पुरानो नियमका पुस्तकहरू
बाइबल, एउटै ठेलीमा सङ्ग्रहित एक पुस्तकालय नै हो। “बाइबल” भन्ने शब्दको अर्थ “पुस्तकहरू” हो। बाइबलमा जम्माजम्मी ६६ पुस्तकहरू छन्:
यस अध्ययनमालामा हामी तपाईंलाई पुरानो नियमका ३९ पुस्तकहरूको परिचय दिन चाहन्छौं।
पुरानो नियमका पुस्तकहरूका चार समूहहरू
पुरानो नियमका ३९ ओटा पुस्तकहरूलाई चार समूहहरूमा विभाजन गर्न सकिन्छ:
अगामी तीन महिनाभित्र पुरानो नियमका ३९ ओटै पुस्तकहरूका नामहरूलाई क्रमैसँग भन्न र लेख्न सिक्न एउटा योजना गर्नुभयो भने राम्रो हुन्छ। यसले तपाईंलाई यी पुस्तकहरू भेट्टाउन मद्दत गर्नेछ। तपाईंको पास्टरले तपाईंलाई दनिएलको पुस्तक पल्टाउन लगाउनुहुँदा तपाईंलाई यो थाहा हुनुपर्छ, उक्त पुस्तक ________________को पुस्तकको पछाडि र ____________को पुस्तकको अगाडि पर्दछ।
यी पुस्तकहरू लेख्ने को थिए?
परमेश्वरको वचन बाइबल धेरैजना फरक-फरक व्यक्तिहरूद्वारा लेखिएको थियो। मोशाले बाइबलकै प्रथम पाँच पुस्तकहरू लेखे। अरू मानिसहरूले अरू पुस्तकहरू लेखे। बाइबलका लेखकहरू फरक-फरक समयमा जिउँथे। मलाकीले आफ्नो पुस्तक मोशाले भन्दा १००० वर्ष पछि लेखे। बाइबलका लेखहरू फरक-फरक पेशा भएका मानिसहरू थिए। दाऊद र आमोस गोठाला थिए। यहोशू एक सिपाही थिए। सुलेमान र दाऊद राजाहरू थिए। शमूएल (जसले सम्भवतः न्यायकर्ता र रूथ लेखे) एक पूजाहारी थिए। एज्रा एक शास्त्री (बाइबल शिक्षक) थिए। दानिएल एक महत्त्वपूर्ण राजकर्मचारी थिए। परमेश्वरले यी फरक-फरक व्यक्तिहरूलाई एकदम विशेष प्रकारले प्रयोग गर्नुभयो।
बाइबल मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबल परमेश्वरद्वारा पनि लेखिएको थियो भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। २ पत्रुस १:२१ मा हामी सिक्छौं, “परमेश्वरका पवित्र____________(जस्तै, मोशा, दाऊद, यशैया र दानिएल___________ __________ द्वारा प्ररणा पाएर बोले।” परमेश्वरले यी व्यक्तिहरूलाई विशेष प्रकारले चलाउनुभयो जसको परिणामस्वरूप तिनीहरूले जे-जे लेखे, ती कुराहरू परमेश्वरले उनीहरूद्वारा लेखाउन चाहनुभएकै कुराहरू थिए। परमेश्वरले यी मानिसहरूलाई एउटै पनि असत्य वा त्रुटिपूर्ण कुरा लेख्न दिनुभएन।बाइबल परमेश्वरको वचन हो भनेर हामीले कहिल्यै भुल्नु हुँदैन। बाइबल लेखाउन उहाँले धेरैजनालाई प्रयोग गर्नुभए तापनि बाइबलको एकमात्र वास्तविक लेखकचाहिँ परमेश्वर स्वयं हुनुहुन्छ।
अधिकांश बाइबल पुरानो नियममै निहित छ
पुरानो नियममा ३९ पुस्तकहरू छन्; नयाँ नियममा २७ मात्र।
पुरानो नियममा ९२९ अध्यायहरू छन्; नयाँ नियममा २६० मात्र।
पुरानो नियमले बाइबलको ३/४ भागलाई समेट्छ।
नयाँ नियमले बाइबलको १/४ भागलाई समेट्छ।
पुरानो नियम नयाँ नियमभन्दा कति ठूलो छ भनी दाँज्न यसो गर्न सक्नुहुन्छ। तपाईंको बाइबल लिनुहोस् र एउटा हातले पुरानो नियमका सम्पूर्ण पुस्तकहरू (उत्पत्तिदेखि मलाकीसम्म) लाई समाउनुहोस्। अर्को हातले नयाँ नियमका सम्पूर्ण पुस्तकहरू (मत्तीदेखि प्रकाशसम्म) लाई समाउनुहोस्।अब दाँज्नुहोस् प्रत्येक हातले कति-कति पन्नाहरू समाइराखेका छन्।
केही याद गर्नुपर्ने मितिहरू
पुरानो नियमका पन्नाहरूमा उल्लेखित घटनाहरू प्रभु येशू ख्रीष्ट बेथलेहेममा जन्मनुभन्दा अघि घटेका हुन्। सुलेमान ई.पू. ९७१ मा राजा भए भन्नुको अर्थ उनी प्रभु येशू बेथलेहोममा जन्मनुभन्दा ९७१ वर्ष अगाडि राजा भए भन्नु हो। निम्न चार मितिहरूलाई याद राख्नाले बाइबल बुझ्न मद्दत मिल्नेछ:
- अब्राहाम ई.पू. २००० तिर जिउँथे
- मोशा ई.पू. १५०० तिर जिउँथे
- दाऊद ई.पू. १००० तिर जिउँथे
- सुलेमानले निर्माण गरेको मन्दिरलाई बेबिलोनीहरूले ई.पू. ५०० तिर ध्वस्त पारे (यसको ठीक मिति थियो, ई.पू. ५८६)।
उहाँको कथा
बाइबल परमेश्वरको इतिहासको पुस्तक हो। यसले हामीलाई सबभन्दा शुरु (उत्पत्ति १:१) देखि लिएर सबभन्दा अन्त (प्रकाश २१-२२) सम्मकै विश्व इतिहासका कुराहरू बताउँछ।
बाइबल पढ्दै जाँदा हामी सिक्छौं कि वास्तवमा इतिहास (History) भनेको उहाँको कथा (His Story) नै रहेछ। इतिहास त परमेश्वरको कथा हो! धेरै मानिसहरू वास्तवमा इतिहास बुझ्दैनन् किनकि उनीहरू परमेश्वरलाई एकातिर पन्छाउँछन् र इतिहासमा परमेश्वरको कुनै सरोकार छैन भन्ने सोच्छन्। बाइबल पढ्दै जाँदा हामी यो पत्ता लगाउँछौं, इतिहाससँग परमेश्वरको पूर्णरूपमा सरोकार छ। परमेश्वरको एउटा उदेकको योजना छ जसलाई उहाँले शताब्दीयौंदेखि कार्यान्वयन गर्दै आउनुभएको छ। परमेश्वरले आफ्नो योजनालाई कार्यान्वयन गर्दै आउनुभएको तथ्य बाइबलमा हामी प्रस्टै देख्छौं जहाँ उहाँले आफ्नो कथा बताउनुहुन्छ!
उहाँको कथाको विषय को हो?
उहाँको कथाले एउटा जातिसित सम्बन्ध राखेको छ
पुरानो नियमको अधिकांश भाग एउटा जाति अर्थात इस्राएल राष्ट्रसँग सम्बन्धित छ। यस राष्ट्रको शुरुआत अब्राहामबाट भयो। अब्राहामको बारेमा हामी सर्वप्रथम उत्पत्ति १२ अध्यायमा पढ्छौं। यसको मतलव उत्पत्ति १२ अध्यायदेखि लिएर पुरानो नियमको सम्पूर्ण भागहरू हुँदै मलाकीको पुस्तकसम्मै, पुरानो नियमले यस राष्ट्रको कथा बताउँछ। सम्पूर्ण पुरानो नियम इस्राएल राष्ट्रसँग सम्बन्धित छ (उत्पत्तिको पहिलो ११ अध्यायहरू बाहेक)।
उहाँको कथा मुक्तिदाता येशू ख्रीष्टमा केन्द्रित छ
पुरानो नियम ख्रीष्ट-केन्द्रित ग्रन्थ हो। पुरानो नियम येशू प्रभु बेथलेहेममा जन्मनुभन्दा अगाडि लेखिएको भए तापनि यसले मुक्तिदाताको सम्बन्धमा धेरै कुरा बताउँछ।
लुका २४:२७ मा हामी यो सिक्छौं, पुरानो नियमले येशू ख्रीष्टको सम्बन्धमा थुप्रै कुरा बताउँदछ: “अनि उहाँले मोशाको र सबै भविष्यवक्ताहरूबाट शुरु गरेर ________पवित्र शास्त्रहरूमा (सम्पूर्ण पुरानो नियममा) _____________विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” पुरानो नियमको मूल विषय नै येशू ख्रीष्ट हो। यो पुरणरूपमै उहाँको विषयमा हो! लुका २४:४४-४५ र यूहन्ना ५:३९ पनि पढ्नुहोस् जहाँ पनि यही कुरा उल्लेख छ।
येशू ख्रीष्ट पुरानो नियमको हरेक पुस्तकमा भेटिनुहुन्छ। एक लेखकले यसरी व्यक्त गरेका छन्:
- उत्पत्तिमा उहाँ “स्त्रीको सन्तान” हुनुहुन्छ (३:१५)।
- प्रस्थानमा उहाँ पापीहरूका लागि मारिनुभएका परमेश्वरका थुमा हुनुहुन्छ (अध्याय १२)।
- लेवीमा उहाँ हाम्रो महापूजाहारी हुनुहुन्छ (पुरै पुस्तक)।
- गन्तीमा उहाँ याकूबबाटको तारा हुनुहुन्छ (२४:१७)।
- व्यवस्थामा उहाँ मोशा जस्तै अगमवक्ता हुनुहुन्छ (१८:१५)।
- यहोशूमा उहाँ प्रभुका सेनाहरूका कप्तान हुनुहुन्छ (५:१३-१५)।
- न्यायकर्तामा उहाँ परमप्रभुका दूत अर्थात् यहोवाका सन्देशवाहक हुनुहुन्छ (अध्याय १३)।
- रूथमा उहाँ हाम्रा “नातेदार-उद्धारक” हुनुहुन्छ (अध्याय ३)।
- शमूएल, राजाहरू र इतिहासमा उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ (१ शमूएल ८:१-९)।
- एज्रा, नेहम्या र एस्तरमा उहाँ पृथ्वीका सबै राज्यहरूमाथि सार्वभौम प्रभु हुनुहुन्छ (पुरै पुस्तक)।
- अय्युबमा उहाँ हाम्रा पुनरुत्थित र फर्की आउनुहुने उद्धारक हुनुहुन्छ (१९:२५)।
- भजनसङ्ग्रहमा उहाँ धन्यको मानिस (भजनसङ्ग्रह १), मानिसका पुत्र (भजनसङ्ग्रह २), क्रूसमा मारिनुभएको जन (भजनसङ्ग्रह २२), फेरि आउनुहुने जन (भजनसङ्ग्रह २४), राज्य गर्नुहुने जन (भजनसङ्ग्रह ७२) हुनुहुन्छ।
- हितोपदेशमा उहाँ हाम्रो बुद्धि हुनुहुन्छ (अध्याय ८)।
- उपदेशकमा उहाँ मानिसले बिर्सेका बुद्धिमान जन हुनुहुन्छ (९:१४-१५)।
- श्रेष्ठगीतमा उहाँ मेरा प्रिय हुनुहुन्छ (२:१६)।
- यशैयामा उहाँ हाम्रो सट्टामा दुःख भोग्हुनुहुने जन हुनुहुन्छ (अध्याय ५३)।
- यर्मियामा उहाँ परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ (२३:६)।
- विलापमा उहाँ शोकका मानिस हुनुहुन्छ जो आफ्ना जनहरूका निम्ति रुनुहुन्छ (१:१२-१८)।
- इजकिएलमा उहाँ परमेश्वरका महिमा हुनुहुन्छ (१:२८)।
- दानिएलमा उहाँ चकनाचूर पार्ने ढुङ्गा हुनुहुन्छ (२:३४) र आगोको भट्टि र सिंहहरूको खोरमा साथ दिने मित्र हुनुहुन्छ (३:२३-२५; ६:२२)।
- होशेमा उहाँ दाऊदका महाराजा हुनुहन्छ (३:५)।
- योएलमा उहाँ आफ्ना जनहरूका आशा हुनुहुन्छ (३:१६)।
- आमोसमा उहाँ इस्राइललाई छुटाउनुहुने जन हुनुहुन्छ (३:१२)।
- ओबदियामा उहाँ सियोन पर्वतमा हुनुहुने उद्धारक हुनुहुन्छ (पद १७)।
- योनामा उहाँ गाडिनुभएका र बौरिउठ्नुभएका मुक्तिदाता हुनुहुन्छ (तुलना गर्नुहोस् मत्ती १२:४०)।
- मीकामा उहाँ बेथलेहेममा जन्मनुहुने अनन्तका परमश्वर हुनुहुन्छ (५:२)।
- नहूममा उहाँ क्रोधको दिनमा हाम्रा शरणस्थान हुनुहुन्छ (१:७)।
- हबक्कूकमा उहाँ हाम्रो विश्वासका लङ्गर हुनुहुन्छ (२:४)।
- सपन्याहमा उहाँ न्याय र शुद्धिकरणका लागि बीचमा हुनुहुने जन हुनुहुन्छ (३:५,१५)।
- हग्गैमा उहाँ उपस्थित र सामर्थी प्रभु हुनुहुन्छ (१:१३)।
- जकरियामा उहाँ हिर्काइएका गोठाला हुनुहुन्छ (१३:७)।
- मलाकीमा उहाँ धार्मिकताका पुत्र हुनुहुन्छ (४:२)।
बाइबल इतिहासलाई सरसरती हर्दा
सृष्टि
उत्पत्ति
परमेश्वरले सारा त्रिभुवन (universe) को सृष्टि गर्नुभयो अनि मानिसलाई पृथ्वीमा राख्नुभयो तर मानिसले आफ्ना सृष्टिकर्ताको आज्ञा उल्लङ्घन गर्यो र ऊ पापमा फस्यो।
जलप्रलय
उत्पत्ति
परमेश्वरले एक विश्वव्यापी जलप्रलय पठाउनुभई पापी मानिसलाई इन्साफ गर्नुभयो। उक्त भयानक इन्साफमा केवल नूह र उनको परिवार बचाइए।
भाषाको खलबल
उत्पत्ति
परमेश्वरले बाबेल धरहराका पापी मानिसहरूका बीच विभिन्न भाषाको खलबल पठाउनुभई तिनीहरूलाई विश्वको चारैतिर छरपुष्ट पारिदिनुभयो। ती मानिसहरू छरिँदै गएर नै विभिन्न राष्ट्रहरू शुरु भए। अब्राहामको बोलावट
उत्पत्ति
परमेश्वरले अब्राहामलाई आफ्नो कुटुम्ब र भूमिलाई छोडेर प्रतिज्ञाको देशमा जानलाई बोलाउनुभयो। अब्राहाम यहूदी जाति इस्राएलका पिता भए।
दासत्व
प्रस्थान
यूसुफको समयमा इस्राएलका सन्तानहरू मिश्रदेश झरे। पछिबाट उनीहरू त्यस देशमा करिब ४०० वर्षसम्म दासत्वमा परे। तर अन्तमा परमेश्वरले उनीहरूलाई छुटकारा दिनुभयो र मिश्रदेशबाट लाल समुद्र पार गराउँदै उनीहरूलाई बाहिर निकाल्नुभयो।
छाउनी
प्रस्थान – व्यवस्था
चालिस वर्षसम्म इस्राएलका सन्तानहरू उजाडस्थानमा छाउनीमा बसोबास गरे। यही समयमा उनीहरूलाई दस आज्ञा दिइयो र भेट हुने पाल निर्माण गरियो।
कब्जा
यहोशू
यहोशूको नेतृत्वमा इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र प्रवेश गरे, त्यसलाई कब्जा गरे र त्यहाँ बसोबास गर्न थाले।
विकृति
न्यायकर्ता
प्रतिज्ञाको देशमा बसोबास गर्न थालेपछि इस्राएलका सन्तानहरूले आफ्ना हृदयहरूलाई प्रभुबाट फर्काउन थाले र “आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्न थाले”। न्यायकर्ताहरूको समय थियो यो।
मुकुट
शमूएल, राजा, इतिहास
न्यायकर्ताहरूको समयपछि राजाहरूको समय आयो। शाऊल, दाऊद र सुलेमान इस्राएलका शुरुका राजाहरू थिए। सुलेमानपछि राज्य दुई भागमा विभाजित हुनगयो: १) इस्राएलको उत्तरी राज्य जसको राजधानी सामरियामा थियो; २) यहूदाको दक्षिणी राज्य जसको राजधानी यरूशलेममा थियो। उत्तरी र दक्षिणी राज्यका आ-आफ्नै राजाहरू भए।
कैद
दोस्रो राजा, दोस्रो इतिहास
परमेश्वरले अश्शूरीहरूलाई पठाउनुभई पहिला इस्राएलको उत्तरी राज्यलाई इन्साफ गर्नुभयो।अश्शूरीहरूले इस्राएलको राज्यलाई पराजित गरे र मानिसहरूलाई कैद गरी लगे पछिबाट परमेश्वरले नेबुकदनेजर राजाको नेतृत्वमा बेबिलोनीहरूलाई पठाउनुभई यहूदाको दक्षिणी राज्यलाई इन्साफ गर्नुभयो। यहूदाको राज्य ढल्यो र मानिसहरू कैदी बनाइएर बेबिलोन लगिए।
निर्माण
एज्रा, नेहम्याह, एस्तर
बेबिलोनी कैदको ७० वर्षपछि परमेश्वर इस्राएल राष्ट्रमाथि अनुग्रह गर्नुभयो र यहूदीहरूका एउटा सानो झुण्ड (करिब ५०,००० जति) लाई देशमा फर्कन दिनुभयो।यही समयमा नै उनीहरूले परमेश्वरको भवनलाई निर्माण गरे जसलाई बेबिलोनीहरूले ध्वस्त पारेका थिए (एज्रामा पढ्नुहोस्) अनि पछिबाट उनीहरूले यरुशलेम शहरका पर्खालहरूको पुनर्निर्माण गरे (नेहम्याहमा पढ्नुहोस्)। यही चरणमा पुगेर पुरानो नियम इतिहास टुङ्गिन्छ। यसको करिब ४०० वर्षपछि प्रभु येशू ख्रीष्ट बेथलेहेम शहरमा जन्मनुभयो।
* * * * *
अब अगामी पाठहरूमा हामी पुरानो नियमका ३९ ओटै पुस्तकहरूलाई अलिक नजिकबाट अध्ययन गर्न तयार छौं। ती पुस्तकहरूलाई एक एक गर्दै हेर्ने क्रममा हामी निम्न प्रकारका प्रश्नहरू अगाडि सार्दै अध्ययन गर्न चाहन्छौं:
- यस पुस्तकको नाम के हो र किन यसलाई उक्त नाम दिइयो?
- यस पुस्तकको विषय के हो?
- यस पुस्तकमा कुनै चाबी पद छ?
- यस पुस्तकको विचार गर्दा मैले याद गर्नुपर्ने कुरा के हो?
- यस पुस्तक बाइबलका अरू पुस्तकहरूसँग कसरी सम्बन्धित छ?
- यस पुस्तकको सन्देशले मेरो जीवनलाई कसरी परिवर्तन गर्न सक्दछ?
यी प्रश्नहरूका उत्तर खोज्ने क्रममा परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)