विश्वासीको अनन्त सुरक्षा (२)

विश्वासीको अनन्त सुरक्षा (२)
डेविड क्लाउड
पद कण्ठ: यूहन्ना १०:२७-२८; २ कोरिन्थी ५:१७; तीतस १:१६; १ यूहन्ना २:४
यस पाठमा हामी अनन्त सुरक्षासम्बन्धी अरू दुईटा प्रश्नहरूको जवाफ दिएर यस शिक्षाको अध्ययनलाई अझ अगाडि बढाउँछौं: पहिलो, के अनन्त सुरक्षाको शिक्षाको माने ख्रीष्टलाई मुखले स्वीकार गर्ने जोकोहीसँग पनि अनन्त जीवन हुन्छ भन्ने हो त? दोस्रो, के यसले मानिसहरूलाई लापरवाहीसँग जिउनलाई प्रोत्साहन दिन्छ?
के अनन्त सुरक्षाको शिक्षाको माने ख्रीष्टलाई मुखले स्वीकार गर्ने जोकोहीसँग पनि अनन्त जीवन हुन्छ भन्ने हो त?
होइन, अनन्त सुरक्षाको प्रतिज्ञा केवल मुक्ति पाएकाहरूका लागि मात्र हो, मुखले मात्र स्वीकार गर्ने नामधारीहरूका लागि होइन। मुक्तिले जहिले पनि व्यक्तिको जीवनलाई परिवर्तन गराउँछ।
१) मुक्तिका लागि पश्चात्ताप अनिवार्य छ (१ थेस्सलोनिकी १:९-१०)
मुक्ति पाउनलाई परमेश्वरले पश्चात्ताप अनिवार्य गरी माग गर्नुहुन्छ र पश्चात्ताप भनेको मनको यस्तो भयङ्कर परिवर्तन हो जसको फलस्वरूप जीवनको परिवर्तन हुन्छ। यसको माने परमेश्वरकहाँ आत्मसमर्पण गर्नु हो। जसले आत्मसमर्पण गरेको छैन उसले कहिल्यै मुक्ति पाएको छैन। थेस्सलोनिकाका विश्वासीहरूमा बाइबलीय पश्चात्तापको नमुना देख्न सक्छौं। उनीहरू “जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति मूर्तिहरूबाट परमेश्वरतर्फ फर्के” (१ थेस्सलोनिकी १:९)।
२) मुक्ति पाउन नयाँ जन्म अनिवार्य छ, र नयाँ जन्मले मान्छेको जीवनलाई परिवर्तन गराउँछ (२ कोरिन्थी ५:१७)।
येशूले भन्नुभयो, “तिमीहरूले नयाँ गरी जन्मनैपर्छ” (यूहन्ना ३:७) र नयाँ जन्म भनेको विश्वास गर्ने व्यक्तिका लागि परमेश्वरले गर्नुहुने एउटा ठूलो आश्चर्यकर्म हो। यो एउटा भयङ्कर ठूलो परिवर्तन हो, तर जोहरू आफूले ख्रीष्टलाई स्वीकार गर्नुभन्दा पहिला जस्तै गरी जिइरहेका छन् उनीहरू कहिल्यै नयाँ गरी जन्मेका पनि छैनन्।
३) मुक्ति पाएकाहरूले ख्रीष्टको स्वर सुन्छन् र उहाँलाई पछ्याउँछन् (यूहन्ना १०:२७-२९)
यस खण्डमा येशूले अनन्त जीवन प्राप्त गरेको एक साँचो विश्वासीको परिभाषा दिनुहुन्छ। येशूका भेडाले उहाँको स्वर सुन्छन्, माने उनीहरू उहाँको वचनलाई पालन गर्छन् अनि उनीहरू ख्रीष्टलाई पछ्याउँछन्, माने उनीहरू आफूलाई चेलाका रूपमा उहाँको अधीनमा सुम्पन्छन्। पद २८-२९ मा दिइएको प्रतिज्ञालाई पद २७ को प्रमाणदेखि अलग गर्न मिल्दैन।
४) जोसँग मुक्ति दिलाउने विश्वास छ ऊसँग विश्वासको साथसाथै पवित्र कामहरू पनि हुन्छन् (एफेसी २:८-१०)
एफेसी २:८-१० ले विश्वास र कामहरू बीचको ठीक सम्बन्धलाई बयान गर्दछ। मुक्ति दिलाउने चाहिँ विश्वासले हो र कामहरू मुक्तिका प्रतिफल हुन्। ख्रीष्टियन जीवनका कामहरू विश्वासीभित्र परमेश्वरले गर्नुभएका कामहरू हुन्, जसको कारण मान्छेलाई कुनै श्रेय जाँदैन। मुक्ति पाउनलाई विश्वासको साथमा कामहरूलाई समिश्रण गर्न खोज्नु चाहिँ झूटा सुसमाचार हो (रोमी ११:६)। तर अर्कोतिर यो पनि साँचो हो कि त्यहाँ मुक्ति दिलाउने विश्वास छ भने त्यसको साथमा पवित्र कामहरू पनि प्रतिफलस्वरूप हुनेछन्। याकूबले मानिसको दृष्टिकोणबाट देखिने ख्रीष्टियन जीवनलाई बयान गर्दछन् (याकूब २:१४-१७)। यदि कसैले आफूसँग विश्वास “छ” भन्छ भने तर उसको जीवनमा त्यसको कुनै प्रमाण देखाउँदैन भने ऊसँग मुक्ति दिलाउने किसिमको विश्वास पनि छैन।
५) बाइबलअनुसार साँचो विश्वासीहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् र आफूलाई शुद्ध पार्दछन् (१ यूहन्ना २:४; ३:२-३)।
१ यूहन्ना ३:२-३ मा परमेश्वरको वचनले बताउँछ, अनन्त जीवन पाएकाहरू ती हुन् जसले आफूहरूलाई शुद्ध पार्दछन्। पद २ को प्रतिज्ञालाई पद ३ को प्रमाणबाट अलग गर्न सकिन्न।
६) बाइबलले ख्रीष्टलाई स्वीकार गर्ने तर उहाँको आज्ञा नमान्नेहरूको बारेमा चेतावनी दिन्छ; तिनीहरू झूटा नामधारीहरू हुन् (तीतस १:१६)।
यदि कसैले आफू ख्रीष्टमा विश्वास राख्ने व्यक्ति हुँ भनेर दावी गर्छ तर उसको जीवनले त्यसको प्रमाण दिँदैन भने ऊ भ्रममा परेको छ। विश्वासको फलहीन स्वीकारले परमेश्वरबाटको अनन्त सुरक्षाका प्रतिज्ञाहरूलाई दाबी गर्न सक्दैन। यदि कुनै व्यक्तिले ख्रीष्टलाई स्वीकार गर्छ र पछि आफ्नो स्वीकारलाई परित्याग गर्छ भने उसले आफूले कहिल्यै मुक्ति नपाएको कुराको प्रमाण दिन्छ।
के अनन्त सुरक्षाको शिक्षाले मानिसहरूलाई लापरवाहीसँग जिउनलाई प्रोत्साहन दिन्छ?
अनन्त सुरक्षाको शिक्षामा विश्वास नगर्नेहरू भन्छन् कि यसले मानिसहरूलाई लापरवाहीसँग जिउन प्रोत्साहन दिन्छ। तर वास्तविकता ठीक उल्टो छ। मैले मेरो प्रचार कार्यको थालनी अमेरिकाको टेनसी राज्यको एउटा इलाकाबाट सुरु गरेको हुँ जहाँ केही शताब्दीदेखि नै मेथडिस्टहरूले प्रभुत्व जमाउँदै आएका छन्। मुक्ति गुमाउन सकिन्छ भन्ने शिक्षाले उक्त इलाकालाई आत्मिक रूपमा तहसनहस पारेको थियो। त्यो इलाका त्यस्ता व्यक्तिहरूले भरिएको थियो जोहरूले “ख्रीष्टियन जीवन जिउने कोशिस गरे” तर विफल भएर अब शैतानजस्तै जिइरहेका थिए।
१) बाइबलले सिकाउँछ कि परमेश्वरको अनुग्रहले विश्वासीहरूलाई धन्यवादले भरिएको हृदय लिएर परमेश्वरको सेवा गर्नलाई परिचालित गर्छ (रोमी २:४; एफेसी ३:१४-१९)। एउटा विश्वासीले उसप्रति ख्रीष्टमा भएको परमेश्वरको अथाह प्रेमलाई जति बुझ्दछ त्यति नै उसले परमेश्वरलाई खुशी पार्न चाहन्छ। बाइबलले भन्दछ, “हामी उहाँलाई प्रेम गर्दछौं किनभने उहाँले पहिला हामीलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)।
२) परमेश्वरको साँचो अनुग्रहले मानिसहरूलाई पवित्र जीवन बिताउन सिकाउँदछ (तीतस २:११-१४)।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।