यहूदा इस्करयोती

यहूदा इस्करयोती

 

आज हामी बाह्र चेलाहरूमध्ये बाह्रौं चेलाको बारेमा अध्ययन गर्नेछौं। बाह्र चेलाका प्रत्येक नामावलीमा कसको नाउँलाई पुछारमा राखिएको पाइन्छ (मत्ती १०:२-४; मर्कूस ३:१६-१९; र लूका ६:१४-१६)? ______________________। बाइबलले यस व्यक्तिको बारेमा थुप्रै कुरा बताएको छ। अन्य चेलाहरू (पत्रुस र यूहन्ना बाहेक) भन्दा यस चेलाको बारेमा हामीलाई बढी जानकारी दिइएको छ। उसको एउटा ठूलो अपराधको कारण ऊ इतिहासमै परिचित छ। उसको अपराध के थियो (मत्ती १०:४)? _____ _____________________________________

१. यहूदा इस्करयोती

“पत्रुस” नाउँ गरेको कुनै व्यक्ति तपाईं चिन्नुहुन्छ?_________। “यूहन्ना’ नाउँ गरेको कुनै व्यक्ति तपाईं चिन्नुहुन्छ?__________। “याकूब” नाउँ राखिएको कुनै व्यक्ति चिन्नुहुन्छ? __________। “शिमोन” नाउँ राखिएको कुनै व्यक्ति चिन्नुहुन्छ? __________।“यहूदा”नाउँ राखिएको कुनै व्यक्ति चिन्नुहुन्छ? __________। प्रायः बाबुआमाहरू आफ्ना छोराहरूलाई “यहूदा” नाउँ दिन चाहन्नन् किनकि उक्त नाउँले उनीहरूलाई यहूदा इस्करयोतीको र उसले गरेको ठूलो अपराधको सम्झना गराउँछ।

हुन त, “यहूदा” एउटा राम्रो नाउँ हो। उसका बाबुआमाले यहूदालाई एउटा अर्थपूर्ण नाम राखिदिएका थिए। पुरानो नियममा यहूदा याकूबका बाह्र छोराहरूमध्येका थिए (उत्पत्ति २९:३५)। “यहूदा” को अर्थ हो “उहाँ (परमेश्वर) को प्रशंसा होस्” (उत्पत्ति २९:३५ हेर्नुहोस्)। उसको ज्यादै राम्रो नाउँ थियो तर ऊ ज्यादै दुष्ट बन्न पुग्यो। यहूदाको जीवनलाई अध्ययन गर्ने क्रममा उसको कामचाहिँ नामजस्तो नभएको देख्नेछौं।

तपाईं नि? के तपाईंको नामसँग तपाईंको काम मिल्छ? के तपाईं “ख्रीष्टियन”नामले चिनिनुहुन्छ? के तपाईंको जीवन यस नाउँलाई सुहाउँदो छ? तपाईं एक ख्रीष्टियन हुनुहन्छ भनेर थाहा नपाउने व्यक्तिले तपाईंको बोली, व्यवहार देखेर के तपाईं एउटा ख्रीष्टियन हुनुपर्छ भनेर उसलाई लाग्नेछ होला? के तपाईंले आफूलाई “विश्वासी” भन्नुहुन्छ वा अरूहरूले तपाईंलाई विश्वासी भन्छन्? के तपाईंको जीवन यो नाउँलाई सुहाउँदो छ? के तपाईं एउटा विश्वासीको योग्य चालमा हिँड्ने, व्यवहार गर्ने गर्नुहुन्छ?

यहूदाको नाउँ परमेश्वरलाई प्रशंसा दिने नाउँ थियो तर उसको दुष्ट जीवनले त्यो नाउँ नै दूषित हुन गयो। उसको जीवनबाट परमेश्वरको प्रशंसा हुन सकेन।

“इस्करयोती” चाहिँ खासै नाम होइन। यहूदा कहाँको मान्छे थियो भनेर जनाउन उक्त उपनाम प्रयोग गरिएको हो। यसले यहूदा करियोथको बासिन्दा थियो भन्ने जनाउँछ, जुनचाहिँ यहूदाको एउटा सानो गाउँ (यहोशू १५:२५) थियो। सम्भवतः बाह्र चेलामध्ये यहूदियाको एउटै मात्रा बासिन्दा यहूदा थियो। सम्भवतः अरू सबैजना गालीलका (मर्कूस १४:७०) थिए। बाइबलको पछाडिपट्टि नयाँ नियमको समयको प्यालेस्टाइनको नक्सा हेर्नुहोस्।

२. विश्वासघाती

यहूदालाई “वि____________” (लूका ६:१६) को संज्ञा दिइएको छ। आफ्नो राष्ट्र, शासक, साथी वा मालिकलाई धोका दिने व्यक्तिलाई विश्वासघाती भनिन्छ। यहूदा ख्रीष्टको एक मित्र र चेलाको रूपमा चेलाहरूको समूहमा आवद्ध भएको थियो तर ऊ वास्तवमा शत्रु थियो। परमेश्वरको पक्षमा काम गर्नुको सट्टा उसले कसको पक्षमा काम गर्दै थियो (यूहन्ना १३:२,२७)? ____________ __________। यहूदाको बयान गरिएको पद यूहन्ना १३:१८ पढ्नुहोस्। यहूदाले ख्रीष्टसित साथीजस्तै भएर सँगै बसेर खाना खाएको थियो तर के ऊ सच्चा मित्र थियो? ऊ ख्रीष्टको पक्षमा थियो कि ख्रीष्टको विपक्षमा (यूहन्ना १३:१८)? ____________

तपाईंको शत्रु, शत्रुकै भेषभूषामा आफ्ना सङ्गी‍-सिपाहीहरूसित सँगै बसिरहेका छन् भने त्यो एउटा कुरा हो। तर ऊ तपाईंकै विश्वासी सिपाहीहरूसित, उनीहरूको जस्तै भेषमा, तपाईंको पक्षमा भएजस्तै गरी उसले आफूलाई मित्र जस्तै देखाउँछ भने त्योचाहिँ अर्कै कुरा हो। त्यो डरलाग्दो विश्वासघाती हो! येशूका ११ विश्वासयोग्य चेलाहरू थिए जसका बारेमा हामीले अध्ययन गरिसक्यौं। उनीहरू कहिलेकाहीँ चुक्न पुग्थे (पत्रुस, थोमा जस्तै) तर उनीहरूले प्रभुलाई कहिल्यै विश्वासघात गरेनन्। कहिलेकाहीँ उनीहरू कच्चा सिपाही थिए तर तिनीहरू कहिल्यै शत्रुको पक्षमा गएनन्। यहूदाले चाहिँ त्यसो गर्‍यो।

आफू कसको पक्षमा जाने, हरेकले निर्णय गर्नुपर्छ! एकपटक येशूले भन्नुभयो, “जो म _______ छैन, त्यो मेरो ________ मा छ” (मत्ती १२:३०)। एउटा व्यक्ति कि त ख्रीष्टसँग हुन्छ कि त ख्रीष्टको विरोधमा हुन्छ। तपाईं उहाँको पक्षमा हुनुहुन्छ कि उहाँको विरोधमा? टतस्थ बस्न सकिन्न। पर्खालबीच बस्न सकिन्न। आधा शैतानको, आधा परमेश्वरको बन्न सकिन्न।

३. धोकेबाज

धोका दिनुको अर्थ हो, “हस्तान्तरण गर्नु, सुम्पिदिनु, पक्राइदिनु”। यहूदा एक धोकेबाज थियो जसले प्रभु येशूलाई उहाँलाई गिरफ्तार गर्न आएका एक ठूलो समूहको हातमा सुम्पिदियो (मत्ती २:४७-५६)। यहूदाले प्रभुलाई कसरी धोका दियो (मत्ती २६:४८,४९)?

  1. प्रभुलाई मुखैमा थप्पड लगाएर
  2. प्रभुलाई मुखैमा थुकेर
  3. प्रभुलाई औंला ठडाएर
  4. प्रभुलाई चुम्बन गरेर

यहूदा, गुलाफको बोटबाट निस्केको बिषालु सर्प जस्तै थियो। उसले मानिसको पुत्रलाई आफ्नो धोकापूर्ण चुम्बनले डस्ने काम गर्‍यो। उसले प्रभुलाई घृणापूर्ण हृदयबाट “प्रेम” को चुम्बनले चुम्बन गर्‍यो। त्यो सब हेर्न हामी त्यहाँ भएको भए हामीले यहूदालाई येशूको मित्र ठान्नेथियौं। उसका बाहिरी कार्यकलापहरू एउटा मित्रको जस्तो देखिन्थ्यो। मानिसहरू आफ्ना शत्रुहरूलाई प्राय: चुम्बन गर्दैनन्!

यहूदा अभिनय गर्न सिपालु थिए। उसको मुकुण्डो प्रभावकारी थियो। ऊ जालझेल गर्न सिपालु थियो। अरूले थाहा नपाओस् भन्ने हेतुले भित्री कुरा लुकाउन उसले जानेको थियो। उसले “वास्तविक यहूदा” लाई नदेखाउने प्रयास गर्‍यो। मुकुण्डो मुनिको वास्तविक यहूदालाई देख्‍न सक्ने त्यहाँ कोही थियो होला?

केही समय अगाडि ऊ साँझपख अरू चेलाहरू र येशूसँगै खानलाई बसेको थियो। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये ____________ ले मलाई ___________” (मत्ती २६:२१)। यो कुरा येशूले यहूदाको बारेमा भन्नुभएको हुनुपर्छ भनेर अन्य चेलाहरूलाई लागेको थियो र? के उनीहरूले “यो त प्रभुले दुष्ट यहूदाकै बारेमा कुरा गर्नुभएको हुनुपर्छ” भनेर भने (मत्ती २६:२२)?____________। के यहूदा उनीहरूलाई झुक्क्याउन सफल भएका थिए? _______। के उनीहरूले मुकुण्डोमुनिको “वास्तविक यहूदा” लाई देख्‍न सकेका थिए? ___________

मत्ती २६:२१ मा येशूले भन्नुभएको कुराको पछाडि एउटा कारण थियो। उहाँले यहूदालाई आफ्नो मुकुण्डो फुकाल्न मौका दिँदैहुनुहुन्थ्यो। तिमीहरूमध्ये एकजनाले मलाई धोका दिन लागिरहेका छौ। जसको कुरा म गर्दैछु उसलाई यो थाहा छ। यहूदा, तिमीले आफूलाई प्रकट गर!”

यहूदाले के गर्नुपर्थ्यो? उसले के भन्नुपर्थ्यो? यहूदा तुरुन्तै आफ्नो खुट्टामा उभिएर यसो भन्नुपर्नेथ्यो:

“प्रभु, त्यो मान्छे मै हुँ। तपाईंलाई धोका दिन षड्यन्त्र रच्ने र तपाईंलाई शत्रुको हातमा बेच्न खोज्ने व्यक्ति मै हुँ। म दोषी छु। प्रभु, म धोकेबाजमाथि दया गर्नुहोस्। मेरो पाप क्षमा गर्नुहोस्, मेरो प्राण बचाउनुहोस् अनि म तपाईंको सेवा गर्न र तपाईंलाई साँच्ची नै प्रेम गर्न सकूँ।”

के यहूदाले गरेको र भनेको कुरा यही थियो त (मत्ती २६:२५)?____________। उसले आफ्नो मुकुण्डो फुकाल्न इन्कार गर्‍यो। उसले “वास्तविक यहूदा” लाई प्रकट गरेन। मत्ती २६:२५ मा यहूदाले भन्यो, “पक्कै पनि त्यो त म होइन नि, हो र गुरुज्यू?” येशूले “होइन, यहूदा तिमी होइन!” भन्ने जवाफ दिनुहुनेछ जस्तै गरी उसले ढाकछोप गर्ने प्रयास गर्दै थियो। यहूदाको बोलीमा पूरा छलकपट थियो। त्यो व्यक्ति वास्तवमा म नै हुँ भनेर के यहूदालाई थाहा थियो (मत्ती २६:१४-१६)? ____________

यो नबिर्सौं, हामीले अरूलाई छल्न सकौंला तर परमेश्वरलाई कहिल्यै छल्न सकिन्न। उहाँका आँखाले मुकुण्डोको पछाडि देख्‍न सक्नुहुन्छ, हृदयभित्र नै देख्‍न सक्नुहुन्छ। तसर्थ, देखावटी कहिल्यै नबन्नुहोस्।

४. चुनिएको व्यक्ति

येशूले कतिजना चेलाहरूलाई चुन्नुभएको थियो (लूका ६:१३)?________। उनीलाई चुन्नुभन्दा अघिको रात येशूले कसरी बिताउनुभयो (लूका ६:१२)?______________। के यहूदा चुनिएकाहरूमध्ये एक थिए (लूका ६:१६)? ____________

बाह्रजनाको विशेष समूहभित्र हुनलाई यहूदा इस्करयोतीलाई किन चुनियो? के यसमा प्रभुले गल्ती गर्नुभएको थियो? के उहाँले गलत व्यक्तिलाई चुन्ने काम गर्नुभएको थियो? के प्रभुलाई यो मान्छे वास्तवमा कस्तो मान्छे हो भनेर थाहा थिएन? एक दिन उसले के गर्नेछ भनेर के उहाँलाई थाहा थिएन?

के येशूले शुरूदेखि नै यहूदाको बारेमा सबै कुरा जान्नुभएको थियो (यूहन्ना ६:६४)?_________। के येशूले जानाजानी यहूदालाई चुन्नुभएको थियो (यूहन्ना ६:७०)? ___________। आफू गर्दैछु भनेर प्रभुले राम्ररी जान्नुहुन्थ्यो। त्यहाँ कुनै गल्ती वा त्रुटी भएको थिएन। बरू यस व्यक्तिबाट हामीले केही पाठहरू सिकोस् भन्ने परमेश्वरको इच्छा हो। यहूदाको दु:खमय जीवनबाट हामीले महत्त्वपूर्ण पाठहरू सिक्नुपर्छ।

के परमेश्वरले शुरूदेखि नै तपाईंको बारेमा सबै कुरा जान्नुहुन्छ (यूहन्ना ६:६४)? __________। आजको १० वर्षपछि तपाईं कस्तो हुनुहुनेछ भनी के परमेश्वर जान्नुहुन्छ? ५० वर्षपछि? तपाईंको बारेमा जे जति जान्न सकिन्छ उहाँ पूरै जान्नुहुन्छ।

५. अशुद्ध चेला

येशूले आफ्ना बाह्र चेलाहरूलाई एकपटक भन्नुभयो, तिमीहरू शुद्ध छौ, तर सबै ता होइन” (यूहन्ना १३:१०) अशुद्ध चेला को थियो (यूहन्ना १३:११)?___________________________

के यसको अर्थ यहूदा कहिले नुहाएका थिएनन् भन्ने हो र? होइन, जहाँसम्म हामीलाई थाहा छ, बाहिरी सरसफाइमा यहूदाको कुनै समस्या थिएन। येशू सफा छालाको कुरा गर्दै हुनुहुन्नथ्यो, तर सफा हृदयको (तुलना गर्नुहोस्, यूहन्ना १५:३)। उहाँ शुद्ध पारिएको, क्षमा पाएको हृदयको कुरा गर्दै हुनुहुन्नथ्यो।

बाहिरी लवाइखवाइमा यहूदा सफा नै देखिन्थ्यो। उसको खानपान, उसको सङ्गत राम्रै थियो। ऊ बाइबल पढ्थ्यो। ऊ खाना खानु अगाडि शायद प्रार्थना गर्थ्यो। बाहिरबाट हेर्दा उसले थुप्रै असल, शुद्ध काम गर्थ्यो तर उसको हृदय भने फोहर थियो! यहूदा मुक्ति नपाएको मान्छे थियो।

येशूले “तिमीहरू सबै शुद्ध छैनौं” (यूहन्ना १३:१०) भन्नुहुँदा, यहूदाले आफ्नो मुकुण्डोलाई च्यातेर यसो भन्नुपर्थ्यो:

“प्रभु, त्यो मान्छे म नै हुँ! म अशुद्ध छु! मेरो हृदय तपाईंसित ठीक छैन, प्रभु। मलाई बचाउनुहोस्, क्षमा गर्नुहोस् अनि म भित्रदेखि शुद्ध हुन पाऊँ! म देखावटी बनिरहन चाहन्न।”

तर यहूदाले आफ्नो मुकुण्डो फुकाल्न इन्कार गर्‍यो।

६. बाह्रमध्ये एक

सुसमाचारका पुस्तकहरूमा यहूदालाई सातपटक “___________ मध्ये एक” भनी उल्लेख (मत्ती २६:१४,४७; मर्कूस १४:१०,२०,४३; लूका २२:४७; यूहन्ना ६:७१) गरिएको छ। यसले हामीलाई सम्झना गराउँछ — उसले कति ठूलो अवसर पाएको थियो। ऊ येशूसँग विशेष किसिमले बस्न पाएका चेलाहरूको विशेष समूहमा पर्थ्यो। यहूदा र अरू चेलाहरू जत्तिकै येशूको नजिक अरू कोही हुन पाएनन्। उसले प्रभुसँगै यात्रामा हिँड्न पायो, उहाँसँगै बसेर खाना खान पायो, उहाँसित बसेर कुराकानी गर्न पायो, उहाँले प्रचार गरेको सुन्न पायो, अनि मुक्तिदाताकै मुखबाट मुक्तिको बाटोको बारेमा घरिघरि सुन्न पायो। उसले ख्रीष्टका सबै आश्चर्यकर्महरू देख्न पायो अनि सम्भवतः ऊ आफैले पनि आश्चर्यकर्महरू गर्योा (मत्ती १०:१,४,५-८ पढ्नुहोस्)। मान्छेलाई योभन्दा ठूलो अवसर के हुन सक्छ र? धन्य यो मानिस। तर येशूले त्यसो भन्नुभएन – मत्ती २६:२४। यहूदा धन्यको ठहरिएन, ऊ श्रापित ठहरियो!

शुभ अवसरहरू र सौभाग्यहरूको भागीदार बन्न पाउनु सुन्दर कुरा हो तर यी कुराहरूको सदुपयोग नगर्नु चाहिँ खराब कुरा हो। तपाईं नि? तपाईंलाई बाइबलका सत्यताहरू सिकाउने तपाईंका बाबुआमा छन् कि? के तपाईंसित बाइबल छ? तपाईंसित बाइबल सिकाउने असल मण्डली छ कि? मुक्तिको बाटो सिकाउने तपाईंको शिक्षक र पाष्टर हुनुहुन्छ कि? तपाईंले यी सब मौकाहरू पाएर के गर्दै हुनुहुन्छ? के तपाईंले ती सबैबाट लाभ उठाउँदै हुनुहुन्छ? के तपाईंले ती सबै कुराहरूलाई कुनै महत्त्व नभएको चीजलाई जस्तै लत्याउँदै हुनुहुन्छ? परमेश्वरले तपाईंको निम्ति र तपाईंको जीवनमा गर्नुभएका सबै कुरालाई इन्कार गर्नुहुन्छ भने — तपाईंलाई हाय!

७. एक शैतान

यूहन्ना ६:७० मा यहूदाको बयान गर्नलाई येशूले निक्कै कडा शब्द प्रयोग गर्नुभएको छ। उहाँले भन्नुभयो “के मैले तिमीहरू ___________ लाई चुनिनँ र? तर तिमीहरू मध्ये _______ जना ________ हो।” उहाँका बाह्रजना चेलामध्ये एकजना चाहिँ शैतानपट्टि थियो। तिनीहरूमध्ये एकजना चाहिँ शैतानकै मान्छे थियो। एक दिन उसभित्र शैतान आफैं पस्नेवाला थियो जसको प्रेरणामा उसले आफ्नै मालिकलाई धोका दिई ठूलो अपराध गर्नेवाला थियो (यूहन्ना १३:२,२७)।

कोही पनि तटस्थ रहन सक्दैन। जो परमेश्वरपट्टि छैन त्यो शैतानपट्टि छ। यहूदाले ख्रीष्टको सेवकको भेष धारण गरेको थियो तर वास्तवमा ऊ शैतानको सेवक थियो।

आज शैतानपट्टिकाहरू कहाँ भेटिन्छन्? के चर्च सभामा जाने व्यक्ति शैतानपट्टिको हुन सक्छ? के बाइबल पढ्ने, भजन गाउने, प्रार्थना गर्ने व्यक्ति शैतानपट्टिको हुन सक्छ? अरूहरूलाई मुक्तिदाताको विषयमा बताउने व्यक्ति भएर, अर्थात् उहाँले पापीहरूलाई कसरी बचाउन सक्नुहुन्छ भनेर बताउने व्यक्ति भएर पनि एउटा व्यक्ति शैतानपट्टिको हुन सक्छ (याद गर्नुहोस्, यहूदा आफैं पनि प्रचारक थियो (हेर्नुहोस् मत्ती १०:५-७)? प्रभुका कुराहरू (बाइबल, मण्डली, ख्रीष्टियान बाबुआमा आदि) कै घेराभित्र रहेर पनि एक व्यक्ति सदाको निम्ति नष्ट हुन सम्भव छ? यहूदाबाट पाठ सिकौं। हाम्रो विश्वास देखावटी मात्र नहोस्, साँचो विश्वास (येशू ख्रीष्टसित साँचो र वास्तविक सम्बन्ध भएको) होस्।

८. चोर

एक दिन मरियमले ज्यादै किम्मती सुगन्धित तेललाई प्रभु येशूको शिरमा खन्याइदिएकी थिइन् (यूहन्ना १२:१-३)। मरियमले प्रभु येशूलाई आफ्नो प्रेम यसरी प्रकट गर्दा के यहूदालाई खुशी लागेको थियो (यूहन्ना १२:४-५)? ___________। आफू असल देखिनलाई यहूदाले कुनचाहिँ मुकुण्डो लगायो (यूहन्ना १२:४-५)?__________ ________________________________________। मुकुण्डो मुनि केको घीनलाग्दो फोहर थियो (यूहन्ना १२:६)? _______________________________। यहूदा चेलाहरूको “खजान्ची” थियो। पैसाको जिम्मा उसलाई सुम्पिएको हुनाले उसलाई चेलाहरूले विश्वासै गर्थे भन्ने बुझिन्छ। यहूदा विश्वासघाती मात्र नभएर ________ (यूहन्ना १२:६) पनि थियो।

यहूदा चोर हो, उसलाई गरिबहरूको वास्तवमा वास्ता छैन भन्ने कुरा के अरू चेलाहरूलाई थाहा थियो?_________। के त्यो कुरा येशूलाई थाहा थियो?_________। के तपाईं पैसाको मामलामा इमान्दार हुनुहुन्छ? के तपाईंले अर्काको पैसा, रुपैँया लिनुभएको छ? नबिर्सनुहोस्, तपाईंलाई कसैले नभेट्टाउला, कसैले थाहा नपाउला, तपाईंले सबैलाई छल्न सक्नुहोला तरैपनि स्वर्गमा परमेश्वर हुनुहुन्छ जसले सबै कुरा देख्नुहुन्छ र सबै कुरा जान्नुहुन्छ। मुकुण्डोको पछाडि चोर लुकिराखेको छ कि छैन भन्ने कुरा उहाँले जान्नुहुन्छ!

९. साथी

यहूदाले प्रभु येशूलाई धोका दिनेबेलामा उहाँले सर्वप्रथम कुनचाहिँ शब्द उच्चारण गर्नुभयो (मत्ती २६:५०)?_________। हामी प्रभुको ठाउँमा भइदिएको भए हामीले रिसाउँदै यसरी कराउनेथियौं होला: “ए दुष्ट शत्रु! काम नलाग्ने धोकेबाज! अनन्तको लागि नरक जा।”

येशूले त्यस्तो केही भन्नुभएन। यहूदालाई आफ्नो नजिक आउन दिनुभयो, चुम्बन गर्न दिनुभयो,”र उसलाई “साथी”भनेर सम्बोधन गर्नुभयो। यहूदाले परमेश्वरलाई कत्ति पनि प्रेम गर्दैनथ्यो तर परमेश्वरले यहूदालाई प्रेम गर्नुहुन्थ्यो। प्रभुले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुभयो, यहूदालाई समेत। उहाँले खराबीको बदला भलाई गर्नुभयो (रोमी १२:१९-२१)। यहूदालाई भने प्रभुको “साथी” भन्ने शब्दले जत्तिकै शायद अन्य कुनै कुराले त्यति साह्रो कायल पारेन होला।

तपाईंले मुक्ति पाउनुभएको छैन भने किन पाउनुभएको छैन? यो त परमेश्वरले तपाईंलाई नचाहनुभएको कारणले हुन सक्दैन, तर तपाईंले नै परमेश्वरलाई नचाहनुभएको कारणले हुनुपर्छ (यूहन्ना ५:४०)। यहूदाले कहिल्यै यसरी भन्न पाउनेछैन, “येशूले मलाई कहिल्यै प्रेम गर्नुभएन, उहाँले मलाई कहिल्यै चाहनुभएन; मुक्ति पाउने, पापहरूको क्षमा पाउने मौका मैले कहिल्यै पाइनँ।” यहूदालाई सबैलाई जस्तै मौका थियो तर उसले सबै मौकाहरूलाई एक-एक गरी लत्यायो। त्यस कपटपूर्ण चुम्बनपश्चात् यहूदा सदाका लागि प्रभु येशूबाट अलग भए। परमेश्वरले दिनुभएको मौकाहरूलाई तपाईं के गर्दै हुनुहुन्छ?

यूहन्ना १८:३-६ पढ्नुहोस्। यी सबै मानिसहरू भुइँमा पछारिँदा उनीहरूको साथमा को सँगै पछारियो (पद ५)?___________। यहूदा प्रभुका शत्रुहरूसँग उभिरहेको थियो। आखिरमा धोकेबाज को रहेछ भनेर अब सबैले देख्न सक्थे। उसले मुकुण्डो खोलेर आफूलाई बल्ल देखायो र वास्तविक यहूदा प्रकट भयो।

आजको ५ वा १० वर्षपछि तपाईं कहाँ हुनुहुनेछ? के तपाईं परमेश्वरकै जनहरूपट्टि हुनुहुनेछ कि प्रभुका शत्रुहरूपट्टि? तपाईं कस्ता व्यक्तिहरूसँग आवद्ध हुन चाहनुहुनेछ? के तपाईं त्यतिबेला परमेश्वरका जनहरूसित एक बाइबलीय मण्डलीमा सङ्गती गर्दै आवद्ध रहनुहुनेछ कि तपाईं ख्रीष्टका शत्रुहरूपट्टि हुनुहुनेछ? हाम्रा कस्ता मित्रहरू भएको परमेश्वर चाहनुहुन्छ (भजनसङ्ग्रह ११९:६३)? _________________________________

१०. विनाशको पुत्र

मानिसहरूमध्ये सबैभन्दा दयनीय यहूदालाई नै मान्नुपर्छ! येशूले एक पटक भन्नुभयो, “हाय त्यस मान्छेलाई……त्यो मान्छे ________________ भए त्यसका लागि असल हुनेथ्यो” (मत्ती २६:२४)! यूहन्ना १७:१२ मा यहूदालाई “___________ को ___________” भनी जनाइएको छ। बाइबलमा अर्को एउटै मात्र व्यक्तिलाई यस उपनामले जनाइएको छ। त्यो व्यक्ति को हो (२ थेस्सलोनिकी २:३-४)? ____________________। “विनाश” भन्ने शब्दलाई विचार गर्दा “नष्ट”भन्ने शब्दलाई सम्झनुपर्छ (यूहन्ना ३:१६ र १ कोरिन्थी १:१८ पढ्नुहोस्)। यसको माने यहूदा सधैंका लागि नष्ट हुनेछ। ऊ अनन्त-अनन्तसम्म पूरै नाश हुनेछ!यहूदालाई बयान गर्ने एउटै शब्द यही हो — विनाश!

यदि तपाईंले येशू ख्रीष्टमा विश्वास गर्नुभएको छ भने, के तपाईंले आफू हराउँला वा नष्ट हुँला भनेर फिक्री गर्नु आवश्यक छ (यूहन्ना ६:३९; १०:२८; १७:१२)? ___________। उहाँकहाँ आउनेहरूलाई परमेश्वरले सुरक्षित राख्न सक्नुहुन्छ। यहूदाले आफ्नो मुक्ति हराएको होइन कि उसले मुक्ति नै पाएको थिएन। आफूसँग हुँदै नभएको कुरालाई हराउने कुरा आउँदैन।

यहूदाको जीवनको अन्त दयनिय थियो (मत्ती २७:३-५, प्रेरित १:१८)। एकातिर उसको पार्थिव अस्तित्वको अन्त भयो भने अर्कोतिर उसको परमेश्वरबिनाको अनन्तताको आरम्भ भयो। यहूदाको जीवन हामी सबैका लागि कडा चेताउनी होस्। राम्रो मुकुण्डो लाएर स्वर्ग पुगिन्न। शुद्ध हृदयले मात्र स्वर्ग पुगिन्छ अनि केवल येशू ख्रीष्टले मात्र शुद्ध हृदय दिन सक्नुहुन्छ। तपाईंको हृदयलाई धोइन, क्षमा गरिन खाँचो छ कि?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email