पृष्ठभूमि
पृष्ठभूमि
पृष्ठभूमि
कलवरीको क्रूस नै मानव इतिहासको सबभन्दा महत्त्वपूर्ण घटना हो। अनगिन्ती स्वर्गदूतहरूले देख्ने गरी परमेश्वरले आफ्नो योजनामा जुन उद्देश्यले मानिसलाई सृष्टि गर्नुभयो त्यसको केन्द्रिय घटना प्रभु येशू ख्रीष्टको क्रूसको मृत्यु हो। क्रूसको हामी झण्डै २००० वर्ष यता छौं। क्रूसको झण्डै २००० वर्ष उता यूसुफ नाम गरेका एक जवान मानिस थिए।

यूसुफ बाह्रजना दाजुभाइमध्ये एक थिए। ती बाह्रैजना याकूबका सन्तान थिए। याकूबको अर्को नाउँ _____________ (उत्पत्ति ३२:२८) थियो। याकूब इसहाकका छोरा थिए। इसहाक अब्राहामका छोरा थिए।


४००० वर्ष अघिका यी उहिलेका मानिससित हाम्रो के सरोकार होला त? उत्पत्ति १२:१-२ मा परमेश्वरले अब्राहाम र अब्राहामका सन्तानहरूसित एउटा अचम्मको प्रतिज्ञा गर्नुभयो —
“अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु, तिमीलाई आशिष दिनेछु र तिम्रो नाम महान् तुल्याउनेछु; अनि तिमी एउटा आशिष बन्नेछौ। अनि जसले तिमीलाई आशीर्वाद दिनेछन्, तिनीहरूलाई म आशिष दिनेछु; अनि जसले तिमीलाई श्राप दिनेछ, त्यसलाई म श्राप दिनेछु। अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्।”
उनीहरूप्रति परमेश्वरको इच्छा यस्तो थियो — उनीहरूलाई आशिष दिनु र उनीहरूलाई आशिषको मूल बनाउनु। अनि परमेश्वरको इच्छामा यही यहूदी जाति (इस्राएल) को माध्यमद्वारा हामीले परमेश्वरको वचन बाइबल प्राप्त गरेका हौं र साथै प्रभु येशू ख्रीष्ट यसै जातिमा देहधारण भई मानवरूपमा आउनुभयो। साथै अन्य धेरै तवरले यहूदी जाति मार्फत संसारले आशिष पाएको छ।
तपाईंलाई पनि परमेश्वरले आशिष दिन चाहनुहुन्छ र अरूहरूको माझमा आशिषको मूल बनाउन चाहनुहुन्छ। उहाँले यो काम कसरी पूरा गर्न सक्नुहुन्छ? यसका लागि तपाईंको जिम्मेवारी के हो?
इस्राएलका सन्तान
याकूब लगायत उनका छोराहरू जन्मिनुभन्दा धेरै वर्ष पहिला नै परमेश्वरले अब्राहामलाई उनका सन्तानहरूको बारेमा एउटा कुरा भन्नुभएको थियो: उनीहरू ४०० वर्ष सम्म परदेश (मिस्रदेश) मा दास बन्नेछन् (उत्पत्ति १५:१३-१४ लाई प्रस्थान १:१३-१४; १२:४०-४१ सित तुलना गर्नुहोस्)। उक्त कुरा कसरी पूरा हुन गयो त? यूसुफको जीवन वृत्तान्तबाट यसको जवाफ पाउन सकिन्छ।
यूसुफ, उनका बाबुको प्रेमको पात्र
उत्पत्ति ३७:३ अनुसार याकूब (इस्राएल) ले _____________ लाई आफ्ना अन्य सबै छोराहरूलाई भन्दा बढी माया गर्थे। यसको माने याकूबले आफ्ना अन्य छोराहरूलाई माया गर्दैनथे भन्ने होइन। यूसुफ याकूबका सबभन्दा प्रिय पत्नीबाट जन्मेका छोरा थिए। याकूबको जीवनमा समेत उनलाई र उनका दाजु एसावलाई बाबुआमाले उत्तिकै माया नगरेका हुनाले कत्रो समस्या आइपरेको थियो भन्ने कुरा याकूबले बिर्से। याकूबले समान व्यवहार नगरेकाले उनका पत्नीहरू र छोराहरूका बीच धेरै समस्याहरू सृजना भए।
परमेश्वरले सृष्टिको प्रारम्भमा एउटा पुरुषको एउटी पत्नी हुने गरी विवाहको थालनि गर्नुभएको थियो। सधैं हाम्रो भलाइ चाहनुहुने परमेश्वरको योजनालाई नपछ्याउँदा समस्याहरू उत्पन्न हुन्छन्।
याकूबले यूसुफलाई आफ्नो प्रेम कसरी प्रकट गरे (उत्पत्ति ३७:३)? ______________________________________ ______________________________________ __________________________________। यसले याकूबका ठूला छोराहरूलाई निरन्तर यो सन्देश दिइरहेथियो, “बाबुको मनपर्ने त यूसुफ हो।” यूसुफ उनको विशेष पहिरनमा देखा पर्दा दाजुहरूको मनमा कस्तो लाग्थ्यो होला?
यो विशेष लबेदा एक लामो जामाजस्तै पाउसम्म पुग्ने पोशाक थियो भन्ने अनुमान गरिएको छ। त्यसका बाहुलाहरू लामा थिए र त्यो वस्त्र बेलबुट्टाहरूले सुन्दर बनाइएका थिए। यस्तो पोशाक राजाका छोरीहरू जस्ता (२ शमूएल १३:१८-१९) खानदानका जवान युवक तथा युवतीहरूले लाउने गर्थे। त्यसले विशेष पोशाक दर्शाउँथ्यो, “जेठो छोराले पाउने अधिकारहरू यूसुफलाई नै दिइएका छन्।” रूबेन, लेआबाट जन्मेका जेठा छोरोले आफ्नो पापको कारणले आफ्नो ज्येष्ठ अधिकार गुमाए (उत्पत्ति ३५:२२; ४९:३-४)। फलस्वरुप ज्येष्ठ अधिकार यूसुफको भयो − जो राहेलबाट जन्मेका जेठा थिए (१ इतिहास ५:१-२ हेर्नुहोस्)। यसरी यूसुफको “रङ्गबिरङ्गी लबेदा” ले उनले परिवारमा पाएको प्रिय र उच्च दर्जालाई झल्झल्ती दर्शाउँथ्यो।