बिदाइ हुनुहुने व्यक्ति (भाग १)
बिदाइ हुनुहुने व्यक्ति (भाग १)
यूहन्ना १४-१६ अध्यायहरूमा येशूले आफ्ना चेलाहरूलाई दिनुभएका बिदाइका वचनहरू पढ्छौं। उहाँले उनीहरूलाई छोड्नुहुने र आफू जानुहुने कुरा घरिघरि गर्नुभयो (यूहन्ना १४:२,३,१८,२८,२९; १६:५,७,१६,२८)। त्यही रात येशू गिरफ्तार गरिन र चेलाहरूदेखि लगिन लागिरहनुभएको थियो (यूहन्ना १८)। भोलिपल्ट विहानै उहाँ क्रूसमा टाँगिनेवाला हुनुहुन्थ्यो। तसर्थ, यूहन्ना १४-१६ अध्यायहरूमा येशूले आफ्ना चेलाहरूसित आफू क्रूसमा जानुअघि बोल्नुभएका आखिरी वचनहरू पाउँछौं। चेलाहरूसित येशूले चर्चा गर्नुभएका विषयहरू यस प्रकार थिए:
यूहन्ना १४ – १६ अध्यायहरूको रूपरेखा
- जानुहुने तर फेरि आउनुहुने (यूहन्ना १४:१-४)
- परमेश्वरकहाँ जाने बाटो (यूहन्ना १४:५-१४)
- परमेश्वरलाई कसरी प्रेम गर्ने (यूहन्ना १४:१५-२४)
- आउनुहुने शान्तिदाता (यूहन्ना १४:२५-३१)
- दाखको बोट र हाँगाहरू (यूहन्ना १५:१-११)
- सबैभन्दा महान् प्रेम (यूहन्ना १५:१२-१७)
- विश्वासी जन र संसार (यूहन्ना १५:१८-२७)
- आउन लागेको सतावट (यूहन्ना १६:१-४)
- येशू जानुहुन्छ तर शान्तिदाता आउनुहुन्छ (यूहन्ना १६:५-१५)
- बिदाइका वचनहरू (यूहन्ना १६:१६-३३)
यूहन्ना १४
जानुहुने तर फेरि आउनुहुने!
यूहन्ना १३:३३ पढ्नुहोस्। आफू जानुहुने र अब केही बेरसम्म मात्र उनीहरूसँग रहनुहुने कुरा के येशूले आफ्ना चेलाहरूलाई जनाइसक्नुभएको थियो? __________। येशूले उनीहरूलाई छोड्नुहुनेछ भन्ने कुराले चेलाहरूलाई चिन्तित बनाएको थियो (दाँज्नुहोस्, यूहन्ना १४:१)। उनीहरूले प्रभुसित साँढे तीन वर्ष सँगै बिताइसकेका थिए (दाँज्नुहोस्, यूहन्ना १४:९)। प्रभुका शत्रुहरूले उहाँलाई मार्न खोजिरहेका छन् भनी उनीहरू जान्दथे। आफ्नै जीउ-ज्यानलाई समेत खतरा हुन सक्ने कुराले उनीहरू चिन्तित थिए (यूहन्ना ११:७-८,१६;१३:३७)। हुन लागिरहेका कुराहरूलाई उनीहरू राम्ररी बुझ्न सकिरहेका थिएनन्, तर यतिसम्म उनीहरूले बुझे कि अब चाँडै उनीहरू आफ्ना प्रभुबाट अलग हुनेछन् र उहाँ अब उनीहरूसँगै हुनुहुनेछैन। यसकारण उनीहरूका हृदयहरू चिन्तित थिए।
येशूले आफू जाँदै छु भनी चेलाहरूलाई भन्नुभयो। आफू जाने ठाउँ पनि बताउनुभयो! उहाँ आफ्नो _________ ________मा जाँदै हुनुहुन्थ्यो (यूहन्ना १४:२)। यस पदले हामीलाई त्यो अनन्तको घरको बारेमा बताउँछ जसलाई परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति स्वर्गमा तयार पार्नुभएको छ। यूहन्ना १४:२ मा के येशूले स्वर्गलाई एउटा बास्तविक स्थानको रूपमा बयान गर्नुभएको छ? ________। येशू त्यहाँ किन जानुभयो (यूहन्ना १४:२)? _____________________________________________। याद गर्नुहोस्, स्वर्ग जानु अघि येशू पहिला क्रूसमा जानुभयो! यदि येशू क्रूसमा नमर्नुभएको भए के हामीले स्वर्गमा स्थान पाउन सक्थ्यौं (दाँज्नुहोस्, १ पत्रुस ३:१८; २कोरिन्थी ५:२१)? ____________।
आफूले प्रिय मान्ने व्यक्तिलाई फेरि कहिल्यै भेटिन्न भनेर तपाईंलाई थाह छ भने त्यस व्यक्तिलाई बिदाइ गर्न गाह्रो पर्छ। तर यदि त्यस व्यक्ति फेरि फर्केर आउनेछन् भनेर थाह छ भने बिदा दिन अलिक सजिलो पर्छ। के येशूले आफू फर्केर आउनेछु भनेर प्रतिज्ञा गर्नुभयो (यूहन्ना १४:३)? _______________। उहाँ जानुभए तापनि उहाँले फेरि __________ (यूहन्ना १४:३) भन्नुभएको हुनाले उनीहरूले सान्त्वना पाए। येशूले आफू आउनुभएर उनीहरूलाई स्वर्गमा लानुहुने प्रतिज्ञा गर्नुभयो। के उहाँले उहाँ कहिले आउनुहुनेछ भनेर बताउनुभयो? _______________। उहाँको आगमन निश्चित छ किनभने उहाँले भन्नुभयो, “म फेरि _____________ (यूहन्ना १४:३)।”उहाँको आगमनको समय भने निश्चित छैन किनभने उहाँले त्यो हामीलाई प्रकट गर्नुभएन।
येशू ख्रीष्ट आफ्ना विश्वासी जनहरूलाई लिन आउनुहुने र स्वर्गमा पिताको घरमा लानुहुने घटना एउटा ज्यादै महत्त्वपूर्ण घटना हो। यसलाई र्याप्चर (“उठाइलगिने”अथवा विश्वासी जनहरूलाई माथि लगिने काम) पनि भनिने चलन छ अनि यस घटनाका बारेमा थप जानकारी १ थेस्सलोनिकी ४:१३-१८ र १ कोरिन्थी १५:५१-५३ मा दिइएको छ। महसुस गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, येशूले आफू फर्कनुभएर सबै मानिसहरूलाई नै स्वर्गमा लानुहुने प्रतिज्ञा गर्नुभएन। उहाँको पुन:आगमनको प्रतिज्ञा केवल वि________ गर्नेहरूका लागि मात्रै हो (यूहन्ना १४:१)। के उहाँको यो प्रतिज्ञा तपाईंको लागि पनि हो? __________।
परमेश्वरकहाँ जाने बाटो
येशूले आफ्ना चेलाहरूलाई स्वर्गको बारेमा र स्वर्ग जाने बाटोको बारेमा बताउँदै हुनुहुन्थ्यो। के थोमाले येशूले भन्नुभएका कुरालाई बुझे (यूहन्ना १४:४-५)? ____________। येशूले उनको प्रश्नको जवाफ दिनुहुँदा एउटा अर्को महत्त्वपूर्ण वचन बोल्नुभयो जसमा म हुँभन्ने शब्दहरू छन्:
| …म हुँ | (यूहन्ना १४:६ मा हेर्नुहोस्) |
| __________ | येशू नै स्वर्ग जाने बाटो हुनुहुन्छ! के अर्कै बाटोबाट पुग्न खोज्ने व्यक्ति सफल हुन सक्छ? ___________। |
| __________ | येशू नै सत्य हुनुहुन्छ। उहाँले कसैलाई कहिल्यै भ्रममा पार्नुहुन्न, धोका दिनुहुन्न। येशू ख्रीष्टलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने व्यक्तिले सत्य कहिल्यै जान्नेछैन। |
| __________ | उहाँमा नै जीवन छ (यूहन्ना १:४)। “जससँग पुत्र हुनुहुन्छ ऊसित ___________ छ”(१ यूहन्ना ५:१२)। अनन्त जीवन येशू ख्रीष्टमा पाइन्छ, अरू कसैमा पाइन्न। हामीले परमेश्वरलाई चिन्न र परमेश्वरमा आनन्दित हुन सक्न येशूले नै सम्भव तुल्याउनुभयो! |
परमेश्वरकहाँ जाने बाटो धेरै छन्, भन्ने गर्छन् धेरैले। निष्कपट भावना छ भने जसले जुनसुकै बाटो अपनाए पनि हुन्छ, अन्तमा उनीहरू सबै नै एउटै ठाउँमा पुग्छन् अरे। उनीहरू सबै नै अन्तमा स्वर्गमै पुग्छन्। एकजना वक्ताले एउटा मनोहर बगैँचामा रहेको एउटा सुन्दर दरवारको बयान गरे। चारै दिशाबाट त्यस दरवारमा पुग्नलाई बाटोहरू रहेछन्। ती बाटाहरूमा थुप्रै-थुप्रै मानिसहरू हिँडिरहेका थिए। कतिजना चाहिँ पहाड पर्वत उक्लँदै आए; कतिजना अलिक कम ढुंगेनी बाटो भएर आए; कतिजना हाँस्दै गाउँदै, दुवैतिर फूलहरू फुलिरहेका रमणीय बाटो हुँदै आए। तर सबै नै अन्तमा दरवारको ढोकामा आइपुगे! यो बयान सुन्दर होला तर के परमेश्वरकहाँ जाने बाटोको सत्य बयान हो त? _______। येशूले भन्नुभयो, “_____द्वारा बाहेककोही पनि _______कहाँ आउँदैन”(यूहन्ना १४:६)। परमेश्वरकहाँ जाने बाटो येशू मात्र हुनुहुन्छ! मानिसहरू बास्तवमा दुइटा बाटाहरूमा हिँडिरहेका छन्—एउटा सही बाटो र अर्को गलत बाटो (पढ्नुहोस्, मत्ती ७:१३-१४)। तपाईं कुन बाटोमा हुनुहुन्छ?
ख्रीष्टलाई साँच्ची नै चिन्ने व्यक्तिले अरू कसलाई पनि चिनेको हुन्छ (यूहन्ना १४:७)? _______________________। पितालाई चिन्ने सबभन्दा राम्रो तरिका हो पुत्रलाई चिन्नु! येशूको भनाइलाई फिलिपले बुझेनन्। उनले भने, “प्रभु, हामीलाई _______ _____________, अनि यही हाम्रा निम्ति पर्याप्त हुन्छ (यूहन्ना १४:८)।”येशूले फिलिपलाई यूहन्ना १४:९ मा भन्नुभएको कुरा तलका कुनचाहिँ भनाइसित सबभन्दा राम्ररी मेल खान्छ?
- फिलिप, म तिमीलाई पिता देखाइदिनेछैनँ।
- फिलिप, भोलि तिमीले दर्शनमा चम्किलो प्रकाश देख्नेछौ र तिमीले पिता देख्नेछौ!
- फिलिप, तिमीलाई पिता देखाइसकिनुभएको छ!
- फिलिप, तिमीले पितालाई देख्न सक्दैनौ किनभने उहाँ अदृश्य हुनुहुन्छ!
परमेश्वर पितालाई प्रकट गर्नुहुने र चिनाउनुहुने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। येशूले भन्नुभयो, जसलले मलाई __________ छ, उसले _______लाई देखेको छ”(यूहन्ना १४:९)। कुनै सामन्य मानवले यस्तो दावी कहिल्यै गर्न सक्दैनन्! येशू यसो भन्दै हुनुहुन्थ्यो: “यदि तिमी साँच्ची नै परमेश्वरलाई देख्न चाहन्छौ भने मलाई हेर र मलाई चिन्न थाल! अदृश्य परमेश्वरलाई देख्न सकिने बनाउने म नै हुँ!”(यूहन्ना १:१८)। कलस्सी १:१५ मा हामी सिक्छौं, येशू ख्रीष्ट अदृश्य परमेश्वरका ___________ हुनुहुन्छ। एउटा उदाहरणलाई विचार गरौं: हामी मध्ये कसैले पनि राजा पृथ्वीनारायण शाहलाई देखेका छैनौं किनभने हामी जन्मनुभन्दा धेरै अगाडि राजा पृथ्वीनारायण शाह मरे। तर पृथ्वीनारायण शाहको प्रतिरूप भने इतिहासका पुस्तकहरूमा छापिएका तस्वीरहरूमा पाइन्छ र त्यसलाई हेरेर उनी कस्ता देखिन्थे भन्ने हामीलाई केही ज्ञान मिल्छ। येशू ख्रीष्ट परमेश्वरको प्रतिरूप हुनुहुन्छ। प्रतिरूपलाई हेरेर हामीले परमेश्वर बास्तवमा कस्तो हुनुहुन्छ भनेर सिक्न सक्छौं। जसरी ऐनाको प्रतिरूपले मान्छेलाई देखाउँछ त्यसरी नै येशू ख्रीष्टले परमेश्वर पितालाई सिद्धरूपमा देखाउनुहुन्छ!
“यीभन्दा ठूला कामहरू”?
यूहन्ना १४:१२ मा ख्रीष्टले आफ्ना चेलाहरूलाई दिनुभएको अचम्मको प्रतिज्ञालाई पढ्नुहोस्। उहाँको भनाइको तात्पर्य के थियो?
येशूले आफ्नो सार्वजनिक सेवाकाइमा गर्नुभएका कामहरू अति महान् थिए। रोगहरू निवारण भए, दुष्टात्माहरू निकालिए, मरेकाहरू बौराइए; दाखरस, रोटी, माछा सृष्टि गरिए, ठूला-ठूला हुरी तत्कालै थामिए। तर यो महसुस गरिनुपर्छ कि यी प्रत्येक आश्चर्यकर्महरू जानाजानी नै सतही र अस्थायी गुणका थिए! अर्को शब्दमा, यिनीहरूबाट कसैलाई पनि स्थायी किसिमको सहायता मिलेन, न ता मानिसको सबैभन्दा गहिरो खाँचोहरू नै पूरा भए! एउटा अवसरमा सृष्टि गरिएको खानेकुराले अरू समयहरूको खाँचोलाई स्वत: पूरा गरेन। शारीरिक रोगहरूको सम्बन्धमा, येशूद्वारा चंगाइ पाएका प्रत्येक रोगी, लगंडो,लेरी व्यक्ति अन्तमा मरे। प्रत्येक नै! अनि विचरा लाजरस! येशूले उनलाई मृत्युबाट तुरुन्तै र पूर्ण रूपमै बौराउनुभएको त हो, तर उनी फेरि मरे! दुई पटक मर्ने रहर छ र तपाईंलाई? (डा. जोन सी. व्हीटकम्ब, के ख्रीष्टियनहरूले आज आश्चर्यकर्महरू गरेको परमेश्वर चाहनुहुन्छ?, पृष्ठ ११)
येशूले भन्नुभयो, “यीभन्दा ठूला कामहरू गर्नेछ, किनभने म मेरा पिताकहाँ जान्छु।”ख्रीष्टका आश्चर्यकर्महरूभन्दा ठूला कामहरू के हुन सक्ला र? प्रभु येशू ख्रीष्ट स्वर्गमा फर्कनुभएपछि, पत्रुसले परमेश्वरको शक्तिशाली वचन (क्रूसमा टाँगिनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा) हजारौं यहूदीहरूलाई प्रचार गरे। परमेश्वरले ठूलो काम गर्नुभयो अनि एकै दिनमा ३,००० व्यक्तिहरूले मुक्ति पाए र उनीहरूको पापहरू क्षमा भए (प्रेरित २:४१)। अदृश्य-आत्मिक क्षेत्रमा ठूलो आश्चर्यकर्म भयो –नयाँ जन्मको आश्चर्यकर्म। यस आश्चर्यकर्मले मानिसको सबभन्दा ठूलो खाँचोलाई स्थायी रूपमा अनन्तका लागि पूरा गरिदियो!
कुन ठूलो?
| चङ्गाइ गरिएका, हजारौं खुवाइएका, दुष्टात्माहरू धपाइएका, मरेकाहरू बौराइएका जस्ता आश्चर्यकर्महरू। | मुक्तिका आश्चर्यकर्महरू, पापहरूको क्षमा, नयाँ जन्म, पापबाट छुटकारा जस्ता आश्चर्यकर्म। |
|
|
यूहन्ना ६:१३-१५,२६-२७ पढ्नुहोस्। यहूदीहरूचाहिँ कुन खालको आश्चर्यकर्महरूको चाहना गर्दथे? ___________________________________________। विगत २००० वर्षदेखि आजसम्म परमेश्वरले आफ्नो मण्डलीमा दिनहुँ थप्ने कार्य गर्ने क्रममा (प्रेरित २:४७) मुक्तिको यस आत्मिक आश्चर्यकर्म बारम्बार दोहोरिँदै आएको छ। के यस “अझ ठूलो”आश्चर्यकर्म तपाईंको जीवनमा पूरा भयो? पूरा भएको छ भने, के तपाईंले अरूहरूलाई क्रूसमा टाँगिनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा बताउँदैहुनुहुन्छ त, ता कि उनीहरूले पनि उहाँमा विश्वास गरी यस आश्चर्यकर्मको अनुभव गर्नुसकून्?
येशू ख्रीष्ट नै परमेश्वरकहाँ जाने बाटो हुनुहुन्छ! उहाँद्वारा मात्रै एक व्यक्ति स्वर्गमा पुग्न सक्नेछ (यूहन्ना १४:६)। उहाँद्वारा मात्रै एक व्यक्तिले परमेश्वर पिता कस्तो हुनुहुन्छ भनेर जान्न सक्नेछ (यूहन्ना १४:९)। अनि उहाँद्वारा मात्रै हो, एक व्यक्ति पिताकहाँ अहिले नै आउन सक्दछ! के तपाईंलाई थाह छ, विश्वासी जन अहिले नै परमेश्वरकहाँ आउन सक्दछ! एक विश्वासी जन दिन वा रातको कुनै पनि घडी परमेश्वरकै उपस्थितिमा सीधै आउन सक्दछ! यसो गर्न प्रार्थनाद्वारा सम्भव छ जसको बारेमा येशूले यूहन्ना १४:१३-१४ मा चर्चा गर्नुभयो।
यूहन्ना १४:१३-१४ मा येशूले भन्नुहुन्छ, पितालाई प्रार्थना गर्नेहरूले मेरो ______मा माग्नुपर्छ। यसको मतलब हामीले प्रार्थना गर्न सक्ने एउटै मात्र कारण येशूको नाम (उहाँको व्यक्तित्व र उहाँले हाम्रो निम्ति गरिदिनुभएको काम) हो। जब हामी “येशूको नाममा”भनेर प्रार्थना गर्दछौं यो प्रार्थनाको अन्तमा पुच्छर लगाउने कुनै जादुको सुत्र होइन। यी शब्दहरूद्वारा हामीले याद गर्नुपर्छ, हामी परमेश्वर पिताकहाँ येशू ख्रीष्टद्वारा आउँदैछौं अनि परमेश्वरले हाम्रो प्रार्थना हाम्रो कारणले होइन तर उहाँको पुत्रको कारणले जवाफ दिनुहुनेछ भनेर प्रतिक्षा गर्दैछौं! विश्वासी जनको धारण यस्तो हुनुपर्छ: “परमेश्वर खुद परमेश्वर नै हुनुहुन्छ र उहाँले यो प्रार्थनाको जवाफ दिनुहुनेछ, मकोही भएको कारणले होइन तर ख्रीष्ट सर्वोपरि हुनुभएको कारणले; म केही पाउनलाई योग्य भएकोले होइन तर ख्रीष्टले क्रूसमा मेरो निम्ति गरिदिनुभएको कार्यले गर्दा परमेश्वर मप्रति अनुग्रही हुनुभएको कारणले। मैले मागेको कुनै पनि कुरा ख्रीष्टले चाहनुहुन्न भने त्यो कुरा म पनि चाहन्न।”
परमेश्वरकहाँ ख्रीष्टद्वारा प्रार्थनामा आउन पाउनु ठूलो सौभाग्य हो। एउटा समान्य व्यक्तिले साधारणतया नेपालको राजासित कुरा गर्न पाउँदैन। उसलाई नारायणहिटी दरवारको गेटबाट भित्र पस्न दिइन्न! एक विश्वासी जन नेपालको राजा भन्दा अति महान व्यक्तिकै उपस्थितिमा जान पाउँछ! कुनै पनि बेला कुनै पनि ठाउँमा हुँदा हामी आउन सक्छौं!
परमेश्वरलाई कसरी प्रेम गर्ने
येशूले भन्नुभयो, “मलाई प्रेम गर्छौ भने… (यूहन्ना १४:१५, ठीक जवाफलाई चिन्ह लगाउनुहोस्)
- “येशू प्रभु तपाईंलाई म प्रेम गर्दछु”भन्ने भजन गाऊ
- मलाई प्रेम गर्दछौ भनेर अरूहरूलाई बताऊ
- मेरा आज्ञाहरू पालन गर
- तिमीलाई जस्तो मन लाग्छ त्यस्तो जीवन बिताऊ
प्रभुलाई हाम्रो प्रेम देखाउने एउटै तरिका हो, आज्ञापालन। मानौं ८ वर्षे गीताले आफ्नी आमालाई “मम्मी, म तपाईंलाई प्रेम गर्छु”भन्छिन् तर मम्मीले अह्राएबमोजिम तिनले आफ्नो लुगा मिलाउँदिनन्, भाँडा माझ्न सहायता गर्दिनन्, पढ्न मान्दिनन्। के यस बालिकाले आफूले बोलेको कुरालाई कामले देखाउँदैछिन्? ______________। आज्ञापालन चाहिँ प्रेमले गर्ने काम हो! हामी येशूलाई साँच्ची नै प्रेम गर्छौं भने हामीले उहाँले भन्नुभएबमोजिम गर्नेछौं!
यूहन्ना १४:२१ अनसार येशूलाई प्रेम गर्ने व्यक्तिले हो? _____________________ _______________________। कसैले येशूलाई साँच्ची नै प्रेम गर्दछ भने उसले के गर्नेछ (यूहन्ना १४:२३)? _________________________________________। यूहन्ना १४:२४ मा येशूले उहाँलाई प्रेम नगर्ने व्यक्तिको विषयमा बताउनुहुन्छ: “जसले मलाई प्रेम ________, त्यसले मेरा ______________ पालन गर्दैन।”येशूलाई हामी साँच्ची नै प्रेम गर्छौं भनी देखाउने एउटै तरिका छ। हामीले उहाँका वचनहरू पालन गर्नुपर्छ र उहाँले भन्नुभएबमोजिम गर्नेछौं।
पुरानो नियममा यही कुरा उल्लेख छ। परमेश्वरलाई प्रेम गर्नु र परमेश्वरका आज्ञाहरू पालन गर्नु चाहिँ जुम्ल्याहा नानीहरू जस्तै हुन्। यी दुई सधैं सँगै हुन्छन्। जस्तै, प्रस्थान २०:६, “मलाई ________ गर्ने र मेरा _______________ ____________ गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु।”साथै हेर्नुहोस्, व्यवस्था ५:१०; ७:९; १०:१२; ११:१; १३:३-४; ३०:१६; ३०:२० आदि। “म तपाईंलाई प्रेम गर्छु”भनेर पुग्दैन। “येशू प्रभु तपाईंलाई म प्रेम गर्दछु”भन्दै गाएर पुग्दैन। हामीले परमेश्वरलाई प्रेम गर्छौं भनेर आज्ञापालनले देखाउनुपर्छ।
आउनुहुने शान्तिदाता
येशू जान लाग्दै हुनुहुन्थ्यो। यसको कारण चेलाहरूको हृदय शोकले भरिएको थियो (यूहन्ना १६:६) तर उनीहरूको निम्ति प्रभुसित खुशीको खबर थियो! उहाँ जान लाग्दै हुनुभए तापनि अर्को व्यक्ति उनीहरूसँग सधैं हुनलाई आउँदै हुनुहुन्थ्यो! यस व्यक्तिलाई येशूले शा__________ (यूहन्ना १४:१६)ले संज्ञा दिनुभयो। “ढाडस गर, चेलाहरू! म जान लाग्दै छु तर शान्तिदाता आउँदैहुनुहुन्छ!”एकजना जानुहुन्छ तर अर्को आउनुहुनेछ!
“शान्तिदाता”को शाब्दिक अर्थ हो, “सहायता गर्नलाई छेवैमा बोलाइएको, एक सहायक, सान्त्वना दिने व्यक्ति, जसले मदत गर्छ र हौसला दिन्छ।”यूहन्ना १४:२६ मा शान्तिदाताले हुनुहुन्छ भनेर थाह पाउँछौं: “तर _____________, जो _________ _________ हुनुहुन्छ।”केही वर्षसम्म येशू चेलाहरूसित निरन्त रहनुभयो। उनीहरूलाई सहायता गर्न, सान्त्वना दिन, हौसला दिन, सिकाउन उहाँ उनीहरूको छैवैमा हुनुहुन्थ्यो। तर अन्तमा उहाँ उनीहरूलाई छोडेर जानुहुनेछ भनेर येशूले चेलाहरूलाई भन्नुभयो। चेलाहरूलाई यस्तो लाग्यो होला, “हाम्रा सहयात्री, हाम्रा मित्र हाम्रा सहायक अब हामीसँग कहिल्यै हुनेछैनन्। हामी एकलै छाडिनैछौं।”तर यी चेलाहरूका निम्ति येशूसित खुशीको खबर थियो! अर्को सहयात्री, अर्को शान्तिदाता उनीहरूसित हुनलाई आउनुहुनेछ! येशूले उनीहरूलाई छोड्नुहुनेछ तर येशूजस्तै अर्को उनीहरूसँग हुनलाई आउनुहुनेछ! यस शान्तिदाता चेलाहरूसित कहिलेसम्म रहनुहुनेछ (यूहन्ना १४:१६)? ________________________________।
यी तीन अध्यायहरूमा (यूहन्ना १४-१६) येशूले आउनुहुने शान्तिदाताको बारेमा बारम्बार कुरा गर्नुहुन्छ। के तपाईंले शान्तिदाता उल्लेख हुनुभएको पदहरूलाई भेट्टाउन सक्नुहुन्छ?
यूहन्ना १४, पद ________
यूहन्ना १४, पद ________
यूहन्ना १५, पद ________
यूहन्ना १६, पद ________
जब शान्तिदाता (पवित्र आत्मा) आउनुहुनेछ, उहाँ कहाँ बास गर्नुहुनेछ (यूहन्ना १४:१७ का आखिरी दुई शब्दहरूलाई ध्यान दिनुहोस्) __________________________। के संसार (मुक्ति नपाएकाहरू)ले पवित्र आत्मालाई ग्रहण गर्न सक्नेछन् (यूहन्ना १४:१७)? ____________। पवित्र आत्मालाई पाउनेहरू उनीहरू मात्र हुन् जसले येशू ख्रीष्टमाथि __________ गरेका छन् (यूहन्ना ७:३७-३९)!
पवित्र आत्मा दिइनुहुने दिन कुन थियो? शान्तिदाता आउनुहुने दिन कुन थियो? पिताले पवित्र आत्मालाई पठाउनुहुने दिन कुन थियो (यूहन्ना १४:२६)? येशूले भन्नुभयो, “त्यस दिनतिमीहरूले, म मेरा पितामा छु, अनि तिमीहरू ममा, र म तिमीहरूमा छु भनी जान्नेछौ (यूहन्ना १४:२०)।”त्यस दिन कहिले आउने दिन थियो?
येशूले यी वचनहरू आफू क्रूसमा जानुभन्दा अघिल्लो साझ बोल्नुभयो। क्रूसको मरणपछि उहाँ तेस्रो दिनमा फेरि बौरेर उठ्नुभयो। बौरिउठाइ पछि उहाँ आफ्ना चेलाहरूद्वारा ________ दिनसम्म देखा पर्नुभयो (प्रेरित १:३) अनि उहाँ स्वर्गमा _______________ (हेर्नुहोस्, प्रेरित १:९)। स्वर्गमा फर्कनु अघि येशूले आफ्ना चेलाहरूलाई पिताको प्रतिज्ञालाई पर्खनू भनेर आज्ञा गर्नुभयो (प्रेरित १:४ र लूका २४:४९)। योचाहिँ पिताले पवित्र आत्मा पठानुहुनेछ भन्ने प्रतिज्ञा थियो। अन्तमा, येशू स्वर्ग उठाइनुभएको १० दिनपछि अर्थात् बौरिउठाइको ५० दिनपछि, पवित्र आत्मा आउनुभयो! यस महान घटनाको बयान तपाईंले प्रेरित अध्याय २ मा पढ्न सक्नुहुन्छ। पवित्र आत्मा पेन्टेकोस्टको दिनमा आउनुभयो। शान्तिदाता आफ्ना चेलाहरूसित सधैंभरि रहनलाई आउनुभयो! पवित्र आत्मा परमेश्वर प्रत्येक विश्वासी जनको हृदयमा बास गर्नुहुन्छ (१ कोरिन्थी ६:१९ र रोमी ८:९)!
दाखको बोट र हाँगाहरू
यूहन्ना १५ अध्यायमा “म हुँ” भन्ने वचन भएको अर्को महत्त्वपूर्ण पद पाउँछौं। यूहन्ना १५:१ मा येशूले भन्नुभयो, “ __________ _________ म नै हुँ, अनि मेरा पिता किसान हुनुहुन्छ।” येशूले यी वचन आफ्ना चेलाहरूसित बोल्दै हुनुहुन्थ्यो। उहाँ दाखको बोट हुनुहुन्छ भनेर उनीहरूले जानेको उहाँ चाहनुहुन्थ्यो। हाँगाहरू को हुन् भनेर येशूले भन्नुभयो (यूहन्ना १५:५)? ____________________________
उहाँको नजिकमा रहनु कति महत्त्वपूर्ण कुरा हो भन्ने कुरा येशूले आफ्ना चेलाहरूलाई सिकाउन चाहनुहुन्थ्यो। हाँगा बोटसित जोडिएको हुनुपर्छ नत्र भने त्यो सुक्छ (यूहन्ना १५:६)। सारा जीवन-रस बोटबाट हाँगामा प्रसारण हुन्छ तर यो सम्भव हुन हाँगा बोटसित जोडिएको हुनुपर्छ। यदि बोटसित जोडिएको छैन भने हाँगा जीवनको श्रोतबाट बञ्चित हुन्छ अनि त्यसमा फल हुनेछैन।
सुन्तलाको बोटलाई विचार गर्नुहोस्। कसैले ग्रीष्म ऋतुमै त्यसको एउटा हाँगालाई काटिदियो भने के हुन्छ? सुन्तला फल्ने ऋतु (शरद) मा त्यस हाँगामा कुनै सुन्तला फल्छ? ___________। तर त्यो हाँगा बोटमै रहेको भए त्यसले बोटको जीवन प्राप्त गर्नेथ्यो र त्यस हाँगामा थुप्रै सुन्तलाहरू फल्ने थिए। त्यो एक फलदायी हाँगा हुनेथ्यो!
येशू दाखको बोट हुनुहुन्छ र विश्वासी जनहरू चाहिँ हाँगाहरू! यदि हामीले फल फलाउने हो भने, हामीले के गर्नुपर्छ (यूहन्ना १५:४-५)? ____________________ ____________। अङ्गुरको लहरामा नजोडिएको हाँगाले अङ्गुरका कतिओटा दाना फलाउन सक्छ? ___________ _______________। एउटा विश्वासी ख्रीष्टबिना कत्तिको सफल हुन सक्ला (यूहन्ना १५:५)? _________। हामी येशू ख्रीष्टसित राम्ररी जोडिएको हुनुपर्छ!
विश्वासी जनहरू फलदायी भएको परेमश्वर चाहनुहुन्छ! उहाँ “अ ________ फल” (यूहन्ना १५:२) चाहनुहुन्छ अनि उहाँ “ फल” (यूहन्ना १५:८) चाहनुहुन्छ। येशू कस्तो खालको फलको कुरा गर्दै हुनुहुन्थ्यो? के उहाँ सुन्तला वा अङ्गुर वा खरबुजाको कुरा गर्दै हुनुहुन्थ्यो? गलाती ५:२२ मा हामीलाई बताइएको छ: _________को फल हो १) ________ २) _____________ ३) ___________ (पहिलो तीनओटालाई मात्र लेख्नुहोस्)। यूहन्ना १५:९-१० मा कुनचाहिँ फलको कुरा गरिएको छ? ___________। यूहन्ना १५:११ र १६:२०,२२ मा कुनचाहिँ फलको कुरा गरिएको छ? _______________। यूहन्ना १४:२७ र १६:३३ मा कुनचाहिँ फलको कुरा गरिएको छ? __________। के यी फल गलाती ५:२२ मा उल्लेख गरिएका फलसित मिल्छन्? । विश्वासी जनहरूमा यस्ता फल फलाउनलाई शान्तिदाता पठाइनुभयो! अब हामी आत्माको त्यो फललाई हेरौं जुनचाहिँ हो प्रेम:
सबैभन्दा ठूलो प्रेम
येशूले यूहन्ना १५:१२ मा एउटा ज्यादै महत्त्वपूर्ण आज्ञा दिनुभयो: “जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, उसरी नै तिमीहरूले एक अर्कालाई _________ गर, यो मेरो _________ हो।” हामीले यस आज्ञालाई यूहन्ना १३:३४-३५ (पाठ ९) मा अध्ययन गरिसक्यौं। यूहन्ना १५:१३ मा येशूले मानवीय प्रेममध्ये सबभन्दा महान् खालको प्रेमको बयान गर्नुहुन्छ: “आफ्ना का निम्ति आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो ________ अरू कसैको हुँदैन।”
त्यहाँ थुप्रै सत्य घटना घटेका छन् जसमा एउटा मान्छेले अर्को मान्छेका निम्ति आफ्नो प्राण दिएका छन्।अर्कालाई बचाउन प्रेमको कारण उनीहरूले आफ्नै जीवनलाई समेत बलिदान दिए। यस्तो खालको प्रेम ठूलो प्रेम हो, तर जुन प्रेमले येशू क्रूसमा जानुभयो त्यो अझ ठूलो प्रेम थियो। मानिसमा हुन सक्ने सबैभन्दा ठूलो प्रेम त्यो प्रेम हो जसले आफ्नो जीवन आफ्नो साथीका निम्ति अर्पण गर्दछ (रोमी ५:७ सित दाँज्नुहोस्), तर ख्रीष्टले योभन्दा पनि ज्यादै ठूलो काम गर्नुभयो। येशूले आफ्नो प्राण तिनीहरूका निम्ति अर्पण गर्नुभयो जो उहाँका शत्रु थिए!
रोमी ५ अध्यायमा हामी एक समय कस्ता थियौं बताइएको छ:
रोमी ५:६ ले भन्छ, हामी भ___________ थियौं।
रोमी ५:८ ले भन्छ हामी पा_____ थियौं।
रोमी ५:१० ले भन्छ, हामी श थियौं।
येशूले आफ्नो प्राण आफ्ना साथीका निम्ति नभएर भक्तिहीन पापीका निम्ति अर्पण गर्नुभयो जो उहाँका शत्रु थिए! रोमी ५:८ पढ्नुहोस्: परमेश्वरले हामीतर्फ आफ्नो _______ यसैमा प्रकट गर्नुहुन्छ—हामी पापी हुँदाहुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” यसलाई कल्वरी प्रेम भन्न सकिन्छ अनि यो नै सबैभन्दा ठूलो प्रेम हो।
अनि येशू हाम्रा पापहरूका निम्ति मर्नुभएको हुनाले र पापको समस्याको समाधान गर्नुभएको हुनाले येशूले हामीलाई शत्रु भन्नुहुन्न तर उहाँले हामीलाई आफ्ना ____________ भन्नुहुन्छ (यूहन्ना १५:१५)! जोहरू एक समय परमेश्वरका विरुद्धमा थिए अब उनीहरू परमेश्वरसित मिलापमा हुन सक्छन् (रोमी ५:१,१०-११)!
येशूले आफ्ना चेलाहरूलाई यस्तै प्रेमले अरूलाई प्रेम गर्नलाई आज्ञा गर्नुहुन्छ (यूहन्ना १५:१२,१७)! हामीले यसरी अरूहरूलाई कसरी प्रेम गर्न सक्छौं? पवित्र आत्माबिना यो असम्भव छ! तर याद गरौं, आत्माको फल हो ________ (गलाती ५:२२ को सुचीमा पहिलो)। ख्रीष्टबिना हामीले यसरी प्रेम गर्न सक्दैनौं (यूहन्ना १५:५) तर उहाँद्वारा हामीले सक्छौं!
विश्वासी जन र संसार
येशू ख्रीष्ट संसारको नजरमा कहिल्यै लोकप्रिय हुनुभएन। यूहन्नाको सुसमाचारको पुस्तक अध्ययन गर्ने क्रममा हामीले देख्दैआएका छौं कसरी मानिसहरूले ख्रीष्टलाई र उहाँका शिक्षाहरूलाई अस्वीकार गरे र उहाँकहाँ आउन अस्वीकार गरे र उहाँमाथि विश्वास गर्न अस्वीकार गरे (हेर्नू: यूहन्ना ३:१९-२०; ५:४०)। जहाँसुकै जाँदा पनि उहाँका थुप्रै शत्रुहरू थिए। अन्तमा संसारले ख्रीष्टप्रतिको आफ्नो घृणालाई यसरी प्रकट गर्यो: संसारकाहरूले उहाँलाई गिरफ्तार गरे, गिल्ला गरे र क्रूसमा काँटीले ठोकेर झुण्ड्याए। उनीहरूलाई बचाउन आउनुभएका मुक्तिदातालाई संसारले यस्तो मूल्याङ्कन गर्यो!
संसारमा रहुन्जेल येशू संसारको घृणाको पात्र हुनुहुन्थ्यो। चेलाहरू येशूसँगै थिए तर उनीहरूलाई खासै समस्या थिएन किनभने आक्रमणको वास्तविक तारो येशू हुनुहुन्थ्यो, उनीहरू थिएनन्। शैतान र शैतानकाहरू (यूहन्ना ८:४४) परमेश्वरको पुत्रलाई नष्ट गर्न तल्लीन थिए!
तर येशू स्वर्गमा फर्केर जानुभएपछि परिस्थिति बदलियो।
येशू अब संसारमा हुनुहुन्नथ्यो! संसारले अब उहाँलाई आक्रमण गर्न नपाउने भयो। शैतानले अब परमेश्वरको पुत्रलाई प्रत्यक्षरूपमा आक्रमण गर्न नसक्ने भयो। येशू जानुभएको हुनाले संसारमा रहिरहेका उहाँका चेलाहरू अब आक्रमणको तारो बने। संसारले उनीहरूलाई कसरी व्यवहार गर्नेछन् भनी येशूले आफ्ना चेलाहरूलाई शुरूमै चेताउनी दिन चाहनुहुन्थ्यो!
संसारले चेलाहरूलाई कस्तो व्यवहार गर्नेछन् (यूहन्ना १५:१८-१९)? __________________ _______________________________________________________। यदि उनीहरूले येशूलाई खेदो गरे भने, के उनीहरूले येशूलाई पछ्याउनेहरूलाई खेदो गर्नेछन् (यूहन्ना १५:२०)? ______________। प्रभुलाई साँच्ची नै प्रेम गर्नेहरूले येशूलाई गरिएकै दुर्व्यवहार पाए भने उनीहरूले त्यसमा अचम्म मान्नु पर्दैन! १ यूहन्ना ३:१३ मा हामी पढ्छौं, “हे मेरा भाइहरूहो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान!” उनीहरूले येशूलाई घृणा गरे भने उनीहरूले तपाईंलाई किन प्रेम गर्लान् र? येशूलाई नराम्रो व्यवहार गर्नेहरूले तपाईंलाई राम्रो व्यवहार कसरी गर्लान् र?
आउनेवाला सतावट
ख्रीष्टका चेलाहरूप्रतिको संसारको घृणा उनीहरूबाटको सतावट र खेदोमा देखिने कुरा थियो। उनीहरूले भोग्न लागिरहेका सङ्कष्टका बारेमा आफ्ना चेलाहरूले जानून् भन्ने येशू चाहनुहुन्थ्यो। यी कुरा हुन अगावै उहाँले उनीहरूलाई त्यसको पूर्वजानकारी दिन चाहनुहुन्थ्यो (हेर्नू: यूहन्ना १६:४)। ख्रीष्टियन जीवन सजिलो जीवन हो भनेर उहाँले कसैलाई भ्रममा पार्नुभएन। हामी पनि यसबारे होशियार हुनुपर्दछ। हामीले कसैलाई पनि यसरी भन्नु हुँदैन: तपाईं ख्रीष्टियन बन्नुभयो भने जीवनभरि तपाईंलाई सबै राम्रै मात्र हुनेछ अनि तपाईंलाई कहिल्यै समस्या वा सङ्कष्ट आइपर्नेछैन।” प्रभुले कहिल्यै त्यसो भन्नुभएन! आफ्ना चेलाहरूलाई के हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएका दुईटा कुराहरू के-के हुन् (यूहन्ना १६:२)? ________________________________________________________। ती मानिसहरूले त्यस्ता काम किन गर्नेछन् (यूहन्ना १६:३)? _____________________ ________________________________
येशू जानुहुन्छ तर शान्तिदाता आउनुहुन्छ
उहाँ जानुहुनेछ भनेर जब येशूले बताउनुभयो (यूहन्ना १६:५), चेलाहरू खुशी भए कि दु:खित भए कि रिसाए (यूहन्ना १६:६)? _______________। उनीहरू शोकले भरिए, उनीहरूले नबुझेका कारण। येशू जानुमा उनीहरूको भलाइ हुन्छ भनेर उनीहरूले बुझेनन् (यूहन्ना १६:७)। _____________ आउन सक्नका लागि येशू जानुपर्छ (यूहन्ना १६:७)। यस पदले हामीलाई यो पनि बताउँछ, येशू ख्रीष्टले पवित्र आत्मा पठाउनुहुनेछ। शान्तिदातालाई पठाउने कार्य अरू कसले समेत गर्नुभएको हो (यूहन्ना १४:२६)? _________ _______________ (टिप्पणी: पवित्र आत्मालाई पिताले पठाउनुभएको हो कि पुत्रले पठाउनुभएको हो भनेर मण्डली इतिहासमा एक समय ठूलो विवाद नै चलेको थियो। जवाफ सरल छ: दुवैले पठाउनुभएको हो।)
पवित्र आत्मा आउनुभएपछि उहाँको सेवाकार्य विश्वासी जनहरू प्रति मात्र लक्षित हुनेछैन तर संसारप्रति पनि लक्षित हुनेछ। “अनि जब उहाँ आउनुहुन्छ (पेन्टेकोस्टको दिनमा), तब उहाँले संसारलाई १) ________को विषयमा, २) ______________को विषयमा र ३) __________ को विषयमा कायल पार्नुहुनेछ (यूहन्ना १६:८)। “कायल” भन्ने शब्दले त्यस व्यक्तिलाई जनाउँछ जो न्यायलयका सामु ल्याइएको छ र दोषी भनेर प्रमाणित गरिएको छ। पवित्र आत्मा पेन्टेकोस्टको दिन (प्रेरित अध्याय २) मा संसारमा विश्वासी जनका हृदयहरूमा बास गर्न आउनुभएर उहाँले संसारलाई तीनओटा कुराहरूको विषयमा कायल पार्नुभयो:
पाप – यूहन्ना १६:९ मा कुनचाहिँ ठूलो पापको उल्लेख गरिएको छ?
(क) हत्या
(ख) अविश्वास (ख्रीष्टलाई अस्वीकार गर्ने काम)
(ग) चोरी
(घ) झूट
विश्वासी जनहरूभित्र पवित्र आत्माको सामर्थ्यले ख्रीष्ट जिइरहनुभएको कुरालाई मानिसहरूले जति राम्ररी देख्न पाउँछन् त्यही अनुपातमा उनीहरूले यस महत्त्वपूर्ण प्रश्नको सामना गर्न बाध्य बन्छन्: यी मानिसहरूले जस्तै गरी मैले पनि येशू ख्रीष्टमा विश्वास गरूँ कि म येशू ख्रीष्टलाई अस्वीकार गरूँ?
धार्मिकता – के आज मानिसहरूले धर्मी ख्रीष्टलाई देख्न सक्छन् (यूहन्ना १६:१०)? _____________। येशू ख्रीष्ट स्वर्गमा हुनुहुन्छ र उहाँलाई देख्न सकिन्न। तर ख्रीष्टको शरीर (मण्डली, जो सबै साँचो विश्वासी जनहरू मिलेर बनेको हुन्छ) पृथ्वीमा छ र यसलाई मानिसहरूले देख्न सक्छन्! पवित्र आत्माले हाम्रो जीवनमा काम गर्नुहुने क्रममा हामी झन् झन् धर्मी जीवन बिताउन सक्नेछौं (सही हिँडाइ, सही विचार, सही व्यवहार, सही बोली, सही व्यक्तित्व—हेर्नू: तीतस २:१२) र फलस्वरूप हाम्रा वरिपरिका मुक्ति नपाएकाहरूले आफूहरू कति अधर्मी रहेछौं भनेर महसुस गर्न थाल्नेछन्! आफैंमा कोही पनि धर्मी छैन (रोमी ३:१०)। प्रत्येक मानिसलाई खाँचो परेको धार्मिकता केवल ख्रीष्ट येशूमा पाइन्छ!
न्याय – यूहन्ना १६:११ अनुसार, येशू क्रूसमा मर्नुहुँदा कसको न्याय गरियो? _________। कल्वरीमा शैतान दोषी भएको प्रमाणित गरियो। उसको दण्डको कार्यन्वयन हुन त बाँकी नै छ (मत्ती २५:४१)। येशू ख्रीष्टलाई अस्वीकार गर्नेहरू शैतानसँगै अग्नि कुण्डमा नै पर्नेछन् (मत्ती २५:४१)। विश्वासी जनहरूले यस्तो जीवन बिताउनुपर्छ कि मुक्ति नपाएकाहरूले प्रस्टै देखून् कि मानिसहरूलाई एउटा साँच्चीकै अग्निकुण्डबाट उद्धार गर्न सक्ने एकजना साँच्चीकै मुक्तिदाता हुनुहुँदो रहेछ! सबै मानिसका लागि परमेश्वरको हृदयको चाहना यो छ कि उनीहरूले _________ पाऊन्, र सत्यको ज्ञानमा आऊन् (१ तिमोथी २:४; हेर्नू: २ पत्रुस ३:९)। यसको विपरितमा शैतान खडा छ जसले मानिसहरूले वि गरेर मु पाएको ऊ चाहँदैन (लूका ८:१२)।
याद राख्नुहोस्, तपाईंले मुक्ति पाउनुभएको छ भने पवित्र आत्माले तपाईंको जीवनलाई प्रयोग गरी अरू मानिसलाई उनीहरू दोषी छन् भनेर र उनीहरूले पनि मुक्ति पाउनुपर्छ भनेर कायल पार्न चाहनुहुन्छ! प्रत्येक विश्वासी जनले निम्न तीनओटा कुरा भन्न सक्नुपर्छ:
पाप: “म एक समय विश्वास नगर्ने व्यक्ति थिएँ अनि त्यसबेला मैले व्यक्तिगत रूपमा येशू ख्रीष्टलाई इन्कार गर्नु नै मेरो ठूलो पाप थियो। तर अब म येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति भएको छु!”
धार्मिकता: “एक समय मसँग धार्मिकता थिएन तर अब मलाई ख्रीष्टको धार्मिकता पहिराइएको छ। उहाँमा परमेश्वरको धार्मिकता बन्न पाऊँ भनेर परमेश्वरले उहाँलाई मेरा निम्ति पाप तुल्याउनुभयो” (२ कोरिन्थी ५:२१)।
न्याय: “म एक समय नरकको योग्यको पापी थिएँ तर येशू ख्रीष्टले मलाई त्यो आउनेवाला क्रोधबाट छुटकारा दिनुभयो। म एक समय शैतानको पक्षमा र परमेश्वरको विरुद्धमा खडा थिएँ तर अब मा परमेश्वरको सन्तान भएको छु र शैतानले पाउनेवाला अनन्त दण्डमा म पर्नुपर्ने छैन (मत्ती २५:४१)। म अग्नि कुण्डमा पुग्न लायक भए तापनि परमेश्वरको अचम्मको अनुग्रहले म बचाइएको छु!”
येशू आफ्ना चेलाहरूलाई थुप्रै कुराहरू बताउन चाहनुहुन्थ्यो तर के उनीहरू त्यतिखेर ती कुरा सुन्न तयार थिए (यूहन्ना १६:१२)? _____________। उनीहरूले त ख्रीष्टको मृत्यु र बौरिउठाइ सम्बन्धीका कुरा समेत बुझेका थिएनन्! त्यहाँ थुप्रै महत्त्वपूर्ण सत्यताहरू थिए जुन उनीहरूलाई पछिबाट सिकाइनु खाँचो थियो। उनीहरूले जान्नुपर्ने सत्यतामा उनीहरूलाई कसले डोर्यादिनेवाला हुनुहुन्थ्यो (यूहन्ना १६:१३)? _______________________________। पवित्र आत्माको सक्रियतामा नै नयाँ नियमका २७ पुस्तकहरू पछि लेखिए अनि मण्डलीले जान्नुपर्ने सम्पूर्ण सत्यता यिनै पुस्तकभित्र छन्!
पवित्र आत्माको सबैभन्दा महत्त्वपूर्ण काम कुनचाहिँ हो (यूहन्ना १६:१२-१४)?
(क) आफैंप्रति ध्यान आकर्षण गर्नु
(ख) ख्रीष्टको महिमा गर्नु
(ग) मानिसहरूलाई अन्यभाषाहरूमा बोल्न लगाउनु
(घ) रोगीलाई चङ्गाइ गर्नु
पवित्र आत्मा यो चाहनुहुन्छ, येशू ख्रीष्ट नै ध्यानाकर्षणको केन्द्र बन्नुभएको!
बिदाइका वचनहरू
येशूले फेरि आफ्नो बिदाइ चाँडै हुने कुरा गर्नुभयो (यूहनना १६:१६), तर के चेलाहरूले उहाँका वचनलाई बुझे (यूहन्ना १६:१७-१८)? __। फेरि पनि येशूले आफ्ना चेलाहरूलाई सान्त्वना दिनु खाँचो पर्यो। उहाँले भन्नुभयो, शोक र रोदनको समय आउँदैछ तर त्यसपछि ठूलो आनन्दको समय आउनेछ (यूहन्ना १६:२०-२२)। ख्रीष्टको मरण र दफनमा चेलाहरू रुनेछन् र विलाप गर्नेछन् तर संसारचाहिँ _____________ (यूहन्ना १६:२०)। संसारले चाहिँ ख्रीष्टलाई नष्ट गर्न आफूहरू बल्ल सफल भएको ठान्नेछ! तर उनीहरूको रमाहट क्षणिक हुनेछ! चाँडै नै चेलाहरू ख्रीष्टको बौरिउठाइमा रमाहट गर्नेछन्! त्यसपछि चाँडै नै सारा संसारले मुक्तिदाता जीवित हुनुहुन्छ भन्ने समाचार सुन्नेछ (दाँज्नू:, प्रेरित ४:१-२)। चेलाहरूलाई हुने शोक क्षणिक हुनेछ, तर के उनीहरूको आनन्द क्षणिक हुनेछ (यूहन्ना १६:२२)? ____________
यहूदाले उहाँलाई धोका दिनेछ र पत्रुसले इन्कार गर्नेछ भनेर येशूले अगाडिबाटै बताइसक्नुभएको थियो (यूहन्ना १३)। यूहन्ना १६:३२ मा येशूले यो पनि पूर्वघोषणा गर्नुभयो कि सबै चेलाहरू ति हुनेछन् र उहाँलाई एकलै छाड्नेछन्। के यस्तै भयो (मत्ती २६:३१,५६)? ___________
यूहन्ना १६:३३ मा येशूले आफ्ना चेलाहरूलाई उनीहरूले संसारमा कस्तो कुराको समाना गर्नुपर्नेछ भनेर प्रस्टै भन्नुभयो: “संसारमा तिमीहरूलाई _________ (थिचोमिचो, समस्या, साह्रो-गाह्रो) हुनेछ।” विश्वासी जनहरू शत्रुको इलाकाभित्र छन् र येशूले उनीहरूलाई सजिलो हुन्छ भनेर कहिल्यै भन्नुभएन! तर विश्वासी जनहरू संसारमा मात्र छैनन्, उनीहरू ख्रीष्टभित्र पनि छन् अनि येशूले भन्नुभयो, “ममा तिमीहरूलाई _________ मिलोस्” (यूहन्ना १६:३३)। सङ्कष्टको बीचमा शान्ति! जीवनका डरलाग्दा आँधीका बीचमा शान्ति! सङ्कष्टपूर्ण संसारको बीचमा चेलाहरूलाई शान्ति हुन सम्भव छ! येशूले विजय हासिल गरिसक्नुभयो! उहाँले संसारलाई जितिसक्नुभयो!
के तपाईंले जय प्राप्त गर्नुभयो? के तपाईं विजेता हुनुहुन्छ? पढौं, १ यूहन्ना ५:४-५।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

