बहानाहरू!

बहानाहरू!

 

लुगाको बारेमा बाइबलीय शिक्षा सुनेपछि विश्‍वासी दिदीबहिनीहरूको सामु दुई विकल्पहरू छन्। १) यस शिक्षालाई ग्रहण गर्नु र आफ्नो पोशाक र सिँगारलाई परिवर्तन गर्नु। २) बहानाहरू बनाएर यस शिक्षालाई इन्कार गर्नु।

केही सामान्य बहानाहरू यी हुन् –

१) एक ख्रीष्टियन बहिनीले भन्नुभयो, “मलाई लामो कुर्ता र पन्जाबी सुरुवाल लाउन मन त लाग्छ तर मैले त्यस्तो लुगा लगाएँ भने मेरो साथीहरूले मलाई “ए यो त बुढी भइछ” भनेर जिस्काउँछन्। उनीहरूले जस्तै मैले पनि पाइन्ट लगाएर मडर्न बन्नुपर्छ भनेर भन्छन्।”

यस बहिनीलाई बाइबलीय सल्लाहको खाँचो छ। हिब्रू ११:२४-२६ मा मोशाको बारेमा यस्तो लेखिएको पाइन्छ –

“विश्‍वासैद्वारा मोशाले, उमेरदार भएपछि फाराओकी छोरीको छोरो कहलाइन इन्कार गरे; थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश‍वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; तिनले ख्रीष्टको निन्दालाई चाहिँ मिश्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनामतिर लागेको थियो।”

मोशालाई मिश्र देशको राजा फाराओकी छोरीले पालेकी थिइन्। राज दरबारमा हुर्केका मोशा अधिकार-प्राप्त व्यक्ति थिए। मोशा भविष्यमा मिश्र देशका धन सम्पत्तिहरूका अधिकारी हुनसक्थे। उनी शिक्षित, धनाढ्य, सु-सम्पन्न व्यक्ति थिए। तर मिश्र देशका बासिन्दाहरू मूर्तिपूजक र भक्तिहीन मानिसहरू भएका हुनाले धर्मी मोशाले मिश्र देशका सम्पूर्ण अभिलाषाहरूबाट पूर्ण रुपमा अलग हुने हुर्णय गरे। यस निर्णयले उनको सुखविलाषी जीवनलाई कष्टमा परिंणत गर्ने थियो भन्ने कुरा उनलाई थाहा थियो। ख्रीष्टको निम्ति दुःख भोग्नु नै मोशाले रोजे। “अहिले दुःख, पछि सुख। अहिले सुख पछि दुःख” भन्नु अत्युक्ति नहोला!

यदि तपाईं अभिलाषी जीवन रोज्नुहुन्छ भने अवश्‍य तपाईंले रमाइलोको महसुस गर्नुहुनेछ। तर त्यो केही समयको लागि मात्रै एउटा क्षणिक आनन्द हो। संसारको रमाइलोमा आफूलाई समर्पण गर्नेहरूले परमेश्‍वरको इच्छाभन्दा आफ्ना साथीहरूको इच्छा जान्न चाहन्छन्। तपाईंको प्रेम, ध्यान, र आशाहरू संसारमा भएको हुनाले तपाईंलाई परमेश्‍वरको विचारको मतलब हुँदैन। परमेश्‍वरबाट प्रशंसा पाउनुभन्दा साथीहरूको प्रशंसा पाउन तपाईंलाई रमाइलो लाग्न सक्छ।

“हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु – प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस; अनि अन्यजातिहरूका बीचमा तिमीहरूले असल चालचलन देखाओ; र जुन कुरामा कुकर्म गर्नेहरू भनी तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा परमेश्‍वरको महिमा गरून्” (१ पत्रुस २:११,१२)।

“र अब उसो उसले आफ्नो बाँकी समय शरीरमा मनिसहरूका अभिलाषाहरू अनुसार होइन, तर परमेश्‍वरको इच्छाअनुसार जिओस्” (१ पत्रुस ४:२)।

२) “मसँग लुगा किन्नलाई पैसा छैन। कुर्ता सुरुवालभन्दा पाइन्ट र शर्ट सस्तो पर्छ। के गर्ने?” एक जना बहिनीले यस्तै प्रश्‍न गरिन्।

परमेश्‍वरका आज्ञाहरूचाहिँ बजारमा पइने गोलभेँडा जस्ता होइनन् जुनलाई सस्तो लागेमा घर लैजान्छौं नभए छाडेर हिँड्छौं। उहाँका आज्ञाहरू अपरिवर्तनीय र सबै परिस्थितिमा लागु हुने नियम हुन्। विश्‍वासमा बढ्दै जाऔं! स्वर्गमा विराजमान हाम्रा पिताले आफ्नो वचनमा हामीलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। ती प्रतिज्ञाहरू अँगाल्दै हामीले उहाँसँग प्रार्थना गर्नुपर्छ। अवश्य उहाँले हाम्रा खाँचोहरू पूरा गर्नुहुनेछ! (फिलिप्पी ४:१९ र मत्ती ६:२५-३३)।

३) “मैले टाइट, मडर्न लुगा लगाएको मेरो आमाबाबु चाहनुहुन्छ।”

प्रेरित ५:२९ “तब पत्रुस र अरु प्ररितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरकै आज्ञा पालन गर्नुपर्छ।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

Print Friendly, PDF & Email