महसूल उठाउने मत्ती र शिमोन जेलोतेस
महसूल उठाउने मत्ती र शिमोन जेलोतेस
मत्ती
मत्ती १०:२-४ को सूचीमा आठौं स्थानमा उल्लेख गरिएको चेलालाई “___________________ मत्ती” भनेर जनाइको छ (पद ३)। उनको अर्को पनि नाउँ थियो। उनको अर्को नाउँ _______ थियो र साथै उनी ____________ का छोरा थिए भन्ने कुरा हामी मर्कूस २:१४ बाट थाहा पाउन सक्छौं।
यहाँसम्मको हाम्रो अध्ययनले येशूका कतिपय चेलाहरू मछुवा थिए भन्ने कुरा देखायो। तर मत्तीचाहिँ मछुवा थिएनन्। बाइबलले बताउँछ, उनी एक ____________ उठाउने व्यक्ति थिए (मत्ती १०:३) उनी “माछा जम्मा गर्ने” व्यक्ति नभएर “महसूल जम्मा गर्ने” व्यक्ति थिए।
यहूदीहरूको जन्मभूमि प्यालेस्टाइनमा महसूल उठाउनेहरू लोकप्रिय मानिदैनथे। वास्तवमा उनीहरू घृणित र तिरस्कृत थिए। उनीहरू सबैभन्दा खराब पापीहरूमध्ये गनिन्थे। महसूल उठाउनेहरू यहूदी जनमानसमा घृणित बन्नुमा कम्तीमा दुइटा कारणहरू थिए:
- कर तिर्न कोही पनि रूचाउँदैनन्। त्यसबेला मात्र होइन आज पनि। महसूल उठाउनेहरू कहिल्यै लोकप्रिय मानिएका छैनन्। तर नयाँ नियमको समयमा यहूदीहरूले महसूल उठाउनेहरूलाई अर्कै कारणले घृणा गर्दथे। महसूल उठाउनेहरू रोमका कर्मचारी थिए। त्यसबेला शासन रोमी सरकारको हातमा थियो अनि रोमको जुवामुनि बस्नुपरेका यहूदीहरू खुशी थिएनन्। उनीहरू विदेशी शक्तिको पञ्जाबाट फुत्कन चाहन्थे। त्यसैले रोमलाई सघाउने र रोमको निम्ति काम गरिदिने ती महसूल उठाउनेहरूलाई अधिकांश यहूदीहरू तिरस्कार गर्थे, उनीहरूलाई विश्वासघाती ठान्ने गर्थे।
- रोमसित मिलेर रोमको सेवा गर्नु आफैमा खराब कुरा मानिन्थ्यो भने अझ कतिपय महसूल उठाउनेहरू बेइमानी पनि गर्ने भएका हुनाले जनमानसमा उनीहरूको पेशा झनै घीनलाग्दो बनेको थियो। कतिपय महसूल उठाउनेहरू मानिसहरूबाट हदभन्दा बढी पैसा लिएर उब्रेको पैसा जति आफ्नो खल्तीमा हाल्थे। अरूलाई ठगेर उनीहरू धनी बनेका थिए। बारम्बार उनीहरू आफ्नै जाति (यहूदीहरू) बाट फाइदा लुट्ने गर्थे। रोमलाई सघाउनु बाहेक आफ्नो फाइदाको लागि ठग्ने काम पनि गर्थे। उनीहरूले आफ्नो जातिलाई विश्वासघात गर्नुको अलावा ठग्ने काम पनि गर्दै थिए!
यी कारणहरूले गर्दा महसूल उठाउनेहरू सबैभन्दा नीच वर्गका मानिस ठानिन्थे। महसूल उठाउनेहरूलाई सबैभन्दा खराब खालका मानिसहरूको समूहमा राखिन्थ्यो। महसूल उठाउनेहरूलाई कस्ता मान्छेहरूसित तुलना गरिन्थ्यो भन्ने कुरा निम्न खण्डहरूमा हेरौं:
- मत्ती ९:११ — “महसूल उठाउने र ____________”
- मत्ती १८:१७ — “____________ र महसूल उठाउने सरह”
- मत्ती २१:३१ — “महसूल उठाउनेहरू र ____________”
मत्तीको सुसमाचारका लेखेक को हुन्? ____________। उल्लेखनीय कुरा, मत्ती १०:३ मा मत्तीले आफ्नो नाउँ लेख्नुपर्दा आफूलाई “_________ __________ मत्ती” भनेर लेख्छन्। अर्थात्, मत्ती येशू ख्रीष्टको चेला बने तापनि आफू पहिला कस्तो खालको व्यक्ति थिएँ भन्ने कुरा उनले कहिल्यै बिर्सेनन्। आफू कत्रो ठूलो पापी थिएँ भन्ने कुरा उनले कहिल्यै बिर्सेनन्। मत्ती १०:३ मा उनले मानौं यसरी भन्दैछन्: “म महसूल उठाउने मत्ती हुँ! ममा असल केही छैन भनी म जान्दछु। म एक तुच्छ पापी हुँ। केवल परमेश्वरको अनुग्रहले मैले मुक्ति पाएँ। म एक महापापी हुँ तर मेरा मुक्तिदाता मेरो पापभन्दा महान् हुनुहुन्छ!” धेरै हिसाबमा मत्ती लूका १८:१०-१४ को महसूल उठाउने व्यक्ति जस्तै थिए। आफू कति पापी रहेछु भनेर उनले महसुस गरे! तपाईं कत्तिको पापी हुनुहुन्छ? के तपाईंले आफूलाई पापीहरूमध्ये सबैभन्दा खराब पापीहरूको दर्जामा देख्नुभएको छ? के तपाईं आफूलाई एक ठूलो पापीको रूपमा देख्नुहुन्छ? के तपाईं येशू ख्रीष्टलाई एक ठूलो मुक्तिदाताको रूपमा देख्नुहुन्छ? येशू ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? ______________ _____________________________________________ ___
येशू मत्तीलाई बोलाउनुहुन्छ
येशूले उनलाई बोलाउनुहुँदा मत्ती के गर्दै थिए (मत्ती ९:९)? ____________________________________________। यसको मतलब उनी महसूल उठाउने काम गर्दै थिए। येशूले केवल तीनओटा शब्दले उनलाई बोलाउनुभयो: _________ _________ _________ (मत्ती ९:९)। (यी तीनओटा शब्दको अर्थ यो होः “मेरो चेला बन”)। के मत्तीले येशूको कुरा तुरुन्तै माने (मत्ती ९:९)? ____________। मत्ती त्यस्ता मानिस थिए जो आफैंमा र आफ्नै काममा (महसूल उठाउने, पैसा कमाउने काममा) डुबेका हुन्छन्। उनी केवल आफ्नो लागि मात्र सोच्ने व्यक्ति थिए। आज पनि धेरै मानिसहरू मत्ती जस्तै हुन्छन्। तिनीहरू केवल “आफू, आफूलाई र आफ्नो” मात्र विचार गर्छन्! तिनीहरू आफूमै डुबेका हुन्छन्। परमेश्वरको वा अरूहरूको बारेमा उनीहरूलाई कुनै परवाह हुँदैन।
येशूले उनलाई बोलाउनुभएपछि मत्तीमा आमूल परिवर्तन देखा पर्यो। अबदेखि उसो मत्ती मत्तीमै डुबेर बस्न सकेनन्। एक्कासी उनले मत्तीलाई बिर्सेर ख्रीष्टलाई पछ्याउन थाले। उनले प्रभुको बारेमा सोच्न थाले र साथै अरूहरूको बारेमा पनि सोच्न र उनीहरूको वास्ता गर्न थाले। लूका ५:२७-२९ अनुसार ख्रीष्टलाई पछ्याउन थालेपछि लेवी (मत्ती) ले के गरे (पद २९ हेर्नुहोस्)? _________________________________। उनले कसलाई निम्तो दिए (लूका ५:२९-३०)? ______________________________। मत्ती अरूहरूको वास्ता गर्न थाले! उनी अर्काको परवाह राख्न थाले। आफूले भेट्टाएका महान् मुक्तिदातालाई अरूहरूले पनि भेट्टाऊन् भन्ने उनको चाहाना भयो!
ख्रीष्टलाई चिन्न पाएर मत्ती एकदम खुशी थिए। साथै अरू पापीहरूले पनि ख्रीष्टलाई चिन्न सकून् भनेर आफूले सक्दो गर्न मत्ती उत्साहले भरिएका थिए। तर मत्तीको घरमा त्यस दिनको चहलपहललाई देखेर बेखुशी हुनेहरू त्यहाँ कोहीकोही थिए (लूका ५:३० मा हेर्नुहोस्)। उनीहरूले यस्तो सोचे, “यदि येशू असल छन् र धर्मी छन् भने तिनी किन यस्ता पापीहरूसित हुलमिल गर्छन्?” यी मानिसहरूलाई प्रभुले दिनुभएको जवाफलाई मत्ती ९:११-१३ मा पढ्न सकिन्छ। पद १२ मा येशूले भन्नुभयो, “____________ हरूलाई होइन तर ____________हरूलाई ____________को खाँचो पर्दछ।” येशूको भनाइको तात्पर्य के हो? यसको आत्मिक अर्थ के हो? (डाक्टर भनेको बिरामीहरूको बीचमा हुनु पर्ने व्यक्ति हो भन्ने कुरालाई ध्यानमा राखौं!) महसूल उठाउनेहरू र पापीहरूलाई के रोगीको संज्ञा दिन मिल्छ? कुन अर्थमा? उनीहरूलाई निको पार्न सक्ने को हुनुहुन्छ? के फरिसीहरूले आफूहरूलाई रोगीको रूपमा देख्दथे? तपाईं नि? के ख्रीष्टले मात्र निको पार्न सक्ने रोग तपाईंलाई पनि लागेको छ? तपाईंको रोग के छ? यसको उपाचर के हो? पापको रोग लागेको व्यक्तिलाई निको पार्न सक्ने महान् डाक्टर को हुन्? के तपाईं निको पारिनुभयो? ख्रीष्ट कस्ता मानिसहरूलाई बचाउन आउनुभएको हो (मत्ती ९:१३)? ____________। मत्ती यस्तै एक व्यक्ति थिए अनि मत्तीलाई चाहिएको मित्र येशू नै हुनुहुन्थ्यो (हेर्नुहोस् मत्ती ९:१२)।
प्रभुले यस चेलालाई पछिबाट विशेष कामको लागि प्रयोग गर्नुभयो। मत्तीलाई नयाँ नियमको पहिलो पुस्तकको लेखक हुने सौभाग्य दिनुभयो। महसूल उठाउने काममा मत्तीले होशियारीपूर्वक ठीक-ठीक अभिलेखहरू राख्नुपर्थ्यो। विश्वासी भएर मत्तीले होशियारीपूर्वक ख्रीष्टको जीवन र मृत्युको ठीक-ठीक विवरणहरू लेखे। आज यस अभिलेखलाई मत्तीको सुसमाचार भनिन्छ। के तपाईंले मत्तीको सुसमाचारलाई शुरूदेखि अन्तसम्म पढ्नुभएको छ?
शिमोन
मत्ती १०:४ मा अर्को चेलाको नाउँ छ। उनलाई शिमोन ____________ भनिएको छ। बाह्र चेलाहरूमा शिमोन नाउँ गरेका दुईजना थिए। एकजना शिमोन मत्ती १०:२ मा उल्लेखित छ जसको बारेमा हामीसित निकै जानकारी छ (उनी प्रायः पत्रुस नाउँले चिनिन्छन्)। अर्को शिमोन मत्ती १०:४ मा उल्लेखित छ जसको विषयमा हामीलाई खासै केही थाहा छैन! बाह्र चेलाका नाउँहरू सूचित गरिँदा बाहेक अरू बेलामा उनको उल्लेख गरिएको पाइँदैन। हामीलाई उनको नाउँ बाहेक अन्य केही पनि जानकारी दिइएको छैन!
तरैपनि शिमोनलाई “शिमोन ____________” (मत्ती १०:४) भनी उल्लेख गरिनु एउटा रोचक जानकारी हो। “कनानी” भन्नाले शिमोन काना शहरका थिए अथवा उनी कनानी वंशका थिए भन्ने अर्थ लाग्दैन। वास्तवमा यस शब्दले शिमोन एक “जोशिला व्यक्ति” थिए भन्ने जनाउँछ। उनी एक राजनीतिक पार्टीका सदस्य थिए जुन पार्टी पछिबाट “जेलोतेसहरू” (जोशिलाहरू) भन्ने नामले चिनिन्थ्यो।
हेर्नुहोस्, लूका ६:१५ ____________ भनिने शिमोन
प्रेरित १:१३ ____________ भनिने शिमोन
उनलाई हामी “जेलोतेस भनिने शिमोन” भनी जनाउनेछौं।
जेलोतेसहरू
“जेलोतेसहरू” को थिए र उनीहरू के विश्वास गर्थे? जेलोतेसहरू रोमी शासनको घोर विरोध गर्ने एउटा “जोशिलो” राष्ट्रवादी पार्टीका सदस्यहरू थिए। तिनीहरू एक स्वतन्त्र राष्ट्र बन्न चाहन्थे, रोमीहरूको शासनमुनि रहन चाहन्नथे। आजको युगमा भएका भए तिनीहरूले आफ्नो नाउँ सायद “इस्राएल जनमुक्ति सेना” राख्थे कि! तिनीहरू आफ्नो देशलाई रोमको जुवा (नियन्त्रण) बाट छुटाउन र स्वतन्त्र पार्न चाहन्थे। बल प्रयोग नगरी यो सम्भव छैन भन्ने तिनीहरूको धारणा थियो त्यसैले तिनीहरू आफ्नो राष्ट्रलाई छुटकारा दिलाउने लक्ष्य हासिल गर्न उपद्रव, डकैती र हत्यासमेत गर्ने गर्थे। जेलोतेसहरू, “परिणामले उपायलाई मान्यता दिन्छ” (असल परिणामको लागि खराब गर्न सकिन्छ) भन्ने विचारधारालाई अपनाउनेहरू थिए। परिणाम (रोमबाटको छुटकारा) ले उयाप (उपद्रव, हत्या, बलमिचाइ इत्यादि) लाई मान्यता दिन्छ। आफ्नो उद्देश्यपूर्तिको लागि तिनीहरू जे पनि गर्न तयार थिए (पापपूर्ण काम समेत)। के हामीले यस्तो विचारधारा अपनाउनु परमेश्वरको इच्छा हो? के परमेश्वर हामीले “खराब कुरा गरौं, र असल कुरा निस्कोस्” (रोमी ३:८) भन्ने सिद्धान्तलाई अपनाएको चाहनुहुन्छ? ____________। एकजना बाबुले भोकले मर्न लागेको आफ्नो परिवारलाई खुवाउन चोरी गर्नु के परमेश्वरको इच्छा हुन सक्छ?____________। (चोरी गर्नुको सट्टा त्यो बाबुले बरू के गर्न सक्छ?) ठीक गर्नलाई बेठीक गर्नु कहिल्यै ठीक होइन!
जेलोतेसहरूको क्रान्तिकारी अभियान सम्भवतः प्रेरित ५:३७ मा उल्लेखित यहूदाको विद्रोहसँगै शुरू भएको थियो। उक्त विद्रोह ख्रीष्टको जन्म भएको समयतिर शुरू भएको थियो। ख्रीष्टको सार्वजनिक सेवाकार्यको समयमा त्यहाँ थुप्रै “जेलोतेसहरू” भइसकेका थिए जोहरू बल प्रयोग गरी आफ्नो देशलाई स्वतन्त्र गराउन चाहन्थे। बरब्बा र ख्रीष्टसँगै मारिने कुकर्मीहरू सम्भवतः जेलोतेसहरू थिए जोहरू जेलोतेसहरू भएकै कारण रोमका शत्रु बनेका थिए।
तीमध्ये एकजना जेलोतेसको नाउँ शिमोन थियो। उनले येशू ख्रीष्टलाई पछ्याउने निर्णय गरे। ख्रीष्टले राष्ट्रलाई नभएर हृदयलाई स्वतन्त्र गराउन आउनुभएको रहेछ भनी उनले महसुस गर्न थाले। रोमको भन्दा पनि ज्यादै खराब दासत्व साँच्ची नै रहेछ: अर्थात्, पापको दासत्व (हेर्नुहोस् यूहन्ना ८:३२-३६)! शिमोनले सबैभन्दा महान् स्वतन्त्रकर्तालाई पछ्याए – अर्थात पुत्रलाई (यूहन्ना ८:३६)! जेलोतेस अभियानले आफ्नो लक्ष्य कहिल्यै हासिल गर्न सकेन। ई.सं. ७० मा जेलोतेसहरूले रोमीहरूलाई यति रिस उठाए कि रोमी सेनाले यरूशलेमलाई आफ्नो कब्जामा लिए र त्यस शहरलाई ध्वस्त गरे। आफ्नो राष्ट्रलाई स्वतन्त्र गराउन जेलोतेसहरू सफल भएनन्।
प्रत्येक विश्वासी बेग्लै खालको “जेलोतेस” बन्नु परमेश्वरको इच्छा हो। हामी असल-असल कामहरूमा ___________” (तीतस २:१४) भएको परमेश्वर चाहनुहुन्छ। यसको मतलब हामी प्रभुको निम्ति “आगो सल्केको” हुनुपर्छ! यसको मतलब हामी प्रभुका कुराहरूका निम्ति उत्साहित र उत्तेजित हुनुपर्छ। के तपाईं बाइबलीय शिक्षा पाइने खालको मण्डलीसित सङ्गति गर्न पाएकोमा उत्साहित हुनुहुन्छ? के तपाईं बाइबल पढ्नलाई उत्साहित हुनुहुन्छ? के तपाईं प्रार्थना गर्नलाई उत्साहित हुनुहुन्छ? के तपाईं प्रभुलाई खुशी पार्ने कुराहरू गर्नलाई उत्साहित हुनुहुन्छ? परमेश्वर आज जोशिला र उत्तेजित र उत्साहित विश्वासीहरू खोज्दै हुनुहुन्छ। दाँज्नुहोस्, प्रकाश ३:१९ लाई यूहन्ना २:१७ मा भएको येशूको नमुनासित।
शिमोन र मत्ती
शिमोन र मत्ती, यी दुईजना व्यक्तित्वहरू येशूका चेलाहरू बन्न सक्नुमा हाम्रो निम्ति एउटा पाठ नै छ। आपसमा मिल्नै नसक्ने यो जस्तै अर्कौ जोडी पाउन गाह्रै पर्ला:
निम्न विषमताहरूलाई विचार गर्नुहोस् —
मत्ती थिए महसूल उठाउने!
शिमोन थिए महसूललाई घृणा गर्ने!
(एक जेलोतेसले मत्ती २२:१७ को प्रश्नको कस्तो प्रत्युत्तर दिने थिए होलान्)?
मत्ती थिए विश्वासघाती अ-राष्ट्रवादी!
शिमोन थिए निष्ठावान् राष्ट्रवादी!
येशू ख्रीष्ट बेगर शिमोन र मत्तीको बीचमा नराम्रो शत्रुता हुनेथ्यो! तर यी दुई आपसमा मिलेर बस्न सक्नु, सँगै काम गर्न सक्नु, सँगै खान सक्नु, सँगै सेवा गर्न सक्नु, सँगै सिक्न सक्नुचाहिँ मानिसलाई बदल्न सक्ने सामर्थी ख्रीष्टको ठूलो आश्चर्यकर्म नै हो। येशू ख्रीष्टले बेमेललाई मेल गराउन सक्नुहुन्छ! येशू ख्रीष्टको कारण मत्ती र शिमोनका बीच थुप्रै समानताहरू हुन आए (तीमध्ये केही समानताहरू बताउन सक्नुहुन्छ?) मानिस-मानिसबीचका कतिपय भिन्नताहरूले ख्रीष्ट येशूमा खास कुनै समस्या ल्याउँदैन। गलाती ३:२८ ले विश्वासीहरूलाई भन्छ ख्रीष्ट येशूमा तिमीहरू सबै ____________ हौ।”
एफेसी ४:२ मा विश्वासीहरूलाई यो अर्ती दिइएको छ: “प्रेमले __________ – __________ सह।” यसको मतलब हामीले एक-अर्काका कुराहरूलाई प्रेममा सहनुपर्छ! मत्तीले शिमोनलाई कसरी सहे त्यो अचम्मलाग्दो कुरा हो। शिमोनले मत्तीलाई कसरी सहे त्यो अझ अचम्मलाग्दो कुरा हो। तर येशू ख्रीष्टले यी दुवैलाई कसरी सहनुभयो, त्यो त सबैभन्दा अचम्मलाग्दो कुरा हो! येशू ख्रीष्ट तपाईंलाई सहन राजी हुनुभएर तपाईंलाई बचाउन यस संसारमा आउनुभएको कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? हामी घीनलाग्दा हुँदाहुँदै ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो भने के यस कुराले हामीलाई अरूहरूलाई उनीहरू अयोग्य नै भए तापनि प्रेम गर्नलाई प्रेरणा दिनुपर्ने होइन र (यद्यपि उनीहरू धेरै हिसाबमा हामीभन्दा फरक होलान्)? मत्ती र शिमोनबाट सिकेको पाठलाई हामी नबिसौँ!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)