स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरू

स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरू

 

स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरूको निम्न लिखित विस्तृत अध्ययनले पाप र संसारिकपनामा जीवन बिताइरहेका साँचो विश्वासीहरूको बारेमा बाइबलले के भन्छ भनी जान्न हामीलाई मद्दत गर्नेछ:

परमेश्वरसितको टुटेको सङ्गति

ख्रीष्टियन जीवनका आशिषहरू असिमित छन्, तर तीमध्ये एउटा चाहिँ ती अरु सबै एकमुष्ठ राखिएको बाँकी आशिषहरू भन्दा पनि धेरै मुल्यवान छ, र त्योचाहिँ ख्रीष्टमा परमेश्वरसितको सङ्गति हो। मुक्ति पाएको मानिस दिन व दिन र हरेक पल पलमा परमेश्वरसित हिँड्न र कुरा गर्न सक्छ। येशू ख्रीष्टको रगतले उसको आत्मा र परमेश्वरको बीच पापको कारणले एक समयमा रहेको त्यो ठूलो खाँदलाई सदाको निम्ति हटाइदिएको छ। ख्रीष्टको रगतमा राखिएको विश्वासद्वारा, एउटा विश्वासी महान् र उदेकको परमेश्वरको उपस्थितिमा प्रवेश गर्छ।

समाजको नजरमा एउटा विश्वासी कुनै मूल्यको नहोला, तर ऊ महिमाको परमेश्वरसित हिँड्न सक्छ। मानिसहरूद्वारा ऊ दोष लगाइएको होला, घृणा गरिएको होला, तर ऊ परमेश्वरको आँखाको नानी हो, र उसले परमेश्वरको स्नेहमा न्यानोपन पाउँछ। एउटा ख्रीष्टियनको कुरा यस संसारका मान्यगन्यहरू मध्ये एउटैले पनि नसुन्लान्, तर राजाहरूका राजासित इच्छ्याएको बेला उसले बातचित गर्न सक्छ। एउटा विश्वासीले रोग-बिमार, गिल्ला र खिल्ली, गरिबी, र अन्य धेरै कष्टप्रद परीक्षाहरू सहनुपर्ने हुन सक्ला, तर परमेश्वरसित हिँड्ने मानिसले यो सिक्न सक्छ कि त्यस सङ्गतिमा आनन्द, शान्ति, मीठास र बुद्धि छ अनि सबै परीक्षाहरूको चरम तीतोपनलाई मत्थर पार्ने सामर्थ्य छ। एउटा ख्रीष्टियन मान्छेको साथ नपाएर एक्लो हुन सक्ला; उनको मित्रहरूले पनि उसलाई त्याग्लान्, तर उसलाई थाहा छ कि उसित एकजना साथी छन् जो भाइभन्दा पनि बढी नजिकमा टाँसिन्छन्।

परमेश्वरसित सङ्गति गर्नु कत्रो सम्पत्ति! र यो सम्पत्ति येशू ख्रीष्टद्वारा पाइएको हो। बहुमूल्य प्रभु येशू, महिमाको परमेश्वर, मानिसहरूको आनन्द, इनामहरूको पनि इनाम, विश्वासीहरूको हिस्सा हुनुहुन्छ। उहाँ विश्वासीहरूका, र विश्वासीहरू उहाँका हुन्। एउटा ख्रीष्टियन उहाँकै शरीरका, उहाँकै मासुका, उहाँकै हड्डीहरूका अङ्ग हो (एफेसी ५:३०); यसरी परमेश्वर र विश्वासीबीच गहिरो सम्बन्ध हुन्छ।

ख्रीष्टमा यी सबै कुरा पाइसकेको भए तापनि; यस जीवनमा ख्रीष्टलाई आफ्नो हिस्सा बनाउन रोजेर मात्र एउटा विश्वासीले दैनिक रूपमा यी कुराहरूको आनन्द मनाउन सक्छ। एउटा विश्वासीले ज्योतिमा हिँड्न, खुरन्धार परमेश्वरको इच्छा पछ्याउन, आफ्नो पापहरू स्वीकार गर्न रोज्नुपर्छ, नत्रता परमेश्वरसँगको सङ्गतिमा रमाउन ऊ विफल हुन्छ जसको निम्ति उसले छुटकारा पाएको थियो।

परमेश्वरसँको सङ्गतिमा नहिँडेर, विश्वासीले माथि उल्लेखित आनन्दहरू र यावत थोकहरू गुमाइरहेको हुन्छ। परमेश्वरसँग टुटेको सङ्गति चाहिँ कमजोर, रोकिएको प्रार्थना, आत्मिक अगुवाइको अभाव, पाप र शैतानमाथि सामर्थ्यको अभाव, आत्मिक समझदारी र इच्छामा अभाव इत्यादि कुराहरूमा प्रकट हुन्छ। कत्रो नोक्सान!

जीवनमा सबैभन्दा बहुमूल्य आशिष नै ख्रीष्टमा परमेश्वरसँगको सङ्गति हो। परमेश्वरको सन्तानको सबैभन्दा धन्य हिस्सा एउटा विश्वासीको निम्ति गुमेको हुन्छ जसले स्वीकार नगरेको पापमा र संसारिकपनामा जीवन बिताएको हुन्छ।

परमेश्वरको ताडनाको हात

परमेश्वरका सन्तानहरू पापमा जीवन बिताइरहेको बेला उहाँ चुपचाप बस्नुहुँदैन। उहाँको सिद्ध इच्छामा ल्याउन उहाँले प्रभावशाली कदमहरू चाल्नुहुन्छ। उहाँले पवित्र शास्त्रहरूबाट हप्काउनुहुन्छ (२ तिमोथी २:२५; ३:१६)। उहाँले शैतानबाट क्लेशहरू आउन दिनुहुन्छ (१ तिमोथी १:२०)। उहाँले रोगहरूद्वारा र दैनिक जीवनका परिस्थितिहरूद्वारा ताडना दिनुहुन्छ (भजनसङ्ग्रह ३८:१-८)। कुनै अवस्थाहरूमा, उहाँले मृत्युद्वारा पनि ताडना दिनुहुन्छ (१ कोरिन्थी ११:३०)। पापमा लागिरहेको जनहरूसँग परमेश्वरले कडा व्यवहार गर्नुहुन्छ, र हाम्रो जीवनमा परमेश्वरको बाहुलीलाई चिनेर अनि स्वीकारद्वारा र आज्ञाकारीताद्वारा उहाँलाई प्रतिक्रिया दिएर हामीले असल गर्दछौं।

“म तिमीलाई शिक्षा दिनेछु; अनि तिमीले कुन मार्गमा चल्नुपर्ने हो, सो तिमीलाई सिकाउनेछु; म मेरो आँखाले तिमीलाई अगुवाइ गर्नेछु। तिमीहरू समझ नभएको घोडा वा खच्चरजस्ता नहोओ, जसको मुख लगाम र करेलीले रोक्नुपर्छ, नत्र ती तिम्रा नजिकमा आउँछन्।” (भजनसङ्ग्रह ३२:८,९)।

सेवा गर्ने र फल फलाउने अवसरहरू पुनर्स्थापित हुन नसक्ने गरी गुम्नु

परमेश्वरको इच्छाभन्दा बाहिर बिताएको जीवन एउटा ठूलो नोक्सानि हो! परमेश्वरको सेवाको निम्ति प्रयोग गर्न सकिने बहुमूल्य घडीहरू व्यर्थमा खेर गएका छन्। परमेश्वरलाई समर्पित गर्न सकिने र विकास गर्न सकिने मूल्यवान दानहरू व्यर्थमा गुमाइएका छन्। परमेश्वरको निम्ति परिवर्तन हुन सक्ने जीवनहरू अपरिवर्तित नै रहेका छन्। पाउन सकिने आशिषहरू, इनामहरू, र आनन्दहरू सँधैको निम्ति पाप र सांसारिकपनाको वेदीमा बलि चढाइएका छन्। गुमाइएका अवसरहरूको सबैभन्दा दुःखलाग्दो भागचाहिँ सायद यही हो: ती फेरी कहिल्यै प्राप्त गर्न सकिनै छैनन्। ती सँधैको निम्ति गुमाइएका छन्। यही जीवनमा मात्र हामी ख्रीष्टको सेवामा प्रवेश गर्न सक्दछौं र हराएकाहरूलाई सुसमाचार प्रचार गर्न सक्दछौं। यही जीवनमा मात्र हामी दुष्ट र विरोधी संसारमा परमेश्वर र सत्यताको निम्ति खडा हुन सक्छौं। यही जीवनमा मात्र येशू ख्रीष्टको महिमाको निम्ति पापहरूको सामना गर्न हामीले रोज्न सक्छौं।

ख्रीष्टको न्यायआसनका सामु लेखा बुझाउनुपर्ने दिन

लापर्वाह ख्रीष्टियनको निम्ति ख्रीष्टको न्यायआसनमा के राखिएको हुन्छ? परमेश्वरको महिमाको खातिर प्राप्त गर्न सकिने इनाम र आशिषहरू गुमाइनेछ (१ कोरिन्थी ३:११-१५)। धन गुमाइनेछ (१ तिमोथी ६:१७-१९)। शर्ममा पर्नुपर्नेछ (१ यूहन्ना २:२८)। शारीरिक जीवनले प्रभु येशूलाई पुर्याइएको अनादरको कारणले पीडा हुनेछ।

परमेश्वरको सिद्ध इच्छालाई वेवास्ता गर्नु अनि त्यसपछि पवित्र जनहरू र स्वर्गदुतहरूको उपस्थितिमा ख्रीष्टको न्यायआसनको सामु उभिनु, र विद्रोहमा अनि परमेश्वरको इच्छा विपरीत जीवन बिताएको हुनाले र त्यसैकारण सांसारिक जीवनमा शैतानको कुरालाई बढावा दिएको हुनाले इन्साफको कारण शर्ममा पर्नु कस्तो भयानक कुरा हो।

त्यसैले हराएका होऊन् वा मुक्ति पाएका, लापर्वाह नामधारीहरूलाई उनीहरूको स्वेच्छाचारीपनामा ढुक्क हुन दिनुहुँदैन। आत्मिक बेवास्ताको विरुद्धमा एउटा असल प्रचारकले तुरही बजाउनै पर्छ।

जोहरूले परिवर्तन भएको जीवनको प्रमाण दिँदैनन् तिनीहरू हराएका हुन्छन् र अनन्त दण्डको निम्ति बाँधिएका हुन्छन्। यदि तिनीहरूले मुक्ति पाएका छन् तर आत्मिकरूपमा नबढेका पुड्काहरू हुन् भने, उनीहरूले स्वेच्छाचारी ख्रीष्टियानको सन्तापहरू सहनेछन्।

प्रचारकहरू एउटा व्यक्ति हराएको वा शारीरिक अवस्थामा उभिरहेको छ कि छैन भनी खुट्याउन परमेश्वरको बुद्धिले भरिपूर्ण हुनुपर्छ र त्यस समस्यालाई बाइबलीय चुनौती दिन तयार हुनुपर्छ।

Print Friendly, PDF & Email