दर्शनका दाबीहरूदेखि होशियार

आफूहरूले येशूलाई आमने सामने देखेको दाबी गर्नु पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूका निम्ति असामान्य कुरो होइन। दाबी गरिए अनुसार उहाँ निम्न व्यक्तिहरूद्वारा देखिनुभएको छः विलियम ब्रानहाम, केनेथ हेगिन, पावल कैन, पावल (डेविड) योङ्गि चो, केनेथ कोपल्याण्ड, बेनी हीन, चार्ल्स र फ्रान्सिस हन्टर, टी. एल. र डेजी ओस्बोर्न, मोरीस सेरूल्लो, जेस्सी डुप्लान्टिस् लगायत थुप्रै अरू।
Write Your Own Ticket with God शीर्षक गरेको आफ्नो पुस्तकमा केनेथ हेगिनले यो दाबी गर्दछ कि येशू उसकहाँ देखा पर्नुभयो र उसलाई चार खुड्किलाहरूको प्रकाश दिनुभयो जसद्वारा “जोकोहीले, जहाँसुकै, जुनसुकै कुरा मबाट वा परमेश्वर पिताबाट प्राप्त गर्न सक्छ।”
कोरियाको सोलस्थित विश्वकै सबभन्दा ठूलो मण्डलीको पास्टर डेविड योङ्गी चो (David Yonggi Cho) ले यो दाबी गर्दछ कि प्रचार गर्ने बोलावट उसले येशू ख्रीष्टबाटै व्यक्तिगत रूपमा प्राप्त गर्यो जो उसको दाबीअनुसार एक वारुणकर्मी (आगो निभाउने व्यक्ति) का रूपमा उसकहाँ देखा पर्नुभयो (Paul Yonggi Cho,” Dictionary of Pentecostal and Charismatic Movements).
टी. एल. र डेजी ओस्बोर्न (T.L. & Daisy Osborne) ले यो दाबी गर्छन् कि येशू ख्रीष्ट व्यक्तिगत रूपमा उनीहरूकै घरमा उनीहरूको प्रत्येक क्रूसेडको समय पारेर कम्तिमा पनि एक-एक पटक देखा पर्नुभएको थियो (Gospel According to T.L. & Daisy, pp. 19,20).
बेनी हीन (Benny Hinn) ले येशूलाई धेरै पटक देखेको दाबी गर्दछ। ट्रिनिटी ब्रोडकास्टिङ् नेटवर्कको “प्रेज द लोर्ड” कार्यक्रममा मई २, २००० मा हीनले यो दाबी गर्यो कि येशू चाँडै मुस्लिम र ख्रीष्टियन सभाहरूमा देखा पर्नुहुनेछ र धेरैले उहाँलाई देख्नेछन्। त्यही कार्यक्रममा रूथ हेफ्लीनले यो भविष्यवाणी गरी कि येशू चाँडै बेनी हीनसित मञ्चमा देखा पर्नुहुनेछ।
रोबर्टस् लेयरडन (Roberts Lairdon) को यो दाबी गरेको छ कि ऊ ११ वर्ष पुग्दासम्म उसले येशूलाई तीन-तीन पटक देखिसकेको थियो। तेस्रो पटक चाहिँ लेयरडनले टेलिभिजनमा “लाभरीन र शर्ली” नाम गरेको अमेरिकी हास्यव्यङ्ग कार्यक्रम हेर्दै गर्दा येशू घरभित्र छिर्नुभयो। छोटो कुराकानीपछि, लेयरडन भन्छ, “उहाँ उठ्नुभयो, ढोकाबाट बाहिर निस्कनुभयो, टेलिभिजन आफै फेरि चालु भयो, र म फेरि “लाभरीन र शर्ली” हेर्नतिर लागें” (Lairdon, I Saw Heaven, Tulsa: Harrison House, 1983, p.26)। लेयरडनको यो दाबी छ कि येशू हास्नुहुँदा उहाँले “जीउलाई पछाडिसम्म तन्काएर ठूलो आवाजले हाँस्नुहुन्छ, मानूँ यस्तो लाग्छ कि उहाँ त हाँस्दा हाँस्दै ढल्नुहुनेछ, उहाँ त्यसमा यतिसम्म लीन बन्नुहुन्छ” (Ibid, p.20)।
लेयरडनले सबैभन्दा धेरै हाँस्ने येशूलाई देखेको होला तर ओरल रबर्ट्स (Oral Roberts) ले जस्तो अल्गो येशूलाई त कसैले देखेको छैन। सन् १९८० मा रोबर्ट्सले यो दाबी गर्यो कि एक ९०० फूट अल्गो येशूले उसलाई यो भन्नुभयो कि उहाँले उसको आर्थिक समस्याहरूलाई हटाउनुहुनेछ र उसको सीटी अफ फेथ नामक मेडिकल सेन्टरलाई जातिजातिहरूको चङ्गाइको निम्ति प्रयोग गर्नुहुनेछ। (सन् १९८९ मा उक्त सेन्टरलाई पैसाको अभावले बन्द गर्न ओरल रोबर्ट्सलाई बाध्यो बनायो।)
बाइबलले के भन्दछ?
उपर्युक्त व्यक्तिहरूमध्ये कसैले पनि येशू ख्रीष्टलाई देखेको म विश्वास गर्दिनँ। बौरिउठ्नुभएको ख्रीष्टलाई देखेको हुनु भनेको प्रेरित हुनुको एउटा योग्यता थियो। पावलले भने, “के म प्रेरित होइनँ? के म स्वतन्त्र छैनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैनँ?” (१ कोरिन्थी ९:१)।
पावलले १ कोरिन्थी १५:५-७ मा ख्रीष्टलाई उहाँको बौरिउठाइपछि देखेका व्यक्तिहरूको सूची प्रस्तुत गर्दछन् अनि उनले आफूलाई सूचीको अन्तमा राख्छन्। “अनि सबैभन्दा पछि उहाँ मकहाँ पनि देखा पर्नुभयो — मानूँ समय पूरा नभई जन्मेको मान्छेकहाँ पनि देखा पर्नुभयो” (१ कोरिन्थी १५:८)। पावलले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेका समयदेखि कोरिन्थलाई यस पहिलो पत्र लेखेका समय आइपुग्दासम्म लगभग २५ वर्ष बितिसकेको थियो तर पावलले यो भन्दछन् कि ख्रीष्टलाई देख्ने अन्तिम व्यक्ति उनी नै थिए। निसन्देह ऊबेलाको समयमा समेत येशू नियमित रूपमा यहाँत्यहाँ देखा पर्ने गरिरहनुभएको थिएन।
९६ एडी ताका पाटमोस टापुमा यूहन्नाले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेका कुरा हामीलाई थाह छ (प्रकाश १) जोचाहिँ लगभग अरू ४० वर्षपछिको कुरा थियो, तर यूहन्ना एक प्रेरित थिए अनि हामी यो विश्वास गर्दछौं कि यो नै अन्तिम पटक थियो जब ख्रीष्ट यस यूगमा मानिसकहाँ देखा पर्नुभयो।
पत्रुसले त्यसबेलाका ख्रीष्टियनहरूलाई लेखे र भने, “उहाँलाई नदेखीकन तिमीहरू प्रेम गर्दछौ; अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै आनन्द मनाउँछौ” (१ पत्रुस १:८)।
प्रभु येशू ख्रीष्टले दृष्टिलाई भन्दा विश्वासलाई तारिफ गर्नुभयो। “येशूले तिनलाई भन्नुभयोः थोमा, तिमीले मलाई देखेका हुनाले तिमीले विश्वास गरेका छौ; उनीहरू धन्य हुन्, जसले देखेका छैनन् तापनि विश्वास गरेका छन्” (यूहन्ना २०:२९)।
साभारः David Cloud, Pentecostal-Charismatic Movement: Its History and Error.