यूसुफ तथा फाराओका कैदीहरू

यूसुफ तथा फाराओका कैदीहरू

 

यूसुफ तथा फाराओका कैदीहरू

(उत्पत्ति ४०)

फाराओका दुईजना अधिकृतहरूले उनको विरुद्धमा अपराध गरेका थिए (उत्पत्ति ४०:१)। तिनीहरूले मिस्रका राजाको विरुद्धमा पाप गरेका थिए। तिनीहरूले राजाको इच्छाविपरित काम गरेका थिए। आ-आफ्‍ना जिम्मेवारीमा चुकेका हुनाले तिनीहरू कैदखानामा परे − जहाँ यूसुफ पनि थिए!

राजालाई दाखमद्य टक्राउने जिम्मा मुख्य पियाउने अधिकृतको थियो। ऊ राजाप्रति पूर्णरूपमा विश्वासयोग्य र बफादारी हुनु पर्दथ्यो। उसले राजाको विरुद्धमा षड्यन्त्र रचेर उनको कचौरामा विष हाल्न पनि सक्थ्यो। त्यसैले राजाले पियाउनेलाई कचौराबाट प्रायः पहिले पिउन लगाउँथे। मुख्य पकाउने अधिकृत पनि एक विश्वासयोग्य व्यक्ति हुनु पर्दथ्यो। फाराओका निम्ति रोटी पकाउने जिम्मा उसैको थियो।

एकरात मुख्य पियाउने र पकाउने दुवैले आफ्‍नो-आफ्‍नो अर्थ भएका छुट्टा-छुट्टै सपनाहरू देखे। बिहान यूसुफले तिनीहरू ____________ भएको देखे (४०:६)। तिनीहरू निराश र चिन्तित थिए। उत्पत्ति ४०:७ अनुसार यूसुफले ती दुईका मनका भावनाहरू तिनीहरूका अनुहारहरूमै प्रस्ट देखे।

हाम्रा मनका भावना हाम्रा अनुहारहरूमै प्रायः झल्कन्छन्। हाम्रा मनभित्र खेलिरहेका भवानाले बाहिरी आवरणलाई प्रायः असर पार्दछन्। हँसिलो र प्रसन्न अनुहारको रहस्य के हो (हितोपदेश १५:१३)? हामीले ध्यान दिनुपर्ने कुरा कुन हो(हाम्रो अनुहारलाई ठिक राख्न कि हृदयलाई ठिक राख्न हितोपदेश २५:२० दाँज्नुहोस्)? ____________________________________________________________________________________। यदि हृदय प्रभुसित ठिक छ भने, त्यो स्वस्थ हुन्छ अनि त्यो स्वस्थ हृदयले नै अनुहारलाई स्वस्थ राख्छ (भजनसंग्रह ४२:११; ४३:५ हेर्नुहोस्)!

फाराओका कैदीहरू ज्यादै दुःखित थिए; तिनीहरूका सपनाका अर्थहरू कसले खोलिदिने? यूसुफ आफैले सो गर्न सक्दैनथे, तर उनले अर्थ खोल्न सक्ने परमेश्वरलाई चिन्थे। उनले भने: “के सपनाका अर्थहरू खोल्ने काम परमेश्वरको होइन?” हो, अर्थहरू परमेश्वरकै हुन्, अनि यदि ती अर्थहरू हामी बुझन चाहन्छौं भने, हामी परमेश्वरकहाँ नै जानुपर्छ। यदि कुनै सपना परमेश्वरले दिनुहुन्छ भने, उहाँले सपनाको अर्थ पनि दिन सक्नुहुन्छ। परमेश्वरले यूसुफमार्फत ती दुवैका सपनाका अर्थहरू खोलिदिनुभयो, अनि ती एक-एक पूरा भए (४०:२०-२२; ४१:१३)।

जीवनका कतिपय कुराहरू हामी बुझन सक्दैनौं: म किन रोगी भएँ? मेरा प्रियहरू किन मरे? मलाई समस्या, सकष्ट, दुःख किन आइपरे? आदि। ती हामीले नबुझौंला, तर परमेश्वरले अवश्य बुझनुहुन्छ! हाम्रो दृष्टि धमिलो होला, तर परमेश्वर सब थोक छर्लङ्ग देख्नुहुन्छ। कुनै घटना हामीलाई अर्थहीन लाग्‍न सक्छ तर परमेश्वर त्यसको अर्थ जान्नुहुन्छ। केवल उहाँले मात्र जीवनको वास्तविक अर्थ बताउन सक्नुहुन्छ।

उत्पत्ति ४०:१४ मा यूसुफले मुख्य पियाउनेलाई भने, “तर जब तपाईंको भलो हुनेछ तब मेरो _________________ गर्नुहोस्।”

यूसुफले आफूलाई चोरी गरी ल्याइएको मालको रूपमा देख्थे (पद १५)। उनलाई लाग्थ्यो, म बाबुको प्यारो छोरो, हिब्रूहरूका देशवासी हुँ। ती दुवैबाट मलाई चोरी गरी ल्याइएको हो भनी उनी सोच्थे। तर परमेश्वरको विचारमा यूसुफ ठिक स्थानमा थिए। उनी मिस्रमा, त्यहाँको कैदखानामै हुनुपर्‍थ्यो किनकि परमेश्वर आफ्‍नो सिद्ध योजनालाई अघि बढाउँदै हुनुहुन्थ्यो, केवल यूसुफको निम्ति मात्र होइन तर इस्राएलका सारा सन्तानका निम्ति। मिस्रमा मानिसद्वारा लगिएका भए तापनि उनलाई त्यहाँ _____________________ले पठाउनुभएको हो भन्ने कुरा यूसुफले पछि मात्र बुझे (४५:७ हेर्नुहोस्)!

आफ्‍नो योजना पूरा गर्न परमेश्वरले दुष्टहरूलाई पनि प्रयोग गर्न सक्नुहुन्छ − जस्तै प्रेरित २:२३-२४; लूका २२:२२; प्रेरित ३:१४-१५,१८ − यसरी मानिसको क्रोधले पनि परमेश्वरलाई ______________ ल्याउनेछ (भजनसंग्रह ७६:१०)!

फाराओले आफ्‍नो जन्मदिनको उपलक्षमा पियाउने र पकाउने दुवैका शिर उठाइदिए (४०:२०), तर छुट्टाछुट्टै तरिकाले (४०:२१ र ४०:२२)! [तुलना गर्नुहोस्, हेरोदले आफ्‍नो जन्मदिन कसरी मनाएका थिए, मत्ती १४:६-१२।

फाराओका सपनाहरू र यूसुफ

(उत्पत्ति ४१:१-३२)

यूसुफ कैदखानाबाट तुरुन्तै छुट्न चाहन्थे (४०:१४), तर यूसुफ अझ दुई वर्ष त्यहीँ रहेको परमेश्वर चाहनुहुन्थ्यो (४१:१)।

परमेश्वरका चालहरू हाम्रा चालहरू होइनन् (यशैया ५५:८), परमेश्वरका समयहरू हाम्रा समयहरू होइनन् (भजनसंग्रह २७:१४)। परमेश्वरका विलम्बित आशिषहरू ठिक समयलाई पर्खिरहेका हुन्छन्। ती आशिषहरू आउन ढिलो भए भनी हामी सोचौंला, तर परमेश्वरको हिसाबमा ती ठिक-ठिक समयमा आएका हुन्छन्। ढिलो भए तापनि छुटकारा निश्चय छ, हामी आत्तिनु पर्दैन।

फाराओलाई आफ्‍ना सपनाहरू विपनाझैं लागे। तर बिउँझदा त ती सपना पो रहेछन्। तिनी छक्कै परे (४१:७)! ती सपनाका अर्थहरू के होलान्? एक्काइसौं पदमा सपनाको विवरण छ; त्यसको अर्थ के होला? परमेश्वरले फाराओलाई किन दुईओटा सपना देखाउनुभयो (पद ३२)?

परमेश्वरले कुनै कुरा एक पटक भन्नुहुन्छ भने हामीले ध्यान दिएर सुन्नुपर्छ किनकि परमेश्वरले भन्नुभएको हरेक कुरा महत्त्वपूरण छ! यदि परमेश्वरले कुनै कुरा दुई पटक (वा तीन पटक) भन्नुहुन्छ भने हामीले झन् कति ध्यान दिनुपर्ला? तुलना गर्नुहोस् गलाती १:८-९; फिलिप्पी ४:४; यूहन्ना २१:१५-१७; मर्कूस ९:४४,४६,४८। तपाईंलाई अरू यस्ता उदाहरणहरू थाहा छ?

त्यहाँ जादुगरहरू थिए जो पेशागतरूपमा आफ्‍नो विशेष ज्ञान (खासगरी टुनामुनाको ज्ञान) प्रयोग गर्थे। त्यहाँ विद्वानहरू पनि थिए। तिनीहरू कसैले पनि सपनाको अर्थ खोल्न सकेनन् (४१:८), तर यूसुफले मात्र सके (४१:२५ देखि)। यूसुफसित के थियो जो तिनीहरूसित थिएन? केले फरक पार्यो? ठिक उत्तरमा चिन्ह लगाउनुहोस्:

दानियल २:२-१३,२३-३० सित तुलना गर्नुहोस्। के परमेश्वरले तपाईंको जीवनमा पनि त्यसरी नै भिन्नता ल्याउन सक्नुहुन्छ?

सपनाको अर्थ खोल्नसक्ने केवल प्रभु हुनुहुन्थ्यो, त्यसैले यूसुफले सम्पूर्ण श्रेय प्रभुलाई नै दिए। उत्पत्ति ४१:१५ मा फाराओले यूसुफलाई भने, “तिमीले अर्थ खोल्न सक्छौ।” यूसुफले फाराओलाई सच्च्याउँदै जवाफ दिए, “म ता होइन, परमेश्वरले नै फाराओलाई भलाइको उत्तर दिऊन्!” (४१:१६)। फाराओको सपनाको अर्थ खुलाउने क्रममा यूसुफले घरीघरी परमेश्वरको उल्लेख गरे अनि उहाँलाई नै सम्पूर्ण श्रेय दिए:

पद १६ “परमेश्वरले ____________________________________________________। पद २५ “परमेश्वरले ____________________________________________________। पद २८ “परमेश्वरले ____________________________________________________। पद ३२ “परमेश्वरले ____________________________________________________।

परमेश्वरद्वारा हृदय भरपूर छ भने, जिब्रोले परमेश्वरकै बारेमा नबोली बस्‍न सक्दैन! यसकारण ३८-३९ पदमा उल्लिखित फाराओका शब्दहरू सुन्दा हामीलाई अचम्म लाग्दैन!

राजदरवारमा यूसुफ − उनको उच्च स्थान

(उत्पत्ति ४१:३३-४४)

इस्राएल जातिलाई सात वर्षे अनिकालबाट जोगाउनलाई नै (उत्पत्ति ४५:७) परमेश्वरले यूसुफलाई सारा मिस्रमाथि एक शासक बनाउनुभयो (४५:८)। कसरी? उहाँले यूसुफलाई पहिले खाडलमा अनि पछि कैदखानामा पठाउनुभयो; राजदरवार पुर्‍याउने मार्ग यही थियो! परमेश्वरका मार्गहरू कति रहस्यमय छन्!

परमेश्वरले उनलाई मिस्रमा पठाउनुको उद्देश्य यूसुफले सर्वप्रथम कहिले बुझे होलान्? हामी पनि संकटको खाडलमा पर्दा (उत्पत्ति ४२:१), अथवा अवहेलनाको कैदमा पर्दा (उत्पत्ति ४०:१५), एउटा कुरामा निर्धक्क रहौं: हाम्रो नजरबाट यो छिपेको भए तापनि यसमा परमेश्वरको कुनै न कुनै उद्देश्य छ। तब हामी कसरी हिँडौं त? २ कोरिन्थी ५:७ अनुसार: “किनभने हामी ________ ______________ होइन, तर __________________ द्वारा हिँड्छौं।”

आउनेवाला अनिकालमा बाँच्नलाई के-के गर्नुपर्छ भनी यूसुफले फाराओलाई सल्लाह दिए। उनले भने, एक सक्षम व्यवस्थापक नियुक्त गरियोस् (४१:३३-३६)। फाराओ यसमा सहमत भए। यस नियुक्तिका निम्ति फाराओले कसलाई योग्य ठाने (४१:३७-४०)? ________________। यूसुफको साथमा परमेश्वर हुनुहुन्थ्यो भनी फाराओले देखे (४१:३८)। पोतिफर (३९:३) तथा कैदखानाको हाकिम (३९:२३) दुवैले परमेश्वरको उपस्थिति यूसुफको जीवनमा देखेका थिए।

तपाईंको जीवनमा मानिसहरूले के देख्छन्: पवित्र आत्माका कामहरू देख्छन् (गलाती ५:२२-२३; एफेसी ५:९) कि शरीरका पापपूर्ण घीनलाग्दा कामहरू (गलाती ५:१९-२१)?

तेह्र वर्ष होचिएका दास तथा कैदी यूसुफ (उत्पत्ति ३७:२ लाई ४१:४६ सित दाँज्नुहोस्), एक्कासी सारा मिस्रमाथि शासक बनाइए! यूसुफ कति माथि उचालिएका थिए (४१:४०-४४; ४२:६,३०,३३; ४४:१८; ४५:८-९,१३,२६)?

उत्पत्ति ४१:४१-४३ अनुसार, यूसुफलाई त्यो उच्च स्थानमा कसले पुर्याउनुभयो? ________________। उत्पत्ति ४५:८ अनुसार, यूसुफलाई उच्च स्थानमा पुर्याउनमा वास्तवमा कसको हात थियो? ________________। एक समय, यूसुफको रङ्गबिरङ्गी लबेदा जबरजस्ती खोसियो (३७:२३)। एक समय, यूसुफ आफ्‍नो वस्त्र एक दुष्ट मिस्री स्त्रीको हातमा छाडेर भाग्‍न बाध्य भए (३९:१२)। अब, त्यही यूसुफ सबभन्दा मिहिन मिस्री पोशाक पहिरन्छन् (४१:४२)!

परमेश्वरले एक व्यक्तिलाई कुन आधारमा उच्च पार्नुहुन्छ? कुनै पनि मानिस कसरी सबभन्दा माथि पुग्छ र पहिलो स्थान पाउँछ? हेर्नुहोस्: इजकिएल २१:२६; मत्ती २३:११-१२; लूका १:५२; १४:११; १८:१४; १ पत्रूस ५:६; याकूब ४:१०; मर्कूस ९:३४-३५; १०:३१। यो निश्चय छ, इश्वरीय मार्गमा माथि जाने बाटो तल्तिर छ, तल्तिर जाने बाटो मास्तिर छ। शैतान माथि उक्लन खोज्यो र ऊ तल फ्याँकिएको छ (यशैया १४:१२-१५)। प्रभु येशू पहिले होचिनुभयो तर अब उहाँ उच्च पारिनुभएको छ (फिलप्पी २:५-११)। “परमेश्वरको सामर्थी हातमनि आफू-आफूलाई _________ तुल्याओ, र ठिक समयमा उहाँले तिमीहरूलाई ______________ पार्नुहुनेछ” (१ पत्रुस ५:६)।

यूसुफको बुद्धिपूर्ण व्यवस्थापन

(उत्पत्ति ४१:४५-५७)

जसरी परमेश्वरले यूसुफलाई अर्थ खोल्ने बुद्धि दिनुभयो, त्यसरी नै उहाँले यूसुफलाई व्यवास्थापन गर्ने बुद्धि पनि दिनुभयो (उत्पत्ति ४१:१६,२५,२८,३९)। के यूसुफसित एउटा राष्ट्रको नेतृत्व तथा व्यवस्थापन गर्नको निम्ति चाहिने अनुभव थियो? ____________। दासत्व र कैदखानाको अनुभवचाहिँ कति वर्षको थियो (३७:२; ४१:४६)? ______________।

प्रभुले तपाईंलाई कुनै दिन अनुभवै नभएको जिम्मेवारी बहन गर्नलाई अगुवाइ गर्न पनि सक्नुहुन्छ। त्यसबेला तपाईंले आफ्‍नो कर्तव्य परमेश्वरको सामर्थ्यद्वारा पूरा गर्नसक्नुहुन्छ, फििलप्पी ४:१३,१९; हितोपदेश ३:५-६; २ कोरिन्थी ९:८।

के फाराओका सपनाहरू यूसुफले अर्थ खोलेझैं पूरा भए (४१:४७-४९, ५३-५७ हेर्नुहोस्)? ______________।

भविष्यका लागि तयार हुन परमेश्वरको वचनले तपाईंलाई कसरी मद्दत गर्नसक्छ? मिस्र तथा वरिपरिका देशहरूमा एक भयानक सात वर्षे अनिकाल लाग्दैछ भनी यूसुफ जान्दथे। एकदिन संसारमा सात वर्षको भयानक संकट आउनेछ भनी के परमेश्वरले बताउनुभएकोछ? हेर्नुहोस् दनियल ९:२७; प्रकाश ११:२-३: १२:६,१४ आदि।

यूसुफ आफ्‍ना दाजुभाइबाट घृणीत र तिरस्कृत थिए (उत्पत्ति ३७:२०)। तर पछि उनी उच्च पारिए अनि अन्यजातीहरूका बीचबाट एक दुलही प्राप्त गरे (४१:४०)। यूसुफको जीवनका घटनाहरू प्रभु येशूको जीवनमा पछि घट्ने घटनाहरूका चित्रण थिए। येशूलाई उहाँका दाजुभाइले इन्कार गरे (यूहन्ना १:१०-१२); उहाँ उच्च पारिनुभयो (फििलप्पी २:९-११); अन्यजातीहरूका बीचबाट उहाँले एक दुलही प्राप्त गर्नुभयो (एफेसी ५:३१-३२)। मण्डली, प्राय: अन्यजाति विश्वासीहरूको समुह, ख्रीष्टको दुलही हो।

यूसुफका दुई छोराहरूका नामलाई विचार गरौं (उत्पत्ति ४१:५१-५२):’मनस्से’ (बिर्सनु − आफूले भोग्‍नु परेको परिश्रम र दु:खलाई यूसुफले बिर्सन सके) र ‘एप्रैम’ (फलदायी − यूसुफ मिस्र देशमा फलदायी बने)। परमेश्वरले यूसुफलाई “तिनका सबै कष्टहरूबाट छुटकारा दिनुभयो, अनि मिस्रका राजा फाराओका सामु तिनलाई कृपा र बुद्धि दिनुभयो” (प्रेरित ७:१०)। उनलाई मिस्र देश पठाउनुमा परमेश्वरको रहस्यमय उद्देश्य र ठूलो कष्टलाई ठूलो आशिषले पछ्याउँदो रहेछ भनी अब यूसुफले बुझ्न थाले!

तपाईंलाई बचाउनु र त्यसपछि अनेकौं परीक्षा, संकट र समस्याहरू भएर लैजानुमा, परमेश्वरको उद्देश्य के होला? रोमी ८:२८-२९; गलाती ४:१९; १ यूहन्ना ३:२ हेर्नुहोस्। परमेश्वरले तपाईंलाई अझै उहाँको पुत्र जस्तो बनाउन चहानुहुन्छ।

के यूसुफले मिस्रीहरूलाई खानेकुरा सित्तैंमा दिए (४१:५६-५७; ४७:१३-२६)? __________।

काम नगर्ने अल्छीलाई सित्तैंमा दिँदा समस्या आउँछ। २ थेस्सलोनिकी ३:६-१२ र एफेसी ४:२८ हेर्नुहोस्।

Print Friendly, PDF & Email