परिचय
परिचय
यस अध्ययन मालामा हामी “प्रबन्धहरू” (DISPENSATIONS) को अध्ययन गर्नेछौं। यस शब्दको बाइबलीय अर्थ बुझ्नलाई हामी शुरूमा समय लिनेछौं। तर यस शब्दलाई हेर्नु अगाडि त्यहाँ अर्को कुरा छ जसलाई हामीले पहिला बुझ्न खाँचो छ।
भिन्नताहरूको महसुस
परमेश्वर कहिल्यै बदलिनुहुन्न। उहाँ सधैं एकसमान हुनुहुन्छ। मलाकी ३:६ मा स्वयम् परमेश्वरले घोषणा गर्नुभएको एउटा महत्त्वपूर्ण वाक्य पढ्छौं, “म _____________ ______________ _____________ ____________। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।” परमेश्वर, परमेश्वर हुन छाड्नुहुन्न भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। परमेश्वर जे हुनुहुन्छ सो हुन छाडेर एक्कासी बदलिनुहोला भनी हामीले कहिल्यै फिक्री गर्नु पर्दैन।
तर इतिहासको क्रम (बेग्लाबेग्लै समयहरू) मा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले परमेश्वरले व्यवहार गर्नुभएको पाइन्छ। प्रेरित पावल र अब्राहामको विचार गरौं। परमेश्वरले दुवैलाई कृपा गर्नुभयो, मुक्ति दिनुभयो र दुवै अनन्तसम्मै परमेश्वरसित हुनेछन्, तर परमेश्वरले दुवैसित एउटै तरिकाले काम गर्नुभएन। तिनीहरू इतिहासको बेग्लैबेग्लै समयमा बाँचे, परमेश्वरको सामु तिनीहरूका बेग्लाबेग्लै जिम्मेवारी थिए। त्यस्तै नूह र सोलोमनसित परमेश्वरको व्यवहारलाई पनि दाँज्न सक्छौं। उनीहरूको जीवनमा परमेश्वरले बेग्लाबेग्लै तरिकाले काम गर्नुभयो, उनीहरूलाई बेग्लाबेग्लै जिम्मेवारी दिइयो। नूहले जहाज बनानुपर्थ्यो, सोलोमनले मन्दिर।
प्रकाशको मात्रामा भिन्नता
मानव इतिहासको हजारौं वर्षको अवधिभित्र परमेश्वरले आफ्नो सत्यतालाई मानिसकहाँ प्रकट गर्दै आउनुभएको छ। हामीले यो बुझ्न आवश्यक छ, परमेश्वरले आफ्नो सत्यता मानिसहरूलाई क्रमिकरूपमा प्रकट गर्नुहुन्छ, एकैपटकमा होइन। परमेश्वरले आदमलाई केही कुरा प्रकट गर्नुभयो तर त्यहाँ कयौं कुराहरू छन् जो परमेश्वरले उनलाई प्रकट गर्नुभएन। परमेश्वरले पछि अब्राहामलाई थप प्रकाश दिनुभयो। इतिहासमा अझ पछि मोशालाई अनि दाऊदलाई अझै प्रकाश दिनुभयो। येशू संसारमा हिँडडुल गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कति कुरा प्रकट गर्नुभयो जुन कुराहरू पुरानो नियमका विश्वासी जनलाई प्रकट कहिल्यै प्रकट गरिएका थिएन:
किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै _____________ र ________ जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, तिनलाई देख्ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, तिनलाई _________ इच्छा गरे, तर _____________” (मत्ती १३:१७)।
तर ती चेलाहरूलाई पनि सबै सत्यता बताइएको थिएन। येशूले तिनीहरूलाई बताउनुभएन किनकि ती कुराहरू सुन्नका लागि तिनीहरू तयार थिएनन्:
तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै __________ छन्, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ” (यूहन्ना १६:१२)।
ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि, परमेश्वरले पावल प्रेरितलाई अरु प्रकाश दिनुभयो (गलाती १:११-१२; एफेसी ३:३-५)। अन्तमा, पावल र अन्य प्रेरितहरू सबै मरिसकेपछि, परमेश्वरले प्रेरित यूहन्नालाई थप प्रकाश दिनुभयो जसले प्रकाशको पुस्तक लेखे (प्रकाश १:१-३,९-१२ आदि)।
व्यक्ति-व्यक्तिसित व्यवहार गर्दा परमेश्वरले यस्तै तरिका अपनाउनुहुन्छ। के मुक्ति पाउनेबित्तिकै परमेश्वरले तपाईंलाई तपाईंले जान्नुपर्ने सम्पूर्ण कुराहरू सिकाउनुभयो? _____________। परमेश्वरले विश्वासी जनहरूलाई आफ्नो सत्यता एकैपटकमा सबै नै सिकाउनुहुन्छ कि क्रमिकरूपमा? ________________। परमेश्वरले “शिशु” ख्रीष्टियनलाई “दूध”, अलिक पाकोलाई “मासु” दिनुहुन्छ (१ पत्रुस २:२; १ कोरिन्थी ३:१-२)। परमेश्वरले आफ्ना गहन सत्यताहरू हामीलाई शुरूमा नै सबै दिनुभएको भए हामीले “पचाउन” सक्नेथिएनौं! भर्खरै जन्मेको बच्चालाई मासु-भात खुवाउन खोजे जस्तै हुनेथ्यो! एक कक्षाको बालक अलजेब्रा सिक्न तयार हुँदैन। अलजेब्रा र ज्यामितिको समय पछि आउँछ, तर पहिला त उसले जोड-घटाउ गर्न नै सिक्नुपर्छ!
तपाईंसित कुनचाहिँ बाइबल छ?
परमेश्वरले आफूलाई “बाइबल” भन्ने पुस्तकमा प्रकट गर्नुभएको छ। के तपाईंलाई थाह छ, बाइबल एकैपटक आएको होइन? के तपाईंलाई थाह छ, नूहसित बाइबलै थिएन? के तपाईंलाई थाह छ, मण्डलीको शुरूआत (पेन्टेकोस्टको दिनमा, प्रेरित अध्याय २) हुँदा विश्वासी जनहरूसित नयाँ नियमको एउटै पुस्तक थिएन?
परमेश्वरले शताब्दिऔं लगाएर क्रमिकरूपमा आफ्नो सत्यता प्रकट गर्दै आउनुभएको छ। उहाँले मानिसलाई बाइबल एकैखेपमा दिनुभएन। इतिहासका निम्न उल्लेखित विश्वासी जनहरूको बारेमा विचार गरौं। उनीहरूसित कुन बाइबल थियो भनेर प्रश्न गर्दा उनीहरूले कस्तो जवाफ दिन्छन्:
आदम: | “मसित बाइबलै थिएन, तर म बगैंचाको शितलमा परमेश्वरसँगै हिँड्थे।” |
अब्राहाम: | “मसित बाइबलै थिएन, तर बेला बखतमा परमेश्वर मकहाँ देखा पर्नुहुन्थ्यो र मसित कुरा गर्नुहुन्थ्यो” (उत्पत्ति १७:१; १८:१ इत्यादि) |
मोशा: | “मेरो बाइबलमा पाँच पुस्तकहरू थिए – उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था।” |
दाऊद: | “मेरो बाइबलमा मोशासित भएका पाँच पुस्तकहरू, साथै यहोशू र न्यायकर्ताका पुस्तकहरू र साथै मैले लेखेका कतिपय भजनहरू थिए।” |
एज्रा: | “मेरो बाइबलमा पुरानो नियमका प्रायःजसो पुस्तकहरू थिए तरैपनि सबै थिएन।” |
बप्तिस्मा दिने यूहन्ना: | “मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए तर नयाँ नियमका पुस्तहरू भने कुनै पनि थिएनन्।” |
यूहन्ना: | “मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए र नयाँ नियमका सबै पुस्तकहरू थिए। मेरो मृत्यु हुन भन्दा अलिक अगाडि परमेश्वरले मलाई नयाँ नियमको अन्तिम पुस्तक लेख्न प्रयोग गर्नुभयो।” |
___________: (आफ्नै नाम) | “मेरो बाइबलमा पुरानो नियम र नयाँ नियमका सबै पुस्तकहरू अर्थात् ________ ओटा पुस्तकहरू छन्!” |
तपाईंको हातमा भएको बाइबल दाऊदसित भएको बाइबलभन्दा धेरै मोटो छ!
केही प्रस्ट भिन्नताहरू
इतिहासभरि नै परमेश्वरले मानिससित कृपा र अनुग्रहको व्यवहार गर्दै आउनुभएको छ र पुरुष, स्त्री, बालबालिकाहरूलाई आफूसित एक सुन्दर, व्यक्तिगत सम्बन्ध राख्न सम्भव तुल्याउनुभएको छ। शताब्दियौंदेखि परमेश्वरले मानिसलाई “__________ले __________द्वारा” (एफेसी २:८) बचाउने कार्य गर्दै आउनुभएको छ। के अब्राहमले यसरी मुक्ति पाएका हुन् (उत्पत्ति १५:६)? ________। अब्राहमले यसरी नै मुक्ति पाए (रोमी ४:३), दाऊदले पनि त्यसरी नै (रोमी ४:६) र हामीले पनि त्यसरी नै मुक्ति पाउँदछौं (रोमी ४:५)! अनन्तसम्म बचाइएका सबै (नूह, यशैया, पत्रुस आदि) ले यो भन्नेछन्, “हामी केवल परमेश्वरको अनुग्रह (परमेश्वरको दया र प्रेम जसको म योग्य छैन) ले मुक्ति पाएका हौं। धन्यवाद प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो!”
अनुग्रही परमेश्वरले इतिहासभरि पापी मानिसहरूलाई बचाउने काम गर्दैहुनुहुन्छ। तरैपनि हामीले यो याद राख्नुपर्छ कि परमेश्वरले बेग्लाबेग्लै समयमा, बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै प्रकारले व्यवहार गर्नुहुन्छ। यी भिन्नताहरूलाई हामीले ध्यानपूर्वक विचार गर्न आवश्यक छ।
विचार गर्नुहोस्: मण्डली सभामा जानुहुँदा के तपाईंले साथमा एउटा पाठो लानुहुन्छ? ________। पापको निम्ति बलि चढाउन पाठो लानुहुन्छ? _________। के पुरानो नियमका विश्वासीहरूले त्यसो गर्थे (१ शमूएल ७:९; लेवी ३:७; ४:३२)? _______। आज के विश्वासी जनहरूले पशु बलिहरू चढाउँछन्? _________। मोशा, यहोशू, दाऊद, सोलोमनले पशु बलिहरू चढाए तर हामी आज सो गर्दैनौं। यो एउटा महत्त्वपूर्ण भिन्नता हो।
अर्को कुराको विचार गरौं। कसैले शनिवारको दिन काम गरिरहेको देख्यौं भने हामीले के गर्छौं? के उसलाई मृत्यु दण्ड दिन्छौं? __________। शनिवार काम गर्ने व्यक्तिलाई मृत्यु दण्ड दिइनुपर्छ भन्ने त्यहाँ व्यवस्था थियो (प्रस्थान ३५:२)? _______। दाँज्नुहोस्, गन्ती १५:३२-३६ जहाँ “दाउरा बटुलेको” कारण (विश्राम दिनको व्यवस्थालाई भङ्ग गरेको हुनाले) एकजनालाई मृत्युदण्ड दिइएको छ! आज हामी यस्तो पक्कै पनि गर्दैनौं, गर्छौं र?
आज हामी परमेश्वरको उपासना गर्न यरुशलेमको मन्दिरमा जान्छौं? ________। पुरानो नियमका यहूदीहरूलाई त्यसरी परमेश्वरको उपासना गर्न भनिएको थियो। आज बाइबलीय मण्डलीहरूमा पास्टरहरू, एल्डरहरू र डिकनहरू हुन्छन्, तर के त्यहाँ पुजाहारी भन्ने बेग्लै समूह पनि हुन्छन्? __________। पुरानो नियमको समयमा हारूनका छोराहरू पुजाहारी हुन्थे, अनि अरू कोही पनि पुजाहारी बन्न सक्दैनथे। आज प्रत्येक विश्वासी नै पुजाहारी हो (१ पत्रुस २:९; प्रकाश १:६)। यसको मतलव हामी आफै सीधै परमेश्वरकहाँ ख्रीष्टद्वारा आउनसक्छौं, कुनै मानवीय मध्यस्तविना नै। आज बाबु-आमाहरूले बालक जन्मेको खण्डमा उनीहरूको खतना गराउनुपर्दैन। पुरानो नियममा के यहूदी बाबु-आमाले खतना नगराए पनि हुन्थ्यो कि त्यो अनिवार्य थियो (उत्पत्ति १७:१०-१४)? _____________________।
धेरै अगाडि आदमलाई एउटा रूखको फल नखाने आज्ञा दिइएको थियो (उत्पत्ति २:१६-१७)। के आज त्यो आज्ञा जारी छ? के आज कुनै फलवृक्ष छ जसको फल नखाने आज्ञा दिइएको छ? _____। संसारमा कुनै “प्रतिबन्धित रूख” छ? ______। के परमेश्वरले आदमसित हामीसँग जस्तै व्यवहार गर्नुभयो? ________।
विचार गर्नुहोस्, के अब्राहाम प्रत्येक आइतवार विश्वासी जनहरूसित भेला हुने गर्थे? __________। के दाऊदले मानिसहरूलाई पानीमा बप्तिस्मा दिन्थे? ________। के मोशाले इस्राएलका सन्ताहरूलाई भेला गराएर कहिल्यै प्रभु भोज लिए? ________। के सोलोमनलाई “सारा जगतमा गएर सबै प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भन्ने आज्ञा कहिल्यै दिइयो? ___________। यी भिन्नताहरू प्रस्टै देखिने भिन्नताहरू हुन् जसलाई हामी मान्यता दिनुपर्छ। परमेश्वरले आज हामीसित माग गर्नुहुने कुराहरू ती पहिलेका मानिसहरूसित माग गर्नुभएन र परमेश्वरले ती मानिसहरूसित माग गर्नुभएका कुराहरू हामीसित माग गर्नुहुन्न। बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित परमेश्वरले बेग्लाबेग्लै किसिमले व्यवहार गर्नुहुन्छ।
अर्को भिन्नता हेरौं। मत्ती १०:५-७ पढ्नुहोस्। चेलाहरूलाई येशूले कसकहाँ गएर प्रचार गर्न आज्ञा दिनुभयो? _______________________________________। कसलाई प्रचार नगर्नू भन्नुभयो? _____________________। अब मत्ती २८:१९ र मर्कूस १६:१५ पढ्नुहोस्। येशूले आफ्ना चेलाहरूलाई कसकहाँ गएर प्रचार गर भन्नुभयो? ______________________ _____________________________________। येशूले यी चेलाहरूलाई बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै कुराहरू भन्नुभयो। बाइबल पढ्दा हामीले यी भिन्नताहरूलाई जानिराख्नुपर्छ।
अघि-पछिका भिन्नताहरू
बाइबल पढ्ने क्रममा हामीले शुरुमै यो सिक्न थाल्छौं, त्यहाँ केही चावी घटनाहरू घटेका थिए जसले ठूला-ठूला परिवर्तन र भिन्नताहरू ल्याए। बाइबलका केही प्रमुख घटनाहरू यी हुन्:
- मानिसको पतन (जब आदमले पाप गरे)
- नूहको समयको जलप्रलय
- बाबेल धरहरामाथिको इन्साफ
- अब्राहामको बोलावट (उत्पत्ति १२)
- व्यवस्था दिइएको (प्रस्थान १९-२०)
- ख्रीष्ट क्रूसमा टाँगिनुभएको
- पवित्र आत्माको आगमन (प्रेरित २)
- येशू ख्रीष्टको दोस्रो आगमन
यी घटनाहरूले कस्ता ठूला भिन्नताहरू ल्याए त, संक्षेपमा हेरौं।
सर्वप्रथम हेरौं, मानिसको पतनलाई:
मानिसको पतन
पतन अघि र पछि के कस्ता भिन्नताहरू थिए? उत्पत्ति २:२५ र उत्पत्ति ३:७ को बीचमा अन्तर छ? _______। मानिसको पतन, सबै मानिसलाई आजसम्म पनि असर पार्ने घटना हो (रोमी ५:१२)? __________।
जलप्रलय
जलप्रलय अघि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति १:२९)? __________ _______________? जलप्रलय पछि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति (९:२-३)? ____________________________________। जलप्रलय अघि के हत्याराहरूलाई मृत्युदण्ड दिइन्थ्यो (उत्पत्ति ४:१५)? ____________। जलप्रलय पछि नि (उत्पत्ति ९:६)? __________________।
बाबेलको धरहरा
बाबेलको इन्साफ अघि पृथ्वीमा कतिओटा भाषाहरू थिए (उत्पत्ति ११:१)? _________। उक्त इन्साफ पछि नि (उत्पत्ति ११:७-९)? __________। बाबेल अघि विश्वका मानिसहरू एउटै ठाउँमा थिए, बाबेल पछि उनीहरू विभिन्न जातिमा, ठाउँमा छरपुष्ट भए (जातिहरुको तालिकालाई उत्पत्ति १० मा हेर्नुहोस् जुन अध्याय घटनाक्रममा उत्पत्ति ११ पछि आउँछ)।
अब्राहामको बोलावट
अब्राहाम अघि विश्वका मानिसहरू एउटै समूहका थिए जसलाई “जातिहरू” (अन्यजातिहरू) भनिन्छ। अब्राहाम पछि विश्वका मानिसहरू दुई समूहका भए, यहूदीहरू र अन्यजातिहरू। अब्राहाम अघि परमेश्वरले खतना कुनै पनि कुराको चिन्ह स्वरूप गरिनुपर्ने आज्ञा दिनुभएको थिएन तर अब्राहामको समयमा त्यो आज्ञा दिनुभयो (रोमी ४:९-१२)।
मोशा
मोशा अघि त्यहाँ कुनै लिखित आज्ञाहरू थिएनन्, तर मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गरेपछि त्यहाँ लिखित आज्ञाहरू भए। मोशा अघि विश्रामदिनको पालना गरिँदैनथ्यो, तर यो नियम मोशाको समयमा स्थापना गरियो। मोशा अघि त्यहाँ खानपीन सम्बन्धी विस्तृत नियम थिएनन् (लेवी ११) तर त्यस्ता नियमहरू व्यवस्थामा समावेश थियो जसलाई परमेश्वरले मोशाद्वारा इस्राएललाई दिनुभयो।
ख्रीष्टको क्रूस
क्रूस अघिको समयबाट क्रूस पछिको समयमा जाँदा हामी यी भिन्नताहरू पाउँछौं: विश्रामदिन बाट हप्ताको पहिलो दिन, पशु बलिबाट ख्रीष्टको सिद्ध बलिदान (हिब्रू १०:१-१४), हारूनका छोराहरू पुजाहारी हुनुबाट हरेक विश्वासी जन पुजाहारी, इत्यादी। क्रूस अघि मोशाको व्यवस्था अन्तर्गत त्यहाँ खानेकुरा सम्बन्धी नियमहरू थिए (लेवी ११ – उनीहरूले के खान हुने, के नहुने)। क्रूस पछिको भिन्नतालाई १ तिमोथी ४:३-५ मा हेर्नुहोस्। अरू कस्ता भिन्नताहरू तपाईंलाई थाह छ?
पेन्टेकोस्ट
पेन्टेकोस्ट अघि पवित्र आत्मा चेलाहरू____ हुनुहुन्थ्यो तर पेन्टेकोस्ट पछि पवित्र आत्मा चेलाहरू____ हुनुभयो (हेर्नुहोस्, यूहन्ना १४:१७)। पेन्टेकोस्ट अघि विश्वका मानिस दुई समूहमा विभाजित थिए (यहूदीहरू र अन्यजातिहरू)। पेन्टेकोस्ट पछि विश्वमा तीन समूह भए (यहूदी, अन्यजाति र परमेश्वरको मण्डली – १ कोरिन्थी १०:३२)। पेन्टेकोस्ट पछि पृथ्वीमा एउटा अद्वित्तीय रचनाको अस्तित्व रहेको छ—मण्डली जो ख्रीष्टको शरीर हो, तर पेन्टेकोस्ट अघि यो थिएन।
साँचो विश्वासीहरू उठाई लगिने दिन (र्याप्चर)
र्याप्चर अघि विश्वका मानिसहरू तीन समूहका हुन्छन्: य_________, अन्यजातीहरू र परमेश्वरको __________ (१ कोरिन्थी १०:३२)। र्याप्चर पछि विश्वमा केवल दुइ समूह हुन्छन् (यहूदी र अन्यजाति)। र्याप्चर अघि पवित्र आत्मा एक विशेष मन्दिरमा (१ कोरिन्थी ३:१६-१७; दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०;) मा बास गर्नुहुन्छ। र्याप्चर पछि पनि पवित्र आत्मा संसारमा सक्रिय रहनुहुन्छ, केवल उक्त मन्दिरमा बास गरिरहनुभएको हुँदैन। त्यसपछि उल्लेख भएको मन्दिर त यरूशलेममा हुनेछ (२ थेस्सलोनिकी २:४) जुन मन्दिर विश्वासी जनहरूले बनेको नभएर एक भवन नै हुनेछ।
ख्रीष्टको दोस्रो आगमन
येशूले भविष्यमा आउने एक दिनको उल्लेख गर्नुभयो जुन दिन राज्य आउनेछ (मत्ती ६:१०), तर उक्त राज्य आइसकेको छैन। हामी अहिले राज्यको युगमा बाँचिरहेका छैनौं। तर जब उक्त राज्य आउनेछ (ख्रीष्टको दोस्रो आगमनले सो ल्याउनेछ), तब संसारको रूप आजको भन्दा धेरै भिन्न हुनेछ।
उदाहरणको लागि, राज्यको युगका पशुहरूको विचार गरौं (यशैया ११:६-९)। त्यसबेलाका पशुहरू आजका पशुहरूभन्दा भिन्दै प्रकृतिका हुनेछन्? _________। आज संसारमा युद्धहरू, मानिसका बीच झगडाहरू चलिरहेका छन् (दाँज्नुहोस् मत्ती २४:६-७)। के राज्यको युगमा भिन्नता आउनेछ (मीका ४:३)? __________। आज सुसमाचार प्रचार गरिन आवश्यक छ, मानिसहरूले प्रभुलाई चिन्न सकून् भनेर उनीहरूलाई प्रभुको बारेमा बताउन खाँचो छ (मर्कूस १६:१५ इत्यादी)। राज्यको युगमा के यो आवश्यक हुनेछ (यर्मिया ३१:३४; यशैया ११:९)? _____________। यी महत्त्वपूर्ण भिन्नताहरूलाई हामीले जान्नुपर्छ।
*********
“प्रबन्ध” शब्दको अर्थ
यो शब्द नयाँ नियममा चार पटक पाइन्छ। ती पदहरू भेट्टाउनुहोस्:
- एफेसी १:____
- एफेसी ३:____
- १ कोरिन्थी ९: ____
- कलस्सी १: _____
“प्रबन्ध” भनेर रुपान्तर गरिएको ग्रीक शब्द हो, ओइकोनोमिया (यसलाई अङ्ग्रेजीको इकोनोमि (ECONOMY) सित तुलना गर्नुहोस्)। यो शब्द वास्तवमा दुईओटा शब्दहरू मिलेर बनेको छ: १. ओइकोस् अर्थात् घर २. नोमोस अर्थात् व्यवस्था वा नियम। यसैले आइकोनोमियाको अर्थ हुन्छ, “घरको व्यवस्था वा नियम”।
यही ग्रीक शब्दलाई भण्डारीपन भनेर लूका १६:२,३,४ मा रुपान्तर गरिएको छ। तसर्थ “प्रबन्ध” के भनेर बुझ्न हामीले भण्डारीपनको विषयमा केही कुरा बुझ्नुपर्छ।
भण्डारीपन
भण्डारी कसलाई भनिन्छ? “घर प्रबन्धक” (household manager) लाई भण्डारी भनिन्छ। ऊ अर्काको घरबार र सम्पत्तिको देखरेख गर्ने व्यक्ति हो। ऊ अर्कोको स्वामित्वमा रहेको थोकको जिम्मा लिने व्यक्ति हो। हामीमध्ये धेरैजसोलाई भण्डारीको आवश्यकता पर्दैन, हामी आफै आफ्ना थोकको देखरेख गर्न सक्छौं। तर कसैको १० ओटा घर, ५०० बिघा जग्गा, २५ ओटा कार, ८ ओटा ट्रक, ३ ओटा पौडी खेल्ने पोखरी र एक निजी कोइला खानी समेत छ भने ऊ आफैले ती सबै कुराको देखरेख गर्न सक्दैन। यी सबै कुराको प्रबन्ध (manage) गर्न उसलाई मानिसहरूको आवश्यकता पर्छ। भण्डारी भनेको एक प्रबन्धक (MANAGER) हो जसले अर्काको स्वामित्वमा रहेको थोकहरूको निम्ति जिम्मेवारी हुन्छ।
भण्डारीमा एउटा योग्यता हुनु अपरिहार्य छ। १ कोरिन्थी ४:२ अनुसार त्यो योग्यता के हो? (क) हेर्नलाई राम्रो (ख) तिखो दिमाग (ग) सीपले सम्पन्न (घ) विश्वासयोग्य (दिइएको जिम्मा पूरा गर्ने)।
लूका १६:१-४ को भण्डारीलाई विचार गर्नुहोस्। के ऊ विश्वासयोग्य थियो? _________। उत्पत्ति ३९:१-६ मा एउटा विश्वासयोग्य भण्डारी पाउँछौं। पोतिफरका भण्डारी को थिए? __________। पोतिफरको स्वामित्वमा रहेको सबै कुरा यस व्यक्तिको _______मा (उत्पत्ति ३९:४,६) सुम्पियो। यूसुफले आफ्नो मालिकका सम्पत्तिको रेखदेख गरे। उनका मालिक (पोतिफर) आफ्ना सारा सम्पत्ति भरपर्दो व्यक्तिको हातमा छन् भनेर ढुक्क थिए।
याद गर्नुहोस्, भण्डारी घरको प्रबन्धक हो, मालिक होइन। घरका प्रबन्धक यूसुफ थिए कि पोतिफर? ___________। घरका मालिक यूसुफ थिए कि पोतिफर? _____________। त्यो घर पोतिफरको थियो, यूसुफको होइन! लूका १६:१ मा घरका मालिक को थिए?
सौभाग्य तथा जिम्मेवारी (Privileges and Responsibilities)
पोतिफरले यूसुफका हातमा सबै कुरा सुम्पिदिनु उनका लागि एकातिर सौभाग्य थियो भने अर्कोतिर जिम्मेवारी पनि थियो। मानिसलाई परमेश्वरले दिनुभएको भण्डारीपनमा पनि ठीक यही कुरा साँचो हुन्छ। विश्वासी जन, जुनसुकै युगमा ऊ जिइरहेको किन नहोस्, उसको हातमा परमेश्वरद्वारा सुम्पिएको जुनसुकै कुराको निम्ति ऊ जिम्मेवार छ, त्यो उसको निम्ति सौभाग्य पनि हो। अब्राहामको हातमा परमेश्वरले महान् र उदेकका प्रतिज्ञाहरू सुम्पिनुभयो (उत्पत्ति १२:१-३; १७:१-८)। परमेश्वरले मोशाको हातमा पवित्र व्यवस्थाहरू र आज्ञाहरूको एक संगालो सुम्पिनुभयो (प्रस्थान १९-२१)। परमेश्वरले पावलको हातमा परमेश्वरको अतुलनिय अनुग्रह सम्बन्धी एक नवीन ज्ञान दिनुभयो (एफेसी अध्याय ३)। प्रत्येक विश्वासी जनलाई परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुनै पनि कुराको सठीक प्रयोजन गर्न पाउनु उसको लागि आनन्दको कुरा हो र साथै उसको कर्तव्य हो। भण्डारीपन भनेको नै यही हो।
भण्डारीपनलाई एउटा जागिरसित तुलना गर्न सकिन्छ। मानौ एउटा राम्रो अफिसको मालिक तपाईंकहाँ आएर तपाईंलाई जागिर खान निम्तो दियो। त्यो जागिर जोसुकैलाई दिइएन तर तपाईंलाई चाहिँ दिइयो।
उक्त जागिरमा कतिपय कुराहरू सौभाग्यको रूपमा हुन्छन्। अरू कतिजनाले त्यस्तो जागिर पाउन चाहन्थे होला तर उनीहरूलाई त्यो मौका दिइएन। तर तपाईंलाई भने दिइयो। त्यस अफिसमा काम गरेर प्राप्त हुने फाइदाहरू तपाईंकै हुन्छन्। तपाईंले धेरै कुराहरू सिक्नुहुनेछ, मूल्यवान अनुभवहरू बटुल्नुहुनेछ, अरूहरूसित काममा हेलमेल गरेर तपाईंलाई फाइदा हुनेछ, तपाईंले तलब पाउनुहुनेछ अनि एक दिन, तपाईं विश्वासयोग्य हुनुभयो भने, तपाईंको पदोन्नति पनि गरिनेछ!
उक्त जागिरमा कतिपय जिम्मेवारीहरू हुन्छन्। अफिसका हाकिमले तपाईंबाट कतिपय कुराहरूको माग गर्नेछ। तपाईं अल्छि हुनुभयो र काममा प्रायः ढीलो आउनुभयो र ग्राहकहरूप्रति नराम्रो व्यवहार गर्नुभयो भने तपाईंको हाकिम तपाईंसित खुशी बन्नेछन् होला? तपाईंले विश्वासयोग्यताका साथ आफ्ना काम-कर्तव्यहरू पूरा गरेको र तपाईंको हातमा सुम्पिएको कुनै पनि जिम्मालाई सठीक रूपमा पूरा गरेको अफिसको हाकिमले चाहनेछन्। आफ्नो काम राम्ररी नगरेको खण्डमा तपाईंलाई जागिरबाट निष्कासन गरिन पनि सकिन्छ।
भण्डारीपन भनेको यो हो, परमेश्वरले मानिसको हातमा केही कुरा सुम्पिनभएको छ अनि त्यसलाई सठीक प्रकारले चलाउनु मानिसको जिम्मेवारी हो र सो गर्न पाउनु उसको सौभाग्य पनि हो।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)