५ रङ्गभूमिमा

पाठ ५

रङ्गभूमिमा

मानिसहरूले आज मनोरञ्‍जनको निम्ति धेरै कुराहरू गर्छन्। फुटबल, क्रिकेट र अन्य खेलकुदहरू हेर्न भीडका भीड मानिसहरू जान्छन्। केही मानिसहरू प्रत्यक्ष गायन कार्यक्रमहरूमा वा फिल्म हलहरूमा जान्छन्। केही मानिसहरू आफ्नै घरमा बसेर टिभी हेर्दै आफ्नै वैठक कोठाहरूलाई “घरेलु मनोरञ्‍जन” को स्थान बनाउँदै रमाइलो गर्छन्। थुप्रै मानिसहरूमा रमाइलो गर्ने, मनोरञ्‍जन गर्ने, भरपूर आनन्द लिने र मोजमज्जा गर्ने विषयमा कहिल्यै नअघाउने भोक हुन्छ। यस्तो भोक जुन कहिल्यै तृप्त हुँदैन तर बरू अझ धेरैको चाहना हुँदछ।

रमाइलो गर्नु वा मनोरञ्‍जन गर्नु आफैंमा पापपूर्ण होइन। डाँडामाथि चढेर सुर्योदय हेर्नु वा नदीको किनारमा घुम्न गएर सुर्यास्त हेर्दै रमाइलो गर्नुमा केही नराम्रो छैन। समस्या तब आउँछ जब हामी मोजमज्जालाई हाम्रो जीवनको ठूलो हिस्सा बन्न दिन्छौं र तीद्वारा वास्तविक महत्त्वपूर्ण कुराहरूलाई ओझेलमा पार्न दिन्छौं। यो समस्या २ तिमोथी ३:४ मा उल्लेखित छ, “(अन्तिम दिनहरूमा) परमेश्वरलाई भन्दा बरू ________________________ प्रेम गर्ने” हुनेछन्। उनीहरूले आफ्नो समय र शक्ति थोरै समयको मोजमज्जाको पछि लाग्नमा खर्च गर्नेछन् (हिब्रू ११:२५) र सदा-सर्वदा रहिरहने सुख-चैनहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नेछन् (भजनसङ्ग्रह १६:११)।

प्राचीन समयका रोमीहरू मोजमज्जालाई प्रेम गर्ने र मोजमज्जाको पछि लाग्ने मानिसहरू थिए। उनीहरूको बीचमा मनोरञ्‍जन गर्न र रमाइलो गर्नको निम्ति जाने ठाउँहरू थियो। कलाकारहरूले नाटक खेलेको हेर्न थुप्रै मानिसहरू रङ्गमञ्‍चमा जाने गर्थे। त्यस्ता ठाउँहरूमा प्राय: जसो सांसारिक सङ्गितहरू बजाइन्थ्यो र कामुक नृत्यहरू देखाइन्थ्यो (यौन उत्तेजना बढाउने हेतुले स्त्रीहरू नाच्थे)। घोँडा र रथहरूको दौड प्रतियोगिता, जङ्गली पशुको शिकार र अन्य होडबाजीमुलक खेलहरू आयोजना हुने कार्यक्रमहरू (अर्थात्, सर्कस) हेर्न थुप्रै मानिसहरू जाने गर्थे। तर रोमीहरूका निम्ति ती सबैलाई पनि माथ गर्ने प्रख्यात मनोरञ्‍जनको केन्द्र थियो ग्ल्याडिएटर प्रतियोगिता (हतियारहरू लिएर एक-अर्कासँग लड्ने मल्ल योद्धाहरूको प्रतियोगिता)।

ग्ल्याडिएटरहरू

ग्ल्याडिएटर भनेको यस्तो व्यक्ति हो जसले सर्वसाधारणहरूको मनोरञ्‍जनको निम्ति मृत्युसम्म पनि कुस्ती लड्नुपर्थ्यो। यो शब्द ग्ल्याडियस भनिने लाटिन शब्दबाट आएको शब्द हो जसको अर्थ हुन्छ “तरवार”। थुप्रै ग्ल्याडिएटरहरूले आफ्नो सुरक्षाको मूल हतियारको रूपमा तरवार प्रयोग गर्दथे। ती मानिसहरू अर्को व्यक्तिलाई मार्नकै निम्ति कुस्ती लड्थे। आफ्नो प्रतिद्वन्दीलाई आफूले मार्न नसके उसले आफूलाई नै मार्नेछ भनी उनीहरूलाई थाह हुन्थ्यो। आज व्यवसायिक कुस्तीवाजले हार व्यहोरे पनि लाखौं रुपैंया कमाएर फर्किन सक्छ। कति पटक कुस्तीमा हारे पनि त्यसरी ऊ विजेता झैं हुन सक्छ। तर ग्ल्याडिएटरहरूको सवालमा भने त्यस्तो हुँदैनथ्यो। आफूहरूले जसरी पनि जित्नै पर्छ भनी उनीहरूलाई थाह हुन्थ्यो। उनीहरूको निम्ति हार्नु भनेको मृत्यु हुन्थ्यो! ग्ल्याडिएटरहरूको युद्ध जीवन लामो हुँदैनथ्यो। रोमी मानिसहरू रक्तपात र मृत्यु हेर्न आउँथे र उनीहरूलाई त्यही नै देखाइन्थ्यो।रक्तपात र हत्या हेर्न रुचाउने मानिसहरूको बारेमा तपाईंलाई कस्तो लाग्छ? आफैंजस्तो अर्को मानिसलाई आक्रमण गरिएको, उसलाई जितिएको र उसको हत्या गरिएको हेर्न उत्सुक हुने र रोमांचक महसुस गर्ने मानिसहरूको बारेमा तपाईं के सोच्नुहुन्छ? मानिसको दुष्ट र छली हृदयको बारेमा यसले हामीलाई के सिकाउँछ (तुलना गर्नुहोस् रोमी ३:१५-१७)? के आधुनिक नेपालीहरूले अन्य मानिसहरू काटिएको र हत्या गरिएको हेरेर मनोरञ्‍जन लिन्छन् होला? (यस प्रश्नको बारेमा थप कुराहरू हामी पछि मनन गर्नेछौं)। 

रोमी एम्फीथिएटर

एम्फीथिएटर भनेको अण्डाकार वा गोलाकार रङ्गशाला हो जहाँ बीचको खुला जमीनको वरिपरि खुड्किला-खुड्किला गरी मिलाएर बनाइएका बस्ने ठाउँहरू हुन्थे। प्राचीन एम्फीथिएटरहरू धेरै हिसाबमा आधुनिक फुटबल रङ्गशालाहरू जस्तै थिए। एम्फी शब्दको अर्थ हो “दुवै तर्फ”। रङ्गमञ्‍चमा प्राय: जसो दर्शकहरू एकातिर बस्ने गर्छन्। एम्फीथिएटरमाचाहिँ दर्शकहरू दुवै तर्फ (वा वरिपरि) बस्छन्। 

रङ्गभूमि भनेको एम्फीथिएटरको एउटा खुल्ला अखाड़ा थियो जहाँ ग्ल्याडिएटरहरूलाई युद्धहरू गराइन्थ्यो। रोमी जगतको सबै भन्दा प्रख्यात एम्फीथिएटर रोम अवस्थित कलस्सीयम थियो (यो अति अचम्मको संरचना थियो जसको भग्नावशेषहरू आज पनि देख्न सकिन्छ)। यो संरचनाको उद्‍घाटन ई.सं. ८० मा गरिएको थियो र यसमा ४५,००० दर्शकहरू अटाउँथे। यसलाई प्राय: जसो ग्ल्याडिएटर कुस्तीहरूको निम्ति प्रयोग गरिन्थ्यो तर यसभित्र पानी जमाएर समुद्री जहाजहरूको युद्ध अभ्यास पनि गर्न सकिन्थ्यो!

रोम अवस्थित उक्त कलस्सीयम एकमात्र एम्फीथिएटर भने थिएन। ब्रिटेनदेखि लिएर सिरियासम्म रोमी सम्राज्यको हरेक प्रमुख शहरहरूमा एम्फीथिएटरहरू थिए। एउटै अपवाद भनेको ग्रीसका शहरहरू थिए किनभने यस्ता निर्मम र क्रूर प्रतियोगिताहरू ग्रीक मानिसहरूको बीचमा कहिल्यै पनि सर्व-स्वीकार्योग्य भएनन्। तर इटाली, गउल, उत्तर अफ्रीका र स्पेनमा एम्फीथिएटरहरू निकै प्रख्यात थिए र हरेक ठूलो शहरमा ती भेट्टाइन्थे।

कोही स्वयंसेवक हुनुहुन्छ की?

हरेक वर्ष रोमी एम्फीथिएटरहरूमा लाखौंको संख्यामा मानिसहरू मर्थे। रोमीहरूले यी सबै ग्ल्याडिएटरहरूलाई कहाँ भेट्टाउँथे? कुनै पनि मानिसले यस्तो जागिर वा पेशाको निम्ति उत्कट चाहना गर्दै आवेदन त अवश्य पनि दिँदैनन्!

ग्ल्याडिएटरहरू कहाँबाट आउँथे? यसको पाँच ओटा जवाफहरू छन्:

१. युद्धमा बन्धक बनाइएकाहरू अकसर त्यस अखाडामा फ्याँकिन्थे। युद्धभूमिमा रोमीहरू विजयी भएको खण्डमा सिपाहीहरूले युद्धबाट कैदीहरूलाई लिएर आउँथे र ती कैदीहरू भीडको मनोरञ्‍जनको निम्ति ग्ल्याडिएटरहरूको रूपमा कुस्ती लड्थे। संसारको विभिन्न भागहरूबाट ल्याइएका विभिन्न मानिसहरू विभिन्न हतियारहरू (विभिन्न किसिमका तरवारहरू र कवचहरू इत्यादी) प्रयोग गरेर विभिन्न शैलीहरूमा कुस्ती लड्थे, र प्रतियोगिताहरूमा यसले विविधता ल्याउँथ्यो।

२. दासहरूलाई पनि अकसर ग्ल्याडिएटरहरूको रूपमा प्रयोग गरिन्थ्यो। रोमी सम्राज्यमा लगभग आधा जनसङ्ख्या बराबर दासहरू थिए। रोमी जगतमा दासहरूलाई मानिसहरूका रूपमा होइन तर सम्पत्तिको रूपमा हेर्ने गरिन्थ्यो। यी मानिसहरूलाई केवल एउटा सम्पत्तिको रूपमा मात्र हेरिएको हुनाले, मालिकहरूले दासहरू प्रति आफूलाई जस्तो मर्जी लाग्यो त्यस्तै गर्दथे। अखाडामा उनीहरूलाई एक-अर्कासँग कुस्ती लडाउन के गलत भयो र? मालिकहरूले दासहरूलाई अकसर ग्ल्याडिएटर हुनलाई बेचिदिन्थे। त्यो मुनाफामुलक व्यापार थियो।

३. अपराधीहरूलाई अकसर त्यस रक्ताम्मे अखाडामा पठाइन्थ्यो। त्यो भनेको उनीहरूलाई मृत्युदण्ड दिइए बराबर थियो किनभने ढिलो-चाँडो उनीहरूमध्ये थुप्रैजना मर्ने नै थिए।

४. सतावटमा परेका मानिसहरूलाई तरवार वा आगोका ज्वाला वा जङ्गली जनावरको दाँतहरूको सामना गर्न भनेर बलजफती अखाडामा लगिन्थ्यो। ख्रीष्टिय विश्वासीहरू र यहूदीहरूको सवालमा यही सत्य थियो। यसरी धेरै निर्दोष मानिसहरू मारिए। धेरै ख्रीष्टिय शहिदहरूले एम्फीथिएटरमा आफ्नो प्राण अर्पण गरेका छन्।

५. कोही-कोहीले स्वेच्छापूर्वक ग्ल्याडिएटरको रूपमा कुस्ती लड्थे! केही जवान मानिसहरूले आफ्नै रोजाइमा निश्चित समयको निम्ति ग्ल्याडिएटर हुन अघि बढ्थे र यसको निम्ति उनीहरूलाई ठूलो रकम तिरिन्थ्यो (यदि मारिएनन् भने)। ती पुरुषहरूले जीवित रहनको निम्ति उनीहरूको आफ्नै शक्तिबल (उनीहरूको साहस, सामर्थ्य र दक्षता) मा भर पर्थे। तसर्थ, उनीहरू “व्यवसायिक कुस्तीवाज” बन्थे र त्यसैबाट आफ्नो पेशा चलाउँथे। निश्चय पनि, हार्न बित्तिकै उनीहरूको पेशा सिद्धिन्थ्यो।

आज सेनामा वा प्रहरीमा भर्ना लिने उद्देश्यले भर्ना-केन्द्रहरू निर्धारण गरिएको हुन्छ। रोमीहरूको पनि ग्ल्याडिएटर भर्ना केन्द्रहरू थिए होला। के यस्तो जागिर खान तपाईंले निवेदन दिनुहुनेथियो? तलब राम्रै भए तापनि काम गर्ने सर्तहरू आफ्नो चाहना अनुसार हुने थिएन र पेन्सन योजना पनि यस संसारभन्दा बाहिरै हुने थियो (सायद स्वर्ग वा नरक)।

ग्ल्याडिएटर युद्धको भयावह इतिहास

दासहरूलाई उनीहरूको ज्यान बचाउनुपर्ने किसिमको कुस्ती लडाउनु एट्रुस्कान खेलकुद (Etruscan sport) थियो। (एट्रुरीया मध्य इटालीको एक प्राचीन देश थियो)। रोमीहरूले यो भयावह खेलकुदलाई तेस्रो शताब्दितामा पुन: सुचारू गरे। ऐतिहासिक रूपमा पहिलो पटक उल्लेख गरिएको ग्ल्याडिएटर कुस्ती २६४ ई. पू. मा रोमको एउटा मञ्‍चमा यो खेलाइएको थियो। यसमा केवल तीन जोडी ग्ल्याडिएटरहरू सहभागी भएका थिए। 

१७४ ई. पू. मा तीतस फ्लामीनिनसको आयोजनामा ७४ जना ग्ल्याडिएटरहरूले तीन दिने कुस्ती लडेका थिए। धेरै समय नबित्दै सयौं संख्यामा ग्ल्याडिएटरहरू यस्तो कुस्ती लड्न थाले। भीडहरूले केवल थोरै मानिसहरू मात्र एक-अर्कासँग लडिरहेको हेर्नमा सन्तुष्ट भएनन्। उनीहरू पूरै रङ्गभूमि मानिसहरूले भरिएको हेर्न चाहन्थे र को-को बाँच्छन् भनी अनुमान गर्न रुचाउँथे। उनीहरूले वास्तवमा आफ्नै युद्ध (लडाईं) को ढाँचा बनाइरहेका थिए र त्यहाँ बसेर ती लडाईंहरू हेर्थे। भौतिक युद्ध आफैंमा नै खराब हुन्छ। किन मानिसहरू युद्धलाई खेलकुदको रूपमा ढाल्छन्? किन मानिसहरू हिंसा हेरेर मनोरञ्‍जन गर्न रूचाउँछन्?

ई. पू. १०० ताका जुलियस सिजरले ३०० भन्दा बढी ग्ल्याडिएटर जोडीहरूको लडाईं प्रदर्शन गरे। सम्राट तीतसले १०० दिनसम्म चल्ने प्रदर्शनको आदेश दिएका थिए। ९० एडीमा सम्राट डोमिटियनले पुड्काहरू र महिलाहरूको बीचमा लडाईं गराएर उक्त खेललाई अझ अमर्यादित तुल्याए। सम्राट ट्राजनले ५,००० जोडा ग्ल्याडिएटरहरू सहभागी गराएर एउटा निकै ठूलो प्रदर्शनको आयोजना गरे।

एउटा रोमी सम्राट त आफैं सहभागी पनि भएका थिए। सम्राट कम्मूडस (दोस्रो शताब्दिको अन्त्यतिर) हर्क्यूलिसको पात्र निर्वाह गर्दै डण्डा र सिंहको छालासहित मञ्‍चमा कम्तीमा पनि ७३५ पटक उत्रिएका थिए, र तिनी (आफूलाई चोट नलागोस् भन्ने निश्चित हुन) एउटा सुरक्षित स्थानबाट युद्ध लड्दथे र त्यसरी तिनले असङ्ख्य पशु र मानिसहरूलाई मारे।

जङ्गली पशुहरूको पनि अकसर संहार गरिन्थ्यो। भीडहरूले मानिसहरू मारिएका हेर्न रूचाउँथे र पशुहरू मारिएका हेर्न रुचाउँथे। उनीहरू रगत बगिरहेको हेर्न रूचाउँथे, चाहे त्यो मानिसहरूबाट होस् वा चाहे पशुहरूबाट। उदाहरणको रूपमा भनौं, उनीहरू हात्तीलाई निर्ममता पूर्वक मारेको हेर्न रूचाउँथे।

फ्लाभियन एम्फीथिएटर (रङ्गशाला) को उद्‍घाटनमा, एकै दिनमा पाँच देखि नौ हजार जङ्गली पशुहरू (विभिन्न विवरणहरू अनुसार) मारिएका थिए। प्रोबसको नेतृत्वमा (२८१ एडी) एकै दिनमा करिब एक सय भाले सिंहहरू, एक सय पोथी सिंहहरू, २०० चितुवाहरू, ३०० भालुहरू र १००० जङ्गली बँदेलहरूको संहार गरिएको थियो। के यस्तो कार्यक्रम हेर्न तपाईंले रकम तिर्नुहुने थियो? के यस्तो कुरा तपाईंलाई मनोरञ्‍जनात्मक वा रमाइलो लाग्थ्यो?

रोमी सर्वसाधारणहरू यस्तो रक्ताम्मे खेलहरू रूचाउँथे। मानिसहरूको माझमा ती निकै प्रख्यात थिए। निकै कम रोमी शासकहरूले मात्र यसको विरोधमा आवाज उठाएका थिए।

ग्ल्याडिएटर प्रतियोगिताहरूको अन्त्य

धन्न यी खेलहरू ६०० वर्षसम्म मात्र चल्यो। कन्स्टान्टीनले धरी (जसको बारेमा हामी आगामी पाठहरूमा सिक्नेछौं) करिब ३१३ ए.डी. को अन्त्यतिर मानिसहरूको मनोरञ्‍जनका निम्ति युद्धमा पराजित भएका ठूलो सङ्ख्याका बार्बेरियनहरूलाई जङ्गली पशुहरूकहाँ सुम्पिदिएका थिए। तर पछि, ३२५ ए.डी. मा कन्स्टान्टीनले यस्तो रक्ताम्मे तमाशाहरूको पहिलो निषेधाज्ञा जारी गरेका थिए।

किन यस प्रकारका रक्ताम्मे प्रतियोगिताहरू विलय भएर बन्द भए? येशू ख्रीष्टको मण्डली नै ग्ल्याडिएटर खेलहरू अन्त हुनुको पछाडी पहिलो कारण थियो। विश्वासीहरूको प्रभावको कारणले र यस्ता प्रतियोगिताहरूको विपरति उनीहरूको कडा विरोधको कारणले, ग्ल्याडिएटर प्रतियोगिताहरू संसारबाट विलय भएर गए। यसको वर्तमान अपवाद भनेको स्पेन र दक्षीण अमेरिकी राष्ट्रहरू हुन् जहाँ आज पनि पशुहरूको संहार गरेर मानिसहरूको मनोरञ्‍जन गराइन्छ। जसलाई बुलफाइट (गोरू जुधाई) भनिन्छ।

ग्ल्याडिएटरको जीवन

धेरै ग्ल्याडिएटरहरूलाई पाठशालाहरूमा तालिम दिइन्थ्यो र जो यस काममा सफल हुन्थे, उनीहरूले केही रकम पनि कमाउँथे। ग्ल्याडिएटरहरूको मालिकहरूले र एम्फीथिएटर (वा रङ्गभूमि) चलाउने मानिसहरूले निकै मोटो फाइदा कमाउँथे! यो निकै फाइदाजनक व्यापार थियो। के आजको खेलहरू पनि यस्तै फाइदा मुलक हुन्छन्?

ग्ल्याडिएटरहरूको जीवन सजिलो जीवन थिएन। ती बाँच्ने अल्पसङ्ख्यामा पर्न सकिएन भने छिट्टै मृत्युको मुखमा हुने निश्‍चित छ भनी ती मानिसहरू जान्दथे। उनीहरूले आत्महत्या गर्ने पनि कोसिस गर्दथे। सफल हुनेहरूचाहिँ निकै प्रख्यात पनि हुन्थे। सफल ग्ल्याडिएटरहरूले आजका कुस्तीवाज वा खेलाडीहरूले कमाएको भन्दा पनि बढी नाम कमाउँथे भनेर भन्ने गरिन्छ। उनीहरूको निकै ठूलो ख्याती थियो।

प्रतियोगिताहरूकै बारेमा विचार गरौं

 प्रतियोगिताहरूको बारेमा केही दिन अगावै जानकारी गराइन्थ्यो। उक्त सुचना घरहरू र सार्वजनिक भवनहरूको भित्ताहरूमा टाँसिन्थ्यो। त्योचाहिँ विज्ञापन अभियान थियो। सबैले योद्धाहरूलाई राम्ररी हेर्न सकून् भनेर प्रतियोगिताको उत्सवलाई समारोहपूर्ण जुलुसद्वारा सुरू गरिन्थ्यो। त्यसपछि त्यहाँ बनावटी कुस्ती हुन्थ्यो (देखावटी कुस्ती)। सायद योद्धाहरूलाई तताउनको निम्ति!

वास्तविक युद्धको सन्देश तुरहीहरू फुकेर घोषणा गरिन्थ्यो। युद्ध गर्न इन्कार गर्ने ग्ल्याडिएटरहरूलाई उनीहरूले जे सुकै बहाना बनाए पनि कोर्राहरू र तातो फलामहरूले लगाउँदै हिँडाइन्थ्यो। घाइते मानिसले आफ्नो चोर-औंला उठाएर दयाको निम्ति विन्ती गर्थ्यो। कि त दर्शकहरूले आफ्ना रूमालहरू हल्लाएर दयाको चिन्ह प्रदर्शन गर्थे वा मुठ्ठी कसेर बुढी औंला तलतिर फर्काएर मृत्युको निम्ति दोषी घोषणा गर्दथे। शरीरमा काटिएकाहरू र मरणाशील अवस्थामा पुगेकाहरूलाई घिसारेर एउटा निश्‍चित ठाउँ (स्पोलिआरियम) मा लगिन्थ्यो जहाँ उनीहरूको हात-हतियारहरू खोसिन्थ्यो, र नमरेकाहरूलाई मारिन्थ्यो।

वास्तविक दोषी को थियो?

अघि उल्लेख गरिएझैं, दर्शकहरूले बुढी औंला तलतिर फर्काएर मानिसलाई दोषी घोषणा गर्दथे। वास्तवमा ती दर्शकहरूले आफैंलाई दोषी ठहराइरहेका थिए। उनीहरूले सारा मानिसहरूका सामु आफू कति भ्रष्ट र दुष्ट छौं भन्ने प्रमाण दिइरहेका थिए। उनीहरूले हत्यालाई एउटा खेलकुद बनाइरहेका थिए। उनीहरूले आफ्नो निर्दयी उत्सुकता र रगतको प्यासलाई सन्तुष्ट गराउने हेतुले हजारौं मानिसहरू र पशुहरू नष्ट गरिएको र संहार गरिएको अति व्यग्र भएर हेर्थे। ती रोमीहरूको न्यायकर्ता भएर हेर्नुहोस्। उनीहरू निर्दोष छन् कि दोषी छन्? उनीहरू धर्मी छन् र भ्रष्ट? के एउटा इमानदार र निष्ठावान मानिसले ती असाह्य मानिसहरूतर्फ आफ्नो बुढी औंला घोप्टाउथ्यो होला र?

के वर्तमान नेपालीहरू दोषी छन्?

हाम्रो विषयमा चाहिँ के नी? सभ्य नेपालमा जिइरहेकाहरूको विषयमाचाहिँ के नी? के आज हामी कुनै फुटबल रङ्गशालामा गएर सिपाहीहरूले एकअर्कालाई गोली हानीरहेको र मारिरहेको हेर्छौं? अवश्य पनि हेर्दैनौं! तर केही कुराहरू बिचार गरौं।

के आज हामीले हत्या जस्तो कुराहरूलाई खेलकुद बनाएका छौं? के आज हत्याद्वारा मानिसहरूले मनोरञ्‍जन लिन्छन्? के  आज हिंसाजनक कुराहरूमा मानिसहरू आनन्दित हुन्छन्? के रगत बगेको हेरेर मानिसहरू रमाइलो गर्छन्?

यो सत्य हो कि नेपालीहरू एम्फीथिएटरमा जाँदैनन्। तर, उनीहरू थिएटर (फिल्म हल) मा जान्छन्! अनि त्यहीँ नै उनीहरूले यस्तो हिंसात्मक कुराहरू हेर्छन् जुन कुराहरूले सायद प्राचीन रोमीहरूलाई समेत डर लाग्ने तुल्याउनेथियो! एउटा विशाल एम्फीथिएटरमा ४५,००० जना मानिसहरू मात्र आटाउन सकिन्थ्यो, तर हरेक हप्ता लाखौं नेपालीहरू सिनेमा हल जान्छन् वा घरमा बसेर चलचित्रहरू हेर्छन्। उनीहरूले इच्छा गरे भने रक्तपात, हत्या, हात वा कानहरू वा आँखाहरू काटिएका दृश्यहरू र निर्मम अनि क्रूर तरिकाहरूद्वारा मानिसहरूलाई मारिएका दृश्यहरूले भरिएका सिनेमाहरू हेर्न सक्छन्। अनि रोमीहरूले टाढाबाट त्यो क्रूरता हेर्नु पर्थ्यो, तर नेपालीहरूले ठूला-ठूला स्क्रीनमा एकदम नजिक बसेर सबै कुराहरू हेर्न सक्छन्। अहिले इन्टरनेटको माध्यमबाट नेपालीहरूले घरमै बसी-बसी चाहेको समयमा रक्तपातले पूर्ण चलचित्रहरू टेलिभिजन वा मोबाइलबाट हेर्न सक्छन्।

हो, त्यहाँ भिन्नता पनि छ। रोमीहरूले मानिसहरू र जनावरहरू वास्तविक रूपमा नै मारिएका र रगत बगाइएका हेर्दथे। चलचित्रहरूमा देखाइएका ती सब दृश्यहरू काल्पनिक हुन्। कलाकारहरू वास्तवमै मारिएका हुँदैनन् र उनीहरूलाई वास्तवमै रक्तपात गरिएको पनि हुँदैन। तरैपनि, ती सब कुराहरू साँच्चै भएझैं गरी देखाइएका हुन्छन्।  

के विश्वासी जन त्यस्ता हिंसापूर्ण कुराहरू हेर्ने काममा सहभागी हुनुहुन्छ? कसैले प्रतिजवाफ देला: “तर रोमीहरूले देखेका हत्याहरू वास्तिवक थिए। हामीले हेर्ने गरेका हत्याहरू वास्तविक होइनन्। ती मानिसहरू केवल हलिउड वा बलिउड कलाकारहरू मात्र हुन्। त्यो हेर्नुमा नै के खराबी होला र?” के हाम्रो मनहरूलाई त्यस्तै प्रकारका कुराहरूले भर्नु ठिक हुन्छ? के यसको बारेमा फिलिप्पी ४:८ ले हामीलाई केही कुराहरू निर्देशन गर्छ? के हाम्रो मनहरूलाई भर्न सकिने त्यहाँ उत्तम कुराहरू छन्?

के हाम्रो मनहरूलाई भर्ने र आँखाहरूलाई खुवाउने त्यहाँ अझ उत्तम कुराहरू छन्?

ख्रीष्टियन अडान

के ख्रीष्टियन विश्वासीले रक्तपात र हत्याले भरिएका हिंसापूर्ण चलचित्रहरूको बिरुद्धमा बलियो अडान लिनुपर्छ? तपाईंका मित्रहरूले (मानौं अति मनोरञ्‍जन पाएको झैं गरी) त्यस्ता चलचित्रहरूको बारेमा कुराकानी गर्दा के तपाईंले कुनै विरोध जनाउनुहुन्छ? त्यस्ता कुराहरूप्रति तपाईंको “नकारात्मक” मनोभाव छ भनेर के उनीहरूले देख्छन्? के त्यस्ता कुराहरूलाई तपाईं दोषी ठहराउनुहुन्छ?

ग्ल्याडिएटर प्रतियोगिताहरू प्रति सुरूका ख्रीष्टियनहरूको कस्तो आचरण थियो? ख्रीष्टियनहरूले आफ्नो बप्तिस्माको समयमा नै त्यस्ता कुराहरूलाई परित्याग गर्दथे। अर्को तरिकाले भन्ने हो भने, त्यस्ता कुराहरू उनीहरूको बिगतको पापले पू्र्ण जीवनको हिस्सा भए पनि अब उसो उनीहरूले ख्रीष्टमा पाएको नयाँ जीवनको हिस्सा होइनन् भनी स्वीकार गर्दथे। यस्ता रक्ताम्मे खेलहरूमा उपस्थित हुन विश्वाीहरूलाई निषेध गरिएको थियो र जो जान्थ्यो उसलाई मण्डलीले बहिष्कार गर्दथ्यो। टेर्टुलीयनले एक पटक यस्तो भने, “विश्वास र ख्रीष्टिय नियमहरूले संसारको अन्य पापहरूको साथसाथमा सार्वजनिक कार्यक्रमहरूको आनन्दहरूलाई पनि इन्कार गर्दछ।” सुरूका शताब्दीका विश्वासीहरू यो जान्दथे कि त्यस्ता कार्यक्रमहरूले रीस, क्रोध र अभिलाषा जस्ता हरेक प्रकारका जङ्ली र अशुद्ध जोशहरू जगाउँछ।

के वर्तमान समयका ख्रीष्टियनहरूले जस्ता कुराहरूको विरोधमा बलियो अडान लिन्छन्? सांसारिक र पापपूर्ण अभ्यासहरू, परमेश्वरको वचनको विरोधमा भएका कुराहरू र परमेश्वरको पुत्रलाई खुशी नतुल्याउने हरेक कुराहरूबाट अलग रहन परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्। 

उम्केको ग्ल्याडिएटर

ई.पू. ७३ मा स्पार्टाकसको नेतृत्वमा कापूआ अवस्थित ग्ल्याडिएटरहरूको “गोठ” बाट उम्केका ग्ल्याडिएटरहरूको झूण्डसँग इटाली थरथराएको थियो। स्पार्टाकसले दुई वर्षसम्म दक्षिणी इटालीमा कब्जा जमाएर बस्यो। ग्ल्याडिएटर प्रदर्शनहरूलाई प्रेम गर्ने रोमीहरूले जब पूरै देश नै एउटा अखडा बन्यो, तबचाहिँ यो खेल रूचाएनन। उनीहरूले यी प्रतियोगिताहरूलाई तबसम्म मात्र रूचाए जब सम्म उनीहरू आफै त्यस्तो कुरामा संलग्न भएनन् (“मलाई हिंसा गरेको हेर्न मन पर्छ तर मलाई चाहिँ कसैले पनि हिंसा नगरोस् भन्ने कामना गर्छु!”)। 

अन्त्यमा, जब स्पार्टाकसलाई पराजित गरियो, उसलाई पछ्याउनेहरूमध्ये छ हजार जनालाई एप्पीयन मार्गमा क्रूसमा टाँगियो।   केयौं किलोमिटर सम्म किल्ला ठोकिएका र झुन्ड्याइएका घाइतेहरू थिए। 

ख्रीष्टियन सतावट

विश्वासीहरूको विरोधमा रोमी सतावटको विषयमा हामीले पहिल्यै अध्ययन गरिसक्यौं, विशेषगरी उक्त पागल मानिस नेरोको समयमा (पाठ २ मा)। केही ख्रीष्टियन कैदीहरूलाई अखाडामा ल्याएर सिंह र भालुहरूको माझ फ्याँकिन्थ्यो। यहूदीहरू पनि सताइएका थिए। जनरल तीतसले यरूशलेमलाई कब्जा गरेपछि हजारौं यहूदीहरू कैदीहरूलाई रङ्गशालामा मारिनका निम्ति ल्याए (७० ए.डी.)। सुरूका ख्रीष्टियनहरूले त्यस सतावटलाई कसरी व्यवहार गरे? 

के उनीहरूले रोमीहरूको विरोधमा लड्न सकौं भनेर मिलेर सिपाहीँको दल बनाए? विश्वासी भएकोले त्यती ठूलो मूल्य चुकाउनु पर्दा के उनीहरू ख्रीष्टिय विश्वासबाट तर्किए? होइन, सुरूका ख्रीष्टियनहरूले उक्त हिंसालाई साहससाथ, घृणालाई विरतासाथ र डरलाई विश्वाससाथ सामना गरे।

त्यस्तो साहस र विरताको एउटा उदाहरण पोलिकार्पको जीवन र मृत्युमा देख्न सकिन्छ। पोलिकार्प त्यही मानिस थिए जसलाई प्रेरित यूहन्नाले व्यक्तिगत रूपमा सिकाएका थिए। पोलिकार्प दोस्रो सताब्दी ए.डी. का मानिस थिए। उनलाई पक्राऊ गरेर स्मर्नाको विशाल एम्फीथिएटरमा ल्याइएको थियो। हजारौं मानिसहरू के होला भनी हेर्न आएका थिए। त्यहाँका शासकले पोलिकार्पलाई तिनको वृद्ध उमेर सम्झना गराउँदै आफ्नो ख्रीष्टिय विश्वासलाई इन्कार गर्न प्रोत्साहन गरे: “ख्रीष्टलाई इन्कार गर, र म तिमीलाई छोडिदिनेछु।” तर पोलिकार्पले जवाफ दिँदै भने, “छयासी वर्ष मैले उहाँको सेवा गरेको छु, र उहाँले मलाई कहिल्यै कुनै खराबी गर्नुभएन; म कसरी उहाँलाई, मेरो राजालाई निन्दा गर्न सक्छु र? म एक ख्रीष्टियन हुँ।”

उक्त शासकले त्यसपछि भीडलाई भन्यो, “पोलिकार्पले आफैंलाई ख्रीष्टियन भनेर स्वीकार गरेको छ।” भीड आफ्नो बुढी औंला तलतिर फर्काउँदै चिच्याउन थाल्यो, “त्यसलाई जलाइदे!” काठहरू जम्मा गरेर चिता बनाइयो। पोलिकार्पले आफूलाई चितामा नबाँध्न आग्रह गरे। “मलाई यतिकै छोडिदिनुहोस्”, तिनले भने। “ज्वालाहरू सहन सामर्थ्य दिनुहुनेले नै मलाई चितामा नबाँधिइकन पनि स्थीर भइ उभिन सामर्थ्य दिनुहुनेछ।” काठको थुप्रोमा आगो जलाइएपछि पोलिकार्पले साहसपूर्वक आफ्ना परमेश्वरलाई अन्तिम प्रार्थना चढाए र अन्त्यमा आगोले तिनलाई निलिदियो। तिनको मृत्यु सन् १५६ मा भएको थियो।

पोलिकार्प जस्ता व्यक्तिहरूको निम्ति दुखित हुनथाल्नु भन्दा पहिले हामीले यो कुराको सम्झना गर्नुपर्छ कि ती मानिसले सहनु परेको आगो केवल एकैछिनको लागि मात्र थियो। ख्रीष्टलाई इन्कार नगरे पोलिकार्पलाई चितामा जलाउँछौं भन्दै धम्की दिने तिनको शत्रुहरूमध्ये एकजनाले यसो भन्यो, “तैंले तेरो मन बदलिनस् भने म तँलाई आगोले नाश गर्नेछु।” पोलिकार्पले जवाफ दिए, “तपाईंले मलाई त्यो आगोद्वारा धम्की दिँदै हुनुहुन्छ जुन एक घण्टा जल्छ र त्यसपछि निभिहाल्छ; तर तपाईं आउनेवाला इन्साफको आगोको बारेमा अनजान हुनुहुन्छ जुनचाहिँ दुष्टहरूको निम्ति अनन्त दण्डका लागि साँचिएको छ” (हेर्नुहोस् मत्ती २५:४१, ४६)। के पोलिकार्पले बोलेका यी शब्दहरूले वास्तवमा कोचाहिँ साँच्चै दुखित हुनुपर्ने हो भन्ने बुझ्न सहायता गर्छ? पोलिकार्पलाई दोषी ठहराउँदाहुँदी उनीहरूले वास्तवमा आफैंलाई दोषी ठहराइरहेका थिए।

सम्राट मार्कूस औरेलियस (१६१-१८० ए. डी.) को समयमा पनि विश्वासीहरूले ठूलो कष्ट सहनुपर्यो। यस मानिसले ख्रीष्टियनहरूका जायजेथा उनीहरूका अभियोक्ताहरूलाई दिइयोस भनेर उर्दी जारी गर्यो। थुप्रै मानिसहरू ख्रीष्टियनहरूका सम्पत्तिमाथि आफ्नो हात हाल्न कसरी तत्पर थिए भनी तपाईं कल्पना गर्न सक्नुहुन्छ। तिनीहरूले हरेक मौकालाई खाली जान दिएनन्। रोमी नागरिकहरू नै भए पनि ती विश्वासीहरूका शिर काटिए। अरूहरूचाहिँ एम्फीथिएटरका अखाडाहरूमा जङ्गली जनावरहरूको मुखमा फालिए।

अविश्वासीहरूले हेर्दाहुँदी उनीहरूले ख्रीष्टियनहरूलाई वयान गरेर नसकिने आनन्द र परमेश्वरले मात्र दिन सक्नुहुने साहसका साथ मृत्युको सामना गरिरहेका देखे। मृत्यु हुनेहरूमा अन्तिमचाहिँ ब्लान्डिना थिइन्। तिनले अन्य थुप्रै मानिसहरूको मृत्यु देखेकी थिइन् र उनीहरूलाई अन्तसम्म नै स्थिर रहन उत्साह र अर्ती दिएकी थिइन्। आफ्नो मुक्तिदातामाथि पूर्ण भरोसा गर्दै तिनी अखाडामा प्रवेश गरिन्। तिनीमाथि जालो फ्याँकियो। त्यसपछि तिनलाई जङ्गली साँढेको आवेगको सामना गर्न छोडियो। साँढेले कैयौं पटक तिनलाई आफ्नो सिङहरूले उचाल्यो र हावामा हुत्त्याइदियो। अन्तिममा तिनको मृत्यु भयो। 

ई. सं. २०५ मा अरू विश्वासीहरूलाई अखाडामा मारियो। सेटर, सेटरनिनस र रेभोकाटसहरू अखाडामा प्रवेश गरे र यी तीन विश्वासीहरूलाई जङ्गली पशुहरूको बीचबाट भएर शिकारीहरूको माझमा हतियार पुर्याउन हुकुम गरियो। शिकारीहरू दुई समुहमा थिए र यी तीन जना उनीहरूको बीचमा दगुर्दाहुँदी नर्दयी तरिकाले प्रहार गरिए। फेलिसिटास र पर्पेचुवाहरू पशुकहाँ फ्याँकिए। उक्त पशुले पर्पेचुवालाई पहिलो आक्रमण गरेर उसलाई पछारिदियो; त्यसपछि फेलिसिटासलाई आक्रमण गर्यो र गहिरो चोट पारिदियो; तर उनीहरू मरेनन्, सो काम तरवारधारी सिपाहीले पूरा गरिदियो। रेभोकाटस र सेटरहरू पनि उही शैलीमा मारिए; सेटरनीनसको शिर काटियो; र सेकुन्डूलस कैदखानामा मरे (फक्सेस बूक्स अफ मार्टर)।

अन्य थुप्रै मध्ये यी केवल थोरै उदाहरणहरू मात्र हुन्। यी विश्वासीहरूले ख्रीष्टको निम्ति अडान लिए र उक्त अडानको निम्ति मूल्य चुकाए। परमेश्वरले उनीहरूलाई उनीहरूको खाँचोको समयमा बल, साहस र आनन्द समेत दिनुभयो। तपाईंको जीवन यस्तै अवस्थामा पुगेको भए के हुन्थ्यो? यस्तो विषम परिस्थितीहरूमा पनि तपाईं ख्रीष्टियन भएकोमा गर्व गर्नुहुने थियो? मण्डलीमा उपस्थित हुँदा तपाईंको जीवन नै जोखिममा पर्छ भने, के तपाईं उपस्थित हुनुहुने थियो? मानौं कम्यूनिस्टहरूले हाम्रो देशलाई आफ्नो कब्जामा लिएर ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गर्ने हरेक व्यक्तिलाई मारिनुपर्छ भनेर हुकुम गर्यो रे। के तपाईं चुपै लाग्नुहुन्छ (मत्ती १०:३२-३३)? के तपाईंले कहिल्यै ख्रीष्टलाई तपाईंको प्रभुको रूपमा स्वीकार गर्नुभएको छ (रोमी १०:९)? विजयी समुहको पक्षमा आउनुहोस्! ख्रीष्टले कहिल्यै हार्नुहुन्न! उहाँ सँधै विजयी हुनुहुन्छ, र मृत्युमा समेत हामीहरू विजेताहरू हौं (१ कोरिन्थी १५:५५-५८)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

भूमिगत चिहानहरू र एकान्त वास

पाठ ४

भूमिगत चिहानहरू र एकान्त वास

के तपाईंले कहिल्यै भूमिगत चिहानको बारेमा सुन्नुभएको छ? भूमिगत चिहानहरू भनेको मानिसहरूलाई गाड्न जमिनमुनि खोपेर सुरुङ्ग जस्तो बनाइएको ठाउँहरू हुन्। यस्ता चिहानहरू संसारका विभिन्न ठाउँहरूमा पाइन्छ तर बढी प्रख्यात चिहानहरू रोममा पाइन्छन् र हामीले यस पाठमा त्यहीँका चिहानहरूको अध्ययन गर्नेछौं। 

झण्डै एक हजार वर्षसम्म रोममा रहेका भूमिगत चिहानहरूको बारेमा जान्ने मानिसहरू बिरलै थिए। केही शताब्दी अगाडि मात्र केही मानिसहरूले उनीहरूका दाखबारीहरूमा रोपाइँ गर्दै गर्दा ती भेट्टाइएका थिए। कस्तो अचम्मको आविष्कार थियो त्यो! रोमका ती भूमिगत चिहानहरू सारा विश्वमै सबै भन्दा रोचक चिहान थिए।

ती सर्वोत्कृष्ट भूमिगत गल्लीहरू पहिलो तीन शताब्दीका ख्रीष्टियान मण्डलीहरूका ख्रीष्टियनहरूद्वारा निर्माण गरिएका थिए। रोमीहरूले ख्रीष्टियनहरूलाई उनीहरूका मृतकहरूलाई यी भूमिगत चिहानहरूमा दफन गर्ने अनुमति दिएको थियो। सम्राट कन्स्टान्टिनको समयपछि, ख्रीष्टियन चिहानहरू भूमिको सतहमा नै राखिन थाले। तसर्थ कन्स्टान्टिनको समय पूर्व पहिलो तीन शताब्दीहरूमा दफन स्थानको रूपमा भूमिगत चिहानहरू प्रयोग गरिएका थिए।

रोमको शहर अवस्थित भूमि तुलनात्मक हिसाबले नरम चट्टानहरूले बनेको छ। शहरी क्षेत्रभित्र मानिसहरूलाई दफन गर्ने अनुमति थिएन। त्यसैले शहर बाहिर थुप्रै स्थानहरूमा नरम चट्टानभित्र गल्लीहरू र सुरुङहरू खनिएका थिए। ती सुरुङहरूका भित्ताहरूलाई खोपेर खोपा-खोपा बनाइन्थ्यो र ती खोपाहरूमा मृत शरीरलाई राखिन्थ्यो। ती खोपाहरूलाई तखता-तखता मिलाएर एक माथि अर्को हुनेगरि खोपिन्थ्यो। शरीरलाई त्यसभित्र राखेपछि ती खोपाहरूलाई मार्बल वा टायलको पटरा प्रयोग गरेर बन्द गरिन्थ्यो।

उक्त मार्बल वा टायलमा मृतकको सम्झनामा केही कुराहरू खोपेर लेखिन्थ्यो जसलाई समाधि-लेख (स्मारक) भनिन्छ। समाधि-लेख भनेको मृतकको सम्झनामा लेखिने विस्तृत विवरण हो। मानिसहरूलाई दफनको गरिएको स्थानमा के तपाईंले त्यस्तो कुनै समाधि-लेख लेखिएको देख्नुभएको छ? समाधि-लेखहरूको बारेमा हामी अझै उल्लेख गर्नेछौं।

रोम भित्र र वरिपरि बस्ने ख्रीष्टियानहरूले आफ्ना मृतकहरूलाई भूमिगत चिहानहरूमा दफन गर्दथे। सुरुका ख्रीष्टियनहरूमध्ये शहिद भएर मृत्यु हुने धेरै जनालाई त्यहीँ दफन गरिएको थियो। ती विश्वासयोग्य पवित्र जनहरूका शरीरहरू ती भूमिगत चिहानहरूमा राखिएका थिए।

हामी रोमको भ्रमण गर्न जान सकेको भए ती भूमिगत चिहानहरूको अवलोकन गर्न सकिने थियो र ती अचम्मका सुरुङहरू हाम्रा आफ्नै आँखाहरूले देख्न सक्ने थियौं। हामीले त्यहाँ लामो र साँघुरो गल्लीहरू देख्ने थियौं। उक्त गल्लीहरूको चौंडाइ औसतमा करिब साँढे दुई देखि चार फिट मात्र छन् जहाँ मुश्किलले दुईजना मात्र अटाउन सक्छन्। माथिबाट कहीँ-कहीँ मात्र थोरै प्रकाश छिर्न सक्ने ठाउँ भएका ती सुरुङहरू अँध्यारो र निरस छन्। ती सुरुङहरू एक-अर्कासँग जोडिएका र घुमर्किएका भएकोले त्यहाँ एक प्रकारको जटिल भुलभुलैया बनेको छ। ती भूमिगत गल्लीहरूमध्ये थुप्रै गल्लीहरू भूमिको सतहभन्दा करिब ३० वा त्यो भन्दा बेसी फीट मुनि छ। यदि ती सबै सुरुङहरूलाई एक छेऊदेखि अर्को छेऊ जोड्ने हो भने झण्डै ८०० किलोमिटर लामो हुन्छ! र भित्ताहरूमा त्यहाँ करिब ४० देखि ७० लाख चिहानहरू छन्! ती चिहानहरूमा कति ख्रीष्टियनहरू दफन गरिएका छन् भन्ने कुराको सानो अनुमान हामी लगाउन सक्छौं।

यदि आज तपाईं उक्त ठाउँमा पुग्ने हो भने र मार्बल वा टायलहरू हटाएर अहिले सम्म नखोलिएको कुनै एउटा चिहान खोल्ने हो भने तपाईंले त्यहाँ अति राम्रोसँग संरक्षण गरिएको मानव कंकाल भेट्नुहुनेछ। बेलाबखतमा उक्त कंकाल चम्किलो महिमाले घेरिएझैं गरी उज्यालो देखिनेछ, तर त्यसलाई छोइयो भने त्यो माटो झैं फुस्सै खस्नेछ। यसले कसरी उत्पत्ति ३:१९; उपदेशक ३:२०; १२:७ को सम्झना गराउँछ?

______________________________________________________________________

समाधि-लेखहरू र भित्ताहरूमा रङ्गाइएका चित्रहरूको बारेमा अध्ययन गर्नु निकै रोचक हुन्छ किनभने तीद्वारा हामी सुरुका ख्रीष्टियानहरूको बारेमा र उनीहरूको विश्वासको बारेमा सिक्न सक्छौं। भूमिगत चिहानहरूमा साधारणतया भेट्टाउन सकिने त्यहाँ तीन ओटा सङ्केत चित्रहरू थिए:

१ “असल गोठालो” को चित्र (हेर्नुहोस् यूहन्ना १०)।

२ “दाखको बोट” को चित्र (हेर्नुहोस् यूहन्ना १५)।

३ माछाको चित्र। योचाहिँ ख्रीष्ट जनाउने प्राचीन ख्रीष्टिय सङ्केत थियो।

सुरुका ख्रीष्टियनहरूले एउटा सामान्य माछाको चित्र कोर्थे:

माछाको चित्र एउटा अति अर्थपूर्ण कुराको प्रतीक थियो। माचाको सङ्केतको अर्थ यस्तो थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! सुरुका ख्रीष्टियनहरूले कसरी माछाबाट यस्तो अर्थ बुझ्न सक्थे?

माछा शब्दको ग्रीक रूप यस्तो थियो:

माछा शब्दको ग्रीक रूप (इख्थीस) वास्तवमा एउटा छोटो रूप हो जसमा हरेक अक्षर कुनै अर्को शब्दको सुरुको अक्षर थियो।

तसर्थ, माछाको साङ्केतिक चित्र ख्रीष्ट जनाउने एउटा प्राचीन ख्रीष्टियन सङ्केत थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! यी शब्दहरूले स्पष्ट शिक्षा दिन्छ: येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ! उहाँ परमेश्वरको महिमित पुत्र हुनुहुन्छ! उहाँ परमेश्वरको एकमात्र मुक्तिदाता हुनुहुन्छ! आज पनि माछाको चित्र कहिलेकाहिँ ख्रीष्टियन सङ्केतको रुपमा देखिन्छ। 

भूमिगत चिहानहरूमा भेट्टाइएका ख्रीष्टियनहरूको समाधि-लेखहरू आशावादी र उल्लसित थिए। तिनमा सुरुका ख्रीष्टियनहरूमाझ चिहान भन्दा पनि पछाडिको जीवनको निम्ति महान् आशा भएको देखिन्थ्यो। ती भूमिगत चिहानहरूमा भेट्टाइएका समाधि-लेखहरूमा पाइएका विस्तृत विवरणहरूका केही उदाहरणहरू यस्ता छन्:

“शोक नगर, मेरो नानी; मृत्यु अनन्त छैन।”

“प्रिमा, तिमी परमेश्वरको महिमा र हाम्रा प्रभु येशू ख्रीष्टको शान्तिमा बाँचिरहेको छौ।”

“रेजीना, तिमी प्रभु येशूमा बाँचेकी हौ।”

“अगापी, तिमी सदाकालको निम्ति जिउनेछौ।”

एक विश्वासी जनको मृत्यु भएपछि वास्तवमा के हुन्छ (फिलिप्पी १:२१-२३; लूका २३:४३; २ कोरिन्थी ५:८)?

___________________________________________________________________________________

__________________________________________________________________________________

के शारीरिक मृत्युसँग विश्वासी जन डराउनुपर्छ? किन पर्छ? अथवा किन पर्दैन?

___________________________________________________________________________________

के मुक्ति नपाएकाहरू शारीरिक मृत्युसँग डराउनुपर्छ? किन पर्छ अथवा किन पर्दैन?

___________________________________________________________________________________

१ थेस्सलोनिकी ४:१३ पढ्नुहोस्। के विश्वासीहरूले आफ्ना प्रिय जनहरूको मृत्युको घडीमा अविश्वासीहरूले उनीहरूको आफ्नाहरूको मृत्युको समयमा गरेको जस्तै गरेर शोक गर्छन् (१ थेस्सलोनिकी ४:१३ सित तुलना गर्नुहोस्)? मृत्युको मुखमा पनि कसरी विश्वासीहरूसँग महान् आशा हुन सक्छ? यदि यसै दिन वा हप्तामा तपाईंको मृत्यु भयो भने, तपाईँका प्रिय जनहरूले कस्तो अनुभूति गर्ने थिए होला? तपाईं स्वर्गमा प्रभुसँग हुनुहुन्छ भनेर उहाँहरू निश्चित हुनुहुने थियो होला कि उहाहरू दु:खित हुँदै यस्तो सोच्नुहुने थियो होला, “उसले सायद साँच्चै गरी मुक्ति पाएको छैन होला”?

भूमिगत चिहानहरूले पहिलो तीन सताब्दीका सुरुका ख्रीष्टियनहरूका निम्ति एउटा अर्को उद्देश्य पनि पूरा गर्थ्यो। ती ठाउँहरू दफन स्थानहरू मात्र थिएनन् तर तिनलाई लुक्ने स्थानहरूको रूपमा पनि प्रयोग गरिन्थ्यो। ती ठाउँहरू मृतकहरूलाई लेटाउने स्थानहरू मात्र होइन तर जिउँदाहरू लुक्ने स्थानहरू पनि थिए! सुरूका ख्रीष्टियनहरू रोमीहरूद्वारा प्राय: जसो सताइन्थे र लखेटिन्थे। भूमिगत चिहानहरू सर्वोत्तम शरणस्थानहरू थिए। विश्वासीहरू यस्ता भुलभुलैया जस्ता गल्ली नै गल्लीहरू भएका सुरुङहरूभित्र दगुर्थे र उनीहरूलाई भेट्टाउन रोमीहरूलाई निकै कठीन हुन्थ्यो। त्यस्ता ठाउँहरूमा रोमीहरूले उनीहरूलाई बिरलै मात्र खेद्‍ने गर्थे।

ख्रीष्टियनहरू त्यस्ता भूमिगत चिहानहरू भएका सुरुङहरूमा आराधना गर्न भेला हुन्थे भन्ने कोही-कोहीको बिचार छ। हुन त, निश्चय पनि सुरुका ख्रीष्टियनहरू जहीँ गए तापनि परमेश्वरलाई प्रार्थना र प्रशंसा गर्ने गर्दथे, तर त्यस्ता सुरुङहरू उपासनाका निम्ति त्यस्तो सुहाउँदो थिएन। सबै भन्दा ठूलो स्थानमा पनि धेरैमा केवल मुनासिव दुरी राखेर २० वा ३० जना मात्र अटाउन सक्थे। ती लुक्नको निम्ति राम्रा स्थान थिए र मण्डली भवनहरू हुन त्यती राम्रा स्थान थिएनन्।

कहिलेकाहीँ परमेश्वरका जनहरू संसारद्वारा लखेटिन्छन् र उनीहरू भाग्नुपर्छ र हर प्रकारका ठाउँहरूमा लुक्नुपर्छ। भुमिगत चिहानहरू के-के भयो होला भनेर हिब्रू ११:३७-३८ ले कसरी सम्झना गराउँछ? कहिलेकाहीँ विश्वासीहरू संसारबाट टाढा जानै पर्छ किनभने त्यसो गर्न विफल हुँदा उनीहरू मारिन पनि सक्छन्। आज संसारमा सताउनेहरूबाट भागेर लुक्नुपर्ने र “भुमिगत” (भूमिगत भन्नाले अधिकारीहरूको ज्ञानबिना गुप्तमा भेला हुने कार्य) हुनुपर्ने केही विश्वासीहरू छन् होला? प्रभु येशूले उहाँका चेलाहरूलाई संसारबाट सतावटहरू सामना गर्न तयार हुनका निम्ति के-कस्ता चेताउनीहरू र अर्तीहरू दिनुभयो (यूहन्ना १५:१८-२१; १६:१-३, ३३; १७:१४ र मत्ती ५:१०-१२)? 

क्लोइस्टरहरू

त्यहाँ यस्ता समयहरू पनि थिए जब सुरुका ख्रीष्टियनहरू संसारबाट हटिगएर भूमिगत चिहानहरू र अन्य स्थानहरूमा लुक्नुपर्थ्यो। तरैपनि, पछिल्ला वर्षहरूमा, त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले अन्य कारणहरूले गर्दा संसारबाट हटिजान्थे।

रोमी सम्राट कन्स्टान्टिनको समयहरूमा, ख्रीष्टियनमत स्वीकार्य धर्म भयो र त्यस समयभन्दा अगाडिदेखि ख्रीष्टियनहरूको विरुद्धमा चलिआएको सतावट पनि अन्त्य भयो। कन्स्टान्टिनको बारेमा पाठ ६ मा थप कुराहरू अध्ययन गर्नेछौं। कन्स्टान्टिनको दिनहरू पछि संसारले मण्डलीलाई झन्-झन् स्वीकार गर्यो र त्यसैकारण मण्डली झन्-झन् सांसारिक बन्यो। आफूलाई ख्रीष्टियन हुँ भनी दाबी गर्नेहरू झन् झन् मुक्ति नपाएकाहरू जस्तो गरी जिउन थाले। मण्डलीका मानिसहरूले झन् झन् संसारका मानिसहरूको रूप देखाउन थाले। परमेश्वरका जनहरू झन् झन् संसारसँग एकनासे हुन थाले (संसारको रूपमा ढालिए—रोमी १२:२) र संसारद्वारा कलंकित भए (याकूब १:२७)। के मण्डलीले सांसारिकपनाको समस्या वर्तमान समयमा पनि सामना गरिरहनु परेको छ?

यो समस्यालाई देखेर यसको समाधानको निम्ति केही गर्न चाहने केही मानिसहरू त्यहाँ थिए। परमेश्वरले पवित्र, शुद्ध र धर्मी जीवन चाहनुहुन्छ भनी उनीहरू जान्दथे। ख्रीष्टियनहरू सांसारिक होइन तर ईश्वरीय हुनुपर्छ भनी उनीहरूलाई थाहा थियो। उनीहरूले समस्या देखे र त्यस समस्यालाई समाधान गर्न चाहे। तर उनीहरूको समाधान यस्तो थियो: “संसारबाट नै निस्केर जाऊँ! संसारबाट नै भागौं! संसारबाट नै लुकौं! संसार यति दुष्ट छ कि पवित्र जीवनहरू बिताउन हामी यसबाट सकेसम्म टाढा भाग्नुपर्छ। संसारबाट जति टाढा गयौं उनी नै हाम्रो हृदय सफा, शुद्ध र पवित्र हुनेछ।”

यस्तो प्रकारको समाधानको बारेमा तपाईं के सोच्नुहुन्छ? के यो ठिक समाधान हो? के गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्नु सम्भव छ? हामीले गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्यौं भने थुप्रै अरू समस्याहरू खडा हुनेछन्!

क्लोइस्टर भनेको यस्तो ठाउँ हो जहाँ धर्म-कर्म गर्ने मानिसहरू संसारबाट भाग्नको निम्ति जान्छन्। यो यस्तो ठाउँ हो जहाँ ती मानिसहरू यस संसारबाट एकान्त हुन जान्छन्। यो त्यस्तो ठाउँ हो जहाँ त्यस्ता मानिसहरू (जसलाई मोंक वा नन भनिन्छ) आफैंसँग एउटा शान्त र अलग जीवन जिउन सक्छन्।

मोनास्टरी भनेको पनि क्लोइस्टर जस्तै हो। मोनास्टरीचाहिँ यस्तो भवन हो जहाँ मोंकहरू (पुरुष) वा ननहरू (स्त्री) पृथक खालको वा एकान्त जीवन जिउँछन्। मोनास्टरी भनिने शब्द मोनाजीन शब्दबाट आउँछ जसको अर्थ हो “एक्लो हुनु”।

मोनास्टरीमा प्रवेश गर्ने पुरुषलाई मोंक भनिन्छ र स्त्रीलाई नन् भनिन्छ। यी मानिसहरूको बारेमा हामी थप कुराहरू पछि सिक्नेछौं। १ कोरिन्थी ५:९-१० मा प्रेरित पावलले कोरिन्थीहरूलाई लेखे र दुष्ट मानिसहरूबाट पूरै अलग हुन असम्भाव्य छ भनी बताए। सांसारिक मानिसहरू हाम्रो वरिपरि नै छन्—विद्यालयमा, काममा, छर-छिमेकमा र बजारहरूमा इत्यादि। मानिसहरू भेटिने जहाँसुकै त्यस्ता मानिसहरू हुन्छन्। पावलले बताए, यदि दुष्ट मानिसहरूबाट अलग हुने हो भने, “तिमीहरूले __________________ नै _________________ जानुपर्छ” (१ कोरिन्थी ५:१०)। वास्तवमै यस संसारबाट उम्कने हो भने तपाईं आफ्नो रकेटमा चढ्नुपर्छ र चन्द्रमा अथवा नजिकैको कुनै ग्रहमा उडेर जानुपर्छ! पावलले हामीलाई यसै गर्नु भनेर बताइरहेका थिएनन्। उनले त हामी दुष्ट मानिसहरूले भरिएको संसारमा भएको कारण यसो गर्नु असम्भव छ भनी बताइरहेका थिए। “तिमीहरूले संसारबाट नै निस्केर जानुपर्छ”—मोंकहरू ती हुन् जसले वास्तवमै यसो गर्ने कोसिस गरे! उनीहरूले असम्भव कुरा गर्न खोजेका छन्!

पहिलो प्रख्यात मोंक

तेस्रो सताब्दीको अन्त्यतिर मिश्रमा बस्ने एकजना मानिस थिए जसको नाम एन्थोनी थियो। ती मानिस कुनै मरुभूमिमा अवस्थित गुफामा बस्न एक्लै गए र हर्मीट भनी चिनिए। हर्मीट भनेको त्यस्तो मानिस हो जो संसारबाट अलग हुन्छ र एक्लै जीवन बिताउँछ। तिनले एउटा अति कठोर जीवन बिताए र पवित्र हुनुको रहस्यचाहिँ दुलो भित्र गएर बस्नु हो भनेर कसरी हो मानिलिए! 

अन्य मानिसहरूले पनि एन्थोनीको नमुनालाई पछ्याए। उनीहरूले संसारको दुष्टताहरूबाट पृथक जीवन बिताउने निर्णय गरे। समयको क्रममा धेरै मोंकहरू एकसाथ रहेर मोनास्टरी भनिने विशाल घरहरूमा बस्न थाले जहाँ हरेक मोंकको आफ्नै सानो कोठा हुन्थ्यो।

केही विषम उदाहरणहरू

मोंकहरू वा हर्मीटहरूले विचित्र जीवन व्यतित गरे। विचित्र जीवनशैलीको निम्ति शिमोन स्टाइलीट्स जस्तो प्रख्यात अरू कोही पनि छैन। शिमोनको मृत्यु सन् ११५९ मा ६९ वर्षको उमेरमा भएको थियो। तिनी सिरिया वासी थिए। तिनको जीवनको अन्तिम तीस वर्षको समयमा तिनको मृत्युको दिनसम्म नै तिनी एउटा खाँबो (जसको नाम स्टाइलस थियो, यसैकारण तिनको नाम शिमोन स्टाइलीट्स हुन पुग्यो) को टुप्पामा बसे। शिमोनले केही खाँबाहरू निर्माण गरे, हरेक खाँबा अघिल्लो भन्दा अल्गो हुन्थ्यो। उसको अन्तिम खाँबा साठी फीट अल्गो थियो र टुप्पोमा केवल ४ वर्ग फीट क्षेत्र थियो (बसोबासो गर्न खासै ठूलो क्षेत्र त होइन)। तिनी करिब ३० वर्षसम्म त्यहाँ बसे र प्राय: उभिन्थे पनि। तिनी हरेक दिन त्यहाँ हुन्थे—दिन र रात, गर्मी र जाडो, चिसो र तातो, वर्षा र घाम। साठी फीट उचाइबाट तर जमीनमा भेला भएका मानिसहरूलाई तिनी प्रचार गर्थे। आफ्नो मृत्युको दिनसम्म नै यस्तो जीवन तिनले यापन गरे।

के यसो गरेर शिमोन तल जमिनमा भएकाहरूभन्दा बढी परमेश्वरको नजिक भएका थिए र? के स्वर्गको नजिक उचालिएकोले शिमोनले कलस्सी ३:१-२ मा भएको पावलको आज्ञाहरूलाई झन् राम्रोसँग पालन गर्न सके? के संसारबाट अलग भएर पवित्र जिवन जिउन तिनी सफल भए?

अन्य मानिसहरूले पनि शिमोनको नमुनालाई पछ्याए र तिनीहरू पनि खाँबा बासीहरू भए। दानियल नाम गरेका एक मानिसले खाँबाको टुप्पामा करिब ३३ वर्ष बिताएको थियो भनेर भन्ने गरिन्छ। उसको नाम आज पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ! अरू मोंकहरूले अरू अनौठा कुराहरू गरे। बोस्की नामक धार्मिक समूहका हर्मीट मानिसहरू मैदानमा बसे र उनीहरूले पशुहरूले झैं घाँस खान्थे। अर्को हर्मीट सिनाई पर्वतको आसपास इलाकामा करिब ५० वर्षसम्म नाङ्गै डुलुवा भएर हिँड्यो। मोशाले  परमेश्वरसँग भेटेको र कुरा गरेको र दस आज्ञा प्राप्त गरेको ठाउँको नजिक हुँदा पवित्र हुन सक्छु भनेर उसले सोचेको थियो होला। अम्मून नाम गरेको अर्को हर्मीटको छुट्टै ख्याती थियो किनभने हर्मीट बनेपछी उसले कहिल्यै वस्त्र पहिरेन र कहिल्यै नुहाएन। सायद उसले आफू बहिर जति धेरै फोहोरी हुन सक्यो उती नै धेरै भित्र सफा हुन सकिन्छ भनेर सोचेको थियो होला!

मोंकहरूको सामान्य जीवनशैली

हामीले केही विषम उदाहरणरू हेर्यौं; अब केही सामान्य उदाहरणहरू पनि हेरौं। मोंक र ननहरूले एउटी अति कठोर जीवनशैली अभ्यास गर्दथे जसलाई साधुवाद (ascetism; आफैंलाई इन्कार गर्ने एक कठोर अभ्यास) भनिन्छ। उनीहरू सांसारिक वस्तुहरूको अधिकारी हुन इन्कार गर्थे। उनीहरू जति खानु पर्ने हो ठिक त्यतिभन्दा धेरे खाँदैनथे र पिउँदैनथे। केही मोंकहरूले रोटी खानु र केवल पानी पिउनु बाहेक अरू केही खाँदैनथिए। मोंकहरूले अकसर उपवास बस्दथे जसको मतलब हो कि केही निश्चित समयको लागि त उनीहरूले केही पनि खाँदैनथिए। हरेक मोंक र ननहरू विवाह नगरी बस्थे। उनीहरूले आफ्नो प्राय: जसो समय प्रार्थना गर्न, धार्मीक पुस्तकहरू पढ्न र पढेको कुराहरूमाथि मनन गर्नमा बिताउँथे।

केही मोंकहरूले कोर्राहरूद्वारा आफैंलाई हिर्काएर आफैंलाई सजाय दिन्थे। सायद कोही-कोहीले यसरी सोचे होला:

“हामी सतावटमा पर्नुपर्छ (२ तिमोथी ३:१२), र हामी सताउने यहाँ कोही नभएकोले हामी आफैंलाई सताउनेछौं! हामी आफैंले हाम्रो सतावट सृजना गर्नेछौं र उहाँको निम्ति हामीले सतावट सहिरहेको देखेर परमेश्वर अति प्रसन्न हुनुहुनेछ।” तपाईंको विचारमा यस्तो किसिमको सोचाइमा के समस्या छ होला?

के मोनास्टरीहरूबाट कुनै असल कुरा आयो?

यस्तो मोनास्टरी लहर पूर्ण रूपमा गलत थियो। परमेश्वरले आफ्ना जनहरू संसारबाट नै निस्किएर गएको र एकान्त र एकलो जीवन बिताएको कहिल्यै इच्छा गर्नुभएन। उहाँका विश्वासी जनहरू कहाँ जिएको र चम्केको चाहनुहुन्छ (फिलिप्पी २:१५)? ___________________________________________________________

हुन त कुनै कुरा गलत नै भए पनि, परमेश्वरले त्यसलाई भलाइको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। खराबीबाट पनि भलाइ ल्याउन परमेश्वर योग्य हुनुहुन्छ (उत्पत्ति ५०:२० सित तुलना गर्नुहोस्)। मोनास्टरी लहर गलत भए तापनि, परमेश्वरले उदेकको तरिकाले यसलाई प्रयोग गर्नुभयो। मोंकहरूले पवित्र शास्त्रहरूको प्रतिलिपि उतार्न आफैंलाई समर्पित गरे। उनीहरूको कामहरूमध्ये एउटा यो पनि थियो। पहिलो र दोस्रो सहस्राब्दीको मध्य वर्षहरूतिर मोनास्टरीहरू एक हिसाबले प्रकाशन गृहहरू भएका थिए। यो निकै ठूलो काम थियो, विशेषगरी ती दिनहरूमा जब छापाखानहरू थिएनन् र सबै प्रतिलिपिहरू हातले नै उतारिनुपर्थ्यो। मोंकहरूले यो काम गरे र उनीहरूले निकै राम्रोसँग यो काम गरे। आज हामीसँग हाम्रा हातहरूमा बाइबल छन् र पवित्रशास्त्रहरू विश्वासयोग्यतासाथ विगतका शताब्दीहरूमा संरक्षण गरिएका छन्। पवित्रशास्त्रहरूको प्रतिलिपी उतार्न मोंकहरूले गरेका कामहरू बहुमूल्य छन्, र ती मानिसहरू उक्त काम गर्न सक्षम भएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौं।

एउटा चाख लाग्दो कुरा के छ भने मार्टिन लुथर, जोन क्यालभिन र अन्य रिफर्मर्सहरूले मोंकहरूले नै उतारेका पवित्रशास्त्रका प्रतितिलिपीहरू प्रयोग गरेर मोंकहरूकै अबाइबलीय अभ्यासहरूको दोष प्रकट गरिदिएका थिए! जुन पुस्तक उनीहरूले आफ्ना हातहरूद्वारा सारिरहेका थिए, त्यही पुस्तकले उनीहरूको एकान्त र एक्लो जीवनालई दोष्याइरहेको थियो!

मोनास्टरीका गल्तीहरू के-के हुन्?

केही गल्तीहरू निम्न लिखित छन्:

१. प्रभुलाई हामी चिन्दछौं भनेर दाबी गर्ने मानिसहरूलाई समाजबाट अन्यत्रै लगिन्थ्यो जबकी उनीहरू त्यहीँ हुनुपर्थ्यो। संसारबाट नै भागेर जाने हो भने एउटा मानिसले कसरी हराइरहेको र नाश भइरहेको संसारलाई सहायता गर्न सक्छ र? यदि तपाईं मानिसहरूको बीचमा हुनुहुन्न भने कसरी तपाईं एउटा असल प्रभाव पार्ने साक्षी बन्न सक्नुहुन्छ? यदि तपाईं पापीहरूको बीचमा नै हुनुहुन्न भने कसरी तपाईंले पापीहरूलाई सुसमाचार प्रचार गर्न सक्नुहुन्छ? यदि तपाईं संसारबाट बाहिर निस्कन खोज्दै हुनुहुन्छ भने कसरी तपाईं “सारा संसारमा” (मर्कूस १६:१५) जान सक्नुहुन्छ? 

२. धार्मिक जीवन जिइरहेका छौं भन्ने यी पुरूष र स्त्रीहरूले एउटा ठूलो गल्ती गरिरहेका थिए। यस संसारबाट भागेर र समाजबाट एकलिएर मानिसको पापी हृदय शुद्ध र पवित्र हुन्छ भनी उनीहरूले गलत तरिकाले बुझे। के प्रभु येशूले विश्वासीहरू संसारबाट लगिउन् भनेर प्रार्थना गर्नुभयो (यूहन्ना १७:१५)? के प्रभु येशूले विश्वासीहरू संसारमा हुनुपर्छ भनेर ठान्नुभयो (यूहन्ना १७:११, १८)?

३. ती पुरूष र स्त्रीहरू गलत कारणहरू देखाएर संसारबाट पर हुने कोसिस गरे। संसारबाट आफैंलाई पृथक गराएर अझ पवित्र हुन्छौं भनेर तिनीहरूले सोचे। रोमको विरपरि जिइरहेका सुरूका ख्रीष्टियनहरू संसारबाट भागेर भूमिगत चिहानहरूमा बस्न गए किनभने संसारले उनीहरूलाई लखेटिरहेको थियो। तर मोंकहरूलाई त कसैले पनि लखेटिरहेका थिएनन्। कसैले पनि उनीहरूलाई सताइरहेका थिएनन्। उनीहरू आफैंले मोनास्टरीहरूमा जान र उनीहरूको सानो कोठाहरूमा बस्न रोजे किनभने तिनले उनीहरूलाई परमेश्वरको नजिकमा ल्याउनेछ भनी उनीहरूले सोचे। उनीहरू त्यहाँ लखेटिएका थिएनन्। उनीहरूले आफैंलाई त्यहाँ लखेटेका थिए।

४. त्यस्तो जीवनशैलीले आत्मिक घमण्डलाई प्रोत्साहन दियो। उनीहरूले सजिलै साथ यसरी सोच्दथे, “हेर म कति पवित्र छु। हेर म कति असल छु। म एउटा कठोर र कठिन जीवन बिताइरहेको छु। यस्तो जीवन त निकै थोरै मानिसहरू मात्र जिउन सक्छन्।” शिमोन स्टाइलिट्सले सोचेको जस्तै उनीहरूले पनि आफू सामान्य “सांसारिक” ख्रीष्टियनहरूभन्दा धेरै उच्च र परमेश्वरको धेरै नजिक छौं भनि सोचेको हुनुपर्छ।

५. आफ्नै योग्यताहरूको आधारमा मुक्ति पाइन्छ भन्ने ठूलो शिक्षागत भूल उनीहरूमाझ थियो। “परमेश्वरलाई खुशी पार्न, उहाँको निगाह प्राप्त गर्न र स्वर्गको बाटो कमाउन म यो कठोर जीवन जिउँदै छु र यी सबै कठिन कुराहरू गर्दैछु। मैले उहाँको खातिर कति धेरै कुराहरू त्यागेको छु र म कसरी जिएको छु भन्ने जब परमेश्वरले देख्नुहुन्छ, उहाँले निश्चय पनि मलाई स्वर्ग पस्न दिनुहुनेछ।” यस्तो खालको बिचारमा के-कस्ता गल्तीहरू छन्, के बाइबलबाट देखाउन सक्नुहुन्छ? के आज पनि मानिसहरू यस्तै गरी सोच्ने गर्छन्?

६. मोनास्टरीहरूले थुप्रै मानिसहरूमा खराब असर पारेको थियो। त्यस्तो पृथक शैलीमा जिउनु लाभदायक कुरा होइन। सुरूदेखि नै परमेश्वरले भन्नुभएको थियो, “मानिस एकलो रहनु असल होइन” (उत्पत्ति २:१८)। मोनास्टरी जीवन शैलीको कारणले थुप्रै मोंकहरू र ननहरूमा नैतिक समस्याहरू र मानसिक समस्याहरू उत्पन्न भएका थिए। नवौं शताब्दि ताका थुप्रै मोनास्टरीहरू दुष्टता र भ्रष्टताको जन्मथलो बन्यो। संसारको भ्रष्टताबाट उम्कन सक्छु भनी मोंकहरूले सोचे तर संसारको भ्रष्टता त उनीहरूको आफ्नै हृदयहरूमा छ र यही दुष्टता मोनास्टरीहरूभित्र पनि ल्याइएको हो भनेर महसुस गर्न विफल भए। संसारबाट उम्कें भनी उनीहरूले सोचे तर संसारलाई उनीहरूले आफैंसाथ लिएर पनि आए।

मनन गर्नुपर्ने प्रश्नहरू

१. कसरी एउटा मानिसले साँच्चै पवित्र जीवन जिउन सक्छ?

२. सांसारिक मानिसहरूसँग भएर पनि के एउटा मानिस सांसारिक नहुन सक्छ? कसरी?

३. यस्तो अति अशुद्ध र अपवित्र संसारमा कसरी एउटा मानिस शुद्ध र पवित्र रहन सक्छ?

४. कसरी एउटा मानिस संसारमा भएपनि संसारको नहुन सक्छ (यूहन्ना १५:१९; यूहन्ना १७:११, १४, १६)?

५. अलगपनता र एकलपनामा के भिन्नता छ? के प्रभु येशू पापीहरूबाट अलग हुनुहुन्थ्यो? के उहाँ पापीहरूबाट एक्लिएर बस्नुभएको थियो (हेर्नुहोस् हिब्रू ७:२६)? के परमेश्वर हामी संसारबाट अलग भएको चाहनुहुन्छ? के उहाँ हामी संसारबाट एक्लिएको चाहनुहुन्छ? हामी कसरी संसारमा भएर पनि संसारद्वारा प्रदुषित नहुन सक्छौं?

६. विश्वासीजनले कसरी ठिक तरिकामा आफैंलाई शुद्ध राख्न सक्छ? के यसो गर्न ऊ संसारबाट नै निस्केर जानुपर्छ? उसले के गर्नुपर्छ?

७. के तपाईं संसारमाथि विजयी भइरहनु भएको छ कि संसार तपाईंमाथि विजयी भइरहेको छ?

८. संसारलाई ख्रीष्टमा जित्नको निम्ति के हामी संसार जस्तै बन्नुपर्छ? संसारले हामीलाई स्वीकार गरोस् र हाम्रो सन्देश सुनोस् भनेर के हामी “सांसारिक” बन्नुपर्छ?

९. हाम्रो वरिपरि भएका मुक्ति नपाएका हरेक मानिसहरूतर्फ हाम्रो जिम्मेवारीहरू के-कस्ता छन्?

संसारमा ख्रीष्टलाई प्रस्तुत गर्न सारा मानिसहरूप्रति ख्रीष्टमा एउटा विश्वासी जनको केही जिम्मेवारीहरू छन्:

१. ऊ सारा मानिसहरूको सामु _______________ हुनुपर्छ (प्रेरित १:८)।

२. ऊ ख्रीष्टको निम्ति __________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।

३. उसले हरेक प्राणीलाई __________________ __________________ पर्छ (मर्कूस १६:१५)।

४. उसले सबै जातिहरूलाई ______________ बनाउनुपर्छ (मत्ती २८:१९)।

५. ऊ सारा मानिसहरूका सामु _____________ झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।

६. उसले सबै मानिसहरूका लागि ______________ ___________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।

७. ऊ सारा मानिसहरूका सामु _____________________ चल्नुपर्छ (कलस्सी ४:५; तुलना गर्नुहोस् १ कोरिन्थी ९:१९-२३; १०:३२)।

८. ऊ सारा मानिसहरूतर्फ _________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस् रोमी १२:१७)।

९. उसले सबै मानिसहरूका निम्ति ___________________ चढाउनुपर्छ (१ तिमोथी २:१)।

१०. ऊ सबै मानिसहरूसँग _________________________ बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।

११. उसले सबै मानिसहरूलाई _______________ गर्नुपर्छ (१ पत्रुस २:१७—उचित आदरभाव राख्नु। तीतस ३:२ सित तुलना गर्नुहोस् जहाँ कुनै मानिसको बदनाबी नगर्नु भनिको छ जसको अर्थ हो कसैको सम्मानमा चोट नपुर्याउनु, अनादर नदेखाउनु)।

१२. उसले सबै मानिसहरूको सामु _______________ ____________ (साक्षी, गवाही) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

३ शिक्षा कि भ्रम

पाठ ३

शिक्षा कि भ्रम

 

शिक्षा

शिक्षा शब्दको अर्थ हो सिकाइने वस्तुको सङ्गालो। येशू ख्रीष्टको मण्डली मानिसहरूको शिक्षा, सिद्धान्त, राय वा विचारहरूमा बनाइएको छैन, तर यो त परमरेश्वरको शिक्षामा बनाइएको छ:

परमेश्वरको शिक्षाको एउटा चरित्र हो, सत्यता। पवित्र आत्मा (मण्डलीको शिक्षक) लाई “___________को आत्मा” भनिएको छ (यूहन्ना १६:१३) र उहाँलाई पछ्याउनेहरूलाई उहाँले “सबै ___________” डोर्याउनुहुन्छ (यूहन्ना १६:१३)। उहाँले कहिल्यै पनि झूटा कुरा सिकाउनुहुन्न र उहाँले कहिल्यै पनि कसैलाई भड्काउनुहुन्न।प्रभु येशू ख्रीष्टलाई मण्डलीको शिर भनिएको छ, र उहाँले आफू नै सत्यताको साकार रूप भएको दाबी गर्नुभयो, “बाटो, ____________ र जीवन म नै हुँ” (यूहन्ना १४:६)। उहाँले कहिल्यै पनि आफ्नो मण्डलीलाई भड्काउनुहुन्न। 

येशू ख्रीष्टको मण्डलीले एउटा पुस्तकलाई पछ्याउँछ, त्यो हो बाइबल। यही एउटा पुस्तकमा मण्डलीलाई चाहिने सबै अर्ती, शिक्षा, अगुवाइ र बुद्धि हामीले पाउँदछौं। के बाइबलले कहिल्यै हामीलाई भड्काउनेछ? येशूले भन्नुभयो, “तपाईंको वचन _____________ छ” (यूहन्ना १७:१७)। बाइबललाई “___________को वचन” भनिएको छ (२ तिमोथी २:१५)। 

जब सम्म विश्वासीहरू सत्यको परमेश्वरसत्यको वचनसँग टाँसिरहन्छन्, उनीहरू सुरक्षित् रहन्छन् र भड्किनेछैनन्। 

भ्रम

भ्रममा परेको व्यक्ति छलिएको वा धोकामा परेको हुन्छ। ऊ सत्यताबाट अन्तै डोर्याइएको छ र उसले झूटलाई अङ्गालेको छ। २ थेस्सलोनिकी २:९-१२ मा महासङ्कष्टकालको समयमा यस संसारमा जिउने मानिसहरूको बारेमा सिकिन्छ। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्नेछन् कि इन्कार गर्नेछन् (२ थेस्सलोनिकी २:१०)? __________________ उनीहरूले के विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:११)? ____________________ के उनीहरू भ्रममा परेका छन् (२ थेस्सलोनिकी २:११)? ____________ उनीहरू के विश्वास गर्न इन्कार गर्छन् (२ थेस्सलोनिकी २:१२)? __________________ यी अविश्वासीहरूको तुलनामा, पावलले बताउँछन् कि साँचो विश्वासीहरू ती हुन् जसले “स_________” विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:१३)। 

शैतान नै भ्रमको मालिक हो। प्रभु येशूले शैतानलाई यसरी व्याख्या गर्नुभयो, “त्यो शुरुदेखि नै हत्यारा थियो, अनि _____________ रहेन, किनभने त्यसमा ______________ छँदै _______। जब त्यसले __________ बोल्दछ, तब त्यो आफ्नैतर्फबाट बोल्दछ; किनकि त्यो ___________ हो र झूटको __________ हो” (यूहन्ना ८:४४)। 

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै डोर्याउन र लैजान चाहन्छ। ऊ छल गर्न, धोकामा पार्न र भ्रममा पार्न चाहन्छ। उसले झूटो शिक्षाद्वारा परमेश्वरको शिक्षाको ठाउँ ओगट्न चाहन्छ। “साँचो (स्वस्थ) शिक्षा” को सट्टामा (१ तिमोथी १:१०; तीतस १:९; २:१), उसले मानिसहरूलाई विषालु शिक्षाहरूलाई (उनीहरूको अनन्त विनाश) विश्वास गर्न तर्फ डोर्याउन चाहन्छ। शैतानले परमेश्वरको सत्यताको विरुद्धमा अटल युद्धको फुत्कार छोडेको छ र यो युद्ध पुरुषहरू र स्त्रीहरूको हृदयहरूमा चलिरहेको छ। रोजाइ यहाँ छ:

मानिसहरूको हृदय कब्जा गर्ने यो युद्धले हामीमध्ये हरेकलाई प्रभाव पार्दछ। तपाईं कुन धरातलमा खडा हुनुहुन्छ? के तपाईं परमेश्वरको सत्यतामा खडा हुनुहुन्छ कि शैतानका भ्रमहरूमा? होशियार, नत्रता तपाईंले परमेश्वरको सत्यतालाई मानिसहरूका भावहरू, विचारहरू र धारणाहरूसँग साट्नुहोला। बहकिएर जानु निकै सजिलो छ। धोका खानु निकै सजिलो छ। सत्यतालाई हातबाट छोड्नु र शैतानका झूटहरूमा टाँसिनु एकदम सजिलो छ। 

होशियार!

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट र सत्यताको परमेश्वरबाट अन्तै डोर्याएर लैजान चाहन्छ। बाइबलले हामीलाई यसको बारेमा थुप्रै, थुप्रै ठाउँहरूमा चेताउनी दिँदछ। 

प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “__________ ________________ होसियार बस” (मत्ती ७:१५)। साँचो भविष्यवक्ता परमेश्वरको अधिवक्ता वा परमेश्वरको मुख जस्तै हो। उसले परमेश्वरको वचनको घोषणा गर्दछ। झूटा भविष्यवक्तालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ? के उनीहरू बाहिरबाट हेर्दा खतरापूर्ण देखिन्छन् (मत्ती ७:१५)? ____________ के उनीहरू साँच्चै खतरापूर्ण हुन्छन्? ___________ के झुटा भविष्यवक्ताहरूलाई प्रयोग गरेर धेरैलाई धोका दिन र भ्रमित् पार्न शैतान सफल भएको छ (हेर्नुहोस् मत्ती २४:११, २४)? ___________ के पावलले तीतसलाई छलीहरूको बारेमा चेताउनी दिए (तीतस १:१०)? _________

के आज हाम्रो संसारमा धोका दिनेहरू छन्? के आज हामीले धोका र भ्रमहरूजस्ता समस्या भोगिरहेका छौं? २ तिमोथी ३ अध्यायमा पावलले तिमोथीलाई भने, “अन्तिम दिनहरूमा” (१ पद) “दुष्ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र ________ खाँदै _______________ ____________ हुँदै जानेछन्” (१३ पद)। उनीहरूले अरूलाई धोका दिनेछन् र आफैं पनि धोका खानेछन्। उनीहरूले अरूलाई मूर्ख बनाउनेछन् र उनीहरू आफैं पनि मूर्ख बन्नेछन्। उनीहरूले छल खुवाउनेछन् र आफैं पनि छल खानेछन्। के आज हाम्रो संसारमा यस प्रकारका मानिसहरू छन्? के उनीहरूमध्ये कसैले कुनै पुस्तकहरू पनि लेख्छन्? के उनीहरूमध्ये कसैले ख्रीष्टिय पत्रिकाहरूमा लेखहरू लेख्छन्? के उनीहरूमध्ये कसैले रेडियो वा टेलिभिजनमा पनि बोल्छन्? के उनीहरूमध्ये कोही पुल्पीटहरूमा उभिएर प्रचार गर्छन्?

साँचो शिक्षामा टाँसिरहनु भनेर विश्वासीहरूलाई बारम्बार बताइएको छ। हामीले कहिल्यै पनि सत्यतालाई छोड्नुहुँदैन। हामी कहिल्यै पनि परमेश्वरको शिक्षाबाट हट्नुहुँदैन। पावलले तिमोथीलाई “त्यहाँका कतिजनालाई अर्कै किसिमको ___________ ______________” (१ तिमोथी १:३) भनेर बताएका थिए। केवल साँचो (स्वस्थ) शिक्षा मात्र सिकाइनुपर्छ। परमेश्वरको शिक्षा मात्र घोषणा गरिनुपर्छ। हरेक अन्य शिक्षाचाहिँ झूटो र विषालु शिक्षा हो। के परमेश्वरको शिक्षाबाट अन्तै फर्केका केही मानिसहरूमा बारेमा पावल जानकार थिए (१ तिमोथी १:६)? _______________________ सिकाइनुपर्ने एउटै मात्र वचनहरू वा शिक्षा के हो (१ तिमोथी ६:३)? _____________________________________________________________

परमेश्वरको सत्यता शिक्षकबाट विद्यार्थीलाई र प्रचारकबाट श्रोतालाई सुम्पिइनुपर्छ। परमेश्वरको सत्यतामा केही पनि थप्नुहुँदैन र केही पनि हटाउनुहुँदैन। पूरै बाइबल सिकाइनुपर्छ—त्यो भन्दा ज्यादा पनि होइन र कम पनि होइन। पूरै बाइबलबाट थोरै भाग हटाएर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? पूरै बाइबलमा थोरै भाग थपेर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? अर्कै किसिमको कुनै पनि कुरा सिकाइनुहुँदैन। उही सत्यता (परमेश्वरको सत्यता) र उही पुस्तक (परमेश्वरको पुस्तक, बाइबल) लाई होशियारीपूर्वक सिकाइनुपर्छ र अरूलाई सुम्पिइनुपर्छ (तुलना गर्नुहोस् २ तिमोथी २:२)। 

धोकेबाज शैतान आफ्नो काममा व्यस्त छ!

धेरै समय अगाडि शैतानले बगैंचामा कसलाई छल गर्‍यो (२ कोरिन्थी ११:३)? ______________ त्यस समय यता मानिसहरूलाई छल गर्न ऊ व्यस्त छ। ऊ निकै सफल पनि भएको छ! उसका खेतालाहरू थुप्रै छन् (२ कोरिन्थी ११:१३)। उसले त्रुटिलाई अति मनोहर दखा पर्ने र अन्धकारलाई अति ज्योतिर्मय देखा पर्ने तुल्याउँछ (२ कोरिन्थी ११:१४)। शैतानका सेवकहरू अति धर्मी देखा पर्छन् (२ कोरिन्थी ११:१५)। कतिको नामको अगाडि त रेभरेन्ट (सम्माननिय) पनि लगाइएको हुन्छ र उनीहरू हरेक शनिबार पुल्पीटमा उभिन्छन् र मानिसहरूलाई प्रचार गर्छन्। उनीहरूको समस्या एउटै मात्र छ। तिनीहरूले सत्यता प्रचार गर्दैनन्!

१ तिमोथी ४:१ मा वर्णन गरिएझैं शैतानको कार्यलाई होशियारपूर्वक ध्यान दिनुहोस्:

शैतानले मानिसहरूको सामु आफ्नो शिक्षालाई आकर्षक देखाउँछ र धेरैजना उसको झूटमा फस्छन्। प्याकेटमा राखेर बेचिएका खाने कुराहरू आकर्षक त देखिएलान् र स्वादमा मीठो पनि होला तर यदि मानिसहरूले अरू केही नखाएर चकलेट र कुरकुरे मात्र खाने हो भने धेरै मानिसहरूको स्वास्थ्य बिग्रन पुग्छ। शैतानको शिक्षा आकर्षक होला तर ती विषालु हुन्छन्। साँचो स्वस्थ शिक्षा केवल परमेश्वरको वचनमा मात्र पाइन्छ।

कसरी शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै बहकाउन सफल भयो भन्ने कुरा गलाती १ अध्यायबाट जान्न सकिन्छ:

नयाँ नियमको पुस्तकहरूमा परमेश्वरले मानिसहरूलाई उहाँको सत्यताबाट हटेर शैतानको धोकालाई विश्वास गर्न सक्ने खतराहरूको बारेमा चेताउनी दिनुभएको छ। निम्न जोडा मिलाउने काम गर्दा तपाईंले ती मध्ये केही चेताउनीहरूलाई देख्नुहुनेछ:

१.__________तपाईंलाई बहकाउन खोज्नेहरू हुनेछन्। क. कलस्सी २:४
२.__________तपाईंलाई धोका दिन चाहनेहरू हुनेछन्। ख. १ यूहन्ना २:२६
३.__________परमेश्वरको वचनलाई बिगार्नेहरू हुनेछन्। ग. २ पत्रुस ३:१६
४.__________आफ्नै उद्देश्यको निम्ति पवित्रशास्त्रलाई टेंढामेढा पार्नेहरू हुनेछन्।घ. हिब्रू १३:९
५.__________अनेकौं अनौठा शिक्षाहरूद्वारा यता र उता पार्न खोज्नेहरू हुनेछन्।ङ. २ कोरिन्थी २:१७

झूटा शिक्षाले स्थानीय मण्डलीको विनाश गर्न सक्छ भनी पावल जान्दथे, र त्यसैकारण तिनले यसको बारेमा मानिसहरूलाई दिनरात चेताउनी दिरहे (प्रेरित २०:३१)। मण्डलीलाई सत्य र स्वस्थ शिक्षा खुवाइनुपर्छ (प्रेरित २०:२८)। मण्डलीलाई सम्पूर्ण बाइबल खुवाइनुपर्छ (प्रेरित २०:२७)। मण्डलीलाई बाहिर र भित्र दुवै तर्फबाट आउने खतराहरूको निम्ति जागो राख्नुपर्छ। 

रोमी १६:१७-१८ मा पनि पावलले झूटा शिक्षकहरूको वयान गरेका छन्। के यी मानिसहरूले परमेश्वरबाट नै पाएका साँचो शिक्षा सिकाउँछन्? ______________ उनीहरूको प्रचार सुन्दा, के उनीहरूका शब्दहरू असल सुनिन्छन् र के तिनीहरूले केही उत्कृष्ट बुँदाहरू बनाएका देखिन्छन् (१८ पद)? ______________ के उनीहरूले साँच्चै ख्रीष्टको सेवा गर्छन्? _________ के हामीहरूले उनीहरूलाई पछ्याउनु हुन्छ (१७ पद)?

२ यूहन्नाको सानो पुस्तक पढ्नुहोस्। के यो पुस्तकमा झूटा शिक्षकहरूको बारेमा कुनै कुरा भेट्टाउन सक्नुहुन्छ? यी मानिसहरूले कस्तो खालको शिक्षा ल्याउँछन्? के यी मानिसहरूलाई कुनै पनि प्रकारले सहायता गर्नु ठीक हुन्छ? के मानिसहरू आफ्नो साथमा झूटो शिक्षा लिएर तपाईंको घरमा आउने गर्छन्? के झूटा शिक्षा र झूटा धर्महरूका मानिसहरूले तपाईंको घरको ढोका ढक्‍ढक्याउँछन्? झूटो शिक्षाको बारेमा प्रभु येशू ख्रीष्टले के सोच्नुहुन्छ (प्रकाश २:१५)? ______________________________________ जसरी शरीरको लागि आर्सेनिक विषालु हुन्छ, त्यसरी नै प्राणको निम्ति झूटा शिक्षा पनि विषालु हुन्छ। यो खतरापूर्ण हुन्छ!

पत्रुसले झूटा शिक्षकहरूको बारेमा के चेतावनी दिए (२ पत्रुस २:१)? के यी झूटा शिक्षकहरूलाई मानिसहरूले पछ्याउनेछन् भनी पत्रुसले सोच्दथे (२ पत्रुस २:२)? _________________________ मानिसहरूले परमेश्वरका वचनहरूको ठाउँमा मानवीय शिक्षालाई ठाउँ दिए भने शैतान सफल हुन्छ (हेर्नुहोस् मत्ती १५:९)। 

मानिसहरू किन झूटा शिक्षामा फस्छन्?

१. किनभने उनीहरूको चाहना यही नै हो!

पावलले तिमोथीलाई के प्रचार गर्नु भने (२ तिमोथी ४:२)? _____________________ उनी बाइबल बाहेक अरू केही पनि होइन तर पूरै बाइबल प्रचार गर्न चाहन्थे। किन थुप्रै मानिसहरू परमेश्वरको सत्यता (खाँटी शिक्षा) सुन्न चाहँदैनन् भनी २ तिमोथी ४:३ बाट हामी जान्न सक्छौं। शिक्षकहरूले आफूलाई सुन्नमा असल र राम्रो लाग्ने खालको प्रचार गरेको उनीहरू चाहन्छन्। उनीहरूले आफूलाई चोट पुर्याउने वा आफूलाई बाधा दिने कुनै पनि कुरा सुन्न चाहँदैनन्। कहिलेकाहीँ सत्यताले चोट पुर्याउँछ (कहिलेकाहीँ औषधी पनि निकै तितो लागेको जस्तै), तर चोट पुर्याए पनि वा नपुर्याए पनि हामीले सत्यता सुन्नु पर्छ। हामीलाई यो सँधै मन नपर्ला, तर हामीलाई सँधै यो चाहिन्छ। परमेश्वरको सत्यता हरेक पल्ट मानिसले खोजेको जस्तो नहोला, तर हरेक पल्ट उनीहरूलाई चाहिएको यही हो। परमेश्वरको वचनमा पाइने कुनै यस्तो शिक्षाको बारेमा सोच्न सक्नुहुन्छ, जुनचाहिँ निकै कठीन (निल्न एकदम गाह्रो) तर अति सत्य र आवश्यक हुन्छ?

२. किनभने मानिसहरू ख्रीष्टमा हुर्कन असक्षम हुन्छन्!

एफेसी ४:१४ लाई बिचार गर्नुहोस्। यी मानिसहरू झुटा शिक्षाको हरेक बतासद्वारा यता उता हुत्याइन्छन्। उनीहरू स्थीर छैनन्। यी बालकहरू (१४ पद) ब_______ पर्छ (१५ पद)! सत्यता नजान्नेहरूले आफैंलाई त्रुटीपूर्ण कुराहरूका निम्ति खुल्ला राखिरहेका छन्। हामी जति प्रभुमा बढ्छौं र परमेश्वरको सत्यता सिक्छौं, त्यती नै धोकामा पर्न र त्रुटीमा खस्नबाट कम जोखिममा हुन्छौं। तपाईंले प्रभुमा बढ्न र परमेश्वरका सत्यताहरू सिक्नका निम्ति सहायता गर्न दिन-व-दिन के गर्दैहुनुहुन्छ?

पहिलो शताब्दीमा समेत मानिसहरू पतन भइरहेका थिए।

मण्डलीको सुरुका दिनहरूमा समेत मानिसहरू भड्काइएका र झूटा शिक्षाभित्र पतन भइरहेका थिए। नयाँ नियमले हामीलाई यसको बारेमा धेरै उदाहरणहरू दिएको छ; ती मध्ये केही यस्ता छन्:

  1. केही कोरिन्थीहरूले पक्रिरहेको झूटो शिक्षा के थियो (१ कोरिन्थी १५:१२)? 
  2. हुमेनियस र फिलटेसले कुन झूटो शिक्षा सिकाइरहेका थिए (२ तिमोथी २:१७-१८)?
  3. गलातीहरू परमेश्वरको अनुग्रहको सुसमाचारबाट फर्किएका थिए र अर्कै सुसमाचार प्रचार गरिरहेका थिए (गलाती १ अध्याय)।
  4. कलस्सीहरू झूटा शिक्षाहरूद्वारा प्रभावित भएका थिए। उनीहरूले स्वर्गदूतहरूको पूजा गर्नुपर्छ भनी उनीहरूलाई बताइएको थियो (कलस्सी २:१८)। उनीहरूले मानिसहरूका आज्ञाहरू र शिक्षाहरूलाई पछ्याइरहेका थिए (कलस्सी २:२२)। 
  5. प्रेरित यूहन्नाले ख्रीष्ट ___________ आउनुभएको होइन भनी सिकाउनेहरूको बारेमा चेताउनी दिए (१ यूहन्ना ४:३)। उनीहरूले ख्रीष्टको वास्तविक शरीर थिएन र उहाँ वास्तविक मानिस हुनुहुन्न थियो भनी सिकाए।
  6. १ तिमोथी ४:१-३ मा दुई गलत शिक्षा सिकाउनेहरूको बारेमा सिक्दछौं: १) कुनै-कुनै मानिसहरूले विवाह गर्नुहुँदैन २) कुनै-कुनै खाने कुराहरू खानु हुँदैन। यी दुई शिक्षाहरूलाई पछ्याउने कुनै धर्महरूको बारेमा सोच्न सक्नुहुन्छ?
  7. २ थेस्सलोनिकी २:२ मा ख्रीष्टको आगमन र प्रभुको दिनको विषयमा झूटा शिक्षा भएको एउटा पत्र प्राप्त भएको थियो भनी हामी सिक्दछौं।
  8. यहूदा ४ मा केही यस्ता झूटा शिक्षकहरूको बारेमा सिक्न सक्छौं जोहरूले यसो भनीरहेका थिए, “परमेश्वरको अनुग्रहद्वारा मुक्ति पाएको हुनाले हामीले आफूलाई मन पर्ने जस्तो सुकै तरिकाले जिए पनि हुन्छ।” के आज कुनै नामधारी “ख्रीष्टियनहरू” ले यो शिक्षालाई पक्रेको छ?

सुरुको मण्डली इतिहास

झूटा शिक्षकहरूलाई भित्र पस्न र मण्डलीलाई बिगार्न धेरै समय लागेको थिएन भनी सुरुको मण्डली इतिहासको अध्ययन गर्दा हामीले छिट्टै बुझ्न सक्छौं। भित्र पसेका केही झूटा शिक्षाहरू मध्ये थोरै यहाँ छन्:

  1. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले पानीको बप्तिस्माले एउटा मानिसलाई बचाउँदछ भनी सिकाउँथे। यो झूटा शिक्षालाई ब्याप्टिज्मल रिजेनेरेशन (बप्तिस्माद्वारा नयाँ जन्म) भनिन्छ र आज पनि थुप्रै मानिसहरूले यो सिकाउने गर्छन्। 
  2. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भनेर सिकाउँथे। उहाँ केवल एउटा सृष्टिको थोक, वा परमेश्वरले सृष्टि गर्नुभएको महान् स्वर्गदूत मात्र हुनुहुन्छ भनी उनीहरूले भन्थे। यो झूटो शिक्षा आफैंलाई यहोवा विट्नेस् भनी चिनाउने समूहद्वारा प्रचार भइरहेको छ। 
  3. हरेक स्थानीय मण्डलीमा केही मानिसहरू अगुवाहरूको रूपमा हुन्छन् र उक्त अगुवाहरूलाई डिकनहरू र अध्यक्षहरु (एल्डरहरू) भनिन्छ भनी बाइबलले सिकाउँदछ। हेर्नुहोस् फिलिप्पी १:१। अगुवापनको यो शिक्षालाई मण्डली इतिहासको सुरुका केही मानिसहरूले बङ्ग्याए र दुरुपयोग गरे। “अध्यक्ष” क्रमिक रूपमा झन् झन् शक्तिशाली हुँदै गए र अन्य थुप्रै मण्डलीहरूमाथि अगुवा समेत भए:

समयको क्रममा सबै मण्डलीहरूमाथि एउटै मानिसलाई अधिकार दिइयो, र उसलाई पछि पोप भनी नामाकरण गरियो। के परमेश्वरले योजना गर्नुभएको यस्तै हो? सबै मण्डलीहरूमाथि एउटै शिर को हुनुहुन्छ (एफेसी १:२२-२३)? ___________________________

आफैंलाई झूटा शिक्षाबाट जोगाउन तपाईंको स्थानीय मण्डलीले के गरिरहेको छ? आफैंलाई जोगाउने तपाईंले के गर्दै हुनुहुन्छ? धोकामा पर्न, भ्रममा पर्न र परमेश्वरको सत्यताबाट भड्काइनबाट बाँच्नलाई तपाईं के गर्दै हुनुहुन्छ? के सत्यको आत्मा तपाईंको हृदयभित्र जिउनुहुन्छ? के तपाईंले उहाँलाई आफ्नो शिक्षक हुन दिइरहनुभएको छ? कसरी? के तपाईं हरेक दिन सत्यको वचन खोल्नुहुन्छ? तपाईंको निम्ति बाइबल कत्तिको महत्त्वपूर्ण छ? गएको मङ्गलबार आफ्नो बाइबलसित केही गर्नुभयो? गएको बिहीबार? गएको शुक्रबार?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

२-सीजर कि ख्रीष्ट?

पाठ २

सीजर कि ख्रीष्ट?

जीवन महत्त्वपूर्ण रोजाइहरूले भरिएको हुन्छ। हामीले दुईटा कुराको बीचमा एउटालाई रोज्नुपर्ने अवस्था आउँछ। जस्तै, म मण्डली सभामा जाऊँ कि घुम्‍न जाऊँ? म गृहकार्य गरूँ कि खेल्न जाऊँ? म बुबा-आमालाई सहायता गरूँ कि साथीकहाँ जाऊँ? म बाइबल पढूँ कि पत्रिका पढूँ? म बल खेल्न जाऊँ कि प्रार्थना सभामा जाऊँ? म शनिबार साथीहरूसँग बनभोज जाऊँ कि चर्च सङ्गतिमा जाऊँ? म आफ्‍नो पढ्ने काम गरूँ कि साथीसँग गफ गरेर बसूँ?

तपाईंको अगाडि आइपर्ने यस्ता अरू थुप्रै रोजाइका बारेमा आफैं पनि सोच्न सक्नुहुन्छ। सुरुका ख्रीष्टियनहरूले सीजर र ख्रीष्टको बीचमा गर्नुपर्ने एउटा महत्त्वपूर्ण रोजाइ थियो। उनीहरूले आफू ख्रीष्टतर्फ निष्ठावान् बन्ने कि सीजरतर्फ निष्ठावान् बन्ने भन्ने कुराको बीचमा रोज्नुपर्थ्यो। यसको तात्पर्य उनीहरू ख्रीष्टतर्फ निष्ठावान् बन्नुपर्छ र सीजरतर्फ निष्ठाहीन बन्नुपर्छ भन्ने कदापि होइन। प्रभु येशूले आफ्ना चेलाहरूलाई सीजरतर्फ निष्ठाहीन बन्न र तिनलाई अनादर गर्न कहिल्यै पनि सिकाउनुभएन (मत्ती २२:२१ सित तुलना गर्नुहोस्)। तर दुईटामा कसलाई पहिलो स्थान दिने भन्ने कुराको बीचमा रोज्नुपर्दा, सीजरले सधैं दोस्रो स्थान लिनुपर्छ र ख्रीष्टले सधैं पहिलो स्थान पाउनुपर्छ (हेर्नुहोस् कलस्सी १:१८ “पहिलो स्थान”)।

“सीजर” को अर्थ

“सीजर” (Caesar) उपनाम अपनाउने प्रथम व्यक्ति विश्व-विख्यात जुलियस सीजर (JULIUS CAESAR) थिए जो एक रोमी सेनापति र राजनैतिक व्यक्ति थिए। ई.पू. ४४ मा उनको हत्या गरिएको थियो (बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा करिब ४० वर्ष अगाडि)। “सीजर” को उपाधि उनलाई दिइएको एउटा आदरणीय र पृथक उपनाम थियो।

येशूको जन्म हुँदा रोमका शासक को थिए (लूका २:१ हेर्नुहोस्)? ______________________________ के तिनले पनि सीजर नामको प्रयोग गरे? ________ अगस्टस (Augustus) को समयदेखि हेड्रियन (Hadrian) सम्म (११७-१३८ ई.सं.) सबै रोमी शासकहरूका निम्ति “सीजर” शब्द एउटा नाम वा उपाधि नै भयो। मिश्रका राजालाई फा________ भनिए जस्तै (हेर्नुहोस् प्रस्थान १:८,११,२२) रोमका शासकहरू सीजर भनिए।

येशू ३० वर्षको हुनुहुँदा रोमका शासक को थिए (लूका ३:१ र ३:२३ सित तुलना गर्नुहोस्)? ________________________________________ के तिनी पनि सीजर नै थिए? __________ सिक्कामा कुँदिएको अनुहार वा आकृति तिबेरियासकै थियो। प्रभु येशू क्रूसमा मारिनुहुँदा र मरेकाहरूबाट बौरनुहुँदा मानिस नै रोमका शासक थिए।

पागल नेरो

रोमका शासक नेरो (Nero) बाइबलमा उल्लेखित अर्को सीजर हुन्। प्रेरित २५:११ मा पावलले उल्लेख गरेका व्यक्ति यिनै हुन्—“म _______________ उजुर चढाउँछु।”

ई. सं. ६४ मा नेरोको शासनकालमा रोममा आगलागी भयो। छ दिन, छ रात आगो दन्किरह्यो। अधिकांश शहर खरानीमा परिणत भयो। नेरो आफैंले शहरमा आगो लगाएका हुन् भन्ने हल्ला पनि चल्यो। फलस्वरूप रोमका बासिन्दाहरूमा आफ्नै शासकको विरोधमा भयङकर ठूलो घृणा पैदा भयो। नेरोले आगजनीको दोष अरु कसैमाथि लगाउनलाई एउटा “बलिको बाख्रा” भेट्टाउनुपरेको थियो। जनताको यस्तो घृणा आफूबाट हटाउनलाई नेरोले आगजनीको दोष ख्रीष्टियनहरूलाई लगायो। निश्चय पनि यो आरोप सत्य थिएन, तर परिणामस्वरूप ठूलो सङ्ख्यामा ख्रीष्टियनहरू गिरफ्तार गरिए र त्यसपछि ख्रीष्टियनहरूमाथि भयानक सतावट ओइरिन थाल्यो।

यस भीषण आगजनीको करिब ५० वर्षपछि एकजना ट्यासिटस् (Tacitus) नाम गरेका रोमी इतिहासकारले उक्त घटनाको बारेमा लेखेका थिए। तिनको भनाइ यस्तो छ:

“आफ्‍नो विरुद्धमा फैलिरहेका हल्लाहरूलाई दबाउन, नेरोले केही मानिसहरूलाई दोष्याए र शारीरिक यातना दिए जोहरू उनीहरूका खराब रीतिहरूका कारण घृणाका पात्र बन्न पुगेका थिए अर्थात् “ख्रीष्टियन” भनी चिनिने समूहका मानिसहरू। यस पन्थका संस्थापक ख्रीष्टलाई तिबेरियस सम्राटको शासनकालमा यहूदियाका राज्यपाल पोन्तियस पिलातसद्वारा फाँसी दिइएको थियो।

“आफूलाई ख्रीष्टियन भन्नेहरू सुरुमा गिरफ्तार गरिए। त्यसपछि उनीहरूबाट लिइएको सूचनाको आधारमा सयौंलाई दोषी ठहराइयो, आगजनीको आरोपमा भन्दा पनि उनीहरूको समाज-विपरित आस्थाको लागि। उनीहरूको मृत्युमा उनीहरूको खिल्ली उडाइयो। उनीहरूलाई जङ्गली पशुका छाला पहिराइयो, कुकुरहरूद्वारा च्यातचुत पारियो, क्रूसमा टँगाइयो र रात परेपछि आगोका राँकाझैं बलून् भनी जिउँदै जलाइयो। त्यो दृश्य हेर्न नेरोले आफ्‍नै बगैँचाहरू यसका लागि प्रायोग गरे र रङ्घशालामा पनि प्रदर्शन गरे। त्यसबेला तिनी आफै पनि भीडसित मिसिन्थे वा सारथीको भेषमा रथमा चढेर उभिन्थे। परिणामस्वरूप, यद्यपि तिनीहरू ख्रीष्टियन भएकाले दोषी थिए र मृत्युदण्डका योग्य थिए, मानिसहरूलाई तिनीहरूको निम्ति दुःख लाग्न थाल्यो। किनभने तिनीहरूको संहार जनहितको लागि नभई एउटा मान्छेको पागलपनको तृप्तिको लागि भइरहेको थियो भन्ने कुरा उनीहरूले महसुस गर्न थाले।”

(Tacitus Annals 15.44)

पत्रुस र पावल शहीद बनेका यिनै पागल र दुष्ट शासक नेरोको शासनकालमा नै हो। पत्रुसलाई उँधोमुन्टो पारेर क्रूसमा टाँगिएको थियो र पावलको शिर काटिएको थियो।

सीजरलाई म के दिऊँ?

मत्ती २२:१५-१८ मा केही यहूदीहरू धूर्त चाल मार्दै येशूलाई पासोमा पार्न उहाँकहाँ आए। जस्तो जवाफ दिए पनि उहाँलाई दोष्याउन सकिने प्रश्न गरे: “______________ कर तिर्नु उचित छ कि छैन?” (मत्ती २२:१७)।

येशूले मानौं यस्तो भन्नुभयो, “उचित छ, हामीले सीजरलाई कर तिर्नै पर्छ।” यो जवाफले कसलाई रिस उठाउनेथ्यो? स्मरण होस्, यहूदीहरू रोमी शासनमुनि बस्न पटक्कै चाहँदैनथे।

येशूले मानौं यस्तो भन्नुभयो, “उचित छैन, हामीले सीजरलाई कहिल्यै पनि कर तिर्नुहुँदैन। तिमीहरूले आफ्नो कर नतिर्नू!” येशूले यदि यसो भन्नुभएको भए, उहाँका शत्रुहरूले के गर्नेथिए? एउटा यहूदी शिक्षकले मानिसहरूलाई कर नतिर्नू भनी सिकाइरहेको कुरा सुनेर के रोमी अधिकारीहरू खुशी हुनेथिए? रोमी शासनको विरुद्ध विद्रोह उभाडेको भन्दै के प्रभुलाई दोष आउन सक्थ्यो?

प्रभु येशू उनीहरूको जालमा पर्नुभएन। तर बरू उहाँले मत्ती २२:२१ मा पाइने आफ्नो प्रख्यात जवाफ दिनुभयो। यी शब्दहरू सुनेपछि, उहाँका शत्रुहरूले के गरे (मत्ती २२:२२)? ________________________________________

सीजरका कुराहरू सीजरलाई देओ

हामीले आज यो आज्ञा कसरी पालन गर्न सक्छौं? हाम्रो राज्य-सरकार र हाम्रा अगुवाहरू प्रति हाम्रो के कस्तो जिम्मेवारी छ? हामीले उनीहरूलाई र उनीहरूका निम्ति के गर्नुपर्छ? के उनीहरू हाम्रो आदर र निष्ठा पाउने योग्यका छन् (१ पत्रुस २:१३, १४, १७)? के हामीले उनीहरूका निम्ति प्रार्थना गर्नुपर्छ (१ तिमोथी २:१-३)? के हामीले हाम्रा करहरू तिर्नुपर्छ? हामीमध्ये हरेक कस्तो किसिमको नागरिक हुनुपर्छ? जिम्मेवार नागरिकहरूको रूपमा, हामीले के-कस्ता कर्तव्यहरू निभाउनुपर्छ? तपाईंको देशले तपाईंलाई के दिएको छ? तपाईंले आफ्नो देशलाई के दिनुपर्छ? के प्रहरीमा काम गर्दै तपाईंको देशको सेवा गर्ने मानिसहरूप्रति र आफ्नो कर्तव्य निभाउँदै युद्धभूमिमा आफ्नो ज्यान दिनेहरूका निम्ति तपाईं धन्यवादी हुनुहुन्छ?

परमेश्वरका कुराहरू परमेश्वरलाई देओ

हामीले आज यो आज्ञा कसरी पालन गर्न सक्छौं? परमेश्वरतर्फ र परमेश्वरको वचन, बाइबलतर्फ हाम्रो के कस्तो जिम्मेवारी छ? के परमेश्वर हाम्रो सम्मान र निष्ठा पाउने योग्यका हुनुहुन्छ (१ पत्रुस २:१७)? के हामीले उहाँसित प्रार्थना गर्नुपर्छ? के हामीले उहाँका वचनहरू पढ्नुपर्छ? परमेश्वरको सामु म कस्तो किसिमको मानिस हुनुपर्छ? जिम्मेवार विश्वासीको रूपमा, मैले के-कस्ता कर्तव्यहरू निभाउनुपर्छ? तपाईंका आत्मिक जिम्मेवारीहरू के-कस्ता छन्? तपाईंको निम्ति परमेश्वरले के गर्नुभएको छ र उहाँले तपाईंलाई के दिनुभएको छ? तपाईंले परमेश्वरको निम्ति के गर्नुभएको छ र परमेश्वरलाई के दिनुभएको छ? के तपाईं एउटा असल ख्रीष्टिय सिपाही हुनुहुन्छ? के तपाईंले परमेश्वरको सेवा गर्दैहुनुहुन्छ? तपाईंको घरमा, स्कूलमा र अन्य जुनसुकै ठाउँहरूमा के तपाईंले आफ्नो विश्वासको असल लडाइँ लड्दै हुनुहुन्छ?

एउटा तुलना

निम्न तालिकामा सीजर र ख्रीष्टको बीचमा सङ्क्षिप्त तुलना प्रस्तुत छ:

रोज्नैपर्छ

माथिको तालिकाको बारेमा विचार गर्दा, सीजरलाई ख्रीष्टसँग तुलना गर्न नै सकिन्न। एउटा मानिसले ख्रीष्टको सट्टामा सीजरलाई कसरी रोज्न सक्छ र? तरैपनि, मानिसहरूले यही नै गरिरहेका छन्। उनीहरूले ख्रीष्टलाई इन्कार गरेका छन् र उहाँको सट्टामा सीजरलाई आदर गरेका छन्।

यूहन्ना १९:१२ लाई विचार गर्नुहोस्। पिलातस रोमी शासक थिए। तिनी रोमी सम्राट (सीजर) प्रति निष्ठावान हुनुपर्थ्यो। सीजरले आफैंलाई सर्वोच्च शासकको रूपमा हेर्ने गर्थे। उनले आफैंलाई राजाहरूका राजाको रूपमा हेर्ने गर्थे। यूहन्ना १९:१२ मा आफैंलाई राजा ठहराउने जोसुकैको विरोधमा सीजर हुनेछन् भनेर यहूदीहरूले पिलातसलाई सम्झना गराउँदैथिए। सीजर कुनै प्रतिस्पर्धी चाहँदैनथिए।

त्यसपछि यूहन्ना १९:१५ मा पिलातसले यहूदीहरूलाई एउटा कुरा रोज्न गर्न बाध्य गराए। के तिमीहरूका राजालाई म क्रूसमा टाँगूँ? यहूदी अगुवाहरूले के जवाफ दिए? ‌__________________________________________

सीजरलाई ख्रीष्टसँग तुलना गरिएको तालिकालाई सम्झना गर्नुहोस्। यहूदीहरूले दाहिने पट्टि हुनुभएकोलाई छोडेर देब्रे पट्टि भएकोलाई रोजे! कस्तो मूर्ख रोजाइ! यहूदीहरूले सीजरलाई घृणा गर्दथे र रोमीहरूले आफूमाथि शासन गरेको कुरालाई घृणा गर्दथे, तरैपनि ख्रीष्ट प्रतिको तिनीहरूको घृणाले सीजरप्रतिको तिनीहरूको घृणालाई पनि उछिन्यो। _____________ बाहेक हाम्रो अरू राजा नै छैन। (एउटा निष्ठावान ख्रीष्टियनले के भन्नुपर्छ? ______________ बाहेक मेरो अरू राजा नै छैन।)

सीजर पूजा

रोमी सम्राज्यका शासकहरू राजनीतिक अगुवा मात्र नभएर धार्मिक अगुवा पनि हुन्थे। शासकलाई पोन्टिफेक्स् म्याक्सिमस् (PONTIFEX MAXIMUS), अर्थात् प्रमुख पूजाहारी (मूल पूजाहारी, अग्र पङ्क्तिको पूजाहारी) भनेर पनि चिनिन्थ्यो। तिनको ओहोदा यति उच्च थियो कि तिनी ईश्वरीय उपासनाको पात्र पनि बनेका थिए।

ओहोदा  र शक्ति मानिसको काँधमाथि आएपछि निजले आफू नै सबै भन्दा महान् हुँ भन्ने सोच्न पुग्नु अति सजिलो हुन्छ। आफ्नो सामु हरेक पल्ट मानिसहरू निहुरेर सेवा पाउने बानी भएका राजाहरू र सम्राटहरूमा यो झन् बढी सजिलो हुन्छ। उनीहरूले आफ्नो उपासना गरिनुपर्छ भनी सोच्न थाल्छन्। के नबूकद्नेस्सर (बेबिलोनका महान् शासक) यही जालमा परेका थिए (दानियल ३ अध्याय)? __________ उनलाई परमेश्वरले के-कस्ता पाठहरू सिकाउनुभयो (दानियल ४:३१-३७)?

रोमी सरकारले विभिन्न धर्महरूलाई अनुमति दिएको थियो। उनीहरूले मानिसहरूलाई उनीहरूका विभिन्न मूर्तीहरूको पूजा गर्न र उनीहरूका विभिन्न धार्मिक रीतिहरू मान्न अनुमति दिन्थ्यो। रोमीहरूले यहूदी मानिसहरूलाई उनीहरूको धर्म मान्न, पशु बलिदान गर्न र मन्दिरमा उपासना गर्न समेत अनुमति दिन्थे (कम्तीमा पनि ई. सं. ७० मा यरूशलेमको शहर नाश नभएसम्म; त्यसपछि रोमीहरूद्वारा मन्दिर नष्ट गरियो)।

रोमीहरूले अरू धर्महरूलाई सहे तापनि र तिनीहरुमाथि आस्था राख्ने अनुमति दिए तापनि, मानिसहरूले कम्तीमा पनि वर्षको एक पटक सीजरको महानतालाई स्वीकार गरेको उनीहरू चाहन्थे। मानिसहरूले सार्वजनिक रूपमा सीजरलाई आफ्नो पूर्ण राजनिष्ठा दिएको र तिनको महानतालाई मानिलिएको चाहन्थे। उदाहरणको निम्ति, सन् २५० ई.सं. मा डेसियस (Decius) ले एउटा नियम लागु गरे जसमा मानिसहरूले कम्तिमा पनि वर्षको एकपटक रोमीहरूको वेदीमा देवताहरूलाई बलिदान चढाउनुपर्थ्यो र त्यसै वखत शासकको उत्कृष्टता र महानतालाई पनि स्वीकार्नुपर्थ्यो। त्यस्तो बलिदानहरू चढाउनेलाई विशेष प्रमाण-पत्र दिइन्थ्यो। त्यस्ता प्रमाण-पत्रहरू नपाउने वा नलिने व्यक्तिहरूलाई अकसर सताइन्थ्यो।

सुरुका ख्रीष्टियनहरूले शासकलाई र तिनको मूर्तिलाई ईश्वरीय आदर चढाउन इन्कार गरे। ख्रीष्टियनहरूले महान् शासकको वेदीमा एक चिमटी धूपौरो चढाउन पनि इन्कार गरे। यस्ता समयहरू आउँछन् जब परमेश्वरका जनहरू मानिसहरूको सामु झुक्न इन्कार गर्नुपर्छ। यस्ता समयहरू हुन्छन् जब परमेश्वरका जनहरूले उहाँको आज्ञा पालन गर्नको निम्ति राजाको आज्ञा पालन गर्नुहुँदैन। यस्ता समयहरूको बारेमा दानियल ३ र ६ अध्यायमा राम्रा उदाहरणहरू प्रस्तुत गरिएका छन्।

सुरुका ख्रीष्टियन समूहहरूको बीचमा रोमी अधिकारीहरू आएर यसो भनेको कल्पना गर्नुहोस्, “हाम्रो हुकुमसित सहमत हुनोस् नत्र तिमीहरू साँच्चै समस्यामा पर्नेछौ। तिमीहरूको मुखले सीजर नै प्रभु हुनुहुन्छ भनी स्वीकारेको मात्र हामीले चाहेका हौं। सीजर नै सार्वभौम हुनुहुन्छ भनेर मानिदेऊ मात्र। सीजर नै परमप्रधान हुनुहुन्छ र यदि तिमीहरूले यति कुरा मानिलियौ भने हामी तिमीहरूलाई एउटा प्रमाण-पत्र दिनेछौं। हामी तिमीहरूलाई आफ्नै ईश्वरहरूको उपासना गर्न र तिमीहरूको आफ्नै धार्मिक रीतिहरू पूरा गर्न दिनेछौं, तर तिमीहरूले कम्तीमा पनि वर्षको एक पटकचाहिँ “सीजर नै परमप्रधान हुनुहुन्छ! सीजर नै प्रभु हुनुहुन्छ!” भनेर आफ्नो वफादारीता र भक्ति देखाएको हामी चाहन्छौं।”

तपाईं यी सुरुका ख्रीष्टियनहरूमध्येमा हुनुभएको भए, तपाईंले के गर्नुहुन्थ्यो? किन? यसो गरिएको खण्डमा के मूल्य चुकाउनुपर्थ्यो होला? यसो नगर्नुको मूल्यचाहिँ के हुनेथियो होला?

ख्रीष्टप्रतिको वफादारिता र सीजरप्रतिको वफादारिताको बीचमा रोज्नुपर्दा, सीजर दोस्रो स्थान लिन बाध्य हुन्थ्यो। हामीले ख्रीष्टको पहिलो स्थानलाई अरू कुनै पनि मानिसलाई खोस्न दिनुहुँदैन। मानौं इस्लामी आतङ्ककारीहरूले बल-जफती गरेर हाम्रो देशलाई आफ्नो हातमा लिएछन्। मानौं उनीहरूले सबैजनालाई आफ्नो मुखले यस्तो वाक्य स्वीकार गर्न बाध्य गराएछन्, “अल्लाह नै मेरो परमेश्वर हुनुहुन्छ र मोहम्मद नै उहाँको अगमवक्ता हुनुहुन्छ। येशू ख्रीष्ट मेरो परमेश्वर हुनुहुन्न। म हरेक मानिस र अन्य हरेक वस्तुभन्दा बढी अल्लाह प्रति वफादार हुनुपर्छ!” यसो भन्न इन्कार गर्नेहरू दण्डित गरिनेछन् र कसैकसैलाई मारिनेछ। तपाईं के गर्नुहुन्थ्यो?

के तपाईंको विचारमा आज हाम्रो संसारमा यस्ता ठाउँहरू होलान् जहाँ विश्वासीहरू मानिसहरूको सामु घुँडा टेक्न र ख्रीष्टलाई इन्कार गर्न नमानेको कारणले सताइन्छन् र मारिन्छन्? हरेक ख्रीष्टियनले त्यहाँ केवल _____________ प्रभु हुनुहुन्छ भनेर मानिलिन्छ (एफेसी ४:५)। यो साँचो हो, धेरै मानिसहरूले आफैंलाई प्रभु भन्छन् र आफैंलाई माथि उचाल्छन् (१ कोरिन्थी ८:५), तर त्यहाँ प्रभु भनेर बोलाइने योग्यको केवल एकजना मानिस मात्र हुनुहुन्छ! मानिसहरूले यो व्यक्तिगत रोजाइ गर्नैपर्छ: के म उहाँलाई मेरो प्रभु हुन दिऊँ कि नदिऊँ?

येशू ख्रीष्टको प्रभुत्व

मानिसहरूले सीजरलाई प्रभु माने तापनि, सीजर प्रभु होइनन्। यशैया २६:१३ मा हामी पढ्छौं, “हे परमप्रभु हाम्रा परमेश्वर, ____________बाहेक अरू __________ले हामीमाथि अधिकार जमाएका छन्।” तपाईंबाहेक अरू प्रभुहरू। मानिसको समस्या यही हो। उसले अरू प्रभुहरूलाई परमप्रभुको स्थान जमाउन दिन्छ। उसले ख्रीष्टको ठाउँलाई सीजरहरूलाई सुम्पन्छ।

के तपाईंको जीवनमा ख्रीष्टको स्थान लिइरहेका कुनै “प्रभुहरू” छन्? के तपाईंले उपासना गरिरहनुभएको र दण्डवत् गरिरहनुभएको त्यहाँ कुनै “सीजरहरू” छन्?

धेरै मानिसहरूको हृदयभित्र ”म” नाम गरेको सीजर हुन्छ। यो भनिनेलाई उच्च पारिन्छ, उचालिन्छ र पहिलो स्थान दिइन्छ। ”म”लाई प्रभु बनाइन्छ! मानिसले “म” लाई आदर गर्छ, “म” को सेवा गर्छ र “म” को निम्ति जिउँदछ। ख्रीष्टले ओंठको सेवा त पाउनुहोला तर वास्तविक सेवाचाहिँ ”म”ले पाउँदछ। के तपाईंको जीवनमा यही समस्या छ? यसको बारेमा के गर्न सकिन्छ?

विश्वासीहरू भएको हुनाले हामीलाई येशू नै प्रभु हुनुहुन्छ भनी हाम्रो मु______ले स्वीकार गर्नुपर्छ (रोमी १०:९)। के तपाईंले यसो गर्नुभएको छ? येशू ख्रीष्ट नै तपाईंको प्रभु हुनुहुन्छ भनेर के अरूहरूले जान्दछन्? उनीहरूले यो कसरी जान्दछन्? तपाईंले यो कसरी देखाउनुहुन्छ? के तपाईंका स्कूलका साथीहरूले जान्दछन्? एउटा व्यक्तिले इमानदारीतामा र सत्यतामा ख्रीष्टलाई स्वीकार गर्न सक्नको निम्ति येशू ख्रीष्टलाई प्रभुको रूपमा प्राप्त गर्नु भनेको साँच्चै के हो भनी जान्नलाई निजलाई सहायता गर्ने को हुनुहुन्छ (१ कोरिन्थी १२:३)? ____________________________ के सुरुका ख्रीष्टियनहरूले ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गरे (प्रेरित २:३६; १०:३६; १७:२४)?

के ख्रीष्ट साँच्चै प्रभु हुनुहुन्छ? के उहाँ साँच्चै मेरो प्रभु हुनुहुन्छ? हुनुहुन्छ भने, यसको अर्थ के हो? के मेरो प्रभुले मबाट केही कुराको माग गर्नुहुन्छ? हरेक विश्वासीले सोच्नुपर्ने र सम्झना गर्नुपर्ने केही कुराहरू यस प्रकार छन्:

१. प्रभुत्वले आज्ञाकारिताको माग गर्दछ।

उहाँ हाम्रो प्रभु हुनुहुन्छ भनी हामी दाबी गर्छौं भने हामीले के गर्नुपर्छ (लूका ६:४६)? _______________________________________ पावलले सुरुमा मुक्ति पाउँदा आफ्नो प्रभुप्रति पावलको अवधारणा कस्तो थियो (प्रेरित ९:६)? _________________________________________ ख्रीष्टलाई प्रभु भनी सम्बोधन् गर्नु र त्यसपछि उहाँले भन्नुभएका कुराहरूलाई बेवास्ता गर्नु र अवज्ञा गर्नु किन नमिल्ने कुरा हो?

२. प्रभुत्वले सेवाको माग गर्दछ।

हामीले कसको सेवा गर्दछौं (रोमी १२:११)? _______________________ हाम्रो सेवाको बारेमा कलस्सी ३:२३-२४ ले के भन्दछ?__________________________________

हामीले हरदिन कसलाई खुशी पार्न खोज्नुपर्छ (एफेसी ५:१०, “मनपर्ने” शब्दको अर्थ हो “अति प्रसन्न तुल्याउने”)? __________________ सीजरका मानिसहरूमध्ये कसैले उसको सेवा गर्न इन्कार गर्यो भने उसले के गर्नेथियो होला?

३. प्रभुत्वले सङ्गतिको माग गर्दछ।

हाम्रा परमेश्वरले हामीलाई केको निम्ति बोलाउनुभएको हो (१ कोरिन्थी १:९)?  __________________________________________

परमेश्वरका पुत्र येशू ख्रीष्टलाई यहाँ हाम्रा ______________ भनिएको छ। औसत रोमी नागरिकले महान् सम्राट सीजरसँग सङ्गति गर्न पाउँदैनथियो। सामान्य मानिस सीजरको सामु पुग्न सक्दैन थियो। उसको नजिक जान र ऊसँग कुरा गर्न त झनै गाह्रो हुन्थ्यो। आफ्नो प्रभुसँग विश्वासीको सम्बन्ध यो भन्दा कत्तिको भिन्न छ?

४. प्रभुत्वले प्रेमको माग गर्दछ।

प्रभुलाई प्रेम नगर्नेहरूको बारेमा पावलले के भने (१ कोरिन्थी १६:२२)? __________________________________________ अधिकांश रोमीहरूले प्रेमको कारणले नभई बाध्यताको कारणले सीजरको सेवा गर्दथे (किनभने यो उनीहरूको चाहना थिएन, तर उनीहरूको बाध्यता थियो)। तपाईंले चाहिँ ख्रीष्टको सेवा प्रेमले गर्नुहुन्छ कि बाध्यताले? मण्डली आउनु तपाईंको चाहना हो कि बाध्यता? तपाईंलाई बाइबल पढ भनेर भन्ने त्यहाँ कोही नभएको भए के तपाईं आफैं बाइबल पढ्नुहुन्थ्यो होला?

एकदिन सबै मानिसहरूले के गर्नेछन् (फिलिप्पी २:९-११)? _________________________________________

के बिगतका सबै सीजरहरू एकदिन ख्रीष्टको सामु उभिएर आ-आफ्ना घुँडा टेक्नेछन्? के उनीहरूले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछन्? के तपाईंले यसो गर्नुभयो? कि त प्रेमले नै आज यसो गर्नुहोस् नत्र ता तपाईंले भविष्यमा बाध्यताले यसो गर्नुपर्नेछ!

“अनि तिमीहरू किन मलाई ‘हे प्रभु, हे प्रभु’ भन्दछौ, 
र मैले भनेका कुराहरूचाहिँ पालन गर्दैनौ?”
(लूका ६:४६)

सीजर होइन, तर ख्रीष्ट नै प्रभु हुनुहुन्छ!
के यो सत्यताले तपाईंको जीवनलाई बदलेको छ?
के तपाईं उहाँको प्रभुत्वप्रति समर्पित हुनुहुन्छ,
र उहाँलाई नै तपाईंको जीवनमा उहाँको मार्ग र स्वामित्व पूरा गर्न दिरहनुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

१-पत्रुस कि चट्टान?

पाठ १

पत्रुस कि चट्टान?

पाठकलाई मण्डली इतिहास बुझ्न सहायता मिलोस् भन्ने हेतुले यी पाठहरू तयार गरिएका हुन्। विगतबाट गहकिला पाठहरू सिक्‍न परमेश्वरले सहायता गर्नुभएको होस्। इतिहासबाट नसिक्‍नेहरूले विगतकै गल्तीहरू दोहोर्‍याउने जोखिम उठाउँछन्। विगतबाट सिकेर वर्तमानमा धार्मिकतापूर्वक जिउन सहायता मिलेको होस्।

मत्ती १६:१३ मा सोधिएको चाबी प्रश्न के हो?

_________________________________

यदि तपाईंले आज कसैलाई उक्त प्रश्न सोध्नुभयो भने जवाफ कस्तो आउला? स्कूलका साथीबाट? शिक्षक वर्गबाट? छिमेकीबाट? के यो प्रश्न महत्त्वपूर्ण छ? किन छ वा किन छैन?

मत्ती १६:१३ मा सोधिएको र मत्ती १६:१५ मा सोधिएको प्रश्नका बीच के भिन्नता छ? तपाईंले मत्ती १६:१५ को प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ? पत्रुसले दिएको जवाफ के थियो (मत्ती १६:१६)? _____________________________ पत्रसुको जवाफ सही थियो कि गलत (१७ पदसँग तुलना गर्नुहोस्)? _________________ पत्रुसले यी सत्यता कसरी जाने? उनको तिक्ष्ण बुद्धि भएकोले हो? वा उत्कृष्ट विद्यालय वा विश्व-विद्यालयमा पढेकाले वा कुनै स्तरीय गोष्ठीमा भाग लिएकाले? पत्रुसको आत्मिक समझ र ज्ञानको रहस्य के थियो (मत्ती १६:१७)? ______________________________________ तपाईंको आत्मिक समझको स्रोत के हो (१ कोरिन्थी २:९-१५)? के तपाईं आफैंले सत्यता बुझ्न सक्नुहुन्छ, कि परमेश्वर आफैंले यी कुराहरू तपाईंलाई प्रकट गरिदिनुहुन आवश्यक छ? ___________________________

के पत्रुस प्रथम पोप थिए त?

मत्ती १६:१८ एउटा ज्यादै महत्त्वपूर्ण पद हो। तर यो ज्यादै गलत तरिकाले बुझिएको र गलत तरिकाले अर्थ लगाइएको पद पनि हो। यस पदमा प्रभुले भन्नुभएको खास कुरा यो थियो: “अनि म पनि तिमीलाई भन्दछु, तिमी ______________ हौ, र यस _____________माथि म _________ ______________ बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।

यी शब्दहरूलाई हामीले कुन अर्थमा बुझ्नुपर्छ? के येशूले पत्रुसको कुरा गर्दै हुनुहुन्थ्यो? अनि येशूले मण्डलीको बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि येशूले आफ्‍नो बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि “चट्टान” भनेको को हो? चाबी प्रश्न यही हो।

यस पदभित्र केही सुस्पष्ट र महत्त्वपूर्ण शिक्षाहरू छन्। मत्ती १६:१८ अनुसार, मण्डलीका निर्माता को हुनुहुन्छ? “म आफ्नो मण्डली बनाउनेछु”: यो भन्ने को हुनुहुन्छ? ___________________ कहिल्यै बिर्सन नहुने एउटा सत्यता यही हो। येशू ख्रीष्ट नै मण्डलीका महान् निर्माता हुनुहुन्छ। मण्डली उहाँद्वारा निर्माण गरिएको हो। मण्डली कुनै मानिसद्वारा निर्माण गरिएको होइन, यो त परमप्रभुद्वारा निर्माण गरिएको हो! मत्ती १६:१८ अनुसार, यो मण्डली कसको हो? येशूले भन्नुभयो, “म _________ मण्डली बनाउनेछु।” के कुनै पास्टरले घमण्ड गर्दै “यो मेरो मण्डली हो!” भन्नु सही हो? एल्डर वा डिकनले त्यसो भन्नु सही हो? मण्डली येशू ख्रीष्टको हो। यो उहाँको मण्डली हो! मानिसहरूले अक्सर “त्यो मेरो मण्डली हो,” भन्ने गर्छन् तर वास्तवमा मण्डली उहाँको हो भनेर हामीलाई सधैं सम्झाइनुपर्छ।

यस पदमा स्पष्टसाथ सिकाइएको अर्को कुरा पनि छ। मत्ती १६:१८ अनुसार, मण्डली ख्रीष्टद्वारा बनाइएको हो (उहाँ निर्माता हुनुहुन्छ) र मण्डली ख्रीष्टको हो (यो उहाँको मण्डली हो) र मण्डली च___________माथि बनाइएको छ। मण्डली माटो वा बालुवामाथि बनाइएको छैन। मण्डली एउटा बलियो चट्टानमाथि बनाइएको छ।

एउटा भवनको लागि त्यसको जग एकदम महत्त्वपूर्ण हुन्छ। भवनको जग राम्रो हुनुपर्छ र यो जग बलियो हुनैपर्छ। येशू ख्रीष्टको मण्डली बलियो चट्टानको जगमाथि बनाइएको छ। जब परमेश्वरले केही कुरा बनाउनुहुन्छ, उहाँले त्यो असल बनाउनुहुन्छ। उहाँले यसलाई बलियो आधारमाथि राख्नुहुन्छ। मण्डली चट्टानमाथि बनाइएको छ। तर यो चट्टान भनेको को हो? चाबी प्रश्न यही हो।

क्याथोलिक चर्चको जवाफ

हामीमध्ये कतिलाई रोमन क्याथोलिक चर्चको बारेमा केही कुरा थाहा होला र कतिले क्याथोलिक व्यक्तिहरूलाई भेटेका पनि छौं होला। हामीले हेरिरहेको यस पद (मत्ती १६:१८) लाई क्याथोलिक शिक्षकहरूले आफ्नो विश्वासको एउटा प्रमुख बुँदालाई समर्थन गर्न प्रयोग गर्ने गर्छन्।

यो चट्टान को हो? क्याथोलिक मण्डलीको अडान यस्तो छ: यो चट्टान पत्रुस हो। जुन बलियो चट्टानमाथि मण्डली बनाइएको छ त्यो चट्टान पत्रुस नै हो भनी उनीहरू विश्वास गर्दछन्। येशू ख्रीष्टको मण्डली पत्रुसमाथि बसालिएको हो भनी उनीहरू विश्वास गर्दछन्। ख्रीष्ट निर्माता हुनुहुन्छ, मण्डली ख्रीष्टको हो, तर पत्रुसचाहिँ मण्डलीका जग हुन्। यो पदलाई उनीहरूले यसरी बुझ्ने गर्छन्: “तिमी पत्रुस हौ, र यस चट्टान (पत्रुस) माथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)।

ख्रीष्टले पत्रुसलाई प्रथम पोपको रूपमा नियुक्त गर्नु भएको हो भनेर क्याथोलिक मण्डलीले विश्वास गर्छ। येशू ख्रीष्टका शब्दहरूलाई उनीहरू यसरी बुझ्छन्: “पत्रुस, म मेरो मण्डली तिमीमाथि बनाउनेछु। तिमी नै पहिलो पोप हुनेछौ र तिमी नै मण्डलीको दृश्यमान शिर हुनेछौ।”

आज हाम्रो संसारमा एकजना विशिष्ट र प्रभावशाली मानिस छन् जसलाई “पोप” भनिन्छ। खबरहरूमा अक्सर तिनको उल्लेख गरिन्छ र तिनलाई देखाइन्छ। समय-समयमा तिनले देश-विदेश भ्रमण गर्दछन्। ख्रीष्टमस, इस्टर र वर्षभरीका अन्य विभिन्न समयहरूमा आयोजना गरिएका धार्मिक कार्यक्रमहरूलाई तिनले नै सञ्चालन गरिरहेको देख्न सकिन्छ। जहीँ-तहीँका क्याथोलिक मानिसहरूले तिनलाई आफ्नो अगुवा र शिरको रूपमा हेर्ने गर्छन्। पोपको बारेमा तपाईंलाई कत्तिको ज्ञान छ? तिनी को हुन् र तिनका अधिकारहरू के-कस्ता छन्? उनको बारेमा क्याथोलिक मानिसहरूले के विश्वास गर्छन्?

क्याथोलिक शिक्षा अनुसार, पोप को हुन्? उनीहरूको जवाफ यस्तो छ:

“पोप भनेको सन्त पत्रुसको वैधानिक उत्तराधिकारी र मण्डलीका दृश्यमान शिरको रूपमा यस पृथ्वीमा ख्रीष्टका प्रतिनिधि हुन्। जसरी मानव शरीरमा एउटा शिर हुन्छ, ठीक त्यसरी नै मण्डलीको एउटै शिर ख्रीष्ट हुनुहुन्छ। पोपचाहिँ यस पृथ्वीमा उहाँको प्रतिस्थापक (Vicar, कसैको विकल्पमा काम गर्ने व्यक्ति), वा प्रतिनिधि, वा मण्डलीका दृश्यमान शिर हुन्।” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

क्याथोलिक मण्डलीले विश्वास गर्दछ कि पत्रुस “ख्रीष्टले स्थापना गर्नुभएको मण्डलीको शिर, वा पहिलो पोप हुनका निम्ती उहाँद्वारा चुनिएका प्रेरित” हुन् (बाल्टिमोर क्याटेकिज्म)। मत्ती १६:१८ मा येशूले पत्रुससँग बोल्दाहुँदी उहाँले पत्रुसलाई प्रथम पोप, उहाँको प्रतिनिधित्व गर्नेवाला र संसारमा मण्डलीको दृश्यमान शिरको रूपमा उहाँको स्थान लिने व्यक्तिको रूपमा नियुक्त वा अभिषेक गर्दै हुनुहुन्थ्यो।

साथै, पत्रुस धेरै पोपहरूमध्येका केवल प्रथम पोप मात्र हुन् भनेर उनीहरू विश्वास गर्छन्।

“समस्त मण्डलीको प्रधान शिक्षक र शासक हुने विशेष अधिकार सन्त पत्रुस एक्लैले अभ्यास गरून् भन्ने आशय ख्रीष्टको थिएन, तर यो अधिकार तिनको उत्तराधिकारी, अर्थात् पोप वा रोमको अध्यक्षहरूमा सर्दै जाओस् भन्ने आशय थियो, जोचाहिँ संसारमा ख्रीष्टको सहायक पादरी र मण्डलीको दृश्यमान शिर हुन् (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

“के पत्रुसको अधिकार उहाँको मृत्युपश्चात् अन्त भयो? भएन, यो त उहाँको मृत्युपछि (ई. सं. ७८) लिनस् नामक मानिसलाई सुम्पिइयो, त्यसपछि क्लेटसलाई (९० ई. सं.), र त्यसपछि क्लेमेन्टलाई (१०० ई.सं.), र त्यसपछि अर्कोलाई अनि त्यही क्रममा अर्कोलाई गर्दै करिब २००० वर्षदेखि यसरी हस्तान्तरण हुँदै आएको छ।” — विलियम जे. कोगनद्वारा लिखित अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६० (William J Cogan, A Brief Catechism For Adults)।

क्याथोलिक विश्वासअनुसार पत्रुस प्रथम पोप थिए, तर तिनीपछि थुप्रै अन्य पोपहरू खडा हुनेछन्। आजको पोपले आफू यस संसारमा ख्रीष्टको प्रतिनिधि र मण्डलीको दृश्यमान शिर हुँ भनेर विश्वास गर्दछ। के तपाईं यो विश्वास गर्नुहुन्छ?

प्रभु येशूले यस संसारमा उहाँको स्थान लिनको लागि कसैलाई रोज्नुभएकै हो। यूहन्ना १६:७-१६ र यूहन्ना १४:१६-१८ अनुसार, यस संसारमा आफ्नो स्थान लिनलाई ख्रीष्टले कसलाई चुन्नुभयो –पत्रुस कि अरू कोहीलाई? ___________________________________ एफेसी १:२०-२२ र कलस्सी १:१८ अनुसार, मण्डलीको शिर को हुनुहुन्छ? ____________________________________ एफेसी ४:५ अनुसार, मण्डलीका कतिजना प्रभुहरू छन्? मण्डलीको केवल एउटै प्रभु र एउटै शिर हुनुहुन्छ! मण्डलीको अदृश्यमान शिर ख्रीष्ट हुनुहुन्छ तर यस संसारमा दृश्यमान शिरको रूपमा अरु कुनै पनि मानिस छैन। उहाँ नै मण्डलीको निर्माता हुनुहुन्छ, मण्डलीको मालिक हुनुहुन्छ र मण्डलीको शिर हुनुहुन्छ। जुन कुरा केवल उहाँको मात्र हो, त्यस कुरालाई हामी उहाँबाट खोस्न चाहन्नौं।

“पोप” भन्ने शब्द ल्याटिन भाषाको पापा (papa) भन्ने शब्दबाट आउँछ, जसको अर्थ “पिता” हुन्छ। कुनै एउटा मान्छेलाई सम्बोधन गर्दा यो शब्द प्रयोग गर्ने बारेमा प्रभु येशूले के भन्नुभयो (हेर्नुहोस मत्ती २३:९)? ______________________________________ ______________________________________

कहिलेकाहीँ पोपलाई “पवित्र पिता” भनेर पनि सम्बोधन गर्ने गरिन्छ। के एक क्षणभङ्गुर मानिसलाई यस्तो उपमाद्वारा सम्बोधन गर्नु ठीक हुन्छ जस्तो तपाईंलाई लाग्छ (यूहन्ना १७:११ सित तुलना गर्नुहोस्)? _________________

कहिलेकाहीँ समाचारहरूमा वा अन्य ठाउँहरूमा पोपलाई “पोन्टिफ” (PONTIFF) भनेर सम्बोधन गरिएको तपाईंले सुन्न सक्नुहुन्छ। यो शब्दको शाब्दिक माने हो “पूल निर्माता”। पूल कुनै दुई स्थानहरूको बीचमा खडा हुन्छ र तपाईंलाई एक ठाउँबाट अर्कोमा जानको निम्ति मद्दत गर्छ। पोपले आफू परमेश्वर र मानिस बीचको पूल वा मध्यस्थ भएको दाबी गर्दछ। बाइबल अनुसार, परमेश्वर र मानिसको बीचमा एउटै मध्यस्थ को हुनुहुन्छ (१ तिमोथी २:५)? __________________________

अमोघत्व (Infallibility)

अमोघ शब्दको अर्थ हो गल्ती वा भूल गर्न नसक्‍ने, नचुक्‍ने वा अचूक, बेठीक वा भड्कालु हुन नसक्‍ने। क्याथोलिक चर्च र क्याथोलिक पोपहरू अमोघ हुन्छन् भनी क्याथोलिकहरूले विश्वास गर्दछन्। तर उनीहरूले कुन अर्थमा यसो भनेका हुन् सो बुझ्ने कोशिस गरौं:

“क्याथोलिक चर्च अमोघ छ भन्नुको अर्थ यो हो, कि पवित्र आत्माको विशेष सहयोगद्वारा मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउँदा वा विश्वास गर्दा उसले कुनै गल्ती गर्न सक्दैन। अमोघत्वको माने पोपले पाप गर्नै सक्दैन भन्नेचाहिँ होइन, तर विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउने सवालमा, भूल गर्नबाट तिनी पवित्र आत्माद्वारा जोगाइँदछन् भन्ने हो। मण्डलीले केवल सत्यता मात्र सिकाउँछ। सबै ख्रीष्टियनहरूको शिक्षक पोपद्वारा मात्र मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सबै विश्वासयोग्यहरूले पक्रिराखुन् भनेर अचूक तरिकाले व्याख्या गर्दछ” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

“पोपको अमोघत्व भन्नुको अर्थ यो हो, कि पोपले सम्पूर्ण मण्डलीको शिरको रूपमा विश्वास वा नीतिशास्त्रहरू बारेमा बोल्दाहुँदि, गलत कुरा सिकाउनै सक्दैनन्। अमोघत्व र पापहीनता (जसको अर्थ एउटा मानिसले पाप गर्न सक्दैन भन्ने हुन्छ) को बीचमा अलमल हुनुहुँदैन” — विलियम जे. कोगनद्वारा लिखित् अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६१(William J Cogan, A Brief Catechism For Adults)।

अर्को शब्दमा भन्नुपर्दा, के विश्वास गर्ने (विश्वास) र कसरी व्यवहार गर्ने (नीतिशास्त्रहरू) भन्ने कुराहरू सिकाउँदा पोप अचूक रहन्छ (निजले भूल गर्दैन)।

पोपको अमोघत्वको सिद्धान्त एउटा “नयाँ” सिद्धान्त हो। यसलाई रोममा सन् १८७० मा भ्याटिकन काउन्सील जुटेर परिभाषित गरेको थियो। उनीहरूको परिभाषा यस्तो छ:

“…हामी यो सिकाउँछौं र परिभाषित गर्छौं कि यो ईश्वरीय तवरले प्रकट गरिएको आधिकारिक सिद्धान्त हो कि रोमन पोन्टिफ, जब उहाँ एक्स-क्याथिड्रा (ex-cathedra) रूपमा बोल्नुहुन्छ, भन्नुको तात्पर्य, जब उहाँ सबै ख्रीष्टियनहरूका पास्टर र शिक्षकको भूमिका निर्वाह गर्ने कामको कार्यान्वयन गर्नुहुन्छ, उहाँको सर्वोच्च प्रेरितीय अधिकारको हैसियतले जब उहाँले विश्वास र नैतिकताको सम्बन्धमा कुनै सिद्धान्तलाई परिभाषित गर्नुहुन्छ, त्यतिखेर उहाँ धन्य पत्रुसको स्थानमा उहाँलाई प्रतिज्ञा गरिएको ईश्वरीय सहायताद्वारा, उहाँको साथमा त्यो अमोघत्व हुने गर्छ जसद्वारा आफ्‍नो मण्डली आभूषित होस् भनेर ईश्वरीय उदारकर्ताले इच्छा गर्नुभयो यस हेतुले कि उसले विश्वास र नैतिकताको सम्बन्धमा रहेका सिद्धान्तहरूको प्रतिरक्षा गर्न सकोस्, र त्यसैकारण रोमन पोन्टिफका ती परिभाषाहरू, मण्डलीको समर्थनको आधारमा नभएर, आफैमा सुधारको घेरा भन्दा बाहिर छन्।”

उपर्युक्त परिभाषाबाट ध्यानपूर्वक टिपोट गर्नुपर्ने त्यहाँ तीन ओटा कुराहरू छन्:

  1. पोपले बोलेको हरेक अभिव्यक्ति अमोघ वा अचूक हुन्छ भनी दाबी गरिएको छैन, तर उनले एक्स क्याथिड्रा (ex-cathedra) बोलेको कुराहरूको निम्ति मात्र, अर्थात् प्यापल कुर्सी (papal chair) वा सन्त पत्रुसको आसनमा बसेर मण्डलीको शिरको रूपमा तिनको औपचारिक हैसियतमा बोलिएका कुराहरू।
  2. घोषणा गरिएको अभिव्यक्तिहरू सम्पूर्ण मण्डलीलाई बाँध्‍ने उद्देश्यका साथ नै गरिनुपर्छ। मण्डलीभित्रका कुनै निश्चित समूहहरूलाई उनीहरूको स्थानीय तहको अवस्थाहरूसँग धेरै वा थोरै सम्बन्धित रहेर गरिएका अभिव्यक्तिहरूका सवालमा अमोघत्वको दावी गरिएको छैन।
  3. घोषणा गरिएका अभिव्यक्तिहरू “विश्वास र नीतिशास्त्रहरू” सँग सम्बन्ध राख्‍ने मात्र हुनुपर्छ। विश्वास भनेको मण्डलीले गर्ने विश्वाससँग सरोकार राख्‍ने कुरा हो र नीतिशास्त्रहरू भनेको मण्डलीले गर्ने व्यवहारसँग सरोकार राख्‍ने कुरा हो।

के कुनै मानिस अचूक हुन सम्भव छ? के पत्रुस अचूक थिए? के तपाईं अचूक हुनुहुन्छ? के तपाईंको पास्टर अचूक हुनुहुन्छ? के पास्टरले सत्यता नभएका कुराहरू प्रचार गर्न सम्भव छ? हरेक विश्वासीलाई आफूलाई सिकाइएको कुरा सत्य छ भनी कसरी निश्चय हुन सक्छ (हेर्नुहोस् प्रेरित १७:११)? ____________________________________ के तपाईंले यसो गर्ने गर्नुहुन्छ?

कुनै पोप, पूजाहारी, पास्टर वा अन्य कुनै पनि मानिस अचूक हुँदैन। मानिसहरू भू_______ पर्न सक्छन् भनी प्रभु येशूले स्पष्ट पार्नुएको छ (मत्ती २२:२९)। एउटा सामान्य मानिसमात्र भएकोले कोही पनि त्रुटिहीन छैन तर…

  1. परमेश्वर अचूक हुनुहुन्छ। उहाँले भूल गर्नुहुन्न र उहाँले जे सत्य छ त्यही मात्र सिकाउनुहुन्छ।
  2. परमेश्वरको वचन अचूक छ। यसमा भूलहरू छैनन् र यसले जे सत्य छ त्यही मात्र सिकाउँदछ।

विश्वास (के विश्वास गर्नुपर्छ) र नीतिशास्त्रहरू (कसरी व्यवहार गर्नुपर्छ) को सवालमा परमेश्वरले हामीलाई कुनचाहिँ अचूक मार्गदर्शक दिनुभएको छ –हेर्नुहोस् २ तिमोथी ३:१६-१७)? __________________________________ एउटा मानिसले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। मण्डलीले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। तपाईं कतिसम्म अचूक हुनुहुन्छ? तपाईंको मण्डली कतिसम्म अचूक छ? तपाईं र तपाईंको मण्डली परमेश्वरको वचनसँग कतिसम्म नजिकमा टाँसिएर बस्छ?

क्याथोलिक मण्डलीले आफूलाई अचूक ठान्दछ र आफूसँग नियमहरू बनाउने र बदल्ने अधिकार छ भनेर पनि विश्वास गर्दछ: “मण्डलीसँग नियमहरू बनाउने र बनाइएका नियमहरू बदल्ने परमेश्वरबाटको अधिकार छ। नियमहरू बनाउने यो अधिकार प्रेरितहरूका उत्तराधिकारीहरू, अर्थात् विशपहरूद्वारा अभ्यास गरिन्छ, र विशेषगरी, प्रेरितहरूका प्रमुख, अर्थात् सन्त पत्रुसको उत्तराधिकारी पोपको हातमा विश्वव्यापी मण्डलीका निम्ति नियमहरू बनाउने अधिकार हुन्छ” (बाल्टिमोर क्याटेकिज्म)।

चट्टान को हो?

यी सबै क्याथोलिक शिक्षाहरू मत्ती १६:१८ को उनीहरूको बुझाइमाथि आधारित छन्। पत्रुस नै चट्टान हुन् भनी उनीहरू विश्वास गर्छन्। यो कुरा साँच्चै यस्तै हो कि होइन भनी पवित्रशास्त्रहरूमा खोजी गरौं।

१ कोरिन्थी १०:४ मा महान् चट्टानको उल्लेख छ। यो चट्टान को हुनुहुन्छ? _______________ मत्ती २१:४२ पढ्नुहोस्। यस पदमा प्रभु येशूले एउटा महान् चट्टानको बारेमा बताउनुभयो जो रद्द गरिनुभयो र शिर वा कुनाढुङ्गा हुनुभयो। प्रेरित ४:१०-१२ मा पत्रुस उही चट्टानको उल्लेख गर्छन्। के पत्रुसले यहाँ आफैंलाई चट्टानको रूपमा इङ्गित गरेका थिए? ____________ तिनले कसलाई इङ्गित गरेका थिए?________________________

१ पत्रुसको पुस्तक कसले लेखे? _________________ १ पत्रुस २:४-७ पढ्नुहोस्। पत्रुसले ४ पदमा र ६ पदमा पनि पत्थरको उल्लेख गर्छन्। के त्यहाँ तिनले आफूलाई इङ्गित गरेका थिए? ________________

सबै विश्वासीहरू यस महान् भवन अर्थात् मण्डलीको अंश हुन् भनी पत्रुसले ५ पदमा मानिलिएका छन्। मण्डली भनेको “आत्मिक घर” हो जुनचाहिँ ईंट्टाहरू वा काठहरू वा सिमेन्टले होइन, तर “जिउँदो पत्थरहरू” (विश्वासीहरू) ले बनेको हुन्छ। हरेक विश्वासी यस महान् भवन, अर्थात् मण्डलीमा एउटा जिउँदो पत्थर हो। के तपाईं यस भवनको अंश हुनुहुन्छ? के पत्रुस यस भवनको एउटा अंश थिए? के पत्रुस आफैं नै कुनाढुङ्गा थिए (६-७ पदहरू तुलना गर्नुहोस्)? ________________

१ पत्रुस २:४-७ को आधारमा “ठीक” वा “बेठीक” लेखेर जवाफ दिनुहोस्:

१ कोरिन्थी ३:११ अनुसार मण्डलीका एउटै मात्र जग को हुनुहुन्छ? ________________________ अङ्ग्रेजीको एउटा भजनले यस्तो भन्दछ, “मण्डलीको एउटै जग येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ।” उक्त भजनले यस्तो भन्दैन, “मण्डलीको एउटै जग पत्रुस हुन्।” मण्डली पत्रुसमाथि होइन, तर ख्रीष्टको र उहाँको वचनको चट्टानसरह बलियो जगमाथि बनाइएको छ।

पुरानो नियममा करिब ३४ पटक परमेश्वरलाई चट्टान भनी भनिएको छ। व्यवस्था ३२:३-४ अनुसार, चट्टान को हुनुहुन्छ? ______________________ २ शमूएल २२:२,३,३२,४७ पढ्नुहोस्। चट्टान को हुनुहुन्छ? ______________________ विश्वासी जनले सँधैभरी सम्झनामा राख्नुपर्ने एउटा कुरा के हो (भजनसङ्ग्रह ७८:३५)? _________________________________ख्रीष्टलाई हाम्रो चट्टान र कुनाढुङ्गाको रूपमा सङ्केत गर्ने पुरानो नियममा तीनओटा अगमवाणीहरू पनि छन्। हेर्नुहोस् यशैया ८:१४; २८:१६ र भजनसङ्ग्रह ११८:२२।

को? म?

मानौं पत्रुस प्रथम पोप थिए। तर तिनी आफैं सो जान्दैनथे! लूका ५:८ मा पत्रुसले आफूलाई कसरी वर्णन गरे? _____________________________________ के पत्रुसले मानिसहरूबाटको श्रद्धा र उपासनालाई स्वीकार गरे? के पत्रुसले कसैलाई उनको सामु घुँडा टेक्‍न दिए (प्रेरित १०:२५-२६ हेर्नुहोस)? _______________

(टिप्पणी: पोपहरूले त्यस्तो श्रद्धा स्वीकार गर्ने मात्र होइन माग नै गर्छन्। यहाँसम्म कि निकै उच्च ओहोदाका पादरीहरूले समेत, नव नियुक्त पोपको सामु भुईंमा लम्पसार परेर साष्टाङ्ग दण्डवत गर्दछन्, वा अभिषेक गरेपछि तिनको सामु शपथ खाएर तिनको खुट्टालाई चुम्बन गर्दछन्। पोपहरूले “पवित्र पिता” को उपाधि आफूले अधिकारमै पाएझैं गरी स्वीकार पनि गर्छन्। के कहिल्यै पत्रुसलाई “पवित्र पिता” भनेर बोलाइएको थियो र?)

मत्ती १६:१८ मा पत्रुसलाई पोप नियुक्त गरिएको हो भनेर क्याथोलिकहरू विश्वास गर्दछन्। मत्ती १६:१८ पछिका पदहरूलाई पढ्नुहोस्। विशेष गरी मत्ती १६:२१-२३ पढ्नुहोस्। यहाँ प्रभु येशूले पत्रुसलाई कडासँग हप्काउनुभएको कुरा पाउँछौं! भर्खरै मात्र पोप नियुक्त भएको मान्छेका विरुद्ध निकै कडा वचन छ यहाँ! २२ पदमा के पत्रुसले तिनी चुक्‍न सक्छन् भनी प्रमाणित गरे कि अचूक छन् भनी? _______________ गलाती २:११-१४ पढ्नुहोस्। यहाँ प्रेरित पावलले प्रेरित पत्रुसलाई कडासाथ हप्काउनुपर्‍यो किनभने पत्रुसले गल्ती गरेका थिए! (तिनी अचूक थिएनन्)।

पत्रुस परमेश्वरका एक ठूला सेवक थिए र प्रभुले तिनलाई सुन्दर तरिकाले प्रयोग गर्नुभयो। पेन्टिकोस्टको दिनमा हजारौं मानिसहरूलाई प्रचार गर्ने व्यक्ति पत्रुस नै थिए (प्रेरित २)। यहूदीहरू (प्रेरित २), सामरीहरू (प्रेरित ८) र अन्यजातिहरू (प्रेरित १०) का सामु विश्वासको ढोका खोलिदिने व्यक्ति पत्रुस नै थिए । वास्तवमा, प्रेरितको पुस्तकका पहिलो १२ अध्यायहरूमा मुख्य र महत्त्वपूर्ण भूमिका पत्रुसकै थियो। उनी परमेश्वरका एक महान् सेवक थिए र ख्रीष्टको सर्वोत्तम दास थिए तर तिनी पोप थिएनन् न ता तिनी अचूक नै थिए। प्रेरितको पुस्तकको पछिल्लो आधा भाग (१३-२८ अध्यायहरू) मा पत्रुसको बारेमा बिरलै उल्लेख छ। यहाँ मूलत: पावलको उल्लेख छ। पत्रुस नै प्रथम पोप भएका भए प्रेरितको पुस्तकमा तिनको अझै धेरै उल्लेख हुनुपर्ने थिएन र?

फेरि मत्ती १६ अध्यायमा फर्कौं। विशेष गरी १३-१७ पदहरूलाई विचार गर्नुहोस्। यी पदहरूले ख्रीष्टको व्यक्तित्वलाई जोड दिन्छन् कि पत्रुसलाई? यी पदहरूले ख्रीष्टको को हुनुहुन्छ भनेर दर्शाउँछन् कि पत्रुस को हुन् भनेर? पत्रुसले आफ्‍नो महानतालाई स्वीकार गरे कि ख्रीष्टको महानतालाई (१६ पद)? ________________________ यी पदहरूको मुख्य विषयवस्तु पत्रुस होइन ख्रीष्ट हुनुहुन्छ।

शब्दको खेल: पेट्रोस् र पेट्रा

मत्ती १६:१८ एक प्रकारको श्‍लेषोक्ति हो। यहाँ दुईओटा उस्तै-उस्तै शब्दहरूको प्रयोग गरिएको छ। येशूले भन्नुभयो, “तिमी पत्रुस (ग्रीक शब्द पेट्रोस् हो) हौ, र यस चट्टानमाथि (ग्रीक शब्द पेट्रा हो) म आफ्नो मण्डली बनाउनेछु।” अर्को शब्दमा, उहाँ यसो भन्दै हुनुहुन्थ्यो, “तिमी पेट्रोस् हौ र यस पेट्रामाथि म आफ्नो मण्डली बनाउनेछु।”

यी ग्रीक शब्दहरूको अर्थको बारेमा बिचार गरौं:

१) पेट्रोस्

एउटै नेपाली शब्दले “पेट्रोस” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “पत्थर” हो। हेर्नुहोस यूहन्ना १:४२ (पत्रुस=केफास=पत्थर)। चट्टानको एक टुक्रालाई पत्थर भनिन्छ। तसर्थ सामान्यतया यो शब्दले कुनै खुकुलो पत्थर वा हल्लाउन सकिने पत्थरलाई जनाउँछ, जसलाई एउटा मानिसले अन्यत्र फ्याँक्‍न पनि सक्छ। यो शब्दले कहिलेकसो अति ठूलो पत्थरलाई जनाउन पनि सक्छ, तर प्राय: जसो यस शब्दले सानो, हल्लाउन सकिने पत्थरलाई जनाउँछ। यो शब्द लाइटरमा प्रयोग गरिने पत्थर र घुयेंत्रोमा प्रयोग गरिने ढुङ्गाहरू जनाउन पनि प्रयोग गरिएको छ। यो शब्दलाई व्यक्ति वा वस्तुको नामको रूपमा पनि प्रयोग गरिएको छ (पत्रुस)। के पत्रुसले आफूलाई पत्थरको रूपमा हेरे (१ पत्रुस २:५)? ____________ के एउटा खुकुलो पत्थरमाथि मण्डली बनाउनु बुद्धिमानी हुन्छ? के एउटा भवन स-साना ढुङ्गाहरूमाथि बसालिनु सम्भव छ? के यो एउटा बलियो जग हुन सक्ला?

२) पेट्रा

एउटै नेपाली शब्दले “पेट्रा” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “चट्टान” हो। (मत्ती १६:१८—“यस चट्टानमाथि”)। कुनचाहिँ ठूलो हुन्छ, चट्टान कि पत्थर? __________ पेट्रा शब्दको अर्थ हो ठूलो चट्टान वा पहरा सरह चट्टान। प्राय: जसो यो शब्दलाई कुनै अचल, स्थायी चट्टान वा हल्लाउन नसकिने चट्टानलाई जनाउन प्रयोग गरिन्छ। प्राय: जसो यो शब्दलाई समुद्रछेऊको चट्टानी भीरलाई (चट्टान, पहरा) जनाउन प्रयोग गरिएको छ। मण्डली एउटा विशाल, ठोस्, अचल र स्थायी चट्टानमाथि बनाइएको छ! यो जग यति ठोस र यति सुरक्षित छ कि “नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।

पत्रुसले भर्खरै सुस्पष्ट साथ स्वीकार गरेका छन्। तिनले येशू ख्रीष्ट र उहाँ को हुनुहुन्थ्यो भनेर देखाइसकेका छन् (मत्ती १६:१६)। पत्रुसले भर्खरै मात्र स्वीकार गरेको सत्यतामा नै त्यो बलियो चट्टानको जग देखिनुहुन्छ जसमाथि ख्रीष्टको मण्डली बनिनेवाला थियो। ख्रीष्ट नै निर्माता हुनुहुन्थ्यो, ख्रीष्ट नै मालिक हुनुहुन्थ्यो (यो उहाँको मण्डली हो) र ख्रीष्ट नै बलियो चट्टान सरहको जग हुनुहुन्थ्यो (१ कोरिन्थी ३:११)।

मण्डली पत्रुसभन्दा पनि बलियो एकजनामाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? मण्डलीको शिर कुनै दृश्यमान, त्रुटिपूर्ण, पापपूर्ण मानिस नभएर ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुरामा तपाईं धन्यवादी हुनुहुन्छ? मण्डली मानिसद्वारा र मानिसमाथि नभएर परमेश्वरद्वारा परमेश्वरमाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ?

मानिसहरूले मानवीय अगुवाहरू र मानवीय शिरहरूलाई हेर्नुमा त्यहाँ ठूला खतराहरू छन्। के मानिसहरूले हामीलाई निराश बनाउन सक्छन्? के मानिसहरूले भूल गर्न सक्छन्? के मानिसहरूले कमसल निर्णयहरू गर्न सक्छन् (यर्मिया १७:५)? यदि पास्टर नै मण्डलीको शिर भएको भए, हाम्रो माझमा कस्ता समस्याहरू हुने थिए? के हाम्रो अगुवा र हाम्रो शिर कुनै मानिस मात्र भइदिएको भए हामीहरू ठूलो समस्यामा पर्ने थियौं।

के तपाईंको मण्डली मानिसद्वारा चलाइएको छ कि परमेश्वरद्वारा? के तपाईंको मण्डलीको नेतृत्व मानिस (वा मानिसहरू) द्वारा भएको छ कि परमेश्वरद्वारा? यो मण्डली कसको हो (मत्ती १६:१८ सित तुलना गर्नुहोस्)? मण्डलीले कसको आज्ञापालन गर्नुपर्छ, परमेश्वरको कि मानिसको (प्रेरित ४:१९ र ५:२९ सित तुलना गर्नुहोस्)? मण्डलीले कसलाई पछ्याउनुपर्छ, मानिसलाई कि परमेश्वरलाई? यदि कसैले _____________ देखासिकी गरिरहेको छ भने मात्र हामीले निजलाई पछ्याउनुपर्छ (१ कोरिन्थी ११:१)।

तपाईंको जग कत्तिको बलियो छ?

तपाईंमुनिको जमिन कत्तिको बलियो छ? के तपाईं सुरक्षित र बलियो जगमाथि खडा हुनुहुन्छ? चट्टानमाथि आफ्नो जीवन बसाल्न तपाईंले के गर्नुपर्छ (मत्ती ७:२४-२७)? के तपाईं यसो गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने, नहल्लिनुहोस् र नभड्किनुहोस्! बलियो जगमाथि रहिरहनुहोस् किनभने अन्य सबै जमिन भासिरहेको बालुवा मात्र हुन्। हेर्नुहोस् १ कोरिन्थी १५:५८।

यो सत्य हो, मानिसहरूले मण्डली बनाउन सक्छन्। मानिसहरूले अन्य मानिसहरूलाई एउटा भवनभित्र जम्मा गर्न सक्छन्। मानिसहरूले आफूलाई जे मन लाग्यो त्यही सिकाउन सक्छन्। मानिसहरूद्वारा र मानिसहरूमाथि बनाइएका त्यहाँ थुप्रै-थुप्रै मण्डलीहरू छन्। तर तिनीहरूको कुनै बलियो चट्टानको जग छैन र तिनीहरूका भवनहरू रहिरहनेछैनन्। चार्ल्स स्पर्जन (Charles Spurgeon) ले यसरी भनेका छन्:

“यस हप्ता म एउटा चर्चघरको सामु उभिएको थिएँ जो एक समय समुद्री किनाराबाट निकै पर अवस्थित थियो, तर अहिले यो समुद्रको छेवैमा खडा रहेको छ। प्राय: हरेक वर्ष विशाल मात्रामा माटोको भीर समुद्रमा खस्छ, र एक वा दुई वर्षमा यो मण्डली पनि खस्‍नैपर्छ। अहिले त यो निश्चिन्त र शान्त भएर उभिरहेको छ, तर कुनै निश्चित दिनमा यो समुद्रभित्र निलिनेछ। म यो सोच्न बाध्य भएको छु, कि उक्त भवनले केही निश्चित प्रकारका कथित मण्डलीहरूलाई जनाउँछ, जोहरू कुनै शासनप्रथा वा अन्धविश्वासको माटेभीरमाथि उभिएका छन्। मानिसहरूले पाएको प्रकाशको छाल र त्योभन्दा पनि, परमेश्वरको आत्माको समुद्री छाल आउँदैछ र तिनीहरूका जगहरूलाई क्लान्त पार्दैछ र अन्त्यमा एकदिन त्यसको पूर्ण संरचना भत्कनैपर्छ। त्यसपछि के? के हामी यसो भन्दै कराऔं, “परमेश्वरको मण्डली भत्कियो?” यस्तो मूर्ख उच्चारण टाढै रहोस्; परमेश्वरको मण्डली अति सुरक्षित छ। यसो नजर लगाउनुहोस्, त्यहाँ परमेश्वरको मण्डली आँधीबेह्रीले पूर्ण अन्तरीप (समुद्रमा देखिने अग्लो चट्टान) माथि खडा रहिरहेको छ, जहाँ समुद्र अटुट रूपमा उर्लेर आउँछ र हरेक छेऊबाट सँधै धक्का दिन्छ। तरैपनि त्यसले कुनै क्षतिको डर मान्दैन, किनभने त्यो कुनै माटेभीरमा बनाइएको छैन, तर चट्टानमाथि बनाइएको छ जसमाथि नरकका छालहरू विजयी हुनेछैनन्। जीवित परमेश्वरको मण्डली खडा रहनेछ (मत्ती १६:१८)।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)