विचारमा अचार

विचारमा अचार

(पढेमा पोल्ला, है!)

यस पुस्तिका लेखिने क्रममा स्त्रीको लुगाको प्रभावको बारेमा अनुसन्धान गरियो। सयौं व्यक्तिहरूको विचार बुझियो। निम्न पत्रहरू मार्फत धेरै जनाले हामीलाई आफ्ना अनुभवहरू बताए।

  • “लोग्ने मानिसहरूको दृष्टिकोण धेरैजसो आइमाईमान्छेहरूले बुझ्दैनन् जस्तो लाग्छ। धेरै विश्‍वासी दिदीबहिनीहरूले पुरुषहरूको मनको कुरा (सोचाइ वा हेराइ) बुझेको भए उनीहरूले आफ्नो लुगा लगाउने ढाँचा बदल्नेथिए होलान्। वास्तवमा उनीहरू परमेश्‍वरलाई प्रसन्न तुल्याउन चाहन्छन् तर पोशाकको प्रभावको बारेमा अन्जान छन् धेरै आइमाईहरू।”
  • “म २४ बर्षको युवा हुँ। तपाईले हामी पुरुषहरूलाई स्त्रीको पोशाकको प्रभावको बारेमा सोध्नुभएकोमा म तपाईलाई धन्यबाद दिन चाहन्छु। मेर‍ो विचारमा महिलाहरूले नबुझेको कुरा यो हो – छाडा लुगा लगाएकी स्त्रीलाई देख्दा पुरुषहरू तुरुन्‍तै पापपूर्ण अभिलाषाहरूमा डुब्न सक्छन्।”
  • “स्त्रीले लगाएको लुगाले पुरुषमा व्यभिचार र कुइच्छा उत्पन्न गर्न सक्छ।”
  • “मण्डलीको सङ्गतिमा हामी विश्‍वासीहरू परमेश्‍वरको आराधना गर्न चाहन्छौं। सङ्गतिमा कुनै स्त्रीले सांसारिक ढङ्गले लुगा लगाउनु कति दुःखको कुरा हो! म मन-मनमा प्रश्‍न गर्छु – यदि यस स्त्रीले (जसले अनुचित लुगा ढङ्गले लुगा लगाएकीछिन्) साँचै परमेश्‍वरलाई प्रेम गर्छिन भने किन उनी सांसारिक ढङ्गले लुगा लगाएर पुरुषहरूको ध्यान आफूतिर आकर्षित गर्न चाहन्छिन्? फेरि अर्कोतिर जब कुनै स्त्रीले संसारको फेसनलाई इन्कार गर्छिन् र भद्र पोशाक लगाएर संसारबाट अलग रहन्छिन् तब उनको असल ख्रीष्टियन स्वभाव झल्किन्छ।”
  • “म ५५ बर्षको उमेरको हुँ। मण्डलीका स्त्रीहरूले लगाउने लुगा देखेर मेरो हृदय बोझिलो भएको छ। शरीरका अङ्गहरूलाई देखाउने, छाला प्रदर्शन गर्ने, वा शरीरको आकार देखाउने लुगा उनीहरूले लगाउँछन् भने म ठूलो परीक्षामा पर्छु। म हृदयदेखि विश्‍वासी दिदीबहिनीहरूसँग विन्ती गर्दछु – टाइट लुगा नलगाउनुहोस्। आफ्नो शरीरलाई राम्रोसँग छोप्नुहोस्। टी-शर्ट नलगाउनुहोस्। धेरै पटक टाइट वा अपवित्र लुगा लगाएकी स्त्रीलाई देखेर मैले अर्कोतिर हेरेको छु ताकि म परिक्षामा नपरूँ। आराधाना सभामा यस्तो कुराको सामना गर्नु चाहिँ ठूलो बाधा हो। युवती वा अरु महिलाहरूले उनलाई जेसुकै भने तापनि – पाको भने तापनि – उनले वास्ता नगरिकन परमेश्‍वरलाई खुसी पार्ने मनसायले लुगा लगाउनुपर्छ। मानिसले बाहिरी रुप हेर्छ भनेर बिर्सनुहुन्न। हामी संसारबाट अलग र एक किसिमले “अनौठो” जाति हुन बोलाइएका हौं। पुरुषहरू उनीहरूले देखेका कुराहरूद्वारा परीक्षामा पर्छन्। दाऊद राजा परीक्षामा परे जब उनले बथशेवालाई नुहाइरहेकी देखे। हेरोद राजा परीक्षामा परे जब जनले सलोमे नाचिरहेकी देखे। सिम्सोनले ‘टिम्नाथमा एउटी स्त्री’ को चाहा गरे किनकि त्यस स्त्रीको सुन्दर रूपद्वारा उनी आकर्षित भए।”
  • “कुनै-कुनै लुगाहरूले स्त्रीको शरीरमा नै हाम्रो ध्यान केन्द्रित गराउँछन्। जब पुरुषको ध्यान स्त्रीको शरीरतिर जान्छ तब पुरुष सजिलै कामुकताले जल्न सक्छ।”
  • “टेलिभिजनमा प्रसारण हुने बिज्ञापन र कार्यक्रमहरूमा भुमिका खेल्ने स्त्रीहरूले उचित (भद्र) पोशाक लगाएका हुँदैनन्। यसैले मेरी श्रीमतीले र मैले घरमा टेलिभिजन नराख्‍ने निर्णय गरेकाछौं। टेलिभिजन राखेको भए त्यस्ता कार्यक्रमहरू हेर्ने र परीक्षामा पर्ने जोखिममा हुन्थें। ९९% पत्रिकाका लेख र बिज्ञापनहरू पनि अभिलाषापूर्ण छन्।”
  • एकजना पाष्टरकी श्रीमतीको विचार – “श्रृङ्गार प्रायः दिदीबहिनीहरूलाई मनपर्ने कुरा हो। हाम्रो परमेश्‍वरलाई पनि मन पर्छ त्यसैले उहाँले विभिन्न सुन्दर थोकले पृथ्वीलाई सिँगार्नुभएको छ। श्रृङ्गारले सुन्दरता बढाउँछ। हो, बाइबलका पहिलेका स्त्रीहरूले पनि आफूलाई सिँगार्थे। १ पत्रुस ३:३-४ पदमा दुई खालका श्रृङ्गारको विषयमा बताइएको पाउँछौं। प्रिय दिदीबहिनीहरूहो, हामीले प्रभुलाई मन पर्ने श्रृङ्गार वास्तवमा कुन चाहिँ हो थाहा पाउनुपर्छ। हामी विभिन्न कुराले आफूलाई बाहिरी रुपमा सिँगार्न सक्छौँ। नङहरूमा नेल पलिस, ओठमा लिप-स्टीक, आँखामा गाजल। यी कुराहरूले आफूलाई सिँगार्नु भनेर बाइबलभरि कुनै पनि ठाउँमा भनेको छैन। यो श्रृङ्गार पूरा रूपमा सांसारिक श्रृङ्गार हो, नाश हुने श्रृङ्गार हो। हामी प्रभुका छोरीहरू हौं भने बाहिरी श्रृङ्गार होइन तर १ पत्रुस ३:४ अनुसार भित्री हृदयको कहिल्यै नाश नहुने श्रृङ्गारले आफूलाई सिँगारौं जुन कुरा प्रभुलाई अति नै मन पर्छ।
  • परमेश्‍वरको सेवकको विचार – “स्त्रीहरूको अनुचित पहिरनले पुरुषहरूलाई सजिलै असर पार्न सक्दछ भन्ने कुरालाई इन्कार गर्ने पुरुष कमै होलान्। आँखाले देखेको कुराले हृदयलाई राम्रो वा नराम्रो असर पार्न सक्दैन भनेर कसले भन्न सक्छ र? पराई स्त्रीको बारेमा चेताउनी दिँदै “तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर” (हितोपदेश ४:२३) भनिएकोले त्यसो गर्नु उसकै जिम्मेवारी त हो, तर उसका शत्रुहरू – शैतान, संसार र उसको पाप स्वभावका कारण उसलाई त्यसो नगर्न त्यति सजिलो छैन। त्यसैले स्त्रीहरूको पहिरनको सन्दर्भमा, परमेश्‍वरलाई आदर गर्न चाहने स्त्रीले पुरुषहरूको यो कमजोर पक्षलाई मध्यनजर राख्दै आफ्नो पहिरनले पुरुषहरूलाई अनैतिक सोचाइतर्फ डोर्‍याउन प्रोत्साहन दिन अवश्‍य चाहनेछैन। अङ्ग-प्रत्यङ्गको आकृति देखिने गरी चिरिएको, काटिएको, छोटो, कस्सिएको आदि पोशाकको प्रयोगले स्त्रीहरू आंशिक रुपमा नग्न रुपमा प्रकट हुन जान्छन् अनि यो पुरुषहरूलाई परिक्षामा पार्ने कुरा होइन र? “वेश्‍याको वस्त्र” (हितोपदेश ७:१०) ले अशुद्ध भाषा बोलिरहेको हुन्छ भन्ने जानेर हाम्रा विश्‍वासी दिदीबहिनीहरूले आफ्नो पहिरनमा कतै पनि त्यस्तो वस्त्रको छनक समेत नदेखियोस् भन्ने चाहनुपर्दछ। एउटी विश्‍वासी स्त्रीले खासै विचार नपुर्‍याई चलनचल्तीको वस्त्र पहिरेको हुन सक्छे, तर त्यस्तै वस्त्र हो भने यसले पुरुषलाई त असर पार्न सक्छ नै। एक दइटा उदाहरण दिन सकिन्छ। यदि वस्त्र छातितिर खुल्ला वा कस्सिएको छ भने पुरुषको आँखा त्यतैतिर जान सक्छ र अशुद्ध विचारलाई प्रोत्साहन पुग्न सक्छ। भित्री पोशाक देखिन गरी बाहिरपट्टि पातलो कपडाको प्रयोगले पुरुषलाई जिस्काउने काम गर्दछ। पाखुराको माथिसम्मै देखिने गरी छोटो बाहुलाको वस्त्रको पनि त्यस्तै नकरात्मक शक्ति छ, माथि-माथि कम्मरसम्मै चिरेको कुर्ता-सुरुवालको पनि। यस्तै अरु उदाहरणहरू पनि दिन नसकिने होइन। जे होस्, परमेश्‍वरको भय मान्ने स्त्रीले अवश्‍य पनि आफ्नो भेष-भूषाद्वारा गलत सन्देश प्रसारण गरेको चाहनेछैनन्।”
  • एकजना विश्‍वासीको सुझाव – “आइमाई मान्छेले कस्सिएको लुगा लगाउँदा लोग्ने मान्छेमा पर्न जाने नकारात्मक सोचाइहरू:
    1. लोग्ने मानिसको ध्यानलाई कस्सिएको लुगाले खिँच्दछ। जसको कारण लोग्ने मानिसको मन त्यही केटीतिर जान्छ।
    2. कस्सिएको लुगाले लोग्ने मानिसलाई त्यस स्त्रीप्रति कामुकताले जल्न मद्दत पुर्‍याउँछ।
    3. कति लोग्ने मानिसहरू यस्तै कस्सिएको लुगा लगाइएको स्त्रीलाई देखेर आफूलाई वशमा राख्‍न नसकी बलत्कार जस्तो घृणित काम पनि गर्न पुग्छन्।
    4. अधिकांश लोग्ने मानिसहरू जब स्त्रीले लगाएको कस्सिएको लुगा (पाइन्ट, टी-शर्ट, टाउजर्स, छोटो टाइट पातलो कुर्ता-सुरुवाल) देख्छन् त्यो टाइट लुगाले स्त्रीसँग व्यभिचार गर्ने मन पनि उब्जाइदिन्छ।”
  • हामीले पत्रपत्रिकामा भएका विभिन्न स्त्रीहरूको फोटोहरू एकजना विवाहित पुरुषलाई देखायौं। र यस्ता पहिरनमा सजिएर हिँड्ने स्त्रीहरूलाई केटाहरूले बाटोमा देख्दा के सोच्लान् लेख्‍नुहोस् भन्यौं।
    1. पहिलो फोटो चाहिँ छोटो टी-शर्ट र पाइन्ट लगाइकी एकजना स्त्रीको थियो। “यो केटीको लुगा छोटो छ, निश्‍चय नै फर्केर हेरिन्छ, तर उनको शरीर हेर्न।”
    2. अर्को फोटो चाहिँ हामीले हाम्रा साथीलाई बाहुला विनाको टी-शर्ट लगाएकी एक जना केटीको देखाएका थियौं। उनी त्यति सुन्दरी देखिँदैन थिइन् तर उनले लगाएको पोशाकले धेरै पुरुषहरूलाई परीक्षामा पार्दछ भन्ने सोचाई हाम्रो साथीको थियो। यसको बारेमा हाम्रो साथीले लेखेको कुरा निम्न लिखित छ। “यो केटीको अनुहार त्यति राम्रो नभए तापनि उनको बाहुला नभएको टी-शर्टले गर्दा र अलि टाइट लुगाले फेरि फर्केर अवश्य हेर्ने थिएँ। यस्तो लुगा नलगाउँदा नै बेस हुन्छ।” बाहुला विनाको चोलोहरू लगाउनु उचित हुँदैन भन्ने सोचाइ धेरै पुरुषहरूको रहँदै आएको छ। स्त्रीले जति पनि आफ्नो शरीरका अङ्गहरूको प्रदर्शन गर्छिन् (चाहे ती खुट्टहरू होऊन्, चाहे खुला पाखुराहरू, चाहे ती उनका छाती, चाहे नाङ्गो ढाड) त्यसले पुरुषहरूलाई उनीप्रति तिब्र लालसी बनाउँदछ।
    3. त्यसपछि अर्को चित्र चाहिँ हामीले साडी र चोलो (ब्लाउज) मा सजिएकी अर्की स्त्रीको फोटो देखायौँ। उनको चोलो छोटो भएकोले छाती त पेटका भागहरू सजिलै देखिन्थे। यस फोटोको बारेमा हाम्रो साथीले यसरी बयान गरे, “वाफ रे! यो त फेसन शो मा नै ठीक छ। यस्तो लुगा लगाउँदा त जसलाई पनि परीक्षा हुन्छ। उनलाई भन्दा शरीरलाई धेरै हेरिन्छ। धेरै नै खुलेको छ।” (फोटोमा केटीले साडी लगाएकी थिएन्। साडीको ब्लाउज छातीलाई अलिकति मात्रै ढाक्ने थियो।)
    4. जब हामीले हाम्रो साथीलाई लामो कुर्तामा सजिएकी एक स्त्रीको फोटो देखायौं, उनको प्रतिक्रिया कस्तो थियो त? उनले भने, “यो त अहिलेको इण्डियन सिरियलहरूको हिरोइन हो। पुरानो फिल्म फेसेनलाई टिभीले पुन: जन्माएको छ। सबै जिऊ ढाके तापनि टाइट अथवा शरीरमा नै जोडिएको कुर्ता फेरी हेर्न मन लाग्छ।” (चुरिदार कुर्ता सुरुवाल)।
    5. कसिलो टी-शर्ट र पाइन्ट लगाएकी एक स्त्रीको बारेमा हाम्रो साथीले लेखेको कुरा माथि हामीले पढ्यौं। तर त्यसको बारेमा अधिकांश स्त्रीहरूलाई थाहा छैन। पुरुषहरू स्त्रीको पुट्ठाबाट आकर्षित बन्न पुग्छन्। त्यसकारण पाइन्ट लगाएकी स्त्रीहरूका पछाडी पुरुषहरू हिँड्दा पुरुषहरूको ध्यान सजिलै खिचिन पुग्छ र उनीहरू कामुकताले जल्न पुग्छन्। हाम्रो साथीको प्रतिक्रिया यस्तो थियो – “अहिलेको आधुनिक केटीहरूको पहिरन टाइट र टि-शर्टले गर्दा शरीरको अङ्गहरू प्रष्ट देखिन्छ। पाइन्ट लगाउन उचित छैन। सिम्पल जिन्स मात्र त हो नि भन्ला तर यो लुगामा बाइबलले प्रतिबन्ध लगाएको छ। केटी अगाडी हिँड्दैछिन् भने निश्‍चय नै सबैलाई थाहा छ, केटाहरूले के हेर्छन् (पुट्ठा)।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

Print Friendly, PDF & Email