जीवन परिवर्तन नभएको नामधारीको भयानक अवस्था

जीवन परिवर्तन नभएको नामधारीको भयानक अवस्था
डेविड क्लाउड
जीवन परिवर्तन नभएको नामधारी सत्यता कहिल्यै नजानेको र दाबी नगरेको व्यक्तिको भन्दा भयानक अवस्थामा हुन्छ।
“किनकि प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पहिचानद्वारा तिनीहरू संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे, र हारे भने तिनीहरूको पछिल्लो अवस्थाचाहिँ अघिल्लोभन्दा खराब हुन्छ। किनकि धार्मिकताको बाटो जानेपछि तिनीहरूलाई सुम्पिएको पवित्र आज्ञाबाट फर्कनुभन्दा त यसलाई नजान्नु नै तिनीहरूका निम्ति असल हुनेथ्यो। तर यस सत्य उखानमुताबिक तिनीहरूलाई भएको छ: ‘कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो, र नुहाइएको भुनी फेरि आहाल खेल्न फर्क्यो।” (२ पत्रूस २:२०-२२)
वर्तमान समयका इसाई प्रचारकहरूको भन्दा पत्रुसको चेताउनी कति भिन्न छ। उनले नामधारी विश्वासीहरूको कुनै आशा नभएको कुरा मात्र देखाएनन्, तर यस्ता मानिसहरूले बरु सत्यताको बारेमा कहिल्यै नसुनेको भए नै असल हुनेथ्यो भनी भने।
यसको अर्थ पत्रुसले विश्वासीहरूको अनन्त सुरक्षामा विश्वास गर्दैनथे भन्ने होइन। १ पत्रूस १:२-५ मा उनले विश्वासीहरू परमेश्वरको पूर्वज्ञानअनुसार चुनिएका, येशू ख्रीष्टको रगतको छिट्काउ परेका, बौरिउठाइको एउटा जिउँदो आशाका निम्ति नयाँ गरी जन्मिएका, स्वर्गमा सुरक्षित राखिएको निश्चित पैतृक-सम्पत्तिका हकवालाहरू हुन् भनी सिकाएका छन्। त्यो निश्चित अहोदा हो! विश्वासीहरू परमेश्वरको शक्तिले सुरक्षित राखिएका छन् भनी उनले भन्छन्। विश्वासीहरू स्वर्ग पुग्नेछन् भन्ने कुरामा कुनै शङ्का छैन।
तरैपनि यिनै प्रेरितले बाइबलीय मुक्तिको प्रमाण नदिने व्यक्तिलाई त्यस्तो सुरक्षा छ भनी बताउँदैनन्। उनले संसारको दुर्गन्धमा फेरि फर्केर जाने व्यक्तिलाई कुनै सुरक्षा छ भनी बताउँदैनन्, किनभने त्यो व्यक्तिले ऊ कहिल्यै पनि नयाँ गरी जन्मेको छैन भनी देखाउँछ।
पत्रुसले हामीलाई सम्झना गराउँछन् कि जीवन परिवर्तन नभएको नामधारी एउटा सुँगुर जस्तै हो, जो नुहाइएपछि पनि, आहाल खेल्न फर्किन्छ। सुँगुर हिलोमा फर्किन्छ किनभने उसको बाहिरी स्नानले उसको सुँगुर स्वभावलाई परिवर्तन गरेको छैन। नामधारी ख्रीष्टियन उसको पापपूर्ण जीवनमा फर्किन्छ, वा पापपूर्ण जीवनलाई कहिल्यै त्याग्दैन, किनभने उसको स्वभाव परिवर्तन नै भएको छैन, कारण उसले नयाँ जन्म पाएकै छैन।
माथि अध्ययन गरिएका पाँच बुँदाहरूमा उल्लेखित शास्त्रका पदहरूलाई सरल ढङ्गले हेर्ने हो भने, ती पदहरूले जीवन परिवर्तन नभएको नामधारीलाई मुक्तिको थोरै आशा पनि दिँदैन। यस्ता कुराहरू कहिले काहिँ मानवीय दृष्टिकोणबाट न्याय गर्न कठिन हुन्छ, विशेष गरी नयाँ वा पछि हटेका विश्वासीहरूको सवालमा, तर बाइबलले सिकाउँछ कि उनीहरूमा केही परिवर्तन त हुन्छ नै। मुक्तिले सँधै भिन्नता ल्याउँछ। मुक्तिले फरक पार्छ।
परिवर्तन कत्तिको ठूलो हुन्छ?
साँचो विश्वासीले खासै ठूलो परिवर्तन नदेखाउन सम्भव छ। २ पत्रुस १ अध्यायले नयाँ विश्वासी ठीकसँग आत्मिक रूपमा हुर्कन विफल हुने अनि त्यसपछि उसले मुक्ति पाएको कुरा नै बिर्सन सक्ने सम्भावना छ भनी देखाउँछ। हामीले पहिल्यै अध्ययन गरिसकेका शास्त्रहरूमुताबिक, यदि यस्तो अवस्था हो भने पनि त्यहाँ मुक्तिको स्पष्ट प्रमाण हुन्छ। त्यहाँ अवश्य पनि परिवर्तन हुनेछ।
उदाहरणको निम्ति लूतलाई लिनुहोस्। तिनले आफ्नो जीवनमा निकै मूर्ख निर्णयहरू गरे। तिनले परमेश्वरको इच्छालाई भन्दा बढी संसारलाई प्रेम गरे अनि संसारका आनन्दहरू र इनामहरूलाई रोजे। फलस्वरूप, तिनले आफ्नो सम्पूर्ण परिवारलाई संसारमै गुमाए। तिनले आफ्नो गवाही र साक्षीको सामर्थ्यलाई गुमाए। तिनले आफ्नो जीवन व्यर्थैमा खेर फाले। तरैपनि, नयाँ नियममा उल्लेखित खण्डहरू अनुसार हामी जान्दछौं कि लूत मुक्ति पाएका मानिस थिए। २ पत्रूस २:७-८ ले लूतलाई “धर्मी” भन्दछ र उसित धर्मी मन थियो भनी भन्दछ जुन मनचाहिँ सदोमका चालचलनको कारणले विरक्त भएको थियो।
लूतले मुक्तिको प्रमाण देखाएका थिए भन्ने स्पष्ट छ। उनका सदोमका ती हराएका, मूर्ती पूजक छिमेकीहरू भन्दा सत्य परमेश्वरतर्फ उनको बेग्लै व्यहोरा थियो। परमेश्वरका सन्देशवाहकहरूका निम्ति उनको प्रेम थियो, जुनचाहिँ उनले स्वर्गदुतहरूलाई स्वागत गर्दा प्रमाणित भयो। परमेश्वरको वचनप्रति उनको डर थियो, जुनचाहिँ स्वर्गदुतहरूद्वारा चेतावनी दिइँदा उनको व्यवहारबाट देखियो। लूतले उनी जिउनु पर्ने तरिकाले जिएनन्, तर आफ्नो मुक्तिको प्रमाण थुप्रै तरिकाहरूबाट उनले दिए। जीवन परिवर्तन नभएको नामधारीभन्दा उनी धेरै भिन्न थिए।
सुसमाचार प्रचारकहरूको लूतजस्ता धेरै मानिसहरूसँग जम्काभेट हुन्छ। उनीहरूले मुक्ति पाएका छन् भन्नलाई धेरै कारणहरू छन्, तरैपनि उनीहरू परमेश्वरको इच्छाभन्दा निकै टाढा छन्। उनीहरूसँग कसरी व्यवहार गर्नुपर्छ? के सुसमाचार प्रचारकले “परमेश्वरको महिमा होस् तपाईँले मुक्ति पाउनुभएको छ” भनेर त्यत्तिकैमा छोडिदिने?
मुक्ति पाएका तर पाप र सांसारिकपनामा जीवन बिताइरहेका मानिसहरूलाई परमेश्वरको के सन्देश छ?