झूटो बोली

Study Series

झूटो बोली

डेविड क्लाउड

‍ कण्ठ गर्नुपर्ने पदहरू: लेवी १९:११; भजनसङ्ग्रह ५८:३; १०१:७; हितोपदेश १२:२२; २६:२४; यूहन्ना ८:४४; एफेसी ४:२५; प्रकाश २१:८

  1. झूट बोल्नु भनेको असत्य कुरा बोल्नु हो। झूट बोल्नु सत्य बोल्नुको उल्टो हो (एफेसी ४:२५)। यसको माने छल्नु, झुक्याउनु, बेइमान गर्नु, ठग्नु, झूटो कसम खानु हो। हेर्नुहोस्: भजनसङ्ग्रह २४:४; १२०:२; हितोपदेश २४:२८; १ पत्रुस ३:१०। झूट बोल्ने काम ठग्ने र चोर्ने कामसित आवद्ध छ किनकि त्यो पनि अन्धकारको उस्तै काम हो (लेवी १९:११; भजनसङ्ग्रह १०:७)। झूट बोल्ने काम घृणासित आवद्ध छ किनभने मैले यदि कसैलाई प्रेम गर्दछु भने म उसित झूट बोल्नेछैन (हितोपदेश २६:२२-२६)। झूट बोल्ने मानिसमाथि भर पर्न सकिन्न।
  2. झूट बोल्ने काम शैतानबाट शुरु भएको हो (यूहन्ना ८:४४)। झूट बोल्नेहरूले शैतानको चरित्रलाई दर्शाउँदैछन् र उसकै पाइला पछ्याउँदैछन्।
  3. झूट बोल्ने स्वभाव मानव जातिमा त्यसबेला प्रवेश गर्‍यो जब मानिसले परमेश्वरको विरुद्धमा पाप गर्‍यो; उसको हृदय अँध्यारो भयो र छलले भरियो (रोमी १:२८-२९; भजनसङ्ग्रह ५८:३; यर्मिया १७:९)। दुष्ट मानिसहरूको एउटा मुख्य अवगुण उनीहरूको झूटो बोली हो (भजनसङग्रह १०:४-७; ३६:१-३)।
  4. मूर्तिपूजा झूट हो अनि मानिसहरूले साँचो परमेश्वरलाई इन्कार गरेकाले आफैलाई धोका दिएका छन् र त्यसैले उनीहरू मूर्तिपूजा गर्दछन् (यशैया ४४:१८-२०)।
  5. परमेश्वरको व्यवस्थाले झूट बोल्न प्रतिबन्ध लगाएको छ (लेवी १९:११)। झूट बोल्ने काम परमेश्वरको विरुद्धमा हो किनकि त्यो उहाँको गुणको विपरित काम हो किनकि उहाँ सत्यको परमेश्वर हुनुहुन्छ (व्यवस्था ३२:४)। चारपटक पवित्र आत्मालाई “सत्यको आत्मा” भनिएको छ (यूहन्ना १४:१७; १५:२६; १६:१३; १ यूहन्ना ४:६)। परमेश्वरले झूट बोल्न सक्नुहुन्न (तीतस १:२)।
  6. झूट बोल्नु सानो पाप होइन; झूट बोल्ने कामलाई परमेश्वर घृणा गर्नुहुन्छ र त्यसको निम्ति सजायँ दिनुहुन्छ (भजनसङ्ग्रह १०१:७; प्रकाश २१:८; २२:१५)।
  7. परमेश्वरको व्यवस्था उहाँको पवित्रतालाई र मानिसको पापी अवस्थालाई प्रकट गर्न र पापीलाई ख्रीष्टकहाँ डोर्‍याउनलाई दिइएको थियो (१ तिमोथी १:९-११; रोमी ३:१९-२४; गलाती ३:२४-२५)।
  8. शुभ-समाचार यो हो कि परमेश्वरले मानिसहरूलाई मुक्ति प्रदान गर्नुभएको छ। येशू मानिसहरूलाई दोषी ठहर्‍याउनलाई होइन तर उनीहरूको पापबाट बचाउनलाई आउनुभयो (यूहन्ना ३:१७-१८)। येशू ख्रीष्टको सुसमाचारमा विश्वासीले पापको पूरै क्षमा र अनन्त जीवन पाउँदछ (एफेसी १:६-७)।
  9. हामी ख्रीष्टमा आएपछि हामीले पवित्र आत्मालाई र ख्रीष्टको स्वभावलाई प्राप्‍त गर्दछौं अनि हामीलाई पुरानो पापपूर्ण मान्छेलाई फाल्न र नयाँ धर्मी मानिसलाई पहिरन आज्ञा दिइएको छ (एफेसी ४:२०-२४)। हामीलाई सिकाइएको पहिलो कुरा नै झूटलाई फाल्नु हो (एफेसी ४:२५)। पुरानोलाई फाल्ने र नयाँलाई पहिरने यो प्रक्रियाचाहिँ “मनको आत्मामा नयाँ हुँदै” गएर (एफेसी ४:२३) गरिन्छ भन्ने कुरालाई ध्यान दिनुहोस्। रोमी १२:१-२ सित तुलना गर्नुहोस्। यो परमेश्वरको वचनको सामर्थ्यले हुने कुरा हो (एफेसी ५:२६; हिब्रू ४:१२; प्रेरित २०:३२)। हामी जब बाइबल पढ्छौं, कण्ठ गर्छौं, प्रचारिएको र सिकाइएको सुन्छौं र त्यसका शब्दहरूलाई मनन गर्छौं तब परमेश्वरको आत्माले हामीलाई पवित्र हुन र त्यस दिशातर्फ उन्मुख हुन सामर्थ्यवान् तुल्याउनलाई त्यस ईश्वरीय बुद्धिलाई प्रयोग गर्नुहुन्छ।
  10. धार्मिकतामा हिँडिरहेको धर्मी जनले आफूमाथि समस्या आइपर्ने भए तापनि र आफूले व्यक्तिगत नोक्सानि भोग्नुपर्ने भए तापनि सत्य बोल्नेछ (भजनसङ्ग्रह १५:४)। आफूहरू आगोको भट्टीमा फालिने भन्ने कुरा जानेर पनि शद्रक, मेशक र अबेदनेगोले सत्य नै बोले (दनियल ३:१६-१८)। तर आफ्‍नो ज्यानको मायाले दाऊदले पूजाहारी अहिमेलेकसित झूट बोले (१ शमूएल २१:१-२, ८-९)। अहिलेमेकले दाऊदलाई सहायता गरे किनकि उनले दाऊदको झूटलाई विश्वास गरे र उनी साँच्ची नै शाऊलको काममा हिँडेका हुन् भनी ठाने। फलस्वरूप अहिमेलेक लगायत नोबका सबै पूजाहारीहरू मारिए (१ शमूएल २२:९-१९)।
  11. विश्वासी जनले जब पाप गर्दछ परमेश्वरसितको उसको सङ्गति टुट्न जान्छ र त्यो सङ्गति स्वीकारद्वारा पुनःस्थापित गरिन्छ (१ यूहन्ना १:६-९)। यसको मतलब मैले गरेको काम पाप थियो भनेर म परमेश्वरसित सहमत हुनु हो। स्वीकार गर्ने काम पापलाई लुकाउने काम र त्यसको निम्ति बहानाहरू बनाउने र परिस्थितिलाई दोष्याउने र अरूहरूलाई दोष्याउने कामको उल्टो हो। साँचो विश्वासी परमेश्वरको सन्तान हो र परमेश्वरसितको उसको यो सम्बन्धलाई उसले गुमाउन सक्दैन किनभने ख्रीष्टमा उसले अनन्त जीवन पाएको छ, तर परमेश्वरसितको उसको मीठो सङ्गति भने उसले यस वर्तमान संसारमा गुमाउन सक्दछ।
  12. ख्रीष्टिय जीवनमा मृत्युसम्म पुर्‍याउने पाप भन्ने पनि हुन्छ (१ यूहन्ना ५:१७), अनि यस्तो पापको एउटा उदाहरण झूट बोल्ने पाप हो। हनानिया र सफिराले मण्डली अगुवाहरूसित झूट बोलेकाले र कपटी व्यवहार गरेकाले मरे (प्रेरित ४:३४ – ५:५)। उनीहरूले प्रभुको कामको लागि भनेर आफ्‍नो जग्गा बिक्री गरेर मण्डलीलाई पैसा दिए। आम्दानीको केही अंश आफ्‍नो निम्ति राख्ने निर्णय गरे, तरैपनि विश्वासीहरूका सामु एकदम आत्मिक देखिनलाई आफूहरूले सबै रकम दिइरहेको भन्ने कुरा अगुवाहरूसित गर्ने भनेर उनीहरूले आपसमा सल्लाह गरे। उनीहरू बर्नबासले जस्तै सुनाम कमाउन चाहन्थेँ तर उनीहरूको सुनाम झूट थियो। पैसाको केही भाग आफूसित राखेर उनीहरूले पाप गरेका होइनन् किनकि त्यो पैसा उनीहरूकै थियो र त्यसलाई उनीहरूले चाहे जस्तै चलाउन सक्थे (प्रेरित ५:४)। उनीहरूको पाप चाहिँ परमेश्वरसित झूट बोल्नु थियो। उनीहरूले परमेश्वरसित कहिले झूट बोले? तिनीहरूले परमेश्वरसित झूट बोले जब तिनीहरूले मण्डलीसित झूट बोले किनकि मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५)।
  13. झूटो बोली झूटा शिक्षकहरूको एउटा कुचरित्र हो (२ तिमोथी ३:१३)। तर परमेश्वरका सेवकहरू इमानदार र सीधा चालको हुनुपर्छ (प्रेरित ६:३; २ कोरिन्थी ४:१-२; १ थेस्सलोनिकी २:३)। ख्रीष्टका राजदूतहरूको हैसियतले हामीले यस अन्धकारपूर्ण संसारमा उहाँको सत्यवादी चरित्रलाई दर्शाउनुपर्दछ।

झूटो बोली सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. झूट बोल्नु भनेको के हो?
  2. झूट बोल्ने काम ठग्ने र चोर्ने कामसित कसरी आवद्ध छ?
  3. झूटो बोली कहाँ शुरु भयो?
  4. झूटो बोली मानव जातिमा कहिले र कसरी प्रवेश गर्‍यो?
  5. मानिसहरू किन मूर्तिलाई पूज्छन्?
  6. परमेश्वरको व्यवस्थाको कुन पदले झूट बोल्ने काममाथि प्रतिबन्ध लगाएको छ?
  7. परमेश्वरले झूट बोल्न सक्नुहुन्न भन्ने कुरा कुन पदले बताउँछ?
  8. झूट बोल्ने सबैको भाग अग्निकुण्डमा हुनेछ भनेर कुन पदले बताउँछ?
  9. परमेश्वरको व्यवस्थाको उद्देश्य के हो?
  10. यदि सबै मानिसहरूले झूट बोलेका छन् र यदि परमेश्वरले झूट बोल्ने सबैलाई अग्निकुण्डमा सजायँ दिनुहुन्छ भने, मानिसको लागि त्यहाँ के आशा छ त?
  11. ख्रीष्टिय जीवनमा पापमाथि विजयी बन्ने उपाय के हो?
  12. उनीहरू सत्य बोलेको कारण मारिन सक्छन् भन्ने जानेर पनि पछि नहटेका तीनजना यहूदीहरूको उदाहरण कुनचाहिँ हो?
  13. विश्वासी जनले पाप गर्दा के हुन्छ?
  14. पाप गर्ने ख्रीष्टियनले परमेश्वरसितको आफ्‍नो सङ्गतिलाई कसरी पुनःस्थापित गर्न सक्छ?
  15. हनानिया र सफिरा किन मारिए?
  16. ख्रीष्टका सेवकहरू किन इमानदार हुनुपर्छ?

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email