व्यवस्था र ख्रीष्टियनको सम्बन्ध

व्यवस्था र ख्रीष्टियनको सम्बन्ध
डेविड क्लाउड
पद कण्ठ: रोमी ३:१९-२४; ७:४; गलाती ३:१०, १३, २४-२६
मोशाको व्यवस्थाको बारेमा र ख्रीष्टियन जीवनमा यसको स्थानको बारेमा व्यापक अलमल विद्यमान छ। ठोस बाइबलीय आधारमा उभिएर यस विषयमा आफू निश्चित हुनु हरेक विश्वासीको लागि नित्तान्त आवश्यक छ।
नयाँ नियमका निम्न उल्लेखित मुख्य-मुख्य खण्डहरूबाट यो विषयवस्तु छर्लङ्ग हुन्छ:
रोमी ३:१९-२४
१) मोशाको व्यवस्था अथवा पुरानो करार मानिसहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र उनीहरूचाहिँ पापी छन् भनेर देखाउनलाई दिइएको थियो (रोमी ३:१९)। मानिसहरू स्वभावैले आफूलाई धर्मी ठान्दछन्। उनीहरू आफूलाई परमेश्वरको सिद्ध व्यवस्थासित तुलना गर्नुको सट्टा मानवीय धार्मिकताको मानदण्डसित वा एक अर्कासित तुलना गर्दछन्। परमेश्वरको मानदण्ले नापिँदा हामी सबै पापी छौं र हामीले उहाँका व्यवस्थाहरू भङ्ग गरेका छौं भनेर मानिसहरूले देख्नुपरेको छ।
जस्तै, दस आज्ञालाई विचार गर्नुहोस् (प्रस्थान २०:१-१७)। मानिसहरूले यी सबै आज्ञालाई भङ्ग गरेका छन्। हामीले एकमात्र साँचो परमेश्वरको स्थानमा अरू ईश्वरहरूलाई स्थापना गरेका छौं (प्रस्थान २०:३)। हामीले मूर्तिहरू बनाएका छौं र तिनलाई दण्डवत् गरेका छौं (प्रस्थान २०:४-५)। हामी परमेश्वरलाई भन्दा आफूलाई बढी पूज्दछौं र सेवा गर्दछौं र फलस्वरूप आफैलाई मूर्ति बनाएका छौं। हामीले प्रभुको नाउँलाई व्यर्थमा लिएका छौं (प्रस्थान २०:७)। हामीले विश्रामदिनलाई भङ्ग गरेका छौं र सबै दिनलाई उस्तै ठानेका छौं र परमेश्वरको सेवाका लागि एक दिन छुट्ट्याउनलाई पनि बेवास्ता गरेका छौं (प्रस्थान २०:८)। हामीले आफ्ना बाबुआमालाई अनादर गरेका छौं, उनीहरूका आज्ञाहरूलाई तोडेका छौं (प्रस्थान २०:१२)। हामीले हत्या गरेका छौं (प्रस्थान २०:१३)। हामीले व्यभिचार गरेका छौं (प्रस्थान २०:१४)। हामीले चोरेका छौं (प्रस्थान २०:१५)। हामीले झूट बोलेका छौं (प्रस्थान २०:१६)। हामीले लोभ गरेका छौं (प्रस्थान २०:१७)।
मोशाको व्यवस्थाले सिद्ध आज्ञापालनको माग गर्छ (व्यवस्था २७:२६)। एउटा मात्र आज्ञा तोड्नु भनेको सबै तोड्नु हो (याकूब २:१०)।
परमेश्वरले व्यवस्थाको केवल बाह्यरूपको मात्र सिद्ध आज्ञापालन होइन त्यसको भित्रीरूपको समेत आज्ञापालन गरेको माग गर्नुहुन्छ भन्ने कुरा येशूले सिकाउनुभयो। आफ्नो भाइलाई घृणा गर्नु भनेको परमेश्वरको नजरमा हत्या बराबर हो (मत्ती ५:२१-२२)। कुनै स्त्रीको अभिलाषा गर्नु भनेको परमेश्वरको नजरमा व्यभिचार बराबर हो (मत्ती ५:२७-२८)।
यसबाट स्पष्ट हुन्छ कि हामी सबै व्यवस्थालाई भङ्ग गर्ने दोषी हौं र परमेश्वरको नजरमा पापीहरू हौं।
२) मोशाको व्यवस्थाले मुक्ति दिन सक्दैन (रोमी ३:२०)
पुरानो करारले मुक्ति दिन सक्दैन किनकि यसले सिद्ध पवित्रताको माग गर्छ जब कि मानिस एक पतित पापी हो र ऊ त्यसका मागहरूको मानदण्डअनुसारको जीवन व्यतित गर्न सक्दैन। यसर्थ, परमेश्वरको व्यवस्थाले हामीलाई श्राप मात्र दिन सक्छ। “धर्मी ठहराइनु” भन्ने शब्दावलीको अर्थ हो परमेश्वरद्वारा धर्मी भनेर घोषणा गरिनु। परमेश्वरले पापीलाई मोशाको व्यवस्थाको आधारमा धर्मी ठहराउन सक्नुहुन्न किनकि यसले सिद्ध आज्ञापालनको माग गर्छ।
३) मुक्ति येशू ख्रीष्टमाथिको विश्वासद्वारा पाइन्छ (रोमी ३:२१-२४)।
मुक्तिको उपाय मोशाको व्यवस्थाद्वारा होइन तर येशूद्वारा हो। पापी मर्नुपर्छ भनेर व्यवस्थाले माग गर्यो, र येशू हाम्रो सट्टामा मर्नुभयो (रोमी ६:२३)। रगत बहाइनुपर्छ भनेर व्यवस्थाले माग गर्यो, र येशूले आफ्नो धर्मी रगत हाम्रा पापको सट्टाभर्नास्वरूप बहाउनुभयो (हिब्रू ९:२२)। येशूले क्रूसमा सम्पन्न गर्नुभएको कार्यले गर्दा विश्वास गर्ने पापीले विश्वासद्वारा परमेश्वरको धार्मिकता नै प्राप्त गर्न सक्दछ (रोमी ३:२१-२२)। विश्वासी सित्तैंमा धर्मी ठहराइन्छ। यसको अर्थ हो, मुक्ति परमेश्वबाटको वरदान हो जसको लागि ख्रीष्टले खर्च तिरिदिनुभयो। हामी उहाँको रगतले छुटाइन्छौं वा किनिन्छौं। “प्रायश्चित” शब्दको माने हो ऋण चुक्ता गरिनु, र येशूले हाम्रो निम्ति गरिदिनुभएको कार्य यही थियो। हामीले तिर्न नसक्ने ऋण चुक्ता गर्न आफूले तिर्नै नपर्ने मूल्य उहाँले तिरिदिनुभयो।
रोमी ७:१-४
१) ख्रीष्टियनको जीवन जिउने नियम व्यवस्था होइन (रोमी ७:१-२)। ख्रीष्ट हाम्रा नयाँ पति हुनुहुन्छ, अनि हाम्रो जीवनमाथि नयाँ करार अनुसार राज्य गर्नुहुन्छ। हाम्रो जीवनको नियम मोशाको व्यवस्था होइन तर नयाँ नियम शास्त्रहरूमा प्रकट गरिनुभएको ख्रीष्ट स्वयम् नै हाम्रो जीवनको नियम हुनुहुन्छ। पुरानो व्यवस्था अन्तर्गत रहेर परमेश्वरको सेवा गर्न खोज्नुचाहिँ एउटी स्त्रीजस्तै बन्नु हो जसले आफ्ना पतिलाई डरकै कारणले मात्र सेवा गर्छिन्। तिनले पकाउँछिन्, घर सफा गर्छिन् किनकि तिनी पतिदेखि डराउँछिन्। नयाँ व्यवस्था अन्तर्गत रहेर परमेश्वरको सेवा गर्नुचाहिँ अर्कै स्त्री जस्तै बन्नु हो जसले आफ्ना पतिलाई प्रेमको कारणले सेवा गर्छिन्। तिनले आफ्ना स्वामीका लागि पकाउँछिन्, घर सफा गर्छिन्, पतिले के गर्लान् भन्ने डरले होइन, तर बरू यस कारणले कि पतिले तिनलाई प्रेम गर्छन् र तिनीसित यति असल व्यवहार गर्छन् कि तिनले पनि साटोमा उनलाई प्रेम गर्छिन्।
२) मोशाको व्यवस्थाले विश्वासीलाई दोषी ठहराउन सक्दैन (रोमी ७:३)। विश्वासी व्यवस्थाका निम्ति मरिसकेको छ जसरी एउटी स्त्री तिनका मृत पतिका निम्ति मरिसकेकी हुन्छिन्। प्रभु येशू ख्रीष्टले क्रूसमाथि हाम्रो दण्ड-आज्ञा आफैमाथि लिनुभयो र हामी अनन्त दण्डको सबै डरदेखि उम्केर उहाँमा सुरक्षित भएका छौं।
३) ख्रीष्टियनको एउटा नयाँ सामर्थ्य छ जोचाहिँ उसभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मा हुनुहुन्छ (रोमी ७:६; ८:१)। विश्वासीले ख्रीष्टको सेवा पवित्र आत्माद्वारा गर्दछ, आफ्नै शक्तिद्वारा होइन। तुलना गर्नुहोस्: गलाती २:२०।
२ कोरिन्थी ३:५-१८
उपर्युक्त खण्डमा पुरानो करारलाई नयाँसित तुलना गरिएको छ।
१) पुरानो करारचाहिँ मोशाको व्यवस्था थियो (२ कोरिन्थी ३:७; १३)। त्यो “ढुङ्गाहरूमा लेखिएको र खोपिएको थियो”। यसले विशेष गरी दस आज्ञालाई जनाउँछ (व्यवस्था ४:१३; ५:६-२२)।
२) पुरानो करार मृत्युको सेवा थियो (२ कोरिन्थी ३:७), र दोषी ठहराउने सेवा थियो (२ कोरिन्थी ३:९)। यसो हुनुको कारण यो थियो कि त्यसले हृदयबाटकै सिद्ध आज्ञापालनको माग गर्थ्यो अनि हामी पापी भएकाले त्यस मानदण्डअनुसार आज्ञा पालन गर्न असक्षम थियौं।
३) पुरानो करार ख्रीष्टमा मेटिएर गयो (२ कोरिन्थी ३:११)। विश्वासीको जीवनको नियम त्यो होइन।
४) विश्वासीको नयाँ व्यवस्था छ (२ कोरिन्थी ३:१७-१८)। विश्वासी मोशाको व्यवस्थामुनि छैन भन्दैमा हामी व्यवस्थाहीन भएका छौं भन्ने होइन। वास्तवमा, हामीसित अझ ठूलो व्यवस्था छ। त्यो हो ख्रीष्टको व्यवस्था। हामी उहाँको स्वरूपमा ढालिन्छौं (रोमी ८:२९)। पवित्र शास्त्रहरूमा उहाँलाई हेर्दै-हेर्दै जाने क्रममा हामी उहाँको स्वरूपमा बदलिँदै जान्छौं।
गलाती ३:१०-१४, २४-२६
१) मोशाको व्यवस्था, अथवा पुरानो करारले सबै कुरामा सिद्ध आज्ञापालनको माग गर्यो; त्यसैले मानिसहरू त्यसद्वारा मुक्ति पाउन सक्दैनन् (गलाती ३:१०-१२)। त्यसले सिद्ध पवित्रताको माग गरेकोले त्यसले पतित पापीमाथि श्राप मात्र ल्याउन सक्दछ। हामी त्यसका पवित्र मागहरूको नापअनुसार जिउन सक्दैनौं।
२) व्यवस्थाले माग गरेको सजायँ ख्रीष्टले लिदिनुभयो (गलाती ३:१३)। हामीलाई अनन्त मुक्ति प्रबन्ध गर्नलाई पापीको सट्टामा उहाँ मर्नुभयो।
३) ख्रीष्टकहाँ डोर्याउनलाई मोशाको व्यवस्था हाम्रो शिक्षक भएको छ (गलाती ३:२४)। व्यवस्थाको मुख्य उद्देश्य यही हो। पापीलाई उसको पतित र हराएको अवस्था देखाउनलाई र उसले आफ्नो विश्वास ख्रीष्टमाथि राखोस् भनेर नै परमेश्वरले व्यवस्था दिनुभएको हो।
४) विश्वासी मोशाको व्यवस्थाको अधीनमा राखिएको छैन (गलाती ३:२५)। विश्वासीको व्यवस्था मोशाको व्यवस्था होइन। विश्वासीको नयाँ व्यवस्था छ र त्यो हो ख्रीष्टको व्यवस्था। यसको माने हो ख्रीष्टको स्वरूपमा बदलिनु। विश्वासीको नयाँ व्यवस्थालाई आत्माको व्यवस्था पनि भनिएको छ (गलाती ५:१६-१८)। आत्मामा हिँडेर अर्थात् पवित्र आत्माको आज्ञापालन गरेर र दिन प्रति दिन उहाँमा सुम्पिएर हिँड्दा विश्वासी जन शरीरको व्यवस्था पूरा गर्नदेखि बचाइन्छ।
कलस्सी २:१३-१७
१) ख्रीष्टले पुरानो करार अर्थात् मोशाको व्यवस्थालाई हटाइदिनुभयो (कलस्सी २:१४)। त्यसका मागहरू पूरा गर्नुभई र हामीले त्यसलाई भङ्ग गरेको बापत त्यसको मूल्य तिर्नुभएर नै उहाँले व्यवस्थालाई हटाइदिनुभयो।
२) विश्वासीले पुरानो करार पछ्याउँदैन (कलस्सी २:१६-१७)। व्यवस्थाभित्र प्रतीक (types) र छायाँहरू (shadows) रहेका छन् जसले ख्रीष्टलाई औंल्याउँदछन्, तर नयाँ नियम अन्तर्गतको विश्वासीसित ख्रीष्ट स्वयम् हुनुहुन्छ।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।