अल्फयसका छोरा याकूब र थद्देयस

अल्फयसका छोरा याकूब र थद्देयस

 

(अल्पज्ञात चेलाहरू)

यस पाठमा हामी प्रभुका अरू दुई चेलाहरूको बारेमा विचार गर्नेछौँ। यी दुईजनाको बारेमा हामीलाई थोरै मात्र ज्ञान छ। उनीहरूका नाउँहरू बाह्रचेलाको सूचीमा उल्लेख गरिएको छ तर यस बाहेक बाइबलमा अरू कुनै कुरो बताइएको छैन। परमेश्वरलाई यी दुई चेलाका बारेमा धेरै नबताउनु नै असल लाग्यो। हामी उनीहरूलाई उनीहरूका नाउँहरूद्धारा चिन्दछौँ तर त्यसबाहेक हामीलाई खासै केही थाहा छैन। आउनुहोस्, हाम्रा बाइबल पल्टाऔँ अनि याकूब र थद्देयसका बारेमा थोरै जे जान्न सकिन्छ त्यो पत्ता लगाऔं।

अल्फयसका छोरा याकूब

यस चेलाको नाउँ चारओटै सूचीमा पाइन्छ (मत्ती १०:३; मर्कूस ३:१८; लूका ६:१५ र प्रेरित १:१३)। यी पदहरूका अनुसार उनको बाबुको नाउँ के थियो? ____________। अर्को कुन व्यक्तिको बाबुको नाउँ पनि यही नै थियो (मर्कूस २:१४)? ____________ (जसको अर्को नाउँ ____________ थियो; पाठ ७ मा हेर्नुहोस्)।

याकूबका अल्फयस नाउँ गरेका बाबु थिए साथै मत्ती (लेवी) का पनि अल्फयस नाउँ गरेका बाबु थिए। एउटा सम्भावना अनुसार याकूब र मत्ती दाजुभाइ (एउटै बाबुका छोराहरू) थिए। अर्को सम्भावना अनुसार अल्फयस नाउँ गरेका त्यहाँ दुई बेग्लाबेग्लै व्यक्तिहरू थिए। बाह्र चेलाहरूमध्ये कम्तीमा दुई जोडी दाजुभाइ थिए भन्ने हामीलाई थाहा छ (मत्ती १०:२ पढ्नुहोस्): शिमोन पत्रुस र ____________ याकूब र ____________। तर मत्ती र याकूब दाजुभाइ थिए भनी बाइबलले कतै बताएको छैन।

नयाँ नियमको समयमा याकूब एउटा प्रचलित नाउँ थियो। अल्फयसका छोरा याकूब र यही नाम बोकेका नयाँ नियमका अन्य व्यक्तिहरूका बीच अलमल नहोस्:

  1. अल्फयसका छोरा याकूब र जब्दीका छोरा याकूबका बीच अलमल नहोस् जो यूहन्नाका दाजु थिए (मत्ती १०:२)। यी दुवैको एउटै नाम थियो र दुवै नै प्रभु येशूका चेलाहरू थिए तर यी दुई बेग्लाबेग्लै व्यक्तिहरू थिए। उनीहरू एउटै व्यक्ति थिएनन्। के तपाईं पढ्ने स्कूलमा वा बाइबल क्लासमा एउटै नाम भएका दुई व्यक्तिहरू छन्? त्यसो हुँदा जे कहिलेकाहिँ त्यहाँ अलमल हुने गर्छ?
  2. अल्फयसका छोरा याकूब र प्रभुको भाइ याकूबका बीच अलमल नहोस् (गलाती १:१९ र मत्ती १३:५५ पढ्नुहोस्; यिनैले याकूबका पत्र लेखेका हुन्)। प्रभुका भाइ याकूबलाई नयाँ नियमका पन्नाहरूमा घरिघरि उल्लेख गरिएको छ। यस व्यक्तिलाई हामी यस अध्ययन मालाको अध्याय ११ मा हेर्नेछौं।

(साथै अध्याय ३ पनि हेर्नुहोस् जहाँ याकूब नाम भएका विभिन्न व्यक्तिहरूको चर्चा गरिएको छ)

मर्कूस १५:४० मा “____________ याकूब” (मत्ती २७:५६ मा पनि पढ्नुहोस्) भन्ने व्यक्तिको उल्लेख छ। सम्भवतः अल्फयसका छोरा याकूब र सानो याकूब एउटै व्यक्ति थिए। सायद अल्फयसका छोरा याकूबलाई जब्दीका छोरा याकूबबाट छुट्टयाउनलाई उसलाई यसरी जनाइएको हो। उनी जब्दीका छोराभन्दा कम उमेरका अथवा कम कदका भएर उनलाई सानो याकूब भनिएको हुन सक्छ। तर यी हाम्रा अनुमान मात्र हुन्। बाइबलले हामीलाई प्रस्टै बताउँदैन। बाइबलले कुनै कुरो बताउँछ भने हामी त्यसमा पक्का हुन सक्छौं। यदि बाइबलले कुनै कुरा बताएको छैन भने हामीले त्यसबारे कुनै कुरा व्यक्त गर्न र कुनै निष्कर्षमा पुग्न होशियार हुनुपर्छ।

यदि सानो याकूब र अल्फयसका छोरा याकूब एउटै व्यक्ति हुन् भने याकूबका आमा को थिए (मर्कूस १५:४०)? ____________।

बाइबलले हामीलाई अल्फयसका छोरा याकूबको बारेमा थप कुनै कुरा बताएको छैन। उनले गरेका कामहरू वा भनेका कुराहरू को कुनै उल्लेख गरेको छैन। हामीलाई यति थाहा छ, उनी बाह्रमध्ये एक थिए”।

थद्देयस

मर्कूस ३:१८ मा थद्देयस नाम गरेको चेलाको उल्लेख छ। मत्ती १०:३ अनुसार यस चेलाको अर्को नाम के थियो? ____________। मत्तीको यस पदअनुसार थद्देयस उनको उपनाम थियो। कतिको विचारमा थद्देयस नामको अर्थ छाती नजिकको वा “प्रिय” हो भन्ने छ। अरूको विचारमा यसको अर्थ “साहसी, सिंहको हृदय भएको” हो भन्ने छ।

चेलाहरूका अरू दुई सुची (लूका ६:१४-१६ र प्रेरित १:१३) मा थद्देयसलाई भेट्टाउन हामीले नियालेर हेर्नुपर्ने हुन्छ! लूका ६:१४-१६ वा प्रेरित १:१३ मा थद्देयस भटिन्छ कि लेब्बेयस? _________। उनी बाह्रमध्ये एक भएकाले ती सूचीहरूमा उनलाई अर्कै नामले जनाइएको हुनुपर्छ।

  1. यसअघि अध्ययन गरिएका चेलाहरूलाई छाडी बाँकी नाउँहरूमध्येमा हेर्नुहोस्।
  2. लूका ६:१४-१६ मा विश्वासघाती यहूदा इस्करयोतीको नाउँलाई हटाउनुहोस्। पक्कै पनि प्रभुलाई धोका दिने चेला थद्देयस थिएनन्।
  3. अब बाँकी रहेको एउटै नाम कुन हो? _______________________

यसैकारण थद्देयसले “तीनओटा नाम भएका चेला” भन्ने नाउँ कमाएका छन्! लूका ६:१४-१६ र प्रेरित १:१३ मा उनलाई याकूबका भाइ ____________ भनी जनाइएको छ। तर उनी याकूबका छोरा थिए वा भाइ, त्यो निश्चित छैन। किनकि ग्रीकमा “याकूबका भाइ” नभनीकन केवल “याकूबका” भनिएको छ। हामीलाई यति थाहा छ, यहूदा कुनै न कुनै हिसाबमा याकूबसित नाता गाँसिएका थिए। कि त उनी याकूबका भाइ थिए कि त उनका छोरा। लूका ६:१५ मा पनि उस्तै वाक्यांश पाउँछौं:

पद १५ “अल्फयसका याकूब”
पद १६ “याकूबका यहूदा

(साथै लूका ३:२३ देखि शुरू हुने वंशावलीमा पनि हेर्नुहोस्)। सम्भवतः यी पदहरूले याकूब अल्फयसका छोरा हुन् अनि यहूदा याकूबका छोरा हुन् भन्ने कुरा बताउँदैछन्। याकूब उनका पिता थिए। यदि यो सही हो भने यिनी नयाँ नियमको अझ अर्को “याकूब” हुने भए!

१२ चेलामध्ये तीन जोडि चेलाका नाम उही थिए। लूका ६:१४-१६ को सूचीलाई हेर्नुहोस्। दुइटा याकूब भेट्टाउन सक्नुहुन्छ? दुइटा शिमोन भेट्टाउन सक्नुहुन्छ? दुइटा यहूदा?

थद्देयस/लेब्बेयस/यहूदा को नयाँ नियममा अर्को एक पटक मात्र उल्लेख छ — यूहन्ना १४:२२ मा। यहाँ “इस्करयोती होइन” भनेर जनाउन किन आवश्यक पर्‍यो? ____________________________ ______________________________________। येशूले आफूलाई संसारकहाँ किन प्रकट गर्नुहुन्न भन्ने कुरा यहूदाले बुझेनन् (यूहन्ना ७:३-४ पढ्नुहोस्)। यहूदाले कतिपय कुराहरू बुझेका थिएनन्, तर नबुझेको कुरा कसलाई सोध्नुपर्छ भनी उनले जानेका थिए।

याकूब र थद्देयस

यी दुर्इ मानिसका बारेमा बाइबलले बताएका जम्मै कुरा हामीले हेरिसक्यौं। यी दुई “अल्पज्ञात” चेलाहरूमध्ये थिए। उनीहरू चेलाहरूका बीच पत्रुस जस्ता अगुवा थिएनन्। अथवा यूहन्ना जस्तै विशिष्ट खालका थिएनन्। शायद उनीहरू बोल्नलाई ढिला वा प्रायः चुपचाप नै रहने खालका थिए। चारैओटै सुसमाचारका पुस्तकहरू यी दुईका बारेमा झण्डै चुपचाप छन्!

वास्तवमा भन्ने हो भने, प्रायः सबै नै “अल्पज्ञात चेलाहरू” थिए। पत्रुस र यूहन्नाको बारेमा हामीलाई धेरै थाहा छ तर उनीहरूको दाँजोमा हामीलाई अन्द्रियास र याकूबको बारेमा थोरै नै मात्र थाहा छ। फिलिपको नाउँ केवल दुई-चार ठाउँमा उल्लेख छ। बार्थोलोमाइ (नथनएल) र थोमाको बारेमा यूहन्नामा एक-दुइटा कुरा नबताइएका भए हामीलाई उनीहरूको बारेमा केही थाहा हुने थिएन। ख्रीष्टले उनलाई बोलाउनुभएको दिनको बारेमा बाहेक हामीलाई मत्तीको बारेमा अरू केही थाहा छैन। शिमोन एक जेलोतेस थिए भन्ने बाहेक हामीलाई अरू केही थाहा छैन। बाह्रमध्ये कम्तीमा ७ जना चेलाहरू “अल्पज्ञात व्यक्तिहरू” थिए।

यदि आज कसैले सुसमाचारको पुस्तक लेखेका भए, उनले बाह्रैजना चेलाका बारेमा एक-एक अध्याय लेख्थे सायद! तर सुसमाचारका लेखकहरूले त्यसरी लेखेनन्। तिनीहरूले चेलाहरूका बारेमा थोरै मात्र बताए। तिनीहरूको विषयवस्तु प्रेरितहरू नभएर प्रभु येशू ख्रीष्ट थियो। उनीहरूको मुख्य विषय ख्रीष्ट थियो। उनीहरूको आँखा धार्मिकताको घाम (प्रभु येशू – मलाकी ४:२ पढ्नुहोस्) माथि लागेको थियो अनि उहाँको चमकको दाँजोमा उनीहरूले अन्य ताराहरूलाई धमिलो देख्‍नु स्वभाविक थियो।

सबै अगुवा बन्न सक्दैनन्, पछ्याउनेहरू पनि हुनुपर्छ। बाह्र चेलाको समूह “बाह्र पत्रुसहरू” ले बनेको भए त्यो समस्याजनक हुनेथ्यो! “ठूला” मानिसका साथसाथै “साना” पनि चाहिन्छ।

हामीले यो पनि याद गर्नुपर्छ, “ठूलो” को अर्थ “परिचित” वा “देखिने” भनेको होइन। महानता के हो भन्ने बारेमा प्रभुले धेरै सिकाउनुहुन्थ्यो। मत्ती २०:२६-२७ अनुसार महान् को हुनेछ? ________________________। “दास” को अर्थ हो “सेवक””वा “नोक” अनि प्रायः नोकरहरू चिनिने, मानिने हुन्नन्। ध्यानाकर्षण गर्ने अरूहरू होलान् तर नोकरहरू केवल आफ्नो काममा व्यस्त भइरहन्छन्! पत्रपत्रिकामा साना नानीहरूको कत्तिको उल्लेख हुन्छ? “अज्ञात चेलाहरू” ले मत्ती १९:३० लाई याद गर्नुपर्छ।

परमेश्वरले विश्वासयोग्यता खोज्दैहुनुहुन्छ। पुरुष, स्त्री, केटा, केटी जो ____________ कुराहरू (जीवनका साना कुराहरूमा, जसको ख्याल कसैले गर्दैनन्) मा विश्वासयोग्य” हुन्छन् (लूका १६:१०)। लूका १:१५ ____________ को दृष्टिमा ____________।

मान्छेले परमेश्वरले झैँ महानता देख्दैन। प्रायः मानिसहरू प्रख्यात हुन चाहन्छन्, लामो समयसम्म आफ्नो सम्झना राखियोस्, आफ्ना महान् कामहरू अरूहरूद्वारा देखियोस् भन्ने चाहन्छन्। तर परमेश्वरले महानता साना कुराहरूमा समेत देख्नुहुन्छ जो अरूले ख्यालै नगर्लान्। तपाईंले गरेका थुप्रै कुराहरू अरूले नदेख्लान्, ख्याल नगर्लान् तर पक्कै पनि परमेश्वरले देख्नुहुन्छ। उहाँको नाममा गरिएका कुराहरू के परमेश्वरले विर्सनुहुन्छ (हिब्रु ६:१०)? ________________।

ख्रीष्टको मृत्यु र बौरिउठाइपछि यी “अल्पज्ञात चेलाहरू” कहाँ थिए? प्रेरित १:१३ मा सिक्छौँ उनीहरू जहाँ हुनुपर्ने त्यहीँ थिए, जे गरिरहनुपर्ने त्यही गर्दैथिए। उनीहरू विश्वासयोग्य थिए! उनीहरू प्रार्थना गर्दैथिए (पद १४)। उनीहरू पवित्र आत्माको प्रतिज्ञालाई पर्खँदैथिए। उनीहरूले धेरै हल्ला गरेनन्, तर उनीहरूले परमेश्वरले चाहनुभएकै काम गरे।

परमेश्वरले विश्वासयोग्यताको इनाम दिनुहुन्छ। बाह्रचेलाका बारेमा हामीलाई धेरै थाहा नहोला तर उनीहरूको बारेमा परमेश्वर सबै कुरा जान्नुहुन्छ। के परमेश्वरले बाह्रचेलालाई भविष्यमा इनाम दिने प्रतिज्ञा गर्नुभयो (मत्ती १९:२८)?____________। के उक्त प्रतिज्ञाले याकूब र थद्देयसलाई पनि समेट्छ?____________। प्रकाश २१:१४ मा बाह्र प्रेरितहरूका नाम स्वर्गीय शहरमा सदाका लागि कुँदिएका पाउँछौँ! के त्यहाँ याकूब र थद्देयसका नाम पनि पाउनेछौं। ____________। विश्वासयोग्य भएर उहाँको सेवा गर्नेलाई प्रभु भुल्नुहुन्न।

याकूबका बाह्र छोराहरूको विचार गरौँ। तीमध्ये कसैको हामीलाई धेरै ज्ञान छ, जस्तै यूसुफ र यहूदा। तर नप्ताली, इस्सखारहरूको बारेमा हामीलाई कमै थाहा छ। उनीहरूको बारेमा धेरै वा थोरै बताइए पनि इस्राएलको इतिहासमा हरेकको महत्त्वपूर्ण भूमिका थियो र हुनेछ (प्रकाश ७:४-८, २१:१२ मा पढ्नुहोस्)।

ख्रीष्टियन इतिहासमा पनि यस्तै पाउनेछौँ। विलियम क्यारी, डी.एल. मूडी जस्ता कति व्यक्तिहरू प्रख्यात छन्। वर्षौँ बिते पनि उनीहरूको सम्झना राखिन्छ। कतिको भने आज सम्झना नै छैन, इतिहासमा उनीहरूको उल्लेखै छैन। उनीहरू प्रख्यात भएनन् होला तरैपनि कैयौँ त्यस्ता ख्रीष्टियनहरू विश्वासयोग्य ख्रीष्टियनहरू थिए। के प्रभुले उनीहरूलाई भुल्नुहुन्छ होला? उनीहरूले गरेका कामहरू र उनीहरूले भनेका कुराहरू सबै प्रभुले देख्नुभएको छ, ख्याल राख्नुभएको छ। स्वर्गमा एक दिन को साँच्चै महान रहेछन् र को रहेनछन् भन्ने कुरा प्रकाशमा आउँदा हामी सायद छक्क पर्नेछौँ। एउटा पुरुष वा स्त्रीमा रहेको साँचो महानताको मूल्याङ्कन गर्न कसले मात्र सक्नुहुन्छ?

आज पनि यो सत्य छ। मण्डलीमा कोही व्यक्तिहरू हुन सक्छन् जो झट्टै देखिँदैनन्, कसैले ख्याल राख्दैनन्। के उनीहरू महत्त्वपूर्ण छैनन् (१ कोरिन्थी १२:२२-२४ पढ्नुहोस्)? तपाईंको शरीरमा के त्यहाँ नदेखिने अङ्गहरू छन् अथवा त्यति ख्याल नराखिने अङ्गहरू छन् तर जुन अङ्गहरू तपाईंको निम्ति अति नै महत्त्वपूर्ण छन्? प्रभुको निम्ति र मण्डलीको निम्ति प्रत्येक विश्वासी किन महत्त्वपूर्ण हुन्छ?

यस हप्ता तपाईं स-साना कुराहरूमा कसरी विश्वासयोग्य बन्न सक्नुहुन्छ? घरमा? मण्डलीमा? अन्य ठाउँमा?

याकूब, थद्देयस जस्ता अल्पज्ञात चेलाहरूजस्तै विश्वासयोग्य हुन प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। महत्त्वपूर्ण कुरा, परिचित हुनु, चिनिनु, प्रख्यात हुनु होइन। तर ____________ लाई खुशी पार्नु हो, हामीले दिनहुँ गर्ने हाम्रा स-साना कामहरूमा समेत।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email