येशूको बाल्यकाल
येशूको बाल्यकाल
हुर्काइ
आफू जन्मनुभएको दिनदेखि नै बालक येशू शैतानको तारो बन्नुभयो (प्रकाश १२:१०) भन्ने कुरा हामीले पहिलो पाठमा अध्ययन गर्यौं। हामी पनि नयाँ गरी जन्मेको दिनदेखि नै शैतानको तारो बन्दछौं। तर परमेश्वर शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)। परमेश्वरले आफ्नो योजना बिगार्न शैतानलाई कुनै ठाउँ दिनुहुन्न। येशूको निम्ति रचिएको परमेश्वरको योजना शैतानले बिगार्न असम्भव थियो। परमेश्वरमाथि भरोसा राख्नेहरूका निम्ति रचिएको परमेश्वरको योजना पनि शैतानले बिगार्न सक्दैन।
आजको पाठमा हामी येशू ख्रीष्टको हुर्काइको बारेमा अध्ययन गर्नेछौं। उहाँ एक शिशुदेखि बालक, बालकदेखि युवा, युवादेखि जवान मानिस बन्दै जानुभएको बारेमा अध्ययन गर्नेछौं। उहाँको बाल्यवस्था र युवावस्थाको बारेमा बाइबलले के बताउँछ? जीवनको एक खुड्किलादेखि अर्को खुड्किलामा हामी कसरी चढ्नुपर्छ? उमेर चढ्दै जाँदा हामी कसरी परिपक्व हुँदै जानुपर्छ भनेर बुझ्न शायद यस अध्ययनले हामीलाई केही मदत गर्नेछ।
येशू ख्रीष्टको हुर्काइको बारेमा बाइबलले ज्यादै थोरै मात्र बताउँदछ। येशू ख्रीष्टको बारेमा उपलब्ध अधिकांश विवरण उहाँको ३½ वर्षको सार्वजनिक सेवाकार्य (Public Ministry) सित सम्बन्धित छ। उक्त अवधिले उहाँको बप्तिस्मादेखि (लूका ३:२१ -२२ ) उहाँको मृत्यु र पुनरुत्थान (लूका २३ र २४ ) सम्मलाई समेट्छ। आफ्नो सार्वजनिक सेवाकार्यको शुरुमा येशू ख्रीष्ट कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३? प्रायः ______________।
लूकाको पुस्तकामा येशूको हुर्काइ सम्बन्धी दुइटा पदहरू छन्। ती पदहरूलाई राम्ररी अध्ययन गरौं:
लूका २:४० | लूका २:५२ |
शिशुदेखि बाह्र वर्षको उमेरसम्म | बाह्र वर्षदेखि तीस वर्षको उमेरसम्म |
“अनि बालक ________भयो, र ______ले परिपूर्ण भएर आत्मामा बलियो हुनुभयो; अनि परमेश्वरको अनुग्रह उहाँमाथि थियो।” | “अनि येशू _______मा, ____________मा र _______________ र __________को अनुग्रहमा बढ्दै जानुभयो।“ |
लूका २:४० अनुसार सानो बालक येशू केवल शारीरिक कद र बलमा मात्र नभएर बुद्धिमा पनि बढ्नुभयो। उहाँ निरन्तर बुद्धिले भरिँदै जानुभयो। के एउटा सानो बालक (जस्तै, ३ वर्ष, ५ वर्ष, ७ वर्ष, ९ वर्ष, ११ वर्ष) बुद्धिमा बढ्न सक्छ? बुद्धिमा बढ्न के ऊ २० वर्षको उमेरसम्म पर्खनुपर्छ? _____________। के तपाईं अहिले नै बुद्धिमा बढ्न सक्नुहुन्छ? __________। बुद्धि भनेको के हो? बुद्धि भनेको १४ले २८लाई गुणन गर्न सक्नु हो? __________। बुद्धि भनेको इतिहास र विज्ञानका कुराहरू सिक्न सक्नु हो? __________। एउटा विद्यार्थीले स्कूलका सम्पूर्ण विषयहरूमा पूर्णाङ्क प्राप्त गरेर पनि के ऊ बुद्धिहीन नै रहन सक्छ? __________। वास्तवमा बुद्धि परमेश्वरसित सम्बन्धित कुरा हो कि (हितोपदेश ९:१०)? __________।
सही काम गर्न सक्न र सही ढङ्गले जिउन सक्न हाम्रो उमेर कति पुगेको हुनुपर्छ? यदि कुनै साना केटाकेटी गलत काम गर्न सक्ने भइसकेका छन् भने के तिनीहरूले सही काम पनि गर्न सक्नुपर्ने हो? ________। यदि साना केटाकेटीले कथा र कमिक्स पढ्न सक्छन्, बोल्न सक्छन् भने के तिनीहरूले बाइबल पढ्न र प्रार्थना गर्न पनि सक्नुपर्ने हो? ________। के यस्ता कुराहरू गर्न तपाईंको उमेर पुगेको छ? _______।
साथै हामीले कदापि यस्तो भन्न सक्दैनौं, “हुर्कने काम कति गाह्रो छ, यसमा कति संघर्ष छ भनेर परमेश्वरलाई के थाहा छ र?” बास्तवमा, परमेश्वर हाम्रा एक-एक पाइला जान्नुहुन्छ। क्रूसमा मर्नुहुने प्रभु एक समय एउटा केटो हुनुहुन्थ्यो। साना केटाकेटीहरू प्रति उहाँ विशेष चासो राख्नुहुन्छ र ठूलाहरू प्रति पनि। तपाईंको जस्तै उहाँका पनि बाबु-आमा थिए (लूका २:४१)। तपाईंको जस्तै उहाँका पनि भाइ-बहिनीहरू थिए (मर्कूस ६:३)। हामी जस्तै उहाँ पनि ११, १२, १३ वर्ष उमेर हुँदै बढ्नुभयो।
लूका २:५२ मा अझ अरू कुरा मानिसका पुत्रको हुर्काइ सम्बन्धी सिक्दछौं। यस पदलाई बुझ्न निम्न चित्रको मदत लिऊँ:

प्रभु येशू ख्रीष्ट बढ्दै जानुहुँदा उहाँले जीवनका यी चारै क्षेत्रमा निरन्तर प्रगति गर्नुभयो। शरीरमा बढ्न उहाँलाई कुनचाहिँ पेशाले मदत गर्यो (मर्कूस ६:३)? ____________। एउटा मानिस उसले मानसिक क्षेत्रमा प्रगति गरेर पनि सामाजिक क्षेत्रमा अपरिपक्व हुन सक्छ? अर्थात् उसले धेरै विषयमा जानकारी प्राप्त गरेर पनि ऊ मानिसहरूसित राम्ररी हेलमेल गर्न नसक्ने हुन सक्छ? ________। तीस वर्षको हुर्काइको अन्तमा परमेश्वरले आफ्ना पुत्रलाई हेर्नुहुँदा के उहाँ प्रसन्न हुनुहुन्थ्यो (लूका ३:२२)? ______________।
बाइबलमा येशूको हुर्काइ सम्बन्धी हामीलाई थोरै मात्र बताइएको भए तापनि एउटा महत्त्वपूर्ण कुरा भने उल्लेख छ। लूका २:५१ बाट हामी जान्दछौं येशू सधैं आफ्ना बाबुआमाको ____________मा रहनुभयो। आफूलाई यूसुफ र आफ्नी आमाको अधिकारमुनि सुम्पँदै उहाँले उनीहरूको आज्ञापालन गर्नुभयो। उहाँले आफ्ना बाबुआमाको आदर गर्नुभयो। केटो हुनुहुँदा, युवा हुनुहुँदा उहाँले विद्रोह गर्नुभएन, हठी र अनाज्ञाकारी बन्नुभएन। उहाँले कलस्सी ३:२० र एफेसी ६:१ -२लाई सिद्धरूपमा पालन गर्नुभयो। तपाईं चाहिँ कस्तो खालको छोरा वा छोरी हुनुहुन्छ?
- सधैंजसो आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
- साधारणतया आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
- कहिलेकाहीँ आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
- विरलै आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
यदि यो उमेरमा तपाईंले आज्ञा नमान्न सक्नुहुन्छ भने, तपाईंले आज्ञा मान्न पनि तपाईंको उमेर पुगेको छ कि? ________।
छुट्नुभयो तर हराउनुभएन
आफ्नो परिवारसित येरुशलेम जानुहुँदा बालक येशू कति वर्षको हुनुहुन्थ्यो (लूका २:४२)? ________। येशू बसोबास गर्नुहुने शहर __________ (लूका २:३९ ) बाट यरुशलेम लगभग ११२ किलोमीटर टाढा पर्थ्यो। मरियम र यूसुफ यरुशलेमबाट फर्कने क्रममा येशूले के गर्नुभयो (लूका २:४३)? के उहाँका बाबुआमालाई यो थाहा थियो? __________। उहाँ कहाँ हुनुहुन्छ होला भनी उनीहरूले सोचेका थिए (लूका २:४४)? ______________________________________________________। उहाँलाई भेट्टाउन कति समय लाग्यो (लूका २:४६ ) __________। के मरियम र यूसुफ तीन दिनसम्म चिन्तित भएका थिए (लूका २:४८)? ________। अन्तमा उनीहरूले उहाँलाई कहाँ भेट्टाए (लूका २:४६)? ______________। त्यसबेला के येशू पनि चिन्तित हुनुभएको थियो (लूका २:४९)? ________।
येशू परमेश्वरको भवनमा बाइबल (पुरानो नियम) अध्ययन गर्ने र सिकाउने यहूदी गुरूजनहरूको बीचमा बसिरहनुभएको थियो। येशू उनीहरूका बीचमा बस्नुहुँदा उहाँको धारणा कस्तो थियो? “म परमेश्वरको पुत्र हुँ तर यी शिक्षकहरू केही नजान्ने मानिस मात्रै हुन्। त्यसैले म तिनीहरूको कुरा सुन्दिनँ अनि म उनीहरूलाई कुनै प्रश्न गर्दिन किनकि उनीहरूले मलाई के नै सिकाउन सक्छन् र।” के उहाँको धारणा यस्तो थियो? __________।
येशूले प्रश्न मात्र गर्नुभएन, उहाँले ज ________ (लूका २:४७ ) पनि दिनुभयो। तिनीहरूका साना “चेला”ले उनीहरूलाई सिकाउन थालेको देख्दा ती शिक्षकहरू छक्क परे। येशूले उनीहरूलाई प्रश्न गर्नुहुँदा शायद उनीहरूले उहाँको गहिरो बुद्धि देखे र नै उनीहरूले उल्टो उहाँलाई प्रश्न गर्न थाले! ९, १०, ११, १२ वर्षका साना केटाकेटीहरूले समझ प्राप्त गरेको र जवाफहरू प्राप्त गरेको के परमेश्वर चाहनुहुन्छ? तपाईंको निम्ति परमेश्वर यही चाहनुहुन्छ? तपाईं जवाफहरू चाहनुहुन्छ? तपाईं प्रश्न सोध्ने गर्नुहुन्छ? सोध्ने गर्नुहुन्न भने किन गर्नुहुन्न? प्रश्न गर्दैमा सधैं नै तुरून्त कुरा बुझिन्छ भन्ने हो? जब जब हामी विचार गर्छौं, प्रश्न गर्छौं र जवाफको खोजी गर्छौं तब तब हामी केही समझ प्रप्त गर्छौं, अझ बुझ्दै जान्छौं।
बाबुआमाले उहाँलाई भेट्टाएपछि, येशूले उनीहरूलाई भन्नुभयो: “म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” यहाँ येशूले “मेरा पिता” भन्नुभयो। के उहाँले यूसुफको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो? __________। याद राख्नुहोस्, यूसुफ येशूका बास्तविक बाबु थिएनन् (हेर्नू: लूका १:३१, ३४ -३६ र मत्ती १:१८-२५) यद्यपि उनले येशूलाई हुर्काउने र सिकाउने काम र उहाँको निम्ति प्रबन्ध गर्ने काम गरे। यूहन्नाको सुसमाचारको पुस्तकमा येशूले झण्डै ४० पटक “मेरा पिता” भन्नुभएको पाउँछौं (जस्तै: यूहन्ना ५:१७, ८:२८ ) तर कुनै पनि सन्दर्भमा उहाँले यूसुफको कुरा गर्नुभएको थिएन। येशूको पिता स्वर्गमा बस्नुहुने परमेश्वर हुनुहुन्थ्यो।
येशू कुन ठाउँमा हुनुहुन्छ भनेर मरियम र यूसुफले जान्नुपर्ने थियो! उहाँ हराउनुभएको थिएन। उहाँ ठीक ठाउँमा, ठीक काम गर्दै हुनुहुन्थ्यो!
तपाईंका बाबुआमाले तपाईंलाई कस्तो ठाउँमा भेट्टाउँछन्? तपाईंले के गरिरहेको भेट्टाउँछन्? तपाईं ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउँछन्? स्वर्गीय पिताको कुराहरूमा मन लगाइरहेको भेट्टाउँछन्? बाइबल पढिरहेको भेट्टाउँछन्? प्रार्थना गरिरहेको कहिल्यै भेट्टाउँछन्? खाँचोमा परेकाहरूलाई सहायता गरिरहेको भेट्टाउँछन्? साथीलाई प्रभुको बारेमा बताइरहेको भेट्टाउँछन्? तपाईंका बाबुआमा तपाईंलाई स्कूलमा भेट्न आउनुभयो भने तपाईंले ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउनेछन्? तपाईंले कसको काममा मन लगाइरहेको भेट्टाउनेछन् होला? आफ्नै काम? साथीहरूको काम? संसारको काम? परमेश्वरको काम?
प्रत्येक बाल-बालिकाले ठीक ठाउँमा, ठीक काम गरिरहन सम्भव छ भनी बालक येशूले प्रमाणति गर्नुभयो। के तपाईं ठीक ठाउँमा, ठीक काम गर्दैहुनुहुन्छ ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)