पास्टरको अधिकारको सीमा

पास्टरको अधिकारको सीमा

डेविड क्लाउड

एकजना पास्टरसित त्यतिमात्र अधिकार हुन्छ जति निजलाई परमेश्वरद्वारा प्रत्यायोजित गरिएको हुन्छ। ख्रीष्टियनहरू आँखा चिम्लेर मण्डली अगुवाको अधीनमा बस्नुपर्छ भनेर बाइबलले कतै बताएको छैन, तर परमेश्वरबाट बोलाइएका, परमेश्वरको वचनअनुसार नेतृत्व गर्दै गरेका, बाइबलअनुसारको योग्यता भएका पुरूषहरूको अधीनमा भने बस्नुपर्छ। जसरी प्रेरित पावलले भने, “जसरी म ख्रीष्टको देखासिकी गर्दछु, उसरी नै तिमीहरू पनि मेरो देखासिकी गर्ने होओ” (१ कोरिन्थी ११:१)। पावलले अरूहरूलाई उनको देखासिकी गर्नू भनी माग गर्न सक्थे किनभने उनी आफै ख्रीष्टको देखासिकी गर्दैथिए र ख्रीष्टले सुम्पनुभएको सन्देशलाई उनले विश्वासयोग्य भई प्रचार गर्दैथिए। यसभन्दा बाहिर पावलसित समेत कुनै अधिकार थिएन। उनले अरू कुनै सुसमाचार प्रचार गरेको खण्डमा उनलाई इन्कार गरिनुपर्छ भनेर उनले गलातीयाका मण्डलीहरूलाई चेतावनी दिए (गलाती १:८)। उनका आफ्‍नै सहयोगीहरूसित कामकुरा गर्ने सम्बन्धमा समेत पावलको अधिकार असीम वा प्रश्नै गर्न नमिल्ने खालको थिएन। अपोल्लोस सेवकाइ गर्न कोरिन्थमा गइदिऊन् भनी पावलले “खूबै अनुरोध” गर्दा, अपोल्लोसले मान्न अस्वीकार गरेका थिए (१ कोरिन्थी १६:१२)।

पास्टरको अधिकार निम्न तरिकाले सीमित हुन्छ:

१) पास्टरको अधिकारलाई बाइबलले सीमित गर्छ। हिब्रू १३:७ ले ख्रीष्टियनहरूले त्यस्ता व्यक्तिहरूको अधीनमा आफूलाई सुम्पनुपर्छ भनेको छ जोहरूले परमेश्वरको वचन सुनाएका छन्। आफैमा पास्टरसित अधिकार हुँदैन; निजको अधिकार परमेश्वरको वचनमा हुन्छ। एउटा पास्टर वा शिक्षक यदि बाइबलदेखि भड्कन्छ भने निजलाई पछ्याउन उनका कुरा सुन्नेहरूको कुनै जिम्मेवारी हुँदैन किनकि निजले आफ्‍नो अधिकारको सीमा नाघिसकेको छ। बेरियालीहरूले एउटा मान्छेलाई आँखा चिम्लेर पछ्याउनुको सट्टा पावलको प्रचारलाई होशियारपूर्वक जाँचेका हुनाले उनीहरूको तारिफ गरिएको छ (प्रेरित १७:११)। परमेश्वरका जनहरूलाई “सबै कुरा जाँच” (१ थेस्सलोनिकी ५:२१) भनेर शिक्षा दिइएको छ। प्रत्येक प्रवचन त्यसलाई सुन्नेहरूद्वारा जाँचिनुपर्छ (१ कोरिन्थी १४:२९)। सदस्यहरूको जीवनका एक-एक कुरामा अधिकार चलाउनलाई पास्टरसित अधिकार हुँदैन। तिनीहरू प्रभुका जनहरू हुन्, पास्टरका होइनन्। उनी केवल एक नम्र अधीनस्थ गोठाला मात्र हुन् जसले केही समयका लागि प्रभुको बगालको देखरेख गर्दैछन्। ती जनहरूसित परमेश्वरका आत्मा अन्तरवास गर्नुहुन्छ अनि उहाँ नै उनीहरूका शिक्षक हुनुहुन्छ। “तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन; तर जसरी यही अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ; र यो सत्य हो, अनि झूटा होइन; र जसरी यसले तिमीहरूलाई सिकाएको छ, उसरी नै तिमीहरू उहाँमा रहिरहो” (१ यूहन्ना २:२७)।

२) पास्टरको अधिकार निजको ईश्वरीय बोलावटमा र निजको ईश्वरीय योग्यताहरूमा भर पर्ने कुरा हो (प्रेरित २०:२८; १ तिमोथी ३; तीतस १:५)। एफेससको मण्डलीमा केही व्यक्तिहरूलाई एल्डरहरूको स्थानमा राख्नुहुने पवित्र आत्मा हुनुहुन्थ्यो। आत्मिक अधिकारको आधारशिला नै यही हो। ख्रीष्टियनहरू ती पुरूषहरूको मात्र अधीनमा बस्न जिम्मेवार हुन्छन् जोहरूले आफूहरू परमेश्वरबाट बोलाइएको कुराको सुस्पष्ट प्रमाण दिन सक्छन्। पास्टरका योग्यताहरू १ तिमोथी ३ र तीतस १ मा प्रस्टै उल्लेख गरिएका छन्। धेरैजना व्यक्तिहरू पास्टरीय अधिकार प्रयोग गर्न अयोग्य छन् किनकि तिनीहरूका पत्नीहरू आत्मिक छैनन् वा तिनीहरूका छोराछोरीहरू अनुशासनहीन छन् वा समाजमा उनीहरूको लोभी चरित्र वा व्यभिचार वा रिसाउने बानी वा बाइबलमा प्रस्ट गरी उल्लेख गरिएको अन्य अरू कुराको कारण उनीहरूको राम्रो गवाही छैन।

दाजुभाइहरूहो, हामीले आफूहरूलाई ईश्वरीय, योग्य पास्टरहरूको अधीनमा सुम्पनुपर्छ जोहरूले मण्डलीहरूलाई परमेश्वरको वचनअनुसार अगुवाइ गर्दैछन्। धेरैजना असल र नम्र पास्टरहरू आज निरुत्साहित छन् र तिनीहरूका हातहरू उनीहरूका जनहरूका विश्वासयोग्यता र प्रार्थनाहरूद्वारा उठाइनु आवश्यक छ। कुनै शङ्कास्पद कुराको सवालमा हामीले पास्टरहरूलाई सधैं निर्दोष नै ठान्नुपर्छ जबसम्म उनीहरूले परमेश्वरको वचनलाई प्रत्यक्ष रूपमा उल्लङ्घन गरी नेतृत्व गर्न खोजिरहेको भेटिँदैन। त्यसो नगर्नु त विद्रोह र गडबड हो। तर हामी ती व्यक्तिहरूको विषयमा सचेत हुनुपर्छ जोहरूले अबाइबलीय कल्ट-चरित्रको पास्टरीय अधिकार चलाउँछन्, चाहे जुनसुकै साम्रदायको बिल्ला उनीहरूले लगाएको किन नहोस्। यही डियोट्रेफेस (३ यूहन्ना ९) मानसिकताले गर्दा नै इतिहासमा आर्चविशपहरू र कार्डिनलहरू र पोपहरू भएको रोमन क्याथोलिक मण्डलीको निर्माणमा टेवा पुग्न गएको हो।

पास्टरीय अधिकार

पास्टरीय अधिकार

 

डेविड क्लाउड

पास्टरीय अधिकारको सम्बन्धमा स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूको सेरोफेरोमा मैले दुईटा समस्या बारम्बार देख्ने गर्ने गरेको छु: पहिलो, त्यहाँ कतिपय मण्डली सदस्यहरूको तर्फबाट पास्टरीय अधिकारको विरुद्धमा विद्रोह हुने गर्छ; अनि दोस्रो, त्यहाँ कतिपय पास्टरहरूको तर्फबाट पास्टरीय अधिकारको दुरुपयोग हुने गर्छ।

पास्टरहरूसित निश्चय पनि परमेश्वरबाटको अधिकार छ। परमेश्वरको वचनले भन्दछ, “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र आफूलाई उनीहरूको अधीनतामा सुम्प; किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्; र यो काम उनीहरूले दुःख मान्दै होइन, तर आनन्दसाथ गरून्; किनकि यसबाट तिमीहरूलाई केही फाइदा हुँदैन” (हिब्रू १३:१७)। मण्डलीहरूमा तिनका सदस्यहरूसित त्यस्तै अधिकार हुँदैन। पास्टरसित नेतृत्व गर्ने अधिकार हुन्छ, र जोहरू पास्टरहरू होइनन् उनीहरू उक्त अधिकारको मुनि आफूहरूलाई राख्‍नुपर्छ। आज पास्टरीय अधिकारको विरुद्धमा विद्रोह व्यापकरूपमा हुने गर्छ, यो वास्तविकता हो। असल फन्डामेन्टल ब्याप्टिष्ट चर्चहरू छाड्ने धेरैजना मानिसहरू पास्टरीय अधिकारलाई नबुझेकाले वा त्यसको अधीनमा बस्न अस्वीकार गरेकाले त्यसो गर्ने गर्छन्। मण्डलीमा निर्णयहरू गर्ने सवालमा तिनीहरूसित पास्टरहरूसित जत्तिकै अधिकार हुन्छ भन्ने उनीहरू ठान्छन्, तर यो साँचो होइन। [यद्यपि राय लिइनुपर्ने विषयवस्तुको सवालमा बहुमतको राय नै मान्य हुन्छ — अनुवादकको टिप्पणी]

तर अर्कोतिर, पास्टर वा एल्डरले अभ्यास गर्ने अधिकार संसारका शासकहरूले अभ्यास गर्ने भन्दा सुस्पष्ट रूपमा पृथक हुनुपर्छ, तर त्यहाँ पास्टरहरू छन् जोहरूले आफ्नो अधिकारको दुरुपयोग गरिरहेकाछन्। पास्टरको अधिकार असीमित र निर्विवाद हुँदैन, त्यो प्रश्नै गर्न नसकिकने खालको हुँदैन। सदस्यहरूले आँखा चिम्लेर अगुवाको कुरा मान्नुपर्छ भनी माग गर्नेहरू कल्ट (झूटा सम्प्रदाय) का अगुवाहरू हुन्, अनि आँखा चिम्लेर कुरा मान्नेहरू येशू ख्रीष्टप्रति विश्वासयोग्य भइरहेका छैनन् किनकि उहाँले मात्र त्यस्तो आज्ञा पालनको माग गर्न सक्नुहुन्छ।

कुनै प्रश्न नगरी मण्डली अगुवाहरूप्रति अन्धो भक्ति देखाउनुपर्छ भन्ने धारणालाई निम्न पदहरूले झूटा ठहराउँछन्:

सबै कुरा जाँच; जुन कुरा असल छ, त्यसलाई बलियो गरी समातिराख” (१ थेस्सलोनिकी ५:२१)।

बाइबलले भन्दछ, सबै कुरा परमेश्वरको वचनले जाँचिनुपर्छ। मण्डली अगुवाहरू पवित्रशास्त्रबाटको यस दायित्व भन्दा माथि हुँदैनन्।

“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे; र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)।

बेरियालीहरूको यहाँ सराहना गरियो र उनीहरूलाई उत्तम भनियो किनकि तिनीहरूले सबै कुरा पवित्रशास्त्रहरूद्वारा जाँचे, पावलका शिक्षाहरूलाई समेत।

“बोधो मान्छेले हरेक कुरा विश्वास गर्छ; तर समझदार मानिसले आफ्‍नो पाइलामा ध्यान दिन्छ” (हितोपदेश १४:१५)।

बुद्धिमान मानिस उसले सुनेको सबै कुराको विषयमा होशियार हुन्छ भनेर यो हितोपदेशले सिकाउँछ जब कि बोधो वा सीधा-साधा वा मूर्ख व्यक्ति त्यो हो जसले जाँचबुझै नगरीकन “हरेक कुरा विश्वास गर्छ” र सबै कुरा पवित्रशास्त्रहरूद्वारा जाँच्न मान्दैन। कुनै मण्डली अगुवालाई अन्धो भएर पछ्याउनेहरू हितोपदेश १४:१५ का बोधोहरू हुन्।

“दुई वा तीन साक्षी नभएसम्म प्राचीनको विरोधमा लगाइएको कुनै दोष स्वीकार नगर। पाप गर्नेहरूलाई सबैका सामु हप्काऊ, र अरू पनि डराऊन्” (१ तिमोथी ५:१९-२०)।

मण्डली अगुवाहरूको विरूद्धमा मण्डली अनुशासनको कार्यान्वयन कसरी गरिनुपर्छ भनेर माथिको खण्डले बयान गर्छ। यो काम होशियारीपूर्वक र बुद्धिमानीपूर्वक गरिनुपर्छ, तर यो स्पष्ट छ कि मण्डली अगुवाहरू अनुशासन र सुधारभन्दा माथि हुँदैनन्।

तर जब पत्रुस एन्टिओक आए, तब मैले आमनेसामने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए। किनकि याकूबकहाँबाट कति मानिसहरू आउनुभन्दा पहिले उनी अन्यजातिहरूसँग खान्थे; तर जब तिनीहरू आए, तब ती खतना हुनेहरूसँग डराएर उनी पछि हटे र आफूलाई अलग पारे; अनि उनका साथमा अरू यहूदीहरूले पनि कपट गरे, यहाँसम्म कि बर्नबास पनि तिनीहरूको कपटद्वारा भड्काइए। तर जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार ठीकसँग नचलेका देखें, तब ती सबैका सामु मैले पत्रुसलाई भनें: ‘तपाईं यहूदी भएर पनि यहूदीजस्तो होइन, तर अन्यजातिजस्तो चल्नुहुन्छ भने, किन तपाईं अन्यजातिहरूलाई यहूदीको चालअणुसार चल्नू भनी कर लाउनुहुन्छ? हामी जन्मैका यहूदीहरू हौं, र अन्यजातिहरूबाटका पापी होइनौं (गलाती २:११-१५)।

यहाँ पावलले पत्रुसलाई उनको कपट र छलका निम्ति सार्वजनिक रूपमा नै हप्काएको कुरा देख्छौं।

“म, जो एउटा सङ्गी-प्राचीन र ख्रीष्टका दुःखहरूको साक्षी, साथै प्रकट हुने महिमाको भागीदार हुँ, तिमीहरूको बीचमा भएका प्राचीनहरूलाई अर्ती दिन्छु – तिमीहरूका बीचमा भएको परमेश्वरको बगाललाई देखरेख गर्दै गोठाला गर, करले होइन, तर इच्छापूर्वक; नीच कमाइका निम्ति होइन, तर तयार मनले; परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन” (१ पत्रुस ५:१-३)।

परमेश्वरको वचनले पास्टरहरूलाई परमेश्वरको सम्पत्तिमाथि प्रभुहरू भएझैं व्यवहार गर्न सख्त मनाही गरेको छ। पास्टरहरूले कुनै कुराको माग गर्दा उनीहरूको कुरा निर्विवाद रूपमा मान्नुपर्छ भन्ने अवधारणालाई यस खण्डले झूटा सावित गर्छ। पत्रुसले पास्टरहरूलाई यो कुराको सम्झना गराउँछन् कि मण्डली उनीहरूको सम्पत्ति होइन; यो परमेश्वरको हो। उनीहरू मण्डलीको शिर होइनन्; येशू ख्रीष्ट हुनुहुन्छ। उनीहरूले ख्रीष्टको बगाललाई कोमलतापूर्वक अधीनस्थ गोठालाहरूको रूपमा नम्रतापूर्वक देखरेख गर्नुपर्छ, यो कुरा स्मरण गर्दै कि बगाललाई गरिएको कुनै पनि दुर्व्यवहारका निम्ति उनीहरूले मुख्य गोठालालाई लेखा दिनेछन्।

तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो: “तिमीहरूलाई थाह छ, अन्यजातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुता जमाउँछन्, र ठूला-ठूलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तर तिमीहरूका बीचमा चाहिँ त्यस्तो हुनेछैन; तर तिमीहरूका बीचमा जो ठूलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको सेवक बनोस्; अनि तिमीहरूका बीचमा जो पहिलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको दास बनोस्” (मत्ती २०:२५-२७)।

तिनीहरू सांसारका शासकहरूले जस्तै व्यवहार गर्नुहुँदैन भन्नुहुँदै प्रभु येशू ख्रीष्टले प्रेरितहरूलाई चेतावनी दिनुभयो जोहरूले आफ्‍ना मानिसहरूमाथि आडम्बरसहित “अधिकार जमाउँछन्”। आज ठीक यस्तै गर्दैछन् धेरैजना पास्टरहरूले, अनि उनीहरूले यसको निम्ति परमेश्वरलाई जवाफ दिनेछन्।

“हे प्रिय, खराब कुराको पछि होइन, तर भलो कुराको पछि लाग। जसले भलाइ गर्दछ, ऊ परमेश्वरबाटको हो; तर जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन” (३ यूहन्ना ११)।

यस पदले हामीलाई खराब कुराको पछि नलाग्नू भनेर चेतावनी दिन्छ। यो आज्ञा पालन गर्न सक्नलाई एउटा ख्रीष्टियनले हरेक परिस्थितिलाई होशियारपूर्वक मूल्याङ्कन गर्नुपर्छ र जुन कुरा खराब छ त्यसलाई इन्कार गर्नुपर्छ, त्यसको स्रोत जुनसुकै किन नहोस्। यसले हायल्स-एन्डर्सन (Hyles-Anderson) सिद्धान्तलाई विस्फोटन गराईकन नष्ट पार्दछ। उक्त सिद्धान्तअनुसार आफ्‍ना मण्डली अगुवाहरूले ठीक या बेठीक के गरिरहेका छन् भनेर विश्लेषण गर्नु कुनै ख्रीष्टियनको सरोकार होइन किनकि जे गर्नुपर्छ परमेश्वरले गर्नुहुनेछ। तर बाइबल अनुसार “खराब कुराको पछि होइन, तर भलो कुराको पछि” लाग्नु हरेक ख्रीष्टियनको जिम्मेवारी नै हो।

एल्डरका योग्यताहरू

एल्डरका योग्यताहरू

 

शब्दावलीको स्पष्टीकरण

  1. एल्डर (प्राचीन) [πρεσβυτερος, प्रेस्बुटेरोस्] — उमेरदार पुरुष, उमेर चढेको, वृद्ध, उमेर खाएको; तसर्थ आत्मिक रूपमा पूरा बढेको मानिस, परिपक्क्व, परमेश्वरका कुराहरूमा अनुभवी, आत्मिक क्षेत्रमा पुरानो अनुभवी मान्छे । यो शब्द तीतस १:५, प्रेरित १४:२३ मा पाइन्छ।
  2. बिशप (अध्यक्ष) [επισκοπη, एपिस्कोपे] — एक निरीक्षक, रेखदेख गर्ने, निगरानी राख्ने व्यक्ति, विशेषतः बगालको रेखदेख गर्ने व्यक्ति (प्रेरित २०:२८; १ पत्रुस ५:१-४)।

एल्डर शब्दले व्यक्तिलाई जनाउँदछ भने बिशप शब्दले उसको काम अथवा कार्यभार (office, पद) लाई।

१ तिमोथी ३:१

“यदि कुनै मानिसले अध्यक्षको पदको चाह गर्छन् भने…”। यसको माने उक्त कार्यभार वहन गर्नका लागि आफूलाई तन्काउनु, उत्कृष्ट इच्छा गर्नु भन्ने बुझिन्छ। अर्थात्, एक व्यक्तिले त्यस कामका लागि आवश्यक अध्ययन गर्नुपर्छ, मूल्य चुकाउनुपर्छ र प्रभुको सेवामा सरिक हुनुपर्छ।

१ तिमोथी ३:२

निर्दोष [ανεπιληπτος, आनेपिलेप्टोस्] — दोषरहित, अनिन्द्य, जसले परमेश्वरको वचन वा परमेश्वरको पुत्रमाथि निन्दा ल्याउँदैन। ग्रीकमा अक्षरशः यसको माने हुन्छ “पक्रन नसकिने” (साबुनजस्तै)। उसलाई विरोध गर्नलाई कुनै खोट उसको जीवनमा भेट्टाउन सकिन्छ कि भनेर मानिसहरूले अवलोकन गरिरहेका हुन्छन्। मानौं एउटा ठूलो ताइताप्के छ। कतिले त्यस ताइताप्केलाई उठाएर उसको टाउकोमा बजार्न चाहन्छन्, तर ऊ निर्दोष छ भने ऊ बीँड नभएको ताप्के जस्तै देखापर्छ — उसलाई समाउने ठाउँ नै हुँदैन! हेर्नू: दनिएल ६:४-५।

एउटै पत्नीका पति — आफ्नी विवाहित पत्नीप्रति विश्वासयोग्य; इसाई दाम्पत्य जीवन कस्तो हुनुपर्छ भन्ने कुराको असल नमुना। उसको एउटा भन्दा बढी पत्नी हुनुहुँदैन। महिला एल्डर हुन सक्दैन।

सतर्क [νηφαλιος, नेफालिओस्] — आत्मसंयमी, सुस्थिरमन भएको, मानसिक स्वभावले होशियार। राम्ररी अनुशासित मनःशक्ति भएको।

आत्मसंयमी [σωφρων, सोफ्रोन] — विवेकी (समझदार), गम्भीर, गम्भीरतापूर्वक विचार गर्ने (सन्तुलन आवश्यक छ यहाँ – एकातिर ऊ सधैं ठट्टा गर्ने खालको व्यक्ति हुनु हुँदैन तर अर्कोतिर ऊ आफू जहाँ गयो त्यहाँ उदासीनता फैलाउने व्यक्ति पनि हुनुहुँदैन)।

असल व्यवहार भएको [κοσμιος, कोसमिओस्] — व्यवस्थित, राम्ररी मिलाइएको सुव्यवस्थित जीवन (“गञ्जागोल” होइन)। ऊ समयको आफ्नो भण्डारीपनमा अनुशासित र विश्वासयोग्य हुन्छ।

अतिथिलाई सत्कार गर्ने [φιλοξενος, फिलोक्सेनोस्] — अपरिचित व्यक्तिहरूलाई प्रेम गर्ने। मानिसहरूका लागि साँचो वास्ता र प्रेम भएको। विश्वासी दाजुभाईप्रति साँचो प्रेम देखाउने। अर्काको खाँचोमा ठीक किसिमले सहायता गर्नु पर्दा आफ्नो घरको ढोका सधैं खुला राख्ने।

सिकाउनामा सिपालु [διδακτικος, डिडाकटिकोस्] — परमेश्वरको सत्यतालाई सिकाउन र त्यसलाई प्रभावकारी रूपबाट व्यक्त गर्न सक्षम, सिपालु र इच्छुक। तीतस १:९ अनुसार उसले “विश्वासयोग्य वचन बलियोसँग पक्रेर” अर्ति दिन सक्नुपर्छ र खाँटी शिक्षाले कायल पार्न सक्नुपर्छ। उसले पुलपिटबाटै सिकाउन सक्नुपर्छ भन्ने होइन तर अरूलाई सहायता गर्ने, सामना गर्ने र चेतावनी दिने काममा परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्ने र प्रभावकारी रूपबाट व्यक्त गर्ने क्षमता हुनुपर्छ (१ थेस्स्लोनिकी ५:१२; १ तिमोथी ५:१७)।

१ तिमोथी ३:३

पियक्कड [παροινος, पारओइनोस्] हुनुहुँदैन — रक्सीले मात्ने, झगडा गर्ने हुनुहुँदैन (१ कोरिन्थी १०:३१)। पिउने लतबाट पूरै अलग हुनुपर्छ।

मारपीट गर्ने [πληκτης, प्लेकटेस्] हुनुहुँदैन — झट्टै तात्तिएर झगडा गर्ने; हातपात गर्ने व्यक्ति हुनुहुँदैन (मुक्का हान्न तत्पर व्यक्ति हुनुहुँदैन)। “पिट्नु” भन्ने क्रियापदबाट यो शब्द निस्कन्छ। कसैले उसलाई मन नपर्ने केही गर्‍यो कि उसले हात छोडिहाल्छ!

नीच कमाइको लोभी हुनुहुँदैन [αισχροκερδης, आइसख्रोकेरडेस्] — निज व्यक्तिगत फाइदाको पछि नदगुर्ने व्यक्ति हुनुपर्छ; निजका आर्थिक कारोबारहरू अलिकति पनि शङ्कास्पद हुनुहुँदैन।

कोमल [επιεικης, एपिएइकेस्] — नरम, सहनशील (फिलिप्पी ४:५), झुक्न सक्ने व्यक्ति; सधैं आफूले भने जस्तै हुनुपर्छ भनेर बढी जोड गर्दैन।

झगडालु हुनुहुँदैन [αμαχος, आमाखोस्] — झगडा नगर्ने, जहिले पनि तर्कवितर्क नगर्ने, बारम्बार शारीरिक वादविवाद र झगडामा नमुछिने व्यक्ति हुनुपर्छ। निज शान्तिपूर्ण व्यवहार गर्ने (कलहविमुख) व्यक्ति हुनुपर्छ।

पैसाको लोभी हुनुहुँदैन [αφιλαργυρος, आफिलारगुरोस्] — हेर्नू: हिब्रू १३:५। निजको जीवनलाई परिचालन गर्ने मूल अभिप्राय पैसाको प्रेम नभएर परमेश्वरको महिमा हुनुपर्छ।

१ तिमोथी ३:४-५

आफ्नो घरलाई राम्ररी सञ्चालन गर्ने हुनुपर्छ — विश्वासयोग्य रीतिले आफ्नो घर-परिवारको रेखदेख गर्ने [προιστημι, प्रोइस्टेमी] हुनुपर्छ; निजका नानीहरू आज्ञाकारी, आदरपूर्ण र राम्ररी अनुशासित, लाइनमा राखिएका अर्थात् अधीनमा बस्ने [υποταγη, हुपोटागे] हुनु आवश्यक छ। तीतस १:६ सित तुलना गर्नुहोस् — निजका नानीहरू उचित ढङ्गले नियन्त्रित हुनु आवश्यक छ, उनीहरू विलासीपना वा अधीनतामा नबस्ने दोष नलागेका हुनु आवश्यक छ। उनीहरू अनियन्त्रित, अनुशासनहीन र विद्रोही हुनुहुँदैन।

१ तिमोथी ३:६

नयाँ चेला [νεοφυτος] हुनुहुँदैन — विश्वासमा आएको धेरै समय नभएको व्यक्ति हुनुहुँदैन, नयाँ विश्वासी हुनुहुँदैन।

१ तिमोथी ३:७

असल नाम [μαρτυρια, मारटुरिया] पाएको हुनुपर्छ — अख्रीष्टियनहरूको सामु अतिराम्रो गवाही भएको हुनुपर्छ।

टिप्पणी: विशप (एल्डर) हरूको योग्यताको सूची भएको अर्को खण्ड तीतस १:५-९ हो, तर तिनमा भएका प्रायः सबै बुँदाहरू माथि चर्चा गरिसकिएका छन्।

महिला पास्टरहरू / प्रचारिकाहरू?

महिला पास्टरहरू / प्रचारिकाहरू?

महिलाहरू सेवाकार्यमा हुने सम्बन्धमा बाइबलले के भन्दछ?

 

यो लैङ्गिक भेदभावको विषय होइन

आज मण्डलीमा, सेवाकार्यमा महिलाहरूले पास्टर वा प्रचारिकाको भूमिका निर्वाह गर्न मिल्छ कि मिल्दैन भन्ने विषय भन्दा ठूलो बहसको विषय सायद अर्को छैन होला। यस विषयलाई पुरुष र महिला बीचको मुद्दाको रूपमा हेरिनु हुँदैन। महिलाहरूले पास्टरको रूपमा सेवाकार्य गर्नु हुँदैन र बाइबलले महिलाको सेवाकार्यमा प्रतिबन्धहरू लगाएको छ भनेर विश्वास गर्ने त्यहाँ एकातिर कति महिलाहरू नै छन् अनि महिलाहरूले पास्टर वा प्रचारिकाको रूपमा सेवाकार्य गर्न सक्छन् र सेवाकार्यमा महिलाहरूलाई प्रतिबन्धहरू छैनन् भनेर विश्वास गर्ने त्यहाँ अर्कातिर कति पुरुषहरू छन्। त्यसैले यो विषय लैङ्गिक उत्कृष्टता वा भेदभावको नभएर बाइबलीय व्याख्याको विषय हो।

परमेश्वरको वचनले प्रस्टै बताएको कुरा

परमेश्वरको वचनले घोषणा गर्दछ, “स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकोस्। तर म स्त्रीलाई शिक्षा दिने अनुमति दिन्नँ, न ता पुरुषमाथि अधिकार जमाउने अनुमति नै दिन्छु; तर ऊ चुपचाप रहोस्” (१ तिमोथी २:११-१२)। मण्डलीमा परमेश्वरले स्त्री र पुरुषहरूलाई भिन्न भिन्नै भूमिकाहरू निर्दिष्ट गर्नुहुन्छ जुन कुरा चाहिँ मानव जातिको सृष्टिको ढाँचा र पाप संसारमा पसेको तरिकाको नतीजा हो (१ तिमोथी २:१३-१४)। प्रेरित पावलद्वारा परमेश्वरले स्त्रीहरूलाई, पुरुषहरूलाई सिकाउने वा पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने भूमिकायुक्त सेवाकार्यदेखि बञ्चित गर्नुभएको छ। यसले स्त्रीहरूलाई पुरुषहरूमाथि प्रास्टरीय सेवाकार्य अभ्यास गर्नदेखि रोक लगाउँछ जसअन्तर्गत पुरुषहरूलाई प्रचार गर्ने, सिकाउने र पुरुषमाथि आत्मिक अधिकार जमाउने कुराहरू निश्चय पनि पर्न आउँछन्।

गलत तर्क र तिनका प्रत्युत्तर

पहिलो

स्त्रीहरूको सेवाकार्य सम्बन्धी रहेको उपर्युक्त दृष्टिकोणलाई काट्ने त्यहाँ धेरै “तर्कहरू” प्रस्तुत गरिएको पाइन्छ। पहिलो शताब्दीमा स्त्रीहरू प्रायः अशिक्षित थिए त्यसैले पावलले स्त्रीहरूलाई मण्डलीमा सिकाउन निषेध गरे भन्ने तर्क प्रायः सुनिन्छ। तरैपनि १ तिमोथी २:११-१४ ले शैक्षिक योग्यतालाई कतै उल्लेख गरेको छैन। यदि सेवाकार्यका लागि शैक्षिक योग्यता आवश्यक हुँदो हो त येशूका बहुसङ्ख्यक चेलाहरू अयोग्य ठहरिन्थे।

दोस्रो

दोस्रो प्रायः सुनिने तर्कचाँहि पावलले केवल एफेसी मण्डलीका स्त्रीहरूलाई मात्र सिकाउन निषेध गरेका हुन् भन्ने छ (पहिलो तिमोथीको पत्र पावलले एफेससका पास्टर तिमोथीलाई लेखेका थिए)। एफेससको शहर आर्तेमिस नाम गरेकी झूटा ग्रीक-रोमी देवीको मन्दिरले चर्चित थियो र आर्तेमिस देवीको पूजाआजामा स्त्रीहरूले नै नेतृत्व गर्थे। तरैपनि १ तिमोथी २:११-१२ मा स्त्रीहरूमाथि लगाइएको प्रतिबन्धको सवालमा १ तिमोथीको पुस्तकभरि कहिँ पनि आर्तेमिस देवी वा त्यसको पूजाआजा उक्त प्रतिबन्धको कारक भएको सङ्केत छैन।

तेस्रो

तेस्रो प्रायः सुनिने तर्क यस प्रकार छ: पावलले यहाँ केवल पति-पत्नीको प्रसङ्गमा मात्र चर्चा गरेका हुन्, साझारूपमा सबै स्त्री र पुरुषका प्रसङ्गमा होइन। यस खण्डमा प्रयोजित ग्रीक शब्दहरूले पति र पत्नीलाई जनाउन नसक्ने त होइनन्; तरैपनि यी शब्दले सामान्य अर्थमा स्त्री र पुरुषलाई नै जनाउँछन्। अझ, यिनै ग्रीक शब्दहरू पद ८-१० मा प्रयोजित छन्। के पतिहरूले मात्र पवित्र हात उठाएर बिनाक्रोध र बिनाशङ्का प्राथना गरून् त (पद ८)? के पत्नीहरूले मात्र सरल पहिरन लगाऊन्, असल-असल काम गरून् र परमेश्वरको भक्ति गरून् त (पदहरू ९-१०)? अवश्य होइन। स्पष्ट गरी नै पद ८-१० ले पति-पत्नीहरूलाई मात्र नभएर साझारूपमा सबै पुरुष र स्त्रीहरूलाई समेट्दछन्। पद ११-१४ को विषयवस्तु स्त्री-पुरुषलाई छोडेर अब पति-पत्नीतिर मोडिएको छ भन्ने कुराको कुनै पनि सङ्केत सन्दर्भमा पाइँदैन।

चौथो

स्त्रीको सेवाकार्यको सम्बन्धमा यहाँ गरिएको व्याख्यालाई काट्न अझ अर्को बारम्बार प्रस्तुत हुने गरेको तर्कचाहिँ बाइबलमा नेतृत्व भूमिका निर्वाह गरेका स्त्रीहरूको सम्बन्धमा रहेको छ, विशेषरूपमा पुरानो करारका मिरियम, दबोरा, हुल्दाको। उक्त तर्कले केही उल्लेखनीय तत्त्वहरूलाई ध्यानमा राख्न चुकेको देखिन्छ। पहिलो, दबोराको सम्बन्धमा, तिनी १३ जना पुरुष न्यायकर्ताहरू मध्येका एक मात्र स्त्री न्यायकर्ता थिइन्। हुल्दाको सम्बन्धमा, तिनी बाइबलमा उल्लेखित दर्जनौ पुरुष अगमवक्ताहरू मध्येका एक मात्र महिला अगमवादिनी थिइन्। मिरियमचाहिँ मोशा र हारुनकी दिदी भएकी हैसियतले मात्र नेतृत्वसँग तिनको सम्बन्ध थियो। राजाहरूको समयमा दुईजना सबभन्दा उल्लेखनीय स्त्रीहरू अतल्याह र ईजेबेल थिए, तर यिनीहरूलाई नमुना स्त्री अगुवाहरूको रूपमा लिन सकिने त कुरै भएन। तर मुख्य कुरा त, पुरानो नियमका स्त्रीहरूको अधिकारसित यस मुद्दाको सरोकारै भएन। पहिलो तिमोथी लगायत अन्य पास्टरीय पत्रहरूले मण्डली अर्थात् ख्रीष्टको शरीरका निमित्त एउटा नयाँ व्यवस्था रहेको तथ्यलाई प्रस्तुत गर्दछन् अनि त्यस व्यवस्थाभित्र मण्डलीको अधिकार-संरचना पनि समेटिएको छ जुनचाहिँ न इस्राएली जातिका लागि हो न ता पुरानो नियमका कुनै अन्य तत्त्वका लागि।

पाँचौं

नयाँ नियमका प्रिस्किल्ला र फिबीलाई लिएर पनि त्यस्तै तर्कहरू अघि सार्ने गरिएको पाइन्छ। प्रेरितको १८ अध्यायमा, प्रिस्किल्ला र अक्विला ख्रीष्टका विश्वासयोग्य सेवकहरूको रूपमा प्रस्तुत गरिएका छन्। प्रिस्किल्लाको नाउँ पहिले उल्लेख गरिएको छ, सायद सेवाकार्यमा आफ्ना पतिको भन्दा तिनको “प्राधान्य” रहेकोले होला। तरैपनि प्रिस्किल्ला, १ तिमोथी २:११-१४ लाई खण्डन गर्ने किसिमको क्रियाकलापको सेवाकार्यमा सहभागी भएको कुरा कतै पाइँदैन। प्रिस्किल्ला र अक्विलाले अपोल्लोसलाई आफ्ना घरमा ल्याए र ती दुवैले उनलाई परमेश्वरको वचन ठीक-ठीकसँग व्याख्या गरिदिए (प्रेरित १८:२६)।

छैठौं

रोमी १६:१ पदमा, फिबीलाई एक “सेविका” को सट्टा एक “स्त्री डिकन” को रूपमा लिइयो भने पनि यसले फिबी मण्डलीमा एक शिक्षिका थिई भनेर दर्शाउन सक्दैन। “सिकाउनमा सिपालु” एल्डरमा हुनु पर्ने एउटा योग्यता हो, तर डिकनको होइन (१ तिमोथी ३:१-१३, तीतस १:६-९)। एल्डरहरू / विशपहरू / डिकनहरू “एउटै मात्र पत्नीको पति” भनी वर्णन गरिएका छन्। यस योग्यताले पुरुषहरूलाई नै जनाउँछ भन्ने कुराको यो स्पष्ट सङ्केत हो। यसको अतिरिक्ति १ तिमोथी ३:१-१३ र तीतस १:६-९ मा एल्डर, विशप, डिकनहरूलाई जनाउन केवल पुलिङ्ग सर्वनामहरू मात्र प्रयोग भएका छन्।

किन यस्तो आज्ञा दिइयो?

१ तिमोथी २:११-१४ को वाक्यरचनाले “कारण” लाई राम्ररी छर्लङ्ग्याउने काम गर्छ। १३ पदको पहिलो शब्द “किनकि” ले अब त्यसअघिको पावलको भनाइ (पद ११-१२) को “कारण” बताउन लागेको सङ्केत दिन्छ। स्त्रीहरूले पुरुषहरूलाई सिकाउनु वा उनीहरूमाथि अधिकार जमाउनु किन हुँदैन? किनकि “आदम पहिला बनाइए, त्यसपछि हव्वा। अनि आदम बहकाउमा परेनन्, स्त्री बहकाउमा परेर अपराधमा फसिन्।” परमेश्वरले पहिला आदमलाई सृष्टि गर्नुभयो र त्यसपछि आदमका लागि “सहयोगी” हुन हव्वालाई सृष्टि गर्नुभयो। प्रारम्भिक सृष्टिको यो क्रमचाहिँ विश्वव्यापीरूपमा परिवार (एफिसी ५:२२-३३) लगायत मण्डलीमा लागु हुन्छ। हव्वा बहकाउमा परेकी तथ्यलाई पनि स्त्रीहरूले पास्टरको रूपमा सेवा गर्न नहुने र पुरुषमाथि अधिकार जमाउन नहुने कारणको रूपमा प्रस्तुत गरिएको छ। स्त्रीहरू सजिलै बहकाउमा पर्न सक्ने भएको हुनाले नै उनीहरूले सिकाउन नहुने हो भनेर कोही-कोही विश्वास गर्न पुगेका छन्। तर त्यो धारणा विवादास्पद छ, किनकि यदि बहकाउमा पर्न स्त्रीहरूलाई बढी सजिलो हुँदो हो त किन तिनीहरूलाई नानीहरूलाई (जोहरू सजिलै बहकाउमा पर्न सक्छन्) र अन्य स्त्रीहरूलाई (जोहरू यदि सजिलै बहकाउमा पर्न सक्ने हो भने) सिकाउन अनुमति दिइएको छ त? वचनले त्यो भन्दैन। स्त्रीहरूले पुरुषहरूलाई सिकाउनु वा पुरुषमाथि आत्मिक अधिकार जमाउनु हुदैन, किनभने हव्वा बहकाउमा परेकी हुन्। परिणामस्वरूप परमेश्वरले मण्डलीमा शिक्षा दिने प्रमुख अधिकार पुरुषलाई दिनुभएको छ।

महिलाहरूलाई दिइएको सेवाकार्य

धेरैजना स्त्रीहरू अतिथि सत्कार गर्ने, कृपा देखाउने, सिकाउने, सुसमाचार सुनाउने, सहायताहरू गर्ने जस्ता वरदानहरूमा उत्कृष्ट हुन्छन्। स्थानीय मण्डलीको सेवाकार्यको ठूलो भाग स्त्रीहरूमा निर्भर हुने गर्छ। पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने कुरामा बाहेक, मण्डलीमा सार्वजनिक प्रार्थना गर्नलाई र अगमवाणी गर्नलाई स्त्रीहरूलाई प्रतिबन्ध लगाइएको छैन (१ कोरिन्थी ११:५)। पवित्र आत्माका वरदानहरू प्रयोग गर्ने सम्बन्धमा बाइबलले स्त्रीहरूलाई कतै पनि प्रतिबन्ध लगाएको छैन (१ कोरिन्थी १२)। अरुहरूको सेवा गर्न, आत्माका फलहरू देखाउन (गलाती ५:२२-२३) र हराएकाहरूलाई सुसमाचार सुनाउन पुरुषहरूलाई जत्तिकै स्त्रीहरूलाई पनि बोलावट छ (मत्ती २८:१८-२०, प्रेरित १:८, १ पत्रुस ३:१५)।

निष्कर्ष

परमेश्वरले मण्डलीमा आत्मिक शिक्षा दिने अधिकारयुक्त पदमा पुरुषहरूलाई मात्र नियुक्त गर्नुभएको छ, तर पुरुषहरू स्त्रीहरूभन्दा असल शिक्षकहरू हुन्छन् नै भनेर वा स्त्रीहरू तल्लो तहका वा कम बुद्धिका हुन्छन् नै भनेर चाहिँ होइन (त्यसो होइन पनि); परमेश्वरले मण्डली केवल यही तरिकाले चलोस् भन्ने हेतुले योजना यस्तै गर्नुभएकोले हो। पुरुषहरूले आत्मिक नेतृत्वको नमुना देखाउनुपर्छ ‍– तिनीहरूको जीवनमा र तिनीहरूका बोलचालमा। स्त्रीहरूले कम अधिकारयुक्त भूमिका निर्वाह गर्नुपर्छ। स्त्रीहरूले अन्य स्त्रीहरूलाई सिकाओस् भनेर उनीहरूलाई अर्ती दिइएको छ (तीतस २:३-५)। साथै, बाइबलले स्त्रीहरूलाई नानीहरूलाई सिकाउने सम्बन्धमा पनि प्रतिबन्ध लगाउँदैन। स्त्रीहरू केवल पुरुषहरूलाई सिकाउने र आत्मिक अधिकार गर्नदेखि मात्र प्रतिबन्धित छन्। यसको तात्पर्य महिलाहरू पुरुषहरूमाथि पास्टरको भूमिका निर्वाह गर्नदेखि बञ्चित छन्। यसले स्त्रीहरूलाई कुनै पनि हिसाबमा कम महत्त्वको बनाउने काम गर्दैन, तर बरु उनीहरूलाई परमेश्वरको योजना र उहाँबाटका वरदानसित अझ मिल्दो किसिमको सेवाकार्य प्रदान गर्दछ।

सामुदायिक शासन पद्धति कि एल्डर शासन पद्धति?

सामुदायिक शासन पद्धति कि एल्डर शासन पद्धति?

(Congregational Rule Versus Elder Rule)

माइरन जे. हाउटन, टीएच.डी.

आजका अधिकांश बाइबलीय ब्याप्टिस्ट मण्डलीहरू एउटा त्यस्तो किसिमको संस्थागत पद्धतिलाई पछ्याउँछन् जसमा नेतृत्व गर्ने काम पास्टरले आफ्नो उदाहरणीय जीवनद्वारा र परमेश्वरको वचनको प्रचारद्वारा गर्दछन् तर जसमा निर्णय गर्ने कामचाहिँ मण्डली जमातले गर्दछ।

यस अवधारणालाई सन् १८९४ मा एडवर्ड टी. हिस्कोक्स (Edward T. Hiscox) द्वारा लिखित दि न्यू डाइरेक्टरी फर ब्याप्टिस्ट चर्चेज् (The New Directory for Baptist Churches) शीर्षक गरेको उनको महत्त्वपूर्ण पुस्तकमा राम्ररी व्यक्त गरिएको पाइन्छ [जसलाई Principles and Practices for Baptist Churches शीर्षक राखी पुनः छापिएको छ]। हिस्कोक्स् भन्छन्,

“सिङ्गो मण्डली-समुदायको सक्रियतामा शासन पद्धतिलाई कार्यान्वयन गरिन्छ, र प्रधानता कुनै एकजनाको स्वामित्वमा रहन्न, तर सबैले बराबर अधिकारको आनन्दमय अभ्यास गर्दछन्; र राय सम्बन्धित विषयवस्तुको सवालमा बहुमतको राय नै मान्य हुन्छ।

“पास्टरले मण्डली-समुदायमाथि त्यस्तो किसिमको मात्र नियन्त्रणको अभ्यास गर्दछ जस्तो उनको औपचारिक तथा व्यक्तिगत प्रभावको हैसियतले (अर्थात् समुदायको शिक्षक, अगुवा र ईश्वरीय कानूनहरूको व्याख्याताको हैसियतले) उनलाई अनुमति मिल्दछ। प्रभाव पार्ने व्यक्तिको हैसियतले उनी सर्वोपरि हुन्छन् तर अधिकारमा उनी सर्वोपरि हुँदैनन्। प्रश्‍न-मामिलाको निर्णय गर्नु पर्दा उनको मत एउटै मात्र गनिन्छ। आफूले दिएका सल्लाहका नैतिक बलद्वारा, सत्यता र कर्तव्य सम्बन्धी आफूले दिएका निर्देशन र अगुवाइद्वारा र साथै दुवै आराधना र कामकाजमा बुद्धिमानीपूर्वक मण्डलीलाई सञ्चालन गर्ने कामद्वारा नै उनले शासन गर्दछन्। माण्डलिक मामिलामा डिकनहरूको प्राधिकारपूर्ण (authoritative) वा अधिनायकीय (dictatorial) नियन्त्रण अझ न्यून हुन्छ। प्रशासनिक मामिलाहरू मण्डली-समुदायका सामु ल्याइन्छन् र तिनीहरूद्वारा नै निर्णय गरिन्छन्” [पृष्‍ठ १४४ र १४५]।

प्रश्‍न उठ्छ: यदि यो शासन पद्धति सही हो भने नयाँ नियममा किन शासन गर्ने एल्डरहरू भनेर उल्लेख गरिएको छ त?

सामुदायिक शासन (Congregational Rule)

यहाँ कुनै गलत सम्झाइ नहोस्! नयाँ नियममा मण्डली-समुदाय नै निर्णय गर्ने निकाय थियो। कुनै पनि अभावग्रस्त विधवाको बेवास्ता नगरियोस् भन्ने हेतुले जब त्यहाँ जिम्मेवार व्यक्तिहरू खटाइनुपरेको थियो, सारा समुदायले त्यस्ता व्यक्तिहरूलाई चुन्ने काम गरे [प्रेरित ६:५]। ती व्यक्तिहरूलाई प्रेरितहरूले चुनेनन्। प्रेरितहरूले मण्डली-समुदायको रोजाइलाई अनुसमर्थन गरे [प्रेरित ६:३-६]। यो उल्लेखनीय छ किनकि उक्त अनुसमर्थन कार्यलाई जनाउन प्रेरितहरूले प्रयोग गरेका शब्द [तेस्रो पदमा, “नियुक्त”] त्यही शब्द हो जुनचाहिँ तीतस १:५ मा एल्डरहरूलाई नियुक्त गर्ने तीतसको सेवाकार्यलाई बयान गर्न प्रयोग भएको छ। जसरी प्रेरित ६ मा प्रेरितहरूले छनोट कार्य गरेनन् त्यसरी नै तीतसले पनि छनोट कार्य गरेनन् बरु सम्बन्धित मण्डली-समुदायहरूले छनोट गरेकालाई नियुक्त गरी केवल अनुसमर्थन गरे।

विश्वासमा कमजोर भाइहरूलाई ग्रहण गर्नू भनेर पावलले रोमका पवित्र जनहरूलाई लेखे, अगुवाहरूलाई होइन [रोमी १४:१]। कोरिन्थको मण्डलीमा एकजना सदस्य खुल्लमखुल्ला अनैतिक जीवनमा हिँडिरहेको छ भन्ने कुरा जब पावलले थाहा पाए, तब उक्त अनैतिक व्यक्तिलाई उनीहरूको बीचबाट निकालियोस् भनेर उनले स्वयम् विश्वासीहरूलाई सम्बोधन गरे, मण्डलीका अगुवाहरूलाई होइन [१ कोरिन्थी ५:१-१३]। कोरिन्थले अभ्यास गरेको मण्डली अनुशासन [यही मामिलाको सम्बन्धमा होस् या अन्य] लाई पावलले यसरी बयान गर्दछन्, “धेरैजना [अक्षरशः “बहुसङ्ख्यक”] बाट जो दण्ड दिइयो” [२ कोरिन्थी २:६]। त्यसो हो भने एल्डरहरूको शासन भन्नाले हामीले के बुझ्नुपर्ने हो?

एल्डर शासन (Elder Rule)

हरेक मण्डलीमा अगुवाहरूले गर्ने शासनको बयान गर्नलाई दुईटा ग्रीक शब्द प्रयोग भएका छन्। पहिलो शब्द हिब्रू १३:७,१७ र २४ मा भेटिन्छ र यसको अर्थ हुन्छ “नेतृत्व गर्नु, अगुवाइ गर्नु” [“lead, guide”, A Greek-English Lexicon of the New Testament, Bauer, Gingrich and Danker, second edition, page 343]। नेतृत्वको प्रसङ्गमा बाहेक यसको अर्थ, “सोच्नु, विचार गर्नु” भन्ने पनि हुन्छ। यस नेतृत्व र अगुवाइ कार्यको यथार्थ प्रकृति हिब्रू १३:७ मा देख्‍न सकिन्छ। अगुवाहरूले परमेश्वरको वचन सुनाएर र ईश्वरीय जीवनमा हिँडेर [“उनीहरूको चालचलन” द्वारा] अगुवाइ गरे। नेतृत्व गर्नु र अगुवाइ गर्नु के हो भन्ने कुरा बुझेपछि, आफ्ना अगुवाहरूलाई सम्झना गर्न [हिब्रू १३:७], उनीहरूको आज्ञापालन गर्न [हिब्रू १३:१७] र उनीहरूलाई अभिवादन गर्न [हिब्रू १३:२४] विश्वासीहरूलाई खासै समस्या नहुनुपर्ने हो।

दोस्रो शब्द १ थेस्सलोनिकी ५:१२, १ तिमोथी ३:४,५,१२ र १ तिमोथी ५:१७ मा भेटिन्छ। यसको अर्थ हुन्छ, “शीर्ष, अगाडिपट्टि हुनु, शासन गर्नु, निर्देशन दिनु, समाल्नु, सञ्चालन गर्नु” साथै “फिक्री गर्नु, वास्ता राख्‍नु, मद्दत प्रदान गर्नु” [A Greek-English Lexicon of the New Testament, page 707]।

एल्डरले शासन गर्नु भनेको वास्तवमा के हो त्यसलाई स्पष्‍टतया दर्शाउने पवित्रशास्त्रको खण्‍ड हो १ तिमोथी ५:१७। यहाँ पावल प्रेरित एउटा तुलना गर्दैछन्। उक्त तुलनालाई यस पदमा तीनओटा शब्दद्वारा जनाइएको छ: [१] राम्ररी: कति एल्डरहरूले राम्ररी शासन गर्थे। यसको तात्पर्य अरू एल्डरहरूले शासन मात्र गरे तर त्यसमा उत्कृष्टता देखाएनन् भन्ने हो; [२] दुईगुणा: राम्ररी शासन गर्ने एल्डरहरू दुईगुणा आदरका योग्य मानिनुपर्थ्यो। १ तिमोथी ५ मा “आदर” भन्ने शब्दले आर्थिक पारिश्रमिकलाई समेटेको देखिन्छ [हेर्नू: पद ९, १० र १६ को प्रकाशमा पद ३ लाई]; यसर्थ राम्ररी शासन गर्ने एल्डरहरूलाई उदारतापूर्वक आर्थिक पारिश्रमिक दिनलाई ध्यान पुर्‍याइनुपर्थ्यो; [३] परिश्रम: कति एल्डरहरू परमेश्वरको वचन प्रचार गर्न र सिकाउनलाई कडा मेहनत गर्थे। यसको तात्पर्य अरू एल्डरहरूले प्रचार कार्य र सिकाउने कार्यमा उत्कृष्टता देखाएनन् भन्ने हो। परमेश्वरको वचनमा कडा मेहनत गर्नेहरू दुईगुणा आदरको योग्य मानिनुपर्थ्यो। लेन्स्की [The Interpretation of St. Paul’s Epistles to the Colossians, to the Thessalonians, to Timothy, to Titus and to Phileom, pages 681-682] भन्छन्, “विशेष गरी जसले वचन र शिक्षाको सम्बन्धमा कडा मेहनत गर्छन्” भन्नाले कोही-कोही एल्डरहरूको सिकाउने काम नै हुँदैनथ्यो भन्ने होइन किनभने सबै एल्डरमा उक्त क्षमता हुनैपर्थ्यो र यसर्थ त्यसलाई प्रयोग गर्न उनीहरू जिम्मेवार थिए (३:२)। तर स्वभावैले, कोही-कोहीले आफ्नो कामको यस जिम्मेवारीमा जोश देखाउँथे अनि थकित र शिथिल हुनेसम्म गरी कडा मेहनत गर्थे। यिनीहरू पर्याप्‍त रूपले दुईगुणा आदरका योग्य हुन्थे।” भिन्सेन्ट [Word Studies in the New Testament] ले १ तिमोथी ५:१७ माथि टिप्पणी गर्छन्, “शासन गर्ने काममा उत्तिकै क्षमता वा दक्षता नदेखाउने एल्डरहरूसित यहाँ तुलना गरिएको छ। शासन गर्ने र सिकाउने दुई वर्गका एल्डरहरू हुन्छन् भन्ने रिफर्म्ड परिकल्पना (Reformed theory) लाई यस खण्डले कदापि समर्थन गर्दैन।”

यदि यो व्याख्या सही हो भने (अनि म विश्वास गर्छु सही नै हो), राम्ररी शासन गर्नुको परिभाषा वचन र शिक्षामा परिश्रम गर्नु हो, न कि अन्तिम निर्णायकको भूमिका निर्वाह गर्नु; उक्त कार्य मण्डली-समुदायलाई सुम्पिएको छ। व्यवहारमा, प्रबल पास्टरीय नेतृत्व र सामुदायिक (congregational) शासनले सँग-सँगै काम गर्नुपर्छ। प्रथमतः पास्टरले विश्वासीहरूलाई परमेश्वरको वचन प्रचार गरेर र सिकाएर नेतृत्व गर्दछ। आफ्नो पास्टरले प्रचार गरेका र सिकाएका कुराहरूलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा मण्डली सदस्यहरूले मत प्रदान गर्दैनन्। उनी तिनीहरूका निरीक्षक हुन्, देखरेख गर्ने हुन्। स्पष्ट गरी भन्नुपर्दा, उनी नै मण्डली-समुदायलाई अगुवाइ गर्न परमेश्वरबाट बोलाइएका व्यक्ति हुन्। जब मण्डली-समुदायले कुनै पुरुषलाई आफ्नो पास्टरको रूपमा निम्त्याउनलाई मत प्रदान गर्दछ, तिनीहरूले उनलाई आफ्नो पास्टर हुन भाडामा लिएका हुँदैनन्; बरु उनी तिनीहरूका पास्टर हुन परमेश्वरबाट बोलाइएका हुन् भन्ने कुरालाई तिनीहरूले औपचारिक रूपमा स्वीकार गरेका हुन्छन्। प्रचार र शिक्षालाई आफ्नो उदाहरणीय जीवनको नमुनाद्वारा प्रबल पार्नुपर्ने जिम्मेवारी पास्टरीय नेतृत्वमा समावेश छ। मण्डलीको उद्देश्य पूरा गर्नलाई आफूले उचित ठानेका लक्ष्यहरू र कार्ययोजनाहरूको रूपरेखा पास्टरले मण्डली-समुदायका सामु राख्दै मण्डलीका लागि आफ्नो दर्शन बताउँदा पास्टरीय नेतृत्वका शिक्षण तथा नैतिक पक्षहरू त्यहाँ सँग-सँगै प्रस्तुत हुनु स्वभाविक हो। मण्डली-समुदायले ती लक्ष्य तथा कार्ययोजनाहरूलाई अपनाउन औपचारिक मत प्रदान गर्ला वा नगर्ला, तर एउटा कुरा स्पष्ट छ, तिनमा सफलता प्राप्‍त गर्नलाई ती लक्ष्यहरू दिलोज्यानले स्वीकार गरिनु आवश्यक पर्छ र साथै ती कार्ययोजनाहरूमा उत्साहपूर्ण सहभागिताको आवश्यकता पर्छ।

(लेखकको अनुमतिले उहाँको अङ्ग्रजी लेख Congregational Rule Versus Elder Rule बाट नेपालीमा अनुदित र यस वेबसाइटमा प्रकाशित)

Myron J. Houghton, Th.D.
Faith Baptist Theological Seminary
1900 NW Fourth Street, Ankeny, Iowa 50023, USA

प्रभु भोज

प्रभु भोज

प्रभु-भोजको अर्थ

बाइबलले के भन्दछ?

प्रभु येशू ख्रीष्टले मण्डलीलाई दुइटा विधिहरू दिनुभएको छ। पहिलो, पानीको बप्‍तिस्मार दोस्रो, प्रभु-भोज। यी दुवैलाई प्रेरित २:४१-४२ मा उल्लेख गरिएको छ। यहाँ हामी प्रभु-भोजको बारेमा अध्ययन गर्नेछौं।

प्रभु-भोजका विभिन्न नामहरू

१) सहभागीता (हेर्नुहोस् १ कोरिन्थी १०:१६)

सहभागी हुनुको अर्थ “सङ्गति, संलग्न हुनु, साझा जीवनको भागीदार हुनु” भन्ने बुझिन्छ। यो केवल पास्टर, एल्डरहरू र डिकनहरू मात्र सहभागी हुने कुरो होइन तर सबै विश्वासीहरू भाग लिने, साझा रूपमा सहभागी हुने कुरो हो। बाइबलले भन्दछ, “किनकि हामी __________-एउटै रोटीबाट भाग लिन्छौं” (१ कोरिन्थी १०:१७)। यो हाम्रो लागि आशिष हो कि हामी बौरिउठ्नुभएको हाम्रो प्रभुसित सहभागी भई त्यसमा रमाहट गर्न सक्छौं र साथै एकअर्कासित पनि (१ यूहन्ना १:३; साथै दाँज्नुहोस् १ कोरिन्थी १:९)।

२) प्रभुको टेबल

यो १ कोरिन्थी १०:२१ मा भेटिन्छ — “तिमीहरूले प्रभुको _____________बाट , साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैनौ” (१ कोरिन्थी १०:२१)। प्रभु येशूले सर्वप्रथम प्रभु-भोजको शुरूआत गराउनुहुँदा सो एउटा टेबलकै वरिपरि गरिएको थियो। एउटा टेबलकै सामुमा प्रभुले पहिलो पटक रोटी भाँच्नुभयो र कचौरा दिनुभयो। “टेबल” ले हामीलाई सङ्गतिको सम्झना गराउँदछ (दाँज्नुहोस् प्रकाश ३:२० — “म… ऊसँग भोजन खानेछु, अनि उसले मसँग खानेछ”)। एउटै टेबलमा बस्नेहरूले एउटै भोजनमा भाग लिन्छन्। सबै विश्वासीहरू एउटै मुक्तिदाताको भागीदार हुन्छन्। सबै विश्वासीहरू उहाँको बहाइएको रगतमा भरोसा गर्दछन्। सबै विश्वासीहरू उहाँको जीवनमा साझा रूपमा भागीदार भइरहेका हुन्छन्।

३) प्रभु-भोज (१ कोरिन्थी ११:२०)

क्रूसमा टाँगिनुभन्दाको अघिल्लो रात येशू आफ्ना चेलाहरूसित एउटै भोजनमा सहभागी हुनुभयो। उक्त भोजनपछि येशूले रोटी र कचौराको शुरूआत गर्नुभयो (लूका २२:२०; १ कोरिन्थी ११:२५)।

४) यूकरिस्ट

यो एउटा ग्रीक शब्द हो जसको माने “धन्यवाद दिनु” भन्ने हुन्छ। रोटी भाँच्नुअघि र कचौरा बाँड्नुअघि येशूले परमेश्वरलाई धन्यवाद दिनुभयो (मत्ती २६:२७; लूका २२:१९ र १ कोरिन्थी ११:२४)। प्रभु-भोज एउटा विशेष समय हुनुपर्दछ जब विश्वासीहरूले परमेश्वरलाई ख्रीष्टले उनीहरूका लागि गरिदिनुभएको कामका लागि धन्यवाद दिन्छन्।

५) रोटी भँचाइ

येशूले त्यस रात गर्नुभएको कार्य यही नै थियो (मत्ती २६:२६) र येशूका चेलाहरूले यसलाई निरन्तर रूपमा गर्दै आएका छन् (प्रेरित २:४२)।

येशू ख्रीष्टद्वारा शुरूआत गरिएको विधि

प्रभु-भोजको विधि प्रभु येशूलाई धोका दिइएकै रात शुरूआत गरिएको थियो। भोलिपल्ट नै येशू क्रूसमा जानु थियो र हाम्रो लागि दुःख सहँदै आफ्नो रगत बहाउनु थियो। उक्त रात येशूले के गर्नुभयो भन्ने कुरा सुसमाचारीय पुस्तकहरूमा (मत्ती २६२६-३०; मर्कूस १४:२२-२६; लूका २२:१९-२०) र १ कोरिन्थी ११:२३-२५ मा पढ्दछौं।

१ कोरिन्थी ११:२४-२५ मा पाइने आज्ञाहरूलाई ध्यानपूर्वक हेरौं:

  • लेओ (पद २४)

  • खा____ (पद २४)

  • मेरो सम्झनामा यो ________ (पद २४)

  • जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो ___________ (पद २५)।

हामी प्रभु-भोज लिने गर्छौं किनकि यसो गर्न हामीलाई येशू ख्रीष्टले नै अह्राउनुभएको छ! यो आज्ञा येशूको हो। तसर्थ, यसलाई मण्डलीले पालन गर्नैपर्छ!

प्रभु-भोजले केको चित्रण गर्दछ?

बप्‍तिस्माले जस्तै प्रभु-भोजले पनि एउटा ज्यादै महत्त्वपूर्ण चित्र प्रस्तुत गर्दछ। रोटीले चाहिँ ____________________ (मत्ती २६:२६) को चित्रण गर्दछ र कचौराले चाहिँ _____________________ (मत्ती २६:२७-२८) को चित्रण गर्दछ। जब येशूले “यो मेरो शरीर हो”“यो मेरो रगत हो” भन्नुभयो, त्यसको तात्पर्य के थियो? रोमन क्याथोलिकहरूले प्रभु-भोजको रोटी बदलिएर ख्रीष्टकै वास्तविक शरीरमा परिवर्तित हुन्छ भनेर विश्वास गर्दछन्। साथै उनीहरू यो पनि विश्वास गर्छन् कि अङ्गुरको रस बदलिएर येशूकै रगतमा परिवर्तित हुन्छ।

मानौं एकजनासित आफ्नो पत्‍नीको एउटा चित्र वा फोटो छ। एक दिन उलसे आफ्नो साथीलाई उक्त फोटो देखाउँदै भन्छ, “हेर, यो मेरो पत्‍नी हो।” उसको भनाइको तात्पर्य के हो? कागतको त्यो सानो टुक्रा नै उसको पत्‍नी हो भन्ने त पक्कै पनि होइन। उसको भनाइको तात्पर्य यो हो: “यसले मेरो पत्‍नीलाई जनाउँदछ। यो मेरो पत्‍नीको चित्रण हो। जब तपाईं यो चित्रणलाई हेर्नुहुन्छ तब तपाईं मेरो पत्‍नीको बारेमा सोच्नुहुन्छ।

येशूको भनाइको तात्पर्य ठीक यस्तै थियो। येशूले भन्नुभयो, “यो मेरो शरीर हो” र यी शब्दहरूको माने यो हो: “यसले मेरो शरीर जनाउँदछ। यो रोटी मेरो शरीरको चित्रण हो। जब तिमीले यो रोटीलाई हेर्छौ तब तिमीले मेरो शरीर र म क्रूसमा मरेको बेला तिम्रो निम्ति मैले जे गरिदिएँ त्यसको बारेमा सोच्नेछौ। येशूले “यो मेरो रगत हो” भन्नुको तात्पर्य के थियो?

सम्झनाको समय

हामीले किन प्रभु-भोज लिनुपर्छ भनेर प्रभु येशूले हामीलाई बताउनुभएको छ। हामीले किन रोटीबाट खानुपर्छ र कचौराबाट पिउनुपर्छ भनेर उहाँले हामीलाई बताउनुभएको छ। उहाँले भन्नुभयो, “मेरो ________________ यो गर” (१ कोरिन्थी ११:२४,२५)। मानिसमा विर्सने प्रवृत्ति छ भनेर परमेश्वर जान्नुहुन्छ। महत्त्वपूर्ण कुराहरू समेत विर्सने हाम्रो स्वभाव छ! तर एउटा कुरा हामीले कहिल्यै विर्सेको चाहनुहुन्न परमेश्वरले। हाम्रो मुक्तिदाताले हाम्रो निम्ति क्रूसमा के गरिदिनुभयो सो कुरा हामीले कहिल्यै विर्सेको चाहनुहुन्न।

उहाँको शरीर पापको निम्ति एउटा बलिदानस्वरूप चढाइएको थियो

(हेर्नुहोस् १ पत्रुस २:२४; ३:१८; २ कोरिन्थी ५:२१)

उहाँको रगत हाम्रा पापहरू क्षमा गर्न सकियोस् भनेर बहाइएको थियो

(हेर्नुहोस् मत्ती २६:२८; एफेसी १:७; प्रकाश १:५)

प्रभु-भोज यस्तो समय हो जब हामी फर्केर क्रूसलाई विचार गर्छौं र उहाँ हाम्रो सट्टामा मर्नुहुँदा येशूले के गरिदिनुभयो भनेर सम्झना गर्दछौं।

प्रभु-भोजमा सहभागी हुनुपर्नेहरू को हुन्?

येशूले सबैलाई नै रोटीबाट खान र कचौराबाट पिउनलाई आज्ञा गर्नुभएन। योचाहिँ उहाँले आफ्ना चेलाहरूलाई गर्न अह्राउनुभएको कुरा थियो। प्रेरित २:४१-४६ मा हामी सिक्छौं कि “______________ गर्नेहरू सबै एकैसाथ थिए” (पद ४४) अनि यिनै व्यक्तिहरूले “रोटी भाँच्दै” खाएका थिए (पद ४२ र ४६)।

प्रभु-भोज लिनु अगाडि यी चारओटा कुराहरू निश्चित गर्नुहोस्:

१) प्रभु-भोज लिनलाई तपाईंले मुक्ति पाएको हुनुपर्छ। तपाईंले येशू ख्रीष्टमा विश्वास गरेको हुनुपर्छ अर्थात् तपाईंको अनन्त मुक्तिका लागि उहाँले क्रूसमा गरिदिनुभएको कार्यमा तपाईंले भरोसा गरेको हुनुपर्दछ।

२) मुक्ति पाएको छु भनी आफूले जानेको हुनुपर्छ। कतिलाई मुक्तिको निश्चयता नै पाएका हुँदैनन्। मैले मुक्ति “पाएँ होला”, “पाउने आशा छ”, “पाएँ जस्तो लाग्छ” भन्ने जस्ता कुरा गर्छन् उनीहरू तर हामीसित अनन्त जीवन छ भन्ने कुरा हामीले “___________” (१ यूहन्ना ५:१३) गरेको परमेश्वर चाहनुहुन्छ।

३) प्रभु-भोज लिनु अगाडि तपाईंले आफूलाई जाँच्नुपर्छ, योग्य रीतिले सो लिनलाई तयार हुनुपर्छ (१ कोरिन्थी ११:२७-३१)। बाबु-आमाले आफ्ना नानीहरूलाई यस्तो नियम सिकाउने गरेको पाइन्छ: “हात नधोउञ्जेल खान पाइन्न है!” त्यस्तै विश्वासीले पनि सफा हातबिना प्रभुको टेबलमा खान हुन्न। पाप र परमेश्वर मिल्न सक्दैन। पवित्र परमेश्वर अशुद्ध विश्वासीसित सङ्गति गर्न सक्नुहुन्न (दाँज्नुहोस् यूहन्ना १३:८; १ यूहन्ना १:५-९)। प्रभु-भोजबाट लिनु अगाडि एउटा विश्वासीले यसरी महसुस गर्नुपर्छ: “ख्रीष्टबिना म फोहोर छु, परमेश्वरको सामु म जानै सक्तिन। म यही अवस्थामा परमेश्वरकहाँ जान सक्तिन। पाप र परमेश्वर मिल्नै सक्दैन। परमेश्वरलाई धन्यवाद होस् कि मेरो एक मुक्तिदाता हुनुहुन्छ जसले मलाई शुद्ध पार्नुहुन्छ। धन्यवाद छ परमेश्वर कि येशू ख्रीष्टको रगतले मलाई सब पापबाट शुद्ध पारिरहन्छ (१ यूहन्ना १:७)। परमेश्वरको सामु म जान मिल्ने एउटै उपाय छ — येशू ख्रीष्ट र उहाँको क्रूसद्वारा। म परमेश्वरकहाँ यही बाटो (कल्वरी क्रूस) भएर जानुपर्दछ। प्रभु, धन्यवाद! मलाई धोइदिनुभयो। धन्यवाद, पवित्र परमेश्वरसित म अब सङ्गति गर्न सक्दछु। यसका लागि येशू ख्रीष्टले क्रूसमा जे गरिदिनुभयो, धन्यवाद छ त्यसको निम्ति।”

४) प्रभु-भोज ठीक तरिकाले लिन तयार हुनुपर्छ। प्रभु-भोज एउटा गम्भीर समय हो। हाम्रा मुक्तिदाता प्रभु येशूको व्यक्तित्वलाई मनन गर्दै उहाँले हाम्रो निम्ति के गरिदिनुभयो भनेर गहिरिएर सोच्ने समय हो यो। धन्यवाद र मननको समय हो यो। खेल्ने समय होइन। खुसुखुसु कुरा गर्ने समय होइन यो। जिभ्रोको स्वादमै सीमित हुने समय होइन यो। त्यसो गर्नेहरूले आफूहरू प्रभु-भोज लिन तयार नभएको कुरा प्रकट गरिरहेका हुन्छन्।

के तपाईंले प्रभु-भोज लिन हुन्छ? प्रायः जसो मण्डलीहरूमा सार्वजनिक रूपमा ख्रीष्टलाई स्वीकार नगरेको र पानीको बप्‍तिस्मा नलिएको व्यक्तिलाई प्रभु-भोज दिइँदैन। पक्कै पनि यो हल्कासाथ गरिने कार्य होइन। जे गरिन्छ त्यो बुझेर गर्नुपर्छ, सो गर्नुको कारण जान्नुपर्छ।

प्रभु-भोज कहिले-कहिले लिइनुपर्छ?

प्रभु-भोज कहिले कहिले लिइनुपर्छ भनेर प्रभु येशूले भन्नुभएन। उहाँले “जहिले-जहिले” वा “अक्सर” भन्नुभयो (१ कोरिन्थी ११:२५-२६) तर कति पटक भनेर तोक्नेभएन। कुनै मण्डलीहरूमा प्रभु-भोज हप्‍तैपिच्छे लिइन्छ। कुनै मण्डलीहरूमा दुई-दुई महिनामा लिइन्छ। यस सिलसिलामा मण्डलीहरू दुइटा खतरादेखि जोग्गिनुपर्छ:

१) खतरा #१ — प्रभु-भोज धेरैपटक हुनाको खतरा

प्रभु-भोज बढी नजिक-नजिक समयमा लिइँदा यसले आफ्नो विशेषता गुमाउने सम्भावन हुन्छ। प्रभु-भोज सकभर अर्थपूर्ण हुनु जरूरी छ। कुनै पनि कुरा धेरैपटक दोहोर्‍याइँदा एउटा रीति बन्ने सम्भावना हुन्छ (रीति भन्नाले नबुझीकन, कारणै नजानीकन कुनै काम गर्नु)। प्रभु-‍भोज सधैं एउटा विशेष र अर्थपूर्ण अभ्यास हुनुपर्छ। हामीले प्रभु-भोज नजिक-नजिक लिने नै हो भने हामीले यसको महत्त्वको यथार्थलाई आफ्नो हृदयका सामु ताजा राख्‍ने हर प्रयास गर्दै हाम्रो महान् परमेश्वर र मुक्तिदाताको सम्झना गर्नुपर्छ।

२) खतरा #२ — प्रभु-भोज थोरैपटक हुनाको खतरा

प्रभु-भोज पर-पर मात्र लिइँदा हामीले यसको आशिष गुमाउँदछौं। अङ्ग्रजी किङ्ग जेम्स् भेर्सन बाइबलमा “often” भनेर अनुवादित शब्दलाई नेपालीमा “जहिले-जहिले” (१ कोरिन्थी ११:२५-२६) भनी रूपान्तर गरिएकोमा यसलाई “अक्सर” भनेर पनि अनुवाद गर्न सकिन्छ। प्रभु-भोज पर-पर मात्र लिइँदा “अक्सर” गर्नेगर भन्ने प्रभुको आज्ञा पनि उल्लङ्घन हुन जान्छ।

प्रभु-भोजको आशिष नगुमाऔं र साथै प्रभु-भोजको अर्थ नगुमाऔं भनेर हाम्रो स्थानीय मण्डलीले प्रभु-भोज महिनाको प्रायः एकपटक (वर्षमा प्रायः १२ पटक) लिने गर्दछ। तरैपनि हामीले भन्दा धेरैपटक वा थोरैपटक प्रभु-भोज लिने बाइबलीय मण्डलीहरूलाई कुनै नराम्रो दृष्टिले हामीले हेर्न चाहन्नौं।

प्रभु-भोज लिँदा कहाँ कसरी हेर्ने?

पछिल्तिर — क्रूसमा हेरौं र सम्झना गरौं, त्यहाँ उहाँले आफ्नो शरीर बलिदानस्वरूप चढाउनुहुँदा र आफ्नो बहुमूल्य रगत बहाउनुहुँदा प्रभु येशूले मेरो निम्ति के गरिदिनुभयो (१ पत्रुस १:१८-१९; २:२४; ३:१८; २ कोरिन्थी ५:२१; एफेसी १:७; मत्ती २६:२८)।

माथितिर — पिताको दाहिने बाहुलीमा बस्नुभएको येशूलाई हेरौं जहाँ उहाँले मेरो निम्ति अन्तर्बिन्ती (हिब्रू ७:२५; रोमी ८:३४) र वकिल (१ यूहन्ना २:१-२) को काम गर्दै हुनुहुन्छ।

अघिल्तिर — येशूको आगमनको बाटो हेरौं (तीतस २:१३) यस प्रतिक्षामा पर्खँदै गर्दै (१ कोरिन्थी १:७-८) कि जब उहाँ आउनुहुनेछ तब उहाँले मभित्र शुरू गर्नुभएको मुक्तिको महान् कामलाई पूरा गर्नुहुनेछ (फिलिप्पी १:६; ३:२०-२१)। पावल बताउँछन्, जब-जब विश्वासीहरूले प्रभु-भोज लिन्छन् तब‍-तब त्यसबाट उहाँ _______________ (१ कोरिन्थी ११:२६) प्रभुको मृत्युको प्रचार (घोषणा) हुँदछ। यसर्थ प्रभु-भोजमा फर्केर क्रूसमा हेर्ने काम हुनुका साथै अघिल्तिर उहाँको आगमनलाई पनि हेरिन्छ।

आफूभित्र — येशूले मभित्र के काम गर्दै हुनुहुन्छ भनेर हेरौं (१ कोरिन्थी ११:२७-३२; फिलिप्पी २:१३)।

१ कोरिन्थी ११:२८ अनुसार विश्वासीले “आफैलाई ______________।” ग्रीकअनुसार यसको अर्थ मैले आफैलाई परीक्षण गर्नुपर्छ। मैले आफैलाई प्रमाणित गर्नुपर्छ। मेरो हृदय प्रभुसित ठीक छ कि छैन भनेर निश्चय गर्न मैले आफैलाई जाँच्नुपर्छ। “मभित्र कुनै असल कुराले वास गर्दैन” (रोमी ७:१८) भनेर मैले महसुस गर्नुपर्छ। साथै मलाई शुद्ध पार्ने महान् मुक्तिदाता त्यहाँ हुनुहुन्छ भनेर पनि मैले महसुस गर्नुपर्छ (१ यूहन्ना १:७,९)! १ कोरिन्थी ११:३१ मा भनिएको छ, “हामीले आफैलाई जाँच्यौं भने”। ग्रीकअनुसार यसको अर्थ मैले आफूलाई पूरापूर न्याय गर्नुपर्छ। थाह भएको कुनै पाप भए त्यसलाई मैले स्वीकार गर्नुपर्छ र आफू पवित्र परमेश्वरका सामु दोषी भएको मानिलिनुपर्छ। मुक्तिदाता येशू मेरो निम्ति मर्नुभयो र मेरा सब पापको दण्ड तिरिदिनुभयो भनी स्वीकार गर्नुपर्छ। ख्रीष्टबिना परमेश्वरसित सङ्गति गर्नु असम्भव थियो तर ख्रीष्टद्वारा (उहाँको क्रूसले गर्दा) म परमेश्वरको सामु आउन सक्छु र परमेश्वरसितको सङ्गतिमा रमाउन सक्छु। प्रभु-भोज लिने जो कोहीले आफैलाई जाँच्दैन र आफैलाई न्याय गर्दैन र परमेश्वरको सामु ख्रीष्टको क्रूसद्वारा आउँदैन भने ऊ प्रभु-भोजमा अयोग्य रीतिले सहभागी हुँदै छ (१ कोरिन्थी ११:२७)। ऊ प्रभु-भोजको आशिष र अर्थदेखि बञ्चित रहन्छ। परमेश्वरले उसलाई ताडना दिनुपर्ने हुन्छ, १ कोरिन्थी ११:३०-३२)।

अर्को पटक प्रभु-भोज लिनुहुँदा निम्न चार “हेराइ” हरूको विचार गर्न सक्नुहुन्छ:

१) पछिल्तिर हेर्दै — “प्रभु, तपाईंले क्रूसमा मेरो निम्ति जे गरिदिनुभयो, त्यसको लागि धन्यवाद छ।”

२) माथितिर हेर्दै — “प्रभु, तपाईं मेरो मुक्तिदाता र प्रभु हुनुहुन्छ र यस घडी समेत मेरो सहायक र रक्षक हुनुहुन्छ।”

३) अघिल्तिर हेर्दै — “प्रभु, धन्यवाद छ तपाईं आउँदै हुनुहुन्छ, सायद आज नै।”

४) आफूभित्र हेर्दै — प्रभु, धन्यवाद छ कि मेरा पापहरू स्वीकार गरें भने मेरा पापहरू क्षमा गर्न र मलाई सबै अधर्मबाट शुद्ध पार्न तपाईं विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:९)।

बप्‍तिस्मा र प्रभु-भोजको तुलना

पानीको बप्‍तिस्‍मा

प्रभु-भोज

एकपटक मात्र लिइने

धेरैपटक लिइने

ख्रीष्टियन जीवनको प्रारम्भमा लिइने

ख्रीष्टियन जीवनभरि लिइने

चाबी शब्द: सम्बन्ध (सम्मिलीकरण) हेर्नुहोस् रोमी ६:३-४ विश्वासी जन ख्रीष्टसित एकसाथ जोडिएको छ।

चाबी शब्द: सहभागीता (सङ्गति) हेर्नुहोस् १ कोरिन्थी १०:१६; ११:२८,३१ विश्वासी जन येशू ख्रीष्टसित सङ्गति गर्न पाउँदछ।

क्रूसको कारण मसित नयाँ जीवन छ!

क्रूसको कारण म आफूसित भएको नयाँ जीवनमा रमाहट गर्न सक्छु!

म ख्रीष्टमा एउटा नयाँ सृष्टि हुँ!

म ख्रीष्टमा एउटा नयाँ सृष्टिको रूपमा हिँड्नुपर्छ!

ख्रीष्टमा मेरो ओहोदा सिद्ध छ! परमेश्वरले मलाई आफ्नो सिद्ध पुत्रमा देख्‍नुहुन्छ!

मेरो वास्तविक अवस्था हुनुपर्ने जस्तो नै सधैं छैन। मैले आफैलाई जाँच्नुपर्छ र आफैलाई न्याय गर्नुपर्छ ताकि म परमेश्वरकहाँ क्रूसद्वारा आऊँ र उहाँसित सङ्गतिमा रहिरहूँ (१ कोरिन्थी ११:२८-३२; १ यूहन्ना १:५-९)।

अध्ययन प्रश्‍नहरू

  1. पानीको बप्‍तिस्माले के को चित्रण दिन्छ? प्रभु-भोजले के को चित्रण दिन्छ?
  2. पानीको बप्‍तिस्मा कसले लिन मिल्छ? कसले लिन मिल्दैन।
  3. प्रभु-भोज कसले लिनुपर्छ? कसले लिन हुँदैन?
  4. पानीको बप्‍तिस्माले के मिल्दछ? प्रभु-भोजले के मिल्दछ?
  5. पानीको बप्‍तिस्मा किन एकपटक मात्र लिइन्छ? विश्वासीले प्रभु-भोज किन धेरैपटक लिन्छ?
  6. यदि तपाईंले बप्‍तिस्मा लिनुभएको छैन भने किन लिनुभको छैन?
  7. यदि तपाईंले प्रभु-भोज लिनुभएको छैन भने किन लिनुभएको छैन?

भर्खरै ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरेको नयाँ विश्वासीलाई तपाईंले पानीको बप्‍तिस्माको बारेमा कसरी व्याख्या गर्नुहुन्छ? उक्त व्यक्तिलाई प्रभु-भोजको बारेमा कसरी व्याख्या गर्नुहुन्छ?