पुनरुत्थित् प्रभु (भाग १)

Study Series

पुनरुत्थित् प्रभु (भाग १)

“सुसमाचार” भन्ने शब्दको अर्थ हो “असल खबर” अथवा “शुभ सन्देश”। हामीले यूहन्नाको सुसमाचारको अध्ययन गर्दै आएका छौं। यूहन्नाको १९ औं अध्यायको अन्ततिर आइपुग्ने क्रममा येशू वास्तवमै मर्नुभएको र उहाँको मृत शरीरलाई एउटा बगैंचामा रहेको कबरभित्र राखिएको कुरा पढ्यौं (यूहन्ना १९:३३-४२)। यूहन्नाको सुसमाचार यदि १९ औं अध्यायमै टुङ्गिएको भए, यसलाई सुसमाचार भन्न सकिँदैनथ्यो! त्यहाँ कुनै शुभ सन्देश हुनेथिएन। ख्रीष्ट यदि कबरभित्रै रहिरहनुभएको भए मुक्ति भन्ने कुरा नै हुनेथिएन, इसाईमत भन्ने कुरा नै हुनेथिएन र मानिसका लागि आशाको कुनै सन्देश हुनेथिएन (तुलना गर्नुहोस्, १ कोरिन्थी १५:१४-१९)। विश्वास गर्नलाई कुनै असल खबर हुनेथिएन र अरूलाई बाँड्नलाई कुनै शुभ सन्देश हुनेथिएन।

खुशीको कुरा, यूहन्नाको सुसमाचार उन्नाइसौं अध्यायमा नै टुङ्गिदैन। यसमा थप दुइटा अध्यायहरू छन् जसले प्रभु बौरिउठ्नुभएको छ भन्ने गौरवमय सत्यताहरू प्रकाशित गर्दछन्! उन्नाइसौं अध्यायमा मर्नुभएको व्यक्ति बीस र एक्काइसौं अध्यायहरूमा जिउँदो भएको देखिनुहुन्छ! कुनै व्यक्तिको लिखित जीवन वृत्तान्तलाई जीवनी भनिन्छ। यदि तपाईंले प्रख्यात व्यक्तिहरूको जीवनीहरू पढ्नुभएको छ भने तपाईंलाई यो कुरा थाहा भएको हुनुपर्छ कि जीवनीको अन्तिम अध्यायले प्रायः निजको मृत्युको बारेमा बताउने गर्छ। व्यक्तिको मृत्यु भइसकेपछि निजको बारेमा प्रायः भन्ने कुरा कुनै बाँकी रहँदैन। जीवनको जहाँ अन्त हुन्छ त्यहीँ जीवनको अभिलेख पनि अन्त हुन्छ। मृत्यु भएदेखि उसो निजले कुनै काम गर्दैन, कुनै कुरा बोल्दैन। उक्त पुरुष वा स्त्री अब विदा भइसके र थप अध्यायहरू लेखिन सम्भव हुँदैन। आखिरी अध्याय अब लेखेर सकियो। कहिलेकाहीँ थप अध्यायहरूमा निजको जीवनले समाज आदिमा पारेको प्रभावको बारेमा लेखिएला तर उक्त व्यक्तिकै बारेमा भने अब केही लेख्न सकिन्न। निज अब विदा भइसके।

येशू ख्रीष्टको जीवनी भने अन्य कुनै पनि जीवनी भन्दा अचम्म रीतिले पृथक छ! उहाँको मृत्युको विवरण नै आखिरी अध्याय होइन। उहाँको मृत्युको विवरण पछि हामी थप कुराहरू पढ्दछौं। यस मानिसले निश्चित कामहरू गरिरहनुभएको, निश्चित कुराहरू बोलिरहनुभएको पाउँदछौं। त्यहाँ थप अध्यायहरू छन् किनकि जो मर्नुभएको थियो उहाँ फेरी जीवित हुनुहुन्छ। उहाँको जीवनी क्रमशः अगाडि बढ्दछ!

यूहन्नाको सुसमाचारको आखिरी दुई अध्यायहरूको रूपरेखा

  1. रित्तो चिहान (यूहन्ना २०:१-१०)
  2. येशू बौरनुभएपछि उहाँ देखा पर्नुभएको घटनाहरू (यूहन्ना २०:११-२१-२३)
    1. येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:११-१८)
    2. थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१९-२५)
    3. थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:२६-३१)
    4. येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१-२३)
  1. यूहन्नाले लेखेका आखिरी वचनहरू (यूहन्ना २१:२४-२५)
  2. आफूले लेख्नुमा यूहन्नाको उद्देश्य (यूहन्ना २०:३०-३१)

रित्तो चिहान

निम्न कुरालाई विचार गर्नुहोस्:

अब्राहामको चिहान — ओगटिएकै छ
मोशाको चिहान — ओगटिएकै छ
कन्फ्युसियसको चिहान — ओगटिएकै छ
बुद्धको चिहान — ओगटिएकै छ
महम्मदको चिहान — ओगटिएकै छ
येशूको चिहान — रित्तो छ!

येशूको चिहान रित्तो छ भनेर कसले पत्ता लगाए (यूहन्ना २०:१-२)? ______________________________। तिनी हप्ताको पहिलो दिनमा अथवा आइतबारको दिनमा त्यहाँ आइन्। तिनी बिहान सबेरै आइन्, “_____________ छैँदै” (यूहन्ना २०:१)। चिहानको _________ हटाइएको देखेर तिनी छक्क परिन् (यूहन्ना २०:१ लाई मत्ती २७:६२-६६ सित तुलना गर्नुहोस्)। के त्यो ढुङ्गा ठूलो थियो (मर्कूस १६:४)? ___________। मत्ती २८:२ अनुसार ढुङ्गालाई हटाउने को थिए?

  1. येशू
  2. रोमीहरू
  3. स्वर्गदूत
  4. यहूदीहरू
  5. चेलाहरू

येशूलाई चिहानको ढोकाबाट ढुङ्गा हटाइन खाँचो थिएन (दाँज्नुहोस्, यूहन्ना २०:१९,२६), तर मानिसहरूले चिहान रित्तो छ भन्ने देखेको परमेश्वर चाहनुहुन्थ्यो। ढुङ्गा हटाइनुको कारण येशूलाई त्यहाँबाट निस्कन दिनलाई होइन, मानिसहरूलाई त्यहाँ पस्न दिनलाई थियो! ढुङ्गा हटाइने घडीको अगावै प्रभुले चिहानलाई छोडिसक्नुभएको थियो।

पत्रुस र यूहन्नालाई खबर सुनाउन मरियम छिटोछिटो दुगिरन् (यूहन्ना २०:२)। मरियम मग्दलिनीले येशू बौरनुभएको छ भनेर विश्वास गरिन् कि कसैले आएर उहाँको मृत शरीरलाई अन्यत्र सारेको हुनुपर्छ भनेर विश्वास गरिन् (यूहन्ना २०:२)? ________________________________________________

पत्रुस र “अर्को चेला” (यूहन्ना) आफ्नै आँखाले हेर्न चिहानतिर दगुरे। कुनचाहि चेलाले अर्कोलाई उछिने (यूहन्ना २०:४)? _____________। के उनी चिहानभित्र पसे (यूहन्ना २०:५)? ______________। तब पत्रुस आइपुगे। के उनी दगुर्दै भित्र छिरिहाले (यूहन्ना २०:६)? _____________। [पत्रुस हडबडे चरित्रका थिए। तुलनामा यूहन्नाचाहिँ विचार गर्ने, चिन्तन-मनन गर्ने चरित्रका थिए। पौडी खेल्ने दहमा पहिला हाम फाल्ने अनि पछिबाट त्यहाँ पानी छ कि छैन भनेर हेर्ने मान्छे जस्तै थिए, पत्रुस!]

आफूहरूले देखेको कुराले पत्रुस र यूहन्ना आश्चर्यचकित भएको हुनुपर्छ (यूहन्ना २०:६-७ मा हेर्नुहोस्)। लाश बेर्ने कात्रो राम्रैसित पडिरहेको थियो, सम्भवतः लाश सुताइएकै अवस्थामा। यो कसरी हुन सक्यो? यदि कसैले लाश चोरेका भए तिनीहरूले कात्रोसँगै लानुपर्ने। तिनीहरूले कात्रो फुकाल्नलाई किन समय खेर फाल्थे र? यदि पहिला कात्रो फुकालेका भए किन त्यो कात्रो कतै भुइँतिर जथाभावी मिल्काइएको अवस्थामा भेट्टाइएन? कात्रोलाई जस्ताको तस्तै कायम राखी येशूको शरीरलाई कसरी हटाउन सकिन्थ्यो र? सुती कपडाको बेर्ने फित्ताहरू बिलकुलै व्यवस्थित ढङ्गमा भेटिए मानौं ती बेर्ने फित्ताहरूलाई नखोलिकनै ख्रीष्ट त्यसभित्रबाट निस्कनुभएको थियो! जब यूहन्नाले यो देखे, बाइबलले बताउँछ, उनले “विश्वास गरे” (यूहन्ना २०:८)।

यूहन्नाले बुझ्न नसकेका अझै थुप्रै कुराहरू थिए (यूहन्ना २०:९), तर उनले बिहानको मिर्मिरे उज्यालो देख्‍न थालेका थिए। उनले ती ताजुपलाग्दा कात्रोको कपडाहरूलाई देखे र अवलोकन गरे अनि विश्वास गरे कि मान्छेले होइन तर परमेश्वरले नै केही न केही गर्नुभएको हुनुपर्छ, अन्य कुनै पनि हिसाबले यसलाई व्याख्या गर्न सकिन्न! यूहन्नालाई अब यति थाहा भयो, केही न केही ज्यादै उदेकको कुरा भएको हुनैपर्छ!

येशू बौरिउठ्नुभएछि उहाँ देखा पर्नुभएको घटनाहरू

१) येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ

मर्कूस १६:९ अनुसार येशू प्रभुलाई सर्वप्रथम देख्‍ने व्यक्ति को थिए? _______________________________। आफू बौरेर उठ्नुभएपछि ख्रीष्ट धेरैजना व्यक्तिहरूकहाँ देखा पर्नुभयो। उहाँ _________ को अवधिसम्म मानिसहरूद्वारा देखा परिरहनुभयो (प्रेरित १:३)। एक पटक उहाँ _______ ________ भन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो (१ करिन्थी १५:६) अनि यस पदअनुसार तीमध्ये २५० जनाभन्दा बढी व्यक्तिहरू अझै जीवित नै थिए जब पावलले कोरिन्थीहरूलाई यो पहिलो पत्र लेखेका थिए जुनचाहिँ ए.डी. ५५ तिरको अर्थात् बौरिउठाइ भएको २५ वर्ष जति पछिको कुरा थियो। येशू प्रभु धेरैजनाकहाँ देखा पर्नुभयो, तर बौरिउठ्नुभएका प्रभुलाई देख्ने पहिलो व्यक्ति एक नम्र महिला थिइन्: मरियम मग्दलिनी। मरियमकहाँ प्रभु देखा पर्नुभएको घटना बारेमा सबभन्दा बढी विवरण यूहन्नाको सुसमाचारमा पाइन्छ (यूहन्ना २०:११-१८)।

मरियमले चिहानभित्र हेर्दा तिनले सबभन्दा पहिला के देखिन् (यूहन्ना २०:११-१२)? ____________________________________। चिहान किन रित्तो छ भन्ने बारेमा मरियमको धारणा के थियो (यूहन्ना २०:१३ सित १५ पद लाई तुलना गर्नुहोस्)? _______________________________________________। फर्केर हेर्दा तिनले कसलाई देखिन् (यूहन्ना २०:१४)? _________________। के तिनले उहाँलाई चिनिन् (यूहन्ना २०:१४)? ________________। तिनले उहाँलाई को होला भनी ठानिन् (यूहन्ना २०:१५)? _______________________। कुन कुराले तिनले अन्तमा उहाँलाई चिन्न सकिन् (यूहन्ना २०:१६)? _________________________

यूहन्ना २०:१७ मा प्रभुले बोल्नुभएको वचनलाई धेरैले गलत अर्थमा बुझ्ने गरेका छन्। प्रभुले भन्नुभयो, “मलाई ___________” (यूहन्ना २०:१७)। प्रभुले “मलाई छुँदै नछोऊ” त भन्नुभएको थिएन, मानौं मरियमले आफ्नो कान्छी औंलाले मात्र पनि उहाँलाई छोएको खण्डमा तिनलाई कुनै भयङ्कर घटना नै होला जस्तो। “छुनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ कति पटक “टाँस्सिनु, झुण्डिनु, पक्रनु” भन्ने हुन्छ। “मलाई नछोऊ” को सट्टा “मलाई पक्रिनराख” अझ राम्रो अनुवाद हुन्थ्यो।

मरियमले उहाँ येशू प्रभु हुनुहुन्छ भन्ने महसुस गरेपछि तिनी यति खुशी र उत्तेजित भइन् कि तिनले प्रभुलाई पक्रिन् र, शायद उहाँका पाउलाई पक्रेर (मत्ती २८:९ सित तुलना गर्नुहोस्), उहाँलाई नछोड्ने गरी समातिरहिन्। प्रभु येशूले आफू मा____ आफ्ना पिताकहाँ जानुहुने कुरा प्रस्टै बताउनुभयो (यूहन्ना २०:१७)। उहाँ स्वर्गमा फर्कन लागिरहनुभएको थियो। वास्तवमा, उहाँ अझै पनि “यस संसारबाट पिताकहाँ जाने” क्रममा हुनुहुन्थ्यो (यूहन्ना १३:१)। स्वर्गमा फर्केर जानु अघि उहाँ केही व्यक्तिहरूकहाँ आफू बौरेरउठ्नुभएको प्रमाणस्वरूप देखा पर्नुभयो अनि मरियम तीमध्येमा एक व्यक्ति थिए जसले बौरिउठ्नुभएका प्रभुलाई देख्‍ने सौभाग्य पाए।

मरियमले यस्तो सोचेकी हुन सक्छ: “येशू यहीँ हुनुहुन्छ! उहाँ जीवित हुनुहुन्छ! अब सब कुरा राम्रो हुने भयो किनकि प्रभु शरीरमै यहाँ मसित हुनुहुन्छ।” त्यसो हो भने, के प्रभु शरीरमा यस संसारमा उपस्थित नहुनुचाहिँ सब कुरा राम्रो नहुनु हो त? [कसैकसैले अझ यसरी समेत सोच्छन्, येशूको “चित्र” कोठा-कोठामा भएसम्म वा आफूसँगै भएसम्म सब कुरा राम्रो हुन्छ!] केही दिन अगाडि येशूले चेलाहरूलाई आफू जानु र पिताकहाँ फर्कनु कति आवश्यक छ भनेर सिकाइसक्नुभएको थियो (यूहन्ना १६:७)। प्रभुसित एउटा विश्वासीको सम्बन्ध उहाँको शारीरिक उपस्थितिमा भर पर्दैन। यो कुरा बुझ्न मरियमलाई खाँचो थियो।

के बौरिउठ्नुभएका प्रभु येशूले मानिसहरूलाई आफ्नो शरीर “छुन” दिनुभयो (मत्ती २८:९, यूहन्ना २०:२७ र लूका २४:३९ मा पढ्नुहोस्)? ____________। तर आज यो सम्भव छैन। येशू परमेश्वरको दाहिने हाततर्फ स्वर्गीय स्थानहरूमा अवस्थित हुनुहुन्छ (एफेसी १:२०-२१)। विश्वासीहरूले उहाँलाई छुन सक्दैनन् न ता देख्न नै सक्छन्न तर तिनीहरूले उहाँलाई प्रेम गर्न सक्छन् र विश्वास गर्न सक्छन् र “बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै ____________” (१ पत्रुस १:८) मनाउन सक्छन्। उहाँ उनीहरूसित शरीरमै उपस्थित नहुनुभए तापनि के ख्रीष्टले आफ्ना विश्वासीहरूलाई उनीहरूको साथमा हुने प्रतिज्ञा गर्नुभएको छ (मत्ती २८:२०; मर्कूस १६:२०)? ______। आज हामी मरियमले जस्तै प्रभु येशूलाई पक्रिराख्न सक्दैन, तर हामी उहाँको कहिल्यै नचुक्ने विश्वासयोग्य र सत्य वचनलाई पक्रिराख्न सक्छौं, किनकि हामी ________ __________ होइन तर _____________द्वारा हिँड्छौं (२ कोरिन्थी ५:७)।

यूहन्ना २०:१७ (“मलाई पक्रिनराख”) र यूहन्ना २०:१८ अनुसार, ख्रीष्टको बौरिउठाइ मरियमलाई तिनका तीनओटा ज्ञानेन्द्रियहरूद्वारा पक्का गरिएको थियो: तिनले उहाँलाई देखिन्! तिनले उहाँलाई सुनिन्! तिनले उहाँलाई छोइन्! तिनी तुरुन्तै यस शुभ खबर बताउनलाई चेलाहरूकहाँ गइन् (यूहन्ना २०:१७)।

२) थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

सबैभन्दा पहिलो त्यो इस्टर आइतबारको साँझपख चेलाहरू कुनै ठाउँमा भेला भएका थिए, र ढोकाहरू ________ थिए, शायद गजबार लगाइएका थिए (यूहन्ना २०:१९)। बौरिउठ्नुभएका ख्रीष्टलाई जसरी छाप लगाई ढुङ्गाले बन्द गरिएको चिहानबाट बाहिर निस्कन कुनै समस्या थिएन, उसरी नै उहाँलाई ढोकाहरू बन्द भएको कोठाभित्र पस्न कुनै समस्या थिएन। येशूले उनीहरूलाई आफू बौरिउठ्नुभएको सदृश्य प्रमाण दिनुभएपछि चेलाहरूमा कस्तो भावना आयो (यूहन्ना २०:२०)? _____________। प्रभुको बौरिउठेको र महिमित पारिएको शरीरमा, उहाँले हाम्रा निम्ति के गरिदिनुभयो भन्ने कुराको जिउँदो सम्झना दिने गरी, उहाँको मृत्युका दाग र खतहरू अझै देखिन सकिन्थ्यो (यूहन्ना २०:२०,२७)।

यूहन्ना २०:२१ मा येशूले आफ्ना चेलाहरूसित ज्यादै महत्त्वपूर्ण शब्दहरू बोल्नुभयो। यसलाई हामी “यूहन्ना अनुसारको महान आज्ञा” भन्ने शीर्षक दिन सक्छौं। येशूले भन्नुभयो, “जसरी मेरा पिताले मलाई ______________ छ, उसरी नै म पनि तिमीहरूलाई ___________।” ठीक यही सत्यता यूहन्ना १७:१८ मा पाइने उहाँको प्रार्थनामा येशूले व्यक्त गर्नुभएको छ।

पिताले पुत्रलाई पठाउनुभयो र ठीक त्यही प्रकारले पुत्रले आफ्ना चेलाहरूलाई पठाउनुभयो। ख्रीष्टद्वारा पठाइनुको अर्थ यदि हामीले बुझ्ने हो भने पिताद्वारा पुत्र पठाइनुको अर्थ हामीले पहिला बुझ्नुपर्ने हुन्छ। हाम्रा प्रभु कसरी पठाइनुभयो? आफूलाई पठाउनुहुनेसित उहाँको सम्बन्ध के-कस्तो थियो? यूहन्नाको सुसमाचारले यस सम्बन्धको अर्थलाई स्पष्टसित रेखाङ्कन गर्दछ। यूहन्नाको सुसमाचारमा पाइने निम्न खण्डहरूमा येशू ख्रीष्ट आफ्ना पिताद्वारा पठाइनुभएको भन्ने कुराको चर्चा गरिएको पाइन्छ।

१) येशू ख्रीष्ट आफ्नै इच्छा गर्नलाई होइन तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई पठाइनुभएको थियो (यूहन्ना ४:३४; ५:३०; ६:३८)।

अन्य कुनै कुरा भन्दा बढि यसैका निम्ति हाम्रा प्रभु भोका हुनुहुन्थ्यो: आफूले चाहेको कुरा गर्नलाई होइन, तर उहाँको पिताले चाहेको कुरा गर्न। उहाँले इच्छा गर्नुभएको कुरा होइन तर उहाँको पिताले इच्छा गर्नुभएको कुरा गर्न। उसरी नै, हामीले पनि यसरी भन्न सक्नुपर्छ, “मेरो भोजन मलाई पठाउनुहुने येशू प्रभुको इच्छा गर्नु हो — केवल येशू ख्रीष्टले चाहनुभएको र इच्छा गर्नुभएको कुरा मात्र गर्नु। मेरो इच्छा होइन तर ख्रीष्टको इच्छा पूरा होस्!”

२) येशू ख्रीष्ट आफैलाई खुशी पार्न होइन तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)।

उसरी नै, हामीले पनि भन्न सकौं, “किनकि म उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु” (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-८)। पावलको ठूलो चासो _____________लाई खुशी पार्नु थिएन, तर _______________लाई खुशी पार्नुथियो जसको सेवा उनी गर्दथे (गलाती १:१०)।

३) येशू ख्रीष्ट आफ्नै महिमा खोज्न होइन तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्न पठाइनुभएको थियो (यूहन्ना ७:१८)।

येशू ख्रीष्ट आफूतिर मान, प्रशंसा र ध्यान खिँचिएको चाहनुहुन्नथ्यो। उहाँ पितातर्फ ध्यान खिँचिएको चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरका गवाही हुनुहुन्थ्यो, उहाँलाई पठाउनुहुनेतर्फ निरन्तर, स्पष्टै औंल्याइरहने साक्षी। उसरी नै, हामीले पनि मान र प्रशंसा आफूहरूमाथि थुपारिएको चाहनुहुन्न। हामी आफ्ना जीवनहरूले हाम्रै घिनलाग्दो “मपाईं” तर्फ होइन तर हामीलाई पठाउनुहुने हाम्रा प्रभु येशू ख्रीष्टको सुन्दरतातर्फ ध्यान आकर्षण गर्न चाहनुपर्छ। हामी उहाँका सा___________ हौं (प्रेरित १:८) त्यसैले हाम्रा जीवनहरूले स्पष्ट गरी उहाँलाई नै औंल्याउने काम गर्नुपर्छ। जसरी बप्‍तिस्मा दिने यूहन्नाले एकपटक भने, “उहाँ _____________, तर मचाहिँ ______________” (यूहन्ना ३:३०)।

४) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुने अदृश्य व्यक्तिको प्रतिनिधित्व गर्न संसारमा पठाइनुभएको थियो (यूहन्ना ५:३७ सित यूहन्ना १:१८ लाई तुलना गर्नुहोस्)।

पितालाई कसैले देख्‍न सक्दैनथे, तर तिनीहरूले येशू ख्रीष्टलाई देख्‍न सक्थे। येशूले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो! उसरी नै, हामी पनि हाम्रा अदृश्य प्रभु येशूको प्रतिनिधित्व गर्न संसारमा पठाइएका छौं (२ कोरिन्थी ५:२०)। संसारले आज येशूलाई देख्‍न सक्दैन (यूहन्ना १६:१ — “म मेरा _________कहाँ जान्छु, अनि तिमीहरूले मलाई _______ ____________”), तर तिनीहरूले संसारमै भएका उहाँका विश्वासी जनहरूलाई देख्‍न सक्छन्। यदि आज संसारले येशू ख्रीष्टलाई देख्ने हो भने उहाँलाई विश्वासीहरूकै जीवनमा दर्शाइनुभएको देख्नु खाँचो छ।

५) येशू ख्रीष्ट, उहाँलाई देख्‍ने जतिले उहाँलाई पठाउनुहुनेलाई देखून् भनेर संसारमा पठाइनुभयो (यूहन्ना १२:४४-४५)।

यूहन्ना १४:९ अनुसार मानिसहरूले ख्रीष्टलाई हेर्दा तिनीहरूले वास्तवमा परमेश्वर पितालाई हेरिरहेका थिए। उसरी नै, मानिसहरूले हाम्रा जीवनहरूलाई हेर्दा तिनीहरूले हामीलाई पठाउनुहुनेलाई अर्थात् हाम्रा प्रभु येशूलाई देख्‍न सक्नुपर्छ (गलाती २:२० — “ख्रीष्ट _____ भित्र _____________” र गलाती ४:१९ –“जबसम्म ख्रीष्ट तिमीहरूमा ______________”)। हामीले संसारमा हामीलाई पठाउनुहुनेको स्वरूपलाई प्रतिबिम्बित गरेका होऔं। संसारलाई ख्रीष्टको स्वरूप बोकेका विश्वासीहरू देख्न खाँचो छ!

६) येशू ख्रीष्ट उहाँका जीवित पिताद्वारा संसारमा पठाइनुभयो र उहाँ आफूलाई पठाउनुहुनेद्वारा जिउनुभएको थियो (यूहन्ना ६:५७)।

उसरी नै, जीवित प्रभु येशूले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा जिउँदछौं। ख्रीष्ट हाम्रो जी_______ हुनुहुन्छ (कलस्सी ३:३-४)। पावलले भने, “मेरो निम्ति __________ ख्रीष्ट _____________” (फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा नै केन्द्रित रहेको छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित रहेको थियो। नबिर्सनुहोस्, साक्षीको हैसियतले हाम्रो प्राथमिक कर्तव्य भनेको “ये_________को जी________” (२ कोरिन्थी ४:१०-११) थाहा गराउनु र प्रकट गर्नु हो।

७) येशू ख्रीष्ट आफ्नै वचनहरू र शिक्षा लिएर होइन तर उहाँलाई पठाउनुहुनेका वचनहरू र शिक्षा लिएर संसारमा पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)।

शिक्षकको हकमा प्रभु येशू ख्रीष्टमा मौलिकताको सवाल नै उठ्दैनथ्यो किनकि उहाँले सिकाउनुभएका कुराहरू आफ्नैपट्टिबाट (मौलिक) नभएर सबै पिताबाटका थिए! उसरी नै, ख्रीष्टले हामीलाई संसारमा पठाउनुभएको छ, हाम्रा आफ्नै सन्देशका साथ होइन तर ख्रीष्टको सुसमाचारका साथ, “मैले तिमीहरूलाई जे‍जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” (मत्ती २८:२०)। दूतको काम मौलिक बन्नु होइन तर राजाबाटको खबरलाई केवल घोषणा गर्नु हो। उसले आफ्नै सन्देश बनाउन खोज्नु हुँदैन। हामी राजाहरूको राजाद्वारा पठाइएका उहाँको सन्देश वहन गर्ने उहाँका केवल दूतहरू मात्र हौं (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०)। खबरको स्रोत परमेश्वर हुनुहुन्छ। हामीले केवल खबर पुर्‍याउने काम गर्नुपर्छ!

८) येशू ख्रीष्टले उहाँलाई पठाउनुहुनेबिना केही पनि गर्न सक्नुहुन्नथ्यो (यूहन्ना ५:३०)।

प्रभु येशू पूर्ण रूपमा उहाँका स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूर्ण रूपमा हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं। हामीलाई संसारमा पठाउनुहुनेले यसरी भन्नुभएको छ, “_____बाट अलग भएर तिमीहरूले ________ _______ गर्न सक्दैनौं” (यूहन्ना १५:५)।

९) येशू ख्रीष्ट एकलो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँसँगै हुनुहुन्थ्यो (यूहन्ना ८:१६,२९)।

उसरी नै, जसले हामीलाई पठाउनुभएको छ, उहाँ निरन्तर हामीसँगै हुनुहुन्छ। येशूले भन्नुभयो, “हेर, म सधैंभरि, अँ संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु” (मत्ती २८:२० सित मर्कूस १६:२० र हिब्रू १३:५ लाई तुलना गर्नुहोस्)। उहाँको शारीरिक उपस्थिति नै हामीसित नभए तापनि उहाँको उपस्थितिका सबै आशिष र उपलब्धिहरू हामीसँगै हुन्छन्।

१०) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुनेको काम गर्नमा व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र उहाँले काम पूरा गर्नुभएपछि उहाँ आफूलाई पठाउनुहुनेको घरमा उहाँसँगै हुनलाई फर्केर जानुभयो (यूहन्ना ७:३३; १६:५)।

उसरी नै, हामी सधैंभरि प्रभु येशू ख्रीष्टको काममा प्र_________ हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम सक्किन्छ, तब हामी हामीलाई पठाउनुहुनेकहाँ उहाँसँगै हुनलाई जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)।

यूहन्ना २०:२१ मा उल्लेखित यस महान आज्ञालाई जब हामीले राम्ररी विचार गर्छौं, तब हामी के भन्न सक्छौं र? नम्र विश्वासीले त यसरी भन्नुपर्ने हो, “प्रभु, मैले यी कुराहरू कसरी गर्न सक्छु र? यस्ता कुराहरूका लागि को योग्य छ र? यस्ता कुराहरू गर्न र यस्तो किसिमले जीवन जिउन मसित कहिल्यै कसरी क्षमता होला र?”

चाबी यहाँ छ। यूहन्नाको सुसमाचारको अध्ययन गर्दै जाँदा एउटा उदेकको कुरा पत्ता लगाउँदछौं, अर्थात्, ख्रीष्टले हामीलाई पठाउनुभएको कुरा मात्र नभएर उहाँले अर्को एक व्यक्तिलाई समेत पठाउनुभएको कुरा! “तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ ___________” (यूहन्ना १६:७)। पवित्र आत्माबिना हामीले यस महान आज्ञालाई कहिल्यै पालन गर्न सक्नेथिएनौं! चाहिएको सामर्थ्यको आपूर्ति उहाँले मात्र गरिदिनुहुन्छ (लूका २४:४९ र प्रेरित १:८)। पवित्र आत्मा बिना उनीहरूको कार्ययोजान पूर्ण रूपमा विफल हुनेछ भन्ने कुरा येशूले आफ्ना चेलाहरू सम्झना गराउन चाहनुहुन्थ्यो। त्यसैले नै हो, येशूले “उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” भन्नुभएपछि उहाँले तिनीहरूमाथि सास फुकिदिनुभयो र तिनीहरूलाई भन्नुभयो: “__________ ___________ लेओ” (यूहन्ना २०:२२) भन्ने कुरा हामीलाई त्यहाँ बताइएको छ। यसको तात्पर्य यो थियो, “पवित्र आत्माबिना यो काम कुनै हालतले हुन सक्नेछैन। तिमीहरू आफैले यो काम कदापि पनि गर्नेछैनौ!”

ख्रीष्टको बौरिउठाइको पचास दिनपछि (पेन्टेकोस्टको दिनमा) पवित्र आत्मा चेलाहरूमाथि अझ विशेष र महिमापूर्ण रीतिले आउनुभयो (प्रेरित अध्याय २ मा पढ्नुहोस्)। चेलाहरू यही महान् प्रतिज्ञाका लागि पर्खिरहेका थिए (लूका २४:४९; प्रेरित १:४,८)। हामीले यो विशेष प्रतिज्ञाको बारेमा यूहन्नाको सुसमाचारको निकै अघिल्तिर नै अध्ययन गरिसक्यौं (यूहन्ना ७:३७-३९ पढ्नुहोस्)। आज प्रत्येक विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९)। पवित्र आत्माको भरपूरी र सामर्थ्यमा नै हो “जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” (यूहन्ना २०:२२) भन्ने प्रभुको वचनलाई पूरा गर्न हामी अग्रसर हुने।

यूहन्ना २०:२३ मा उल्लेखित बौरिउठ्नुभएका येशू प्रभुका वचनहरू पनि गलत अर्थमा बुझ्ने गरिएको पाइन्छ। येशूले भन्नुभयो, “जस-जसका पाप तिमीहरू क्षमा गर्दछौ, ती तिनीहरूलाई क्षमा हुन्छन् अनि जस-जसका पाप तिमीहरू राख्दछौ (क्षमा गर्नुको विपरित), ती राखिन्छन्।” के यसको मतलब ख्रीष्टले मानिसहरूलाई पाप क्षमा गर्ने अधिकार दिनुभएको छ भन्ने हो? के यसको मतलब मानिसहरू आफ्ना पापहरूको क्षमा पाउन कुनै मानिसहरू (जस्तै “पूजाहारीहरू”) कहाँ जानुपर्छ भन्ने हो?

मर्कूस २:७ अनुसार, कसले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ? ________________। परमेश्वरले मात्र गर्न सक्ने काम प्रेरितहरूले गर्न सक्दैनथे। प्रेरितहरूले पाप क्षमा गर्न सक्दैनथे। तर उनीहरूले गर्न सक्नै एउटा कामचाहिँ थियो। उनीहरूले अधिकारसित, कस-कसका पाप क्षमा भएका छन् र कस-कसका पाप क्षमा भएका छैनन्, उक्त कुराको घोषणा गर्न वा उच्चारण गर्न भने सक्दथे।

प्रेरितहरू, मानिसहरूका पाप क्षमा गर्दै हिँड्ने काम गरेनन्। तर प्रेरितहरू, कस-कसका पाप क्षमा हुनेछन् र कस-कसका पाप क्षमा हुनेछैनन् भनी मानिसहरूलाई बताउँदै हिड्ने काम चाहिँ गरे। जस्तै, प्रेरित ३:१९ मा पत्रुसले प्रस्टै बताएअनुसार जस-जसले प__________ गर्नेछन् र फ____________ उनीहरूको पाप मे__________। पश्चात्ताप गर्न नचाहनेहरूको नि? के उनीहरूले यस प्रतिज्ञालाई दावी गर्न मिल्छ? प्रेरित १०:४३ लाई धन्यापूर्वक पढ्नुहोस्। यस पदअनुसार, कसका पापहरू क्षमा गरिनेछन्? — “उहाँ (येशू ख्रीष्ट) माथि _____________ __________ हरेकले”। कसका पापहरू राखिनेछन्? _________________________________। पत्रुस पाप क्षमा गर्दै हिँडेनन्, तर पश्चात्ताप गरी ख्रीष्टमाथि विश्वास गर्नेहरू सबैका लागि पापहरूको पूरै क्षमा हुने शुभ सन्देश प्रचार गर्दै हिँडे। प्रेरितहरूको सन्देशलाई स्वीकार गर्ने र ख्रीष्टमाथि विश्वास गर्नेका पापहरू क्षमा भए। प्रेरितहरूको सन्देशलाई इन्कार गर्नेका पापहरू राखिछाडिए, जसरी येशूले यूहन्ना ८:२४ मा भन्नुभएको छ — “किनभने ‘म उही हुँ’ भनी तिमीहरूले ___________ गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ'”। तपाईं नि? तपाईंका पापहरू क्षमा भए कि यथावत् राखिछाडिएका छन्?

पहिलो आइतबारको साँझ येशू उनीहरूकहाँ देखा पर्नुहुँदा चेलाहरूमध्ये कुनचाहिँ थिएनन् (यूहन्ना २०:२४)? __________। के थोमाले आफ्ना मित्रहरूका गवाही ग्रहण गरे (यूहन्ना २०:२५)? ______________। थोमाको अनुसार ख्रीष्ट साँच्चै बौरिउठ्नुभएको हो भनेर उनलाई विश्वस्त तुल्याउन कुन कुरा आवश्यक पर्नेथ्यो (यूहन्ना २०:२५)? ___________________________________________________। “तिमीहरूको मुखको वचनकै आधारमा म विश्वास गर्नेछैनँ। मैले देख्न सकें र छुन समेत सकें भने मात्र म विश्वास गर्नेछु!” यही कारणले गर्दा उनलाई “शङ्कालु थोमा” भन्ने उपनाम दिइएको हो।

३) थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

यहूदीहरूले “एक हप्‍ता पछि” भनेर भन्नुपर्दा “आठ दिनपछि” (यूहन्ना २०:२६) भन्ने गर्थे। येशू आफ्ना चेलाहरूकहाँ सर्वप्रथम आइतबारका दिन देखा पर्नुभयो। त्यसपछिको आइतबारमा उहाँ फेरि देखा पर्नुभयो र यस पालि उनीहरूसँग _________ पनि थिए (यूहन्ना २०:२६)। प्रभु उनीहरूकहाँ अन्य कुनै दिनमा पनि देखा पर्न सक्नुहुन्थ्यो, तर शुरुदेखि नै प्रभुले विश्वासीहरूलाई भेला हुनका लागि आइतबारको दिन ज्यादै विशेष दिन हो भनेर आफ्ना चेलाहरूलाई देखाउन चाहनुभएको जस्तै बुझिन्छ। त्यसबेला देखि अधिकांश इसाईहरू यसै दिनमा जुट्ने काम गर्दै आएका छन्।

प्रभु येशूले सर्वप्रथम थोमासित बोल्नुभयो। प्रभुले थोमालाई उनको औंला आफ्नो हातमा भएको काँटीको डोबमा राख्नलाई बोलाउनुभयो र उनको हातलाई आफ्नो कोखाभित्र हाल्नलाई भन्नुभयो! एक हप्‍ता अगाडि थोमाले भनेकै शब्दहरूलाई (यूहन्ना २०:२५ मा पढ्नुहोस्) प्रभुले यहाँ दोहोर्‍याउँदै हुनुहुन्थ्यो। हामीले बोलेका वा सोचेका कुराहरू परमेश्वरलाई सधैं थाहा हुन्छन्! के थोमाले येशूले उनलाई गर भनेजस्तै गरे (यूहन्ना २०:२७-२९)? ___________। देख्न र सुन्न पाएपछि थोमालाई पुग्यो। छुन आवश्यक परेन। शङ्कालु थोमा तुरुन्त विश्वस्त थोमा बने! यूहन्ना २०:२७ मा येशू प्रभुले थोमाको अविश्वासलाई हप्‍काउनुयो: “विश्वास नगर्ने होइन, तर विश्वास गर्ने होऊ!”

बौरिउठ्नुभएका प्रभुलाई देखेर थोमाले भन्ने सक्ने एउटै कुरा मात्र थियो: “हे मेरा ________ र हे मेरा ____________” (यूहन्ना २०:२८)। आज धेरैओटा धार्मिक समूहहरू र झूटा शिक्षा सिकाउने समूहहरू छन् जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दैनन्। थोमाले येशूलाई असंदिग्ध शब्दमा “परमेश्वर” भनेर नै सम्बोधन गरे भन्ने कुरा महसुस गर्नु महत्त्वपूर्ण कुरा हो। साथै, थोमा ती शब्दहरू प्रयोग गरेकोमा येशूले थोमालाई सच्च्याउनुभएन न ता उनलाई हप्काउनु नै भयो। “थोमा, तिमीले मलाई कहिल्यै परमेश्वर भन्नु हुँदैन!” भनेर येशूलाई थोमालाई भन्नुभएन। “म तिम्रो गुरु हुँ, शिक्षक हुँ, तर म परमेश्वर होइन र मलाई त्यसरी सम्बोधन गर्नु गलत हो! भनेर येशूले भन्नुभएन! “थोमा, तिमी गलत कुरा गर्दैछौ!” भनेर येशूले भन्नुभएन बरु उहाँले भन्नुभयो, “थोमा, …. तिमीले विश्वास गरेका छौ” (यूहन्ना २०:२९)। येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर थोमाले विश्वास गरे र उनको विश्वास बिलकुलै ठीक थियो! के तपाईं यो विश्वास गर्नुहुन्छ? थोमाले जे भने के तपाईंले आफ्नो हृदयदेखि भन्न सक्नुहुन्छ? — “हे मेरा प्रभु र हे मेरा परमेश्वर”?

थोमाले किन बौरिउठाइमा विश्वास गरे? ___________________________________________। थोमालाई एउटा कुराको सहुलियत थियो जुन सहुलियत संसारमा हुने आज कसैलाई छैन। थोमाले बौरिउठ्नुभएका ख्रीष्टलाई आफ्नै आँखाले देख्न पाए। के हामीले आज त्यसो गर्न सक्छौं (यूहन्ना १६:१० पढ्नुहोस्)? __________। यदि आज कसैले बौरिउठ्नुभएका प्रभुलाई नदेखेसम्म विश्वास नगर्ने अठोट गर्‍यो भने, त्यो व्यक्तिले लामो समय पर्खनुपर्ने हुन्छ! अनि जब उनले बौरिउठ्नुभएका प्रभुलाई अन्तमा देख्नेछ तब ढिलो भइसकेको हुनेछ। आँखाले देखेको आधारमा गरिएको भन्दा उत्तम खालको विश्वास पक्कै पनि हुन्छ। तिनीहरू कति सुखी हुन् जसको विश्वास परमेश्वरको लिखित वचनमाथि छ! येशूले भन्नुभयो, “उनीहरू धन्य (सुखी) हुन्, जसले ________ छैनन्, तापनि ___________ गरेका छन्” (यूहन्ना २०:२९)। यस्ता सुखी व्यक्तिहरूलाई १ पत्रुस १:८ मा बयान गरिएको पाइन्छ। के ती व्यक्तिहरूले देखेका थिए? _________। के तिनीहरूले विश्वास गरे? _______। थोमाले प्रेरितहरूको गवाहीलाई विश्वास गर्न अस्वीकार गरे। तिनीहरूले उनलाई खुशीको खबर बताएका थिए: “हामीले प्रभुलाई देखेका छौं!” (यूहन्ना २०:२५) तर उनले तिनीहरूको वचनलाई विश्वास गर्न अस्वीकार गरे। यूहन्नाको सुसमाचार तीमध्ये एकजानले लेखेका हुन्। बौरिउठ्नुभएका प्रभुलाई आफैंले देख्ने र बौरिउठाइको वास्तविकतालई व्यक्तिगत रूपमा नै अनुभव गरेका व्यक्तिले यो लेखिएको हो। यिनले येशू ख्रीष्टका बारेमा केही महत्त्वपूर्ण कुराहरू लेखेर एउटा पुस्तकमा प्रकाशित गरेका छन् (यूहन्ना २०:३१)। यस उद्देश्यमा यी कुराहरू लेखिए कि, “येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले __________ गर्न सक र ___________ गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ” (यूहन्ना २०:३१)। के तपाईं प्रेरित यूहन्नाको गवाही ग्रहण गर्न राजी हुनुहुन्छ? के तपाईं उनको वचनद्वारा ख्रीष्टमाथि विश्वास गर्न राजी हुनुहुन्छ (तुलना गर्नुहोस्, यूहन्ना १७:२०)? याद राख्नुहोस्, “यिनको गवाही ________ छ” (यूहन्ना २१:२४)! विश्वास गर्ने मानिस धन्य र सुखी मानिस हो (यूहन्ना २०:२९)। त्यो मानिस अनन्त जी_______ को भागीदार हुनेछ (यूहन्ना २०:३१)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email