विश्वास र ख्रीष्टियन जीवन

विश्वास र ख्रीष्टियन जीवन
डेविड क्लाउड
पद कण्ठ: याकूब १:२२; २:२६; हिब्रू ११:१,३,६
एउटै विषयमा त्यस सम्बन्धित सबै मुख्य-मुख्य शिक्षाहरूलाई एउटै खण्डमा प्रस्तुत गरिएको त्यस्ता विशेष खण्डहरूमध्ये हिब्रू ११ एउटा हो। यसका अरू उदाहरणस्वरूप प्रेमको अध्याय १ कोरिन्थी १३ हो भने बौरिउठाइको अध्याय १ कोरिन्थी १५ हो।
विश्वासको सम्बन्धमा ८ ओटा मुख्य-मुख्य शिक्षाहरू यस प्रकार छन्:
१) विश्वास नभई नहुने कुरा हो (हिब्रू ११:६)
“विश्वास” [“faith” र “believe” अङ्ग्रेजी] बाइबलमा ७७१ पटक उल्लेख भएको छ। ख्रीष्टियन जीवन “विश्वासदेखि विश्वाससम्म” (रोमी १:१७) को कुरा हो। येशूले चेलाहरूमा विश्वासको कमी भेट्टाउनुहुँदा उनीहरूलाई पटकपटक हप्काउनुभयो (मत्ती ६:३०; ८:२६; १४:३१; १६:८)।
२) विश्वास परमेश्वरको वचनमा आधारित कुरा हो (हिब्रू ११:१)
रोमी १०:१७ सित तुलना गर्नुहोस्।
विश्वास भनेको परमेश्वरको वचनलाई केवल विश्वास गर्नु हो। विश्वासको सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण तथ्य यही हो। विचार गर्नुहोस्, नूहलाई (हिब्रू ११:७), अब्राहामलाई (हिब्रू ११:८), सारालाई (हिब्रू ११:११)।
बाइबलीय विश्वास अन्धो हुँदैन; यसको पछाडि प्रमाण हुन्छ, निश्चयता हुन्छ (हिब्रू ११:१), अनि त्यो निश्चयता परमेश्वरकै वचन हो, जुनचाहिँ “अनेकौं अचूक प्रमाणहरूमा आधारित छ” (प्रेरित १:३)। संसारको “विश्वास” फरक छ किनकि त्यो कुनै पनि निश्चित कुरामा आधारित छैन।
बाइबलीय विश्वास आश्चर्यकर्महरूबाट, भावनाहरूबाट वा गोप्य आध्यात्मिक शक्तिसम्बन्धीको (mystical) अनुभवहरूबाट आउँदैन। अब्राहामले नरकमा पुगेका धनी मानिसलाई भने, यदि कसैले परमेश्वरको वचनलाई विश्वास गर्दैन भने, कुनै मानिस मरेकाबाट बौरेर उठे तापनि विश्वास गर्नेछैन (लूका १६:३१)।
विश्वास परमेश्वरको वचनमा आधारित हुन्छ भन्ने कुराबाट बाइबल ख्रीष्टियन जीवनको लागि नभई नहुने कुरा हो भन्ने बुझ्न सकिन्छ। हाम्रो विश्वास बढेको चाहन्छौं भने, हामीले बाइबल पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ (प्रकाश १:३; २ तिमोथी २:१५) र बाइबल सुन्नुपर्छ (प्रचार, शिक्षा सुन्न विश्वासयोग्य हुनुपर्छ) र बाइबललाई कण्ठस्थ गर्नुपर्छ (भजनसङ्ग्रह ११९:११)।
३) विश्वासले आज्ञापलान गर्न कदम चाल्छ (हिब्रू ११:८)
हेर्नू: याकूब १:२२। साँचो विश्वास भनेको केवल दिमागमा र हृदयमा मात्र सीमित हुने कुरा होइन; यो यस्तो कुरा हो जसले परमेश्वरको वचनअनुसार पाइला चाल्ने काम गर्छ। याकूबले सिकाउँछन् कामबिनाको विश्वास मरेको हुन्छ (याकूब २:२६)। त्यो साँचो विश्वास होइन।
विश्वासले ईश्वरीय बानीहरू बसाल्न कदम चाल्छ (जस्तै, मण्डलीमा उपस्थिति हुने बानी, हिब्रू १०:२५; बाइबल अध्ययन गर्ने बानी, २ तिमोथी २:१२; अन्तर्विन्तीको प्रार्थना गर्ने बानी, १ तिमोथी २:१-२)।
परमेश्वरले बोलाउनुहुँदा विश्वासले पाइला चाल्छ। परमेश्वरको बोलावटलाई “पछि, पछि” भन्नेहरूलाई येशूले चेताउनी दिनुभयो (लूका ९:५९-६२)।
४) विश्वासले यस जीवनभन्दा पर हेर्छ (हिब्रू ११:१०)
यसले स्वर्गमा साँचिएका धनहरूलाई हेर्छ (मत्ती ६:२०)। यसले ख्रीष्टको न्याय-आसनलाई हेर्छ (२ कोरिन्थी ५:१०)।
यसले मलाई अल्छी, स्वार्थी, शारीरिक, मनतातो हुनदेखि जोगाउँछ। जवानहरूले यसो गर्नुपर्छ। नयाँ विश्वासीहरूले यसो गर्नुपर्छ। व्यवसायीहरूले यसो गर्नुपर्छ। वृद्ध विश्वासीहरूले यसो गर्नुपर्छ। मेरी आमाले ७० वर्षको उमेरमा पुगेर दैनिक रूपमा बाइबल पढ्न थाल्नुभयो र त्यसबेलादेखि उहाँले वर्षमा दुईपटक बाइबल पूरै पढ्ने गर्नुभएको छ।
बाइबल टिप्पणीकार विलियम केली (William Kelly) का भान्जा विश्वविद्यालयमा पढ्न जाँदा तिनका मामाले उनलाई ग्रीक भाषा सिकाएका रहेछन् भन्ने कुरा त्यहाँका ग्रीक प्राध्यापकले जानेपछि तिनलाई ट्रिनिटी कलेज — एक रोमन क्याथोलिक कलेज — मा प्राध्यापकको पदको प्रस्ताव राखे। तिनलाई मान-इज्जत प्रदान गरियो र “प्रशस्त सम्पत्ति जोड्नुहुनेछ” भन्ने प्रतिज्ञा दिइयो। तिनको बुद्धिमानी जवाफ यस प्रकार थियो, “कुन संसारको निम्ति”?
५) विश्वास जाँचिन्छ (हिब्रू ११:१७)
विश्वासलाई सधैं जाँचिन्छ। त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई खार्नलाई विश्वास जाँचिन्छ। उजाडस्थानका यहूदीहरूको जीवनमा यसरी जाँच्ने काम भएको थियो (प्रस्थान ४:२९-३१; ५:४-२३)।
एकजनाले ख्रीष्टमा विश्वास गर्नेबित्तिकै उसको विश्वास जाँचिन्छ (मर्कूस ४:१८-१९) र ख्रीष्टियन जीवनभरी नै जाँचिने, बलियो बनाइने प्रकृया जारी रहन्छ (१ पत्रुस ५:१०)। जब विश्वासको कुनै नयाँ कदम लिइन्छ तब प्रत्येक पटक नै त्यो जाँचिन्छ, जस्तै मण्डली लगातार उपस्थित हुने निर्णय, बाइबल हरेक दिन पढ्ने निर्णय, निश्चित अंश प्रभुलाई नियमित दिने निर्णय, पत्नीलाई ख्रीष्टले मण्डलीलाई झैं प्रेम गर्ने निर्णय आदि। हाम्रो विश्वास साँचो हो कि सतही मात्र हो परमेश्वर हेर्न चाहनुहुन्छ।
६) विश्वासले हामीलाई साहस दिन्छ (हिब्रू ११:२३)
जीवन थुप्रै डरहरूले भरिएको हुन्छ तर ख्रीष्टमा राखिएको विश्वासले सबै डरहरूलाई माथ गर्दछ। हामी कुनै समस्या वा परिस्थीतिसँग डराउनुपर्दैन किनकि सबै कुरा उहाँको हातमा (रोमी ८:२८)। हामी खानेकुराको लागि, लुगाको लागि डराउनुपर्दैन (मत्ती ६:३३; हिब्रू १३:५-६)। हामी वृद्ध अवस्थाको डर मान्नुपर्दैन (भजनसङ्ग्रह ३७:२५)।
७) विश्वासले बुद्धिमानी निर्णयहरू गर्छ (हिब्रू ११:२४-२६)
मोशाले विश्वासैद्वारा एउटा बुद्धिमानी निर्णय गरे: फारोको छोरा भएर सजिलो जीवन बिताउनुको सट्टा उनले परमेश्वरका जनहरूसित थोरै दिनका लागि दुःख भोग्नु नै रोजे। जीवनमा यस्ता मुख्य-मुख्य निर्णयहरू गर्नलाई विश्वासले पनि हामीलाई उही बुद्धि दिन सक्दछ: जस्तै, समाजलाई पछ्याउने कि ख्रीष्टलाई; ख्रीष्टको लागि पूरै हृदय दिने कि नदिने (रोमी १२:१); संसारबाट अलग हुने कि नहुने (रोमी १२:२); परमेश्वरको सेवा गर्ने कि पैसाको (मत्ती ६:२४); अल्छी हुने कि मेहनती (हितोपदेश १३:४); परमेश्वरको कामको लागि प्रशस्त गरी दिने कि आफ्नै लागि राख्ने (२ कोरिन्थी ९:६)।
८) विश्वासले जित्छ र सहन्छ (हिब्रू ११:३२-३८)
जीवनका परीक्षाहरूमाथि कतिले जित्नका निम्ति विश्वास पाउँछन्, कतिले सहनका निम्ति। चाहे आगोलाई निभाइयोस्, चाहे हामीलाई जलाइयोस्, हामी विश्वास गर्न सक्छौं; चाहे सिंहको मुख बन्द गरियोस् चाहे त्यसले हामीलाई निलोस्; चाहे झ्यालखाना खोलियोस् चाहे हामी त्यहीँ मर्नुपरोस्; चाहे हामीलाई निको पारियोस् चाहे नपारियोस्, बेच्न खोजिएको कुरा चाहे बिक्री होस् वा नहोस्, चाहे गोली रोकियोस् चाहे नरोकियोस्, हामीले भरोस गर्नैपर्छ।
परमेश्वरले आफ्नो इच्छामुताविक विश्वास दिनुहुन्छ; हामीले उहाँको इच्छा स्वीकार्नुपर्छ। त्यसैले येशूले पवित्र शास्त्रलाई “मेरो धीरजको वचन” को संज्ञा दिनुभयो (प्रकाश ३:१०)।
निष्कर्ष
परमेश्वरलाई उहाँको अनुग्रहका निम्ति र यस दुष्ट पुस्ताको बीचमा रहेर विश्वास गर्ने मौकाको लागि धन्यवाद होस्। के ख्रीष्टमाथि मुक्तिका निम्ति तपाईंले विश्वास गर्नुभएको छ? आफ्नो जीवनलाई नै बदल्ने विश्वास तपाईंको छ (२ कोरिन्थी ५:१७)?
के बाइबलसित तपाईंको यस्तो घनिष्ट सम्बन्ध छ जसको फलस्वरूप तपाईंको विश्वास बढ्दै गइरहेको छ?
के तपाईंको विश्वास जाँचिदैछ? मात्र अघि बढ्दै जानुहोस्!
विश्वासको सवालमा मेरो जीवनकथा लेखियो भने त्यो कस्तो हुनेथ्यो? हरेक जीवन परमेश्वरका किताबहरूमा लेखिएको हुन्छ (हिब्रू ११:३९-४०)।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।