क्रम-विकासवाद

Study Series

क्रम-विकासवाद

डेविड क्लाउड

चार्ल्स डार्विन (Charles Darwin) को क्रम-विकासवाद (Evolutionism) आज विश्वभरि सिकाइन्छ। यसको दाबीअनुसार जीवनको उद्भव निर्जीव पदार्थबाट आफसेआफ भएको हो र सबै जीवहरू कुनै प्रारम्भिक एक-कोषीय जीवबाट क्रमिम रूपमा विकास भएको हो।

यस पाठको मूल तात्पर्य यो हो कि बाइबल विश्वास गर्नेले क्रम-विकासवादलाई रद्द गर्नुपर्छ किनभने बाइबल र क्रम-विकासवाद एकआपसमा मेल खाँदैनन्।

  1. उत्पत्तिको पुस्तकका शुरुका अध्यायहरू वास्तविक इतिहासका अभिलेख हुन्।
    1. उत्पत्तिका शुरुका ११ अध्यायहरू ऐतिहासिक वृत्तान्त शैलीमा लेखिएका छन्, पद्य शैलीमा होइन। “तिनमा ६४ ओटा भौगोलिक शब्दावली, ८८ ओटा व्यक्तिगत नामहरू, ४८ ओटा प्रजातीय नामहरू र कमसेकम २१ ओटा परिचित सांस्कृतिक सामग्रीहरू (जस्तै सुन, गोकलधूप र गोमेद पत्थर, पित्तल, फलाम, गोपेर काठ, अलकत्रा, मसला, ईँटा, ढुङ्गा, वीणा, बाँसुरी, शहरहरू, धरहराहरू) उल्लेख छन् । यस सूचीको विशेष महत्त्व त्यसबेला छर्लङ्ग हुन्छ जब यसलाई अन्यसित तुलना गरिन्छ जस्तै ‘कुरानका न्यून अन्योन्य सन्दर्भहरूसित। उत्पत्तिको दसौं अध्यायमा मात्र महत्त्वपूर्ण गनिने भौगोलिक तथ्याङ्क सम्पूर्ण कुरानमा भन्दा पाँच गुणा बढी भेटिन्छ।’ यीमध्ये एक‍-एक उल्लेखले लेखकको विश्वसनीयतालाई स्थापित गर्ने सम्भावना प्रदान गर्दछ। यहाँ उल्लेखित विषयवस्तुले प्रत्यक्ष रूपमा वास्तविक संसारको वर्णन गरिरहेको छ भन्ने कुरा देखाउँछ न कि कुनै अन्य संसार वा वास्तविकताको अन्य तहका घटनाहरूको” (Walter Kaiser, Jr., “The Literary Form of Genesis 1-11”, New Perspectives on the Old Testament, ed. by J. Barton Payne, 1970, p.59)।
    2. येशूले उत्पत्तिलाई ऐतिहासिक अभिलेखकै रूपमा उद्दरण गर्नुभयो। जस्तै, लूका १७:२६-३२ मा येशूले नूह, जहाज, जलप्रलय, लोत, आगोद्वारा सदोमको विनाश र लोतकी पत्नीलाई उल्लेख गर्नुभयो। अन्य ठाउँमा येशूले सृष्टि (मर्कूस १३:१९), आदम र हव्वा (मत्ती १९:४-६; मर्कूस १०:६-७), कयिन र हाबिल (मत्ती २३:३५; लूका ११:५०-५१), र अब्राहाम (यूहन्ना ८:३९-४०) लाई उल्लेख गर्नुभयो। ख्रीष्टले उत्पत्तिको पुस्तकलाई सधैं इतिहासकै रूपमा लिनुभयो।
    3. उत्पत्ति १-११ लाई नयाँ नियमका आठमध्ये सातजना (याकूबबाहेक सबै) ले इतिहासकै रूपमा उद्दरण गरेका छन्। उत्पत्तिको पुस्तकका शुरुका ११ अध्यायलाई जम्मा १०० पटक सम्म उद्दरण गरिएको छ। नयाँ नियममा उत्पत्तिको पुस्तकलाई सधैं इतिहासकै रूपमा लिइएको छ।
    4. उत्पत्ति १-३ येशू ख्रीष्टको सुसमाचारको ऐतिहासिक जग हो।
      1. येशूको वंशावली आदमसम्म जोडिएको देखाइएको छ (लूका ३:२३-३८)।
      2. आदमलाई ख्रीष्टसित तुलना गरिएको छ (रोमी ५:१२-१९; १ कोरिन्थी १५:४५)। प्रेरित पावलले आदमलाई ऐतिहासिक व्यक्तित्वको रूपमा र उत्पत्तिलाई वास्तविक इतिहासको रूपमा लिए भन्ने कुरा छर्लङ्ग छ।
      3. आदमद्वारा मानव जातिको पतन भएको हुनाले नै सुसमाचारको आवश्यकता परेको हो (रोमी ५:१२)। यदि मानिसको पतन वास्तविक कुरो होइन भने सुसमाचारको कुनै अर्थ रहँदैन।
  1. उत्पत्तिको पुस्तकले सिकाएको कुरालाई क्रम-विकासवादले सिकाएको कुरासित मिलान गर्न सकिन्न
    1. संसार र यावत थोकहरूलाई परमेश्वरले अरबौं वर्ष लगाएर नभई ६ दिनमा सृष्टि गर्नुभयो भन्ने कुरा उत्पत्तिले बताउँछ उत्पत्ति १ का सृष्टिका दिनहरू सामान्य २४-घण्टे दिन थिए, जसमा साँझ र बिहान समावेश थिए (उत्पत्ति १:५,८,१३,१९,२३,२१)। यस कुरालाई प्रस्थान २०:१०-११ मा फेरि दोहोर्‍याइएको छ।
    2. सबै जीवहरू आफ्‍नो-आफ्‍नो जातिअनुसार उत्पन्न गर्न सक्ने गरी बनाइएका थिए भन्ने कुरा उत्पत्तिले बताउँछ। “आफ्‍नो-आफ्‍नो जातिअनुसार” भन्ने वाक्यांश उत्पत्ति १ मा ९ पटक भेटिन्छ (उत्पत्ति १:११,१२,२१,२४,२५)। संसारमा हामीले अवलोकन गर्न सक्ने कुरा पनि ठ्याक्कै यही हो। कुकुरले कुकुर उत्पन्न गराउँछ, माकुराले माकुरा, चराले चरा, बदामले बदाम। आफ्‍नै जातिभित्र पशुहरू अन्तरप्रजनन गरी “विकास” हुन सक्छन् (जस्तै, विभिन्न प्रकारका कुकुरलाई प्रजनन गराई फरक खालका कुकुर उत्पन्न गराउन सकिन्छ), तर कुकुरलाई बिरालोसित अन्तरप्रजनन गराउन सकिन्न। यही कुरा हो बाइबलले बताएको अनि प्रकृतिमा जहाँतहिँ हामीले अवलोकन गर्न सक्ने कुरा पनि यही हो, तर क्रम-विकासवादले सबै जीवहरूले सधैं आफ्‍नो-आफ्‍नो जातिअनुसार उत्पन्न गर्दछन् भन्ने कुरालाई अस्वीकार गर्दछ। क्रम-विकासले त माछा उभयचरमा विकास भए र उभयचर सरिश्रृपमा विकास भए र सरिश्रृप पक्षीमा विकास भए, आदि सिकाउँछ।
    3. पहिलो मानिस बाँदर समूहबाट विस्तारै क्रम-विकास भएर आएको प्राणी नभएर‍ परमेश्वरद्वारा प्रत्यक्ष रूपमा सृष्टि गरिएको हो भन्ने कुरा उत्पत्तिले सिकाउँछ। आदम प्रथम मानिस थिए भनेर बाइबलले बताउँछ (१ कोरिन्थी १५:४५)। अनि हव्वा सबै मानिसका आमा हुन् (उत्पत्ति ३:२०)।
    4. मानिस परमेश्वरको स्वरूपमा बनाइएको हो र पशुहरू भन्दा भिन्न छ भनेर उत्पत्तिले बताउँछ (उत्पत्ति १:२७)। क्रम-विकासले भन्छ मान्छे विकसित पशु हो।
    5. संसार सिद्ध रूपमा सृष्टि गरिएको थियो अनि पापले गर्दा पतन भयो र त्यसबेलादेखि यो बिग्रँदै गइरहेको छ भन्ने कुरा उत्पत्तिले बताउँछ। यो कुरा हामीले अवलोकन गर्न सकिने सबै कुरासित मेल खान्छ। सबै कुरा व्यवस्थित अवस्थाबाट अव्यवस्थित अवस्थामा जाने क्रममा छ। सबै कुरा बिग्रँदै छ, उँधो लाग्दैछ। थर्मोडाइनामिक्सको दोस्रो नियम (Second Law of Thermodynamics) ले ठीक यही कुरालाई बयान गर्दछ जसरी अख्रीष्टिय क्रम-विकासवादीहरूले समेत स्वीकार गर्दछन्। आइजाक असिमोभ (Isaac Asimov) एक क्रम-विकासवादी थिए तर उनले दिएको थर्मोडाइनामिक्सको दोस्रो नियमले क्रम-विकासवादलाई वास्तवमै रद्द गर्दछ र बाइबललाई पुष्टि गर्दछ: “विश्व-ब्रम्हाण्ड निरन्तर झन् झन् अस्तव्यस्त बन्दैछ! यसरी हेरिँदा हामीले दोस्रो नियमलाई हाम्रो वरिपरि जताततै देख्न सक्छौं। कति कठिन छ घरलाई, कलपूर्जाहरूलाई र हाम्रै शरीरहरूलाई सम्हालिराख्‍न र सिद्ध, चालु अवस्थामा राखिराख्न; तिनीहरूलाई बिग्रन दिन कति सजिलो छ। वास्तवमा, तिनलाई बिग्रन दिन हामीले केही पनि गर्नुपर्दैन अनि सबै कुराहरू बिग्रँदै जान्छन्, ढल्छन्, टुटफुट हुन्छन्, खिइन्छन्, ती सब आफसेआफ हुन्छन्। दोस्रो नियम भनेको यही नै हो” (Asimov, “In the Game of Energy and Thermodynamics You Can’t Break Even,” Smithsonian Institute Journal, June 1970, p.10)। यो वास्तविक हो र यो कुरा क्रम-विकासवादको परिकल्पनाभन्दा कति फरक छ जसले भन्छ कि जीवहरू निर्जीवबाट विस्तारै जीवमा क्रम-विकास भए, अस्तव्यस्तताबाट शुरु भएर आफसेआफ व्यवस्थित भए।
    6. सबै कुराहरू तिनीहरूले परमेश्वरका उद्देश्यहरू पूरा गर्नुपर्छ भनेर सृष्टि गरिएका हुन् भन्ने कुरा उत्पत्तिले बताउँछ। प्रकृतिमा जहाँसुकै हेरौं, सुक्ष्मदर्शक यन्त्रद्वारा देखिनेदेखि दूरबीन टेलिस्कोपद्वारा देखिनेसम्मका कुराहरू, त्यहाँ हामी रचना (design) देख्दछौं, जुन कुराचाहिँ क्रम-विकासको परिकल्पनाको विपरित छ जसअनुसार संसार अन्धाधुन्ध हुने भौतिक प्रकृयाहरूको उपज हो। अध्ययन गर्नुहोस् कोषलाई, आँखालाई, कानलाई, पातलाई, उड्ने पखेटालाई, अणुलाई, प्रकाशलाई, ध्वनिलाई, पानीलाई — जहाँतहिँ तपाईले उद्देश्य (purpose) र रचना (design) भेट्टाउनुहुन्छ। माइकल डेन्टन (Michael Denton) को अवलोकन यस प्रकार छ, “सिद्धताको यो भयङ्कर सर्वव्यापकता हो अर्थात् हामीले जहाँ हेरे पनि, जति गहिरो तहमा हेरे पनि हामीले त्यसमा पूर्णरूपमा अतुलनीय श्रेष्ठतायुक्त सुन्दरता र बुद्धि देख्छौं र यही तथ्यले आकस्मिकको अवधारणा (idea of chance) लाई यति ठूलो चुनौती दिन्छ” (Evolution: A Theory in Crisis, 1983, p. 342)। सिर्फ एउटा “सरल” सुक्ष्मदर्शकीय एक-कोषीय ब्याक्टेरिया (आर. कोलाइ) भित्र डीएनए सूचना एकाईहरू हुन्छन् जो इन्साइक्लोपिडिया ब्रिटानिका (Encyclopedia Britannica) का १० करोड पन्नाहरूका बराबर हुन्छन्, अनि ती सब सूचनाहरू सिद्ध रूपमा आपसमा मिलेर काम गर्दछन् र आफ्‍नै प्रतिलिपिहरू उतार्दछन्! उद्देश्य र रचना नै हामीले आशा गर्न सकिने कुरा हुन् यदि संसारलाई परमेश्वरले सृष्टि गर्नुभएको हो भने जसरी उत्पत्तिको अभिलेखले दाबी गर्दछ, तर यदि क्रम-विकासवाद सत्य हो भने हामीले यहाँ केवल अस्तव्यस्तता र गोलमाल मात्र भेट्टाउनुपर्नेथ्यो।
    7. पृथ्वीको इतिहास करिब ६,००० वर्ष मात्र पुरानो छ भन्ने कुरा उत्पत्तिले देखाउँछ जब कि क्रम-विकासवादले यो अरबौं वर्ष पुरानो भएको दाबी गर्दछ।
    8. मानिसले परमेश्वरसित संवाद गर्न सकोस् भनेर उसित शुरुदेखि नै भाषाको क्षमता थियो भन्ने कुरा उत्पत्तिले बताउँछ। तर क्रम-विकास अनुसार भाषा भन्ने कुरा पशुका जस्तै आवाजबाट विकास भएको हो। यो बुझ्नु महत्त्वपूर्ण छ कि आधुनिक पूरातत्त्वज्ञानले समेत बताउँदछ कि लिपिको शुरुआत करिब ६,००० वर्ष अगाडि भएको हो, जुन कुरा बाइबलको अभिलेखसित ठ्याम्मै मेल खान्छ (Joseph Naveh, Origins of the Alphabets: Introduction ro Archaelogy, Jerusalem: The Jerusalem Publishing House, p.6)।
    9. बुद्धिपूर्ण सभ्यता निर्माण गर्ने क्षमता मानिससित शुरुदेखि नै थियो भन्ने कुरा उत्पत्तिले बताउँछ। आदमका सन्तानले पशुपालन गरे, साङ्गीतिक बाजा बनाए, पित्तल र फलामका काम गरे (उत्पत्ति ४:२०-२२)। तर क्रम-विकासवादको दाबी अनुसार मानिसको सभ्यता “ढुङ्गे युग” (“stone age”) बाट शुरु भयो जुन बेला “गुफामा बस्ने मानिसहरू” (“cave men”) पशुजस्तै जीवन बिताउँथे।

क्रम-विकासवाद सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. उत्पत्तिको पुस्तकका शुरुका अध्यायहरू वास्तविक इतिहास हुन् भनी हामी जान्दछौं। चारओटा कारण दिनुहोस्।
  2. उत्पत्तिको पुस्तकका आठजनाको नाम दिनुहोस् जसलाई येशूले उल्लेख गर्नुभयो।
  3. नयाँ नियममा उत्पत्तिका शुरुका ११ अध्यायहरूबाट कतिपटक उद्दरण गरिएको छ?
  4. कुन तीनओटा तरिकाले उत्पत्ति १-३ सुसमाचारको ऐतिहासिक जग हो?
  5. उत्पत्तिले सिकाएका कुरा क्रम-विकासवादले सिकाएका कुरा कसरी भिन्न छन् भन्ने कुरा ९ ओटा बुँदामा बताउनुहोस्।
  6. थर्मोडाइनामिक्सको दोस्रो नियमले क्रम-विकासवादलाई कसरी गलत सावित गर्दछ?
  7. आधुनिक पूरातत्त्वज्ञान अनुसार लिपिको शुरुआत कहिले भएको थियो?
  8. क्रम-विकासवादको “ढुङ्गे युग” को शिक्षालाई बाइबलले कसरी काट्छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email