परमेश्वरलाई कसले बनायो?

श्वी सम्बत् १९६९ साल, जुलाइ महिनाको २० तारिखको दिनको कुरा हो। विश्व इतिहासमै पहिलो पटक मानिस चन्द्रमाको सतहमाथि खुट्टा टेक्न सफल भयो। अपोलो ११ नामक अन्तरिक्ष यान चढेर पृथ्वीको सतहबाट ३८४,००० किलोमीटर यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेका दुईजना अमेरिकी नागरिक, नील आर्मस्ट्रङ्ग र एडवीन आल्ड्रीन, चन्द्रमाको सतहमाथि साँढे एक्काइस घण्टा बिताए। चन्द्रमाको सतहमाथि पहिलो पटक खुट्टा टेक्दै गर्दा अन्तरिक्ष यानका कमान्डर नील आर्मस्ट्रङ्गले बोलेका शब्दहरू पृथ्वीमा लाइभ प्रसारण गरिएको थियो — “One small step for man, a giant leap for mankind” अर्थात् “मानिसको एउटा सानो पाइला, मानव जातिको विशाल फड्को” —  यो वाक्य विश्व प्रसिद्ध छ।

तर त्यसको ७ महिना अगाडि चन्द्रमाको नजिक पुगेको अपोलो ८ नामक अर्को अन्तरिक्ष यानको कथा सायद तपाईंले सुन्नुभएको छैन होला। अपोलो ८ चन्द्रमालाई पहिलो पटक परिक्रमा गर्ने अन्तरिक्ष यान थियो र चन्द्रमाको सहतमाथि अपोलो ११ को सफल अवतरणको लागि यो ७ महिना अगाडि पठाइएको यानको महत्त्वपूर्ण भूमिका रहेको थियो। अब रोचक जानकारी के छ भने अन्तरिक्ष यानले चन्द्रमालाई परिक्रमा गर्ने क्रममा उक्त यानका तीनजना यात्रीहरूले बाइबलको उत्पत्तिको पुस्तकको पहिलो ८ ओटा पदहरू पाठ गरी पृथ्वीमा लाइभ प्रसारण गरेका थिए जसमध्ये पहिलो पदले यो घोषणा गर्दछ —

“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१)

यो नै बाइबलको पहिलो वाक्य हो।

तर हिजोआज कतिपय मानिसहरू आकाश र पृथ्वी परमेश्वरले बनाउनुभएको हो भन्ने कुरा मान्न चाहँदैनन्। अनि कसैकसैको एउटा यस्तो तर्क , “संसारलाई यदि ईश्वरले बनाएका हुन् भने हो भने ईश्वरलाई कसले बनायो?”

यो तर्क जायज सुनिन्छ। तर यसको सतहमुनि खोतल्दा प्रश्नको कमजोरी भेटिन्छ। एकछिन मसित विचार गर्नुहोस्। ईश्वरलाई सृष्टि गर्ने दोस्रो ईश्वर हुँदो हो , दोस्रो ईश्वरलाई सृष्टि गर्ने तेस्रो ईश्वर चाहिन्थ्यो। तेस्रोको चौथो, चौथोको पाँचौं, पाँचौंको छैटौं, एवं रीतिले त्यहाँ अनगिन्ति ईश्वरहरू चाहिने हुन्थ्यो। अनगिन्ति ईश्वरहरू भनेको असम्भव अर्थहीन अवधारणा हो।

तब “ईश्वरलाई कसले बनायो” भन्ने प्रश्नको कमजोरी हामी देख्न सक्छौं। कमजोरी यो हो कि आलोचकहरूले कल्पना गरेको ईश्वर, एक सृष्टि गरिएको ईश्वर हो जब कि बाइबलका परमेश्वर कहिल्यै सृष्टि गरिनुभएन। किनकि उहाँ अनन्त हुनुहुन्छ।

बाइबलमा परमेश्वरको अनन्तताको बयान यसरी गरिएको छ –

“पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ” (भजनसंग्रह ९०:२)।

यस पदअनुसार सृष्टिकर्ता परमेश्वर सधैंदेखि हुनुहुन्थ्यो। अझ, उहाँ समयको घेरा भन्दा बाहिर हुनुहुन्छउहाँअनादिदेखिहुनुहुन्छ, उहाँको शुरु छैन। उहाँअनन्तसम्महुनुहुन्छ, उहाँको अन्त छैन।

बाइबलको पहिलो वाक्यको पहिलो शब्द रहेको छ — “शुरुमा”। केको शुरुमा? परमेश्वरको शुरु होइन बरु समयको शुरु सृष्टिको शुरु। किनकि सृष्टिकर्ता परमेश्वर समयको शुरु भन्दा अगाडि हुनुहुन्थ्यो। यसरी बाइबलको पहिलो वाक्य, जो अपोलो ८ का अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै गर्दा पाठ गरेर पृथ्वीमा प्रसारण गरे, यो वाक्यद्वारा परमेश्वरले के प्रकट गर्नुभएको छ भने उहाँले नै आकाश, पृथ्वी र तिनमा भएका यावत थोकहरू र साथै समय समेत सृष्टि गर्नुभएको हो। उहाँ आफै भने अनादिदेखि हुनुहुन्छ।

तसर्थ, बाइबलको परिभाषाअनुसार परमेश्वर असृजित सृष्टिकर्ता हुनुहुन्छ। उहाँको स्वअस्तित्व अनादिदेखि रहेको उहाँलाई कसैले सृजना गर्नुपरेन। आकाशलाई हेर्दा यसको न शुरु देख्छौं न अन्त। परमेश्वर त्यस्तै हुनुहुन्छ। त्यसैलेपरमेश्वरलाई कसले बनायोभनेर सोध्नु कुनै बुढीकन्याको श्रीमानको नाम सोध्नु जस्तै हो। किनकि परिभाषाले नै बुढीकन्या एक अविवाहित स्त्री हुन्। अनि अविवाहित स्त्रीलाई उनको श्रीमानको नाम सोध्नुको औचित्य छैन। त्यस्तै गरी परमेश्वर असृजित सृष्टिकर्ता हुनुहुन्छ, त्यसैले उहाँलाई कसले बनायो भनेर सोध्नुको औचित्य छैन।

तर आजका नास्तिकहरू यो दाबी गर्छन् कि भौतिक संसारको अस्तित्वको पछाडि कुनै कारक हुनुपर्छ भन्ने छैन। तर यो दावी सत्य होइन किनभने

१) हरेक शुरु भएको वस्तुको कारक हुन्छ

२) यस संसारको एउटा शुरुआत थियो

३) तसर्थ यस संसारको पनि कारक थियो

पहिलो तथ्य यो हो कि हरेक शुरु भएका कुराहरूको कारक हुन्छ। घर छ भने त्यहाँ घर बनाउने पनि हुन्छ। फेरि नबिर्सनुहोस्, कि परमेश्वर यस वर्गमा पर्नुहुन्न। उहाँको सुरूआत थिएन त्यसैले उहाँको कारक छैन। तर बरु सृष्टिका यावत थोकका कारक उहाँ हुनुहुन्छ।

दोस्रो तथ्य यो हो कि यस संसारको एउटा सुरूआत थियो। अवलोकनद्वारा यो जान्न सकिने कुरा हो। जस्तै सूर्यको उर्जा घट्दै गइरहेको वैज्ञानिकहरूको ठहर छ। अमेरिकी सरकारको नासा (NASA) नाम गरेको अन्तरिक्ष अन्वेषण सम्बन्धी विज्ञान र प्रविधि शाखाका अनुसार सूर्यको आधा आयु सिद्धिसक्यो र आधा आयु बाँकी छ। यसको माने यो हो कि कुनै बेला सूर्यको शुरुआत भएको थियो। त्यसै गरी सम्पूर्ण भौतिक संसारको पनि एक समय शुरुआत भएको थियो।

तसर्थ, शुरु भएको हरेको कुराको कारक हुने भएकोले र यस संसार एक समयमा शुरु भएकोले, यस संसारको पनि कारक हुनुपर्छ।अनि यस संसारको कारक बाइबलकै परमेश्वर हुनुपर्छ जो शुरुआत बिनाको सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरलाई कसैले बनाएको होइन किनकि उहाँ स्वअस्तित्व हुनुभएको अनन्त परमेश्वर हुनुहुन्छ। यो कुरा उहाँको सृष्टिबाट नै प्रकट हुन्छ।

बाइबलले बताउँछ —

“किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँको अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् – सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

त्यसैले आकाश, पृथ्वी र सृष्टिका यावत थोकहरूलाई हेरेर मानिसले सृष्टिकर्ताको अस्त्वित्व जान्न सक्दछ। तसर्थ सृष्टिकर्ता परमेश्वरकै अस्तित्वलाई इन्कार गर्दै नास्तिक बन्न कसैलाई बहाना छैन।

Print Friendly, PDF & Email