउने हेतुले हामीले यस्ता कुराहरू लेखेका होइनौं। केवल यो विचार टक्राउन चाहन्छौं। – परमेश्‍वर सामर्थी र विश्‍वासयोग्य हुनुहुन्छ। तपाईंले विश्‍वासको कदम चालनुहुन्छ भने (मनमा मात्रै होइन तर व्यवहारमा पनि) तब परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरले तपाईंलाई विकल्पहरू देखाउनुहुन्छ। सयौं अभिभावकहरूले यही साक्षी दिन सक्छन्। तर कुनै पनि विकल्प देखापरेन भने, नि? वास्तवमा, गरिब तर परमेश्‍वरको प्रेमले भरिपूर्ण हुनुचाहिँ धनी तर परमेश्‍वरबाट टाढा हुनुभन्दा उत्तम हो।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

१ कोरिन्थी ६:१९-२०

१ कोरिन्थी ६:१९-२०

“तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पायौ र तिमीहरू आफैका होइनौ; किनकि तिमीहरू दाम तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्‍वरको महिमा गर, जो परमेश्‍वरका हुन्।”

ख्रीष्टियनहरूले कस्तो वस्त्र लगाउनु पर्छ भनेर यस खण्डले स्पष्ट पार्छ।

१) ख्रीष्टियनले लगाउने लुगाद्वारा परमेश्‍वरको महिमा हुनु पर्छ।
२) ख्रीष्टियनको लुगा लगाउने ढाँचा कामुकतासँग सम्बन्धित हुनु हुँदैन।

जब कुनै विश्‍वासी परमेश्‍वरको महिमा हुने हिसाबले जिउँछ, ऊ सिद्धताको खातिर आफ्नो इच्छालाई त्याग्न तयार हुन्छ। ऊ आफूलाई खुसी पार्ने उद्देश्यले होइन तर परमेश्‍वर पितालाई खुसी पार्ने उद्देश्‍यले जिउँछ।

माथि उल्लेखित पदहरूमा एउटा महत्त्वपूर्ण कुरा झल्किन्छ – विश्‍वासीले उसको आत्मामा मात्रै होइन तर शरीरमा पनि परमेश्‍वरको महिमा गर्नुपर्छ। परमेश्‍वरको नजरमा हाम्रो हृदयको अवस्था महत्त्वपूर्ण छ, त्यसकारण हाम्रो शरीरको पहिरन महत्त्वपूर्ण छैन भनेर कोही ख्रीष्टियनहरूले तर्क गर्छन्। हो, परमेश्‍वरको दृष्टिमा हृदयको अवस्था महत्त्वपूर्ण छ – र शरीरको अवस्था पनि महत्त्वपूर्ण छ। हामी कस्तो लुगा लगाउँछौं र आफ्नो शरीर केका लागि प्रयोग गरिरहेको छौं भनेर परमेश्‍वरले ख्याल राख्‍नुहुन्छ। त्यसकारण, हानिकारक चीज खानु वा पिउनु (जाँड, रक्सी, चुरोट, खैनी, नशालु पदार्थ, इत्यादी) विश्‍वासीको निम्ति असुहाउँदो हो। हाम्रो शरीर परमेश्‍वरको मन्दिर हो। परमेश्‍वरको मन्दिरलाई हानी पुर्‍याउनु हुँदैन।

लुगाको सन्दर्भमा के, त? परमेश्‍वरको मन्दिरले लगाएको लुगाद्वारा पुरुषहरूको मनमा पापपूर्ण विचार उठेको के परमेश्‍वर चाहनुहुन्छ? चाहनुहुन्न! हाम्रो जीवनको हरेक पक्ष पवित्र भएको परमेश्‍वर चाहनुहुन्छ। जुन स्त्रीहरूले हृदयदेखि परमेश्‍वरको महिमा गर्न चाहन्छन् तिनीहरू अभिलाषासँग सम्बन्धित छन्।

हामीले अरुहरूलाई ठेस खुवाउनुहुँदैन भनेर रोमी १४:२१ ले बताउँछ।

“मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोदट्छ, वा कमजोर पारिँदछ।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

तीतस २:४,५

तीतस २:४,५

“तिनीहरू (पाको स्त्रीहरू) ले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना नानीहरूलाई माया गर्न सिकाऊन्, आत्मासंयमी, पतिव्रता, घर सम्हाल्ने, भला, आफ्ना-आफ्ना पतिका आज्ञाकारी हुन सिकाउन्; कि परमेश्‍वरको वचनको निन्दा नहोस्।”(तीतस २:४,५)

यस खण्डमा बयान गरिएको जीवनशैली ख्रीष्टियन स्त्रीहरूले किन अपनाउनुपर्छ? किनभने यस्तो जीवनबाट परमेश्‍वरको महिमा हुन्छ। यदि कुनै ख्रीष्टियन स्त्रीले परमेश्‍वरको वचनको विरुद्धमा अभिलाषापूर्ण जीवन बिताउँछिन् भने उनको जीवनद्वारा परमेश्‍वरको वचनको निन्दा हुन्छ। आजभोलि धेरै ख्रीष्टियन दिदीबहिनीहरूले एकातिर बाइबलको शिक्षालाई मन पराएकाछन् र येशूलाई पछ्याउन चाहन्छन्। तर अर्कोतिर उनीहरू संसारतिर पनि आकर्षित छन् – संसारका “रमाइला” कुराहरूलाई पनि मन पराइरहेकाछन्। आफूलाई धोका दिँदै तिनीहरू सोच्छन् – “म ख्रीष्टियन हुँ। सत्य मैले जानेकी छु। त्यसैले म संसारको सङ्गीत सुन्न सक्छु ‍- त्यसको नराम्रा कुराहरूलाई इन्कार गर्छु र त्यसको राम्रो पक्ष मात्रै लिन्छु ‍- म च्यानल हेर्न सक्छु – मेरो व्यवहार त्यसद्वारा प्रभावित हुनेछैन – र म संसारको फेसन पनि अपनाउँछु ‍‍- त्यसरी म अविश्‍वासीहरूलाई ख्रीष्टमा ल्याउन सक्छु।” तर त्यस्ता विचारहरू पुर्णातया गलत विचार हुन्। संसारको “रमाइलो” पक्षलाई रोज्ने विश्‍वासीले संसारको जीवनशैलीले उत्पन्न गराउने नतिजा पनि निम्त्याइरहेको हुन्छ, यद्दापि उनीहरूले सोच्छन्, “म राम्रो पक्षलाई मात्रै लिनेछु।” तर चुलोको आगोले दुवै विश्‍वासी र अख्रीष्टियनलाई पोल्छ। नाङ्गो तारको करेन्टले दुवै ख्रीष्टियन र अख्रीष्टियनलाई मार्छ। संसारको अनैतिक कुराहरूले मनलाई भर्नु विश्‍वासीको लागि आगोमा हात हाल्नु जस्तै हो। मलमले त्यो पीडालाई हटाउन सक्दैन। सांसारिक ख्रीष्टियनहरूले लोतको जीवनलाई चेताउनीको रूपमा लिनु खाँचो छ, जसले संसारसँग मिलिजुली बसेकोले आफ्नो सम्पूर्ण परिवार गुमाए।

संसारका हराएका आत्माहरू चर्चका सदस्यहरूलाई हेर्दैछन्, उनीहरूको जीवन जाँच्दैछन्। धेरै मानिसहरू बाइबल नपढे तापनि र परमेश्‍वरलाई नचिने तापनि परमेश्‍वर कस्तो हुनुहुँदो रहेछ भनेर विश्‍वासीको जीवनलाई हेरेर थाहा पाउन सक्छन्। मुक्ति नपाएका मानिसहरूले जब तपाईंलाई हेर्छन्, तब उनीहरूले के देख्छन्? परमेश्‍वरको पवित्रता देख्छन् कि संसारका फोहोर कुराहरू?

“सर्वशक्तिमान परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ” (यशैया ६:३)।

ख्रीष्टियन र अख्रीष्टियनको बीचमा कुनै पनि भिन्नता नहुनुचाहिँ मण्डलीको लागि शर्मको कुरा हो। “यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्” ( २ कोरिन्थी ५:१७)।

जब हामी ख्रीष्टमा विश्‍वास गर्छौं र उहाँलाई पछ्याउने निर्णय गर्छौं, हाम्रो जीवन नयाँ र पहिलको भन्दा फरक हुनु पर्ने हो। सांसारिक र पापपूर्ण कुराहरूबाट हामी अलग हुनु पर्ने हो। हाम्रो हिँडाइ, बोली, र हाम्रा सम्पूर्ण कार्यहरूमा हामी पवित्र हुनुपर्छ। हाम्रा परमेश्‍वर पवित्र हुनुहु्छ। उहाँको पाइला पछ्‌याउन खोज्नु र साथ-साथै सैतानको सन्तानझैं जिउनु भनेको आफूलाई धोका दिनु हो।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

अभिभावकहरूलाई सल्लाह

अभिभावकहरूलाई सल्लाह

 

ख्रीष्टियन अभिभावकहरू, यी कुराहरूलाई ख्याल गर्नुहोस्। तपाईंकी छोरीको वस्त्र कस्तो छ? तपाईंकी छोरीको स्वभाव कस्तो छ? सांसारिक? कि ख्रीष्टको भक्ति गर्ने? घमण्डी, कि नम्र? भद्र, कि निर्लज्ज? उनका साथीहरूको स्वभाव कस्तो छ? “धोका नखाओ; खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्” (१ कोरिन्थी १५:३३)। स्पष्टसँग भन्नु पर्दा, ख्रीष्टलाई नचिनेका युवाहरू सैतानका सन्तान हुन्। यदि हाम्रा छोराछोरीहरू सैतानको सन्तानको अनुसार गर्छन् भने, के ख्रीष्ट त्यसमा प्रसन्न हुनुहुन्छ? यदि हाम्रा छोराछोरीहरू संसारमा युवाहरूले लगाएको जस्तै लाउँछन्, बोल्छन् र हिँड्छन् भने उनीहरू परमेश्‍वरका आशिषहरूबाट बञ्चित हुनेछन्।

आमाहरूको जिम्मेवारी भनेको संसारको दुष्टताबाट आफ्नो सन्तानलाई रक्षा गर्नु हो। संसारले – समाजले – तपाईंका छोराछोरीहरूलाई आकर्षण गर्ने हरेक उपाय रच्दैछ। धार्मिकताको मार्गबाट अन्धकारतिर उनीहरूलाई धकेल्ने अनेक प्रयासहरू भइरहेका छन्। आमाहरूले आफ्ना छोरीहरूलाई व्यवहारमा दोषरहित रहन र स्वभावमा सिद्ध रहनलाई उनीहरूलाई ख्रीष्टतिर डोर्‍याउनु पर्छ। हाम्रा छोराछोरीहरू त्यो मरेको पापपूर्ण पुरानो मानिसको देखासिकी गर्ने होइन तर ख्रीष्टको बौरीउठाइको सामर्थ्यमा हिँड्ने होऊन्!

१२-१३ बर्षको उमेर नभएसम्म केटीहरूले संसारको फेसन अपनाउन सक्छन्, केटाको लुगा पनि लगाउन सक्छन् भन्ने धेरैको विचार पाइन्छ। “मेरी छोरी सानै छ, अहिले जे लाए पनि हुन्छ। केही फरक पर्दैन होला। ऊ तरुणी भएपछि पाइन्ट लाउनुहुन्न भनेर सिकाउँला।” तर बुद्धिमति स्त्रीले भविष्यको लागि अहिलेदेखि नै सोच्छिन्।

एक जना आमाको गवाही: “मेरी छोरी १ वर्षको छँदा मैले उसलाई पाइन्ट लगाइदिन छोडेँ। उसलाई परमेश्‍वरको वचन अनुसार हुर्काउने निर्णय गरेँ। त्यसरी सानो हुँदादेखि नै उसलाई लामो-लामो, शरीर ढाक्ने लुगा लगाउने बानी लग्यो। ऊ तीन बर्ष छँदाको कुरा हो – पानी परेर लुगा रातीसम्म सुकेन। सुत्‍ने बेलामा मैले उसलाई उसको भाइको पाइन्ट लगाइदिएँ। तर मेरी छोरी रुन थाली। के भयो, किन रोएकी भनेर सोध्दा उसले भन, “पाइन्ट नलाउने! पाइन्ट नलाउने! केटीले केटाको लुगा लगाउनु हुँदैन!” उसलाई मैले मनाउनै सकिनँ। आखिर, महिलो फ्रक लगाएर खुसी भएर निदाई। वास्तवमा, यो मैले उसलाई दिएको तालिमको फल नै थियो। तालिम भन्नाले घण्टौंको शिक्षा होइन। खाली मैले भद्र पोशाक लगाइदिएर उसको जीवनमा एउटा असल बानी बसालेँ।” हाम्रा छोराछोरीहरू कलिलो हुँदा नै उनीहरूलाई धार्मिकतामा लालिम दिनुपर्छ भनेर बाइबलले हामीलाई निर्देशन दिन्छ। यदि तपाईंले आफ्नी छोरीलाई दुई बर्षको उमेरदेखि नै भद्र पोशाक लगाउनु र हरेक कुरामा परमेश्वको इच्छा खोज्न सिकाउनुहुन्छ भने, पछि उनको युवावस्थामा उनले भद्र पोशाक लगाउन रुचाउनेचछिन्। जुनसुकै कुरामा हामीले न ता साथीहरूलाई न समाजलाई खुसी पार्नु पर्छ – केवल हामीले परमेश्‍वरलाई खुसी तुल्याउनुपर्छ भनेर आफ्नी छोरी कलिलो शिशु हुँदादेखि नै सिकाउनुपर्छ। शुरुमा शब्दद्वारा उसलाई सिकाउने होइन तर व्यवहारद्वारा। अनि बिस्तारै, बिस्तारै “यहाँ अलिकति, त्यहाँ अलिकति” गरेर उसको जीवनमा भद्र व्यवहारको बाइबलीय जग बसाल्न सकिन्छ। ३ बर्षीया नानीले बुझ्न सकेको सत्यता तरुणी स्त्रीहरूले किन बुझ्न सक्दैनन्?

“यसकारण, तिनीहरूका बीचबाट निस्केर आओ र अलग होओ, प्रभु भन्नुहुन्छ। अनि अशुद्ध कुरा नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु।” (२ कोरिन्थी ६:१७)

हराएका मानिसहरूको कुसङ्गतबाट हामी अलग रहेको परमेश्‍वर चाहनुहुन्छ!

आफ्नी छोरीलाई ८ बर्षको उमेरमा पाइन्ट, टि-शर्ट वा छोटो कुर्ता लगाउन दिइन्छ भने उसलाई १५ बर्षको उमेरमा झ्वाट्टै “त्यस्तो लुगा नलगाऊ” भनेर भन्नु ठीक होइन। त्यो आफूलाई दुःख दिने काम मात्रै हो किनभने तपाईंकी छोरीलाई त्यस्तै लुगा लगाउने बानी लागिसक्यो। त्यसबाट उसलाई छुटाउन खोज्नु टोक्ने कुकुरको नाक समाउनु जस्तै हो!

त्यसैले, आफ्नी सानी छोरीलाई भद्र, लामो पोशाक लगाइदिनुस् र समयमा नै उचित पहिरनको बारेमा सिकाउनुहोस्।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

पहिरनको प्रभाव

पहिरनको प्रभाव

 

पहिरनको प्रभावको बारेमा अनुसन्धान गर्ने क्रममा एक जना अनुसन्धानकर्ताले धेरै पुरुषहरूलाई यस्तो प्रश्‍न सोधेका थिए – “यदि तपाईं रेल गाडी वा बसको प्रतिक्षामा स्टेशनमा हुनुहुन्छ भने, अनि कस्सिएको लुगा लगाएकी राम्री स्त्री आएर तपाईंको नजिकै उभिइन् भने, के तपाईं उनीप्रति आकर्षित हुनुहुनेछ?” हो, त्यस्तो स्त्रीतिर आफू आकर्षित हुने कुरा ती पुरुषहरू मध्ये ९८ प्रतिशतले इमानदार भएर बताए। मानिलिउँ, एउटी युवती त्यहाँ रेल गाडी कुरिरहेकी छिन् र एउटा ह्यान्ड्सम् जवान रेल गाडी कुर्नको लागि नजिक आउँछ। के त्यस युवतीको ध्यान त्यस पुरुषमाथि केन्द्रित हुन्छ? के उनले आफ्नो मनमा त्यो केटासँग आफू सुतेको कल्पना गर्न थाल्छिन्? प्रायजसो स्त्रीहरूको मनमा त्यस्ता विचारहरू आउँदैनन्। तर प्रायजसो केटाहरूको मनमा त्यस्ता अनैतिक विचारहरू सजिलै आउन सक्छन्।

के बाइबलमा पहिरनको बारेमा कुनै शिक्षा दिइएको छ?

के बाइबलमा स्त्रीहरूले कस्तो लुगा लगाउनुपर्छ भनेर निर्देशन दिइएको छ? स्त्रीको व्यवहार र रहन-सहनको सन्दर्भमा के बाइबलले शिक्षा दिन्छ र? हो, अवश्‍य बाइबलमा यस्तो शिक्षा पाइन्छ। यस पुस्तिकामा बाइबलका ती खण्डहरूमध्ये केहीलाई नियालेर हेर्नेछौं।

सर्वप्रथम हामी व्यवस्था २२:५ लाई हेर्नेछौं जहाँ लेखिएको छ,

“पुरुषले लाउने लुगा स्त्रीले लाउनु हुँदैन, र स्त्रीको लुगा पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ।”

जसले परमेश्‍वरलाई प्रेम गर्छ र उहाँको इच्छा पालन गर्न चाहन्छ निश्‍चय नै त्यस व्यक्‍तिले यो पदको अर्थ बुझ्नेछ। पुरुष र स्त्री बीचको भिन्नतालाई (जुन परमेश्‍वरले स्थापित गर्नुभयो) कायम राख्ने उद्देश्‍यले नै यो पद लेखिएको हो। केटाले केटीको लुगा लगाउनु हुँदैन, र केटीले केटाको लुगा लगाउनु हुँदैन।

मानौं, एउटी युवतीले एक जना युवकको पाइन्ट र शर्ट लगाएर हिँडिछे। परबाट उसलाई हेर्दाखेरी त्यो युवती कोजस्तो देखिन्छिन् होला? केटीजस्तो की केटाजस्तो? कहिलेकहिँ परबाट कुनै मान्छेलाई देख्दा त्यो पुरुष हो कि महिला हो भनेर ठम्याउनै गाह्रो पर्छ। थाहा पाउनलाई त उसको शरीरका अङ्गहरूतिर हेर्नुपर्छ। सैतानको योजना यही नै हो! हामी अरुहरूलाई हेर्दाखेरी हाम्रो ध्यान उनीहरूको चेहरामा होइन तर सिधै शरीरका अङ्गहरूमा जाओस् भन्ने सैतानको इच्छा छ। किनभने केटाहरूको ध्यान केटीको शरीरमा केन्द्रित हुन्छ भने सैतानले सजिलै उनीहरूलाई पापमा फसाउन सक्छ।

युवकहरूलाई व्यभिचारबाट जोगाउनलाई हितोपदेशमा उनीहरूलाई पराई स्त्रीको बिषयमा चेतावनी दिइएको छ। विशेष गरी हितोपदेश ७ अध्यायमा पराई स्त्रीको बयान यस प्रकारको पाइन्छ –

“अनि हेर, वेश्याको वस्त्र लगाएकी र धूर्त हृदय भएकी एउटी स्त्रीले त्यसलाई भेटी” (७ पद)।

वेश्‍याले कस्तो लुगा लगाउँछिन्?

आफ्नो शरीरका अङ्गहरू प्रष्टसँग प्रदर्शन गर्नको लागि उनले कस्सिएको अथवा शरीरमा टाँस्सिने लुगा लगाउँछिन्। उनले आफ्नो शरीरको आकार ग्राहकहरूलाई खिँच्ने उद्देश्‍यले प्रकट गर्छिन्। उनले आफ्नो स्तनको आकार देखाउनलाई कस्सिएको शर्ट, टी-शर्ट लाउँछिन्। टाईट पाइन्ट, हाफ स्कर्ट वा हाफ पाइन्ट लगाएर हिँड्नु उसको लागि सामान्य कुरा हो। कुर्था सुरुवाल लगाए पनि त्यो टाइट हुन्छ। साडी लगाउँदा ब्लाउस छोटो र ट्रान्सपरेन्ट उनले लगाउँछिन्।

वेश्‍याले किन त्यस्तो लुगा लगाउँछिन्? पुरुषहरूको ध्यान आफूतिर खिँच्ने र उनीहरूलाई आफ्नो ग्राहक बनाउने उद्देश्‍यले नै उनको पहिरन त्यस्तो हुन्छ।

हे ख्रीष्टियन दिदीबहिनीहरू हो! तपाईं कस्तो ढाँचाको लुगा लगाउनुहुन्छ? जब तपाईं बजारमा जानुभई कपडा किनेर सिलाइ पसलमा जानुहुन्छ, तब कस्तो ढाँचामा सिलाउन लगाउनुहुन्छ? यदि रेडिमेड लुगा किन्ने गर्नुभएको छ भने, कस्तो प्रकारको किन्नुहुन्छ? तपाईंले आफ्नो ढाँचा – फेसन – पहिरनलाई जाँच्नुपर्छ। जब अरुहरूले तपाईंलाई बाटोमा हिँडेको देख्छन्, तब उनीहरूले तपाईंको बारेमा के सोच्छन्? तपाईंको पोशाक देखेर “ए, यसले त वेश्याको पेशा अपनाएको हुनुपर्छ” भनेर उनीहरूले सोच्छन् कि? “यो केटीको धेरै केटा साथीहरू छन् होला” भनेर सोच्छन् कि? “यस युवतीले पक्कै पनि नशालु पदार्थ सेवान गर्छिन्” भनेर कसैले सोच्यो भने के तपाईं त्यसमा खुसी हुनुहुन्छ? “मानिसहरूले जेसुकै सोचून्, म मनले मागेको लुगा लगाउँछु” भनेर के तपाईं ढिपी गरिरहनुभएको छ कि? तपाईंको पोशाकले अरुहरूलाई कुनै न कुनै सन्देश दिइरहेको हुन्छ। होशियार हुनुहोस् नत्रभने अरुहरूले यस्तो पनि सोच्न सक्छन् तपाईंको बारमा – “यो आइमाई डान्स क्लबमा समय बिताउँछिन् जस्तो छ – अश्‍लिल वातावरणसँग परिचितछिन् – चुरोट पिउँछिन् होला – लागु पदार्थ पिउँछिन् – अर्काको श्रीमानसँग हिँड्न बेर छैन।” अरुहरूले तपाईंको बिषयमा यस्ता सोचाइहरू राखेको यदि तपाईं चाहनुहुन्न भने, तपाईं किन त्यस्ता विचारहरू निम्त्याउने किसिमका लुगा लगाउनुहुन्छ?

१ तिमोथी २:९-१० मा लेखिएको छ,

“यहि प्रकारले स्त्रीहरूले लज्जालु स्वभाव र आत्मासंयमसित सुहाउने वस्त्रले आफूलाई सिँगारून्: बाटिएको केश, वा सुन, वा मोतीहरू, वा दामी-दामी वस्त्रले होइन, तर असल-असल कामहरूले (परमेश्‍वरको भक्ति गर्ने स्त्रीहरूलाई यसले सुहाउँछ)।”

यस पदमा उल्लेख गरिएका दुइटा कुरालाई हामी नियालेर हेरौं – पहिलो कुरा हो “लज्जालु स्वभाव” र अर्को हो “आत्मासंयम।”

लज्जालु स्वभावचाहिँ हृदय-केन्द्रित सवभाव हो। १ पत्रुस ३:४ पदमा लेखिएको छ,

“नम्र र शान्त आत्माको अविनाशी सिँगारले सिँगारिएको हृदयको भित्री मानिस होस्, जसको मूल्य परमेश्‍वरको दृष्टिमा धेरै छ।”

जुन स्त्री नम्र छिन्, उनले आफ्नो पहिरनमा नम्रता देखाउँछिन् (उनले सबैको ध्यान आफूतिर खिँच्ने उद्देश्‍यले लुगा लगाउँदिनन्। शरीरका अङ्गहरू प्रदर्शन गर्न उनलाई लाज लाग्छ।) हठी स्त्रीले उनको घमन्ड आफ्नो पहिरनद्वारा प्रस्तुत गर्छिन्। जब उनी बस वा टेम्पोमा चढ्‌छिन्, सबै पुरुषहरूको ध्यान उनीतिर जान्छ। भद्र स्वभावको विपरित, उनको स्वभाव निर्लज्ज छ। जनको जीवनको उद्देश्‍य, आकांक्षा र इच्छाहरू हृदय-केन्द्रित होइन तर शरीर-केन्द्रित छन्। “आत्मासंयमसित सुहाउने वस्त्र” को अर्थ बुझ्नलाई पहिले “आत्मासंयम” को अर्थ बुझ्नुपर्छ। यस आधुनिक युगमा, (MTV को युगमा), आत्मासंयमको कुरा गर्नु धेरैको लागि अनौठो र हाँसउठ्दो हो। “If it feels good, do it” (“मनले माग्यो भने गरे भइहाल्छ”) भन्ने यस पुस्ता (generation) को भनाइ छ। तर आत्मासंयम भनेको आफ्नो शरीरलाई वशमा राख्‍नु हो। यसको अर्थ हो आफ्नै अभिलाषाको दास नहुनु।

आफ्नो शरीरको अभिलाषा र इच्छाहरूलाई नियन्त्रण गर्ने व्यक्ति कस्तो हुन्छ?

सहारा भन्ने विश्‍वासी युवतीको जीवनलाई हेरौं – उनी संसारका अभिलाषाहरूसँग परिचित छिन् किनभने येशूमा विश्‍वास गर्नुभन्दा पहिला उनी संसारका कुराहरूमा डुबेकी थिइन्। तर अहिलेको सहारा पहिलाको सहाराजस्तो छैन। उनका पहिलेका साथीहरूलाई अब साहाराको सबै कुराहरू ‍- लुगा, सङ्गीत, र सम्पूर्ण ढाँचा – अनौठो लाग्छ। उनले किन पहिलाको सङ्गीत सुन्न छोडिन् भनेर उनीहरूले बुझ्नै सक्दैनन्। उनले नयाँ-नयाँ ढाँचाका लुगाहरू लाउन छोडेको र भद्र पोशाक लगाउन थालेको देख्दा उनीहरू वाल्ल परेका छन्। पक्कै पनि उनको जीवनमा ठूलो परिवर्तन आएको उनीहरूले देख्छन्। के भो त, सहारालाई?! के अब उनको मनले रक सङ्गीत सुन्न चाहँदैन? चाहन्छ, नि! तर अब उनी पवित्र आत्माको नियन्त्रणमा छिन् र उनले परमेश्‍वरबाट बोलावट पाएकी छिन्,

“जसरी तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ, उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र होओ। किनकि यो लेखिएको छ: ‘तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु'” (१ पत्रुस १:१५,१६)।

त्यसैले, सहाराको मन वा शरीरले रेडियोको सङ्गीत सुन्न मागे तापनि, र टेलिभिजन र फिल्मको सङ्गीत सुन्न रुचाए तापनि उनले आफ्नो शरीरको त्यो कुइच्छालाई वशमा राख्छिन् र आफ्नो शरीर पवित्र आत्माको मन्दिरको रुपमा अर्पण गर्छिन्। उनी संयमी छिन् र शरीरले मागेको हरेक कुरा होइन तर परमेश्‍वरले आज्ञा गर्नुभएको हरेक कुरा गर्ने प्रयासमा छिन्। लुगा लगाउने सन्दर्भमा उनले व्यभिचारिणी हिरोनीहरूको अनुसरण गर्दिनन्। उनले परमेश्‍वरको इच्छा अनुसार लुगा लगाउँछिन्।

१ तिमोथी २:९-१० पदहरलाई फेरि हरौं।

“यहि प्रकारले स्त्रीहरूले लज्जालु स्वभाव र आत्मासंयमसित सुहाउने वस्त्रले आफूलाई सिँगारून्: बाटिएको केश, वा सुन, वा मोतीहरू, वा दामी-दामी वस्त्रले होइन, तर असल-असल कामहरूले (परमेश्‍वरको भक्ति गर्ने स्त्रीहरूलाई यसले सुहाउँछ)।”

यस खण्डले विश्‍वासी स्त्रीलाई सिकाउन खोजिरहेको छ – स्त्रीले आफ्नो सिङ्गार-पटारमा घण्टौं बिताउनु हुँदैन। धेरै-धेरै सुन र गहना लगाएर हिँड्नु हुँदैन। हरेक नयाँ निस्केको फेसन अनुसार लुगा लगाउनु हुँदैन। किनभने आफूलाई संसारको फेसनअनुसार सिङ्गार्नु भनेको अरुहरूको ध्यान आफूतिर खिच्न खोज्नु हो। संसारका स्त्रीहरूलाई त्यसरी आफूलाई सिङ्गार्नु कुनै अनौठो कुरा होइन। तिनीहरू हराएका छन्, परमेश्‍वररहित छन्, घमन्डी छन्, र निर्लज्ज छन्। तर ख्रीष्टमा विश्‍वासी स्त्री यदि संसारको चरित्रहिन फेसनमा चल्छिन् भने, त्यो त भेडाले ब्वाँसोको भेष धारण गरेको जस्तै हुन्छ।

आफूलाई सिङ्गार्दा, विश्‍वासी दिदीबहिनीहरूले संसारको अनुसरण नगरून्। मानिसहरूलाई खुसी पार्ने उद्देश्‍यले होइन तर परमेश्‍वरलाई प्रसन्न तुल्याउने उद्देश्यले आफूलाई सिङ्गारून्।

“चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरू जेसुकै गर, सबै कुरा परमेश्‍वरको निम्ति गर” (१ कोरिन्थी १०:१३)।

थोत्रो धोती लगाएर, कपालै नकोरिकन, फोहोरी भएर हिँड्नु पर्छ भनेर पक्कै पनि यी पदहरूले सिकाउन खोजेको होइन किनभने त्यसबाट परमेश्‍वरको महिमा हुँदै हुँदैन! परमेश्‍वरको महिमा र आदर हुने हिसाबले स्त्रीले लुगा लगाउनु पर्छ र आफूलाई सिँगार्नुपर्छ।

ख्रीष्टियन युवती परमेश्‍वरप्रतिको उसको भक्ति र येशू ख्रीष्टको निम्ति उसले गरेको सेवाद्वारा चिनिनुपर्छ। तपाईंलाई हेर्दाखेरी अरुहरूले के देख्‍छन्? बलिउडकी दासी देख्‍छन् कि परमेश्‍वरको दासी?

परमेश्‍वरको दृष्टिकोणमा ग्रहणयोग्य वस्त्र के हो, त?

उत्पत्ती ३ अध्यायमा आदम र हव्वाको नाङ्गोपना ढाक्नलाई परमेश्‍वरले उनीहरूको लागि लुगा अथवा लामो वस्त्र बनाइदिनुभयो। (यस खण्डमा उल्लेखित लुगा शब्दले हिब्रू भाषामा लामो कोट्लाई सङ्केत गर्छ।) शारीरिक आनन्दमा लीन भएर शरीरलाई अनैतिक ढङ्गले प्रदर्शन गरेर हिँड्नु विश्‍वासी दिदीबहिनिहरूलाई कहिले पनि सुहाउँदैन। निर्लज्ज ढङ्गले लुगा लगाउनु भनेको टाइट लुगा लगाएर यौनसित सम्बन्धित शरीरका अङ्गहरूलाई देखाउनु हो।

“घुम्टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्। तेरो नग्नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु” (यशैया ४७:२,३)।

हाफ स्कर्ट, हाफ पाइन्ट, छाती देखाउने शर्ट, नाइटो देखाउने शर्ट (नाइटो देखाउने साडीको ब्लाउजसमेत), छाती देखाउने गाउन्, चुरिदार कुर्था सुरुवाल, इत्यादी – यी सब छाडा लुगाहरू हुन्।

स्त्रीहरूले याद गर्नुपर्ने अर्को कुरा के छ भने गर्धनदेखि पाउसम्म शरीरलाई छोप्ने लुगा लगाइयो भने पनि त्यो लुगा टाइट छ भने वा त्यो लुगा ट्रान्सपरेन्ट छ भने लामो भएर मात्र केही काम गर्दैन। ऐना अगाडि उभिएर आफ्नो वस्त्रलाई जाँच्नुपर्छ तर कति चोटी त्यतिले मात्र पुग्दैन। बजारमा पाइने धेरै कपडा ट्रान्सपरेन्ट छ। कोठाको धमिलो बत्तीको उज्यालोमा त्यो कपडा बाक्लो देखिन दक्छ जबकि बाहिर घाममा हेर्दाखेरी त्यो ज्यादै पातलो देखिन्छ। त्यसैले, साथी वा आमा वा सासु वा आफ्नो श्रीमान्‌को अगाडि उभिएर सोध्नुहोस् – “यो लुगा ट्रान्सपरेन्ट छ कि छैन? ब्रा देखिन्छ कि देखिँदैन?”

नेपालको एउटा मण्डलीको अगुवाले यस्तो भन्नुभयो, “स्त्रीले जब टाइट (कस्सिएको) लुगा लगाउँछिन्, त्यो लुगा जति लामो भए पनि, शरीरलाई छोपे तापनि, त्यसले पुरुषमा पापपूर्ण अभिलाषाहरू जगाउन सक्छ। स्त्रीले लगाएको टाइट लुगाद्वारा पुरुषको ध्यान त्यस स्त्रीको रूपतिर आकर्षित हुन्छ र उसको मनमा व्यभिचार गर्ने इच्छा आउँछ।”

तसर्थ, असल लुगाले १) शरीरलाई राम्रोसँग ढाक्छ (साडी लाउनु राम्रो हो, तर साडीको ब्लाउज छाती देखाउने खालको छ भने अथवा नाइटो देखाउने छोटो खालको छ भने वा ट्रान्सपरेन्ट छ भने त्यो ठीक होइन।) २) शरीरको आकार देखाउँदैन (चुरिदार कुर्था सुरुवालले शरीरलाई ढाक्छ, तर शरीरको आकार पनि ठ्याक्कै देखाउने भएकोले त्यो पाइन्टजस्तै नराम्रो लुगा हो।) ३) तीघ्रालाई ढाक्छ (हाफ स्कर्ट, हाफ पाइन्टको कुरै नगरौं।) ४) छातीलाई पुरै ढाक्छ (कुनै कुनै लुगा लामो, बाक्लो, र शरीरको आकार नदेखाउने हुनसक्छ तर त्यो छातीनेर खुल्ला भएकोले ठीक छैन। त्यस्तो लुगा लगाउँदा जब स्त्री खाना पस्कन वा भाँडा माझ्न तलतिर घोप्टो पर्छिन् तब उनको छाती पूरै देखिन्छ!)

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।