महान् महापुजाहारी

महान् महापुजाहारी
हाम्रा मुक्तिदाताले हाम्रा निम्ति आज गरिरहनुभएको एउटा सुन्दर कार्यको बारेमा हिब्रूको पुस्तकले यसरी बताएको छ:
“किनकि ख्रीष्ट हातले बनाएका पवित्रस्थानहरूभित्र पस्नुभएन, जो वास्तविक पवित्रस्थानहरूका प्रतिरूप हुन्; तर ________भित्र नै पस्नुभयो, अब _____________का सामु ________ निम्ति देखा पर्नालाई” (हिब्रू ९:२४)।
येशू ख्रीष्ट हाम्रा महान् महापुजाहारी हुनुहुन्छ (हेर्नुहोस्, हिब्रू ४:१४; ७:२६ र ८:१) जो स्वर्गभित्र नै पस्नुभएको छ। किन? पृथ्वीमा रहेका आफ्ना जनहरूका निम्ति अन्तर्विन्ती गर्न:
“यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले _______ गर्न उहाँ सामर्थी हुनुहुन्छ; किनकि तिनीहरूका निम्ति ________________ गर्न उहाँ सधैं ___________ रहनुहुन्छ” (हिब्रू ७:२५)।
उहाँ स्वर्गमा फर्कनुहुँदा येशू ख्रीष्टले पृथ्वीमा रहिरहेका आफ्ना चेलाहरूलाई सहायता गर्न दुइटा काम गर्नुभयो। पहिलो, उहाँले पवित्र आत्मा (शान्तिदाता)लाई प्रत्येक विश्वासी जनभित्र बास गर्नलाई पठाउनुभयो। यसलाई हामीले यूहन्ना अध्याय १४-१६ मा अध्ययन गर्यौं। दोस्रो, उहाँले आफ्ना जनहरूका निम्ति प्रार्थना गर्ने सेवाकाइको प्रारम्भ गर्नुभयो: “किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैं जीवित रहनुहुन्छ”(हिब्रू ७:२५)। येशू ख्रीष्ट त्यसबेलादेखि आफ्ना चेलाहरूसित पृथ्वीमा नै त हुनुहुन्न, तर उहाँ आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्दै स्वर्गमा हुनुहुन्छ!
यस प्रार्थनाको सेवाकाइ कत्तिको महत्त्वपूर्ण छ? मानौं, येशू आफ्ना जनहरूका निम्ति प्रार्थना गर्न छाड्नुभयो। के उनीहरू पृथ्वीमा टिक्न सक्नेछन् होला? पत्रुस एक पटक परीक्षामा परे अनि आफ्ना प्रभुलाई अस्वीकार समेत गरे (हेर्नुहोस्, लूका २२:३४,५४-६२)। तर उनको विश्वास नटुटोस् भनेर पत्रुसका निम्ति प्रार्थना गरिरहनुहुने त्यहाँकोही हुनुहुन्थ्यो कि (लूका २२:३१-३२)? _______________। येशूले उनको निम्ति अन्तर्विन्ती गरिदिनुभएकोमा पत्रुस पक्कै पनि ज्यादै धन्यवादी भए!
यूहन्ना सत्रौं अध्यायमा हामी सिक्न लागिरहेका छौं, पृथ्वीमा भएका आफ्ना जनहरूका निम्ति प्रार्थना गरिदिन स्वर्गमा हाम्रा मुक्तिदाता भइदिनु कति महत्त्वपूर्ण कुरा हो। यूहन्ना १७ले पूरै अध्याय (२६ ओटै पदहरू) एउटा प्रार्थना हो जुन प्रार्थना येशूले स्वर्गमा बस्नुहुने आफ्ना पितासित गर्नुभयो। उहाँले यस प्रार्थना त्यही रात गर्नुभएको थियो जुन रात उहाँलाई यहूदा इस्करयोतीद्वारा धोका दिइयो र यहूदीहरूद्वारा गिरफ्तार गरियो। उहाँको क्रूसको मरणको अघिल्लो साँझमा गरिएको प्रार्थना थियो यो। लगत्तै भोलि बिहान उहाँ काँटीहरूले क्रूसमा टाँगिनेवाला हुनुहुन्थ्यो अनि २४ घण्टा नपुग्दै उहाँ चिहानभित्र गाडिनेवाला हुनुहुन्थ्यो।
यस अध्यायलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ:
यूहन्ना १७ को रूपरेखा
- येशू, परमेश्वरको महिमाका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:१-५)
- येशू आफ्ना चेलाहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:६-१९)
- येशू आफ्ना चेलाहरूको वर्णन गर्नुहुन्छ (यूहन्ना १७:६-१०)
- “तिनीहरूलाई…रक्षा गर्नुहोस्”भनेर येशूले पितासित प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:११-१५)
- “तिनीहरूलाई पवित्र पार्नुहोस्”भनेर येशूले पितासित प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:१६-१९)
- येशू भावी विश्वासी जनहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:२०-२६)
यूहन्ना १७ का यी पदहरूलाई अध्ययन गर्न थाल्न अघि, यस महान प्रार्थना सम्बन्धी केही तथ्यहरूप्रति हाम्रो ध्यान लगाऔं:
१) बाइबलमा उल्लेखित येशूको सबैभन्दा लामो प्रार्थना यही हो (२६ ओटा पदहरू)। बाइबलमा उल्लेखित येशूका अन्य प्रार्थनाहरू एकदमै छोटो छन् (उदाहरणका लागि हेर्नुहोस् यूहन्ना ११:४१-४२; यूहन्ना १२:२७-२८; लूका २२:४१-४२; र मत्ती ११:२५-२६)।
२) यस प्रार्थना हाम्रो निम्ति एकदमै महत्त्वपूर्ण प्रार्थना हो। येशूले धेरै प्रार्थनाहरू गर्नुभयो। एक पटक उहाँले “परमेश्वरलाई प्रार्थना गर्नमा ________ ________ बिताउनुभयो”(लूका ६:१२)। तर येशूले प्रार्थना गर्नुभएका सबै प्रार्थनाहरू मध्ये परमेश्वरले यूहन्ना १७ले यही प्रार्थनालाई हाम्रा निम्ति लिखित रूपमा राख्न चाहनुभयो। यस प्रार्थनालाई बाइबलमा समावेश गरिनमा उहाँको विशेष कारण थियो। उहाँ क्रूसमा जानु भन्दा अघिल्लो रात येशूले प्रार्थना गर्नुभएको शब्दहरूलाई हामीले सुनेको परमेश्वर चाहनुभयो।
३) बाइबलले बताउँछ, येशू ख्रीष्ट आफ्नाहरूका लागि प्रार्थना गर्नुहुन्छ। रोमी ८:३४ मा हामी सिक्छौं, ख्रीष्ट “परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले _________ निम्ति _______________ पनि गर्नुहुन्छ”(रोमी ८:३४)। येशू ख्रीष्ट आज स्वर्गमा रहेर आफ्नाहरूका लागि प्रार्थना गर्दै विन्ती गर्दैहुनुहुन्छ। हाम्रा निम्ति प्रार्थना गर्नुहुँदा येशू कस्ता कुराहरूका लागि प्रार्थना गर्नुहुन्छ? यो बुझ्नलाई हामीले कान थाप्न पायौं भने र येशूले प्रार्थना गर्नुभएको सुन्न पायौं भने हामीलाई मदत मिल्नेथ्यो। हामीलाई यूहन्ना १७ अध्याय दिनुमा परमेश्वरको एउटा उद्देश्य यही हो। येशूले पितासित हाम्रा निम्ति प्रार्थना गर्नुभएको हामीले कान थापेर सुनेको परमेश्वर चाहनुहुन्छ।
४) यूहन्ना १७ अध्यायको प्रार्थनालाई प्रभुको प्रार्थना भन्न मिल्छ। क्रूसमा जानु भन्दा अघिल्लो रातमा उहाँले गर्नुभएको प्रार्थना हो यो। त्यहाँ अर्को प्रार्थना छ जसलाई कतिपयले “प्रभुको प्रार्थना”भन्ने गर्छन् जुनचाहिँ मत्ती ६:९-१३ मा पाइन्छ। मत्तीमा उल्लेखित उक्त प्रार्थनाचाहिँ येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउनका लागि दिनुभएको थियो। तर के येशू आफैले उक्त प्रार्थना कहिल्यै प्रार्थना गर्नुभयो र? के येशूले कहिल्यै “हाम्रा ऋणहरू क्षमा गर्नुहो्स्”(मत्ती ६:१२) भनेर प्रार्थना गर्नुहुन्छ र? ___________। के येशूका कुनै पापहरू थिए र? के उहाँलाई पापको क्षमाको आवश्यकता थियो र? __________। परमेश्वरका पापरहित पुत्रले कहिल्यै क्षमाको लागि प्रार्थना गर्नुभएन! मत्तीमा उल्लेखित प्रार्थनाचाहिँ प्रभुले सिकाउनुभएको प्रार्थना हो तर गर्नुभएको प्रार्थना भने होइन। येशूले गर्नुभएको प्रार्थना चाहिँ यूहन्ना १७ अध्यायमा पाइन्छ।
५) जब हामी यूहन्ना १७ अध्यायमा पढ्छौं तब हामी पवित्र भूमिमा प्रवेश गरिरहेका हुन्छौं। परमेश्वरका पवित्र पुत्र आफ्नो “प_____ पि____”(यूहन्ना १७:११) सँग गर्नुभएको पवित्र बातचीत हामी सुनिरहेका हुन्छौं”(यूहन्ना १७:११)। यो अति अचम्मको र उदेकको कुरा हो, परमेश्वरले हामीलाई यस्तो प्रार्थनालाई सुन्न समेत दिनुभएको छ! हामीले यस प्रार्थनाको अध्ययन परमेश्वरप्रति आदर र भयका साथ गरेका होऔं जो हामीले बयान गर्न नसकिने गरी महान् हुनुहुन्छ। हामीले यो महसुस गर्नुपर्छ, यस प्रार्थनामा धेरै गहीरा कुराहरू छन्—त्यस्ता कुराहरू जसलाई हाम्रा साना-साना दिमागहरूलाई बुझ्न कठिन लाग्छ। उदाहरणको लागि, यस प्रार्थनाले हामीलाई विगतको अनन्तकाल मा पुर्याउँछ (पद ५-“__________ हुनुभन्दा पहिले”; पद २४- “__________को उत्पत्तिभन्दा पहिल्यै”) साथै यस प्रार्थनाले हामीलाई भविष्यको अनन्तकाल मा पनि पुर्याउँछ जब हामी ख्रीष्टसँगै उहाँको महिमा हेर्दै स्वर्गमा हुनेछौं (पद २४)। यदि हाम्रो हृदय प्रभुसित ठीक छ भने, उहाँले हामीलाई यस प्रार्थनाबाट धेरै कुराहरू सिकाउनुहुनेछ। प्रभुको सहायता लिँदै हामी यूहन्ना १७ का केही पदहरूलाई विचार गरौं:
येशू परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्नुहुन्छ
प्रार्थना जहिले पनि शिर निहुराएर र आँखा बन्द गरेर गर्नुपर्छ भन्ने होइन। जब येशूले प्रार्थना गर्नुभयो, हामीलाई यहाँ बताइएको छ, उहाँले “आफ्ना ________ _________तिर उठाउनुभयो” (यूहन्ना १७:१)। उहाँले आफ्ना आँखा माथि उचाल्नुभयो र माथितिर हेर्नुभयो!
येशूले यस प्रार्थनामा उच्चारण गर्नुभएका प्रथम शब्दहरूलाई विचार गर्नुहोस्, “हे पिता, ___________ ______________ छ”(यूहन्ना १७:१)। उहाँको मरणको समय आइपुगेको छ भनेर येशू जान्नुहुन्थ्यो। पापी मानिसका लागि मुक्तिको प्रबन्ध गरिदिन क्रूसमा जाने समय आइपुगेको थियो। उहाँको जीवनको यस अन्धकारमय र अप्रिय घडीमा येशूले के गर्नुभयो? उहाँ माथि हेर्नुभयो! उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो!
जीवनमा साह्रो-गाह्रो पर्दा तपाईं के गर्नुहुन्छ? ती अन्धकारमय र अप्रिय घडीहरूमा तपाईं के गर्नुहुन्छ? हामीले हाम्रा शिरहरू उठाएर (दाँज्नुहोस् लूका २१:२८) माथि हेरेको परमेश्वर चाहनुहुन्छ! यताउता समस्याहरूलाई नहेर्नुहोस् (लूका २१:२६) तर मुक्तिदातालाई हेर्नुहोस् (लूका २१:२८)।
येशूले अरू कुनै पनि कुराभन्दा एउटा कुराको बढी चाहना गर्नुहुन्थ्यो! येशूले अरू कुनै पनि कुराभन्दा एउटा कुराको बढी वास्ता गर्नुहुन्थ्यो! त्यो के थियो, पद १ले अन्तमा पाइन्छ: “तपाईंका ________ले पनि तपाईंको ___________ गरून्।”परमेश्वर पिता महिमित हुनुभएको होस् भनेर येशूले प्रार्थना गर्नुभयो! यो नै उहाँको सबैभन्दा ठूलो चाहना थियो (यूहन्ना १२:२८ सित दाँज्नुहोस्)।
हाम्रो पनि सबैभन्दा ठूलो वास्ता यही नै हुनुपर्छ। बाइबलले भन्छ, हामीले जे गर्छौं सबै कुरा “परमेश्वरकै ___________ का निम्ति”गर्नुपर्छ (१ कोरिन्थी १०:३१)। हामीहरू यस्तो प्रकारले जिऔं जसद्वारा परमेश्वर प्रकट हुनुभएको होस् र उहाँको आदर भएको होस्।
उहाँले “हे पिता…तपाईंको पुत्रको महिमा गर्नुहोस्” (पद १) भनेर प्रार्थना गर्नुहुँदा के येशूले स्वार्थपूर्ण प्रार्थना गर्नुभएको थियो? के उहाँको प्रार्थनाको तात्पर्य, “हे पिता, मेरो महिमा गर्नुहोस्!”भन्ने थियो र (पद ५लाई दाँज्नुहोस्)। के येशू स्वार्थपूर्ण उद्देश्यले आफ्नो महिमा खोज्दै हुनुहुन्थ्यो? कदापि होइन! “तपाईंको पुत्रको महिमा गर्नुहोस्”भन्ने प्रार्थना त प्रार्थनाको अघिल्लो भाग मात्र थियो! प्रार्थनाको पछिल्लो भाग यस्तो छ: “र तपाईंका पुत्रले पनि ___________को महिमा गरून्”(यूहन्ना १७:१)। पिताको महिमा गर्न सकूँ भनेर उहाँ पिताबाट महिमा चाहनुहुन्थ्यो। तसर्थ, यस प्रार्थनामा कत्ति पनि स्वार्थ थिएन।
परमेश्वरले तपाईंको महिमा गर्नुभएको होस् भनेर के तपाईंले कहिल्यै प्रार्थना गर्नुभएको छ? “हे प्रभु, मेरो महिमा गर्नुहोस् ताकि म तपाईंको महिमा गर्न सकूँ!” यो स्वार्थी प्रार्थना होइन जबसम्म “महिमा”परमेश्वरलाई नै फिर्ता जान्छ!
“महिमा” भन्ने शब्दको खास अर्थ के हो? कसैको “महिमा”भन्नाले उसको सम्पदा (धन), योग्यता (मूल्य) र गरिमा (महत्त्व) भन्ने बुझिन्छ। परमेश्वरको महिमाले उहाँ कति धनी, योग्य र महत्त्वपूर्ण हुनुहुन्छ भन्ने जनाउँछ! परमेश्वर, बास्तवमा नै जो हुनुहुन्छ, जे हुनुहुन्छ र जति हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई परमेश्वरको महिमा भनिन्छ!
पिताले आफ्ना सन्तानहरूलाई महिमा दिनुभएको छ (यूहन्ना १७:२२) ताकि यी सन्तानहरूले साटोमा पितालाई देखाउँदै उहाँको महिमा गर्न सकून् (१ कोरिन्थी १०:३१)। परमेश्वर आफ्ना सन्तानहरूलाई महिमा दिनुहुन्छ ताकि संसारले उहाँका सन्तानहरू कसका हुन् भनेर जान्न सकून्! परमेश्वर कति उदेकको हुन्छ भनेर उहाँका सन्तानहरूले अरूहरूका सामु प्रकट गर्न सक्दछन्! परमेश्वरका सन्तानहरूले परमेश्वरको सम्पदा, मूल्य र महत्त्वलाई खुल्लमखुल्ला देखाउन सक्नुपर्छ!
विश्वासी जनले यसरी प्रार्थना गर्न मिल्छ: “हे पिता, मलाई आवश्यक सम्पूर्ण कुराहरू प्रबन्ध गरिदिनुभएकोमा तपाईंलाई धन्यवाद छ (यूहन्ना १७:२२)। तपाईंले मलाई प्रबन्ध गरिदिनुभएको सबै कुराहरूको सठीक प्रयोग गर्न मलाई मदत गर्नुहोस् ताकि अरूहरूले त्यो देखून् र विचार गरून् अनि मेरो यस्तो प्रबन्धको स्रोतको बारेमा सोध्न उनीहरू बाध्य होऊन्।” अरूहरूले शायद यस्ता प्रश्नहरू गर्लान्: “तिमीले त्यो कसरी गर्न सक्यौ?” “तिमीले त्यो किन त्यसरी गर्यौ?” “तिमी किन त्यसरी विचार गर्छौ?”किन तिमी हामीसँग मिलेर यो गरेनौ?”आदि।
एउटा अत्यन्तै धनाढ्य मानिसको छोराको विचार गरौं। मानौं त्यो छोरा झुत्रो थाङ्ना लगाएर खातेजस्तै भएर बाटोमा हिँड्ने गर्छ। यसरी हिँड्दा के उसको बुबाको महिमा हुन्छ र उसको बुबालाई दर्शाउने काम हुन्छ? ________। यसो गर्नाले त उसको धनाढ्य बुबाको अनादर हुन्छ। त्यस गरीबजस्तै देखिने व्यक्ति एक धनाढ्य बुबाको छोरा होला भनेर कसैले पनि अनुमान लगाउन सक्नेछैन!
तर मानौं त्यस धनाढ्यका छोराले एक धनाढ्यकै छोराले जस्तै व्यवहार गर्यो। मानौं उसले महँगा-महँगा पोशाकहरू लगायो, सुन र हिराले जडेको घडी र औंठीहरू लगायो र हरेक दिन ऊ उसको ड्राइभरद्वारा एउटा सललल बग्ने टिलिक्कै परेको लामो कालो गाडीमा स्कूल पुर्याइयो। यसले तपाईंलाई उसको बुबाको बारेमा कस्तो कुरा बताइरहेको हुन्छ? उसको बुबा धनी हुनुपर्छ भन्ने के तपाईंलाई लाग्नेछ होला? _____________।
हाम्रा स्वर्गीय पिता अत्यन्तै धनाढ्य हुनुहुन्छ अनि उहाँको महिमा कति महान् छ भनेर अरू मानिसहरूले जानेको हामी चाहन्छौं। हामी विश्वासी जनहरू परमेश्वरका सन्तान भएका हुनाले हाम्रा स्वर्गीय पिताप्रति धन्यवादी हुनुपर्छ किनकि हाम्रा जीवनहरूले उहाँलाई दर्शाउनका लागि र संसारले हामी उहाँका हौं भनेर जानून् भन्ने हेतुले उहाँले हामीलाई आवश्यक सम्पूर्ण कुराहरू दिनुभएको छ! परमेश्वरसित हाम्रा हृदयहरू ठीक अवस्थामा रहेका होऊन् ताकि हामीलाई उहाँले दिनुभएका सबै कुराहरूलाई हामीले सठीक प्रकारले काममा लगाउन गर्न सकेका हौं।
याद गर्नुहोस्, यदि परमेश्वरले तपाईंलाई कुनै पनि प्रकारले आदर दिनुभयो वा आशिष दिनुभयो भने, त्यसलाई परमेश्वरलाई नै फिर्ता दिन नचुक्नुहोस्! त्यसलाई आफ्नै निम्ति नराख्नुहोस्। हेरोद, परमेश्वरलाई महिमा दिन विफल भए र परमेश्वरको दण्डमा परेर मरे (प्रेरित १२:२१-२३ पढ्नुहोस्)।
अनन्त जीवन
दुर्बल, मरणशील, पापी मानिसलाई बास्तवमै आवश्यक कुरा एउटा छ: अ__________ जी______ (यूहन्ना १७:२)। मान्छेलाई अनन्त जीवन दिन सक्नेले हुनुहुन्छ (यूहन्ना १७:२)? _____________________। येशू ख्रीष्टमा बाहेक अनन्त जीवनको आशा अरू कतै छैन, कदापि छैन! येशू ख्रीष्ट आफ्ना भेंडाहरूलाई कुनचाहिँ अचम्मको वरदान दिनुहुन्छ (यूहन्ना १०:२७-२८)? _____________________।
अनन्त जीवन के हो? कतिको सोचाइमा अनन्त जीवन भनेको केवल “सदा जिउनु”वा “सदा अस्तित्वमा रहनु”हो। तर यो साँचो होइन। मुक्ति नपाएकाहरु आगोको झीलभित्र सदा अस्तित्वमा रहनेछन् (प्रकाश २०:१०,१५;२१:८)। उनीहरूसित अनन्त अस्तित्व हुनेछ तर उनीहरूसित अनन्त जीवन निश्चय पनि हुनेछैन। सबै मानिसहरू सदाका लागि एउटा ठाउँमा अस्तित्वमा रहेनेछन्: या त स्वर्गमा या त नरकमा।
अनन्त जीवन के हो? यसबारे परमेश्वरले हामीलाई अन्धकारमै छाड्नुभएको छैन। उहाँले अनन्त जीवनको आफ्नै परिभाषा दिनुभएको छ अनि योचाहिँ यूहन्ना १७:३ मा पाइन्छ: “अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको ________ ________लाई ___________ – ___________ ___________ यही हो।” अनन्त जीवन भनेको परमेश्वरलाई र ____________________ (परमेश्वरले पठाउनुभएको व्यक्तिलाई चिन्नु हो। परमेश्वलाई र ख्रीष्टलाई ठीकसँग चिन्ने व्यक्ति नै आफूसित अनन्त जीवन भएको व्यक्ति हो।
इसाई हुनु भनेको धर्म मान्नु होइन, यो त परमेश्वरसितको एउटा सम्बन्ध हो। कुनै काम गर्नु होइन तर कसैलाई चिन्नु हो। यो नियम र विधिहरूको संगालो होइन तर एकजना उदेकको व्यक्तिलाई प्रेम गर्नु, सेवा गर्नु, पछ्याउनु र उहाँको आज्ञा मान्नु हो। अनन्त जीवन भनेको एक मात्र साँचो परमेश्वरसितको उदेकको सम्बन्ध हो!
संसारमा थुप्रै छन् जोसित धर्म छ तर एक मात्र साँचो परमेश्वरसित ठीक सम्बन्धमा आएका व्यक्तिहरू भने थोरै छन्। के तपाईंसित यस्तो खालको सम्बन्ध छ? के तपाईंले यस व्यक्तिलाई आफ्नो परमेश्वर र मुक्तिदाता मानेर लिनुभयो अर्थात् ग्रहण गर्नुभयो (यूहन्ना १:१२)? यूहन्ना १७:३ले सत्यताको आधारमा के तपाईंले आफ्नो हृदयदेखि यसो भन्न सक्नुहुन्छ: “मैले यस व्यक्तिलाई चिनेको छु, उहाँलाई मैले मेरै मुक्तिदाता, मेरै प्रभु, मेरै मेरै गोठाला, मेरै राजा, मेरै प्रेम, सदा-उपस्थित मेरै मित्र र सहायकको रूपमा चिनेको छु!”? परमेश्वरले वर्तमान र अनन्तका लागि हामीसित गाँस्न चाहनुभएको सम्बन्ध यस्तो खालको सम्बन्ध हो!
“पूरा भयो!”
येशू संसारमा मानिसहरूलाई न्याय गर्नलाई आउनुभएको थियो कि मानिसहरूलाई मुक्त गर्नलाई (यूहन्ना ३:१७)? ________________________। येशू संसारमा आउनुभयो, क्रूसमा जानुभयो अनि आफ्नो काम पूरा गर्नुभयो। यूहन्ना १७:४ मा येशूले भन्नुभयो, “तपाईंले मलाई जुन काम गर्न दिनुभएको थियो, सो मैले ______________________ छु।” कलवरी क्रूसमा मानिसको पापको दण्ड पूरै तिरिदिनुभएपछि येशूले के भनेर कराउनुभयो (यूहन्ना १९:३० पढ्नुहोस्)? ______________________। पूरा भयो! काम सिद्धियो! सदाका लागि गरियो!
यूहन्ना १७:४ का यी शब्दहरू उच्चारण गर्नुहुँदा येशू क्रूसमा गइसक्नुभएको थिएन र पापी मानिसहरूका निम्ति मर्ने काम उहाँले गरिसक्नुभएको थिएन। तर येशू अलिक पर हेर्दै हुनुहुन्थ्यो। चौबिस घण्टा नबित्दै उहाँको काम सिद्धिनेवाला थियो। छिट्टै हुन लागिरहेको कुराको प्रतिक्षामा उहाँ यो भन्दै हुनुहुन्थ्यो। आफू क्रूसमा जाने र मर्ने कुरामा उहाँ यति निश्चित हुनुहुन्थ्यो कि उहाँले मानौं भइसकेको घटना भएझैं त्यसको कुरा गर्नुभयो। उहाँको विचारमा त्यो कुरा भइसके बराबर थियो! क्रूसमा येशूले जे गर्नुभयो त्यसको बारेमा हामी यूहन्ना अध्याय १९ मा अझ धेरै कुरा सिक्नेछौं।
यूहन्ना १७:५ मा हामी मुक्तिदाता येशू ख्रीष्टको बारेमा एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा सिक्छौं। यस प्रार्थनामा येशूले भन्नुभयो कि उहाँ “_________ हुनुभन्दा _________ पितासित”हुनुहुन्थ्यो। यस भनाइले एकदम प्रस्ट पार्छ कि येशू ख्रीष्टको शुरूआत बेतलेहेमको गोठमा भएको होइन। बेतलेहेम एउटा बस्ती बन्नुभन्दा धेरै अगाडि येशू ख्रीष्ट हुनुहुन्थ्यो! संसार अस्तित्वमा आउनुभन्दा धेरै अगाडिदेखि नै उहाँ हुनुहुन्थ्यो! के यूहन्ना १७:२४ले यही सत्यता सिकाउँछ? ______________। परमेश्वरका अनन्त पुत्र (यूहन्ना १:१ पढ्नुहोस्) मानिस बन्नुभयो (यूहन्ना १:१४) –क्रूसमा जान र मुक्तिको कार्य सम्पन्न गर्न (यूहन्ना १७:४) जसद्वारा पिताको महिमा गर्न (यूहन्ना १७:१; १२:२८)!
येशू आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुहुन्छ
येशू, आफ्ना चेलाहरूको वर्णन गर्नुहुन्छ
आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नु अघि येशूले यूहन्ना १७:६-१० मा उनीहरूको वर्णन गर्नुहुन्छ। जोहरू उहाँका हुन् उनीहरूको विषयमा के-कस्ता कुराहरू साँचा हुन्छन् भनी उहाँले बताउनुहुन्छ। यी पदहरूमा येशूले आफ्ना चेलाहरूलाई छ प्रकारले वर्णन गर्नुहुन्छ। यी छ कुराहरू, प्रत्येक साँचो विश्वासी जनको सवालमा साँचो हुनुपर्ने कुराहरू हुन्। यी पदहरूलाई विचार गर्ने क्रममा हामीले आफैलाई एउटा प्रश्न सोध्नुपर्छ: “के म यस विवरणअनुसारको छु? के म ख्रीष्टको चेला जस्तै छु?” आउनुहोस्, हामी यस छ-पक्षीय वर्णनलाई विचार गरौं:
१) उनीहरू पितालाई चिन्छन्। यूहन्ना १७:६ मा येशूले भन्नुभयो, “मैले ती मानिसहरूलाई तपाईंको _________ प्रकट गरिदिएको छु।” परमेश्वरको “नाम”ले परमेश्वरको सर्वस्व गुणहरूलाई जनाउँछ। येशूले आफ्ना चेलाहरूलाई परमेश्वर प्रकट गर्नुभयो (मत्ती ११:२७)। येशूले उनीहरूलाई पिता देखाउनुभयो जसरी हामीले यूहन्ना १४:८-९ मा अध्ययन गरिसक्यौं। जोहरू ख्रीष्टका हुन् उनीहरूले पितालाई चिन्छन् र परमेश्वरसित उनीहरूको व्यक्तिगत सम्बन्ध हुन्छ। के मुक्ति नपाएकाहरूले पितालाई चिन्छन् (यूहन्ना १५:२१; १६:३)? ____________। के तपाईं पितालाई चिन्नुहुन्छ? के तपाईं यस वर्णनअनुसारको हुनुहुन्छ?”
२) उनीहरूले परमेश्वरको वचन पालन गर्छन्।छैटौं पदको अन्तमा येशूले भन्नुभयो, “अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।” जोहरू ख्रीष्टका हुन् उनीहरू परमेश्वरको वचनका आज्ञाकारी हुन्छन्। यसको मतलब यो होइन कि ख्रीष्टलाई पछ्याउनेहरू कहिल्यै लोट्दैनन्। बास्तवमा यसै रातमा पत्रुसले आफ्ना प्रभुलाई तीनपटक इन्कार गर्छन् (यूहन्ना १३:३८) अनि अरू चेलाहरू त्रसित भई तितरबितर हुन्छन् (यूहन्ना १६:३२ र मत्ती २६:५६)! तरैपनि, येशू यिनै मानिसहरूका बारेमा भन्नुहुन्छ, “तिनीहरूले तपाईंको वचन _________ _________ छन्” (यूहन्ना १७:६)! उनीहरू कहिलेकाहीं लोट्नेछन् भनी येशू जान्नुहुन्थ्यो, तर उनीहरूको सम्पूर्ण जीवनलाई हेर्दा उनीहरू परमेश्वरको वचनलाई आदर गर्ने र त्यसको पालन गर्ने व्यक्तिहरू हुन्छन् भनी जान्नुहुन्थ्यो। के तपाईं परमेश्वरको वचनलाई पालन गर्ने इच्छा गर्नुहुन्छ (१ यूहन्ना २:३-५ सित दाँज्नुहोस्) कि तपाईं परमेश्वरले भन्नुभएको कुराको बारेमा कुनै वास्तै राख्नुहुन्न? “तिनीहरूले तपाईंको वचन पालन गर्छन्”भन्ने शब्दहरू के तपाईंलाई समेत बयान गर्ने शब्दहरू हुन् कि?
३) उनीहरूले परमेश्वरको वचनलाई ग्रहण गरेका छन्। येशूले आफ्ना चेलाहरूलाई परमेश्वरका वचनहरू दिनुभयो (यूहन्ना १७:८)। उनीहरूले यी वचनहरूलाई ग्रहण गरे कि अस्वीकार गरे (यूहन्ना १७:८)? _________________। परमेश्वरका वचनहरूलाई अस्वीकार गर्नु डरलाग्दो कुरा हो: “जसले मलाई ________गर्छ र मेरा __________हरू ग्रहण __________, तयसलाई न्याय गर्ने एउटा छ”(यूहन्ना १२:४८)। के परमेश्वरका वचनहरूलाई अस्वीकार गर्ने र सुन्न इन्कार गर्ने व्यक्ति परमेश्वरको जन हुन् (यूहन्ना ८:४७)? ____________। साँचो विश्वासी जनहरू ती हुन् जसले आनन्दसित उनको वचन ___________”गर्छन् (प्रेरित २:४१)। बाइबल पाएर एउटा मान्छेले के गर्छ त्यो महत्त्वपूर्ण जाँच हो। के तपाईंले परमेश्वरको वचनलाई आफ्नो हृदयले विश्वास गर्नुभयो र ग्रहण गर्नुभयो? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?
४) उनीहरू येशू ख्रीष्टको बारेमा ठीक विश्वास राख्छन्। येशूले आफ्ना चेलाहरूका बारेमा भन्नुभयो, “मचाहिँ तपाईंबाट निस्की आएँ भनी तिनीहरूले पक्का गरी __________छन्”(यूहन्ना १७:८)। ख्रीष्टले हुनुहुन्छ र उहाँ कहाँबाट आउनुभयो भन्ने बारेमा के विश्वास गरिन्छ त्यो ज्यादै महत्त्वपूर्ण छ। यूहन्ना ६:४१-४२ मा उल्लेखित यहूदीहरूले येशूको बारेमा के ठीक विश्वास राखेका थिए? ___________। येशू स्वर्गबाट आउनुभएको हो र उहाँलाई पिताले यस संसारमा हाम्रो मुक्तिदाता हुनलाई पठाउनुभएको हो भन्ने कुरा के तपाईं विश्वास गर्नुहुन्छ? __________। के तपाईं यस बयान अनुसारको हुनुहुन्छ?
५) उनीहरू परमेश्वरका हुन्। यूहन्ना १७:९-१० पढ्नुहोस्। यहाँ “तपाईंकै”वा “तपाईंका”भन्ने शब्दहरू कतिपटक भेटिन्छन्? ___________। “मेरा”भन्ने शब्द कतिपटक भेटिन्छन्? ___________। “तपाईंकै”भन्नाले परमेश्वर पिताकै भन्ने बुझिन्छ र यसको अर्थ हो, चेलाहरू परमेश्वर पिताका हुन्। “मेरा”भन्नाले येशू ख्रीष्टका भन्ने बुझिन्छ र यसको अर्थ हो, चेलाहरू येशू ख्रीष्टका हुन्! जब एउटा व्यक्तिले मुक्ति पाउँछ ऊ पूर्ण रूपमा परमेश्वरको हुन्छ! बाइबलले भन्दछ, “तिमीहरू ________का होइनौ”(१ कोरिन्थी ६:१९)! तपाईं आफ्नै हुनुहुन्न, तपाईं परमेश्वरको हुनुभएको छ! के तपाईंले आफ्नो हृदय र जीवन परमेश्वलाई दिनुभयो? के तपाईं उहाँको हुनुभयो? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?६) उनीहरू येशू ख्रीष्टको महिमा गर्दछन्। यूहन्ना १७:१० मा येशूले भन्नुभयो, “म तिनीहरूमा ______________भएको छु।” यसको अर्थ हो, चेलाहरूले येशू ख्रीष्टको महिमा गरे! उनीहरू आफ्नै निम्ति जिउनुको सट्टा उनीहरूलाई बचाउनुहुनेको महिमाको निम्ति जिउन चाहे! पावल प्रेरित कसको महिमा गर्न चाहन्थे (फिलिप्पी १:२०)? _________________। उनी कसको निम्ति जिउन चाहन्थे (फिलिप्पी १:२०)? ____________________। के तपाईंले पनि पावलले भनेकै कुरा भन्न सक्नुहुन्छ? के तपाईंले आफ्नो जीवनले येशू ख्रीष्टको महिमा गरेको चाहनुहुन्छ? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?
तिनीहरूलाई रक्षा गर्नुहोस्!
आफू चाँडै नै स्वर्ग फर्कनेछु भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना १७:११)। र उहाँका चेलाहरू “सं______मा हुन्छन्”(यूहन्ना १७:११) भनी उहाँ जान्नुहुन्थ्यो। यसको मतलब, चेलाहरू शैतानको इलाकाकै बीचमा अर्थात् प्रतिकूल वातावरणकै बीचमा हुनेछन्। यी चेलाहरूलाई सुरक्षाको खाँचो छ भनी येशू जान्नुहुन्थ्यो। त्यसैले येशूले प्रार्थना गर्नुभयो कि परमेश्वरले … (यूहन्ना १७:११,१२,१५ पढेर ठीक उत्तरमा चिन्ह लगाउनुहोस्):
- …उनीहरूलाई धनी बनाइदिनुभएको होस् भनेर
- …उनीहरूलाई प्रसिद्ध र प्रख्यात बनाइदिनुभएको होस् भनेर
- …उनीहरूलाई रक्षा गरिदिनुहोस् भनेर
- …उनीहरूलाई संसारबाट लैजानुहोस् भनेर
आफ्ना विश्वासी जनहरूलाई यस संसारमा सुरक्षित राख्न सक्नुहुने केवल परमेश्वर मात्र हुनुहुन्छ। १ पत्रुस १:५ मा बाइबलले भन्दछ, हामी “परमेश्वरको _________ले…सुरक्षित”छौं। तपाईं विश्वासी जन हुनुहुन्छ भने तपाईंको सुरक्षा तपाईंमै निर्भर नभएर परमेश्वरमा निर्भर छ! यदि तपाईंको सुरक्षा तपाईंमै निर्भर भएको भए तपाईं सुरक्षित हुनुहुनेथ्यो? ___________। परमेश्वरले बचाउनु मात्र हुन्न, तर बाचाइराख्नु पनि हुन्छ!
के एउटा मुक्ति पाएको व्यक्ति कहिल्यै नष्ट हुन सक्छ?यो एउटा महत्त्वपूर्ण प्रश्न हो र येशूले यसको जवाफ यूहन्ना १७:१२ मा दिनुहुन्छ – “________पनि नष्ट भएन”। के येशूले यूहन्ना १८:९ र ६:३९ मा पनि यही भन्नुभएको थियो? _____________। परमेश्वरले आफ्नाहरूलाई रक्षा गर्न सक्नुहुन्छ! महान् गोठाला आफ्ना भेडाहरूको रक्षा गर्न जान्नुहुन्छ!
नष्ट हुने चेला एउटै मात्र थियो। उसको नाउँ थियो यहूदा इस्करयोति। यूहन्ना १७:१२ मा उसलाई “विनाशको पुत्र”भनिएको छ (अर्थात् ऊ पूरै नष्ट हुने मान्छे हो जो अग्निकुण्डमा नष्ट हुनेछ)। तर यो नबिर्सौं, यहूदा इस्करयोतिले आफ्नो मुक्ति कहिल्यै गुमाएका होइन किनभने यहूदाले कहिल्यै मुक्ति पाएको थिएन। आफूसित नभएको कुरा गुमाउन सकिन्न! यूहन्ना १३:१०-११ले अध्ययनमा हामीले सिकेका थियौं कि यहूदा नै त्यो एकलो चेला थियो जो अशुद्ध थियो र अमुक्त थियो (उसले मुक्तिको स्नान कहिल्यै पाएको थिएन)।
यस मानिस यहूदाबाट हामीले एउटा पाठ सिक्नुपर्छ। ऊ संसारकै सबैभन्दा असल बाइबल शिक्षकद्वारा सिकाइएको थियो। उसले संसारकै सबभन्दा उदेकका आश्चर्यकर्महरू देख्यो। उसले येशू ख्रीष्टमा विश्वास गर्ने थुप्रै मौका पायो तर कहिल्यै विश्वास गरेन। ऊ प्रभुको यति नजिक थियो तरैपनि ऊ हराएको थियो!
तपाईं नि? के तपाईं बाइबलीय शिक्षा सिकाउने एउटा असल मण्डलीको सभाहरूमा जाने गर्नुहुन्छ? के तपाईंको निम्ति पास्टर र शिक्षकहरू र बाबुआमा हुनुहुन्छ जसले तपाईंलाई पवित्र बाइबलका पन्नाहरूमा प्रकाश दिइएको मुक्तिको मार्ग सिकाउनुभएको छ? याद राख्नुहोस्, मण्डली सभाहरूमा जाँदैमा, प्रवचन सुन्दैमा मुक्ति पाइने होइन! एउटा बाइबलीय मण्डलीका सभाहरूमा गएर वर्षौंसम्म मुक्तिको सन्देश सुनेर पनि एउटा व्यक्तिले कहिल्यै मुक्ति नपाउन सम्भव छ! एउटा यहूदा नबन्नुहोस्! मुक्तिदातातिर फर्कनुहोस् र आजै ख्रीष्टकहाँ आउनुहोस्! सत्यको नजिकमा हुँदैमा मुक्ति पाइने होइन।
उनीहरू संसारमा रहिरहँदा उनीहरूलाई सहायता गर्न येशूले आफ्ना चेलाहरूलाई के दिनुभएको छ (यूहन्ना १७:१४)? ______________________। बाइबल नै विश्वासी जनलाई उनको बाचावटको लागि दिइएको मार्गदर्शक (GUIDE TO SURVIVAL) हो! यदि हामी यस संसारमा बाइबलरहित हुने हो भने हामीलाई ठूलो समस्या हुनेथ्यो! हामी त नक्सा वा कम्पास बिना आफ्नो बाटो पहिल्याउन खोज्ने एउटा यात्रीजस्तै हुनेथ्यौं! एकजनाले बाइबलको श्रद्धाञ्जलिस्वरूप निम्न अचम्म र घतलाग्दा हरफहरू लेखेका छन्:
बाइबलमा परमेश्वरको मन छ, मानिसको अवस्था छ, मुक्तिको मार्ग छ, दुष्टहरूको विनाश छ र विश्वास गर्नेहरूको सुख छ। यसका शिक्षाहरू पवित्र छन्, यसका नीतिहरू आधिकारिक छन्, यसका इतिहासहरू सत्य छन् र यसका फैसलाहरू अपरिवर्तनीय छन्। बुद्धिमान हुन यसलाई पढ्नुहोस्, सुरक्षित हुन विश्वास गर्नुहोस्, पवित्र हुन पालन गर्नुहोस्। डोर्याउनलाई यसमा ज्योति छ, सामर्थ्य दिने भोजन छ, ढाडस दिने साहारा छ।
यात्रीको नक्सा हो यो, परदेशीको लौरो, चालकको कम्पास हो यो र तलवार योद्धाको। ख्रीष्टियनको राजपत्र हो यो। यहाँ सत्ययुग पुनर्स्थापित हुन्छ, स्वर्ग खोलिन्छ, नरकका ढोकाहरू प्रकट हुन्छन्। ख्रीष्ट यसको केन्द्रीय विषय हो, हाम्रो भलाइ यसको उद्देश्य र परमेश्वरको महिमा यसको लक्ष्य।
यसले स्मृतिलाई भर्नुपर्छ, हृदयलाई नियन्त्रण गर्नुपर्छ, पाउहरूलाई डोर्याउर्नुपर्छ। यसलाई बिस्तारै पढ्नुहोस्, बारम्बार पढ्नुहोस्, प्रार्थनासहित पढ्नुहोस्। यो, ऐश्वर्यको खानी हो, महिमाको स्वर्गलोक हो र सुखको नदी हो। यो तपाईंलाई यस जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ र यसलाई सदासर्वदा स्मरण गरिनेछ। यसमा सबभन्दा ठूलो जिम्मेवारी छ, अधिक परिश्रमलाई इनाम छ र यसका पवित्र कुराहरूसित खेलबाड गर्नेहरू सबलाई दण्ड छ।
– एक अज्ञात लेखक
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)