खुशीको खबर हुँदाहुँदै पनि कसरी चुप बस्ने?

खुशीको खबर हुँदाहुँदै पनि कसरी चुप बस्ने?

उत्तरी राज्य इस्राएलको राजधानी सामरियालाई अरामीहरूले घेरा हालेका थिए (२ राजा ६:२४)। सशस्त्र सेनाहरूद्वारा घेरिएको हुनाले, कुनै पनि खाना तथा अन्य उपभोग्य सामग्रीहरू भित्र्याउन सकिएको थिएन र अवस्था छिट्टै भयावह बन्दै थियो। खानेकुराको यति अनिकाल पर्‍यो कि गधाको एउटा टाउको (गधाको शरीरको सबैभन्दा अखाद्य अङ्ग) को निम्ति चाँदीको ठूलै रकम तिरिन्थ्यो। भोकाएका देशवासीहरूलाई चराको सुलीहरू धरि बिक्री गरिन्थ्यो (२ राजा ६:२५)। सबैभन्दा भयङ्कर डरलाग्दो कुरा त्यसबेला भयो जब दुईजना स्त्रीहरूले आफ्‍नै छोराहरूको हत्या गर्ने र तिनका मासु खाने सल्लाह गरे जसको बारेमा इस्राएलका दुष्ट राजाले थाहा पाए (२ राजा ६:२८-२९; लेवी २६:२९; व्यवस्था २८:५३ सित तुलना गर्नुहोस्)। यस घटनाले हामीलाई यो सम्झना गराउँदछ कि त्यस्तै परिस्थिति आइपर्दा एउटा मानिसको नीच-अधम हृदयले गर्न सक्ने कुराको कुनै सिमा नै छैन।

अब चारजना कोरीहरू शहरको मूलढोकाको पस्‍ने ठाउँमा थिए (२ राजा ७:३)। तिनीहरूले आफ्‍ना विकल्पहरूको लेखाजोखा गरे। यदि तिनीहरू शहरमै बसे भने तिनीहरू निश्चय नै बिस्तारै भुखमरीको कारणले पीडादायी मृत्यु मर्नेथिए। यदी तिनीहरूले शहर छोडे भने सायद शत्रुहरूको हातबाट तिनीहरू मर्नेथिए, तर कमसेकम पनि यो चाहिँ तरवारद्वारा शीघ्र किसिमको मृत्यु हुनेथियो (२ राजा ७:४)। शत्रुको छाउनीमा राती गुप्त तवरले छिरेर केही खाना चोर्न सक्ने सम्भावना कमै थियो। “हामी कुनै न कुनै प्रकारले मर्नुनै छ, त्यसैले कमसेकम प्रयास गर्नु उपयुक्त होला।” जब तिनीहरू छाउनीमा आए, छाउनी खाली भएकोमा तिनीहरू आश्चर्यचकित परे। परमेश्वरले अचम्म तरिकाले अरामी सेनाहरूलाई हो-हल्लाहरू सुन्ने तुल्याउनुभयो जसले तिनीहरूलाई सम्पूर्ण खानाहरू र सरसामानहरू त्यहीँ छोडेर आफ्‍नो ज्यान जोगाएर भाग्न बाध्य तुल्यायो (२ राजा ७:५-७)। शुरुमा चार कोरीहरूले स्वार्थपूर्ण व्यवहार गरे। शत्रुको छाउनीभरि भेटिएका प्रशस्त खानाहरूले तिनीहरूले आफ्‍नै भोक मेटाए। त्यसपछि तिनीहरूले भविष्यमा आफैलाई धनवान् बनाउने आशाले छाउनीबाट अरू सम्पत्तिहरू लिएर लुकाए।

तर केही बेरमै तिनीहरूले आफ्‍नो स्वार्थीपनालाई महसुस गरे, आफ्‍नो विचार बदले, र आफ्‍ना सहदेशवासीहरूको बारेमा विचार गरे: “तब तिनीहरूले एक-अर्कालाई भने: हामीले ठीक काम गरिरहेका छैनौं, आजको दिन शुभ-समाचारको दिन हो; तर हामी चुपै लागिरहेका छौं। हामी बिहान उज्यालो होउन्जेल पर्खिरह्यौं भने हामीमाथि कुनै विपत्ति आपइर्ला; यसकारण अब आओ, हामी गएर राजाको घरानालाई बताइदिऔं!” (२ राजा ७:९)। हामीसँग धेरै प्राणहरू बचाउन सक्ने शुभ-समाचार छ। हामी कसरी चुपै लागिरहन सक्छौं? कसरी हामी यसको विषयमा शान्त भएर रहन सक्छौं? ती कोरीहरूले उचित कार्य गरे। तिनीहरू शहरभित्र गए र शुभ-समाचार घोषणा गरिदिए। फलस्वरूप प्राणहरू बाँचे।

आज मानिसहरू भोकले मर्दैछन्। उनीहरूलाई जीवनको रोटीको बेसरी खाँचो छ (यूहन्ना ६:३५)। हामीहरू, जसले परमेश्वर कृपामय वा भलो हुनुहुन्छ भनी चाखेका छौं (भजनसङ्ग्रह ३४:८; १ पत्रूस २:३) र जसले स्वर्गबाट आएको रोटीले तृप्त भएकाछौं; हामीसँग सुसमाचार छ जुन अरूहरूले सुन्न एकदम खाँचो छ। हामी कसरी चुपै लागिरहन सक्छौं? हामी कसरी शान्त भएर रहन सक्छौं? हामी कसरी मौन भई रहन सक्छौं? “किनकि मैले सुसमाचार प्रचार गरेँ भने पनि मसित गर्व गर्नुपर्ने कुरा केही छैन; किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१६)।

यदि तपाईं चिकित्सकीय अनुसन्धानकर्ता हुनुभएको भए र तपाईंले क्यान्सर रोगको औषधी पत्ता लगाउनुभएको भए, के तपाईं यसबारे चुप रहनुहुनेथ्यो, कि तपाईंले सारा संसारलाई बताउनु हुनेथ्यो? ख्रीष्टमा विश्वास गर्नेहरू एउटा रोगको बारेमा जान्दछन् जुन क्यान्सर भन्दा धेरै खराब छ: “हृदय ता सबै कुराहरूभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट (निको नहुने गरी रोगी) हुन्छ; कसले त्यो जान्न सक्छ र?” (यर्मिया १७:९)। यसको मानवीय उपचार छैन, तर ईश्वरीय उपचार भने छ, जुनचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा पाइन्छ। अहो! हामी पापहरूमा हराइरहेको समयमा हामीलाई शुभ समाचार सुनाउन इच्छुक भएको व्यक्ति वा व्यक्तिहरूका निम्ति हामी परमेश्वरप्रति कत्ति-कत्ति धन्यवादी छौं। बेसरी (पापको) रोगले ग्रस्त रहेका हाम्रा वरिपरिका मानिसहरूलाई यो सुसमाचार सुनाउनको निम्ति परमेश्वरले हामीलाई साहस र हिम्मत प्रदान गर्नुभएको होस्।

जीवन छोटो छ
मृत्यु निश्चित छ
रोगचाहिँ पाप रहेछ
औषधीचाहिँ ख्रीष्ट हुनुहुन्छ!

यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा

यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा

 

उसरी नै म पनि तिमीहरूलाई पठाउँछु!
यूहन्ना २०:२१

 

पिताले पुत्रलाई पठाउनुभयो, र त्यही प्रकारले पुत्रले आफ्‍ना चेलाहरूलाई पठाउनुभएको छ। ख्रीष्टद्वारा पठाइनुको माने यदि हामीले बुझ्ने हो भने, हामीले ख्रीष्ट पिताद्वारा पठाइनुको माने बुझ्नु आवश्यक छ।

हाम्रा प्रभु कसरी पठाइनु भयो? पठाउने व्यक्तिसँग उहाँको सम्बन्ध कस्तो थियो? यूहन्नाको सुसमाचारले उक्त सम्बन्धको अर्थलाई स्पष्टसाथ वर्णन गरेको छ। तपाईंको आफ्‍नै व्यक्तिगत अध्ययनमा तपाईंले तल उल्लेख भएका पदहरूलाई हेर्न सक्नुहुन्छ र तिनीहरूलाई प्रार्थना गर्दै ध्यानपूर्वक पढ्न सक्नुहुन्छ।

निम्न खण्डहरू यूहन्नाको सु-समाचारमा भेटिन्छन्। यी खण्डहरूले ख्रीष्ट उहाँको पिताद्वारा पठाइनुभएको बारेमा बताउँछन्।

  1. ख्रीष्ट उहाँको आफ्‍नै इच्छा पूरा गर्न होइन, तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्न पठाइनुभयो (यूहन्ना ४:३४; ५:३०; ६:३८)। अन्य कुनै पनि कुराका निम्ति भन्दा यसका निम्ति प्रभु बढी तृष्णा गर्नुहुन्थ्यो; आफूले गर्नलाई चाहनुभएको कुरा होइन, तर पिताले चाहनुभएको कुरा गर्नलाई; आफ्‍नो इच्छा होइन, तर केवल पिताको इच्छा मात्र। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,”मेरो भोजन मलाई पठाउनुहुने ख्रीष्टको इच्छा पूरा गर्नु हो — ख्रीष्टले जे चाहनुहुन्छ र इच्छा गर्नुहुन्छ केवल त्यो गर्न मात्र। मेरो इच्छा होइन, तर ख्रीष्टको इच्छा पूरा होस्!”
  2. ख्रीष्ट आफैलाई खुशी पार्न होइन, तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,”किनकि उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु” (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-१०)। पावलको एउटै मात्र चाहना ख्रीष्टलाई खुशी पार्नु थियो (गलाती १:१०)। उनको एउटै मात्र डर भनेको प्रभुलाई कतै खुशी पार्न नसकूँला कि भन्ने थियो। सुसमाचार प्रचार कार्यको सवालमा एउटा विद्यमान समस्या के छ भने हाम्रो हेराइ मास्तिर भन्दा धेरै नै तेर्सोतिर हुने झुकाव छ – परमेश्वरमुखी भन्दा मान्छेमुखी भएको छ। हाम्रो ध्याउन्न मानिसलाई कसरी जित्ने भन्ने बारेमा झन् झन् बढ्दै जाने क्रममा हामी परमेश्वरलाई कसरी खुशी पार्ने भन्ने बारेमा भने झन् झन् कम महत्त्व दिन थाल्नु सम्भव छ। परिणामस्वरूप हामीले यस्ता तरिकाहरूद्वारा मानिसहरूलाई जित्ने कोशिस गरौंला जसले परमेश्वरलाई खुशी पार्दैन। हामीले कहिल्यै पनि नबिर्सौं कि हाम्रो प्राथमिक जिम्मेवारी भनेको परमेश्वरलाई खुशी पार्नु हो जसले हामीलाई पठाउनुभयो ताकि एक दिन हामीले उहाँको “स्याबास” सुन्न पाऔं।
  3. ख्रीष्ट आफ्नै महिमा खोज्न होइन, तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्नलाई पठाइनुभयो (यूहन्ना ७:१८)। ख्रीष्टले पहिचान, प्रशंसा वा ध्यान आफूतिर खिँच्न चाहनुभएन। उहाँले ध्यान पितातर्फ खिँच्न चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरको साक्षी हुनुहुन्थ्यो — उहाँलाई पठाउनुहुनेलाई स्पष्टसँग र निरन्तर रूपमा देखाउने साक्षी। उसरी नै, हामीले पनि आफू चिनिन चाहनुहुँदैन र आफ्‍नै प्रशंसा खोज्नुहुँदैन। हामी हाम्रो जीवनले आफ्‍नै कुरूपतातिर नभएर हाम्रा प्रभु येशूको सुन्दरतातिर ध्यानाकर्षण गर्न चाहन्छौं जसले हामीलाई पठाउनुभएको छ। हामी उहाँका साक्षीहरू हौं! हाम्रो जीवनले उहाँलाई मात्र देखाएको होस् (प्रेरित १:८; यशैया ४३:१०; यूहन्ना ३:३०)।
  4. ख्रीष्ट यस संसारमा उहाँका अदृश्य प्रेषक (पठाउने व्यक्ति) को प्रतिनिधित्व गर्न पठाइनुभयो(यूहन्ना ५:३७; तुलना गर्नुहोस् यूहन्ना १:१८)। मानिसहरूले पितालाई देख्न सकेनन्, तर उनीहरूले ख्रीष्टलाई देख्न सके। ख्रीष्टले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। उसरी नै, हामीलाई पनि संसारमा अदृश्य ख्रीष्टको प्रतिनिधित्व गर्न पठाइएको छ (२ कोरिन्थी ५:२०)। संसारले शिरलाई देख्न सक्दैनन् (यूहन्ना १६:१०-“अनि तिमीहरूले मलाई फेरि देख्दैनौ”) तर तिनीहरूले शरीरलाई देख्न सक्छन्, जोचाहिँ उहाँको मण्डली हो। कुनै पनि मानिसले ख्रीष्टलाई कहिल्यै पनि देखेको छैन (उहाँ स्वर्ग फर्कनु भएदेखि यता), तर उहाँलाई घोषणा गर्न र उहाँलाई चिनाउन मण्डली यस संसारमै छ (१ तिमोथी ३:१५-१६)।
  5. ख्रीष्ट यस संसारमा पठाइनुभयो यस हेतुले कि मानिसहरूले, उहाँलाई हेर्दा, उहाँलाई पठाउनुहुनेलाई देख्न सकोस् (यूहन्ना १२:४४-४५)। तुलना गर्नुहोस् यूहन्ना १४:९ (“जब तिमी मलाई देख्दछौ, तिमीले यथार्थमा पितालाई देखेका छौ जसले मलाई पठाउनुभयो”)। उसरी नै, जब पुरूष वा स्त्रीहरूले हाम्रो जीवनलाई हेर्दछन् तब उनिहरूले हामीलाई पठाउनुहुनेलाई देखेको हुनुपर्दछ, हाम्रा प्रभु येशू सम्मै (गलाती २:२०; ४:१९; ५:२२-२३; १ कोरिन्थी १३:४-७)। “ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा; माध्यम भूली देखून् सबले केवल येशूलाई!” (केट विकिन्सन्) जसले हामीलाई यस संसारमा पठाउनुभयो उहाँको स्वरूपलाई हामीले प्रतिबिम्बित र प्रकट गर्न सकौं (हेर्नुहोस् २ कोरिन्थी ३:१८)।
  6. ख्रीष्ट यस संसारमा उहाँका जीवित पिताद्वारा पठाइनुभयो र उहाँलाई पठाउनुहुनेद्वारा नै उहाँ जिउनुभयो (यूहन्ना ६:५७)। उसरी नै, जीवित ख्रीष्टले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा बाँच्छौं। ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:३-४; फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा केन्द्रित छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित थियो। स्मरण होस्, एउटा साक्षीको हैसियतले हाम्रो प्राथमिक जिम्मेवारी भनेको ख्रीष्टको जीवनलाई प्रकट गर्नु र जान्ने तुल्याउनु हो (हेर्नुहोस् २ कोरिन्थी ४:१०-११)।
  7. ख्रीष्ट यस संसारमा आफ्‍नै वचन र शिक्षा नभएर उहाँलाई पठाउनुहुनेका वचन र शिक्षाका साथ पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)। प्रभु येशूको शिक्षण तथा शिक्षामा मौलिकता थिएन। उहाँले सिकाउनु भएका सबै कुराहरू पिताबाटका थिए! उसरी नै, ख्रीष्टले पनि हामीलाई यस संसारमा पठाउनुभएको छ, हाम्रो आफ्‍नै सन्देश लैजान होइन तर ख्रीष्टको सुसमाचार सुनाउन र ख्रीष्टले आज्ञा गर्नुभएको सबै कुराहरूहरूलाई पालना गर्न सिकाउनलाई (मत्ती २८:२०)। सन्देशवाहकको काम मौलिक बन्नु होइन तर मात्र राजाको सन्देशलाई घोषणा गर्नु हो। हामी राजाहरूका राजाको सन्देश बोक्ने सन्देशवाहक बन्नुपर्छ (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०; २ तिमोथी ४:१-२)। सन्देश परमेश्वरबाटको हो। परमेश्वरले केही कुरा भन्नुभएको छ, हामीले त्यसलाई मात्र पुर्‍याइदिनुछ।
  8. ख्रीष्ट उहाँलाई पठाउनुहुनेबिना केही गर्न सक्नुभएन (यूहन्ना ५:३०)। उहाँ पूरै आफ्‍ना स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूरै हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं र उहाँबाट अलग भएर हामी केही पनि गर्न सक्दैनौं (यूहन्ना १५:५)। जसले हामीलाई पठाउनुभएको छ उहाँले नै हामीलाई हाम्रा मार्गका हरेक कदमहरूमा समर्थ तुल्याउनुपर्छ!
  9. ख्रीष्ट एक्लो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँको साथमा हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४)। उसरी नै, हामीमा पनि एकजनाको प्रतिज्ञा छ जसले हामीलाई पठाउनुभएको छ; “म…तिमीहरूको साथमा छु” (मत्ती २८:२०); र तुलना गर्नुहोस् मर्कूस १६:२० र हिब्रु १३:५। जसले हामीलाई पठाउनुभयो उहाँ हामीमा पनि हुनुहुन्छ।
  10. ख्रीष्ट उहाँलाई पठाउनुहुनेको काम गर्न व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र जब उहाँको काम समाप्त भयो, उहाँलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति उहाँ जानुभयो (यूहन्ना ७:३३; १६:५)। उसरी नै, हामी पनि सधैं हाम्रा प्रभु येशूको काममा प्रशस्तै हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम समाप्त हुन्छ तब हामीलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति हामी जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)। अलग हुनु र ख्रीष्टसँग रहनु धेरै असल छ (फिलिप्पी १:२१; २ कोरिन्थी ५:८)।

जब हामी यस आज्ञालाई ध्यान दिन्छौं हामी एउटै कुरा मात्र भन्न सक्छौं; “प्रभु, यी कुराहरूका लागि को पर्याप्त छ र? यो हामी कसरी गर्न सक्छौं र? म यस आज्ञामा हर्षित छु तर जे असल छ त्यो म कसरी पूरा गर्ने त्यो म भेट्टाउन सक्दिनँ।”

यो कसरी गर्न सकिन्छ त? जब हामी यूहन्नाको सुसमाचारको अध्ययन गर्दछौं हामीले एउटा अचम्मको कुरा भेट्टाउँछौं। ख्रीष्टले हामीलाई पठाउनुभएको मात्र छैन, तर उहाँले अर्को एक व्यक्तिलाई पनि पठाउनुभएको छ: “तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु” (यूहन्ना १६:७)। परमेश्वरको पवित्र आत्माबाट अलग भएर हामीले कहिले पनि हाम्रो काम (उहाँको आज्ञा) लाई पूरा गर्न सक्दैनौं। उहाँबाट मात्र हामीले ठीकसँग ख्रीष्टलाई चिनाउन सामर्थ्य प्राप्त गर्न सक्छौं (लूका २४:४९; प्रेरित १:८)। आज प्रत्येक विश्वासीभित्र पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९) जसको भरिपूर्णताद्वारा हामी “जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” (यूहन्ना २०:२१) भन्ने हाम्रा प्रभुको वचनलाई गएर पूरा गर्न सक्नेछौं।

प्रेमको साँचो उदाहरण

प्रेमको साँचो उदाहरण

 

शुरूका मोराभियन मिसनरीहरूद्वारा प्रदर्शित

प्रेमको परिभाषा: मैले प्रेम गरेको व्यक्तिले परमेश्वरको उच्चतम र सर्वोत्तम कुरा प्राप्त गरेको म चाहन्छु जसका लागि म आफू विशेष रूपमा खर्चिन पनि तयार छु।

प्रेमको नमुना: प्रभु येशू ख्रीष्ट स्वयं: “हामी उहाँद्वारा जिउन सकौं भनेर परमेश्वरले आफ्‍ना एक मात्र जन्माइएको पुत्रलाई संसारमा पठाउनुभयो – हामीतर्फ परमेश्वरको प्रेम यसैबाट प्रकट भयो” (१ यूहन्ना ४:९)।

निम्न विवरण रोबर्ट म्याक्शेन (१८१३-१८४३) द्वारा लेखिएको हो [Memoirs of McCheyne by Andrew A. Bonar, Moody Press, 1978 edition, pages 40-41]:

ख्रीष्टको खातिर आफूलाई भक्तिपूर्वक समर्पण गर्ने मैले यी मृतसरह दिनहरूमा यस्तो कहिल्यै नसुनेको एउटा उत्कृष्ट नमुना गत हप्ता एकजना बेलायती सेवकबाट यहाँ बताइएको सुन्न पाएँ। यो कुरा कहिल्यै छापिएको छैन, त्यसैले म यो तपाईंहरूलाई बताउनेछु, ठीक जस्तो मैले सुनेको थिएँ त्यस्तै, ताकि हाम्रा सेलाएका हृदयहरू उत्तेजित होऊन् र हामीले आफैंलाई परमेश्वरको निम्ति सुम्पिन सकौं।

कुष्ठरोगको भयानक रोग आजसम्म पनि अफ्रिकामा विद्यमान छ। यो कुष्ठरोग बाइबलमा लेखिएकै किसिमको रोग हो कि होइन, म जान्दिनँ, तर यो रोग निको नै नहुने, र यति संक्रामक मानिएको छ कि कसैले पनि कुष्ठरोगीको नजिक आउने हिम्मत गर्दैनथे। अफ्रिकाको उत्तरमा कुष्ठरोगीहरूको निम्ति एउटा ठूलो कुष्ठ-घर छ। यो एउटा विशाल ठाउँ हो, धेरै अग्लो पर्खालले घेरिएको, र खेतहरू भएको, जसमा कुष्ठरोगीहरूले खेती गर्दथे। भित्र छिर्ने एउटै मात्र ढोका छ, जसमा कडा पहरा दिइन्छ। जब-जब कुनै व्यक्तिमा कुष्ठरोगको दाग देखिएको भेट्टाइन्थ्यो, उसलाई यो ढोकामा लगिन्थ्यो र भित्र जान बाध्य गराइन्थ्यो, कहिल्यै नफर्किने गरी। त्यस डरलाग्दो ढोकाबाट भित्र प्रवेश गरेको कुनै मानिसलाई फेरि कहिल्यै बाहिर निस्कने अनुमति दिइँदैनथियो।

यस कष्टपूर्ण स्थानमा त्यस रोगको विभिन्न चरणहरूमा पुगेको थुप्रै कुष्ठरोगीहरू थिए। डा. हलबेक (Dr. Halbeck), बेलायतको मण्डलीको मिसनरीले, छेऊको डाँडाको टुप्पोबाट, तिनीहरूले काम गरिरहेको देखे। विशेषगरी उनले दुईजनालाई खेतमा केराउ रोप्दै गरेका देखे। एकजनाको हात थिएन, र अर्कोको खुट्टा थिएन—यी अङ्गहरू रोगले नाश भएका थिए। जसको हातहरू थिएन उसले अर्को खुट्टाहरू नभएकोलाई आफ्‍नो ढाडमा बोकिरहेको थियो, र उसले फेरि आफ्‍नो हातमा बीजको झोला बोकेको थियो, र केराउको बीज खसालिरहेको थियो, जसलाई अर्कोले आफ्‍नो खुट्टाले जमिनभित्र गाड्थ्यो; र यसरी तिनीहरूले एकजना व्यक्तिद्वारा हुने कामलाई दुईजना मिलेर गर्ने व्यवस्था मिलाएका थिए। हाय! संसारमा भएको कष्टको बारेमा हामी कति थोरै मात्र जान्दछौँ। रोगको बन्दनगृह यस्तो किसिमको छ।

तर तपाईंले सोध्नुहोला, त्यस्तो दुर्भागी बासिन्दाहरूको आत्माको चिन्ता कसले गर्ला र? कहिल्यै नफर्किने गरी त्यस भयानक ढोकाभित्र पस्ने साहस कसले गर्ला र? ती बिचरा गरीब कुष्ठरोगीहरूकहाँ मुक्तिदाताको सन्देश लग्न कसले आफ्‍नो बुबा र आमा, घर र जमीन छोड्ला? दुई मोराभियन मिसनरीहरू, ती आत्माहरूको निम्ति ईश्वरीय प्रेमले विवश भएर, त्यस कुष्ठघरलाई उनीहरूको सेवकाइ क्षेत्रको रूपमा चुने। उनीहरू त्यहाँ भित्र प्रवेश गरे, कहिल्यै नफर्किने गरी र मलाई यो बताइएको थियो कि उनीहरूको मृत्यु हुने बित्तिकै, अरू मोराभियनहरू उनीहरूको स्थान लिन एकदम तयार छन्। ओहो! मेरा प्रिय मित्रहरू, के हामी शर्मले नझुकौं र परमेश्वरका सामु लज्जित नहोऔं, कि हामी, उही रगतले छुटाइएका छौं र उही आत्माद्वारा सिकाइएका छौं तरैपनि हामीसित प्रभु येशू र मानिसका आत्माहरूको लागि भने उनीहरूको जस्तो प्रबल र हृदयभरिको प्रेम नहुनु?

The Biblical Evangelist का सम्पादक रोबर्ट सम्नर (Robert Sumner) ले म्याक्शेनको लेख पढेपछि यो विवरण थपेका थिए:

एकपटक म गाडीमा मानोस (Manous) भन्दा बाहिर करिब एक घन्टाको यात्रा गरेर जङ्गलभित्र कुष्ठरोगीहरूको वस्तीमा गएको थिएँ, यो एमेजन (Amazon) भन्दा करिब १००० माइल पर पर्छ। पास्टर निको भइसकेका थिए र निको भएपछि निज त्यहाँबाट निस्केर जान सक्थे। तर उनकी श्रीमति आशारहित अवस्थामा थिइन् र तिनलाई छोड्न नचाहेकाले उनी त्यहाँबाट जान इन्कार गरे।

त्यो पनि प्रेम नै थियो!

अक्विला र प्रिस्किल्ला

अक्विला र प्रिस्किल्ला

रोमी १६:३-४

 

१) अक्विला र प्रिस्किल्ला उद्यमी थिए:

उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्‍नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विला एक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलो पटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमा रोमबाट आएका थिए (प्रेरित १८:२)।

२) उनीहरू आतिथि सत्कार गर्न सरीक थिए:

उनीहरूले आफ्‍नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउने नै थिए। उनीहरूले पावललाई आफ्‍नो घर मात्र होइन तर आफ्‍नो हृदय पनि खुल्ला गरे (प्रेरित १८:३)।

३) उनीहरू सिकाउन सकिने स्वभावका थिए:

सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्ने ज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दा अगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन। उनीहरूले पावललाई आफ्‍नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलका ख्रीष्टलाई पनि आफ्‍नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथ उनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरू पावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसात गरे।

४) उनीहरू बाइबलमुखी थिए:

उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनि थिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमा सामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धी सत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूको सम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरको मार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यस वार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमा प्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय श्रीमतीहरू आफ्‍ना श्रीमानहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्या गर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचित छ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनी परमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमा कसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। श्रीमान र श्रीमतीको यो टोली परमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्न योग्यका थिए।

५) उनीहरू स्थानीय मण्डलीमुखी थिए:

१ कोरिन्थी १६:१९ र रोमी १६:५ – यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम र एफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूको लागि भेला हुने ठाउँ थियो – उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गति गर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६) उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए:

प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनको श्रीमानको नाम पनि सँगै भेटिन्छ। श्रीमानसँगै उनको नाम सधैं उल्लेख भएको छ। यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ। उनी आफ्‍नो श्रीमानसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाको सेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७) परमेश्वरबाट दान पाएको व्यक्तिसित उनीहरूको ठीक सम्बन्ध थियो:

रोमी १६:३ – यस पदमा तिनीहरूलाई पावलका “सहकर्मीहरू” भनी जनाइएको छ। जब अक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, “यी प्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।” के तपाईंको पाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्त व्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी ४:११)? तपाईं आफ्‍नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईं उहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँले तपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यी श्रीमान-श्रीमतीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाको रूपमा देख्ने गरेका थिए।

८) उनीहरू साहसी थिए:

रोमी १६:४ – स्पष्ट रूपमा पावलको जीवन यी साहसी श्रीमान-श्रीमतीप्रति ऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनै किसिमले आफ्‍नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ। तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्‍नै गर्दन दिएका थिए, र परिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादको ऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदि प्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो र अन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो। प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचो प्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छ कि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमा पार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्को बुँदातर्फ लैजान्छ।

९) प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्:

यी श्रीमान/श्रीमतीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीन ठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीक पाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चार ठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब कि सूचीमा श्रीमानको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएको छैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढी फुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्ट जोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनले पावलको लागि आफ्‍नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्। उनीसँग विशेष वरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्ति भएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्‍नो श्रीमानलाई यस्तो प्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्। नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकाले आफ्‍नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनको कहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनको श्रीमानसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकी श्रीमती थिइन्।

१०) उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए:

२ तिमोथी ४:१९ – यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँग भएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरू विश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाको कुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाए अनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनि तिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंको बारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीले हाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यै नगुमाऊँ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बाँसको कथा

बाँसको कथा

एउटा उखान

गंगाप्रसाद प्रधान (सन् १८५१-१९३२)

एउटा कुचेन् भन्ने जिल्लाको पहाडको पाखामा अनमोल-अनमोल बाँसका बोटहरू छन्। तिनमा बाँसको मालिकको नाउँ समेत लेखिएका छन्। पहाडका छाँगाहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ अर्थात् मान्छेहरूले बाँस बाँस् गाँस्दै लगेर लामा लामा नल बनाई पानी लैजान्छन्।

अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा एउटा राम्रो बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला-काला र चिल्ला-चिल्ला थिए। त्यसका राम्रा-राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै-बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीहरू छक्कै पर्‍यौं। अनि हामीहरूले तिनीहरू बिस्तारै-बिस्तारै हल्लिँदाखेरि सिरिरिरि गर्ने सोर पनि सुन्यौं।

तब बाँसले भन्यो, “तिमीहरूले मेरो विषयमा यो कति राम्रो हो भन्ने विचार गर्दछौ? अनि मेरा लामा-लामा र अल्गा-अल्गा लिङ्गा र रहरलाग्दा हाँगाहरू देखी उदेक मान्दछौ? तरै पनि म चाहिँ ता केही अहंकारी हुँदिनँ। मेरा जे छन् ती सबै मेरा स्वामीका खबरदारीका लागि छन्। यी सबै तिनकै हुन् जसले मलाई यो असल ठाउँमा रोपे, जहाँ मेरा जराहरू यति तलसम्म गई पुग्दछन् जहाँ गुप्‍त पानी छ। अनि मेरा जराले बराबर जीवन दिने पानी चुसी रहन्छन्। जसले गर्दा म मेरो जीवन बनिनलाई रस र खुराक र राम्रोहुवाइ र बल पाउँदछु।

अनि यो डाँडाको अर्कोपट्टि भएका बाँसका बोटहरू देख्दछौ? तिनको कस्तो कुगत् र पातहरू सुक्‍न-सुक्‍न आँटेका छन्। तिनका जराहरू भित्रको गुप्‍त पानीसम्म पुगेका छैनन्। तर मेरो लागि मैले गुप्‍त पानी पाएको कारणले केहीको घटी छैन।

तिमीहरूले मेरा लिङ्गामा भएका चिन्हहरू देख्दछौ? राम्रो गरी हेर्दैजानुहोस्। मेरो जीउमा गहीरो-गहीरो गरी काटिएका छन्। यी काटिएका डामहरूले मलाई दुःख हुन्छ। म उदेक मान्दथेँ मैले किन यसरी दुःख भोग्‍नुपर्दैछ भनेर। तर के गरूँ मेरा स्वामीले आफ्नो हातमा हतियार लिई त्यसले मेरो जीउमा आफ्नो नाउँ खोप्‍दछन्। तर काम सक्किएपछि मेरा लिङ्गामा मेरा स्वामीको नाउँ खोपिएछन् भनेर थाहा पाएँ तब म रमाहटले उर्लेँ। तब मैले थाहा पाएँ उनले मलाई बिना धुकचुक प्यारो गन्नेछन् भनेर। अनि सिङ्गो संसारले जान्न सक्‍नेछ मेरा यस्ता स्वामी रहेछन् भनेर।”

जब बोटले आफ्नो धनीको विषयमा हामीहरूलाई बताउँदैथियो, तब हामीहरूले यताउता हेर्‍यौं, त हेर, धनी आफै पनि त्यहाँ रहेछ। त्यसले प्यारसित एउटा लिङ्गोलाई हेर्दैरहेछ। अनि त्यसले आफ्नो हातमा लाग्ने खुकुरी लिएको रहेछ। अनि धनीले बाँसलाई भन्यो, “मलाई तेरो खाँचो छ। के तैले आफूलाई मलाई दिहाल्ने इच्छा गर्छस्?” तब बाँसले उत्तर दियो, “म तपाईंकै हुँ। तर म जस्तोले तपाईंको के काम चल्छ होला र?” धनीले भन्यो, “मलाई तेरो खाँचो छ। मेरो जरुवा पानी त्यहाँ लैजानका लागि जहाँ पानी छैन।”

तब बाँसले भन्यो, “तर हे स्वामीज्यू, मदेखि यस्तो काम कसोगरी हुन सक्छ? म ता तपाईंको जरुवा पानीनिर रहन सक्छु। अनि आफ्नो खुराकको लागि यसको पानी चुस्‍न सक्छु। अनि म आफ्नो बाहाँ आकाशतिर फिजाउँन सक्दछु। अनि जीवन नयाँ पार्न तपाईंको जराको पानी पनि पिउँदछु। अनि बलियो र राम्रो हुँदछु। अनि रमाहट गर्दछु किनभने बल र सुन्दरता सबै तपाईंबाट कै हुन्। अनि तपाईं मेरा कति जाती स्वामी हुनुहुन्छ भनी प्रचार गर्दछु। तर म अरूलाई कसोगरी जरुवा पानी दिन सक्छु? म आफ्नै खुराकको लागि साँच्चै पानी चुस्दछु, अरूलाई के दिऊँ?”

तब धनीचाहिँको मुखबाट “तैंले आफूलाई मेरो लागि दिहाल्ने इच्छा गर्दछस् भने म तलाईं काममा लगाउँछु” भन्ने मीठो बोली निस्क्यो। अर्थात् — “म तँलाईं काट्छु अनि तेरा सबै हाँगाहरू छिमल्छु अनि तँलाई नाङ्गो पारेर तँलाई तेरा यी अरू साथी बोटहरूको बीचदेखि लैजान्छु। अनि म तँलाई टाढो एकलास ठाउँमा लैजान्छु जहाँ तैंले मीठो स्वर सुन्न पाउँदैनस् जहाँ खालि घाँस बन्सो मात्र छन्। अँ अनि तँमा दुःख दिने हतियार काममा लगाउँछु जसले तँलाई अरू पनि दुःख दिनेछ। कसरी भने तेरा मनभित्र भएका सबै गाँठागुँठी एक-एक गरीकन काटी निकालिनेछन् तँदेखि मेरो जरुवा पानी बहेर जाने नहोउञ्जेलसम्म। तँ भन्दछस्, “तब ता म मरिहाल्छु”। अँ तँ मेरो बोट मर्नु ता मर्छस्। तर मेरो जरुवा पानी तँदेखि नअड्कीकन अनि नथामिनेगरी बहिरहनेछ। अँ साँच्ची-साँच्ची नै तेरो सुन्दरता जान्छ। अँ अबदेखि उसो तेरो सुन्दरताको लागि कसैले तँमाथि दृष्टि गर्नेछैन। तरैपनि तँदेखि बहने जरुवा पानी खानका लागि धेरै-धेरैजना तँमाथि निहुरिनेछन्। तिनीहरूले तेरो विषयमा केही विचार त गर्दैनन्। तरैपनि तेरो बाटोले तिनीहरूलाई दिएको त्यस जरुवा पानीको लागि के तिनीहरूले तेरो धनीलाई आशिष् दिँदैनन् र? मेरो बाँस, के तँ यस्तै हुनलाई इच्छा गर्छस्?” तब बाँसको कुरा सुन्नलाई म पवन बाँधी बसेँ।

“मेरा स्वामी, जे-जे मेरा छन्, ती सबै तपाईंदेखि नै छन्। तपाईंलाई मेरो खाँचो छ भने म आफ्नो जीवन खुशीसित इच्छा गर्दै तपाईंलाई दिहाल्छु। मेरो मरणको बाटोले मात्रै तपाईंले जरुवा पानी अरूलाई दिन सक्‍नुहुन्छ भने म मर्नलाई तयार छु। म तपाईंकै हुँ। मेरा स्वामीज्यूको इच्छाअनुसार मलाई लिएर आफ्नो काममा लगाउनुहोस्।”

अनि धनी आफैचाहिँको मोहोडा दयाले भरिएको ता थियो। तैपनि धनीले यति राम्रो बोटलाई लाग्‍ने बञ्चरो लिएर दोहोर्‍याई-दोहोर्‍याईकन हिर्काएर काटी भुइँमा लडायो। त्यसले केही विरोध गरेन तर त्यसको हँनाइँ सहनलाई आफूलाई दिहाल्यो मलीम शब्दले “हे मेरा स्वामी तपाईंको इच्छा अनुसार होस् भन्दै।” अनि धनीचाहिँले ऐलेसम्म बञ्चरो लिइरहेकै थियो। अनि लिङ्गो नछिनाउञ्जेलसम्म त्यसलाई हिर्काउँदैरह्यो अनि बोटले आफ्नो सुन्दरता अर्थात् आफ्ना पखेटा जस्ता हाँगाहरू जो त्यसका मुकुट हुन् सधैंको लागि हरायो। अब साँच्चीनै नाङ्गो र मुडुलो भयो। अनि धनी आफ्नो मोहोडाको प्रेमको ज्योति गहिरिएको भई जसै लडाइराखेको लिङगो टुक्रालाई आफ्नो काँधमाथि उठाई बोक्यो। तब त्यसका साथीहरू त्यसलाई पहाडमाथि टाढो-टाढो डाँडा हुँदो लग्यो भनेर विलाप गर्न लागे। तर बाँसको लिङ्गोले चाहिँ आफ्नो स्वामीको प्रेमको लागि आफूलाई सुम्पिदियो “मेरा स्वामीज्यू, तपाईंले जहाँ इच्छा गर्नुहुन्छ, मलाई उहीँ लैजानुहोस्” भनी मलीम शब्द गरी भन्दै। अब धनीचाहिँले त्यसलाई बोकेर एकान्त र सुन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ पुगेर एकछिनसम्म विचार गरिरह्यो। त्यसपछि फेरि निर्दयालु लाग्‍ने हतियार आफ्नो हातमा लिएर लिङ्गोको मुटुमा पुग्‍नेगरी एक खेप हिर्कायो त्यसलाई आफ्नो जरुवा पानी लैजाने नल बनाउनका लागि। किनभने खालि लिङ्गोको मुटु फूटेको बाटोले मात्रै पानी नपाउने ठाउँमा बहेर जान सक्दथ्यो। लिङ्गो अझै पनि गनगनाएन तर मुटु फुटेको शब्दले बिस्तारै-बिस्तारै भन्यो, “हे मेरा स्वामी तपाईंको इच्छा पुरा होस्”। यसरी धनीचाहिँले फेरि प्रेमी मनले अनि दयालु मोहोडाले दुःख दिने हँनाइले हिर्कायो। अनि दुःख दिनदेखि थामिएन तर लाग्‍ने हतियारले राम्रो गरी आफ्नो काम गर्दैरह्यो, सबै रोकटोक ननकालिउञ्जेलसम्म। त्यसपछि मात्रै त्यसको धनीको मन सन्तोषित भयो।

तब त्यसले फेरि त्यसलाई बोकेर चोट लागेको र दुःख सहँदै गरेको गतमा वहाँसम्म लग्‍यो जहाँ त्यसले अहिलेसम्म जरुवा पानी उम्रँदै गरेको देखेको थिएन। वहाँ पुगेर त्यसले त्यो यसरी राख्‍यो अर्थात् त्यसको एक छेउ पानीको छेउमा पुग्‍ने गरी। अब जिउने पानीको मूल बहँदै त्यसको मुटुमा निर्दयालु हिसाबले पारिएको त्यसको मुटुका सबै घाउ-घाउदेखि छिर्दै-छिर्दै त्यसकै अर्को छेउपट्टिदेखि निस्की जानेसम्म गरी बही गयो। अनि बहँदाखेरि केही शब्द नगरी भित्र-भित्र बहँदै बाहिर बही निस्क्यो सदा सर्वदा नथामिँदै। तब धनीचाहिँ मुसु-मुसु हाँस्दै खुशी भयो।

त्यसपछि धनीचाहिँले फेरि अरू-अरू बोटलाई हेर्न लाग्यो। कोही-कोही लिङ्गोले दुःख भोग्‍न मानेन तर अरू-अरू कतिले चाहिँ खुशीसित आफू-आफूलाई उसको हातमा दिहाले — “धनीज्यू, हामीहरू तपाईंमाथि भरोसा राख्दछौं। आफूले आफ्नो इच्छाअनुसार हामीहरूसित गर्नुहोस्” भन्दै। तब बाँसको धनीले बाँसको झाङ्ग-झाङ्गदेखि रोजी-रोजी काटेर बोक्दै लाँदै अघिल्लो बाँसको छेउमा पुर्‍यायो। वहाँदेखि एउटा-एउटा गरी राख्यो त्यही अघिल्लोजस्तै दुःख भोग्ने बाँसहरूलाई एकअर्कासँग गाँस्दै-गाँस्दै। अनि जसरी त्यसले ती गोटैपिच्छे बाँसलाई तिनको ठाउँ-ठाउँमा गरी गाँसेर राख्यो तब तिनको दुःख्दै गर्ने मुटुभित्र-भित्रबाट जरुवा पानी बहन थाल्यो। त यसैगरी त्यसको लाइन लामो-लामो हुँदै गयो अनि अन्तमा बाँसको नल पानी नभएको ठाउँसम्म पुग्यो। तब धेरै-धेरै समयदेखि तिर्खाले हैरान-हैरान परी मर्न आँटेका लोग्नेमान्छेहरू, स्वास्नीमान्छेहरू र केटाकेटीहरू समेतले आएर इच्छा पूर्णसम्म गरी पानी खाए। अनि तिनीहरूले यहाँ जरुवा पानी आएको भन्ने समाचार यता-यता उता-उता लगे, “अब यो ठाउँदेखि पानीको अनिकालको समय गयो! आओ, पानी खाओ!” भन्दै। त मान्छेहरूले आई-आईकन पानी खाए अनि तिनीहरूको जीवन नयाँ भयो।

धनीचाहिँ यो देखेर मनमा बडो खुशी भयो। त्यसपछि बाँसको धनीले आफ्नो बाँसको नलको छेउ-छेउमा गएर सोध्यो — “ए मेरो बाँस, के तँ अब तेरो यो दुःख र एक्लोहुवाइदेखि नाराज छस्? अब के मोलको भइस्? अँ अब तेरो मोल यही हो अर्थात् अबदेखि तैँले जगतलाई आफूदेखि जिउँदो पानी दिँदैछस्, दिरहन्छस्।” बाँसले उत्तर दियो, “हे मेरा स्वामी, नाराज छैन हजार खेप छैन। मेरा दस हजार जीवन भए पनि कति खुशीसित म तपाईंलाई दिहाल्नेथिएँ। जस्तो आज मैले थाहा पाएँ यस थाहापवाइको लागि म तपाईंलाई खुशी पार्न गोहार पनि दिनेथिएँ।”

उपर्युक्त रचना सर्वप्रथम सन् १९१३ सालमा गंगा प्रसाद प्रधानद्वारा दार्जिलिङ्गको गोरखा प्रेसमा छापिएको हो। उक्त लेखलाई यहाँ उतार्दा केही हिज्जे तथा शब्दलाई तिनको हालको प्रचलित रूप दिने प्रयास गरिएको छ। प्रतिलिपिका संकलनकर्ता तथा प्रकाशक: सलोन कार्थक, पादरी गंगाप्रसाद प्रधानका उपलब्ध रचनावली, पृष्ठ ३७७-३९१, एकता बुक हाउस प्रा.लि., प्रधाननगर, सिलगढी, पश्चिम बङ्गाल (२००७)। माथिको बाँसको तस्वीर bamboogarden.com सित लिङ्क गरिएको छ।)

सुसमाचार कसरी प्रस्तुत गर्ने?

हामी सुसमाचार कसरी प्रस्तुत गरौं?

व्यक्तिगत लाभको आधारमा कि व्यक्तिगत खाँचोको आधारमा?
रोमी १:१८ को एक टिप्पणी

“किनभने सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको परमेश्वरको क्रोध प्रकट भएको छ” (रोमी १:१८)

“परमेश्वरको क्रोध” — अधिकांश धार्मिक परिवेशहरूमा परमेश्वरको क्रोधको विषयलाई बेवास्ता गरिएको पाइन्छ। परमेश्वरको प्रेमलाई प्रायः उल्लेख गरिए तापनि परमेश्वरको क्रोधको कुरा भने बिरलै गरिन्छ। सुसमाचारलाई प्रस्तुत गर्दा “राम्रो खबर” बताउनु अघि “नराम्रो खबर” बताउनुपर्छ भनी पावल जान्दथे। हामीलाई परमेश्वरको धार्मिकता चाहिएको छ (रोमी १:१७) तर हामीले पाउनु पर्ने त परमेश्वरको क्रोध हो (पद १८)। मुक्ति पाउन तयार हुनु अघि एउटा मान्छेले मुक्तिको निम्ति आफ्नो खाँचो देख्‍नुपर्ने हुन्छ। लुका ५:२७-३२ पढ्नुहोस्। खाँचो नपरेसम्म मान्छे त्यत्तिकै डाक्टरकहाँ जाँदैन। आफूलाई खाँचोमा परेको पापीको रूपमा नदेखेसम्म एउटा मान्छे मुक्तिदाताकहाँ आउँदैन।

“अभक्ति र अधर्म” — हामी वास्तवमा कहाँसम्म भक्तिहीन र अधर्मी रहेछौं भन्ने कुरा रोमीको पुस्तकको पहिलो तीन अध्यायहरूबाट सिक्न सकिन्छ! हामी परमेश्वरको क्रोधको योग्य छौं भन्ने कुरा यी अध्यायहरूबाट सिक्नेछौं!

परमेश्वरले आफ्नो धार्मिकताको तराजुमा हलुका भेटिने सबै कुरालाई न्याय गर्नुपर्ने हुन्छ र तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुपर्ने हुन्छ। परमेश्वरको सिद्ध धार्मिकताको तराजुमा जोखिँदा तपाईं कस्तो भेटिनुहुन्छ — योग्य कि अयोग्य? १) एक मात्र साँचो धर्मी मानिस येशू ख्रीष्टसित तुलना गरिँदा के तपाईं योग्य भेटिनुहुन्छ? २) परमेश्वरको धर्ममय व्यवस्था (विशेष गरी दस आज्ञा) को तुलनामा के तपाईं योग्य भेटिनुहुन्छ? यी सबै आज्ञाहरूलाई के तपाईंले पूर्ण रूपमा पालन गर्नुभएको छ? यदि हामी परमेश्वरका सामु र आफैसित पनि इमानदार भयौं भने, हामी कुनचाहिँ निष्कर्षमा आउनैपर्ने हुन्छ (रोमी ३:१०)?

टिप्पणी: पावलले कसरी सुसमाचार प्रस्तुत गरे भन्ने कुरामा राम्ररी ध्यान दिनु महत्त्वपूर्ण छ। उनले अधर्मी तथा भक्तिहीनहरूका विरुद्धमा परमेश्वरको क्रोध स्वर्गबाट आउँदै गरेको कुराबाट शुरु गर्दछन्! हामीलाई परमेश्वरको सुसमाचारको कति टड्कारो खाँचो परेको छ भन्ने कुरा सबैले बुझून् भनेर पावलले “राम्रो खबर” प्रस्तुत गर्नु अगाडि “नराम्रो खबर” प्रस्तुत गर्दछन्। सुसमाचार प्रस्तुत गर्ने त्यहाँ मूलतः दुइटा तरिका छन्: १) व्यक्तिगत लाभको आधारमा (सुसमाचारले मलाई के कस्तो लाभ हुन्छ? ख्रीष्टियन हुनुमा के कस्ता फाइदाहरू छन्? के सुसमाचारले मलाई सुख मिल्नेछ? सफलता मिल्नेछ? सन्तुष्टि मिल्नेछ? आदि); २) व्यक्तिगत खाँचोको आधारमा (मानिस पवित्र परमेश्वरको क्रोध र दण्डमुनि असहाय र आशारहित अवस्थामा छ, यसकारण उसलाई मुक्तिको खाँचो छ नत्र भने ऊ अनन्त दण्डमा जानेछ)।

सुसमाचार आज प्रायः व्यक्तिगत लाभको आधारमा प्रस्तुत गरिएको पाइन्छ। त्यसरी सुसमाचार प्रस्तुत गरिएको उदाहरणस्वरूप एउटा पर्चामा लेखिएको लेखिएको कुरालाई हेरौं:

“तपाईं एउटा रमाइलो, स्वतन्त्र र भरिपूर्ण खाले जीवन जिउन चाहनुहुन्छ, होइन र? ठीक छ! म तपाईंजस्तै व्यक्तिसँग कुरा गर्न चाहिरहेको छु। मेरो पनि तपाईंको जस्तै चाहना छ।

तपाईं भन्नुहोला, “अरे, मेरो जस्तै चाहना तपाईंलाई पनि? तपाईं त ख्रीष्टियन भन्ठान्या!”

हो, म ख्रीष्टियन हुँ। तर मान्छेमा हुने आधारभूत इच्छाहरू मसँग पनि छन् — सन्तुष्टि, सुख, स्वतन्त्रता आदि इत्यादि। अनि यी सबै कुराहरू मैले मेरो सबैभन्दा प्रिय मित्र येशू ख्रीष्टमा प्राप्‍त गरें। मेरो अनुभवमा ख्रीष्टियन हुनु वर्तमानकै लागि लाभदायक कुरा हो। स्वर्ग र नरक छँदै छैनन् भने पनि (हुन त ती दुवै छन्), म त ख्रीष्टियन नै बन्नेथिएँ। किन? किनकि मलाई थाह छ ख्रीष्टियन जीवन सबैभन्दा उत्तम जीवन हो। यो जीवन मात्र जिउन लायक जीवन हो।”

अब यी कुराहरू साँचो हुन् भनेर हामीले स्वीकार त गर्नुपर्छ। सन्तुष्टि, सुख, स्वतन्त्रता तथा अन्य थुप्रै हितकर कुराहरू सबै ख्रीष्ट येशूमै पाइन्छन् र निश्चय पनि ख्रीष्टियन जीवन मात्रै जिउन लायक जीवन हो। तर के हामीले सुसमाचारलाई यो आधारमा प्रस्तुत गर्नु पर्ने हो त? के पावलको तरिका यही थियो? मुक्ति नपाएका धेरै-धेरै मानिसहरू आफूहरू ज्यादै सुखी छौं भन्ने ठान्दछन्। उनीहरू जीवनसित तुलनात्मक हिसाबमा सन्तुष्ट नै हुन्छन्, उनीहरूका काम-कुरा राम्रै चलिरहेका हुन्छन् र आफूले गरिरहेको काम-कुरामा उनीहरू खुशी नै हुन्छन्। आफ्नो जीवन शैलीसित उनीहरू सन्तुष्ट हुन्छन् र उनीहरूलाई ख्रीष्टियन बन्न विवश पार्ने त्यस्तो कुनै कुरा देख्दैनन्। “तिमीलाई यसैमा खुशी लाग्छ भने ख्रीष्टियन हुनु तिम्रो लागि राम्रै कुरा हो”, उनीहरू भन्छन्, “तर मलाई ठीकै छ र म जसरी जिइरहेको छु त्यसमा म खुशी नै छु।” उनीहरूले ख्रीष्टको निम्ति आफ्नो खाँचोलाई देख्‍न सकिरहेका छैनन्।

उदाहरण: मानौं कुनै अस्पतालले तपाईंलाई सम्पर्क गर्दै यसरी निम्तो दिए: “के तपाईं भोलि यहाँ आएर शल्यक्रिया गर्न चाहनुहुन्छ? हामी आजकल त्यति व्यस्त नभएको हुनाले हाम्रो स्टाफलाई व्यस्त राख्‍न काम चाहिएको छ। हामी तपाईंलाई चिरफार गर्नेछौं र सबै जाँच गर्नेछौं र फेरि जस्ताको त्यस्तै सिलाइदिनेछौं। तपाईंलाई यसले फाइदा गर्नेछ। चार पाँच दिनपछि आफूलाई गजब भएको तपाईंलाई महसुस हुनेछ! तपाईंलाई स्वास्थ्यलाभ हुनेछ! जीवनमा नपाएको कुरा तपाईंले पाउनुहुनेछ! हामीलाई शल्यक्रिया गर्न मात्र दिनुहोस् र यी सबै कुराले लाभान्वित बन्नुहोस्।” के तपाईं जानुहुन्थ्यो होला? किन जानुहुन्नथ्यो? तर मानौं डाक्टरहरूले तपाईंलाई तपाईंको शरीरभित्र एउटा घातक क्यान्सर फैलिन थालेको छ र त्यसलाई चाँडै काटेर फालिएन भने त्यसले तपाईंलाई मार्नेछ भन्ने कुरा बताए। के अब तपाईं शल्यक्रिया गर्न राजी हुनुहुनेथ्यो? किन?

उनीहरूको ठूलो खाँचो छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। ख्रीष्टमा प्रदान गरिएको मुक्तिको कति ठूलो खाँचो उनीहरूलाई छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। रोमीको पहिलो तीन अध्यायहरू पढ्नुभएपछि तपाईंले आफ्नो हृदयभित्र एउटा घातक क्यान्सर (पाप) लागेको रहेछ र आफूलाई निको पार्न तपाईंले गर्न सक्ने केही पनि कुरा छैन रहेछ भन्ने कुरा तपाईंले महसुस गर्नुहुनेछ। एउटै उपाय ख्रीष्टमा रहेछ (“जीवन छोटो छ, मरण निश्चित छ, मृत्यु पापले ल्यायो, मुक्ति ख्रीष्टमा छ!”)

अर्को एउटा कुरा: यदि मानिसहरू व्यक्तिगत लाभको आधारमा ख्रीष्टकहाँ आए भने उनीहरू गलत कारणले पनि आएका हुन सक्छन्। येशू हामीलाई हाम्रा ________ बाट (मत्ती १:२१) मुक्त गर्न आउनुभएको हो, न कि हाम्रो अशान्ति वा एक्लोपना वा असफल जीवन शैलीबाट। यी अन्य कुराहरू त हृदयभित्रको आधारभूत समस्याको केवल सतही लक्ष्यणहरू मात्र हुन्: पापको कारणले मानिस आफ्नो सृष्टिकर्तासित ठीक सम्बन्धमा छैन। यो आधारभूत समस्याको समाधान भएपछि त्यसभन्दा गौण सतही समस्याहरू पनि समाधान हुनेछन्। दुःखको कुरा, वास्तविक ठूलो समस्या कुनचाहिँ हो भनेर अधिकांश मानिसहरू अनभिज्ञ छन्। जुन कुराको बारेमा उनीहरू सबैभन्दा कम वास्ता गर्छन् त्यही कुराकै बारेमा सबैभन्दा बढी वास्ता गरिनुपर्थ्यो: अर्थात्, पापको समस्याको बारेमा!