यात्रा। तिता अवस्थादेखि परमेश्वरको प्रेमको अनुभूतिसम्म।

उत्पत्ति ३:९ “आदम, तिमी कहाँ छौ?”

परिचय

म पनि कुनै समय परमेश्वरको उपस्थितिबाट भाग्न खोजिरहेको थिएँ, लुकिरहेको थिएँ। मैले साँचो गरी मुक्ति पाएको भएतापनि म संसारसित एकनासे भैरहेको थिएँ। संसारबाट पूरै फर्कन अल्याङ टल्याङ गरिरहेको थिएँ। म निश्चित छु, मैले साँचो गरी मुक्ति पाएको निकै लामो समय सम्म पनि मेरो हृदयको सिंहासन प्रभुलाई पूरै सुम्पेको थिइनँ कुनै न कुनै कुरा आफ्नो लागि राखिरहेको हुन्थें। हरेक हप्ता वचनद्वारा परमेश्वरको मधुर स्वर मेरो हृदयको अन्तस्करणमा ठोकिन्थ्यो र कायल हुन्थें तर तुरुन्तै म आफ्नै समस्या र अवस्थाको बाहाना बनाई प्रभुबाट टाढा हुन खोज्थें।


संसार र शरीर सँधै परमेश्वरको वचनको विरुद्धमा हुन्छ, जबसम्म एउटा व्यक्ति संसार र शरीरतर्फ मन लगाउँछ, तब सम्म ऊ परमेश्वरबाट भाग्न खोज्छ, वास्तवमा संसारले नै उसलाई भाग्न बाध्य तुल्याउँछ, उसलाई परमेश्वरको वचन असाध्यै कडा लाग्छ, किनकि ऊ संसारसँग एकनासे भएको छ, किनकि परमेश्वर संसारको विरुद्धमा हुनुहुन्छ। हो, मलाई पनि ठ्याक्कै त्यस्तै भयो। तपाईंको लागि प्रश्नः के तपाईंलाई परमेश्वरको वचन कडा लाग्छ?


हेर्नुहोस्, हामी सबै यही संसारमा छौं, हामी हरेकलाई कुनै न कुनै समस्या र अफ्ठ्यारो परिस्थितिले गाँजेकै हुन्छ, कसैलाई धेरै महसुस हुन्छ त कसैलाई थोरै। मैले यस्ता व्यक्तिहरू भेटेको छु, सायद तपाईंले पनि, जसलाई एकदम सानो समस्या वा चोट लाग्दा मानौं उसमाथि पहाडनै बजारिएको भान पर्छ, अनि कोही यस्ता व्यक्तिहरू हुन्छन् जसको शरीरमा चार इञ्च रड छिरे पनि मानौं केहि नभए जसरी शान्त रहन्छन् । यस्तै हामी हरेकको जीवनमा समस्या, दु:ख कष्ट, अभावहरू आउँछनै तर हामीले यो अवस्थालाई कसरी लिन्छौं यसले फरक पार्दछ।

मेरो बिगत, दयनिय अवस्था

मेरो जीवनमा मैले भोगेको समस्या, दु:ख कष्ट र त्यसबाट परमेश्वरले दिनुभएको स्वतन्त्रताको बारेमा केहि बाँड्न चाहन्छु। कुनै समय मेरो यही देशमा राम्रो कमाइ, समाजमा इज्जत र सुनाम थियो कुनै कुराको घटी थिएन, एक-डेड लाख कमाइ हुन्थ्यो। पैसा खर्च गर्न मैले सोच्न पर्दैनथ्यो। मोटर साइकलको सौखिन थिएँ, सात बर्षको अन्तरालमा मैले ५ वटा मोटर साइकल फेरेछु। मेरो परिवार सानो ४ कोठाको घरमा बसोबास गरिरहेका थियौं, अरुको देखासिकी, आफ्नो कमाइ माथिको भरोसामा परी नपुग रकम बैंकबाट लोन लिएर घर ठूलो पार्यौं, त्यसलाई सजायौं। तर समय र घडी हामी कहाँ जान्न सक्छौं र, परमेश्वरबाटको बुद्धिद्वारा मात्र हामी सचेत रहन सक्छौं तर परमेश्वरबाट टाढा रहेर अगुवाजनहरूसँग सल्लाह नगरी हावाको भरमा गरेका हरेक कामको प्रतिफल छिटै भोग्ने भएँ, मैले चाल नै पाइँन। मेरो कमाइ घट्दै गयो, तर खर्चहरू बढ्दै गए, बैंकको किस्ता तिर्न धौ-धौ पर्यो, झन त्यतिनै बेला देशमा लकडाउन शुरु भयो। मेरो कमाइ डेढ लाखबाट ० मा झर्यो, बैंकको किस्ता तिर्न अरुसँग सापटी माग्ने, समुह मिलेर पैसा चलाउने, एक तिरबाट ऋण लिएर अर्को तिर तिर्ने गर्नुपर्ने अवस्था आयो। विभिन्न ठाउँको किस्ता समयमै तिर्नुपर्ने तर आफूसँग नभएकोले चर्को ब्याज (३६%, ५०%, ६०%, १ लाखको प्रति दिन १ हजार) मा चलाउनै पर्ने अवस्था आउन थाल्यो। ऋण झन- झन तिब्र रुपमा बढ्दै गयो। २१ लाख बैंकको ऋण, त्यसमा थपेर ४० लाख पुर्यायौं तरैपनि अझ मान्छेसँग लिएको ऋणहरू चुक्ता गर्न पुगेन। बेच्न मिल्ने प्राय: सबै मोटरसाइकल, गरगहनाहरू बेच्यौं। बाहिरी कामहरू फाटफूट आउँथ्यो, लेखापढी/ वायरिङको काम जसबाट जसो तसो गुजारा चलाउन हुन्थ्यो की? २ बर्ष सम्म कमाइ ० बराबर थियो तर तिर्नुपर्ने किस्ता तथा ब्याज मासिक ८० हजारभन्दा माथि हुन्थ्यो। अब त थाहा नपाई ५५/६० लाख ऋण पुगिसकेछ। घर बेच्न बिभिन्न माध्यम प्रयोग गर्यौ, केहि सीप चलेन आर्थिक अभाव यतिसाह्रो बढ्यो की अब विदेश जानु नै ऋण तिर्ने उपाए देख्न थालें।


हाम्रो परिवार चर्च त जसो तसो गइरहेका थियौं, टाढा भएकोले धेरै चोटी मान्छेहरूसँग पैसा सापटी लिएर चर्च जान्थ्यौं, हरेक वचनद्वारा हप्की चेतावनी पाउँथे तर बसको यात्रामा हुँदाहुँदै नै मभित्र द्वन्द्व चल्थ्यो र घर पुग्ने बेलासम्ममा त संसारको कुराले ममाथि विजय पाइसकेको हुन्थ्यो। घरमा पारिवारलाई ठिकसँग डोर्‍याउन सकिरहेको थिइनँ, ऋण तिर्नुपर्ने बाहानामा कति कुरामा संसारसित एकनासे हुन पुगें, ठिक निर्णय गर्नै नसक्ने अवस्थामा थिएँ, सानो सानो कुरामा पनि झर्किने, कराउने झण्डै डिप्रेशनमा पुगेको थिएँ, ऋणको कारणले संसारको मान्छे जस्तो मान्छेसँग लुकेर हिड्ने अवस्था आयो, मेरो सास रोकिएला जस्तो हुन्थ्यो।


विचार गर्नुहोस् न.. त्यसबेला मेरो, प्रभुसँगको सम्बन्ध कस्तो थियो होला? हो साह्रै दयनिय अवस्था थियो, प्रार्थना गर्थें तर मेरो प्रार्थना घरबाट माथि पुग्दैनथ्यो। सङ्गतिमा बस्थें तर सभाभरि मात्र, जति जति घरको नजिक पुग्थें त्यतिनै निसास्सिदै जान्थें। ऋणकै कारणले पति पत्नीमा मनमुटाव हुन्थ्यो, परिवारमा शान्ति थिएन संसारले पूरा गाँजेको थियो। प्रभु येशू मेरो हृदयको एउटा कुनामा राखेको थिएँ, सिंहासनमा म आफै थिए, पूरा भर आफैमा परिरहेको थिएँ।


एक साँझ परिवारमा हामी भेला भयौं र परिवारमा प्रस्ताव राखें कि म अब विदेश जान्छु, त्यसैले हामी यो हप्ता देखिनै चर्च नजाने किनभने हाम्रो कारणले मण्डलीमा अरु विश्वासीले ठेस खालान्, अंकलहरूलाई मानिसहरूले आरोप लाउलान्।…..हामी सबैजना रोयौं…… तर के गर्नु असल गवाहीबिनाको विश्वासी कस्तो विश्वासी हो र? त्यो रात म निदाउन सकिनँ, रातको करिब एक बजेतिर नारायणगढ मण्डलीलाई सम्बोधन गर्दै हाम्रो वर्तमान परिस्थिति र परिवारले गरेको निर्णय समेटेर, एक किसिमको डर र आत्मग्लानीको साथ एउटा पत्र लेखेर अंकललाई ई-मेल गरें। भोलीपल्ट अंकलको प्रेमपूर्ण पत्रको जवाफले मेरो मनलाई शितलता प्रदान गर्यो। तुरुन्तै अंकल र भाईहरूसँगको भेटघाटले मनमा सान्त्वना मिल्यो।


बेला बेलामा मैले प्रार्थना गर्ने गर्थें, “प्रभु मलाई यो आर्थिक ऋणको भारबाट छुट्कारा दिलाइदिनुहोस् त्यसपछि म र मेरो परिवार पूरै तपाइलाई सुम्पन्छु।”

सानो आशाको किरणको शुरुवात र सान्त्वना

केहि समय पछि एकदिन यस्तो भयो, प्रभुले मलाई दाजुभाईहरूसँग लम्जुङको यात्रामा सहभागी हुन सहायता गर्नुभयो। त्यहाँ प्रज्वल जीले नयाँ व्यक्तिहरूलाई अठोटको बारेमा बताउनु हुदैगर्दा नै मैले मनमा अठोट गरें कि, अब म आफूलाई पूरै प्रभुमा सुम्पन्छु। जब म घर फर्कें तब पहिले गर्ने गरेको प्रार्थनालाई सच्याउदै बिन्ती चढाँए र भने “प्रभु मेरो यो जीवन पूरै तपाईंलाई सुम्पिन्छु, मेरो सबै अवस्था तपाईंले सम्हाली दिनुहोस्, मैले धेरै कुस्ति खेलेँ म हार खाएँ प्रभु, मलाई तपाईंलेनै डोराउनुहोस्।“ तब मेरो जीवनमा परिवर्तन देखा पर्नथाल्यो, त्यस पछि लगत्तै भएको मिशन कन्फ्रेन्स पछि परिवारमा अर्को अठोट अघि सारें, घर बेचेर नारायणगढ बसाइ सर्ने, र जस्तो सुकै काम भएपनि गरेर प्रभुको साथ साथ हिड्ने भनेर, निर्णय गरेको केहि समयमै मैले नारायणगढमा जागिर पाएँ र हामी नारायणगढ बसाइ सर्यौं त्यसको केहि महिना पछि हाम्रो घर पनि बिक्री भयो, आएको पैसा पूरै ऋण तिर्दा पनि ५/६ लाख अझै बाँकि नै रह्यो बिस्तारै कमाइबाट तिरी रहेकोछु।

यसबाट के सिक्न सकें

यी सबै अवस्थाहरूबाट मैले के सिकें? प्रभुको ताडनाबाट वचन अनुसार जिउन र अगुवाहरूको बाइबलीय सल्लाह अनुसार योजना बनाउनुपर्छ भन्ने कुरा सिकें। प्रभुको भलाइ र प्रभुको प्रेम जसद्वारा मैले होचिन सिकें, नम्र हुन सिकें, प्रभुको इच्छालाई हवस् भन्न सिकें। आफ्नो शरीरलाई सधाउन सिकें, परिवारमा

अर्को जाँच

परमेश्वरको इच्छामा जिउन चाहनेहरुलाई उहाँले बिश्वासको जाँच पनि गर्नुहुन्छ, जुन केहि समय अगाडी मेरो जिवनमा पनि आयो, जुन मैले पहिले चाहेको थिएँ, त्यो, अर्थात कोरियाको भिसा। मेरो हृदयमा अब परिक्षा हुन थाल्यो, रिण अझै ५/६ लाख तिर्न बाँकी छ, एक चोटी गएर आउन पाए आर्थिक अभावबाट मुक्त भएर भविष्यमा प्रभुको सेवा गर्न सकिन्छ भन्ने ठानेर परिवारमा कुरा राखें, अनि अगुवा जनहरु संग सल्लाह लिने क्रममा सचेत हुन र बिचार गर्न साथै अरुहरुको बिषयमा पनि सोंच्न मद्दत मिल्यो र तुरुन्तै निर्णय गरें, म जाने छैन। यहाँ ३५/४० हजार कमाउन मुस्किल छ, उता महिनाको साँडे ४ लाख कमाई हुने भिसा आउदा पूरा २ दिन मेरो मन बिचलित भएको थियो, नहुनु पनि कसरी खल्तीमा ३० रुपैयाँ बोकेर अफिस हिड्नु पर्दा, परिवार तथा आफै बिरामी हुँदा उपचार खर्च नहुँदा अनि पुरै अभावको जीवन बिताई रहेको बेला मन त मेरो पनि बिचलित भएकै थियो। तर जब मैले १ तिमोथी६;९-१२को खण्ड मनन गर्न थालें तब मेरो मनमा प्रभुले शान्ती हालिदिनुभयो। यो बिश्वासको जाँचमा जब म खडा भएँ तब म परमेश्वर तर्फ एक कदम माथि चढेको अनुभव भयो मलाई। हो मलाई खाँचो थियो, अभाव थियो, एकदमै न्यूनतम खर्चमा जिबीका चलाई रहेको थियौं तर हाम्रोसाथमा परमेश्वर प्रतिको बलियो बिश्वास छ जसको कारण मनमा साँचो शान्ती, साँचो आनन्द र साँचो प्रेमले भरिएर परमेश्वरलाई धन्यबाद चढाउन सक्छौं।

प्रभुप्रति समर्पित जीवन

मेरो जिउने आधार केवल प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, उहाँनै मेरो जीवनको साँस र बल र बुद्धी हुनुहुन्छ उहाँको उपस्थितीबाट टाढा रहेर म केही गर्न सक्दिन। बिगतका दिनहरुमा म कत्ती मुर्ख बनें, प्रभुबाटको ताडना मैले कत्ती पाएँ पाएँ, परमेश्वरको हात म माथि भारी भएको थियो मलाई सुधार्नलाई, तर ममा पिडा, शोक र गनगन प्रशस्त थियो। मलाई लाग्छ त्यो बिश्वब्यापी कोरोना महामारी मेरो कठोर मनलाई सधाउनलाई र मेरो अवस्था ठिकपार्न पठाउनुभएको थियो। परमेश्वरले मलाई त्यो कठिन अवस्थाबाट स्वतन्त्र गराउनुभएको छ। ती दिनहरुमा शैतान मलाई हेर्दै खिसी गरेको महशुस गर्थें तर अहिले मलाई परमेश्वरले अंगालो हाल्नुभएको आभाष हुन्छ। अब मलाई कुनै बाहाना बनाउनु पर्दैन र गनगन गर्नु पर्दैन, जीवनमा जस्तो सुकै परिस्थिती आउन् प्रभुलाई धन्यबाद सहित हस् भन्न सिकेको छु।परमेश्वर मेरो पिता हुनुभएकोलेनै मैले उहाँबाट प्रेमको छडी पाएँ जुन त्यतीबेला कष्टदायक थियो तर अहिले मेरो प्रसस्त भलाई भएको छ।

धन्यबाद

तसर्थ म अत्यन्त धन्यबादी छु मेरो प्रभुप्रती उहाँले मेरो त्यो भयंकर खराब परिस्थितिमा त्याग्नुभएन तर सम्हाल्नुभयो र क्षमा गर्नुभयो। प्रभुमा हाम्रा अगुवा प्रदेश अंकल र प्रज्वलजी मेरो आदर्श हुनुहुन्छ, उहाँहरुप्रती धेरै धन्यबादी छु। नारायणघाटका सबै दाजुभाईहरु, जसले बिना स्वार्थ हरेक अवस्थामा मलाई साथ र सहयोग गर्नुभयो, उहाँहरु प्रति धन्यबादी छु। अनि सबै बिश्वासी जनहरु ज-जसले मलाई चिन्नुहुन्छ, मेरो लागि प्रार्थना गरिदिनुभयो, उहाँहरु प्रति धेरै धन्यबादी छु। साथै मेरो परिवार श्रीमती र छोरीहरु जसले मलाई बुझिदिएर सहयोगी भइदिइन् बोझ बनेनन्

सानो शन्देश

प्रिय बिश्वासी जनहरु हामी सबै शरिरमा छौं, तर ख्रीष्टद्वारा बचाइएर आत्मामा पनि छौं तसर्थ हाम्रो हरेक पाइलामा रोजाई आउँछन् र आउँछन् नै, तपाईंको रोजाइले तपाईं आफैलाई प्रकट गराउँछ की म प्रभुलाई कतिको प्रेम गर्छु भनेर तपाईंको निम्ति ख्रीष्टले क्रुसको मृत्यू सम्मै बिश्वासयोग्य हुनुभयो, तपाईं चाहीँ उहाँप्रति कत्तीको बिश्वासयोग्य हुनुहुन्छ?