बाइबलमा दाखमद्य

ब्रूस ल्याकी
१. बाइबलमा दाखमद्य शब्द प्रजातिगत शब्दावली हो: कहिलेकाहीँ यसले अङ्गुरको जुसलाई जनाउँछ; कहिलेकाहीँ यसले मदिराजन्य पेय पदार्थलाई जनाउँछ। निम्न पदहरुले “दाखमद्य” शब्दले ताजा अङ्गुरको जुस वा दाखको बोटको फललाई पनि जनाउँछ भनी प्रमाण दिँदछ: व्यवस्था ११:१४; २ इतिहास ३१:५; नहेम्याह १३:१५; हितोपदेश ३:१०; यशैया १६:१०; ६५:८; १ तिमोथी ५:२३।
२. यदि “दाखमद्य” शब्दले मदिराजन्य पेय पदार्थलाई जनाइरहेको छ भने उक्त कुरा जहिले पनि सन्दर्भले देखाउनेछ। यस्ता अवस्थाहरुमा, परमेश्वरले त्यसको खराब असरहरुको चर्चा गर्नुहुन्छ र यसको बिरुद्ध चेताउनी दिनुहुन्छ। यसको उदाहरण उत्पत्ति ९ मा जलप्रलय पश्चात नूहको अनुभव हो। २१ पद, “तिनले दाखमद्य पिए, र मत्त भए” ले स्पष्टसाथ देखाउँछ कि त्यो मदिराजन्य पेय पदार्थ थियो।
हितोपदेश २०:१ ले पनि यही कुरा बताउँछ र चेताउनी दिन्छ कि “दाखमद्यले गिज्याउँछ, र मदिराले झगडा मच्चाउँछ; अनि हरेक जो यी कुराद्वारा ठगिएको हुन्छ, त्यो बुद्धिमान होइन।” मदिराजन्य दाखमद्य धोकापूर्ण हुन्छ; तर कसरी? ठीक त्यसरी नै जसरी आज मानिसहरुले थोरै मात्र पियो भने यसले कुनै हानी गर्दैन भन्दै यसको पक्षमा तर्क दिन्छन्। अधिक मात्रामा पिउनु खराब हो भनेर सबैले स्वीकार गर्छन्; यहाँ सम्म कि मदिरा उत्पादन गर्ने कम्पनीहरुले पनि मदिरा पिएर गाडी नचलाउनु भन्छन्, तर थोरै मात्रामा पिए केही हुँदैन पनि भन्छन्। तरैपनि, यही नै धोकापूर्ण कुरा हो। कति मात्रालाई थोरै भनिन्छ भनेर कसलाई थाह छ र? हरेक मानिस एक-अर्काभन्दा भिन्न हुन्छन् भनी विज्ञहरु बताउँछन्। कसैलाई एकै घुट्कोले धेरै असर पार्छ भने अर्कोलाई थुप्रै नपिएसम्म असर पर्दैन। एउटै मान्छेलाई पनि उसले खाएको भोजनको अनुपात अनुसार मदिराले धेरै वा थोरै प्रभाव पार्ने गर्छ। तसर्थ, “थोरै मात्राले केही हुँदैन” भन्ने विचार धोकापूर्ण छ, र त्यसद्वारा धोका खाने कोही पनि बुद्धिमान हुँदैन!
हितोपदेश २३:३०-३१ मा भएको दाखमद्य मदिराजन्य दाखमद्य हो, किनभने त्यो भन्दा अगाडीको पदले बताउँदछ कि त्यो पिउने मानिस हाय, शोक, झगडा, व्यर्थको बकबक, बिनाकारणै पाइएका चोटहरु र रातो आँखाले भरिएको अवस्थापूर्ण हुन्छ। ३२-३५ पदहरुले सोही विवरणलाई विस्तार गरिरहेको छ; तसर्थ मदिराजन्य दाखमद्यको कुरा गरिएको हो भने जहिले पनि सन्दर्भले स्पष्ट पार्नेछ। “दाखमद्य” उल्लेख भएको ठाउँमा ताजा अङ्गुरको जुस वा मदिरा मध्ये कुनचाहिँको कुरा गरिएको हो भनेर कसरी थाह पाउन सक्छौं? सन्दर्भले नै अर्थको निर्धारण गर्दछ। ताजा अङ्गुरको जुस वा मदिरा मध्ये कुनचाहिँको कुरा गरिएको हो भन्ने कुरा हामीले सन्दर्भ पढेर थाह गर्न सक्छौं। हामीले माथि उल्लेखित पदहरुलाई त्यसरी नै अध्ययन गर्यौं।
३. मदिराजन्य दाखमद्य सेवनको विरुद्धमा पवित्रशास्त्रले चेताउनी दिँदछ। यस कुरामा बाइबल दुईमत छैन, चाहे त्यो पुरानो नियममा होस् वा नयाँ नियममा।
पहिले नै उल्लेख गरिएका दुई खण्डहरु, हितोपदेश २०:१ र २३:२९-३५, मदिरा सेवनको विरुद्धको बाइबलीय चेताउनीहरुका राम्रा उदाहरणहरु हुन्। हितोपदेश २३:३२ मा लेखिएको छ, “अन्त्यमा त्यसले सर्पले झैं ठुङ्छ, र साँभे साँपले झैं डस्छ।” ३३ पदले देखाउँदछ कि यसले एउटा मानिसलाई पराई स्त्रीलाई हेर्ने तुल्याउनेछ जो उसको पत्नी होइन, र साथै उसले यस्ता भ्रष्ट कुराहरु पनि बक्नेछ जुन कुराहरु यदि ऊ सचेत अवस्थामा भएको भए बोल्ने थिएन। ३४ पदले बताउँदछ कि मदिराको कारणले समुद्रको बीचमा लेट्ने मानिसझैं डुबेर उसको मृत्यु पनि हुन सक्छ र मस्तुलको टुप्पामा लेट्नेझैं उसमा एकलोपन आउनेछ। ३५ पदले चेताउनी दिन्छ कि ऊ केही महसुस गर्न नसक्ने हुनेछ (“तिनीहरुले मलाई कुटे तर त्यो मैले थाहै पाइनँ”) र उसलाई यस्तो नशाको लत नै बस्नेछ (“म कहिले बिउँझू? म फेरि त्यसको खोज गर्नेछु”)।
हितोपदेश ३१:४-५ मा सिकाइएको छ, “हे लमूएल, यो कुरा राजाहरुका लागि होइन, दाखमद्य पिउनु राजाहरुका लागि होइन, न ता मदिरा पिउनु नै शासकहरुका लागि हो; नत्र तिनीहरुले पिउलान्, र व्यवस्था बिर्सलान् अनि थिचोमिचोमा परेका सबैको न्याय बिगार्लान्।” खतरा स्पष्टै छ। भन्नुपर्दा, हितोपदेश ३१:६-७ ले पवित्रशास्त्रमा मदिराको एउटै मात्र न्यायोचित प्रयोगको बारेमा बताउँदछ। “नाश हुन लागेकोलाई मदिरा देऊ, र हृदयमा पीर भएकाहरुलाई दाखमद्य देऊ! त्यसले पिओस् र आफ्नो गरिबी बिर्सोस्, अनि आफ्नो पीर फेरि नसम्झोस्।” यो भनेको मदिरालाई चेतना शून्य गर्ने माध्यम वा दुखाइ कम गर्ने औषधीको रुपमा प्रयोग गर्नु हो। तर यो सबैको निम्ति प्रयोग गरिने होइन; ६ पदमा “नाश हुन लागेकोलाई” भनी बताइएको छ। निश्चय पनि त्यसबेलाका मानिसहरुसँग आजको जस्तो दुखाइ कम गर्ने औषधीहरु थिएन। आज हाम्रो समयमा, मदिराको यस्तो प्रयोग गर्नु आवश्यक छैन। मृत्युको नजिक भएकाहरुका निम्ति पीडा कम गर्ने थुप्रै औषधीहरु छन्। तर पहिलेका समयहरुमा, सामान्यतया मानिसहरुका निम्ति सजिलै पाइने कुरा भनेको कुनै प्रकारको मदिरा थियो। कतिले सोचे जस्तो मदिरा शक्तिवर्धक पदार्थ होइन, तर शक्ति घटाउने पदार्थ हो। केही मात्रामा पिए पछि पिउने मानिस झुम्म बन्छ; त्यसपछि ऊ बेहोस हुन्छ। त्यसैले यो खण्डले सिकाउँदछ कि मदिराजन्य दाखमद्य यस्तो मानिसको निम्ति मात्र हो जो मर्न लागेको छ र जसको जीवनमा कुनै आशा छैन। उसको निम्ति गर्न सकिने कुरा यति हो, उसको पीडा कम गराउनु र दु:ख बिर्सिन उसलाई सहायता गुर्न।
अर्को खण्ड हो यशैया ५:११। “धिक्कार तिनीहरुलाई, जो मदिराको पछि लाग्न एकाबिहानै उठ्छन्, र दाखमद्यले तिनीहरुलाई नरन्काउन्जेल बेलुकीपखसम्म पिउँदै बस्छन्!” निश्चय पनि यो मादक पदार्थ हो किनभने यसले रन्काउँछ। किन “धिक्कार तिनीहरुलाई” भनिएको हो? १२ पदमा जवाफ पाउँछौं, “… परमप्रभुको कामलाई तिनीहरु वास्ता गर्दैनन्, न ता उहाँका हातहरुको कार्यलाई नै विचार गर्दछन्।” मदिराजन्य पेय पदार्थ पिउने मानिस आत्मिक हुन सक्दैन र परमेश्वरको वचन सिक्न इच्छुक हुन सक्दैन भनी सबैलाई थाह भएको कुरा हो। तर यसको ठीक उल्टो, यसले मानिसलाई परमेश्वरलाई बेवास्ता गर्ने तुल्याउँछ। १३-१४ पदले अर्को दुई गम्भीर परिणामहरुको वयान गर्दछ: मानिसहरु कैदमा जान्छन् (कुनै वस्तु वा कुनै मानिसका दासहरु बन्छन्) र अधोलोकले वा नरकले आफैंलाई झन् ठूलो बनाएको छ! मदिरा सेवनले नरकलाई अझ ठूलो हुने तुल्याएको छ! एकजना पनि नरक गएको परमेश्वर चाहनुहुन्न; पापीहरुलाई यसबाट बचाउन उहाँले सबभन्दा ठूलो र सबभन्दा प्रिय दान दिनुभएको छ। उहाँले मानिसहरुका निम्ति भनेर कहिले पनि नरकको सृष्टि गर्नुभएन। नरक त शैतान र त्यसका दूतहरुका निम्ति बनाइएको हो भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ (मत्ती २५:४१)। तरैपनि, यस दुष्ट मदिराको कारणले नरकले आफैंलाई ठूलो बनाएको छ। तसर्थ यहाँ पनि मदिराको विरुद्धमा स्पष्ट चेताउनी दिइएको छ, किनभने एकजना पनि नरक गएको परमेश्वर चाहनुहुन्न।
यशैया २८:७, ८ ले यो चेताउनीलाई अझै निरन्तरता दिएको छ। “तर तिनीहरुचाहिँ दाखमद्यले गर्दा भड्किएका र मदिराले गर्दा कुबाटो लागेका छन्; पूजाहारी र भविष्यवक्ता मदिराको कारणले भड्किएका छन्; तिनीहरु दाखमद्यद्वारा निलिएका छन्; तिनीहरु मदिराको कारणले कुबाटो लागेका छन्; तिनीहरु दर्शनको सम्बन्धमा भड्किन्छन्; तिनीहरुले न्यायमा ठेस खान्छन्। किनकि सबै टेबलहरु बान्ता र फोहोरले भरिएका छन्, सुग्घर ठाउँ नै छैन।” कस्तो दु:खलाग्दो कुरा। यशैयाको दिनहरुमा समेत पूजाहारीहरु र भविष्यवक्ताहरु मदिराजन्य पेय पदार्थ पिउनमा लागिपरेका थिए! त्यसैले हामी यो देख्न सक्छौं कि प्रचारकहरुले मदिरा पिउने सल्लाह दिनु कुनै नौलो कुरा होइन। ख्रीष्ट आउनुभन्दा ६ सय वर्ष अगाडि नै यो दुष्ट मदिराले यहूदी धर्मभित्र आफ्नो बाटो बनाइसकेको थियो।
४. मदिराजन्य पेय पदार्थ प्राकृतिक प्रणालीबाट मात्र बन्छ भन्ने बिचार गलत हो। केही वर्ष अगाडीसम्म पनि मैले यही नै सोच्ने गर्दथे कि कुनै दाखको जुसलाई त्यतिकै छोडिएमा, केही समयपछि त्यो आफ से आफ मदिराजन्य पेय पदार्थमा परिणत हुन्छ। यो सत्य हुन सक्दैन भनेर प्रमाणित गर्न त्यहाँ केही तर्कहरु छन्। लामो समय भए मात्र मदिरा बन्छ भन्ने कुरा सत्य होइन। परमेश्वरले नै यो बनाउनुभएकोले यो राम्रो कुरा हो भनेर मदिराको सेवनलाई मानिसहरुले प्रतिरक्षा गर्न खोज्छन्। तर, बास्तवमा यो परमेश्वरले बनाउनुभएको होइन। आफैंले पत्ता लगाएका प्रकृयाहरुद्वारा मदिरा कसरी बनाउनुपर्छ भन्ने कुरा मानिसले सिकेकाछन्। मदिरा बनाउनेहरुलाई यो राम्ररी थाह छ कि मदिरा बनाउनलाई त्यहाँ ठीक मात्रामा पानी, चिनी र तापक्रम हुनु जरुरी हुन्छ। दाखको जुसलाई रेफ्रिजिरेटर (चिस्याउने मिशिन) मा राख्नाले त्यहाँ किण्वीकरण हुन सक्दैन, किनभने त्यसको निम्ति त्यहाँ तापक्रम ठीक हुँदैन। त्यस्तैगरी, तातो र निकै गर्मी तापक्रममा पनि किण्वीकरण हुन सक्दैन।
प्राचीन दिनहरुमा, रेफ्रिजिरेटर र भ्याकुम-सिलिङ्ग प्रविधि हुनुभन्दा पहिले नै, मानिसहरुले दाखको जुसलाई मदिराजन्य पेय पदार्थमा नबदली संरक्षण गर्न सिकेका थिए। धेरै मानिसहरुले यसलाई बाक्लो लेदो नहोउन्जेल उमाल्थे। त्यसो गरेर उनीहरुले त्यसलाई लामो समयसम्मका निम्ति संरक्षण गर्न सक्थे। जुस पिउनु परेमा उनीहरुले यसमा मात्रा मिलाएर पानी मिसाउँथे। बाइबलकालिन दिनहरुमा हरेक मानिसहरुलाई नियमित पेय पदार्थको रुपमा मदिरा नै पिउनु पर्ने बाध्यता थिएन।
५. येशूले मदिराजन्य दाखमद्य पिउनु भएन र बनाउनु भएन। पवित्रशास्त्रबाट दस ओटा प्रमाणहरु यस्ता छन्:
पहिलो कारण हो उहाँको पवित्र स्वभाव। हिब्रू ७:२६ मा हामी पढ्दछौं कि प्रभु येशू ख्रीष्ट “पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरुबाट अलग” हुनुहुन्छ। यसमा कुनै शंका छैन, शरीरमा आउनुभएको परमेश्वर हुनुभएकोले हाम्रा यी मुक्तिदाताको वरिपरि जोसुकैले पनि अवलोकन गर्न सक्ने पवित्र माहोल थियो। उदाहरणको निम्ति, येशूलाई पक्रन पठाइएका दुष्ट सिपाहीहरुले समेत उहाँलाई नपक्री फर्कनुको यस्तो कारण देखाए, “यस मानिसले जस्तो ता कुनै मान्छेले कहिल्यै बोलेको छैन”। येशूका वचनहरु भिन्न थिए; उहाँको व्यक्तित्व, चरित्र र बोली एकदम पवित्र थिए भन्ने कुरामा कुनै शंका छैन। प्रभु येशू ख्रीष्ट “पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरुबाट अलग” हुनु भएको हुनाले हामीले ढुक्क साथ यो मानिलिन सक्छौं कि उहाँले यस्तो कुनै वस्तु बनाउनुभएन जसलाई पवित्रशास्त्रलमा गिल्ला गर्ने, मानिसहरुलाई धोका दिने र अनगिन्ती दु:खहरुले मानिसको जीवन भरिदिने भनी भनिएको छ।
दोस्रो कारण: उहाँले पवित्रशास्त्रलाई भङ्ग गर्नुभएन। मत्ती ५:१७-१८ मा ख्रीष्टले यो स्पष्टसाथ भन्नुभयो, “मचाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरुलाई रद्द गर्न आएको हुँ भन्ने नसम्झ; म रद्द गर्न होइन, तर पूरा गर्न आएको हुँ। किनकि म तिमीहरुलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्नेछैन”। त्यसैले ख्रीष्टले हबक्कूक २:१५ लाई भङ्ग गर्नुभएको हुनै सक्दैन जहाँ यस्तो लेखिएको छ, “हाय त्यसलाई, जसले आफ्नो छिमेकीको नाङ्गोपना हेर्ने उद्देश्यले आफ्नो बोतल टक्राएर र त्यसलाई मात्ने समेत तुल्याएर त्यसलाई मदिरा पियाउँछ!”
निश्चय पनि यो पद बाइबलमा छ भनेर येशू जान्नुहुन्थ्यो। उहाँ पवित्रशास्त्रसँग राम्ररी परिचित हुनुहुन्थ्यो किनभने यो उहाँकै वचन हो र यो उहाँकै विषयमा लेखिएको थियो। उहाँ पवित्रशास्त्र भङ्ग गर्न आउनुभएन, तर पूरा गर्न आउनुभयो। यदि उहाँले मदिराजन्य दाखमद्य बनाउनुभएर आफ्नो छिमेकीलाई दिनुभएको भए उहाँले पवित्रशास्त्र पूरा गर्नुहुने थिएन।
कतिले यस सन्दर्भमा यो पद प्रयोग गर्न इन्कार गर्छन्। यो पद आफ्नो छिमेकीको नाङ्गोपना हेर्ने उद्देश्यले दाखमद्य दिने व्यक्तिहरुको निम्ति मात्र लागु हुन्छ भनी उनीहरु भन्दछन्। तर हामीले यो बुझ्नु आवश्यक छ: जब कुनै व्यक्तिले आफ्नो छिमेकीलाई यस्तो कुरा दिन्छ जसले उसलाई मत्त बनाउँछ, तब उसले आफैंलाई नाङ्गोपना हेर्ने उद्देश्यले त्यसो गर्ने मानिसहरुको सूचीमा राखिरहेको हुन्छ। र पवित्रशास्त्रले हामीलाई “दुष्टताको हरेक रुपबाट अलग बस” (१ थेस्सलोनिकी ५:२२) भन्ने आज्ञा दिएको हुनाले हामी यो निश्चित हुन सक्छौं कि प्रभु येशूले हबक्कूक २:१५ मा उल्लेख गरिएको जस्तो दुष्ट अभ्याससँग सम्बन्धित कुनै पनि काम गर्नु असम्भव छ। यही कारणले, कुनै पनि ख्रीष्टियन मदिराजन्य पदार्थ बेच्ने काममा सहभागी हुनुहुँदैन।
तेस्रो कारण लेवी १०:९-११ मा यो आज्ञा परमेश्वरका पूजाहारीहरुलाई दिइएको हो: “…दाखमद्य र मदिरा नपिउनू… फलस्वरुप तिमीहरुले पवित्र र अपवित्र, शुद्ध र अशुद्धको बीचमा भिन्नता राख्न सक; र तिमीहरुले इस्राएलीहरुलाई सबै विधिहरु सिकाउन सक, जो परमप्रभुले मोशाद्वारा तिनीहरुलाई भन्नुभएको छ।” अब, हिब्रू २:१७ ले ख्रीष्टलाई “दयालु र विश्वासयोग्य महापूजाहारी” भनेको हुनाले, उहाँले उक्त ओहोदासँग सम्बन्धित पूरै पवित्रशास्त्र पालन गर्नुभयो भनी हामी भन्न सक्छौं। यदि उहाँले मदिरा बनाउनुभएको र पिउनुभएको भए, उहाँ यी पदहरुप्रति अनाज्ञाकारी हुनुहुनेथियो र इस्राएलका सन्तानहरुलाई परमप्रभुको विधिहरु सिकाउनदेखि अयोग्य ठहरिनुहुने थियो।
चौथो कारण हामी अध्ययन गरिसकेको खण्डमा पाइन्छ: हितोपदेश ३१:४-५ ले राजाहरु र शासकहरुलाई मदिरा वा कुनै नशालु पेय पदार्थ पिउन मनाही गरेको छ। उनीहरुले त्यसो गरेमा, उनीहरुको न्याय भ्रष्ट हुनेथियो। ख्रीष्टले यी पदहरु पनि पालन गर्नु खाँचो नै थियो, किनभने उहाँ शान्तिको राजकुमार (यशैया ९:६) र राजाहरुका राजा (प्रकाश १९:१६) हुनुहुन्छ। मत्ती २७:११ मा, उहाँले आफू यहूदीहरुका राजा भएको स्वीकार गर्नुभयो। जकरिया ९:९ पूरा गर्न गधाको बच्चामा चढेर यरुशलेमभित्र प्रवेश गर्नुभयो; उक्त पदमा इस्राएलको राजा ठीक त्यसरी नै शहरभित्र प्रवेश गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। यसमा कुनै शंका छैन, उहाँ राजा हुनुहुन्छ र त्यसैले उहाँले हितोपदेश ३१:४-५ पालन गर्नुभयो।
पाँचौं कारण: ख्रीष्ट मानिसहरुलाई गिल्ला गर्न र धोका दिन आउनुभएन। हितोपदेश २०:१ ले बताउँछ कि मदिराले यो दुवै काम गर्छ। गिल्ला गर्न र धोका दिन होइन तर उहाँ त मुक्ति दिन आउनुभएको हो!
छैठौं कारण: उहाँ मानिसहरुलाई नरकमा पठाउन आउनुभएन। हामीले हेरिसक्यौं, यशैया ५:११-१४ ले सिकाउँछ कि मदिराजन्य पेय पदार्थको कारण नरकलाई अझै ठूलो बनाइनु पर्यो। ख्रीष्ट मानिसहरुलाई नरकमा पठाउन आउनुभएन। यूहन्ना ३:१७ ले के भन्दछ सुन्नुहोस: “किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।”
सातौं कारण: ख्रीष्ट कुनै पनि मानिसको निम्ति ठेस लाग्ने कारण बन्न आउनुभएन। रोमी १४:२१ ले सिकाउँदछ कि अरुलाई मदिराजन्य मद्य दिने मानिसले त्यही नै गर्दछ। “मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोट्दछ, वा कमजोर पारिँदछ।” मदिराको समस्याको बारेमा अध्ययन गर्ने जोसुकैले पनि यो सिकेको हुन्छ कि कोही-कोही व्यक्तिले मदिराको अलिकति मात्रा पनि सहन सक्दैन, जबकि अन्य मानिसहरुले सामाजिक जमघटको अवसर भनेर एक वा दुई पटक केही मात्रामा पिएर फेरी पिउन छोड्न सक्छन्। यस्तो किन हुन्छ भनेर विज्ञहरु जान्दैनन्; धेरै विचारहरु नआएका पनि होइनन् तर कुनै पनि एउटा विचार सबै मानिसको सवालमा सत्य प्रमाणित भएको छैन। कसैले भन्दछन् कि यो रसायनको कारणले हो; कसैले भन्छन् कि यसमा मनोभावनात्मक असर रहेको हुन्छ। सत्यता त यो हो कि हामीलाई निश्चित रुपमा जवाफ थाह छैन। कुनै एउटा समूहमा, त्यहाँ मद्यपानमा डुबेका मानिसहरु हुन पनि सक्छन्। मदिराको दास हुनु कति शर्म लाग्दो कुरा हो। अझ त्यस्तो व्यक्तिको निम्ति यो झन् शर्मलाग्दो कुरा हो जो पहिले मण्डलीमा आएर प्रभुको टेबलबाट स्वाद चाखेर पछि एउटा पियक्कडको चिहानतर्फ लैजाने दु:खपूर्ण बाटोमा लाग्दछ!
मेरो छोराछोरीहरुले मदिराको स्वाद पनि पाएको म चाहँदिन; नता उनीहरुले मण्डलीमा पनि यसको स्वाद पाएको नै म चाहन्छु। उनीहरु मध्ये कोही पनि निश्चय नै पियक्कड बन्न सक्छन्। यो प्रमाणित कुरा हो र यो सम्भव पनि छ कि आफ्नो चर्चको सेवकाइहरुमा मदिराजन्य दाखमद्य टक्राउने केही झुण्डहरुले पियक्कड पूजाहारीहरुको जमात पनि बनाउँछन्।
तर हामी यो कुरामा पूरै निश्चित हुन सक्छौं कि ख्रीष्ट अरुहरुलाई ठेस खुवाउन आउनु भएको होइन।
आठौं कारण: यूहन्ना २, पानीलाई दाखमद्यमा परिणत गरिएको आश्चर्यकर्ममा त्यहाँ मदिरा नै बनाइएको हुनुपर्छ भन्ने छैन। धेरै जनाले १० पदको आधारमा त्यो मदिरा नै थियो भन्दछन् जहाँ यस्तो लेखिएको छ, “हरेक मानिसले शुरुमा असल दाखमद्य टक्र्याउँछ, र मानिसहरुलाई मात लागेपछि कमसलचाहिँ; र तपाईंले ता अझसम्म असल दाखमद्य पो राखिछोड्नुभएको रहेछ।” उनीहरु भन्दछन् कि ती दिनहरुमा सर्वोत्तम मदिरा पहिला दिइन्थ्यो र धेरै पिएको कारणले मानिसहरुको स्वाद थाह पाउने क्षमता लाटो भइसकेपछि कमसल मदिरा दिइन्थ्यो। तर ख्याल गर्नुस्, यहाँ त ठीक उल्टो भइरहेको थियो! येशूले बनाउनुभएको दाखमद्य उनीहरुलाई पहिले दिइएको दाखमद्यभन्दा अझै असल छ भन्ने कुरा ती मानिसहरु निश्चित भइ जान्दथे। यदि उनीहरु पहिले नै मदिराको नशामा मत्त भइसकेको भए यसरी थाह पाउन सम्भव हुने थिएन। वास्तविकता यही हो, न उनीहरुले पहिले खाएको दाखमद्य मदिराजन्य थियो, न ता ख्रीष्टले बनाउनुभएको दाखमद्य नै मदिराजन्य थियो।
नवौं कारण बाइबलको यही खण्डमा भेट्टाउन सकिन्छ: नशाले मातेका मानिसहरुलाई झन मताएर प्रभु येशू ख्रीष्टले महिमा पाउनु हुने थिएन। ११ पद एकदम महत्त्वपूर्ण छ जहाँ लेखिएको छ कि यस आश्चर्यकर्मद्वारा येशू ख्रीष्टले “आफ्नो महिमा प्रकट गर्नुभयो।” १० पदबाट हामीलाई यो थाह हुन्छ कि ती मानिसहरु जुनसुकै किसिमको दाखमद्य खाइरहेको भए तापनि उनीहरु मत्त भइसकेका थिए। यदि उनीहरुले मदिरा खइरहेको भए, उनीहरु केही मात्रामा वा करिब पूरै नशामा डुबिसकेका हुनेथिए। अनि यदि ख्रीष्टले मदिराजन्य दाखमद्य बनाउनुभएको भए, उहाँले केही मात्रामा मातेका मानिसहरुलाई झन मताउनुहुनेथियो र करिब पूरै मातेकालाई अझ पूर्ण रुपमा मताउनुहुनेथियो! त्यस्तो कार्यले निश्चय पनि उहाँको कुनै पनि महिमा प्रकट हुने थिएन!
यही अध्यायले हामीलाई दसौं कारण पनि दिँदछ: नशामा मातेकालाई झन मताउने कार्यद्वारा उहाँका चेलाहरुले अझ दृढतासाथ उहाँमाथि विश्वास गर्न सक्दैन थिए, तरैपनि ११ पदले यही बताउँछ कि पानीलाई दाखमद्यमा बदल्ने उहाँको कार्यद्वारा “उहाँका चेलाहरुले उहाँमाथि विश्वास गरे।” यूहन्ना १:४१ पदले बताउँदछ कि उहाँ नै मसीह हुनुहुन्छ भनी उनीहरुले विश्वास गरिसकेका थिए; र यस आश्चर्यकर्मले उनीहरुको विश्वासलाई अझ गहिरो बनायो र उनीहरु आफ्नो विश्वासमा गलत छैनन् भन्ने प्रमाणित गर्यो। के नशाले मातिसकेको मान्छेलाई झन मताउने कार्यले यस्तो विश्वास गर्न प्रेरणा दिन्छ र? जवाफ निश्चय पनि यसको उल्टो हुन्छ! सित्तैंमा रक्सी बाँड्ने मसीहलाई उनीहरुले पर्खिरहेका थिएनन्! तसर्थ, यस आश्चर्यकर्मको विवरण र यसको परिणामद्वारा उक्त दाखमद्य मदिराजन्य थिएन भन्ने बाहेक हामी अर्को निश्कर्ष गर्न सक्दैनौं।
यस विषयलाई अन्त गर्ने क्रममा, हामी दुई ओटा कुराहरुलाई विचार गरौं। एउटा खण्ड जुन हामी अध्ययन गरिसक्यौं। रोमी १४:२१ ले स्पष्टसाथ सिकाउँछ कि ख्रीष्टियनहरु पूर्ण रुपमा अलग हुनुपर्छ किनभने “मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोट्दछ, वा कमजोर पारिँदछ।” केही मानिसहरु पियक्कड बन्न सक्छन् हामीले अध्ययन गरिसक्यौं। सामाजिक जमघटको अवसर भनेर मदिरा सेवन गर्नाले, एउटा मानिसले अर्को यस्तो मानिसलाई पिउन सुरु गर्न उत्साहित गराउन सक्छ जो पछि फेरी पिउनदेखि आफैंलाई रोक्न असक्षम बन्न सक्छ। मदिरा पिउनु सामान्य मानिने देशहरुमा गएका मिशनरीहरु र त्यहाँ घुम्न भनी गएकाहरुले यो कुरा ख्याल गर्नुपर्छ। त्यस्ता देशहरुमा मदिरा सेवन अनियन्त्रित ढङ्गले फैलिरहेको हुन सक्छ भन्ने कुरामा हामी सजग रहनुपर्छ। हामी पूरै अलग होऔं नत्रता हामी कुनै मानिसलाई पिउने कुरामा उत्साहित गराएर पियक्कड नै हुने बाटोमा धकेल्न सक्छौं।
अन्तिममा १ कोरिन्थी ६:९-१० लाई बिचार गरौं। यहाँ, मतवालापनले मानिसलाई नरकमा पठाउँछ भनी बाइबलले सिकाउँछ। “के यो तिमीहरुलाई थाह छैन? अधर्मीहरु परमेश्वरका राज्यका हकवाला हुनेछैनन् धोका नखाओ; व्यभिचारीहरु, मूर्तिपूजकहरु, परस्त्रीगामीहरु, पुरुषगामीहरु, चोरहरु, लोभीहरु, मतवालाहरु, गाली बक्नेहरु र धुताहाहरु परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।”
यसको मतलव मतवालाहरुले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन् भन्ने होइन, किनभने यसपछिको पदले बताउँदछ कि कोरिन्थीहरुमध्ये कोही-कोही मुक्ति पाउनुभन्दा अगाडी यस्तै कामहरु गर्दथे। येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्ने र उहाँको शिक्षाहरुलाई पछ्याउने मानिस मतवालापनबाट महिमित रुपमा स्वतन्त्र हुन सक्छ। धेरै मानिसहरुले यस्तो छुटकाराको अनुभव गरेका छन्! तर दु:खको कुरा यो छ कि येशूलाई प्रभुको रुपमा लिन इन्कार गर्दै र रक्सीलाई आफूमाथि राज्य गर्न दिँदै मतवालापनमा लागिरहने मानिस पियक्कडको चिहान र आगोको अनन्त कुण्डबाहेक अरु केहीको अपेक्षा गर्न सक्दैन।
यदि तपाईं यो पापसँग सङ्घर्ष गर्दै हुनुहुन्छ भने म तपाईंलाई यो महसुस गर्न उत्साह दिन चाहन्छु, येशू ख्रीष्टलाई तपाईंको जीवनको प्रभु हुन र तपाईंको सबै पापहरुबाटको मुक्तिदाता हुन र तपाईंलाई स्वतन्त्र गराउन पुकार्नुहोस्। ख्रीष्टमा स्वतन्त्र हुनु भनेको के हो भनेर तपाईंले जान्न सक्नुहुनेछ! बाइबलले बताउँदछ, “यसकारण पुत्रले तिमीहरुलाई स्वतन्त्र पारे भने तिमीहरु साँच्चै स्वतन्त्र हुनेछौ” (यूहन्ना ८:३६)। पहिले यो महसुस गर्नुहोस् कि तपाईं परमेश्वरको दृष्टिकोणमा एउटा पापी हुनुहुन्छ, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” (रोमी ३:२३)। परमेश्वर बिरुद्धको तपाईंको बिद्रोहको विषयमा पश्चात्ताप गर्नुहोस्, उहाँको अधिकारमुनि आफैंलाई समर्पण गर्नुहोस्। “तिमीहरुले पश्चात्ताप गरेनौं भने तिमीहरु सबै त्यही प्रकारले नाश हुनेछौ” (लूका १३:३)। ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्नुहोस् “तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरुलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो” (यूहन्ना १:१२)।
१ तिमोथी ५:२३ लाई कसरी बुझ्ने? “अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरुका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।” बाइबलले यहाँ मदिराजन्य दाखमद्यलाई औषधीको रुपमा प्रयोग गर्ने आज्ञा नै दिएको नभए तापनि स्वतन्त्रताचाहिँ दिएको छ भनेर धेरै मानिसहरुले मान्ने गर्छन्। तरैपनि पूरा सम्भावना यो छ कि यहाँ मदिराजन्य दाखमद्यको नै कुरा गरिएको होइन, किनभन पावलले यो दाखमद्य तिमोथीको पेटको निम्ति लिइयोस् भनेर तोकेरै भनेका छन्। तिमोथीलाई कुनै प्रकारको पेटको रोग लागेको थियो र कुनै पनि चिकित्सकले त्यस्तो मानिस मदिराहरुबाट अलग रहनुपर्छ भनेर तपाईंलाई सल्लाह दिन सक्छ। यो विवरण बनाउनुहुने लेखकलाई पनि केही वर्षसम्म पेटको निकै समस्या भएको थियो र उहाँले थुप्रै चिकित्सकहरुसँग सल्लाह लिनुभएको थियो र खानाहरु पनि बार्नुपरेको थियो। हरेक पटक, चिकित्कसहरुले तिनलाई कुनै पनि प्रकारको मदिराहरु नपिउन चेताउनी दिएका थिए। यदि यो कुरा हामीलाई आजको दिनमा थाह भएको छ भने, निश्चय पनि पवित्र आत्माले त्यस बेला पनि यो पक्का गरी जान्नुहुन्थ्यो जुन समयमा उहाँले यी पदहरु लेख्न प्रेरणा दिनुभएको थियो! तिमोथीको दुर्बलता ठ्याक्कै के थियो भनेर हामी जान्दैनौं, नता दाखको जुसमा कस्तो प्रकारको चङ्गाइ क्षमता थियो भनेर नै जान्दछौं। सम्भवत: पावलले तिमोथीलाई पानी नपिउने सल्लाह दिनुको कारण यो थियो कि संसारको कति भागमा पानी शुद्ध हुँदैन र त्यसद्वारा स्वस्थ मानिसमा कति प्रकारका किटाणुहरुद्वारा संक्रमण हुन सक्छ। पहिले नै पेटमा समस्याहरु भइरहेको मानिसले अशुद्ध पानी पिउँदा त्यो समस्या झन् बढ्ता हुन सक्थ्यो। पावलले तिमोथीलाई दाखको जुस मात्र पिउने सल्लाह दिएको हुन सक्छ। जे सुकै भए तापनि, तिनको बिग्रिएको पेटमा मदिरा हाल्ने सुझाव पक्कै पनि पावलल दिएका होइनन् भन्ने कुरामा हामी सकारात्मक हुन सक्छौं।
के एउटा ख्रीष्टियनले ठीक्क मात्रामा पिउनु ठीक हो? (१) होइन, एकदम थोरै पिउनुले पनि एउटा मानिसको सोचाइलाई कमजोर बनाउँछ र आत्मिक खतराप्रतिको चनाखोपनालाई लाटो बनाउँछ (१ पत्रुस ५:८-९)। (२) होइन, ख्रीष्टियनहरु दाखमद्यद्वारा नियन्त्रित हुनु हुँदैन (एफेसी ५:१८)। (३) होइन, ख्रीष्टियनहरु पूजाहारीहरु हुन्, र बाइबलले पूजाहारीहरूलाई पिउन मनाही गरेको छ (१ पत्रुस २:९; लेवी १०:८, ११)। (४) होइन, ख्रीष्टियनहरुले अशुद्ध कुराहरु छुनु हुँदैन (२ कोरिन्थी ६:१७-७:१)। (५) होइन, ख्रीष्टियनहरु दुष्टताको हरेक रुपबाट अलग बस्नुपर्छ (१ थेस्सलोनिकी ५:२२)। (६) होइन, पिउने ख्रीष्टियनहरुले अरुलाई ठेस खाने तुल्याउँछन् (रोमी १४:२१)। (७) होइन, दाखमद्य गिल्ला गर्ने र धोका दिने वस्तु हो (हितोपदेश २०:१)। मदिरालाई मुखसम्म लैजाने कुनै पनि मानिसले उक्त मदिराले उसलाई कहाँ सम्म पुर्याउनेछ भनेर जान्दैन।
Translated by Prajwal Karki