परमेश्वरका हतियारहरू

Study Series

परमेश्वरका हतियारहरू

डेविड क्लाउड

पद कण्ठ: एफेसी ६:१०-२०

परिचय

  1. हामी एउटा भयङ्कर युद्धमा छौं — संसार, शरीर र शैतानको विरुद्धमा। बारम्बार लडाइँ र समस्या देखेर हामी छक्क पर्नु पर्दैन। सिपाहीहरू युद्धको रहर गर्दैनन् तर काम उनीहरूको लडाइँ गर्नु हो। हामी स्वर्गमा पुगिसकेका छैनौं, हामी शत्रु-भूमिमै छौं। त्यसैले युद्ध नसक्किएसम्म हामी लडिरहनैपर्छ।
  2. हामी खडा हुने परमेश्वरको सामर्थ्यमा हो; विश्वासीका हतियारहरू परमेश्वरबाटका प्रबन्ध हुन् (“परमेश्वरका हतियारहरू”, एफेसी ६:११)। हामी आफ्नै सामर्थ्यमा खडा हुँदैनौं। विजय हाम्रै हो र हामीलाई शैतानको डर मान्नु छैन, तर उसको विरुद्धमा खडा हुनु र जागा रहनु आवश्यक छ।
  3. हामीलाई हतियारहरू प्रबन्ध गरिएका त छन्, तर तिनलाई हामीले पहिरनु आवश्यक छ र तिनलाई प्रयोग गर्न सिक्नु खाँचो छ।

सत्यताले कस्सिएको कम्मर (एफेसी ६:१४)

  1. युद्धमा कम्मर सुरक्षित राख्‍नुपर्छ किनकि कम्मरमै घाइते बनाइयो भने अरू लडाइँ गर्न सकिन्न।
  2. सुरक्षा दिने कुरा सत्यता हो। यसले सच्चाइ, इमानदारितालाई जनाउँछ। परमेश्वर सत्यका परमेश्वर हुनुहुन्छ र उहाँका जनहरू सत्यवादीहरू हुनु आवश्यक छ। तर क्रेटीहरू “सधैं झूट बोल्ने” हरू थिए (तीतस १:१२-१३)। उनीहरू यसमा कुख्यात थिए! तर परमेश्वरको सन्तान कहिल्यै त्यसरी चिनिनुहुँदैन।
  3. झूटो बोली शैतानबाटको हो (यूहन्ना ८:४४) र पुरानो पाप स्वभावबाटको हो (एफेसी ४:२२-२५)। झूट बोल्ने काम अन्धकारबाटको हो; यो संसारबाटको हो; यसलाई हामीले फाल्नुपर्छ र नयाँ मान्छेलाई अर्थात् ख्रीष्टलाई पहिरनुपर्छ।
  4. मानिसहरूले झूट बोल्ने विभिन्न कारण हुन्छन्।
    1. मानिसहरू कतिपटक डरले झूट बोल्छन्। मिस्रमा जाँदा अब्राहामले आफ्नी पत्‍नीका बारेमा डरकै कारण झूट बोलेका थिए (उत्पत्ति १२:११-१३)। पत्रुसले मान्छेको डरले आफ्नो प्रभुलाई इन्कार गरे (लूका २२:५५-६०)। बाइबलले बताउँछ, मान्छेको डरले पासोमा पार्छ (हितोपदेश २९:२५)।
    2. मानिसहरू कतिपटक घृणाले झूट बोल्छन् (हितोपदेश २६:२८)। मान्छेहरू अरूलाई चोट पुर्‍याउनलाई उनीहरूका बारेमा झूट बोल्छन्। शैतानले हव्वासित झूटा कुराहरू गर्नुको कारण यही थियो। झूटा हल्ला फैलाउने कामलाई यसैले प्रेरणा दिएको हुन्छ। १९८० को दशकमा नेपालको बाइबल सोसाइटीका प्रमुखले मलाई बाइबलहरू जलाएको आरोप लगाइएको एउटा पत्र लेखेर मण्डलीहरूलाई पठाए, तर त्यो पूरै झूट थियो। उनले त्यसो गरे किनकि उनले मलाई प्रचार गर्नदेखि रोक्न चाहन्थे र मैले देश छोडेर गएको उनी चाहन्थे। हिन्दूहरू ख्रीष्टको नाम र काममाथि आघात पुर्‍याउन ख्रीष्टियनहरूका बारेमा झूटहरू फैलाउँछन्। जस्तै, नेपालका कुनै-कुनै हिन्दूहरू यस्तो भन्छन् कि ख्रीष्टियनहरूले गाईको रगतमा नाङ्गै बप्‍तिस्मा लिनुपर्छ अरे!
    3. मानिसहरू लोभले झूट बोल्छन् (हितोपदेश २०:१४; २१:६)। किन्नुपर्दा वा बेच्नुपर्दा मान्छेहरू झूट बोल्छन्। साथै पद र अधिकारको लागि मान्छेहरू झूट बोल्छन्, जस्तै राजनीतिमा।
    4. मानिसहरू स्वार्थघमण्डले झूट बोल्छन्। यस संसारमा सत्य बोल्नु कतिपटक असुविधाजनक हुन सक्छ। प्रेरित ५ मा हनानिया र सफिराले यसै कारण झूट बोलेका हुन्। उनीहरू आफूलाई भएको भन्दा बढ्ता आत्मिक देखाउन चाहे अनि आफ्नो स्वार्थ लुकाउने प्रयासमा उनीहरूले झूट बोले।
    5. झूटा बोलीले विश्वासीको आत्मिक कवचलाई नष्ट पार्छ र शैतानलाई उसको जीवनभित्र छिरेर काम गर्ने खुला ढोका दिन्छ।

धार्मिकताको कवच (एफेसी ६:१४)

  1. कवचले मुटुलाई ढाक्छ र यो सिपाहीको हतियारको ज्यादै महत्त्वपूर्ण भाग हो।
  2. सुरक्षा दिने कुरा धार्मिकताको चालचलन हो। यसलाई एफेसी ४-६ मा बयान गरिएको छ: रिसलाई हटाउनु (४:२६), नचोर्नु (४:२८), काम गर्नु र अरूहरूलाई सहायतास्वरूप केही दिनु (४:२८), शुद्ध बोली (४:२९-३१; ५:४), दयालु हुनु, क्षमाशील हुनु (४:३२), व्यभिचार र अशुद्धतालाई फाल्नु (५:३), लोभलाई फाल्नु (५:३), अन्धकारका निष्फल कामहरूसँग कुनै सङ्गत नगर्नु (५:११), समयको सदुपयोग गर्नु (५:१६), अधीनतामा बस्ने पत्‍नी बन्नु (५:२२), प्रेमिलो पति बन्नु (५:२५), आज्ञाकारी छोरा वा छोरी बन्नु (६:१), लागिपर्ने, कृपालु र बुद्धिमानी बुबा बन्नु (६:४), मेहनती कामदार हुनु (६:५-८), न्यायी मालिक हुनु (६:९)।

शान्तिको सुसमाचारको तयारीका जुत्ता लगाइएका पाउहरू (एफेसी ६:१५)

  1. विश्वासी जन शत्रु-इलाकाभित्र छिर्दै अघि बढ्दै जानुपर्छ। हामी पर्खालपछाडि लुकेर स्वरक्षात्मक युद्ध लड्नेहरू हुनुहुँदैन।
  2. हामी सुसमाचार घोषणा गरेर नै शैतानको इलाकाभित्र छिर्दछौं। यो नै ठूलो ज्योति हो जसले अन्धकारलाई पछाडि धकेल्छ। येशूले दिनुभएको आज्ञा यही हो (मर्कूस १६:१५)। विश्वभरि सुसमाचार प्रचार गर्नू भन्ने आज्ञालाई नयाँ नियममा पाँच पटक दोहोर्‍याइएको छ (मत्ती २८; मर्कूस १६; लूका २८; यूहन्ना २०; प्रेरित १)।
  3. सुसमाचार प्रचार गर्नलाई तयारी चाहिन्छ। विभिन्न खालका व्यक्तिहरूलाई सुसमाचार कसरी प्रचार गर्ने भनेर विश्वासीले सिक्नुपर्छ। अविश्वासीका तर्कहरूको सामना गर्न उसले सिक्नुपर्छ। तसर्थ यसबाट हामी प्रत्येक मण्डली युद्धका लागि सिपाहीहरू तयार पार्ने तालिम केन्द्र बन्नुपर्छ भनेर बुझ्दछौं।
  4. जोहरू सुसमाचार फैलाउनलाई व्यस्त छैनन् उनीहरू शैतानबाट सुरक्षित छैनन् किनकि त्यस्ताहरू अनाज्ञाकारी भई जिइरहेका छन्।

विश्वासको ढाल (एफेसी ६:१७)

  1. उक्त ढाल विश्वासको ढाल हो।
    • शैतानले हाम्रो विश्वासमाथि अविश्वासका वाणहरू वर्षाउँछ। ती वाणहरू अग्निमय छन्, यसको मतलब ती निर्दयी छन्, घातक छन्, कडा छन्, अविरल छन्। शैतानले परमेश्वरमाथि राखिएको विश्वासीको विश्वासलाई आक्रमण गर्छ। उसले परमेश्वरको चरित्रमाथि आक्रमण गर्छ, जस्तो उसले हव्वासित गर्‍यो। उसलाई परमेश्वरले प्रेम गर्नुहुन्न, उसलाई परमेश्वरले परित्याग गर्नुहुनेछ, उसलाई परमेश्वरले क्षमा दिनुहुन्न, उसका प्रार्थनाहरूको जवाफ परमेश्वरले दिनुहुन्न, परमेश्वर विश्वासयोग्य हुनुहुन्न, परमेश्वरका प्रतिज्ञाहरू सत्य छैनन्, परमेश्वरलाई खुशी पार्नु र ख्रीष्टियन जीवन जिउनु सम्भव छैन, परमेश्वर अविवेकी (unreasonable) हुनुहुन्छ, उहाँ निर्दोलाई तर्साउने प्रवृत्तिको हुनुहुन्छ, परमेश्वर हामीलाई खालि दुःख दिन चाहनुहुन्छ भनेर शैतानले विश्वासीलाई पत्यार पार्न चाहन्छ। जन बन्यान (John Bunyan) ले आफ्नो पुस्तक “यात्रीको प्रगति” (Pilgrim’s Progress) मा आफू नयाँ विश्वासी हुँदा शैतानको अविश्वासका वाणहरूसितको उसको भयानक लडाइँलाई बयान गरेका छन्। शैतानले परमेश्वरको वचनमाथि पनि आक्रमण गर्छ जसरी अदनको बगैंचामा हव्वासित उसले गरे।
    • शैतानले परीक्षाको अग्निवाणहरूले आक्रमण गर्दछ (१ इतिहास २१:१; प्रेरित ५:३)।
    • शैतानले शङ्कारूपी अग्निवाणहरूद्वारा आक्रमण गर्दछ। हामीले अर्काप्रति नराम्रो सोँच राखोस् भन्ने हेतुले त्यसले शङ्का र लाञ्छनाद्वारा आक्रमण गर्छ; हामीलाई माया हाम्रा आफ्नै नातागोताहरू, सबभन्दा नजीकका मित्रहरू र अति योग्य मण्डली अगुवाहरूप्रति समेत हाम्रा मनमा यस्ता भावनाहरू उब्जाउन खोज्छ। हामीले बिर्सनुहुन्न, शैतान “भाइहरूलाई झूटा दोष लगाउने” दियाबलस हो (प्रकाश १२:९-१०)। शङ्कालाई सत्यद्वारा जाँच्नु नै विजयको उपाय हो। कुनै कुरा सत्य भएको प्रमाण नभेटिएसम्म त्यसलाई विश्वास नगर्नुहोस्, चाहे त्यो आफ्नै विचार होस् वा तपाईंले सुनेको वा पढेको कुरा होस्। साथै हामीले आफ्ना हृदयहरूलाई अरूहरूप्रति कोमल र कृपालु राखेर शैतानका शङ्कारूपी अग्निवाणहरूमाथि विजय बन्छौं (२ कोरिन्थी २:१०-११)।
    • विश्वास केवल परमेश्वरको वचनबाट आउँछ (रोमी १०:१७)। त्यसैले नै हो बाइबलसित विश्वासीको घनिष्ट सम्बन्ध हुनुपर्छ — त्यसलाई पढ्दै, अध्ययन गर्दै, सुन्दै, कण्ठ गर्दै, मनन गर्दै। तपाईंले जति राम्ररी बाइबल जान्नुहुन्छ त्यति नै राम्ररी तपाईं शैतानबाटका अविश्वासका वाणहरूसित लड्न सक्नुहुन्छ। येशूले यसरी नै शैतानमाथि विजय प्राप्‍त गर्नुभएको थियो (लूका ४:१-१२)।
  1. यो ढाल ज्यादै शक्तिशाली छ। विश्वासको ढालले शैतानका सबै अग्निवाणहरूलाई निभाउन सक्दछ। यो शक्तिशाली छ किनकि यो परमेश्वरकै अचूक वचनमाथि खडा रहेको छ (रोमी १०:१७)।
  2. यो ढाल प्रयोगमा ल्याइनुपर्छ। यसलाई “उठाऊ” भनिएको छ। हामी त्यत्तिकै उभिरहनुहुन्न, लुक्नुहुन्न; हामी शैतानको अखडाभित्र छिर्नुपर्छ र उसका फौजसित प्रत्यक्ष कुस्ती लड्नुपर्छ र ख्रीष्टका निम्ति विजयहरू हासिल गर्नुपर्छ।

मुक्तिको टोप (एफेसी ६:१७)

  1. यो टोप एकदम महत्त्वपूर्ण छ किनकि यसले टाउकाको अर्थात् विचारको रक्षा गर्छ। पेशागत बन्दुकधारीहरूलाई टाउकालाई ताकेर हान्न तालिम दिइन्छ किनकि त्यो नै सबभन्दा प्रभावकारी आक्रमणको निशाना हो।
  2. विश्वासी आफ्नो मुक्तिमा निश्चित हुनु नै यो टोप हो, र शैतानको सबभन्दा तीब्र आक्रमणको निशाना यही बिन्दुलाई बनाइएको हुन्छ। “परमेश्वरले तिमीलाई प्रेम गर्दैनन्; तिमी ख्रीष्टमा सुरक्षित छैनौ; तिमी मूल्यहीन छौ; तिंमी होशियार भएनौ भने परमेश्वरले तिमीलाई त्याग्न सक्छन्; तिम्रो पाप गराइले परमेश्वर थाकिसकेका छन्।” नयाँ जन्म पाएको विश्वासीले मुक्ति गुमाउन सक्छ भन्ने शिक्षाले यस टोपलाई कमजोर तुल्याउँछ। यस टोपलाई राम्ररी लगाउने हो भने विश्वासीले आफ्नो मुक्तिलाई बुझेको हुनुपर्छ। उसको मुक्ति पूर्ण र दामरहित होस् भन्ने हेतुले तिरिएको त्यो ठूलो मूल्यलाई उसले बुझेको हुनुपर्छ। उसको मुक्ति एउटा दान हो, अर्थात् परमेश्वरको अनुग्रहले दिलाएको हो, भन्ने कुरा उसले बुझेको हुनुपर्छ। नयाँ गरी जन्मनु भनेको के हो भनेको उसले बुझेको हुनुपर्छ र आफू नयाँ गरी जन्मेको छु भन्ने कुरामा ऊ निश्चित हुनुपर्छ। विश्वासीले अनुग्रह, विश्वास, दान, धर्मी ठहराइनु, प्रायश्चित, उद्धार, मिलाप, आशा जस्ता बाइबलीय सत्यताहरूलाई जति राम्ररी बुझ्दछ उत्तिकै उसको टोप बलियो हुन्छ। त्यसैले यस पाठ्यक्रममा हामीले यी कुराहरूको चर्चा गरेका हौं।

आत्माको तरवार (एफेसी ६:१७)

आत्माको तरवार परमेश्वरको वचन, बाइबल हो।

  1. तरवार एउटा हमला गर्ने हतियार हो। फेरि पनि यसले हामीलाई हामी शत्रुको विरुद्धमा अगाडि नै बढ्नुपर्छ भन्ने कुराको सम्झना गराउँछ न कि हामी केवल उभिरहौं र प्रतिरक्षाको स्थितिमा बसीरहौं।
  2. तरवार धारिलो हुनुपर्छ। परमेश्वरका आत्माले हामीलाई म्यासोरेटिक हिब्रू पुरानो नियम (Massoretic Hebrew Old Testament) र रिसिभ्ड ग्रीक नयाँ नियम (Received Greek New Testament) मा पूर्णरूपले धारिलो तरवार दिनुभएको छ। हामीसँग हाम्रा विभिन्न भाषाहरूमा सक्दो धारिला अनुवादहरू उपलब्ध छन्। बाइबलको कुनै फितलो अनुवाद तरवार त हो तर त्यो बोधो हुन्छ, हुनुपर्ने जति शक्तिशाली र प्रभावकारी हुँदैन। अङ्ग्रेजी भाषामा सबैभन्दा धारिलो तरवार किङ्ग जेम्स बाइबल (King James Bible) हो जुनचाहिँ सीधै हिब्रू र ग्रीक मूल लेखोटहरूबाट अनुवाद गरिएको हो र जुनचाहिँ अक्षरशः रूपमा, होशियारीपूर्वक र सुन्दर ढङ्गले अनुवाद गरिएको छ।
  3. तरवार निपुणतापूर्वक चलाइनु खाँचो छ। एकजना तालिमप्राप्‍त तरवारधारीसित तरवारै चलाउन नजान्ने व्यक्ति भिड्न गएको अनुमान गर्न सक्नुहुन्छ? ऊ त टुक्रा-टुक्रा पारिनेछ। हामीले परमेश्वरको वचनलाई निपुणतापूर्वक प्रयोग गर्न सिक्नुपर्छ (२ तिमोथी २:१५; हिब्रू ५:१२-१४)। तरवार पवित्र आत्माकै निजी हतियार हो भनेर हामीले बिर्सनुहुन्न। पवित्रशास्त्रलाई सठीक ब्याख्या गर्न हामीलाई सक्षम तुल्याउने पवित्र आत्मा नै हुनुहुन्छ। हामीले आफ्नै क्षमताको भरमा बाइबल अध्ययन गर्‍यौं भने हामीले यसलाई ठीकसँग व्याख्या गर्न सक्नेछैनौं। हामीले आत्मासितको सङ्गतिमा बाइबललाई अध्ययन गर्नुपर्छ र उहाँद्वारा डोर्‍याइनलाई उहाँको भर पर्नुपर्छ।

प्रार्थना (एफेसी ६:१८-२०)

प्रार्थना हाम्रा आत्मिक हतियारहरूको एउटा महत्त्वपूर्ण भाग हो; यो ढाक्ने सुरक्षा हो।

  1. हामीले सधैं प्रार्थना गर्नुपर्छ। यसको माने दिनभरि नै प्रार्थना गर्नु हो।
  2. हामीले आत्मामा प्रार्थना गर्नुपर्छ। यसको माने आत्माको नियन्त्रणमा हुनु हो, अर्थात् उहाँको अगुवाइलाई पछ्‍याउनु, उहाँलाई शोकित नपार्नु हो।
  3. हामी जागा रहेर अरूका निम्ति अन्तर्विन्ती गर्दै प्रार्थना गर्नुपर्छ। योचाहिँ हाम्रो आफ्नै लगायत अरूहरूको आत्मिक सुरक्षाको महत्त्वपूर्ण भाग हो।
  4. हामी प्रयत्‍नसाथ प्रार्थना गर्नुपर्छ, नथाकीकन, पछि नहटीकन। प्रभावकारी प्रार्थनाको सबभन्दा महत्त्वपूर्ण सिद्धान्तहरूमध्ये एउटा यही हो।
  5. हामीले प्रस्ट मागहरूसहित प्रार्थना गर्नुपर्छ (एफेसी ६:१९)। अन्तर्विन्तीका प्रार्थनाहरूले निश्चित कुराहरूको माग गर्दछ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email