विश्राम दिन के हो?

Study Series

विश्राम दिन के हो?

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: प्रस्थान ३१:१२-१३; नहेम्याह ९:१३-१४; कलस्सी २:१६

विश्राम दिन इस्राएललाई दिइएको परमेश्वरबाटको एउटा चिन्ह हो जुन चिन्ह इस्राएल उजाडस्थानमा हुँदाखेरि दिइएको थियो

आदमको समयदेखि नै मानिसहरूले विश्राम दिन पालन गर्दै आएका छन् भनेर सेभेन्थ-डे एड्भेन्टिस्टहरू सिकाउँछन्, तर यो त बाइबलकै अभिलेखको विपरित कुरा हो। विश्राम दिन सृष्टिको छैटौं दिनको अन्तमा शुरु भएको भए तापनि (उत्पत्ति २:१-३), उक्त विश्राम परमेश्वरको विश्राम थियो, मानिसको होइन। परमेश्वरले विश्राम दिन मानिसलाई दिनुभयो भन्ने कुरा उत्पत्तिको पुस्तकमा कतै उल्लेख छैन। उत्पत्तिको पुस्तकमा उल्लेखित पवित्र जनहरूले वेदीहरू निर्माण गरे, प्रार्थना गरे, बलिहरू चढाए र दसौं अशं दिए; तर ती दिनहरूमा विश्राम दिन पालन गर्ने सम्बन्धमा पवित्र शास्त्र मौन छ।

विश्राम दिन इस्राएललाई सबभन्दा पहिले उजाडस्थानमा दिइएको कुरा नहेम्याह ९:१३-१४ ले प्रस्टै बताउँछ।

अब्राहाम, इसहाक र याकूबले विश्राम दिन पालन गरेका भए उनीहरूका छोराछोरीहरू उक्त अभ्याससित परिचित हुनेथिए; तर अवस्था त्यस्तो थिएन भन्ने कुरा नहेम्याहले बताएको छ।

प्रस्थान ३१:१२-१३ ले प्रस्टै बताएको छ कि विश्राम दिन परमेश्वर र इस्राएल बीचको एउटा विशेष चिन्ह थियो। सृष्टि पश्चात् यदि मानव जातिलाई सर्वसाधारण रूपमा विश्राम दिन दिइएको भए, त्यो इस्राएलका निम्ति एउटा चिन्ह बन्न सक्ने थिएन। वास्तविकता यो हो कि विश्राम दिन इस्राएल जातिको निम्ति हो, अरू कुनै जातिका निम्ति होइन।

साथै यो पनि उल्लेख गरिनु महत्त्वपूर्ण कुरा छ कि विश्राम दिन अनन्तसम्म इस्राएलकै नीजि स्वामित्वमा रहनेछ (प्रस्थान ३१:१६)। यो चिन्ह कहिल्यै रद्द गरिनेछैन वा अन्य जातिलाई हस्तान्तरण गरिनेछैन। यही कारणले गर्दा हो पृथ्वीमा ख्रीष्टको राज्य स्थापना भएपछि पनि इस्राएलले विश्राम दिन पालन गर्नेछ भनेर अगमवक्ताहरूले भविष्यवाणी गरेका छन् (यशैया ६६:२३)। सङ्कष्टकाल (tribulation period) सम्बन्धी आफ्‍ना भविष्यवाणीहरूमा येशू ख्रीष्टले विश्राम दिनको उल्लेख (मत्ती २४:२०) किन गर्नुभयो भन्ने कुरा पनि यसबाट बुझ्न सकिन्छ। यहूदीहरू आजसम्म पनि विश्राम दिन पालन गर्दछन् र इस्राएल देशभित्र निषेधाज्ञाहरू लागु छन्। जस्तै, विश्राम दिनमा एल आल एअरलाइनको उड्डयन सेवा बन्द हुने गर्छ।

विश्राम दिन र नयाँ नियमको विश्वासी

प्रेरितहरूले मण्डलीहरूलाई पत्रहरू लेख्दाखेरि केवल तीन पटक मात्र विश्राम दिनको उल्लेख गरेका छन्:

  1. विश्राम दिन ख्रीष्टमा पाइने मुक्तिको विश्रामको प्रतीक हो (हिब्रू ४)। जसरी यहूदीहरूले विश्राम दिनमा कुनै काम गर्दैनथे, त्यसरी नै एक विश्वासी उसको कुनै कामबिना नै परमेश्वरको अनुग्रहले बचाइँदछ।
  2. नयाँ नियमको विश्वासीलाई विश्राम दिन पालन गर्नुपर्ने कुनै वाध्यता छैन (कलस्सी २:१६)। पावलले यहाँ बहुवचन प्रयोग गर्दै “विश्राम दिनहरू” को कुरा गर्दा उनले परमेश्वरले इस्राएललाई दिनुभएका सबै विश्राम दिनहरूलाई जनाउँदैछन् जसमा चाडहरूसित सम्बन्धित विश्राम दिनहरू पनि पर्दछन्। जस्तै, पेन्टेकोस्ट हप्ताको सधैं पहिलो दिनमा पर्थ्यो तर त्यो एक विशेष विश्राम दिन थियो जसमा कुनै काम गरिँदैनथ्यो (लेवी २३:१६-२१)। सेभेन्थ‍-डे एड्भेन्टिस्टहरू लगायत विश्राम दिन पालन गर्ने अरूहरू कलस्सी २:१६ ले नियमित साप्ताहिक विश्राम दिनलाई जनाउँदैन भन्ने दाबी गर्दछन्, तर त्यस कुराको कुनै प्रमाण छैन।
  3. पवित्र दिनहरूको सवालमा नयाँ नियमको विश्वासीलाई स्वतन्त्रता दिइएको छ (रोमी १४:४-६)।

विश्राम दिन ख्रीष्टियनको लागि वाध्यताको कुरा हो भनी दाबी गर्नेहरू‍ले प्रेरितहरूको शिक्षा विपरित सिकाउँदैछन्।

“विश्राम दिन पुरानो सृष्टिसित सम्बन्धित कुरा हो र त्यो तोकिएर इस्राएललाई नै दिइएको थियो; प्रभुको दिन नयाँ सृष्टिसित सम्बन्धित कुरा हो र यो विशेष गरी मण्डलीको हो। विश्राम दिनले व्यवस्थालाई औंल्याउँदछ जसरी ६ दिनका कामपछि विश्राम हुन्छ, तर प्रभुको दिनले अनुग्रहलाई औंल्याउँदछ, किनकि हामी हरेक नयाँ हप्ता विश्रामबाट शुरु गर्दछौं जसका पछि काम हुन्छन्” (Wiersbie’s Old Testament Outlines)।

त्यसो भए किन त येशूले विश्राम दिन पालन गर्नु भयो? उहाँले जुन कारण मोशाका सबै नियमहरू पालन गर्नुभयो ठीक त्यही कारण विश्राम दिन पालन गर्नुभयो। (उहाँले चाडहरू पनि मान्नुभयो)। येशूले यी सबै गर्नुभयो किनकि उहाँ शरीरअनुसार यहूदी भई जन्मनुभएको थियो, व्यवस्थाको अधीनमा जन्मनुभएको थियो। उहाँले त्यसलाई पूरा गर्नुभई आफ्‍ना जनहरूलाई त्यसको सजायँ र बन्धनबाट छुटकारा दिन सक्नलाई उहाँ त्यसरी आउनुभएको थियो।

शुरुका ख्रीष्टियनहरूले आइतबारको दिनमा उपासना गर्दथे भन्ने कुराको बाइबलीय प्रमाण

  1. येशू मरेकाहरूबाट पहिलो दिनमा बौरेर उठ्नुभयो (मर्कूस १६:९)।
  2. येशू आफ्‍ना चेलाहरूकहाँ पहिलो दिनमा देखा पर्नुभयो (मर्कूस १६:९)।
  3. येशू बौरेर उठ्नुभएपछि आफ्‍ना चेलाहरूसित फरक-फरक ठाउँमा पटक-पटक पहिलो दिनमै देखा पर्नुभयो (मर्कूस १६:९-११; मत्ती २८:८-१०; लूका २४:३४; मर्कूस १६:१२-१३; यूहन्ना २०:१९-२३)।
  4. येशूले आफ्‍ना चेलाहरूलाई पहिलो दिनमा आशिष दिनुभयो (यूहन्ना २०:९)।
  5. येशूले आफ्‍ना चेलाहरूलाई पवित्र आत्माको दान पहिलो दिनमा प्रदान गर्नुभयो (यूहन्ना २०:२२)।
  6. येशूले आफ्‍ना चेलाहरूलाई सारा संसारलाई सुसमाचार प्रचार गर्नलाई आदेश दिनुभयो (यूहन्ना २०:२१; मर्कूस १६:९-१५ सित तुलना गर्नुहोस्)।
  7. येशू पहिलो दिनमा स्वर्गारोहण हुनुभयो, पिताको दाहिने हातपट्टि बस्नुभयो र सबै कुराहरूको शिर बनाइनुभयो (यूहन्ना २०:१७; एफेसी १:२०)।
  8. पहिलो दिनमा मरेका धेरैजना पवित्र जनहरू चिहानहरूबाट बौरेर उठे (मत्ती २७:५२-५३)।
  9. पहिलो दिन चेलाहरूका लागि आनन्द र रमाहटको दिन बन्यो (यूहन्ना २०:२०; लूका २४:४१)।
  10. पहिलो दिनमा बौरिउठ्नुभएको ख्रीष्टको सुसमाचार प्रथम पटक प्रचार गरियो (लूका २४:३४)।
  11. पहिलो दिनमा येशूले चेलाहरूलाई पवित्र शास्त्रहरूको अर्थ खोलिदिनुभयो (लूका २४:२७,४५)।
  12. पहिलो दिनमा हाम्रो उद्धार किन्ने काम पूरा भयो (रोमी ४:२५)।
  13. पहिलो दिनमा पवित्र आत्मा ओर्लनुभयो (प्रेरित २:१)। डोलाउने भेटीको बिटा ल्याएपछिको विश्राम दिनपछिको पचासौं दिनमा पेन्टेकोस्ट पर्दथ्यो (लेवी २३:१५-१६)। त्यसैले पेन्टेकोस्ट सधैं आइतवारमा पर्दथ्यो।
  14. ख्रीष्टियनहरू उपासना गर्नलाई आइतवार भेला हुन्थे (प्रेरित २०:६-७; १ कोरिन्थी १६:२) (D.M. Canright, Seventh-Day Adventism Renounced)।

त्यसबेलादेखि अधिकांश ख्रीष्टियनहरू उपासना गर्नलाई प्रभुको दिन (आइतवार) मा नै भेला हुँदै आएका छन्। उनीहरूका मुक्तिदाताको बौरिउठाइको आदर गर्दै उनीहरूले यसो गर्ने गरेका हुन्। विश्राम दिनमा ख्रीष्ट चिहानभित्र हुनुहुन्थ्यो अनि पहिलो दिनमा मरेकाहरूबाट जेठा (firstborn) को रूपमा बौरेर उठ्नुभयो। विश्राम दिनले पुरानो सृष्टिको अन्तिम दिनलाई सङ्केत गर्दछ (उत्पत्ति २:२)। अाइतवार चाहिँ नयाँ सृष्टिको पहिलो दिन हो।

शुरुका ख्रीष्टियनहरूले आइतवार उपासना गर्दथे भन्ने ऐतिहासिक प्रमाण

बर्नबासको पत्र (१०० एडी ताका) — “जसको कारण हामी आनन्दसित आठौं दिनलाई पालन गर्दछौं, जुन दिन येशू मरेकाहरूबाट बौरेर उठ्नुभयो।”

इग्नेसियसको पत्र (१०७ एडी ताका) — “पराई शिक्षाहरूद्वारा बहकाउमा नपर, नता दन्त्यकथाहरूद्वारा, जो लाभदायक हुँदैनन्। किनकि हामी अझै यहूदी व्यवस्थाअनुसार जिउनु भनेको हामीले अनुग्रह प्राप्त गरेका छैनौं भन्ने कुराको स्वीकार गर्नु हो…यसकारण यदि उक्त प्राचीन व्यवस्थाअनुसार हुर्काइएकाहरूले एउटा नयाँ आशालाई प्राप्‍त गरेका छन् भने विश्राम दिन पालन गर्न छाडेका हुन्छन् र प्रभुको दिनलाई पालन गर्दै आएका हुन्छन्, जुन दिन उहाँद्वारा र उहाँको मृत्युद्वारा हामीले नयाँ जीवन पाएका छौं।”

जस्टिन मार्टर (१४० एडी ताका) — “आइतवार भनिने दिनमा शहर वा गाउँबस्तीमा बसोबास गर्नेहरू सबै एकै ठाउँमा भेला हुने गर्दछन् अनि त्यहाँ प्रेरितहरूका पत्रहरू वा अगमवक्ताहरूका लेखोटहरूबाट पढिन्छ। …तर हामी सबैजनाले साझा सभा राख्ने दिनचाहिँ आइतवार हो किनभने परमेश्वरले पहिलो दिनमा नै …संसार बनाउनुभयो; अनि येशू ख्रीष्ट हाम्रा मुक्तिदाता त्यही दिनमा मृत्युबाट बौरेर उठ्नुभयो।”

बार्देसानेस्, एडेस्सा (१८० एडी ताका) — “हप्ताको पहिलो दिनमा हामी एकआपसमा मिलेर भेला हुन्छौं।”

अलेक्जान्ड्रियाको क्लेमेन्ट (१९४ एडी) — “तिनले नियमबमोजिम, सुसमाचार अनुसार, प्रभुको दिनलाई पालन गर्दछन्…आफैमा प्रभुको बौरिउठाइलाई महिमा दिन्छन्।”

टर्टुलियन (२०० एडी) — “यस दिनलाई आफ्‍नो विश्राम दिन भनेर संज्ञा दिनेहरूको खण्डन गर्दै हामी शनिवारपछिको दिनलाई औपचारिकता दिन्छौं।”

इरेनियस (१५५-२०२ एडी ताका) — “प्रभुको बौरिउठाइको रहस्यलाई प्रभुको दिनमा बाहेक अन्य दिनमा मनाउन मिल्दैन अनि यस दिनमा मात्र हामीले प्रभु भोजको रोटी भचाइँको पालना गर्दछौं।”

साइप्रियन (एडी २५०) — “आठौं दिन अर्थात् शनिवारपछिको पहिलो दिन, र प्रभुको दिन।”

आनाटोलियस (एडी २७०) — “प्रभुको दिनमा भएको प्रभुको बौरिउठाइप्रतिको हाम्रो श्रद्वाभावले त्यसलाई मनाउन हामीलाई प्रोत्साहन गर्दछ।”

पिटर, अलेक्जान्ड्रियाको बिशप (एडी ३०६) — “तर प्रभुको दिन हामी रमाहटको दिनको रूपमा मान्दछौं किनभने उक्त दिनमा उहाँ फेरि बौरनुभयो।”

विश्राम दिन सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. विश्राम दिन प्रथम पटक कहिले दिइएको थियो?
  2. उत्पत्तिको दोस्रो अध्यायमा किन विश्राम दिनको उल्लेख गरिएको छ यदि त्यसबेला त्यो मानिसलाई दिइएको थिएन भने?
  3. विश्राम दिन परमेश्वर र इस्राएल बीचको एउटा चिन्ह हो भनेर कुन खण्डले बताउँछ?
  4. हजार वर्षको राज्यमा विश्राम दिनको पालनाको बारेमा बाइबलले किन उल्लेख गर्दछ?
  5. हिब्रूको चौथो अध्याय अनुसार विश्राम दिन कुन कुराको प्रतीक हो?
  6. कलस्सी २:१६ ले किन विश्राम दिनलाई बहुवचनमा उल्लेख गर्दछ?
  7. कलस्सी २:१६ ले नियमित साप्ताहिक विश्राम दिनको कुरा गरेको छैन भन्ने के प्रमाण छ?
  8. शुरुका ख्रीष्टियनहरू आइतवारको दिनमा भेला हुन्थे भन्ने पाँचओटा बाइबलीय कारण दिनुहोस्।
  9. आइतवार उपासनाको दिन थियो भन्ने तीनओटा प्राचीन ऐतिहासिक सन्दर्भहरू उल्लेख गर्नुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email