ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

प्रभु येशू ख्रीष्टको बौरिउठाइ वास्तविक घटना हो जसलाई कसैले पनि आजसम्म झूटो साबित गर्न सकेको छैन। यो नै ख्रीष्टिय विश्वासको जग हो। यदि यसलाई झूटो साबित गर्न सकिएको भए ईसाइमत नष्ट हुनेथ्यो तर खुशीको कुरा येशू जीवित हुनुहुन्छ। उहाँले पापीहरूलाई बचाउँदैहुनुहुन्छ। यस अघि हामीले ख्रीष्टको बौरिउठाइका पहिलो दुई महान् प्रमाणहरूलाई हेरेका थियौं —
- सुसमाचारका वृत्तान्तहरूका चरित्र
- रित्तो चिहान
उपर्युक्त पृष्ठ यहाँ पाउनुहुनेछ।
अब तेस्रो महान् प्रमाणलाई हेर्नेछौं:
- परिवर्तित जीवनहरू
यूहन्ना २०:१९ — “यहूदीहरूको डरले गर्दा चेला भेला भएका” थिए।
यी चेलाहरूलाई त्रसित अवस्थाबाट बदलेर साहसी बनाउने कुनै न कुनै प्रभावशाली कुरा भएको हुनैपर्छ।
पत्रुसको गवाहीलाई विचार गर्नुहोस्
ख्रीष्टलाई गिरफ्तार गरिएको रातमा उहाँलाई इन्कार गरेपछि, पत्रुस एक हार खाएका, पराजित मानिस थिए। उनले आफ्नो माछा मार्ने पेशामा फर्कने अठोट गरे (यूहन्ना २१:३)। केही हप्तापछि त्यही मान्छे जसले क्रूसीकरणको ठीक अगाडि थोरै यहूदीहरूका सामु ख्रीष्टलाई इन्कार गरेका थिए उही मान्छेले पेन्टेकोस्टको दिनमा एउटा विशाल भीडलाई साहससाथ प्रचार गरे अनि ३,००० को मत परिवर्तन भयो। येशू मृत्युबाट बौरनुभएको छ भन्ने कुराले आफू पक्का भएका हुन् भन्ने कुरा बाहेक अरू कुन कुराले यति ठूलो परिवर्तन ल्याएको हुन सक्ला र?
येशूका अर्ध-भाइ याकूबको गवाहीलाई विचार गर्नुहोस्
उहाँको पार्थिव जीवनकालभरि येशूका भाइहरू उहाँका विरुद्धमा थिए (यूहन्ना ७:७), तर येशू मृत्युबाट बौरउनुभएपछि, याकूबले विश्वास गरे र यरूशलेमको मण्डलीमा अगुवा बने (प्रेरित १२:१७; १५:१३; २१:१८; गालती १:१९)। याकूबको मत परिवर्तन ख्रीष्ट बौरिउठ्नुभएपछि उनीकहाँ देखा पर्नुभएकोले भएको थियो (१ कोरिन्थी १५:७)।
पावलको गवाहीलाई विचार गर्नुहोस्
पावल, ख्रीष्टका तिक्त शत्रु, मत परिवर्तन भएर कसरी उनी ख्रीष्टका सबैभन्दा जोशीला अनुयायी बन्न पुगे? सांसारिक दृष्टिकोणबाट हेर्दा, ख्रीष्टका अनुयायी बनेर पावललाई फाइदा हुने कुनै कुरा थिएन, सबै कुरा गुमाउनु मात्र थियो। उनले यो स्वीकार गरे कि “अनेकौंलाई उछिन्दै म यहूदी-धर्ममा अघि बढें” (गलाती १:१४)। पावलले यो गवाही दिए कि उनलाई विश्वस्त पार्नुहुने चाहिँ बौरिउठ्नुभएका ख्रीष्ट हुनुहुन्थ्यो (प्रेरित २२:३-२१)।
एक जोशीलो फरिसी र यहूदीहरूका बीच ख्रीष्टका शत्रुहरूका नेताको स्थानमा रहेर, चेलाहरूले शरीर चोरेका हुन् भन्ने कथाको बारेमा पावलले सबै कुरा जान्न सक्थे। येशूको मृत शरीर कतै लुकाइएर राखिएको छ भन्ने कुरा उनले ठानेका भए, उनले बौरिउठाइलाई कहिल्यै विश्वास गर्ने थिएनन। उक्त कथालाई उनले पनि पत्याउँदैनथे भन्ने कुरा छर्लङ्ग देख्न सकिन्छ।
वकिल तथा न्यायधीशहरूका गवाहीलाई विचार गर्नुहोस्
थोमस शरलक (Thomas Sherlock) वकिल थिएनन् तर कानून विद्यमा तालीमप्राप्त थिए। उनी क्याम्ब्रीजमा शिक्षा हासिल गरेका चर्च अफ इङ्गल्याणडका एक ईश्वरशास्त्री थिए, अनि उनले एउटा प्रतिष्ठित ग्रन्थ लेखे जसमा उनले एउटा अड्डा अदालतको दृष्टिकोणबाट ख्रीष्टको बौरिउठाइको प्रमाणहरूलाई अनुसन्धान गर्दछन्। त्यसको शीर्षक रहेको छ The Trial of the Witnesses of the Resurrection of Jesus (1729).
साइमन ग्रीनलिफ (Simon Greenleaf) – हार्वर्ड विश्वविद्यालयका रोयल प्रोफेसर अनि अमेरिकाकै सबैभन्दा चर्चित कानूनविदमध्ये एक थिए। A Treatise on the Law of Evidence शीर्षक गरेको तीन ठेलीको रचनाका लेखक उनी नै थिए जुन रचना “अझै पनि कानूनी प्रकृया सम्बन्धी सम्पूर्ण साहित्यहरूमा प्रमाणहरू सम्बन्धी सबैभन्दा महान् सिङ्गो आधिकारिक पुस्तक मानिन्छ” (Wilbur Smith, Therefore Stand, 1972, p. 463). विस्तृत खोज गरेपछि उनले यस निर्षकर्षमा पुगे कि येशू ख्रीष्ट साँच्ची नै मृत्युबाट बौरिउठ्नुभएको हो। १८४६ मा उनले छापे An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice. प्रमाणिकरण सम्बन्धी न्यायलयहरूमा प्रचलित नियमहरूद्वारा सुसमाचारका चार लेखकहरूको जाँच।
“ख्रीष्टियमतले मानिसबाट यति मात्र माग राख्छ, कि उनीहरू आफैसित तर्कयुक्त व्यवहार गरून्; कि उनीहरूले ख्रीष्टियमतका प्रमाणहरूलाई अन्य कुराका प्रमाणहरूसित झैं व्यवहार गरून्; अनि उनीहरूले जसरी मानव न्यायलयहरूमा मानव कामकुरा र क्रियाकलापहरूको सवालमा गवाही दिइँदा जसरी सम्बन्धित् मानिसहरूसित व्यवहार गर्छन् त्यसरी नै व्यवहार गरी ख्रीष्टियमतका व्यक्तित्वहरू र गवाहीहरूलाई जाँचून् र न्याय गरून्। बौरिउठाइका गवाहीहरूलाई आफैसित तुलना गरिऊन्, परस्परमा तुलना गरिऊन् अनि वरिपरिका तथ्यहरू र परिस्थितिहरूसित तुलना गरिऊन्; अनि उनीहरूको गवाहीलाई केलाइयोस् मानौं त्यसलाई न्यायलयमा केलाइएको जस्तै गरीकन, विपक्षीको अडान लिएर, गवाहीलाई कर्कश रूपमा केरकार गरियोस्। यसरी ख्रीष्टियमतको प्रमाणहरूको जाँच गरियो भने, नतीजास्वरूप, तिनका इमानदारितामा, क्षमतामा र सत्यतामा निजलाई शङ्कारहित निश्चयता हुनेछ भन्ने कुरामा मलाई निर्धक्क विश्वास छ।” (An Examination of the Testimony of the Four Evangelists).
इङ्ल्याण्डका भूतपूर्व प्रधानन्यायधीश लर्ड डार्लिङ (Lord Darling) ले भने:
“येशूले आफू जो हुँ भनेर घोषणा गर्नुभयो त्यो हो कि होइन भन्ने कुराको समस्याको जड निश्चय पनि बौरिउठाइ सत्य हो कि होइन भन्ने कुरामा निर्भर हुनैपर्छ। त्यो सबैभन्दा महान् मुद्दाको सवालमा हामीलाई केवल विश्वास गर भनिएको छैन।
त्यसको पक्षमा जीवित सत्यताका रूपमा यति अत्यधिक प्रमाणहरू छन् — सकारात्मक, नकारात्मक, तथ्यात्मक र पारिस्थितिक — कि संसारमा कुनै पनि कुशल निर्णायक समितिले बौरिउठाइको बयान सत्य हो भनी फैसला गर्न चुक्नेथिएन।” (cited from Michael Green, Man Alive, 1969, p.54)
इङ्ल्याण्डका लर्ड चीफ जस्टिस प्रधानन्यायधीश लर्ड काल्डेकोट (Lord Caldecote) ले गवाही दिए:
“बौरिउठाइको पक्षमा, केवल विशुद्ध प्रमाणहरूकै विषय लिएर, एउटा खण्डन गर्न नसकिने नालिस (case) प्रस्तुत गर्न सकिन्छ। … जति पटक मैले ख्रीष्टिको बौरिउठाइको प्रमाणलाई जाँच पडताल गर्न खोजेको छु, त्यसले मलाई यो विवादरहित तथ्य हो भन्ने कुरा विश्वास गर्न प्रभावित पारेको छ” (cited by Irwin Linton, A Lawyer Examines the Bible, p. xxiv, xxv).
एडमण्ड ह्याच बेनेट (Edmund Hatch Bennet), २० वर्ष माथि Boston University School of Law का डिन थिए, साथै Massachusetts Probate Court का न्यायधीश थिए। In 1899 उनले The Four Gospels from a Lawyer’s Standpoint लेखे। उनले यसो भन्दै सुरु गर्छन्:
“कुनै धर्मनिष्ठ ख्रीष्टियन आस्था नराखीकनै, हाम्रा आफ्नै धार्मिक मनोभावहरूको सबै झुकावबाट स्वतन्त्र रहेर अनि अन्य कुनै पनि दस्तावेजहरूको वा अन्य कुनै ऐतिहासिक वृत्तान्तहरूको सत्यता वा असत्यतालाई निर्धारण गर्न जे-जस्ता सिद्धान्तहरू र जे-जस्ता परीक्षणहरू काममा लगाइन्छ तिनैलाई सुसमाचारका वृत्तान्तहरूमाथि लागु गरियो भने सुसमाचारका पुस्तकहरूमा बताइएको वृत्तान्तको सत्यता, केवल तर्क वितर्कको प्रक्रियाद्वारा, सन्तोषजनक रूपमा स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरालाई जाँचेर पत्ता लगाउने मेरो आफ्नै तर्फबाटको एउटा प्रयासको नतीजा नै यो लेख रहेको छ।”
बेनेटले निम्न तर्क राख्छन्:
“यी बयानहरू उल्लेखित क्रूसीकरणको धेरै समय नबित्दै प्रकाशन गर्न थालिएका थिए। त्यसबेला धेरैजना व्यक्तिहरू जीवितै थिए जोहरूले सुसमाचारका लेखकहरूका भनाइहरूलाई सजिलै खण्डन गर्न सक्थे यदि ती असत्य भएका भए। येशूका शत्रुहरू जीवितै थिए, सक्रिय नै थिए। शास्त्री र फरिसीहरू, पूजाहारी र लेवीहरूलाई, आफूहरूले खाएका उहाँका हप्कीका पीडाहरू, अझ पनि ताजै लागिरहेको थियो। त्यतिखेर प्रकाशित भएका बयानहरू पूर्ण रूपमा काल्पनिक कुरा भएका भए — हाम्रा प्रभुको अलौकिक जन्म, दागरहित जीवन, आश्चर्यकर्महरू, अवर्णनीय मरण, विस्मयकारी, बौरिउठाइ, महिमापूर्ण स्वर्गारोहण — यी सबै झूटा हुन् भनेर घोषणा गर्न उनीहरू स्वभावैले चाहने कुरा थियो, त्यसो गर्न समय अनुकूल थियो र सो गर्न उनीहरूलाई प्रेरणा पनि थियो। तर जहाँसम्म हामीलाई थाह छ, त्यतिखेर बाँचिरहेको एउटै व्यक्तिले यी वृत्तान्तहरूको विरोधमा प्रतिवादको एउटै शब्द निकालेन, अनि दुई हजार वर्षसम्म ती वृत्तान्तहरू असली इतिहासको रूपमा ग्रहण गरिएका छन् र त्यसरी नै व्यवहार गरिएका छन्।”
वाशिङ्गटन डीसीका एक न्यायधिवक्ता इर्वीन लिन्टन (Irwin Linton) जसले सर्वोच्च अदालतका सामु बहस गर्नुभएको छ, 1929 मा उहाँले A Lawyer Examines the Bible: An introduction to Christian Evidences प्रकाशित गर्नुभयो।
“वकिलहरूले सत्यबाट झूटलाई छुट्ट्याउने हेतुले नियमित रूपमा गवाहीहरूलाई छान्ने काम गर्छन्। यस पुस्तकको एउटा विशेष गुण यो हो कि यसले बाइबलको समर्थनमा रहेका गवाहीहरूलाई तौलने काम गर्दछ। लिन्टन भन्छन्, वकिलहरूले गवाहीहरूलाई, सतहमा देख्दा, मामूली विवरणका बारेमा सोध्छन् किनकि, कुनै झूटो गवाही छ भने त्यसको मुख्य रूपरेखा अगाडिबाटै मिलोमतो गरिएको हुन सक्छ, तर असङ्ख्य सानातीना मसीना विवरणहरूको सम्बन्धमा भने सकिन्न। बौरिउठाइका अभिलेखहरूका बीच सतही अन्तर्विरोध देखिएकोबाट यो प्रमाणित हुन्छ कि लेखकका बीच कुनै साँठ-गाँठ थिएन अनि ती सतही अन्तर्विरोधहरू समाधान गर्न सकिने तथ्यले ती गवाहीहरूको विश्वसनीयतालाई झन् बढाउँछ। यसकारण, बौरिउठाइ सम्बन्धी सुसमाचारका अभिलेखहरूका बीचका सतही अन्तर्विरोधहरू, घातक बन्ने कुरा त परै जाओस्, बरु उक्त घटनाको सच्चाईलाई समर्थन गर्ने कुरा बनेका छन्।”
आल्बर्ट रोपर (Albert Roper), University of Virginia law school मा शिक्षित Virginia का एक प्रख्यात अधिवक्ता थिए, एक समय Norfolk का मेयर पनि। उनले ख्रीष्टको बौरिउठाइको प्रमाण सम्बन्धी विस्तृत अनुसन्धान गरे, यो प्रश्न सोध्दै, “के कुनै एक समझदार व्यक्तिले बौरिउठाइको कथालाई स्वीकार गर्न सक्दछ?” उनको अनुसन्धानको अन्तमा उनको निष्कर्ष थियो, “के कुनै समझदार व्यक्तिले यति वजनदार गहकिला प्रमाणहरूलाई इन्कार गर्न सक्छ?” Did Jesus Rise from the Dead भन्ने किताब लेखे।
विज्ञानको यस युगमा आएर, मृत्युबाट स-शरीर बौरिउठाइमा कसरी विश्वास गर्न सकिन्छ र? के जीवशास्त्रको नियमअनुसार यो असम्भव कुरा होइन र?
यसमा शङ्कै छैन, प्राकृतिक र अवलोकनको दृष्टिले मृत्युबाटको बौरिउठाइ असम्भव कुरा हो, तर ख्रीष्टको बौरिउठाइ प्राकृतिक थिएन; यो एक ईश्वरीय आश्चर्यकर्म थियो। सृष्टिकर्ता आफैले सृष्टि गर्नुभएका प्राकृतिक कुराहरूद्वारा न सीमित हुनुहुन्छ न ता तिनको अधीनमा हुनुहुन्छ।
यदि प्रमाण यति बलियो छ भने किन सबैजनाले विश्वास गर्दैनन् त?
- धेरैले यी प्रमाणहरू सुनेकै छैनन्। मैले नेपालमा विश्वविद्यालयका सयौं विद्यार्थीवर्गलाई ख्रीष्टको बौरिउठाइको प्रचार गर्ने अवसर पाएको छु जोहरूले यसको बारेमा कहिल्यै सुनेका थिएनन्।
- धेरैजना जानाजानी अन्धा हुन्छन्; उनीहरू आश्चर्यकर्महरू विश्वास गर्न इन्कार गर्छन् (“अजान रहन चाहन्छन्” २ पत्रुस ३:५)।
- धेरैजना परमेश्वरको अधीनमा आफूलाई सुम्पन चाहँदैनन्। ली स्ट्रोबेल (Lee Strobel) ले एकजना चिनारुका सम्बन्धमा बताउँछन् जसले ख्रीष्टको बौरिउठाइको प्रमाण अत्यधिक भएको स्वीकार गरे तर विश्वास गर्न इन्कार गरे यो भन्दै, “म एक नयाँ मालिक चाहदिनँ।”
- धेरैजनाले विश्वास गरेका छन्। बाइबल संसारमै सबभन्दा प्रसिद्ध पुस्तक हो। सन् २०२० सालभित्रमा यसको कम्तीमा पनि एउटा भाग हरेक भाषामा उपलब्ध हुनेछ भनेर अपेक्षा गरिएको छ। यसले यसको लोकप्रियतालाई र धेरै-धेरै मानिसहरूले ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो भनेर विश्वास गर्छन् भन्ने तथ्यलाई बेजोडसाथ गवाही दिइरहेको छ।
निष्कर्ष:
- येशू ख्रीष्टको स-शरीर बौरिउठाइ सुसमाचारकै मुटु हो (१ कोरिन्थी १५:१-८) अनि हामीले हरेक व्यक्तिलाई प्रचार गर्नुपर्ने सुसमाचार यही हो (मर्कूस १६:१५)।
- सबै मानिसहरू बौरेर उठ्नेछन्, कि त अनन्त जीवनका लागि कि त अनन्त दण्डका लागि (यूहन्ना ५:२८-२९); प्रेरित २४:१५)। एक व्यक्तिको अनन्त गन्तव्य येशू ख्रीष्टसितको उसको सम्बन्धमा निर्भर हुन्छ। मानिसको अस्तित्व अनन्तको लागि हुन्छ अनि विश्वास नगर्दैमा उक्त वास्तविकतादेखि ऊ उम्कन सक्दैन।
“ख्रीष्टको बौरिउठाइको प्रमाण” को सारांश:
- ख्रीष्टले आफू परमेश्वरको पुत्र हुनुभएको दाबीलाई आफ्नो बौरिउठाइमा, मानौं, भर पर्ने तुल्याउनु भयो, पटकपटक यो व्यक्त गर्नुहुँदै कि उहाँ मारिनुहुनेछ र मरेकाबाट बौरेर उठ्नुहुनेछ।
- बौरिउठाइका तीनओटा प्रमाणहरू निम्न अनुसार छन्: पहिलो, सजीव विवरण र खरो चरित्र भएको सुसमाचारका वृत्तान्तहरू। दोस्रो, बौरिउठाइले मात्र कारण बताउन सकिने रित्तो चिहान। तेस्रो, परिवर्तित जीवनहरू, जस्तो पावलको, जसले मानवीय हिसाबमा येशू मरेकाबाट बौरनुभयो भनी दाबी गरेर केही पाउने कुरा थिएन, सबै गुमाउनु मात्र थियो।
ख्रीष्टको बौरिउठाइ सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- ख्रीष्टको बौरिउठाइका “अनेकौं अचूक प्रमाणहरू” छन् भनेर कुन पदले बताउँछ?
- येशू र बाइबल र इसाईमत खडा हुने वा ढल्ने कुरा ख्रीष्टको बौरिउठाइमै किन भर पर्छ?
- ख्रीष्टय विश्वास ख्रीष्टको बौरिउठाइको वास्तविकतामा निर्भर छ भन्ने कुरा पावलले कुन पुस्तकको कुन अध्यायमा गरे?
- ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू के के हुन्?
- येशूको चिहान रित्तो थियो भन्ने कुरा कुन दुईटा तथ्यले प्रमाणित गर्दछ?
- रित्तो चिहानको कारण बताउन प्रस्ताव गरिएका सात परिकल्पनाहरू के के हुन्?
- चिहानका रक्षकहरू मन्दिरका प्रहरी नभएर रोमी सिपाहीहरू थिए भन्ने कुराको दुईटा कारण के हुन्?
- येशू क्रूसमा केवल बेहोश मात्र हुनुभई पछि चिहानमा होश खुलेको हुनु कसरी असम्भव कुरा हो?
- बौरिउठ्नुभएको येशूलाई एक पटक पाँच सय भन्दा धेरैले देखे भन्ने कुरा कुन खण्डमा बताए?
- येशूको चिहानलाई पहरा दिएका सिपाहीहरू निदाउन पुगे भनेर सोच्नु किन तर्कसङ्गत छैन?
- येशूको शरीर चोरिएको हो भन्ने उनीहरूकै कथा यहूदी अगुवाहरू स्वयंले पनि विश्वास गर्दैनथे भन्ने कुरा कुन कुराले हामीलाई प्रकट गर्छ?
- येशू मृत्युबाट बौरिउठ्नुभयो भन्ने उनीहरूको गवाहीको खातिर सुरुका चेलाहरूले के कस्ता कष्ट भोगे?
- आफू केवल आत्मामा मात्र नभएर सशरीर बौरिउठ्नुभएको कुरा येशूले कसरी प्रमाणित गर्नुभयो?
- बौरिउठाइको अगाडि र पछाडिका पत्रुसका क्रियाकलापहरूले ख्रीष्ट बौरनुभएकै हो भनेर कसरी प्रमाणित गर्दछन?
- ख्रीष्ट बौरिउठ्नुभएको हो भन्ने कुराको गवाही दिएर मानवीय हिसाबमा पावललाई के फाइदा थियो?
- ख्रीष्टको बौरिउठाइको प्रमाणलाई अनुसन्धान गरेपछि त्यो एक इतिहासकै तथ्य हो भनेर घोषणा गर्ने तीनजना वकिल तथा न्यायधीशका नाम दिनुहोस्।
- बाइबललाई झूटा साबित गर्न खोज्दा विश्वासी बनेका तीनजना व्यक्तिका नाम दिनुहोस्।
- ख्रीष्टको बौरिउठाइमा किन मानिसहरूले विश्वास गर्दैनन्, चारओटा कारणहरू दिनुहोस्।
(साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)