निन्दा चर्चा गर्नु भनेको के हो?

निन्दा चर्चा गर्नु भनेको के हो?

डेविड क्लाउड

निन्दा चर्चा एउटा भयानक खराबी हो र पतित मानव हृदयको भ्रष्टताको कारण यो एउटा ठूलो समस्या हो। पुरानो आदमीय स्वभाव यस्तो छ कि ऊ अर्काको निन्दो चर्चो सुन्न र फैलाउन मन पराउँछ। निन्दा चर्चा भन्ने कुरा “बूढी स्त्रीहरू” ले मात्र गर्छन् भन्ने छैन। भन्नु पर्दा, यो त स्वतन्त्र ब्याप्टिष्ट प्रचारकहरूका बीच एउटा ठूलो समस्या हो। म कहिलेकाहिँ आश्चर्यचकित भएको छु – पास्टरहरू र प्रचारकहरूले निन्दा चर्चा फैलाएका देखेर, र प्रभुको सामु मैले स्वीकार गर्नैपर्छ कि मेरो जीवनमा मैले पनि केही निन्दा चर्चा गरेको छु।

 

बाइबलमा निन्दा चर्चाको धारणालाई “चुक्ली हाल्नु”, “अर्काको काममा हात हाल्नु”, “निन्दा”, “कुराबोकुवा”, र “बकबक गर्नेहरू” भन्ने शब्दहरूले बयान गरिएको पाइन्छ। परमेश्वरका जनहरूले सचेत भई आफूहरूलाई यी पापहरूदेखि जोगाइराख्नुपर्छ। निन्दा चर्चा अत्यन्तै हानिकारक कुरा हो। निन्दा चर्चाले वास्तवमा एउटा प्रचारकको प्रभावकारितालाई नष्ट पार्न सक्छ र एउटा सिङ्गो मण्डलीलाई भताभुङ्ग पार्न सक्छ।

निन्दा चर्चा भनेको के होइन

तरैपनि एउटा महत्त्वपूर्ण कुरा के छ भने, निन्दा चर्चा र अन्य न्यायोचित अभ्यासका बीच भिन्नता राखिनुपर्छ, जस्तै:


उचित व्यक्तिहरूसित ईश्वरीय उद्देश्यका निम्ति सत्य कुरा बोल्नु निन्दा चर्चा होइन

त्यस्ता व्यक्तिहरूसित सत्यपूर्ण कुराहरू बाँड्नु गलत होइन जोहरूलाई त्यस किसिमका जनाकारी प्राप्त गर्ने अधिकार छ।

उदाहरणको लागि, क्लोएका घरानाले पावललाई कोरिन्थको मण्डलीका समस्याहरू बताउनु निन्दा चर्चा थिएन (१ कोरिन्थी १:११)। उक्त मण्डलीका संस्थापकका हैसियतले ती समस्याहरूको बारेमा जान्न पाउनु पावलको अधिकारभित्र पर्ने कुरा थियो। मण्डली सदस्यहरूका जीवनहरूको बारेमा एकजना पास्टरसित वा बाल सङ्गति शिक्षक/शिक्षिकासित वा डिकनसित कुरा गर्नु कुराबोकुवा बन्नु होइन जब ती कुराहरूको जानकारी हुनु उनीहरूलाई खाँचो छ। कुनै बाबु वा आमासित उनीहरूका छोराछोरीहरूलाई असर पार्ने विषयहरूमा कुरा गर्नु कुराबोकुवा बन्नु होइन।

क्रेटीहरूको राष्ट्रिय चरित्र कमसल छ भन्ने कुरा जनाउँदै त्यसको बयान गर्दा “सधैं झूट बोल्ने, दुष्ट पशु, अल्छे घिचुवा” (तीतस १:१२) जस्ता कडा शब्दावली प्रयोग गरीकन पावलले तिमोथीलाई सम्झना गराउँदा उनले निन्दा चर्चा गर्ने वा बदनामी फैलाउने काम गरेका होइनन्। जुन कुरा पावलले क्रेटीहरूको बारेमा बताए (उनीहरूकै एकजना कविलाई उद्दृत गर्दै), त्यो साँचो थियो, अनि उसको मनसाय उनीहरूलाई चोट पुर्‍याउनु थिएन तर उनीहरूलाई सहायता गर्नु थियो (“तिनीहरू विश्वासमा पक्का होऊन्”, १३ पद) र साथै क्रेटमा येशू ख्रीष्टको कामलाई अघि बढाउनु थियो।

एउटा ख्रीष्टियनले अर्को व्यक्तिलाई कुनै मण्डलीमा वा संस्थामा भएको कुनै गम्भीर समस्याको बारेमा चेतावनी दिनु गलत होइन, यदि उसलाई दिइएको जानकारी सत्य हो र मनसायचाहिँ कसैलाइ चोट पुर्‍याउनु नभईकन बरु सहायता गर्नु र चेतावनी दिनु हो भने। धेरैपटक मैले मानिसहरूलाई केही मण्डलीहरूको बारेमा र तिनमा भएका गम्भीर समस्याहरूको बारेमा चेतावनी दिएको छु। मैल यो काम व्यक्तिगत रूपमा र सार्वजनिक रूपमा गरेको छु। यो निन्दा चर्चा होइन र यो बदनाम गर्ने काम होइन।

परमेश्वरको महिमाको लागि सत्य बोल्नु निन्दा चर्चा होइन।

प्रचारकको शिक्षामा प्रश्न उठाउनु निन्दा चर्चा होइन

साथै पास्टरले दिएको शिक्षालाई पवित्र शास्त्रले जाँच्नु र नम्रतापूर्वक र ईश्वरीय ढङ्गले निजको सम्बन्धमा प्रश्न उठाउनु गलत होइन। वास्तवमा, परमेश्वरका सामु त्यसो गर्नु हाम्रो जिम्मेवारी नै हो। त्यो निन्दा चर्चा होइन र त्यो गलत छैन। निश्चय पनि, मैले आफ्‍नो आत्मा वा मनोभावको सधैं रखवाली गर्नुपर्छ ताकि म तीतो नबनूँ र खराब मनोभाव विकास नगरूँ र मण्डली सदस्यहरूका बीच वा जनसमाजमा पास्टरलाई चोट पुर्‍याउने उद्देश्यले कुराहरू फैलाउने काम नगरूँ।

साथै यस्ता कुराहरूमा आफू बुद्धिमानी हुनु जरुरत छ। जस्तै, कुनै कथित त्रुटी वा समस्याको बारेमा कुनै पास्टरको सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठाउनु साधारणतया बुद्धिमानी वा जायज होइन। यस्तो कुरा व्यक्तिगत रूपमा व्यवहार गरिनु सर्वोत्तम हुन्छ, कम्तीमा पनि सुरुमा। त्यसो भए तापनि, अन्ततः पास्टरको शिक्षामाथि प्रश्न उठाउनु गलत होइन।

“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)।

“सबै कुरा जाँच; जुन कुरा असल छ, त्यसलाई बलियो गरी समातिराख” (१ थेस्सलोनिकी ५:२१)।

“अनि भविष्यवक्ताहरूचाहिँ दुई वा तीनजना बोलून्, र अरूले जाँचून्” (१ कोरिन्थी १४:२९)।

पास्टरहरूलाई धेरै अधिकार छ, तर उनीहरू पोप होइनन् अनि उनीहरूको पछि अन्धो भएर लाग्नुहुँदैन। उनीहरूको अधिकार भनेको परमेश्वरको वचन हो, अनि उनीहरू यदि त्यसदेखि दयाँबायाँ लाग्छन् भने उनीहरूको कुनै अधिकार हुँदैन र उनीहरूको भूलदोष सुधारिनुपर्छ।

तैपनि धेरैजना ईश्वरीय ख्रीष्टियनहरूलाई त्यतिबेला निन्दक वा समस्या सृजना गर्ने व्यक्ति भनेर कलङ्क लगाइने गरिन्छ जतिबेला उनीहरूले प्रचारकले सिकाएको कुरामाथि प्रश्न उठाउने प्रयास गर्छन्। अति नै धेरै पास्टरहरूले मण्डली सदस्यहरूलाई आफ्‍नो हातमा लिन र आफूले गरेको कामकुरामाथि प्रश्न उठाउन खोज्नेहरूलाई निरुत्साहित पार्न “निन्दा चर्चा” भन्ने धारणाको दुरुपयोग गरेका छन्। यो ठीक होइन र यसले स्वस्थ नयाँ नियम माण्डलिक वातावरणको सृजना गर्दैन। पास्टरले यो यादमा राख्नुपर्छ कि निजले परमेश्वरका जनहरूमाथि आफ्‍नो प्रभुत्व लाद्नुहुँदैन। “परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन” (१ पत्रुस ५:३)। यस खण्ड अनुसार पास्टरले आफ्‍नो हक चलाउन भन्दा आफू बगालका निम्ति एउटा ईश्वरीय नमुना बन्न बढी चिन्तनशील हुनुपर्छ।

यसको माने मण्डलीका अरू सदस्यहरूको भन्दा पास्टरको बढी अधिकार हुँदैन भन्ने होइन। ऊसित अधिकार हुन्छ (हिब्रू १३:७,१७)। यहाँ हाम्रो चर्चाको विषय भनेको अधिकारको दुरुपयोगको हो। आजका कुनै पनि पास्टरसँगभन्दा बढी अधिकार भएका पावल प्रेरितले धरि यसरी भने, “तिमीहरूको विश्वासमाथि हामी राज्य गर्ने होइनौं, तर तिमीहरूका आनन्दका सहायकहरू हौं; किनकि विश्वासद्वारा नै तिमीहरू खडा हुन्छौ” (२ कोरिन्थी १:२४)।

पाप र भूलदोषको बारेमा चेतावनी दिनु निन्दा चर्चा होइन

झूटा शिक्षकहरूलाई औंल्याउनु र सत्यलाई सम्झौता गर्नेहरूको बारेमा चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। पावलले झूटा शिक्षकहरू र सत्यलाई सम्झौता गर्नेहरूको सम्बन्धमा तिनका नामै तोकेर १ र २ तिमोथीमा मात्र कम्तीमा पनि १० पटक चेतावनी दिए। कुनै मण्डली अगुवाले सार्वजनिक रूपमा गलत कुरा सिकाउँछ भने, परमेश्वरका जनहरूले त्यसको बारेमा सार्वजनिक रूपमै चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। मैले बिल्ली ग्राहाम वा जेरी फलवेल वा जेम्स डब्सन जस्ताको नाम तोकेर तिनका गलतीहरूको बारेमा चेतावनी दिँदा मलाई धेरैपटक बदनामी वा अर्काको काममा हात हाल्ने भनेर दोष्याइएको छ। तर मैले त्यसो गर्नु निन्दा होइन। परमेश्वरको वचनबाट बाटो बिराउनेहरूलाई चिन्नु र औंल्याउनु मेरो अधिकार छ र प्रचारकको हैसियतले मेरो जिम्मेवारी छ। त्यसो गर्नलाई मैले उनीहरूको अनुमति लिनुपर्दैन, अनि म पहिले उनीहरूकहाँ जानुपर्दैन। उनीहरूको गलती सार्वजनिक र दोहोरिने खालको छ भने, मेरो जिम्मेवारी भनेको उनीहरूको बारेमा सार्वजनिक रूपमा चेतावनी दिनु हो, ठीक जसरी पावलले हुमेनियस र अलेक्जान्डरको बारेमा (१ तिमोथी १:२०), फुगेल्लस र हर्मोगेनेसको बारेमा (२ तिमोथी १:१५), हुमेनियस र फिलेटसको बारेमा (२ तिमोथी २:१७), डेमासको बारेमा (२ तिमोथी ४:१०) र तमौटे अलेक्जान्डरको बारेमा (२ तिमोथी ४:१४-१५) चेतावनी दिए। पावलले यो कुरा ती पत्रहरूमा गरे जुन पत्रहरू सबै मण्डलीहरूमा प्रसारित गरिनका निम्ति उनले लेखेका थिए।

बदनामी गर्नु भनेको कसैलाई चोट पुर्‍याउने मनसायले उसको बारेमा आधारहीन, असत्य हल्ला फैलाउनु हो।

एकअर्कालाई अर्ती दिनु निन्दा चर्चा होइन

“तर जबसम्म ‘आज’ भनिन्छ, तबसम्म दिनहुँ एक-अर्कालाई अर्ती देओ, र पापको छलद्वारा तिमीहरूमध्ये कोही कठोर नबनोस्” (हिब्रू ३:१३)।

“अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं; र कसै‍-कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोडौं; तर एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं” (हिब्रू १०:२४-२५)।

ख्रीष्टियनहरू एक-अर्कालाई अर्ती दिन जिम्मेवार छन्। यसको माने एक-अर्कामाथि निगरानी राख्नुपर्छ र एक-अर्कालाई त्यस्ता कुराहरूको बारेमा अर्ती दिनुपर्छ जुन कुराले ख्रीष्टसितको हाम्रो हिँडाइलाई असर पार्न सक्छ। यस्तो सेवाको कामलाई निन्दा चर्चासित जोड्नुहुँदैन।

तर कतिपय मण्डलीहरूमा ठ्याक्कै यस्तै हुने गर्छ। यदि कुनै परिपक्क्व मण्डली सदस्यले अरू मण्डली सदस्यहरूलाई अर्ती दिन वा सुधार्न खोज्यो भने, उसलाई निन्दा फैलाउने वा समस्या ल्याउने व्यक्ति भनेर कलङ्कित पारिन्छ।

अरूलाई अर्ती दिन परिपक्क्वता र ईश्वरीयता अथवा भक्तिपूर्ण जीवन चाहिन्छ।

“अनि हे मेरा भाइहरूहो, तिमीहरूको विषयमा म पूरा निश्चित भएको छु, कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ, सबै ज्ञानले भरिएका छौ, एक-अर्कालाई चेताउनी दिन सक्ने पनि भएका छौ” (रोमी १५:१४)।

तर अर्ती चेतावनी दिने काम परिपक्क्व मण्डली सदस्यहरूले गर्ने न्यायसङ्गत काम हो। यो केवल पास्टरलाई मात्र गर्न दिइएको काम होइन।

मण्डलीका उमेरदार स्त्रीहरूले तरूणी स्त्रीहरूलाई कसरी सिकाउनुपर्छ र अर्ती दिनुपर्छ भन्ने कुरा तीतस २:३-५ ले बयान गरेको छ। तर मैले यस्ता मण्डलीहरू चिनेको छु जहाँ भक्तिपूर्वक जिउने उमेरदार स्त्रीहरूले यो सेवाको काम आत्मिक र शास्त्रसम्मत तरिकाले गर्न खोज्दा उनीहरूमाथि समस्या आइपर्न गयो। उनीहरूलाई यस्तो भनियो कि तरूणी स्त्रीहरूलाई सुधार्ने र चेलापनमा हुर्काउने काम केवल पास्टरको मात्र काम हो, तर बाइबलले त त्यसो भन्दैन। अरूहरूलाई सुधार्ने सेवाको एउटा यस्तो काम छ जसमा परिपक्क्व मण्डली सदस्यहरू सरीक हुनुपर्छ।

एउटा मण्डलीमा घटेको घटना म यहाँ स्मरण गर्दछु। एकजना जवान पुरुषलाई मण्डलीका केही परिपक्क्व सदस्यहरूले उसलाई उसको जागिर छोड्नुपर्छ भनेर सम्झाए किनकि उनी एक सांसारिक फिलिम हलमा काम गर्दैथिए र त्यो काम उसकै आत्मिक उन्नतिको लागि हानिकारक हुनुको साथसाथै मण्डलीका अरू जवान व्यक्तिहरू पनि उसको नमुनाले प्रभावित हुँदैथिए। जब उनले यस सल्लाहलाई पछ्याउन इन्कार गरे र आवेगमा आएर मण्डली छाडेर हिँडे, तब परमेश्वरको वचनबाट उसलाई सम्झाउनेहरूलाई समस्या ल्याउनेहरू भनेर कलङ्कित गरियो। वास्तवमा, उनीहरूले चेतावनी दिएर न्यायोचित बाइबलीय सेवाको अभ्यास गर्दैथिए।

निन्दा चर्चाको पाप र चेतावनीको सेवकाइका बीच भिन्नता कायम राख्नलाई ध्यान हुनुपर्छ।

निन्दा चर्चा यो हो

निन्दा चर्चा गर्नु भनेको कुराबोकुवा भएर घुमिहिँड्नु हो (लेवी १९:१६; हितोपदेश ११:१३; १८:८; २०:१९; २६:२०-२२)

निन्दा चर्चा गर्नु भनेको जिब्रोले बदनामी गर्नु हो (भजनसङ्ग्रह १५:३), जसको माने अरूहरूसित कसैको जीवनको व्यक्तिगत विवरणहरूको बारेमा उसलाई हानि गर्ने उद्देश्यले कुरा गर्नु हो।

निन्दा चर्चा गर्नु भनेको बदनामी फैलाउनु हो (गन्ती १४:३६,२७; २ शमूएल १९:२७; हितोपदेश १०:१८; यर्मिया ९:४-६; रोमी ३:८), जसको माने कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा झूटा कुराहरू बोल्नु हो। कुनै कुरा बदनामी फैलाउने कुरा हो भने त्यसमा झूट हुन्छ र चोट पुर्‍याउने उद्देश्य हुन्छ। कुनै पास्टरको पारपाचुके भएको छ भनेर कसैलाई भन्नु निन्दा चर्चा होइन यदि उक्त कुरा सत्य हो भने, तर उक्त पास्टरको पारपाचुके नभएको भए तापनि भएको छ भनेर भन्नु चाहिँ निन्दा चर्चा हो र बदनामी फैलाउनु हो। कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा हल्ला फैलाउनु दुष्ट निन्दा चर्चा गर्नु हो। हामीले कसैबाट सुनेका कुरालाई अर्को व्यक्ति वा व्यक्तिहरूलाई फैलाउनदेखि हामी अत्यन्तै होशियार हुनुपर्छ। कुनै कुरा सत्य हो या होइन भन्ने कुरामा यदि त्यहाँ कुनै प्रश्न छ भने, उक्त कुराको जानकारी भएको व्यक्तिबाट सो कुरा हो कि होइन भनेर प्रमाणित गर्नु अनिवार्य हुन्छ।

निन्दा चर्चा गर्नु भनेको अर्काको काममा हात हाल्नु हो (२ थेस्सलोनिकी ३:११; १ तिमोथी ५:१३; १ पत्रुस ४:१५), जसको माने आफू संलग्न हुनुपर्ने त्यहाँ कुनै न्यायोचित कारणै बिना अर्काको कामकुरामा मुछिन जानु वा हात हाल्नु हो।

यो लेख www.wayoflife.org वेबसाइटको मौलिक रचना What is Gossip? को नेपाली रुपान्तरण हो। यसलाई लेखकको अनुमतिले यहाँ प्रकाशित गरिएको छ।

“ख्रीष्‍टमा” हुनु भनेको के हो?

“ख्रीष्‍टमा” हुनु भनेको के हो?

जर्ज जेलर

    1. मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: १) जोहरू ख्रीष्‍टबाहिर छन् (कलस्सी ४:५; १ थेस्सलोनिकी ४:१२); २) जोहरू “ख्रीष्‍टमा” छन् (२ कोरिन्थी ५:१७; रोमी ८:१)।
    2. पहिलो जन्मले मान्छे “आदममा” हुन्छ (१ कोरिन्थी १५:२२) र पुरानो सृष्‍टिसित आवद्ध हुन्छ जुनचाहिँ आदममा मानिसको पतनले बिगारिएको थियो। दोस्रो जन्मले (यूहन्ना ३) मान्छे “ख्रीष्‍टमा” हुन्छ (१ कोरिन्थी १५:२२) र नयाँ सृष्‍टिसित आवद्ध हुन्छ (२ कोरिन्थी ५:१७) जुनचाहिँ ख्रीष्‍टद्वारा बचाइएको थियो।
    3. चाबी खण्डहरू: १) २ कोरिन्थी ५:१७ — मेरो नयाँ ओहोदा; २) एफेसी १:३ — मेरा आत्मिक आशिषहरू; ३) १ कोरिन्थी १:५ — मेरो प्रशस्त सम्पत्ति
    4. म कसरी “ख्रीष्‍टमा” हुन गएँ? यो मलाई कसरी हुन गयो? मानिसको जिम्मेवारी ‍= विश्वास (गलाती ३:२६) परमेश्वरको जिम्मेवारी ‍= बप्‍तिस्मा (गलाती ३:२७)। जब म बचाइएँ, परमेश्वरले मलाई येशू ख्रीष्‍टभित्र डुबाउनुभयो!
    5. म को हुँ? म के हुँ?
      ख्रीष्‍टमा
      • म एक नयाँ सृष्‍टि हुँ — २ कोरिन्थी ५:१७; दाँज्नुहोस् गलाती ५:६; ६:१५; एफेसी २:१०
      • म एक पवित्र जन हुँ — १ कोरिन्थी १:२
      • म उहाँको मण्डलीको एउटा भाग हुँ — एफेसी २:२१-२२
      • म परमेश्वरका आत्माको निम्ति एक मन्दिर हुँ — एफेसी २:२२
      • म परमेश्वरको अनन्त योजनाभित्र पर्छु — एफेसी १:४; २ तिमोथी १:९
      • म पूर्ण छु (ख्रीष्‍टको परिपूर्णताले पूरै भरपूर) — कलस्सी २:९; दाँज्नुहोस् कलस्सी १:१९)
      • म धनवान् बनाइएको छु — १ कोरिन्थी १:५
      • म ग्रहणयोग्य बनाइएको छु (परमेश्वरको अनुग्रह ममाथि खन्याइएको छ) — एफेसी १:६
      • म ज्योति हुँ — एफेसी ५:८
      • म परमेश्वरको प्रेमभित्र सुरक्षित छु — रोमी ८:३८-३९
      • म दृढ पारिएको, जरा हालिएको र निर्माण गरिएको छु — २ कोरिन्थी १:२१; कलस्सी २:७
      • म खतना गरिएको छु — कलस्सी २:११
      • म परमेश्वरको हृदयको नजिक छु — एफेसी २:१३
      यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
      विश्वासैद्वारा मैले यी कुराहरू यस्तै हुन् भनेर दाबी गर्नुपर्छ! मैले आफूलाई परमेश्वरले जस्तै देख्‍नुपर्छ!

 

    1. मसित के छ? मेरा सम्पत्ति के हुन्?
      ख्रीष्‍टमा…
      • मसित हरेक आत्मिक आशिषहरू छन् — एफेसी १:३
      • मसँग अनन्त जीवन छ (परमेश्वरसित अनन्त सम्बन्ध) — १ यूहन्ना ५:११; रोमी ६:२३; १ कोरिन्थी १५:२२
      • मसित महिमापूर्ण मुक्ति छ — २ तिमोथी २:१०
      • मसित धनाढ्य पैत्रिक सम्पत्ति छ — एफेसी १:४; हेर्नू: १ पत्रुस १:४; रोमी ८:१७
      • मसित एउटा महिमापूर्ण भविष्य छ — एफेसी १:४-५
      • मसित एउटा स्वर्गीय ओहोदा वा स्थान छ (बसालिएको) — एफेसी २:६
      • मसित एउटा उच्च बोलावट छ — फिलिप्पी ३:१४
      • मसित अनन्त महिमाको आशा छ — १ पत्रुस ५:१०
      • मसित परमेश्वरको सिद्ध धार्मिकता छ — २ कोरिन्थी ५:२१; १ कोरिन्थी १:३०; १ कोरिन्थी ६:११
      • मसित पवित्रता छ — १ कोरिन्थी १:२; १:३०; ६:११
      • मसित परमेश्वरको बुद्धि छ — १ कोरिन्थी १:३०; हेर्नू: कलस्सी २:३ र १ कोरिन्थी २:१६
      • मसित उद्धार छ (बन्धनबाट छुटकारा) — एफेसी १:७; कलस्सी १:१४; रोमी ३:२४; १ कोरिन्थी १:३०
      • मसित सुरक्षा छ — रोमी ८:१
      • मसित सम्पूर्ण पापको क्षमा छ — एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी ६:११ (“धोइएका”)
      यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
      विश्वासैद्वारा मैले आफ्ना सम्पत्तिहरूलाई अपनाउनुपर्छ र आफ्ना धनहरूको उपभोग गर्नुपर्छ!

 

  1. व्यावहारिक पक्षहरू
    ख्रीष्टमा…
    • म हिँड्छु र जिउँदछु — कलस्सी २:६
    • म स्थिर रहँदछु — फिलिप्पी ४:१
    • म सधैं विजय पाउँदछु — २ कोरिन्थी २:१४
    • म फलदायी हुँदछु — १ कोरिन्थी १५:५८; एफेसी २:१०
    • म सबै कुरा गर्न सक्छु — फिलिप्पी ४:१३
    • म परमेश्वरको नजिक जान सक्दछु ‍‍– एफेसी २:१३,१८
    • म आफ्ना सबै खाँचोहरू पूरा भएको पाउँछु — फिलिप्पी ४:१९
    • म सधैं आनन्द गर्न सक्छु — फिलिप्पी ४:४; १ पत्रुस १:८
    • म शुद्ध पार्ने आशा पाउँछु — १ यूहन्ना ३:३
    • म बलियो छु — २ तिमोथी २:१; एफेसी ६:१०
    • म विश्वासयोग्य छु — एफेसी १:१
    • मसँग विश्वास र प्रेम छ — १ तिमोथी १:१३
    • म परिपक्क्व बन्न सक्छु — कलस्सी १:२८
    यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
    विश्वासैद्वारा म यसरी नै हिँडूँ र जीवन बिताऊँ (कलस्सी २:७)!

येशूको प्रार्थनाको जीवन

येशूको प्रार्थनाको जीवन

आइभान फ्रेन्च

प्रार्थना भन्ने विषयवस्तुको अध्ययन गर्ने हो भने हामीले येशूको अभ्यास र शिक्षालाई अवलोकन गर्नु अत्यन्तै जायज देखिन्छ; किनकि —

पहिलो, उहाँले जुन विषयलाई छुनुहुन्छ, उहाँ त्यसको सर्वोत्कृष्ट शिक्षक ठहरिनुहुन्छ। प्रार्थनाको विषयमा उहाँका भन्ने कुरा धेरै छन्।

दोस्रो, उहाँ हरेक विश्वासीका लागि नमुना हुनुहुन्छ। यदि हामी थोरबहूत गम्भीरतामा उहाँको अनुसरण गर्न चाहन्छौं भने, हामीले उहाँको प्रार्थनाको निरन्तर तथा नियमित अभ्यासलाई अवलोकन गर्नैपर्ने हुन्छ।

तेस्रो, पवित्र जीवनको जड नै ख्रीष्टस्वरूप (Christlikeness) अर्थात् ख्रीष्टजस्तै बनिँदैजानु हो (१ यूहन्ना २:६; रोमी ८:२८,२९)। कुनै पनि ख्रीष्टियनलाई ख्रीष्टस्वरूपमा अघि बढेको मान्न सकिन्न जसले आफ्नो जीवनमा प्रार्थनालाई प्रशस्त ठाउँ दिँदैन।

आफ्नो सेवाकार्यको अवधिभित्र येशूले पन्ध्र पटक प्रार्थना गर्नुभएको कुरा सुसमाचारीय पुस्तकहरूमा उल्लेखित छ। प्रत्येकलाई हामी संक्षेपमा हेरौं।

१) उहाँको बप्तिस्मामा (लूका ३:२१)

  1. प्रार्थनामा पर्खँदै गर्नुहुँदा नै उहाँले पवित्र आत्माको अभिषेक प्राप्‍त गर्नुभएको। हेर्नू: यशैया ४२:१; यशैया ६१:१; प्रेरित १०:३८; मत्ती १२:२८।
  2. येशूको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण घडी थियो। उहाँ नासरतको आफ्नो दुर्बोध र अपरिचित घरबाट निस्केर सामर्थ्यका वचन र कार्यले रङ्गिने आफ्नो मसीह-सेवाकार्यमा उत्रन लाग्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले प्रार्थना गर्नुभयो।
  3. एउटा साङ्केतिक घटना, हेर्नू: प्रेरित ४:२३-३३ (विशेष गरी पद ३१)। प्रार्थनाले सामर्थ्यलाई जन्माउँछ !

२) कपर्नहुममा व्यस्त हुनुभएको एउटा दिनको लगत्तैपछि (मर्कूस १:३५; लूका ४:४२)

  1. त्यस दिन शहरमा उहाँले सभाघरको सेवामा सिकाउने काम गर्नुभएको थियो, त्यहाँ उहाँलाई एकजना दुष्टात्मा लागेको मान्छेले बीचैमा अवरोध दिएको थियो, त्यसलाई उहाँले निको पार्नुभयो, पछि पत्रुसकी सासुलाई निको पार्नुभयो, र रोगी र दुष्टात्मा लागेका थुप्रैसित उहाँ व्यस्त हुनुभयो।
  2. तर भोलिपल्ट बिहान अबेरसम्म सुत्‍नुको सट्टा उहाँ प्रार्थना गर्नालाई सबैरै उठ्नुभयो।
  3. चेलाहरूले उहाँलाई भेट्टाए र एउटा विशाल भीड उहाँसित भेट्नलाई पर्खिरहेको छ भनेर जब उहाँलाई बताइयो, उहाँ अझ अरू गाउँ तथा शहरहरूमा पनि जानुपर्छ भनेर जवाफ दिनुभयो।
  4. यहाँ हामीले सिक्नुपर्ने पाठहरू छन्:
    1. दिन जति व्यस्त हुन्छ, प्रार्थनाको त्यति नै बढी खाँचो हुन्छ।
    2. हामीले प्रार्थनाको शान्त स्थानमा नै त्यस दिनका लागि “स्वर्गीय हुकुमहरू” प्राप्‍त गर्न सक्छौं।
    3. प्रार्थनाले दर्शन वा दृष्टिलाई निर्मल पार्छ, कर्तव्यलाई परिभाषित गर्छ, आत्मालाई मृदु बनाउँछ, अठोटलाई प्रबल बनाउँछ।

३) भीडको ठेलमठेलमा (लूका ५:१६)

  1. “अनि उहाँ सुनसान ठाउँहरूमा जानुहुन्थ्यो, र प्रार्थना गर्नुहुन्थ्यो।”
  2. यो वाक्यरचनाले उहाँका व्यस्त दिनहरू कस्तो किसिमको आदतले भिजेको थियो भन्ने सङ्केत दिन्छ।
  3. मानिसको भीड लाग्दा प्रार्थना गर्ने अवसर कम हुन्थ्यो तर त्यसको आवश्यकता झन् बढी हुन्थ्यो त्यसैले मौका पाउने बित्तिकै उहाँ भीडबाट अन्यत्र जानुभई प्रार्थनामा समय बिताउनुहुन्थ्यो।
  4. हाम्रो जीवनमा बाहिरबाट जति चापाचाप आइपर्छ त्यति नै बढी प्रार्थनाको समय नछोट्टिनका लागि डाही बनी सचेत रहनुपर्छ। प्रार्थना निराशाको विरुद्धमा सुरक्षा हो।

४) बाह्रजनालाई चुन्नुअगाडि (लूका ६:१२)

  1. “ती दिनहरूमा…” ती दिनहरू यस्ता थिए:
    1. भीडहरूका बीच लोकप्रियता
    2. फरिसीहरूको बढ्दो दुश्मनी
    3. उहाँको विशाल आत्मिक भवन अर्थात् मण्डलीको जग-ढुङ्गा हुनलाई चुन्ने काम (हेर्नू: एफेसी २:२०; प्रकाश २१:१४; मत्ती १६:१८)।
  2. रातभरि प्रार्थनामा जागो रहँदाको सुनसानमा परमेश्वर पिताले येशूलाई बाह्रजना “दिनुभयो” (हेर्नू: यूहन्ना १७:६,९,११,१२)।
  3. हामीले सिक्नुपर्ने पाठहरू:
    1. महत्त्वपूर्ण निर्णयहरू गर्नु अगाडि धेरै प्रार्थना गर्नुपर्छ।
    2. प्रार्थना गर्दा परमेश्वरसित सङ्गति पनि गरिन्छ। येशूले त्यत्रो समय माग्ने काम मात्र गरिरहनुभएको थियो भन्ने कुरो अकल्पनीय छ।
    3. येशू ख्रीष्टको हरेक साँचो स्थानीय मण्डलीले पदाधिकारीहरू चुन्ने, पास्टर नियुक्त गर्ने जस्ता काम गर्नुपर्दा यो नमुनालाई पछ्यानुपर्छ। काम गर्नु अगाडि सधैं लामो समयहरू प्रार्थनामा बिताइनुपर्छ।

५) पाँच हजारलाई खुवाउनुभएपछि र पहिलाकै परीक्षाको फेरि सामना गर्नुपर्दा (मत्ती १४:२२,२३; मर्कूस ६:४५,४६; यूहन्ना ६:१५)

  1. पहाडमाथि यस रात के भएको थियो राम्ररी ध्यान दिनुहोस्:
    1. उहाँले बप्तिस्मा दिने यूहन्नाको मृत्यु भयो भन्ने खबर पाउनुभयो — एक भावनामय घडी (मत्ती १४:१२)
    2. एकलै हुन र आराम लिन उहाँ तलाउको उत्तर-पूर्वी तटमा जानुभयो तर भीड उहाँको पछिपछि आयो (मत्ती १४:१३)।
    3. उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो (मर्कूस ६:३४) र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो (मत्ती १४:१४) – यसरी नै बाँकी दिन बिताउनुभयो र त्यसपछि वृद्धिको एउटा सामर्थी आश्चर्यकर्मद्वारा सारा जमातलाई खुवाउनुभयो।
    4. उहाँका उदेकलाग्दा आश्चर्यकर्मले उत्तेजित भएर उनीहरू उहाँलाई आफ्नो राजा बनाउन खोज्दछन् (यूहन्ना ६:१५)।
    5. उहाँले आफ्ना चेलाहरूलाई तलाउपारि पठाउनुभयो र प्रार्थना गर्नालाई पहाडको एकान्तमा जानुभयो (मत्ती १४:२३)।
  2. उहाँले के प्रार्थना गर्नुभयो हामीले अड्कल मात्र लाउन सक्छौं। यसो हेर्दा त्यसमा निम्न कुरा समावेश भए होलान्: परीक्षाबाटको छुटकाराको लागि धन्यवाद, शारीरिक र मानसिक नवीकरणका लागि विन्ती, र तलाउमा यात्रा गरिरहेका त्रसित चेलाहरूको विश्वासलाई हौसला दिन सक्नका लागि सामर्थ्य। (साथै उहाँले पानीमाथि-माथि हिँड्न र पत्रुसलाई पनि त्यसो गराउन सक्नलाई विशेष सामर्थ्य पनि प्राप्‍त गर्नुभएको थियो कि?)

६) सिजरिया फिलिप्पीमा (लूका ९:१८)

  1. यहाँ भएको कुनचाहिँ अनौठो अभिव्यक्तिले ध्यानलाई आकर्षण गर्दछ?
  2. अरूहरू उपस्थित हुँदा पनि उहाँलाई पितासित एक्लै हुन सम्भव गराउने आत्माको एकान्तताको अभ्यास गर्न उहाँ जान्नुहुन्थ्यो।
  3. “यी कतिपय आखिरी घटनाहरूले यस्तो सङ्केत दिएको जस्तो देखिन्छ कि उहाँले उनीहरू (बाह्रजना) लाई उहाँसितको त्यो गुप्त सामर्थ्यको आकर्षणका निम्ति उहाँ जस्तै तृषित बनाउन चाहनुभएको थियो” (गोर्डन, २२०)।

७) रूप परिवर्तन हुँदा (लूका ९:२९)

  1. प्रार्थना गरिरहनुहुँदा उहाँको रूप बदलियो।
  2. यसले कुनै कुराको सङ्केत दिँदैछ (हेर्नू: रोमी १२:२; २ कोरिन्थी ३:१८)। विश्वासीको जीवन विस्तारै विस्तारै रूपान्तरण हुने काममा प्रार्थनाको कुनै भूमिका छैन र?

८) सत्तरीजना फर्केर आएपछि (लूका १०:२०,२१)

  1. योचाहिँ एक किसिमको उद्‍गारको प्रार्थना (ejaculatory prayer) थियो अर्थात् एकाएक गरिएको प्रार्थना।
  2. यहाँ उहाँको हृदयको आनन्द प्रस्फुटित भएको देखिन्छ। उहाँ सधैं पिताको उपस्थितिको अनुभूति गर्नुहुन्थ्यो र उहाँसित बोल्नु उहाँको लागि एकदमै स्वाभाविक कुरो थियो।

९) जब उहाँको प्रार्थना गराइले चेलाहरूको इच्छालाई जगायो (लूका ११:१)

  1. निःसन्देह उनीहरू प्रार्थना गर्ने मानिस थिए, तर उनीहरूले येशूको प्रार्थना गराइमा यस्तो गुण भएको महसुस गरे कि उनीहरूलाई आफूहरू प्रार्थनाको बारेमा केही नजान्नेहरू रहेछौं भन्ने लाग्यो।
  2. “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्” भन्ने उनीहरूको अनुरोधले गर्दा प्रभुले “दृढतापूर्वक माग्ने छेमेकी” को दृष्टान्त बाट शिक्षा दिने मौका लिनुभयो।

१०) लाजरसलाई पुनर्जीवित पार्नुहुँदा (यूहन्ना ११:४१,४२)

  1. चिहान भएको ठाउँमा आइपुग्नु अगावै उहाँले एकलै प्रार्थना गर्दै हुनुहुन्थ्यो भन्ने कुराको यहाँ सङ्केत दिइएको छ र त्यहाँ हुन गएका घटनाहरू उहाँको प्रार्थनाकै जवाफस्वरूप घटेका हुन्।
  2. येशूको प्रार्थनाको जीवनका यी विभिन्न घटनाहरूलाई नियालेर हेर्दा उहाँले आफ्ना सामर्थ्यका कामहरू पवित्र आत्माको सामर्थ्यमा गर्नुभएको थियो भन्ने कुरा स्पष्ट हुन आउँछ जुन सामर्थ्य उहाँले प्रार्थनाद्वारा प्राप्‍त गर्नुहुन्थ्यो।

११) जब कोही ग्रीक खोजकर्ताहरू उहाँकहाँ ल्याइए (यूहन्ना १२:२७,२८)

  1. योचाहिँ उद्‍गारको प्रार्थना थियो – विश्वासी र अविश्वासी दुवैका बीचमा प्रस्फुटन भएको उहाँको गहीरो भावनाको अभिव्यक्ति।
  2. उहाँले पितासित राख्नुभएको मागले उहाँको वास्तविक मनुष्यत्वलाई झल्काएको छ। डरलाग्दो मृत्युको सम्भावना देखेर झस्किनु मनुष्य स्वभावका लागि पूर्णतयाः स्वाभाविक कुरा हो, पाप होइन।
  3. उहाँले आफूलाई तुरुन्तै पिताको अधीनतामा सुम्पनुभएको कुराले प्रार्थनाको अन्तिम लक्ष्य देखाउँदछ जुन हो परमेश्वरको महिमा।
  4. स्वर्गबाट आएको पिताको जवाफले प्रार्थनामा राखिएका मागहरूले साँच्ची नै वस्तुगत परिणामहरू ल्याउन सक्छन् भन्ने कुराको प्रमाण दिएको छ र त्यसलाई प्रकट गरेको छ।

१२) पत्रुसको निम्ति गरिएको उहाँको अन्तर्विन्ती (लूका २२:३१,३२)

  1. यहाँ उहाँको प्रार्थनाको आदतहरूमध्येको एउटा कुरा झल्केको पाइन्छ। उहाँले पत्रुसको निम्ति नाम लिएर प्रार्थना गरिरहनुभएको रहेछ। उहाँ अर्काका लागि अन्तर्विन्ती गर्ने गर्नुहुन्थ्यो।
  2. आज पनि बौरिउठ्नुभएका प्रभुको प्रार्थनाको सेवाकार्यको मुटु अन्तर्विन्ती हो (हेर्नू: हिब्रू ७:२५; रोमी ८:३४)।
  3. यस प्रार्थनाको जवाफ पक्कै पनि मिल्यो। त्यस रात पत्रुसको साहस टुटे तापनि उसको विश्वास भने टुटेन।

१३) उहाँको महापूजाहारीय प्रार्थना (यूहन्ना १७)

  1. वास्तवमा “प्रभुको प्रार्थना” यसलाई भन्न मिल्छ। उहाँको मृत्यु हुनु अगाडिको रातमा येशूले गर्नुभएको प्रार्थना हो यो। ठीक कुन ठाउँमा उहाँले यो प्रार्थना गर्नुभयो सो अनिश्चित छ तर त्यो यरुशलेम र गेतसेमनीको बीचको ठाउँ हुनुपर्छ भन्ने बुझिन्छ।
  2. यो प्रार्थनालाई तीन खण्डमा सजिलै विभाजन गर्न सकिन्छ: प्रभुले आफ्नो निम्ति, आफ्ना प्रेरितका निम्ति र आफ्नो भावी मण्डलीका निम्ति प्रार्थना गर्नुहुन्छ।
    1. ख्रीष्टले आफ्नो निम्ति गर्नुभएको प्रार्थना (पद १-५)
      1. विन्ती: “तपाईंको पुत्रको महिमा गर्नुहोस्…मेरो महिमा गर्नुहोस्” (पद १,५)
      2. उद्देश्य: “र तपाईंका पुत्रले पनि तपाईंको महिमा गरून्” (पद १)
      3. आधार: उहाँले पूरा गर्नुभएको कार्य (पद २-४)
    2. ख्रीष्टले आफ्ना प्रेरितका निम्ति गर्नुभएको प्रार्थना (पद ६-१९)
      1. विन्ती: “रक्षा गर्नुहोस्” (पद ११,१५), संसारका शत्रुदेखि, अर्थात् पाप र शैतानदेखि। “पवित्र पार्नुहोस्” (पद १७)। पवित्र पार्ने माध्यम परमेश्वरको वचन हो।
      2. उद्देश्य: एकता (पद ११) र आनन्द (पद १३)। (दाँज्नुहोस् यूहन्ना १५:११)
      3. आधार: परमेश्वरसितको सम्बन्ध (पद ६-८, १०) र संसारसितको सम्बन्ध (पद ११)। यसैको कारण उनीहरूलाई ईश्वरीय संरक्षणको खाँचो पर्छ (तुलना गर्नुहोस्: यूहन्ना १५:१८)
    3. ख्रीष्टले आफ्नो मण्डलीको लागि गर्नुभएको प्रार्थना (पद २०-२६)
      1. विन्ती: उनीहरू जीवनमा (पद २१) र वासस्थानमा (पद २४) एक होऊन्
      2. उद्देश्य: वर्तमान समयमा (पद २१,२३), “र…संसारले विश्वास गरोस्”; र भविष्यमा (पद २४) “र…मेरो महिमा तिनीहरूले देखून्”
      3. आधार: पितासितको ख्रीष्टको एकता (पद २१-२३) र ख्रीष्टको निम्ति पिताको प्रेम (पद २४,२५)
  3. सारांशमा, ख्रीष्टले तीनओटा कुराका लागि प्रार्थना गर्नुभयो: (१) आफ्नो महिमाकरणका लागि, (२) प्रेरितका संरक्षणका लागि र (३) सबै विश्वासीहरूलाई एक बनाइनका लागि

१४) गेत्समनीको बगैँचामा (मत्ती २६:३६-४६; मर्कूस १४:३२-४२; लूका २२:४०-४६)

  1. यूहन्ना १७ को प्रार्थनाको चरित्र शान्त छ भने गेत्समनीको तीव्र, किनकि पहिलोचाहिँ अन्तर्विन्तीको प्रार्थना थियो भने दोस्रोचाहिँ एकदमै व्यक्तिगत।
  2. त्यो “कचौरा” — अर्थात् भोलिपल्ट हुने पिताबाटको विपत्ती र विछोड — बाट उहाँ फेरि पनि झस्किनुभएकोबाट प्रभुको साँचो मनुष्यत्व झल्केको देखिन्छ।
  3. यस सङ्घर्षसित हामीले आफ्नै अनुभवलाई तुलना गर्नु खास असम्भवै छ किनकि यसमा ख्रीष्टका दुई स्वभावहरूका सारभूत एकता (hypostatic union) को भूमिका हुनु बाहेक हाम्रो निम्ति उहाँले सहनुभएको उहाँको कष्टको सवाल छ।
  4. तर आफ्नो गहिरो खाँचोको घडीमा उहाँले मानव सहचारिताको चाहना गर्नुभएको कुरामा ध्यान दिनुहोस्: “…तिमीहरू यहीं बस, र मसँग जागा रहो।” यहाँ हामी प्रार्थनाको सङ्गतिको चाहना देख्छौं।
  5. प्रार्थनामा ठूलो असफलता हुनुको पछाडीको कारण पनि यहाँ दिइएको छ: “…आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ।”
  6. साथै आफ्ना मानवीय भावनाहरू जस्तासुकै भए तापनि उहाँ पूर्णरूपमा पिताको इच्छामा सुम्पिनुभएको तथ्यलाई ध्यान दिनुहोस्: “…तरै पनि म जे इच्छा गर्छु त्यो होइन, तर तपाईं जे इच्छा गर्नुहुन्छ।”

१५) क्रूसबाट गर्नुभएका प्रार्थनाहरू (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:३४,४६)

प्रभुले जसरी आफ्नो सेवाकार्य प्रार्थनाद्वारा सुरु गर्नुभयो (लूका ३:२१), उसरी नै अन्त पनि गर्नुभयो। क्रूसबाट बोल्नुभएका उहाँका सातओटा “वाक्यहरू” मध्येमा तीनओटा चाहिँ प्रार्थना थिए।निश्चय नै जीवनपर्यन्तका आदत मृत्युको घडीमा झल्कन्छन् नै।

  1. “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्” (लूका २३:३४)।
    1. यो एक अन्तर्विन्तीको प्रार्थना हो। उहाँका हातले अब परमेश्वरका काम गर्नु असम्भव थियो; उहाँका पाउ अब परमेश्वरका मार्गमा हिँड्नु असम्भव थियो; तर गर्न सकिने सेवाहरूमा सर्वोत्तमचाहिँ उहाँको लागि प्राप्य नै थियो जब उहाँ आफूलाई सताउनेहरूका लागि प्रार्थना गर्नुभयो।
    2. यहाँ हामी हाम्रा प्रार्थनाहरूका एउटा अत्यन्तै ठूलो लक्ष्यलाई हेरिरहेका छौं अर्थात् हामीलाई खराबी गर्नेहरू। हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र हामीलाई खराबी गर्नेहरूका लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई आज्ञा गरिएको छ (मत्ती ५:४४)। कतिपटक यो असम्भव जस्तै देखा पर्छ तर जसरी येशूले आफूलाई हत्या गरिरहेकाहरूका लागि प्रार्थना गर्नुभयो त्यसरी नै उनीहरूका लागि पनि हामीले प्रार्थना गर्ने अठोट गर्दा यो पहिलाभन्दा धेरै सजिलो हुन थाल्छ।
  2. “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मत्ती २७:४६; मर्कूस १५:३४)
    1. योचाहिँ हाम्रा पाप-हरणकर्ताको चित्कार थियो जब हाम्रा सबै पापहरू उहाँमाथि हालियो। यो व्यक्तिगत थियो, भयावह थियो, पीडादायी थियो र जान्नै नसकिने थियो।
    2. हाम्रो प्रार्थनाको जीवनका लागि महत्त्वपूर्ण कुरा के सिक्न सक्छौं? अवश्य नै यहाँ हामी पाप कति भयङ्कर थियो भन्ने देख्छौं र त्यसैले व्यक्ति क्षमा र शुद्धिकरणका लागि हामी पाप स्वीकार गर्न छिटो हुनुपर्छ।
  3. “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६)।
    1. प्रार्थना येशूको जीवनको आदत नै थियो। उहाँले “निरन्तर” प्रार्थना गर्नुभयो। अब उहाँले आफ्नो जीवन जसरी जिउनुहुन्थ्यो त्यसरी अन्त गर्नुभयो — पितासित शान्तमय सङ्गति गर्नुहुँदै।
    2. के हामी राम्रो तरिकामा मर्न चाहन्छौं? त्यसो भए हामी राम्ररी जिउनुपर्छ। र मृत्युको अनुभवलाई उचित किसिमले पार गराउने एउटै किसिमको जीवनचाहिँ प्रार्थनाको जीवन हो।

साभार:
Ivan H. French, The Principles and Practice of Prayer, The Great Commission Prayer League, Leesburg, Florida (1985)

परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन

परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन



एउटा विश्वासी परिपक्व बन्न सक्नलाई ऊ आत्मिक (अर्थात् एक स्वस्थ विश्वासी, पवित्र आत्माको भरपूरी अथवा नियन्त्रणमुनि जिउने विश्वासी) भएर मात्र पनि पुग्दैन; समय पनि लाग्छ। प्रभुमा हुर्कँदै, बढ्दै जानु भनेको समय लाग्ने कुरो हो। एउटा सानो बच्चा स्वस्थ होला तर परिपक्व ऊ निश्चय हुँदैन। परिपक्व बन्न र हुर्कन बच्चालाई समय लाग्छ। गलाती ६:१ (“तिमीहरू जो आत्मिक छौ”) को तात्पर्य हुर्कन र बढ्न समय लाग्छ भन्ने हो। प्रभुमा नयाँ गरी जन्मेको एउटा बालक आत्मिक होला, तर गल्ती गर्ने कुनै भाइलाई सुधार्न सक्नलाई चाहिने परिपक्वता र हुर्काइमा ऊ घटी नै हुन्छ। ऊ आत्मामा हिँड्दै गर्‍यो र आत्मिक रूपमा स्वस्थ रहिरह्यो भने, कालान्तरमा उसले त्यस्तो काम पनि गर्न सक्नेछ।

एउटा विश्वासी ख्रीष्टमा हुर्कन र बढ्न नसकेमा ऊ आत्मिक रूपमा बालकै रहिरहन सक्ने खतरा छ। यो अति खेदजनक कुरो हो। पच्चीस वर्ष पुगेर पनि आफ्नो सरसफाइ आफै गर्न नसक्ने, दूधको बोतल चुसेर बस्ने एउटा मान्छेलाई देख्‍नुभयो भने तपाईंलाई कस्तो लाग्ला? दूध नयाँ जन्मेको बालकको लागि ज्यादै उपयुक्त पौष्टिक आहार त हो (१ पत्रुस २:२), तर युवावस्थामा पुगेर पनि दूधै मात्र पिउँछ भने त्यहाँ केही न केही गडबड छ भन्ने हामीलाई महसुस हुन्छ।

पावलले एकजना स्वस्थ, परिपक्व विश्वासीको बयान यसरी गरेका छन्:

“यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका होओ भनी विन्ती गर्न छोडेका छैनौं; कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ; अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ” (कलस्सी १:९- ११)।

मार्गदर्शनका बाइबलीय सिद्धान्तहरू

मार्गदर्शनका बाइबलीय सिद्धान्तहरू

जीवनको यात्रामा, डोर्‍याउनुहोस् मलाई!

परिचय

जीवनको यात्रा अनगिन्ती निर्णयहरूले भरिएको हुन्छ। मैले फलानो काम गर्नु हुन्छ कि हुँदैन? त्यस्तो ठाउँमा म जानु हुन्छ कि हुँदैन? यस्तो क्रियाकलापमा म सहभागी बन्नु हुन्छ कि हुँदैन? आदि, इत्यादि।

हामीले जीवनभरि ठीक-ठीक अगुवाइ पाऔं र हाम्रो दिन-दिनको चालचलन सही प्रकारले नियन्त्रित होस् भन्ने हेतुले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई सत्यताको एउटा सुन्दर वस्तुगत मापदण्ड दिइएको छ जसअनुसारको जीवन र व्यवहारले हाम्रा प्रभुलाई खुशी पार्दछ। भजनसङ्ग्रहका एक रचनाकारको हृदयमा एउटा ठूलो लालसा थियो, “मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्, र कुनै अधर्म ममाथि राज्य गर्न नदिनुहोस्” (भजनसङ्ग्रह ११९:१३३)। हाम्रो जीवन, हाम्रो व्यवहार, हाम्रा निर्णयहरू सबै नै परमेश्वरको वचनद्वारा निर्धारित र नियन्त्रित हुनु आवश्यक छ।

जीवनमा अनेकौं विषयका कुरा आउँछन् जसको बारेमा परमेश्वरको वचनले किटान गरी बताएको हुँदैन। बरु बाइबलमा हामीलाई स्पष्ट सिद्धान्तहरू र ठोस मार्गदर्शनहरू दिइएका छन् र तिनलाई सही अर्थमा बुझिएमा र लागु गरिएमा उठ्न गएको हरेक प्रश्नको जवाफ मिल्न सक्छ। तर खेदको कुरा, हामी कति पटक प्रभुबाटका ती सिद्धान्तहरूलाई लागु गर्न र मार्गदर्शनहरूलाई पालन गर्न विफल भइरहेका हुन्छौं।

यस अध्ययनमा हामी ६७ ओटा जाँचहरूलाई सूचित गर्नेछौं जसद्वारा हामीले कुनचाहिँ बाटो अपनाउनु पर्ने हो भन्ने कुराको निर्धारण गर्न सक्छौं। यो सूचि पूर्ण छ भन्ने होइन। यसमा अन्य जाँचहरू थप्न सकिन्छ। यी मार्गदर्शनहरू प्रायः नयाँ नियमका पत्रहरूबाट लिइएका छन्। सुसमाचारका पुस्तकहरू, हितोपदेश, र बाइबलका अन्य खण्डहरूबाट अवश्य नै अरू थुप्रै मार्गदर्शनहरू वा “जाँचहरू” लिन सकिन्छ।

तर यदि हामीले यी जाँचहरूलाई साँच्ची नै अपनाएनौं भने हामीसित यो सूचि भएर पनि हामीलाई कुनै फाइदा हुनेछैन। ख्रीष्टका प्रियहरूहो, आउनुहोस्, हाम्रा सबै कामकुरामा प्रभु येशू ख्रीष्टलाई खुशी पार्ने इच्छा राख्दै हामी हाम्रा कामकुराहरूलाई यी नयाँ नियमका मार्गदर्शनहरूद्बारा जाँच गरौं।

(टिप्पणी: बाइबलका पदहरूलाई सजिलैसँग भेट्टाउन सकियोस् भनेर यी “जाँचहरू” लाई नयाँ नियमका पुस्तकहरूको क्रम अनुसार सूचित गरिएका छन्।)

कुनै कदम चाल्नु अघि निर्णय गर्नालाई विश्वासी जनले प्रयोग गर्न सक्नुहुने ६७ जाँचहरू

  1. पवित्रशास्त्रको जाँच (यशैया ८:२०; १ थेस्सलोनिकी ५:२१)
    यो काम पवित्रशास्त्रले मनाही गरेको छ कि? यो काम नगर्नालाई मलाई आज्ञा दिइएको छ कि?
  2. भण्डारीपनको जाँच (लूका १६:९-१२)
    यो काम गर्दा प्रभुले मलाई जिम्मा दिनुभएको पैसा, जायजात र समय खेर जाने हो कि अथवा तिनको प्रयोग सर्वोत्तम तवरले नहुने हो कि?
  3. अलगपनताको जाँच (रोमी १:१)
    के यो कदम वा क्रियाकलाप परमेश्वरको सुसमाचारका निम्ति अलग गरिएको जीवन अनुरूप छ?
  4. “शारीरिक अङ्गहरू” को जाँच (रोमी ६:१३)
    यो काम गर्दा मेरा शारीरिक अङ्गहरू परमेश्वरको निम्ति धार्मिकताका औजारको रूपमा प्रयोग गरिनालाई सुम्पिएका हुन्छन्? कि त्यसको विपरितमा मेरा प्रभु र मालिक परमेश्वरलाई आदर नहुने किसिमले प्रयोग हुनालाई सुम्पिइनेछन्?
  5. घृणाको जाँच (रोमी १२:९; दाँज्नुहोस्, यहूदा २३)
    म पाप र खराबीलाई घृणा गर्दछु र मैले जस्तोसुकै मूल्य चुकाउनु परे तापनि म तीबाट अलग हुनैपर्छ (१ पत्रुस ३:११) भन्ने कुरालाई यो काम गर्दा कुनै पनि हिसाबले धमिल्याउन पुग्छु कि?
  6. प्रेमको जाँच (रोमी १४:१५)
    यो काम गर्दा के म प्रेम अनुसार हिँडिरहेको छु? जो व्यक्तिहरूको सवाल छ के म तिनीहरूका लागि परमेश्वरबाटको सर्वोत्तम र सर्वश्रेष्ठ कुराहरूको खोजी गर्दैछु?
  7. विवेकको जाँच (रोमी १४:२२-२३)
    के यो काम म असल र सफा विवेकले गर्न सक्छु? (विश्वासी जनले आफ्नो विवेकले मनाही गरेको कुरा कहिल्यै गर्नु हुँदैन। विश्वासीको विवेक सुधारिनु र परमेश्वरको वचनको सामञ्जस्यतामा झन् झन् ल्याइनु आवश्यक पर्न सक्छ, तर आफ्नो विवेककै विरुद्धमा काम गर्नु र आफ्नै हृदयले दोषी ठहर्याउँदा ठहर्याउँदै विद्रोहमा अघि बढ्नुमा खतरा छ। यो सरल नियम सधैं याद राख्नुहोस्: कुनै कुरामा शङ्का लाग्छ भने, त्यो नगर्नुहोस्!
  8. “कसलाई खुशी पार्दैछु” को जाँच (रोमी १५:१-२)
    यो काम म आफूलाई खुशी पार्न गर्दैछु कि अर्कालाई?
  9. आगोको जाँच (१ कोरिन्थी ३:११-१५)
    यो काम गर्दा मैले सदा रहने कुरा निर्माण गरिरहेको हुन्छु कि केवल काठ, घाँस र पराल मात्र थपिरहेको हुन्छु जुनचाहिँ ख्रीष्टको न्यायआसनको घडीमा सबै जलेर नष्ट हुनेछ?
  10. फाइदाको जाँच (१ कोरिन्थी ६:१२; १०:२३)
    यो काम गर्नु लाभदायक, कल्याणकारी र उपयोगी हुन्छ कि हुँदैन? (“यो गर्न मलाई छुट छ कि छैन?” भनेर सोध्नुभन्दा फाइदाको जाँचअनुसार विचार गर्नु असल)।
  11. दासत्वको जाँच (१ कोरिन्थी ६:१२)
    यो काम गर्दा म कुनै कुराको वशमा पर्छु कि? यसले मलाई दास बनाउँछ कि? यसले मलाई बन्धनमा पारेपछि मैले सेवा गर्नुपर्ने मेरा प्रभुको सेवा गर्नालाई म स्वतन्त्र नहुन पुग्छु कि?
  12. “परमेश्वरको मन्दिर” को जाँच (१ कोरिन्थी ६:१९-२०)
    यसले मेरो शरीरको हानी गर्छ कि? मैले आफ्नो शरीरको प्रयोग गर्ने तरिकाबाट परमेश्वरको आदर हुन्छ कि हुँदैन? यो कदमले मेरो शरीरलाई ताजा र बलियो बनाउँछ कि यसले मेरो शरीर र मस्तिष्कलाई थकित र कमजोर तुल्याउँछ? यदि मैले आफूलाई शारीरिक रिक्ततासम्मै पुग्ने गरी खर्चन्छु भने के त्यो म बुद्धिपूर्ण र धार्मिकताको कामको खातिर अर्थात् ख्रीष्टकै खातिर खर्चन्छु त (२ कोरिन्थी १२:१५)?
  13. बाधाको जाँच (१ कोरिन्थी ७:३५)
    यो कामले गर्दा प्रभुको सेवामा लगाउनुपर्ने मेरो ध्यान अन्यत्र पुग्छ कि? मेरा प्रभुलाई खुशी पार्नदेखि मलाई बाधा दिन्छ कि (१ कोरिन्थी ७:३२)?
  14. ठेस खुवाउने कुराको जाँच (१ कोरिन्थी ८:१३; १०:३२; रोमी १४:२१)
    यो काम गर्दा अर्को व्यक्तिलाई ठेस लाग्न पुग्छ कि? यसले कुनै पनि हिसाबमा अर्को विश्वासीको वृद्धिमा बाधा पुर्याउँछ कि? यसले कुने पनि हिसाबमा कुनै अविश्वासीलाई ख्रीष्टमाथि विश्वास गर्नेदेखि बाधा दिन्छ कि?
  15. प्रचारको जाँच (१ कोरिन्थी ९:१९-२२; १०:३३; दाँज्नुहोस्, २ तिमोथी २:१०)
    के मेरा क्रियाकलापहरूले गर्दा अरूहरूलाई ख्रीष्ट येशूलाई मुक्तिदाताको रूपमा चिन्नका लागि सहायता र हौसला मिल्नेछ? यसले कुनै पनि हिसाबमा प्रभु येशू र उहाँको सुसमाचारको प्रतिष्ठा घटाउनेछ कि वा बाधा पुर्याउनेछ कि? के यसले अरूहरूलाई प्रभु येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा चिन्नलाई मद्दत गर्नेछ?
  16. मूर्तिपूजाको जाँच (१ कोरिन्थी १०:७,१४; १ यूहन्ना ५:२१)
    यो काम गर्दा मैले कुनै व्यक्ति वा चीजलाई परमेश्वरभन्दा ठूलो (मेरो निम्ति बढी महत्त्वको) बनाउँदैछु कि?
  17. उन्नतिको जाँच (१ कोरिन्थी १०:२३; १४:२६)
    के यसले मेरो सङ्गी-विश्वासीको उन्नति र वृद्धि गर्छ? के मेरो क्रियाकलापले गर्दा अर्कोलाई प्रभुमा बढ्दै जान उत्साह मिल्नेछ?
  18. स्वार्थको जाँच (१ कोरिन्थी १०:२४; १३:५)
    यो काम मैले आफूलाई खुशी पार्न र आफ्नै सेवाको लागि गर्दैछु कि अरूलाई खुशी पार्न र अर्काको सेवाको लागि? म आफ्नै निम्ति जिउँदैछु कि प्रभुको निम्ति (रोमी १४:७; २ कोरिन्थी ५:१५)?
  19. परमेश्वरको महिमाको जाँच (१ कोरिन्थी १०:३१)
    के म यो काम परमेश्वरको महिमाको निम्ति गर्न सक्छु? यो काम गर्दा के मैले मेरा परमेश्वरलाई र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई छर्लङ्ग हुने गरी प्रस्तुत गर्दैछु?
  20. देखासिकीको जाँच (१ कोरिन्थी ११:१; फिलिप्पी ४:९)
    के यस कुरामा मलाई अरूहरूले पछ्याएको चाहन्छु त? के यस कुरामा अन्य विश्वासीहरूले मेरो देखासिकी गरेको चाहन्छु? के मैले उनीहरूका सामु यस कदमलाई सिफारिश गर्न सक्छु?
  21. सङ्गतको जाँच (१ कोरिन्थी १५:३३; दाँज्नुहोस् २ कोरिन्थी ६:१४; १ पत्रुस ४:४)
    यो काम गर्दा म खराब सङ्गतसित सम्झौतापूर्ण सम्बन्धभित्र हुलिन्छु कि र फलस्वरूप त्यसले मेरो चरित्र र नैतिकतालाई बिगार्ने र भ्रष्ट पार्ने गरी नराम्रो प्रभाव पार्छ कि?
  22. “प्रभुमा परिश्रम” को जाँच (१ कोरिन्थी १५:५८; दाँज्नुहोस्, २ कोरिन्थी ९:८)
    यसले कुनै पनि हिसाबमा मलाई प्रभुको काममा प्रशस्त हुँदै जानदेखि रोक्छ कि? यसले मलाई प्रभुको सेवा बल्दो जोश र जाँगरसित गर्नेदेखि रोक्छ कि?
  23. अस्थायी/अनन्तको जाँच (२ कोरिन्थी ४:१८; कलस्सी ३:१-२)
    मैले अस्थायी कि अनन्त वास्तविकताहरूको आधारमा निर्णय गर्दैछु? म छोटो दुरी कि लामो दुरीलाई हेर्दैछु? मैले समयलाई हेर्दै यो मूल्याङ्कन गर्दैछु कि अनन्ततालाई हेर्दै? के मैले यसलाई परमेश्वरकै दृष्टिकोणबाट हेर्दैछु?
  24. न्यायआसनको जाँच (२ कोरिन्थी ५:१०; रोमी १४:१०-१२)
    के यस कुराले मलाई ख्रीष्टको न्यायआसनको सामु शर्ममा पार्नेछ?
  25. अभिप्रेरणाको जाँच (२ कोरिन्थी ५:१४)
    म ख्रीष्टको प्रेमले अभिप्रेरित छु कि शरीरको अभिलाषाले?
  26. नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७)
    यी कुराहरू मेरो पुरानो जीवनसित सम्बन्धित छन् (“पुराना कुराहरू” जो बितिगएका छन्) कि ख्रीष्टमा भएको मेरो नयाँ जीवनसित सम्बन्धित छन्?
  27. राजदूतको जाँच (२ कोरिन्थी ५:२०)
    यो काम गर्दा के म आफ्नो मुक्तिदातालाई छर्लङ्ग र असन्दिग्ध प्रकारले प्रतिनिधित्व गर्दैछु?
  28. पवित्रताको जाँच (२ कोरिन्थी ७:१; २ तिमोथी २:२१)
    यो काम गर्दा मैले आफ्नो पवित्रतालाई कुनै पनि हिसाबमा सम्झौता गरिरहेको हुन्छु कि? यसले मलाई प्रभुको प्रयोगयोग्य, शुद्ध र पवित्र भाँडो हुनदेखि कुनै पनि हिसाबमा बाधा पुर्‍याउँछ कि?
  29. मानसिक जाँच (२ कोरिन्थी १०:५; दाँज्नुहोस्, ११:३)
    यो कामले मलाई मेरो हरेक विचारलाई ख्रीष्टको आज्ञाकारी बनाउनालाई कैद गर्न सहायता गर्नेछ कि यसले मेरो मनलाई परमेश्वरको ज्ञानको विरोधमा आफूलाई उचाल्ने उच्च कुराहरूको गोलाबारीले ग्रस्त बनाउँछ?
  30. “कसलाई खुशी पार्दैछु” को जाँच (गलाती १:१०)
    यो काम गर्दा म परमेश्वरलाई खुशी पार्न खोज्दैछु कि मान्छेलाई?
  31. “जे छरिन्छ त्यसैको कटनी” को जाँच (गलाती ६:७)
    के म यस कदमको परिणामहरूको कटनी गर्न तत्पर छु?
  32. पवित्र आत्माकको जाँच (एफेसी ४:३०; दाँज्नुहोस्, १ थेस्सलोनिकी ५:१९)
    के यसले परमेश्वरको पवित्र आत्मालाई शोकित (दुःखित, पीडित) पार्छ? यो काम गर्दा पवित्र आत्मालाई मेरो जीवनमा काम गर्नदेखि कुनै पनि हिसाबमा निभाउन वा बाधा दिन पुगिन्छ कि?
  33. पवित्र जनको जाँच (एफेसी ५:३) – परमेश्वरको सन्तानको जाँच (एफसी ५:१), नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७), स्वर्गको नागरिकको जाँच (फिलिप्पी ३:२०), परमेश्वरको चुनिएको जनको जाँच (कलस्सी ३:१२), इत्यादि।
    ख्रीष्ट येशूमा म जो हुँ, के त्यसको अनुरूप र त्यसलाई सुहाउने किसिमले मैले व्यवहार गर्दैछु? परमेश्वरको सन्तानले गर्ने काम त्यही हो कि होइन? पवित्र जनले गर्ने काम त्यही हो कि होइन? एक नयाँ सृष्टिले गर्ने काम त्यही हो कि होइन? इत्यादि।
  34. परमेश्वरमा ग्रहणयोग्यताको जाँच (एफेसी ५:१०; २ कोरिन्थी ५:९)
    के यो काम प्रभुलाई मन पर्छ? मैले यो काम गरें भने के परमेश्वरलाई यो ग्रहणयोग्य लाग्नेछ र के मैले उहाँको मुस्कान र “स्याबास!” पाउनेछु (दाँज्नुहोस्, मत्ती २५:२१,२३)?
  35. समयको जाँच (एफेसी ५:१६)
    के यो काम गर्नु समयको उच्चतम सदुपयोग हो? परमेश्वरले मलाई दिनुभएका अवसरहरूको फाइदा उठाउनालाई के यो नै सर्वोत्तम मार्ग हो?
  36. अधीनताको जाँच (एफेसी ५:२१)
    यो काम गर्दा के म परमेश्वरले ममाथि राख्नुभएका अधिकारीहरूको अधीनतामा छु?
  37. परमेश्वरको हातहतियारको जाँच (एफेसी ६:१०-१८)
    यो काम गर्दा यसले मलाई शत्रुको आक्रमणका सामु झन् कमजोर बनाउने हो कि?
  38. सर्वश्रेष्ठताको जाँच (फिलिप्पी १:१०)
    यो काम गर्न मलाई छुट हुन सक्छ, मिल्न सक्छ र यो काम एउटा असल कुरा पनि हुन सक्छ तर के यो नै सर्वोत्तम कुरा हो त?
  39. ख्रीष्टको महिमाको जाँच (फिलिप्पी १:२०)
    यो काम गर्नाले के ख्रीष्टको महिमा हुनेछ?
  40. सुसमाचारको जाँच (फिलिप्पी १:२७)
    जुन सुसमाचारको सन्देशलाई अरूले जानून् र विश्वास गरून् भनेर मैले चाहेको छु मैले लिएका कदमहरूले कुनै पनि हिसाबमा उक्त सन्देशलाई बाधा दिने वा धमिल्याउने वा अलमल्याउने काम हुन्छ कि?
  41. कसिङ्गरको जाँच (फिलिप्पी ३:७-८)
    के म ख्रीष्टको खातिर मैले महत्त्वपूर्ण ठानेका निश्चित कुराहरूलाई बलि चढाउन र गुमाउन तत्पर छु?
  42. आनन्दको जाँच (फिलिप्पी ४:४)
    मेरो आनन्द प्रभुमा छ कि कुनै कुरा वा व्यक्तिमा? यो काम मैले नगरेको खण्डमा के मेरो आनन्द हराएर जान्छ? मैले आनन्द, सुख, सन्तुष्टि गलत ठाउँमा खोज्दैछु कि?
  43. सन्तुष्टताको जाँच (फिलिप्पी ४:११; १ तिमोथी ६:६,८)
    मैले यो काम नगरेको खण्डमा वा यो कुरा मैले नपाएमा के म अझै पनि सन्तुष्ट र तृप्त रहन सक्नेछु?
  44. चोखो विचारको जाँच (फिलिप्पी ४:८)
    यसले शुद्ध, स्वस्थ, चोखो विचारधाराहरूलाई प्रोत्साहन दिन्छ कि यसले मलाई मानसिक फोहरमैलाले ग्रस्त बन्न प्रोत्साहन दिन्छ?
  45. पहिलो स्थानको जाँच (कलस्सी १:१८)
    यो काम गर्नाले के मेरो जीवनमा प्रभु येशूलाई पहिलो स्थान मिल्नेछ?
  46. ख्रीष्टको नामको जाँच (कलस्सी ३:१७)
    के यो काम मैले प्रभु येशूको नाममा धन्यवादसित गर्न सक्छु? के उहाँले आफ्नो नाम मैले गरिरहेको कामसित जोडियोस् भन्ने चाहनुहुनेछ?
  47. ख्रीष्टको दासको जाँच (कलस्सी ३:२३-२४)
    के म यो काम हृदयदेखि (मेरो सम्पूर्ण प्राणले) प्रभुको निम्ति गरेझैं गर्न सक्छु?
  48. असल गवाहीको जाँच (कलस्सी ४:५)
    के यो कामले ख्रीष्टबाट बाहिरकाहरूलाई एउटा स्वच्छ गवाही प्रस्तुत गर्नेछ?
  49. प्रार्थनाको जाँच (१ थेस्सलोनिकी ५:१७; लूका १८:१)
    यसले कुनै पनि हिसाबमा मेरो प्रार्थनाको जीवनलाई बाधा दिन्छ कि वा प्रार्थना गर्ने कामलाई बोझिलो (गर्न मन नलाग्ने) बनाउँछ कि?
  50. धन्यवादको जाँच (१ थेस्सलोनिकी ५:१८; एफेसी ५:२०)
    के म यो काम धन्यवादसाथ गर्न सक्छु? के म परमेश्वरलाई सफा विवेकले धन्यवाद दिन सक्छु?
  51. रूपको जाँच (१ थेस्सलोनिकी ५:२२)
    मैले गर्ने काममा खराबीको कुनै पनि रूप देखिन्छ कि? मैले लिएका कदमहरूलाई गलत अर्थ लगाइन वा ती काम नकरात्मक दृष्टिमा देखिने सम्भावना छ कि?
  52. भद्रताको जाँच (१ तिमोथी २:९-१०; १ पत्रुस ३:३-४)
    यो काम गर्नाले ध्यान मतिर खिचिन्छ कि मभित्र हुनुभएका ख्रीष्टतिर? मैले आफूलाई देखाइरहेको हुन्छु को मुक्तिदाता प्रभुलाई?
  53. निर्दोषताको जाँच (१ तिमोथी ३:१)
    के यो कामले गर्दा मेरो ख्रीष्टियन विश्वासको अङ्गिकारसित नमिल्ने व्यवहारको लागि मलाई दोष लगाउने मौका कसैलाई मिल्छ कि? (दनियलको उत्कृष्ट नमुनालाई दनियल ६:४ मा हेर्नुहोस्)
  54. नमुनाको जाँच (१ तिमोथी ४:१२)
    यो काम गर्नाले एउटा विश्वासी कस्तो हुनुपर्छ भन्ने कुराको म एक असल नमुना बन्नेछु त?
  55. उल्झनको जाँच (२ तिमोथी २:४)
    यसले मलाई “यस जीवनका धन्दाहरूमा” फसाउँछ र अल्झाउँछ कि र ख्रीष्टलाई खुशी पार्नुपर्ने मेरो प्रथम कर्तव्यलाई बेवास्ता गर्ने बनाउँछ कि?
  56. मोजमज्जाको प्रेमको जाँच (२ तिमोथी ३:४)
    यो काम म परमेश्वरलाई भन्दा मोजमज्जालाई प्रेम गर्दै गरिरहेको छु कि? म प्रभुमा भन्दा अन्य कुराहरू वा व्यक्तिहरूमा रमाउँदैछु कि (भजनसङ्ग्रह ३७:४)?
  57. दोस्रो आगमनको जाँच (२ तिमोथी ४:८; १ यूहन्ना २:२८)
    के यो काम गरिरहेको बेलामा प्रभु आउनुभएको म चाहन्छु? के उहाँ आउनुहुँदा प्रभुले मलाई यस ठाउँमा यस क्रियाकलापमा लागिरहेको भेट्टाउनुभएको म चाहन्छु?
  58. सिँगारको जाँच (तीतस २:१०)
    के यस क्रियाकलापले मेरा मुक्तिदाता परमेश्वरको शिक्षालाई सिँगार्ने काम गर्नेछ? यो गर्नाले परमेश्वरको वचनका सत्यताहरू र सिद्धान्तहरू मेरो जीवनमा सुशोभित भएको देखिनेछ त?
  59. अभक्तिको इन्कारको जाँच (तीतस २:१२; दाँज्नुहोस् १ पत्रुस २:११)
    यो निर्णय लिँदा के मैले अभक्ति र सांसारिक अभिलाषाहरूलाई जोडदार, स्पष्ट र असन्दिग्ध रूपमा “हुँदैन” भन्दैछु?
  60. भारको जाँच (हिब्रू १२:१-२)
    यो कामले मलाई कुनै पनि हिसाबमा मेरो दौड दौडनदेखि बाधा दिन्छ कि? मैले जसरी दौडनुपर्छ त्यसरी दौडन नसक्ने गरी यसले मलाई भारले झैं थिच्छ कि?
  61. ख्रीष्टको निन्दाको जाँच (हिब्रू १३:१३; दाँज्नुहोस्, ११:२६)
    यो निर्णय गर्ने क्रममा मैले कुनचाहिँ कुरालाई ठूलो ठान्छु (म कुन कुरालाई बढी महत्त्व दिन्छु) – मान्छेको स्वीकार कि ख्रीष्टको निन्दा?
  62. परीक्षाको जाँच (याकूब १:१३-१६)
    यसले परीक्षाको सामना गर्न झन् सजिलो बनाउँछ कि झन् गाह्रो?
  63. परमेश्वरसितको निकटताको जाँच (याकूब ४:८; दाँज्नुहोस्, हिब्रू १०:३८)
    यसले मलाई ख्रीष्टको झन् नजिक पुर्याउँछ कि झन् टाढा लैजान्छ?
  64. वृद्धिको जाँच (१ पत्रुस २:२; २ पत्रुस ३:१८; दाँज्नुहोस्, हिब्रू ६:१-३)
    यो काम गर्नाले कुनै पनि हिसाबमा ख्रीष्टमा मेरो बढ्दै जाने क्रमलाई बाधा दिन्छ, निसास्याइदिन्छ कि? के यसले मलाई ख्रीष्टमा बढ्न सहायता गर्छ?
  65. सङ्गतिको जाँच (१ यूहन्ना १:३-४)
    यो काम गर्नाले कुनै पनि हिसाबमा मलाई ख्रीष्टसितको सङ्गतिको आनन्ददेखि बञ्चित गर्छ कि?
  66. सांसारिकपनको जाँच (१ यूहन्ना २:१५-१७; याकूब ४:४)
    के म यो कुरा परमेश्वरबाट अलग्गै रहेर (उहाँलाई पन्छाएर) गर्न खोज्दैछु?
  67. “पहिलो प्रेम” को जाँच (प्रकाश २:४)
    के यो काम गर्नाले येशू ख्रीष्ट मेरो पहिलो प्रेम हुनुहुन्छ भन्ने कुरा प्रशस्त गरी छर्लङ्ग हुनेछ?

मुक्ति पाउनु र चेला बन्नुमा भिन्नता के छ?

मुक्ति पाउनु र चेला बन्नुमा भिन्नता के छ?

 
मुक्तिचेलापन
मुक्ति भन्ने कुरा सित्तैंमा, बिना दाम पाइने कुरा हो (रोमी ६:२३; यशैया ५५:१), यद्यपि कुनै पनि हिसाबले मुक्ति सस्तो कुरा भने होइन (१ पत्रुस १:१८-१९; १ कोरिन्थी ६:२०)।चेला हुन चाहने व्यक्तिले भने मूल्य चुकाउनैपर्छ, आफूले तिर्नु पर्ने दाम उसले हिसाब गर्नैपर्छ (लूका १४:२५-३३)।
समयको सवालमा मुक्ति भनेको एकै क्षणमा पाइने कुरा हो (प्रेरित २:४७)।समयको सवालमा चेला बन्ने काम आजीवन चल्ने प्रक्रिया हो (यूहन्ना ८:३१; मत्ती २८:१९-२०)।
मुक्ति पाउनलाई प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ (प्रेरित १६:३०-३१)।चेला हुनलाई ख्रीष्टलाई पछ्‍याउनुपर्छ (मत्ती ४:१८-२२)।
मुक्ति पाउनु भनेको ख्रीष्टकहाँ आउनु हो र पापको बोझाबाट विश्राम पाउनु हो (मत्ती ११:२८)।चेला हुनु भनेको ख्रीष्टको जुवा बोक्‍नु हो र उहाँबाट सिक्नु हो (मत्ती ११:२९)।
ख्रीष्टले मलाई प्रेम गर्ने कुरा मुक्ति अन्तर्गतको कुरा हो (रोमी ५:८; गलाती २:२०)।मैले ख्रीष्टलाई प्रेम गर्ने कुरा चेलापन अन्तर्गतको कुरा हो (मत्ती १०:३७)।
सुसमाचार विश्वास गर्ने व्यक्ति एउटा साँच्चै मुक्ति पाएको व्यक्ति हो (रोमी १:१६; ६:१७)।ख्रीष्टको वचनमा लागिरहने व्यक्ति एउटा साँच्चीकै चेला हो (यूहन्ना ८:३१)।
मुक्ति पाउनलाई एउटा व्यक्ति क्रूसमा टाँगिनुभएको ख्रीष्टको पाउमा झुक्नुपर्छर परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ (लूका १८:१३)।चेला बन्नलाई एउटा व्यक्ति ख्रीष्टको पाउनेर बस्नुपर्छ र उहाँको वचनलाई नम्र र सिकाउन सकिने हृदय लिएर सुन्नुपर्छ (लूका १०:३९)।
मुक्ति पाइसकेको व्यक्ति एक विश्वासीहो (१ यूहन्ना ५:१)।सिक्दै गरेको व्यक्ति एक चेला हो [ग्रीक भाषामा चेलाको शाब्दिक अर्थ “सिकारु, विद्यार्थी, शिष्य, अनुयायी” हो]
मुक्ति पाइसकेको व्यक्तिले ख्रीष्टलाई स्वीकार गर्दछ (रोमी १०:९-१०)।एउटा चेलाले आफैलाई इन्कार गर्दछ (लूका ९:२३)।
मुक्ति पाएको व्यक्तिले ख्रीष्टलाई प्राप्‍तगरेको हुन्छ (१ यूहन्ना ५:१२)।एउटा चेलाले आफ्ना सम्पत्तिहरू त्याग्दछ (लूका १४:३३)।
भरोसा गर्ने काम मुक्ति अन्तर्गतको कुरा हो (एफेसी १:१३)।अभ्यास गर्ने काम चेलापन अन्तर्गतको कुरा हो (मत्ती २८:१९-२०)।
मुक्ति पाउनु भनेको हामीले परमेश्वरको वरदानलाई ग्रहण गर्नु हो (यूहन्ना १:१२; एफेसी २:८-९)।चेला बन्नु भनेको परमेश्वरका शिक्षाहरू ग्रहण गर्नु हो (प्रेरित २:४२)।
परमेश्वरले माग गर्नुभएको त्यो सिद्ध धार्मिकताको सवालमा प्रत्येक विश्वासी प्रभु येशू ख्रीष्टमा अलिकति पनि घटी छैन (२ कोरिन्थी ५:२१)।चेलापानले राखेका ती सबै मागहरूको सवालमा विश्वासीहरू प्रायः घटी नै हुन्छन् (लूका १४:२५-३३)।
मुक्तिचाहिँ ख्रीष्टमा भएको एउटा व्यक्तिको ओहोदासित सम्बन्धित छ (ख्रीष्टमा भएको हाम्रो सिद्ध पद)।चेलापनचाहिँ एउटा व्यक्तिको अवस्थासित सम्बन्धित छ (हाम्रो वास्तविक अभ्यास वा हिँडाइ)।
मुक्तिको सवालमा परमेश्वरले के गरिदिनुभएको छ भन्ने कुरामा जोड दिइन्छ (१ कोरिन्थी १५:३-४)।चेलापनको सवालमा मान्छेले के गर्नुपर्छ भन्ने कुरामा जोड दिइन्छ (लूका १४:२५-३३)।
मुक्तिको केन्द्रबिन्दुमा ख्रीष्टले सम्पन्न गर्नुभएको कार्य रहेको छ (१ कोरिन्थी १:१८)।चेलापनको केन्द्रबिन्दुमा ख्रीष्टको वचनअर्थात् उहाँको शिक्षा रहेको छ (यूहन्ना ८:३१)।
परमेश्वरले आफ्नो पुत्रले गर्नुभएको कार्यको आधारमा आफ्नो वचन पूरा गर्न आफूलाई सुम्पिनुभएको कुरा (रोमी ३:२४)।विश्वासीले ख्रीष्टसितको आफ्नो सम्बन्धको आधारमा ख्रीष्टको वचन पूरा गर्न आफूलाई सुम्पने कुरा (यूहन्ना ६;६८)।
मुक्ति पाएको व्यक्ति एक पवित्र जन हो (१ कोरिन्थी १:२)।चेला एक शिष्य अथवा सिक्ने व्यक्ति हो (मत्ती ११:२९)। कुनै विश्वासीहरू अरू भन्दा असल शिष्य हुन्छन्।
मुक्ति पाउनलाई निमन्त्रणा: मकहाँ आऊ (यूहन्ना ६:३७; मत्ती ११:२८)चेला हुनलाई निमन्त्रणा: मेरो पछि लाग (लूका ९:२३)।
मुक्ति पाउनलाई विश्वास गर भन्ने आज्ञालाई पालन गर्नुपर्छ (१ यूहन्ना ३:२३क; यूहन्ना ३:३६)चेलापनले ख्रीष्टका सबै आज्ञाहरू पालन गर्नुपर्ने माग गर्दछ (मत्ती २८:१९-२०)।
मुक्ति पाउनु भनेको एउटा पापीले उहाँको वचन सुन्नु हो र उहाँमाथि विश्वास गर्नु हो (यूहन्ना ५:२४)।चेला हुनु भनेको एउटा पवित्र जन उहाँको पाउनेर वस्नु हो र उहाँको वचन सुन्नु हो (लूका १०:३९)।
एउटा पापीले मुक्ति पाउने हेतुलेचेलापनका मागहरू पूरा गर्न खोज्नुहुँदैन। यो भनेको कामहरूद्वारा मुक्ति पाउन खोज्नु हो।एउटा पवित्र जनले उसले मुक्ति पाएको हुनाले चेलापनका सबै मागहरू पूरा गर्न खोज्दछ। यो भनेको “असल कामहरूका लागि” बचाइएको हुनु हो (एफेसी २:१०)।
क्रूसको सन्देश सुनेर विश्वास गर्नु (१ कोरिन्थी १:१८; १५:१-४)दिनहुँ आफ्नो क्रूस बोक्नु (लूका ९:५३)
परमेश्वरबाटको मुक्ति सिद्ध छ, कुनै घटी छैन (कलस्सी २:१०; १ कोरिन्थी १:३०)।चेलापनका सबै मागहरू पूरा गर्ने मेरो जिम्मेवारीको सवालमा म सिद्ध भइसकेको छैन तर “म त्यसको पछि लाग्छु” (फिलिप्पी ३:१२-१३)।
मुक्ति पाएको व्यक्ति हुन आवश्यक कुरा: विश्वास गर्नुपर्छ; सर्वपर्याप्‍त मुक्तिदाता प्रभु येशू ख्रीष्टमा सरल भरोसा (यूहन्ना ३:१६; प्रेरित १६:३१)।साँचो चेला हुन ऊ ख्रीष्टको वचनमा लागिरहनुपर्छ, ख्रीष्टलाई सर्वोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ, आफ्ना सारा सम्पत्तिलाई त्याग्नुपर्छ, आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ, आदि। चेलापनका मागहरू थुप्रै छन् र कठीन छन्।
चेलापन (र यसमा समावेश सबै कुरा) मुक्तिका लागि आवश्यक कुरा होइनन्।चेलापन मुक्ति पाएको प्रत्येक व्यक्तिको कर्तव्य नै हो।
मुक्ति मूलतः धर्मीकरणसित सम्बन्धित कुरा हो।

चेलापन मूलतः पवित्रीकरणसित सम्बन्धित कुरा हो।

धर्मीकरण र पवित्रीकरण आपसमा सम्बन्धित कुरा हुन् तर ती दुईबीच अलमल हुनुहुन्न। ती दुईलाई छुट्टाछुट्टै राखिनु आवश्यक छ। मुक्ति र चेलापनलाई पनि त्यसैगरी छुट्टाछुट्टै राखिनु आवश्यक छ।

मुक्तिले एउटा व्यक्तिलाई ख्रीष्ट (शिक्षक) सित ठीक सम्बन्धमा ल्याउँछ।चेलापनचाहिँ शिक्षक र शिष्यबीच निरन्तर चलिरहने सम्बन्ध र अन्तरक्रिया हो (आजीवन प्रक्रिया)।

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

अनि जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्।”(भजनसंग्रह ९:१०)

जीवनका समस्याहरूको बीचमा परमेश्वरमा भरोसा राख्‍न सक्न परमेश्वरको नाम जान्न आवश्यक छ। परमेश्वरको नाम भन्नाले परमेश्वरका गुणहरू बुझिन्छ। “पवित्र”, “सत्य”, “सर्वशक्तिमान”, “सर्वज्ञानी” जस्ता शब्दहरूले उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर जनाउँदछन्। त्यसैले परमेश्वर को हुनुहुन्छ भनेर जसले साँच्चै जानेको छ उसैले परमेश्वरको नाम जानेको छ। अनि जसले उहाँको नाम जानेको छ उसले उहाँमाथि भरोसा राख्‍दछ। [प्रिय पाठक, तपाईंले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु भएको छैन भने हामी तपाईंलाई अर्को लेख पनि पढ्नलाई विनम्र अनुरोध गर्दछौं: मुक्ति पाउन मैले के गर्नुपर्छ?]

के तपाईंको जीवनमा कुनै समस्या छ? आउनुहोस्, एउटा काल्पनिक तराजु लिऔं। एकातिर आफ्नो समस्यालाई राखौं र अर्कोतिर परमेश्वरको नामलाई। अनि सिकौं भरोसा गर्न हाम्रा जीवित र सत्य परमेश्वरलाई!

> परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ — मेरो समस्यालाई समाधान गर्न सक्ने क्षमता उहाँसित छ; उहाँले त्यसलाई समाधान गर्न सक्नुहुन्छ। उहाँको निम्ति कुनै कुरा पनि औधी कठिन हुँदैन (उत्पत्ति १८:४)। कुनै पनि समस्या उहाँको क्षमताभन्दा बाहिरको हुँदैन। तसर्थ उहाँद्वारा म सबै कुराहरू गर्न सक्नेछु (फिलिप्पी ४:१३)।

[परमेश्वरले] हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ (एफेसी ३:२०)।

> परमेश्वर सर्वज्ञानी हुनुहुन्छ — मेरो समस्याको बारेमा उहाँलाई सब थाह छ। त्यतिमात्र नभएर मेरो समस्याको समाधान गर्ने उपाय समेत उहाँलाई थाह छ। साथै यस समस्याको बीचमा मैले कतिसम्म सहन सक्छु भनेर पनि उहाँलाई थाह छ।

मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू परीक्षा तिमीहरूमाथि आइपरेको छैन; तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनि बनाउनुहुनेछ (१ कोरिन्थी १०:१३)।

> परमेश्वर बुद्धिमानी हुनुहुन्छ — मलाई सबभन्दा बढी भलाइ कसरी हुन्छ भनेर उहाँ जान्नुहुन्छ। यसैले त उहाँले यो समस्या मेरो जीवनमा आइपर्न दिनुभयो। मेरो समस्या-समाधानको सर्वोत्तम उपाय उहाँले नै जान्नुहुन्छ।

तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ, र हपार्नुहुन्न; अनि उसलाई यो दिइनेछ (याकूब १:५)।

> परमेश्वर सर्वव्यापी हुनुहुन्छ — म समस्यामा परेको छु तर म एकलो छैन किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मभित्रै हुनुहुन्छ (गलाती २:२०)। उहाँले मलाई कुनै रीतिले छोड्नुहुनेछैन, न ता मलाई कुनै रीतिले त्याग्नुहुनेछ। समस्या आइपर्दा म एकलैले समाधान गर्नुपर्छ भनेर उहाँले कहिल्यै भन्नुभएन। जिउँदो परमेश्वर नै मेरा सहायक हुनुहुन्छ।

परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस (प्रस्थान १४:१४)।

तिमीहरूको चालचलन पैसाको लोभरहित होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तोष गर; किनकि उहाँ आफैले भन्नुभएको छ: ‘म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु।’ यसकारण हामी हिम्मसँग भन्न सक्छौं: ‘प्रभु मेरा सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ, मान्छेले मलाई के गर्न सक्छ र?’ (हिब्रू १३:५-६)।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई समाल्नेछु (यशैया ४१:१०)।

हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु (मत्ती २८:२०)।

> परमेश्वर अपरिवर्तनीय (बदलिन नसकिने) हुनुहुन्छ — जब परमेश्वरले मलाई बचाउनुभयो तब मेरो जीवनको सबभन्दा ठूलो समस्या हल भयो। अब उही परमेश्वरले त्योभन्दा सानो जुनसुकै समस्यामा पनि मलाई सहायता गर्न सक्नुहुन्छ। जुन परमेश्वरले दाऊदलाई, दनिएललाई, पावललाई र अरू धेरैजनालाई उनीहरूका समस्याहरूमा सहायता गर्नुभयो, उही परमेश्वरले मलाई पनि सहायता गर्न सक्नुहुन्छ। परमेश्वर हरहमेसा परमेश्वर नै हुनुहुन्छ भनी म मानिलिन सक्छु।

येशू ख्रीष्ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ (हिब्रू १३:८)।

> परमेश्वर सार्वभौम हुनुहुन्छ — हरेक परिस्थितिको सम्पूर्ण नियन्त्रण परमेश्वरकै हातमा हुन्छ। उहाँले यो समस्या मेरो जीवनमा आउन दिनुभयो र यो पनि उहाँकै हातमा छ।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेरभलाइ नै उत्पन्न गर्दछन् (रोमी ८:२८)।

> परमेश्वर विश्वासयोग्य हुनुहुन्छ — मेरो समस्याको समाधानको निम्ति मैले परमेश्वरमाथि भरोसा राख्दा उहाँले मलाई धोका दिनुहुनेछैन (व्यवस्था ३१:६)। उहाँका प्रतिज्ञाहरू चुक्नेछैनन्। मेरो यो परिस्थितिमा म परमेश्वरमाथि भर पर्न सक्छु। परमेश्वर पूर्ण रूपमा भरपर्दो, विश्वासीलो, वफादार हुनुहुन्छ।

किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा ‘हो’ हुन्छन्, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा ‘आमेन’ पनि हुन्छन् (२ कोरिन्थी १:२०)।

> परमेश्वर सत्य हुनुहुन्छ — मेरो समस्याको बीचमा म परमेश्वरको वचनको प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छु किनभने परमेश्वर झूट बोल्नुहुन्न; उहाँले झूट बोल्नै सक्नुहुन्न (तीतस १:२)। उहाँले जे भन्नुहुन्छ, त्यो उहाँले गर्नुहुन्छ।

उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ सामर्थी पनि हुनुहुन्छ (रोमी ४:२१)।

> ‍परमेश्वर अनन्त हुनुहुन्छ — अनन्तताको परिप्रेक्ष्यमा वा दाँजोमा हेर्दा मेरो समस्या सानोभन्दा सानो देखिन्छ।

अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन् (व्यवस्था ३३:२७)।

> परमेश्वर प्रेम हुनुहुन्छ — मेरो यो समस्यामा परमेश्वरले स्वयम् आफैलाई चिनाउन चाहनुहुन्छ। यस्तो कुनै समस्या छैन, त्यो जतिसुकै ठूलो किन नहोस्, जसले मलाई उहाँको प्रेमबाट अलग पार्न सक्दछ।

कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ: ‘तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।’ तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍– न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)।

> परमेश्वर भला हुनुहुन्छ — मेरो समस्या र मेरो अप्ठ्यारो परिस्थितिकै बीचमा पनि परमेश्वरले मलाई उहाँको पुत्रजस्तै बनाउँदै लैजान चाहनुहुन्छ (रोमी ८:२८-२९)। जस्तोसुकै संकष्ट किन नहोस्, उहाँ भला हुनुहुन्छ भनी म उहाँको प्रशंसा गर्न सक्छु (भजनसंग्रह १०७:८,१५)।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइनै उत्पन्न गर्दछन् — उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्। किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो (रोमी ८:२८-२९)।

> परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ — मेरो जीवनमा यो समस्या आउन दिनुमा परमेश्वरले ठीक नै गर्नुभएको छ। परमेश्वरले कहिल्यै गलती गर्नुहुन्न।

सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र? (उत्पत्ति १८:२५)।

प्रिय विश्वासी जन, दैनिक जीवनका भार र समस्याहरूका बीच जीवित परमेश्वरलाई कत्तिको सम्झने गर्नुहुन्छ? “जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्” (भजनसंग्रह ९:१०)।

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्


तीतस २:१ मा तीतसलाई पावलका निर्देशनहरू

“तर तिमीले चाहिँ खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल”

पावलले तीतसलाई उनको पास्टरीय कामको सवालमा “खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल” भन्ने अर्ती दिए। खाँटी शिक्षाको माने स्वस्थ्यपूर्ण शिक्षा हो। यहाँ “खाँटी” भनेर अनूदित ग्रीक शब्द यी पदहरूमा प्रयोग गरिएका छन्: १ तिमोथी १:१०;६:३; २ तिमोथी १:१३; ४:१३; तीतस १:९,१३ (“पक्का”); २:२(“पक्का”)। साथै उक्त शब्द यी पदहरूमा पनि प्रयोग गरिएका छन्: लूका ५:३१ (“निरोगीहरू”) र ३ यूहन्ना २ (“निरोग”) जहाँ माने स्पष्ट छ: शरीरमा सञ्चो, स्वस्थ र निरोग हुनु। जब परमेश्वरको सत्यता र परमेश्वरको शिक्षालाई विश्वास गरिन्छ र पालन गरिन्छ, तिनको परिणाम भनेको प्राण (भित्री मानिस) मा निरोग र सञ्चोपना आउँछ। हामी “स्वस्थ विश्वासीहरू” हुनुपर्छ भनेर हामी भन्ने पनि गर्छौं — अर्थात् आफूसित आत्मिक स्वस्थ हुनु आवश्यक छ जोचाहिँ परमेश्वरसित हिँडेर आउँछ र आफ्‍नो जीवनहरूलाई उहाँको इच्छा र वचन अनुरुप बनाएर आउँछ।

यदि उहाँमा भरोसा गरिरहेकाहरूलाई परमेश्वरले दिनुहुने यो सिद्ध शान्ति र स्वास्थ्य (यशैया २६:३ “शान्ति नै शान्ति”) हामी आफै जान्दैनौं (यसमा हामी रम्दैनौं) भने हाम्रो गाउँ, बस्ती, जिल्ला, अञ्चल, मुलुक वा संसारतर्फ हामी कसरी गवाही हुन सक्छौं र? प्राणहरू बाँझो र शिथिल छन् भने यसले निश्चय पनि हाम्रो गवाहीलाई बाधा दिन्छ।

पावलले तीतसलाई पाँच फरक-फरक समूहहरूलाई खाँटी र स्वस्थ्यपूर्ण शिक्षा सिकाउनलाई निर्देशन दिए: बूढा मानिसहरू (पद २), बूढी स्त्रीहरू (पद ३), तरुणी स्त्रीहरू (पद ४,५), जवान पुरुषहरू (पद ६-८) र दासहरू (पद ९-१०)।

बूढा मानिसहरू (पद २)

सचेत (नशालु पदार्थबाट अलग, ठिक सोच्ने), गम्भीर (सम्मान र आदरको योग्य, गम्भीर तर अँध्यारो होइन, ईश्वरीय आदरभावको), आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने)। यी बूढा मानिसहरूलाई तीन प्रकारले स्वस्थ्य हुनलाई सिकाइनुपर्थ्यो: १) विश्वासमा स्वस्थ्य (तपाईंको?); २) प्रेममा स्वस्थ्य (तपाईंको?); ३) धीरजमा स्वस्थ्य (जीवनका परीक्षाहरूमा, कठिनाइहरूमा अचल भई लागिरहनु)। जीवनका आँधी-बतासहरूको सामना गर्नुपर्दा, अग्नीमय कष्टहरूको सामना गर्नुपर्दा, तपाईं कत्तिको आत्मिक स्वस्थ्य र अचल?

बूढी स्त्रीहरू (पद ३)

बूढी स्त्रीहरूको चालचलन पवित्रतालाई सुहाउँदो हुनुपर्छ भनेर सिकाइनुपर्थ्यो (पवित्र व्यक्ति झैं व्यवहार गर्नु, बोली-व्यवहारमा आदरभावसित हिँड्नु, उत्तेजनामा हिँड्ने स्त्रीहरूजस्ता होइनन् जसका हृदयहरू हलुका र व्यर्थका कुराहरूमा केन्द्रित हुन्छन्, न झूटा दोष लाउने (“दियाबलस” — बूढी स्त्रीहरू स-साना दियाबलसहरू जस्ता भएर झूटा आरोपहरू, बाङ्गो-टिङ्गो कुराहरू, अर्काको पछाडि द्वेषपूर्ण कुराहरू यत्रतत्र प्रहार गर्दै हिँड्नेहरू हुनु हुँदैनथ्यो), न पियक्कड (not given or enslaved to, खानेकुरा, पिउने कुरा, वा अन्य कुनै कुराको पकडमा नभएको हुनुपर्थ्यो)

बूढी स्त्रीहरू “असल कुराहरूका शिक्षकहरू” हुनुपर्थ्यो। तिनीहरूले अनुभवद्वारा (जीवनमा कति हण्डरहरू खाएर) धेरै कुराहरू सिकेका छन्। अनि उनीहरूले वर्षौंभरि सिकेकाबट अरूहरूलाई उनीहरूको फाइदाको लागि सिकाउनुसक्नुपर्ने हो। उनीहरूको सिकाउने यो काम विशेष गरी तरुणी स्त्रीहरूप्रति लक्षित हुनुपर्छ। वर्षौंदेखि परमेश्वरको वचनमा हिँड्दै आएका र व्यावहारिक अनुभवबाट सिक्दै आएका यी बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई, तरुणी पत्नीहरू र तरुणी आमाहरूलाई अनमोल सल्लाहरू हस्तान्तरण गर्न सकछ्न्। [सिद्धान्त: एक बुद्धिमानी जवान व्यक्तिले आफूभन्दा पाको ईश्वरीय विश्वासीहरूसित मित्रता विकास गर्नेछन् र उनीहरूको सरसल्लाह र सुधारहरूको माग गर्नेछन्।]

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्ने कुराहरू अब आउने खण्डमा दिइएको छ:

तरुणी स्त्रीहरू (पद ४,५)

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई निम्न कुराहरू सिकाउनुपर्थ्यो (चेतावनी, तालिम): १) आफ्‍ना-आफ्‍ना पतिलाई प्रेम गर्न (phileo) (प्रेममा फस्ने जस्तो कुरा होइन, तर प्रेमगर्न सिक्ने): “यसमा धेरै कुराहरू पर्छन् जसद्वारा तिनले आफ्‍ना पतिलाई साँच्चै आदर गर्छन् भनेर देखाउन सक्छिन् — घरमा उनको प्रधानतालाई स्वीकार गरेर, पतिबिना कुनै पनि ठूला निर्णयहरू नगरेर, घरलाई व्यवस्थित राखेर, आफ्‍नो लवजमाथि ध्यान पुर्‍याएर, उनीहरूको कमाइअनुसार मात्र खर्च गरेर, गलतीहरू तुरुन्तै स्वीकार गरेर, अनुग्रहसाथ क्षमा दिएर, सञ्चारको बाटो सधैं खुला राखेर, अरूका सामु आफ्‍नो पतिलाई आलोचना गर्ने वा कुरा काट्ने काम नगरेर र कामकुरा बिग्रन जाँदा सहयोगी बनेर” (म्याकडोनाल्ड)। २) आफ्‍ना नानीहरूलाई माया गर्न (phileo): “उनीहरूसँग बसेर पढ्ने, प्रार्थना गर्ने गरेर, उनीहरू स्कूल वा खेलबाट फर्कँदा आफू घरमा भइदिएर, दृढ र न्यायोचित तवरले अनुशासन गरेर, उनीहरूलाई संसारको निम्ति नभई प्रभुको सेवाका निम्ति मलजल गरेर” (म्याकडोनाल्ड)। ३) आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने, पद २ कै शब्द); ४) पतिव्रता (शुद्ध pure, आफ्‍ना पतिहरूप्रति विश्वासयोग्य, विचार, बोली वा काममा फोहोर कुरादेखि अलग); ५) घर सम्हाल्ने (घरमा काम गर्ने, गृहणी): “आफ्‍नो घर परिवारलाई बेवास्ता गर्ने गरी उद्योग-बेपारमा लाग्नुभन्दा एक पत्नी र आमा भईकन घरैमा प्रभुको सेवा गर्नुको उच्च मर्यादा हुन्छ भन्ने कुरालाई बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्थ्यो” (म्याकडोनाल्ड); ६) भला (कसरी अर्काको निम्ति जिउने, अतिथिसत्कार गर्ने, अनुग्रही, उदार हुने, स्वार्थी र आफैमा केन्द्रित होइन); ७) आफ्‍ना-आफ्‍ना पतिका आज्ञाकारी। यी सब किन – ताकि “परमेश्वरको वचनको निन्दा नहोस्” (विरुद्धमा नबोलियोस्; अक्षरश: “चोटपूर्ण बोली”)। यो पद १० को विपरित हो। हामी कसरी जिउँछौं यसले परमेश्वरको सत्यतालाई कि त सिँगार्छ कि निन्दा ल्याउँछ।

जवान पुरुषहरू (पद ६-८)

आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने – यो सुहाउँदो सल्लाह हो किनकि युवावस्था जोशपूर्ण, यो गरूँ कि त्यो गरूँ भन्ने उर्जाले र प्रबल चाहनाहरूले भरिएको हुन्छ — अध्यायभरि यो शब्द दोहोराइएको छ); नमुना, १ तिमोथी ४:१२; असल कामहरू, तीतस ३:८,१४; एफेसी २:१०; मत्ती ५:१६; ३) शिक्षामा तीनओटा कुरा: १) चोखोपना (दागरहित – वचनजस्तै); २) गम्भीरता (आदरभावले भरिएको, प्रभुले भन्नुभएको कुरामा एकदम गम्भीर), ३) सच्चाइ (सत्यको मार्गबाट बिग्रेर नजाने)

पद ८ – दोष नपाइने शुद्ध वचन (बोलीले हृदयलाई प्रतिबिम्बित गर्छ र बोलीबाटै हामी दोषी वा निर्दोष ठहरिन्छौं, मत्ती १२:३५-३६), शत्रुलाई हाम्रो दोषरहित बोलीव्यवहारले चुप गराउँछौं। विश्वासीको कवचमा एउटै प्वाल पनि नभेटियोस्! पवित्र जीवन जत्तिको प्रभावकारी कुनै तर्क छैन!

दासहरू (पद ९-१०)

पावलले दासहरूलाई निम्न निर्देशनहरू दिए १) बिनाप्रश्‍न आफ्‍ना मालिकहरूको आज्ञापालन गर्नू (पद ९); २) सबै कुराहरूमा उनीहरूलाई प्रसन्न गराउनू; ३) मुख नलाग्नू (पद ९) — “मण्डली युगको शुरुतिर आफ्‍ना मालिकहरूलाई प्रभु येशूकहाँ डोर्‍याउने सौभाग्य धेरैजना दासहरूको भयो, मुख्यतः अविश्वासी दासहरू र उनीहरूको बीचमा रहेको भिन्नता ज्यादै टड्कारो देखिने भएकोले” (म्याकडोनाल्ड); ४) लामो हात नगर्नू (पद १० — आफ्‍ना मालिकहरूबाट नचोर्न, उनीहरूलाई नठग्न — त्यसैले त लिलाम बजारमा विश्वासी दासहरूको जहिले पनि भाउ बढी हुन्थ्यो!) ; ५) सब प्रकारको इमानदारीपना देखाउनू (पद १० – विश्वासयोग्यता, भरोसायोग्यता), यसरी नै सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्” (पद १०)।

शिक्षालाई सिगारिदिऊन् (पद १०)

“शिक्षा सिँगारिनु” परमेश्वरको वचन परमेश्वरका जनहरूको भक्तिहीन व्यवहारले निन्दा गरिनुको ठिक विपरित हो (हेर्नुहोस् पद ५ र रोमी २:२३-२४)। तर जब परमेश्वरका जनहरूले परमेश्वरको वचनका स्पष्ट शिक्षाहरूलाई व्यवहारमा उतार्छन् (चाहे बूढा मानिसहरू होस् वा बूढी स्त्रीहरू, चाहे तरुणी स्त्रीहरू होस् वा जवान पुरुषहरू, चाहे दासहरू होस् वा अरु कुनै विश्वासीहरू), तब परमेश्वरको शिक्षा सिँगारिन्छ। सिँगार्नु भन्ने शब्द (कस्मेओ – अङ्ग्रेजीमा “कस्मेटिक”) को माने व्यवस्थित गर्नु, क्रममा राख्‍नु (भजनसङ्ग्रह ११९:१३३ — “मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्“)। उक्त शब्द कोठालाई सजाउने (मत्ती १२:४४) र सलेटो छाँट्ने वा बत्ती मिलाउने (मत्ती २५:७) अर्थमा प्रयोग गरिएको छ। यसको माने सिँगार्नु हो र चिहानहरूलाई (मत्ती २३:२९) र भवनहरूलाई (लूका २१:५; प्रकाश २१:१९ — “सिँगारिएका”) सिँगार्ने अर्थमा प्रयोग गरिन्थ्यो। हेर्नुहोस् प्रकाश २१:२ — “आफ्‍ना पतिका निम्ति सिँगारिएकीदुलहीझैं।” आफूलाई सिँगार्ने अर्थमा पनि प्रयोग गरिएको छ (१ तिमोथी २:९ — “आत्मसंयमसित सुहाउने वस्त्रले आफूलाई सिँगारून्” र १ पत्रुस ३:५ हेर्नुहोस्)। हाम्रा जीवनहरूले परमेश्वरको सत्यतालाई सुन्दर बनाउनुपर्छ। हामी जिउने तरिका देखेर अरूहरूले परमेश्वरको सत्यताको सुन्दरता देख्‍न सक्नुपर्छ। धेरै वर्ष अघिको कुरा हो, एकजना मिसनरीले चिनियाँ ख्रीष्टियनहरूको बारेमा यो बताए कि उनीहरूलाई जापानी बैङ्कका हाकिमहरूले सधैं नै काममा लिन चाहन्थे किनकि उनीहरूको इमानदारीता उत्कृष्ट थियो। उनीहरूले साँच्चै शिक्षालाई सिँगारे। जसरी स्त्रीहरूले आफूलाई राम्रा र आकर्षक देखाउन कस्मेटिक प्रयोग गर्छन्, त्यसरी नै विश्वासीले परमेश्वरको सत्यतालाई व्यवहारमा उतार्नुपर्छ ताकि परमेश्वर र उहाँको वचन सबैका सामु राम्रो र आकर्षक देखियोस्। जब हामीले आफ्‍ना जीवनहरूलाई खाँटी, स्वस्थ शिक्षा अनुरूप बनाउँछौं हामीले बाइबललाई सुन्दर देखाउँछौं र ख्रीष्टिय सन्देशलाई अविश्वासीहरूका सामु आकर्षक देखाउँछौं” (वियर्स्बी)। “जसरी एउटा सुन्दर चित्रलाई सुहाउँदो फ्रेमले अझ सुन्दर बनाइदिन्छ त्यसरी नै हामीले ख्रीष्टिय शिक्षालाई आकर्षक बनाउँछौं यदि तिनको सामर्थ्य र सत्यतालाई हाम्रो जीवनमा प्रकट गर्‍यौं भने” (केन्ट)। हामी यसरी जिएका होऔं कि हामी परमेश्वरको सत्यतालाई सिँगार्ने गहना भएका हौं!

जब हामी आ-आफ्‍ना ठाउँमा आफ्‍ना जीवनहरूलाई परमेश्वरको सत्यतासित मेल खाने गरी व्यवस्थित गराउँदै जान्छौं तब परमेश्वरको सत्यता सिँगारिनेछ र उहाँको महान् नामका निम्ति त्यसको प्रभाव संसारभरि फैलिँदै जान्छ!

भक्तिको रहस्य