बाइबल कसरी अध्ययन गर्ने
बाइबल कसरी अध्ययन गर्ने
बाइबल कसरी अध्ययन गर्ने?
(Robert F. Ramey, Joy of Discovery in Bible Study)
धेरैजसो मानिसहरू बाइबल विरलै पढ्छन् — समस्यामा पर्दा होला वा मण्डली सभामा बस्दा। उनीहरू आफ्नो बाइबलीय ज्ञान अर्काबाट प्राप्त गर्न सन्तुष्ट छन्। अरूहरूचाहिँ बाइबल नियमित रूपमा पढ्छन् तर पवित्र शास्त्रका अनमोल रत्नहरू पत्ता लगाउने विधि जान्दैनन्। यहाँ वर्णन गरिएको अध्ययन विधिले परमेश्वरको सत्यतालाई सार्थक रूपमा जान्नलाई मदत मिल्नेछ। प्रयोग गरी हेर्नुहोस्! पढ्नुहोस्, २ तिमोथी २:१५।
खुड्किलो १ – अवलोकन गर्नुहोस् | ||
चाबी पद:यूहन्ना ५:३९ “खोजी गर” | ||
चाबी प्रश्न: | ||
उद्देश्य: सबै शब्द, सूक्ष्म विवरण र सजिलै छुट्न सक्ने विचार-भावना समेत पत्ता लगाउनु। कति पटक आफ्नै आँखाका अगाडिका कुरा देख्न सक्दैनौं हामी। हामी खोजतलाश गर्न जान्दैनौं। हामी हतार-हतार पढ्छौं। यसरी पदले प्रस्टै बताएको कुरा सजिलै छुट्न सक्छ। | अर्थ: “खोजी गर” को मतलब, प्रत्येक शब्द र वाक्यांशलाई हेर्नु, अवलोकन गर्नु, तलाश गर्नु, ध्यान लगाउनु, ख्याल गर्नु, विचार गर्नु। | विधि: दोहोर्याइ-तेहर्याइ पढ्नुहोस्। टिपोट गर्नुहोस्। प्रश्न गर्नुहोस्: को? के? कसले? कहिले? कहाँ? किन? कसरी? आफ्नै शब्दमा उतार्नुहोस्। |
खुड्किलो २ – अर्थ बुझ्नुहोस् | ||
चाबी पद: मत्ती २४:१५ “पढ्नेले बुझोस्” | ||
चाबी प्रश्न: | ||
उद्देश्य: बाइबल लेखकले कुन अर्थमा लेखे र आफ्नो पाठकवर्गले के बुझेको उनी चाहन्थे सो कुराको व्याख्या गर्नु, अर्थ खोल्नु। | अर्थ: व्याख्या गर्नु, स्पष्ट पार्नु, अर्थ बताउनु, माने खोल्नु। | विधि: संस्कृति, भाषा र समयको दूरी को समस्या समाधान गर्नु। सो गर्न सक्न हामीलाई अनुवादहरू, शब्दकोषहरू, मानचित्र हरू आदिको मदत चाहिन्छ। |
आफूले भन्नुभएको कुराको सम्बन्धमा परमेश्वर गम्भीर हुनुहुन्छ। समस्या के हो भने परमेश्वरको वचन पढ्न लाग्दा हामी प्रायः हाम्रा आफ्नै विचार र पूर्वधारणाहरू ल्याउँछौं र बाइबलको अर्थलाई हाम्रै पूर्वधारणामा मोड्छौं। यसैले त हो, मान्छेहरू बाइबललाई प्रयोग गरेर आफूले चाहेको जेसुकै कुरालाई प्रमाणित गर्न सक्छन्। तर उनीहरूले बाइबललाई प्रयोग गरेका होइनन्, बरु दुरुपयोग गरेका हुन् किनभने उनीहरूले परमेश्वरको पवित्र वचनमाथि उनीहरूका आफ्नै व्याख्याहरू जबरदस्ती लाद्ने काम गर्दछन्।
परमेश्वरले जे भन्नुभयो, त्यही भन्न दिनुको सट्टा हामी बाइबले जे भनेको चाहन्छौं वा हाम्रो विचार अनुसार बाइबलले के भन्नुपर्थ्यो भन्ने लाग्छ त्यहीअनुरूप अर्थ लगाउँछौं। यो आत्मगत तरिका हो र यसले साँचो बाइबल अध्ययनमा ह्रास ल्याउँछ; परमेश्वरले यसलाई मान्यता दिनुहुन्न। हामी परमेश्वरकहाँ नम्र हृदय लिएर आउनुपर्छ, हाम्रा सबै पूर्वधारणाहरूलाई पन्छाएर आउनुपर्छ र भन्नुपर्छ, “प्रभु तपाईंको मार्ग सिकाउनुहोस् मलाई। मलाई सिक्न सहायता गर्नुहोस्, उल्टो सिकेकोलाई सुल्टो सिक्न, सिकेको कुरालाई फेरि सिक्न सहायता गर्नुहोस्। मेरो विचारलाई सुधार्नुहोस्। आफ्नो कुराको पक्षमा होइन तर तपाईंले भन्नुभएको कुराको पक्षमा मेरो विचारलाई मोड्न सहायता गर्नुहोस्।”
परमेश्वरको पवित्र आत्माले हाम्रा समझका आँखाहरूलाई खोलिदिनुभएको होस् ताकि हामी परमेश्वरको सत्यता जान्न सकौं ताकि हामी परमेश्वरको सत्यतामा हिँड्न सकौं (२ यूहन्ना ४; ३ यूहन्ना ३-४)।
खुड्किलो ३ – अभ्यास गर्नुहोस् | ||
चाबी पद: याकूब १:२२ “पालन गर्नेहरू होओ” | ||
चाबी प्रश्न: | ||
उद्देश्य: आत्मिक पाठहरू सिक्नु, अनुग्रहमा बढ्नु र फलस्वरूप जीवन बदलिनु। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुराले आफ्नो जीवन परिवर्तित हुनु। | अर्थ: गर्नु, काममा ल्याउनु, पालन गर्नु, विश्वास गर्नु, प्रयोगमा ल्याउनु, व्यावहारिक बनाउनु आदि। | विधि: यी प्रश्नहरूको जवाफ दिनुहोस्: कुनै प्रतिज्ञा छ जुन म विश्वास गरूँ? कुनै नमुना छ, म देखासिकी गरूँ? कुनै पाप जसबाट म अलग रहूँ? कुनै कर्तब्य, म पालन गरूँ? कुनै प्रार्थना जुन म पनि गरूँ? आदि। |
“बाइबल शिक्षा, केवल सिकाउनकै लागि सिकाइनु जस्तो नीरस र अर्थहीन काम अरू छैन होला। सत्यता, जब जीवनसम्मत हुँदैन, बाइबलीय अर्थमा त्यो सत्यता नै होइन, त्यो अर्कै कुरा हो, सत्यता भन्दा निम्न कुरा हो। बाइबलचाहिँ परमेश्वर, मानिस र सृष्टिको बारेमा मानिसलाई थाह नभएका कुराहरूको तथ्यहरूको सँगालो मात्र होइन। यो त ती तथ्यहरूमा आधारित अर्तीको पुस्तक हो। बाइबलको अधिकांश भागले मानिसलाई आफ्नो चाल बदलेर आफ्नो जीवनलाई त्यसका पन्नाहरूमा प्रकाशित परमेश्वरको इच्छाअनुरूप बनाउँदै लैजान मानिसलाई मनाउने जोडदार प्रयास गरेको पाइन्छ। पालना नगरिएसम्म ईश्वर-शास्त्र बिनाकामको हुन्छ। सबै शिक्षाको पछाडि एउटै उद्देश्य हुन्छ, त्यो हो नैतिक काम। नैतिक जिम्मेवारी-बोध बिनाको बाइबल प्रचारलाई कुनै विरोध आउँदैन। तर जब त्यो सत्यता श्रोताको हृदयको विरुद्धमा छ भनी जब उसलाई बोध गराइन्छ, तब युद्ध प्रारम्भ हुन्छ। ठीक-ठीक शिक्षालाई जीवनसित असम्बन्धित रूपमा प्रस्तुत गरुञ्जेल मानिसले बिनाआपत्ति मण्डली सभा आउने, सहायता गर्ने गर्दछ। प्रचलित इसाईवाद अधिकांशरूपमा वस्तुगत सत्यतालाई संगीतले मीठो बनाइएको र धार्मिक मनोरञ्जनले स्वादिलो बनाइएको अभ्यासभन्दा बढी छैन।”
— ए डब्लू टोजर
खुड्किलो ४ – तुलना गर्नुहोस् | ||
चाबी पद: १ कोरिन्थी २:१३ “तुलना गर्दै” | ||
चाबी प्रश्न: | ||
उद्देश्य: आफूले अध्ययन गरिरहेको पवित्र शास्त्रको खण्डलाई बाँकी बाइबलसित मिलान गर्नु। बाइबलको प्रत्येक खण्डलाई पूर्ण बाइबलसितको सम्बन्धमा देखिनु आवश्यक छ। एउटा रूखलाई राम्ररी देखेपछि त्यसलाई सम्पूर्ण वनसितको त्यसको सम्बन्धमा देख्नुपर्छ। बाइबल एक सिङ्गो एककृत सँगालो हो र सबै भागहरू कसरी आपसमा जोडिएका छन् सो देख्न आवश्यक छ। | अर्थ: पवित्र शास्त्रका खण्डहरूको परस्पर सम्बन्धलाई जोड्नु, तिनलाई पूर्णतामा हेर्नु, सम्मिलन गर्नु। | विधि: आफूलाई प्रश्न गर्नुहोस्: मैले भर्खरै अध्ययन गरेको खण्डलाई बाइबलका कुनचाहिँ अन्य पदहरू, खण्डहरू वा अध्यायहरूसित मिलान गर्न सक्छु। मैले अध्ययन गरेको कुरालाई प्रकाश पार्ने वा समर्थन गर्ने अन्य समानन्तर खण्डहरू म भेट्टाउन सक्छु कि? यसमा, बाइबलको पन्नाहरूको प्रायः तलपट्टि पाइने सन्दर्भ पद (क्रस रेफरेन्स) हरू र क्रमशब्द पुस्तकहरूबाट मदत मिल्न सक्छ। |
बाइबल यसरी पढ्नुहोस्
1. प्रार्थनासहित (भजनसंग्रह २५:४-५; ११९:१८)
2. नियमितरूपमा (मत्ती ४:४; अय्युब २३:१२)
3. विस्तारै (१ कोरिन्थी १४:१९)
4. ध्यानपूर्वक (यूहन्ना ५:३९)
5. क्रमिकरूपमा (१ कोरिन्थी १४:४०)
6. प्रश्नहरूसहित (माथि उल्लेखित)
7. प्रेमपूर्वक (भजनसंग्रह ११९:९७)
8. आदरपूर्वक (यशैया ६६:२)
9. विश्वाससहित (हिब्रू ४:२)
10. आज्ञाकारीपूर्वक (प्रकाश १:३; २२:७,१४; याकूब १:२२)।