एज्रा, नहेम्याह र एस्तर
एज्रा, नहेम्याह र एस्तर
एज्रा, नहेम्याह र एस्तरका पुस्तक पुरानो नियमका ऐतिहासिक पुस्तकहरूमध्ये आखिरी तीन पुस्तक हुन्। यहूदीहरूलाई बेबिलोनी कैद (Babylonian Captivity) पछि आइपरेका कुराका वृत्तान्त नै यी पुस्तकका मूल विषयवस्तु हुन् (यस अध्ययनमालाको पहिलो अध्यायमा “निर्माण” उपशीर्षकमुनि हेर्नुहोस्)।
बेबिलोनी कैद ७० वर्ष लामो थियो। सिङ्गो यहूदा राज्यलाई बेबिलोन देशमा लगिएको थियो जसलाई “दक्षिणको कैद” (Southern Captivity) पनि भनिन्छ। के यति टाढो परदेशमा रहनुपर्दा यहूदीहरू खुशी थिए (भजनसङ्ग्रह १३७:१-४)? _______। तिनीहरूले आफ्नो मातृभूमि र आफ्नो प्रिय शहर यरूशलेमलाई बिर्सन सकेनन् (भजनसङ्ग्रह १३७:५)। बेबिलोनमा रहेका दानिएल एक यहूदी आफ्ना परमेश्वरलाई दिनहुँ तीतीन पटक प्रार्थना गर्थे। उनी कतातिर फर्केर प्रार्थना गर्थे (दानिएल ६:१०)? __________________
आफ्नो जातिलाई सधैँ बेबिलोनमा राख्नु परमेश्वरको योजना थिएन। परमेश्वरले आफ्नो योजना यर्मिया भविष्यवक्तालाई बताउनुभएको थियो। बेबिलोनी कैदको ७० वर्षपछि परमेश्वरले बेबिलोनका राजालाई के गर्नेवाला हुनुहुन्थ्यो (यर्मिया २५:१२)? _______________________________________। उक्त अगमवाणी हुबहु पूरा भयो! परमेश्वरले कोरेस नाउँ गरेका फारसी राजालाई उठाउनुभयो अनि कोरेसले बेबिलोन राज्यलाई आफ्नो अधीनमा ल्याए! सत्तरी वर्ष पूरा भएपछि उहाँ आफ्ना जातिकहाँ आउने र उनीहरूलाई उनीहरूकै प्रिय भूमिमा ___________ ल्याउने (यर्मिया २९:१०) प्रतिज्ञासमेत परमेश्वरले गर्नुभएको थियो। परमेश्वरले कोरेस राजालाई सो पूरा गराउन पनि प्रयोग गर्नुभयो! हामी यसबारेमा दोस्रो इतिहासको आखिरी दुई पदमा र एज्राको पहिलो दुई पदमा पढ्न सक्छौँ।
यरूशलेममा तीनओटा फर्काइ
यहूदीहरू बेग्लाबेग्लै समयमा जम्मा तीनपटक आफ्नो मातृभूमिमा फर्केर आए र यसको वृत्तान्त नै एज्रा र नहेम्याहका पुस्तकका विषयवस्तु हुन्। यी तीनओटा फर्काइलाई विचार गरौँ:
१) यरुबाबेलको नेतृत्वमा पहिलो फर्काइ
यरुबाबेल इस्राएलीहरूका राज्यपाल (नायक) थिए; उनको जन्म राजा दाऊदको वंशमा भएको थियो। कैदबाट यरूशलेम फर्केको पहिलो जमातलाई यिनैले नेतृत्व गरेका हुन्। एज्राको अघिल्लो अध्यायहरूमा यसकै बयान पाइन्छ।
यरुबाबेलसित कतिजना यहूदीहरू फर्के? यसको जवाफ एज्रा २:६४-६५ मा पाइन्छ। दासहरूलाई समेत गनेर आफ्ना पितापूर्खाहरूको देशमा फर्कने यहूदीहरू करिब ५०,००० मात्र थिए। यो ज्यादै थोरै हो! यो सानो समूहलाई बाइबलमा “बचेकाहरू” (remnant) भनेर जनाइएको छ। बेबिलोन तथा अन्य राष्ट्रमा बसोबास गरिरहेका धेरैजसो यहूदीहरू आरामदायी घरहरूमा बस्दै आएका थिए अनि उनीहरू जहाँ थिए त्यहीँ नै बसिरहन चाहन्थे। तर केही यहूदीका हृदयमा भने उनीहरूले परमेश्वरबाट पाएका भूमिप्रति माया थियो; तिनीहरू फर्क चाहन्थे। कोरेसबाट अनुमित पाउनेबित्तिकै तिनीहरू जानलाई तयार भइहाले (हेर्नुहोस् एज्रा १:१-३)।
पचास हजार भनेको ठूलो जमातजस्तो लाग्न सक्छ तर यहोशूसित प्रतिज्ञाको देशभित्र प्रवेश गर्दाको उनीहरूको सङ्ख्यासित तुलना गर्ने हो भने यो केही होइन। गन्तीको पुस्तकअनुसार करिब कतिजना यहूदीहरू प्रतिज्ञाको देशभित्र पसेका थिए (जवाफको लागि यस अध्ययनमालाको दोस्रो अध्यायमा हेर्न सक्नुहुन्छ)? _________________। त्यसको दाँजोमा ५०,००० धेरै होइन। (टिप्पणी: एउटा विशाल रङ्घशालामा ५०,००० मानिसहरू अटाउन सक्छन् भने बीस लाख अटाउन त्यत्रै ४० ओटा रङ्घशालाहरू चाहिन्छ!)
आफ्नो देशमा फर्कने ती यहूदीलाई एउटा कामले पर्खिरहेको थियो: मन्दिरको पुनर्निर्माण। सोलोमनले निर्माण गरेका सुन्दर मन्दिर (परमेश्वरको भवन) लाई बेबिलोनीहरूले के गरे (२ इतिहास ३६:१९)? _______________________________। बचेका यहूदीहरू (यहूदीहरूको सानो समूह) यरूशलेम शहरमा आइपुग्दा उनीहरूले जताततै खरानी, ढुङ्गाको थुप्रो र भग्नावशेष बाहेक केही देख्न पाएनन्। मन्दिरको त नाउँनिशानै थिएन। ती यहूदीका सामु ठूलो काम थियो!
२) एज्राको नेतृत्वमा दोस्रो फर्काइ
करिब ८० वर्ष बितेपछि एज्रा नाम गरेका एक कुशल बाइबल शिक्षकको नेतृत्वमा यहूदीहरूको अर्को समूह यरूशलेम फर्क्यो। पहिलो फर्काइको तुलनामा यो झनै सानो समूह थियो (केही हजार मात्र)। यहूदीहरूको यस समूहको अचम्मको यात्राको बारेमा एज्रा ७ र ८ मा पढ्न सकिन्छ।
३) नहेम्याहको नेतृत्वमा तेस्रो फर्काइ
करिब १३ वर्षपछि नहेम्याह यहूदीहरूको एउटा सानो समूहलाई यरूशलेम फर्काई ल्याए। उक्त घटनाको बारेमा हामी नहेम्याह अध्याय २ मा पढ्न सक्छौँ। नहेम्याहसित कतिजना फर्केका थिए भन्ने कुरा बाइबलले उल्लेख गरेको छैन तर सम्भवतः त्यो समूह ठूलो थिएन। यरूशलेम आइपुगेर नहेम्याहले यहूदीहरूलाई शहरको पर्खाल पुनर्निर्माण गर्नलाई हौसला दिए। त्यसबेलासम्म मन्दिर पुनर्निर्माण भइसकेको थियो तर शहरको पर्खाल भने जीर्ण अवस्थामा नै थियो। शहरको वरिपरि पर्खाल हुनु किन महत्त्वपूर्ण कुरा थियो?
(क) त्यसले शहरलाई शोभा दिन्थ्यो
(ख) त्यसले केटाकेटीहरू हराउनदेखि जोगाउँथ्यो
(ग) त्यसले शहरलाई शत्रुदेखि सुरक्षित राख्थ्यो
(घ) त्यसले गाइबस्तु हराउनदेखि जोगाउँथ्यो
नहेम्याहको समयमा ती यहूदीका सामु एक ज्यादै ठूलो काम थियो!
फारसका राजाहरू
एज्रा, नहेम्याह र एस्तारका पुस्तकहरू पढ्ने क्रममा विभिन्न राजाका नामहरू भेटिन्छन्। यी मानिसहरू फारसी (Persian) राजाहरू थिए। बाइबलमा यी राजाका नाम भेटिँदा तलको सूचिमा हेरेर कुनचाहिँ राजा को थिए भनेर थाहा गर्न सक्नुहुनेछ:
- कोरेस महान् (ई. पू. ५५०-५३०) – इस्राएलीहरूलाई छुटकारा दिन एकजना राजाको उदय हुनेछ भनेर यशैयाले धेरै अघिबाटै भविष्यवाणी गरेका राजा यिनै थिए (यशैया ४४:२८; ४५:१-५)। उनले बेबिलोनी सेनालाई परास्त गरे र यहूदीहरूलाई आफ्नो मातृभूमिमा फर्केर उनीहरूको मन्दिर पुनर्निर्माण गर्नलाई अनुमति दिए (एज्रा अ य १)। कोरेसको राज्यकालसम्म दानिएल जीवितै थिए (दानिएल १:२१; १०:१)।
- क्याम्बायसीस् (ई. पू. ५३०- ५२२)
- स्मर्डीस् (यिनले एक वर्ष पनि राज्य गरेनन्)
- दारा महान् (ई. पू. ५२२- ४८६) – यिनले मन्दिरको निर्माण कार्य कुनै पनि विध्नबाधाबिना पूरा गरियोस् भन्ने उर्दी निकाले (एज्रा अध्याय ६)। यिनैको राज्यकालमा मन्दिरको निर्माण कार्य सम्पन्न पनि भयो (एज्रा अध्याय ६)। टिप्पणी: दानिएलमा उल्लेख भएका मादी दारा (हेर्नू: दानिएल ५:३१, ६:१) र यस राजाका बीच अलमल नहोस्। मादी दाराचाहिँ कोरेस महानका खटनमा बेबिलोनका राज्यपाल भएका थिए।
- अहासूरस वा जर्क्सीस् (ई. पू. ४८६-४६४) – एस्तरको पुस्तकमा उल्लेखित राजा यिनै थिए। एस्तर उनकी रानी बनिन्। यिनी एज्रा ४:६ मा पनि उल्लेख गरिएका छन्।
- अर्तासास्त १ (ई. पू. ४६४- ४२३)
यस राजाको पहिलो उर्दीअनुरूप यहूदीहरूको शहर र पर्खालको पुनर्निर्माण गर्नलाई रोक्का गरिएको थियो (हेर्नू: एज्रा ४:६-२३)। पछिबाट उनले दाखरस टक्र्याउने आफ्ना अधिकृत नहेम्याहलाई यरूशलेम फर्केर शहरको पर्खालको पुनर्निर्माण गर्नलाई अनुमति दिए (नहेम्याह अध्याय १-२)। यिनी उही राजा थिए जसले पहिला एज्रालाई फर्कने अनुमति दिएका थिए (एज्रा अध्याय ७- ८)।
इतिहासमा यी सबै राजा महान् थिए तरैपनि एज्रा, नहेम्याह र एस्तरका पुस्तक पढ्ने क्रममा हामी यो महसुस गर्छौँ कि यी राजाका पनि महाराजा स्वर्गमा हुनुहुन्छ जसले सबै कुराको नियन्त्रण गर्नुहुन्छ।
तीन पुस्तक, चार वृत्तान्त
एज्राको पुस्तक ज्यादै रोचक छ! यो वास्तवमा दुईटा पुस्तक मिलेर बनेको छ: पहिलो ६ अध्यायहरू यसको पहिलो पुस्तक हो भने आखिरी ४ अध्यायहरू यसको दोस्रो पुस्तक हो। छैटौँ र सातौँ अध्यायका बीच करिब ५८ वर्षको अन्तराल छ।

छैटौँ र सातौँ अध्यायको बीचमा निम्न कुरा पाउँछौँ:
करिब ५८ वर्षको अन्तराल जुनबेला एस्तरको पुस्तकका सम्पूर्ण घटनाहरू घटेका हुन्।

एज्रा अध्याय १० पछि हामी निम्न कुरा पाउँछौँ:
नहेम्याहको पुस्तकका सम्पूर्ण घटनाहरू।
यसर्थ, हाम्रा सामु पुस्तक तीनओटा छन् तर वृत्तान्त चारओटा छन्।
१. यरुबाबेलको वृत्तान्त (एज्रा अध्याय १-६)
२. एस्तरको वृत्तान्त (एस्तरको पुस्तक)
३. एज्राको वृत्तान्त (एज्रा अध्याय ७-१०)
४. नहेम्याहको वृत्तान्त (नहेम्याहको पुस्तक)
अब हामी यी वृत्तान्तहरूलाई एक-एक गरी हेरौँ।
यरुबाबेलको वृत्तान्त
(एज्रा अध्याय १-६)

चाबी पद
यस खण्डको चाबी पद: एज्रा ५:५ – “तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्वरको निगाह भएकोले…[मन्दिर निर्माणको] काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (आयिन्) को अक्षरशः रुपान्तर हो: “आँखा”।) परमेश्वरको आँखा अर्थात् उहाँको कृपादृष्टि आफ्ना जनहरूमाथि रहेको थियो। परमेश्वर आफ्ना जनहरूको पक्षमा सक्रिय हुनुहुन्थ्यो।
अर्को चाबी पद: एज्रा १:५ – “त्यसपछि यरूशलेममा परमप्रभुको भवन (मन्दिर) को ______________ गर्न परमेश्वरले _______________ पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।” परमेश्वरले यी मानिसका हृदयमा काम गर्नुभयो! उहाँले उनीहरूलाई प्रेरणा दिनुभयो, मन्दिर निर्माण गर्ने इच्छा दिनुभयो। परमेश्वरको कृपादृष्टिमा आफ्ना जनहरूमाथि रहेको थियो! स्मरण होस्, आफ्नो देशमा फर्की आएका यहूदीहरूको सङ्ख्या ठूलो थिएन। उनीहरू शक्तिशाली सेनाको रूपमा पक्कै पनि थिएनन्। त्यहाँ उनीहरू अरू जातिहरूले घेरिएका थिए, शत्रुहरू चारैतिर थिए। यी शत्रुका बारेमा हामी एज्रा ४-५ मा पढ्छौँ। यी शत्रुले यहूदीहरूलाई मन्दिर निर्माण गर्नदेखि रोक्नलाई भ्याएसम्म प्रयास गरे। यी शत्रु सफल भए कि भएनन्? के यहूदीहरूले परमेश्वरको भवन निर्माणको काम पूरा गरे (एज्रा ६:१५)? __________। परमेश्वरको कृपादृष्टि आफ्ना जनहरूमाथि हुनु नै यहूदीहरूको सफलताको रहस्य थियो। उनीहरूको देखरेख गर्न र उनीहरूलाई रक्षा गर्न यहूदीका पक्षमा महान् परमेश्वर स्वयम् हुनुहुन्थ्यो! यहूदीका परमेश्वरका सामु यहूदीका शत्रुका कुनै सीप चलेन!
तपाईँ विश्वासी हुनुहुन्छ भने निश्चय हुनुहोस्, परमेश्वरको आँखा तपाईँमाथि छ! १ पत्रुस २:२५ मा प्रभु येशू ख्रीष्टलाई हाम्रा _____________का ___________ र _____________ भनिएको छ। गोठालाको काम आफ्नो भेडाको देखरेख गर्नु हो। “अध्यक्ष” को अर्थ हो “देखरेख गर्ने, हेरविचार गर्न”। हाम्रो वास्ता गर्ने एक महान् गोठाला हुनुहुन्छ! के संसारमा छँदा विश्वासीले शत्रुहरूको सामना गर्नुपर्ने हुन्छ? के हाम्रा परमेश्वर यी शत्रुभन्दा महान् हुनुहुन्छ? हामीले परमेश्वरलाई देख्न सक्तैनौ तर पनि हामी ढुक्क रहन सक्छौँ कि उहाँले हामीलाई देख्नुहुन्छ! हरेक विश्वासीले उत्पत्ति १६:१३ मा हागारले भनेजस्तै भन्न सक्नुपर्छ: “मलाई ____________ परमेश्वर तपाईँ हुनुहुन्छ।”
एस्तरको वृत्तान्त
(एस्तरको पुस्तक)
परमेश्वरको नाम कतै उल्लेख नभएको पुस्तक
एस्तरको पुस्तकको बारेमा एउटा रोचक तथ्य यो छ: यस पुस्तकमा परमेश्वरको नाउँ कतै उल्लेख छैन! बाइबलका अन्य ६५ पुस्तक प्रत्येकमा परमेश्वरको नाउँ उल्लेख छ। एस्तरको पुस्तक परमेश्वरको नाउँको सम्बन्धमा किन मौन छ?
यसबारे राम्ररी विचार गरौं। एस्तरको पुस्तकको शुरुमा एक महान् फारसी राजा सिंहासनमा बिराजमान छन् (एस्तर १:२)। उनको राज्य यति विशाल छ कि त्यो भारतदेखि इथियोपियासम्मै फैलिएको छ (एस्तर १:१)। यिनीभन्दा महान् राजा पृथ्वीमा अरू कोही थिएनन्!
इस्राएलका राजाचाहिँ कहाँ हुनुहुन्थ्यो? यहूदीहरूका परमेश्वर, यहोवा, कहाँ हुनुहुन्थ्यो? यहूदी जाति बेबिलोनीहरूद्वारा कैद गरी लगिएका थिए र अहासूरसका राज्यकालमा अधिकांश यहूदीहरू आफ्नो मातृभूमिको बाहिरै बसोबास गरिरहेका थिए। अनि यरुबाबेलको वृत्तान्तमा हेरिहाल्यौँ (एज्रा अध्याय १-६), कसरी मन्दिर पुनर्निर्माण गर्नलाई यहूदीका बचेका एउटा सानो समूह मात्र यरूशलेम फर्केर आए। के इस्राएलका परमेश्वर आफ्नो सिंहासनमै हुनुहुन्थ्यो त? के बेबिलोनी र फारसी जातिले परमेश्वरको राज्यलाई निमिट्यान्न पारे त? विश्वका जाति-जातिमाथि राज्य गर्ने फारस हुन् कि परमेश्वर?
के आफ्नो जाति यहूदीका निम्ति परमेश्वरको सक्रिय वास्ता थियो? अवश्य थियो! यस पुस्तकमा परमेश्वरको नाम कतै भेटिँदैन तरैपनि परमेश्वरको सक्रिय हात भने शुरुदेखि अन्तसम्मै देखिन्छ! कतिपल्ट परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न अदृश्य ढङ्गले काम गर्नुहुन्छ! कतिको नजरमा परमेश्वर केही नगरी बस्नुभएको जस्तो देखिएला तरैपनि आत्मिक जनले स्पष्टै जान्दछ, परमेश्वर “____________ ________ ___________ ________ __________ सल्लाह मुताबिक” (एफेसी १:११) काम गर्दै, नियन्त्रण गर्दै, चलाउँदै हुनुहुन्छ। नबुकदनेसरले समेत एकपल्ट यो पाठ सिक्नुपर्यो, परमेश्वर सिंहासनमै विराजमान हुनुहुन्छ (दानिएल ४:३३-३७)। उहाँ “_______________का सबै राज्यहरूमा शासन गर्नुहुन्छ” (२ इतिहास २०:६), फारसको राज्यमाथि पनि! परमेश्वर ___________को सिंहासनमा बस्नुहुन्छ (भजनसङ्ग्रह १०३:१९)। के उहाँले तपाईँको हृदयको सिंहासनमा आफ्नो स्थान पाउनुभएको छ?
यस पुस्तकमा परमेश्वरको मात्र होइन शैतानको नाउँ पनि कतै भेटिँदैन। एस्तरको पुस्तकमा शैतानको नाउँ कतै नभेटिए तापनि, उसको दुष्ट हातले काम गरिरहेको भने पाउँछौँ। शैतानले “पर्दाको पछाडिबाट” सक्रियरूपमा आफ्नो हतियार हामानको माध्यमद्वारा परमेश्वरका जनहरूलाई नष्ट गर्न खोजिरहेको देख्छौँ।
यहूदीहरू ठूलो सङ्कटमा
शैतानको हतियार हामानले समस्त यहूदी जाति र राष्ट्रको विनाश गर्ने दुष्ट षड्यन्त्र रच्यो! सबै यहूदीहरू एक निश्चित दिनमा नष्ट गरियोस् भनी लेखिएको उर्दीलाई राजाद्वारा हस्ताक्षर गराउन समेत ऊ सफल भयो (एस्तर ३:१३)। त्यसमाथि, राजाको उर्दी अपरिवर्तनीय थियो। यहूदी जाति नष्टै हुने देखिन्थे! यहूदी राष्ट्रको अन्त हुने नै देखिन्थ्यो!
ठीक त्यतिबेला परमेश्वरले आफ्नो उदेकको काम थाल्नुभयो। त्यहाँ एउटा घटना घट्यो जसले इतिहासलाई नै मोड्यो र यहूदी राष्ट्र बचाइन सम्भव भयो। उक्त घटना कुन थियो? त्यो हामी एस्तर ६:१ मा पढ्छौँ – राजा निदाउन सकेनन्! एक रातको कुरा हो, राजालाई निदाउन गाह्रो पर्यो अनि उनी निदाउन नसकेकाले त्यहाँ त्यस्ता केही कुराहरू यस्तो प्रकारले हुन गए कि दुष्ट हामान विफल भए र यहूदी राष्ट्र बचाइए। परमेश्वर यति महान् हुनुहुन्छ, उहाँले एउटा राजाको निद्रारहित रातलाई समेत प्रयोग गर्नुभई आफ्नो सिद्ध योजनालाई पूरा गराउन सक्नुहुन्छ! उक्त रात राजा निदाउन नसक्नु कुनै संजोगको कुरा थिएन!
यहूदीहरूको “भाग्य” बलियो रहेछ भनी हामी नभनौँ। होइन, परमेश्वरले आफ्नो काम गर्दै हुनुहुन्थ्यो, अनौठो र रहस्यमय ढङ्गले आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्थ्यो! एस्तर एउटा यस्तो पुस्तक हो जसमा परमेश्वरको नाम कतै भेटिँदैन तर उहाँको हात भने जहाँतहीँ देखिन्छ! अनि यही परमेश्वर आज पनि आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्छ!
चाबी पद
एस्तरको चाबी पद: एस्तर ४:१४ (पदको आखिरी भाग)-“शायद यस्तै समयको निम्ति नै तिमी यो ____________ मा पुगेकी हौ कि?” यहाँ यहूदी मोर्दकै एस्तरसित कुरा गर्दै थिए। रानी भएकीले राजाकहाँ गएर उनले कुरा गरी यहूदी राष्ट्रलाई बचाउन शायद सक्नेछिन् कि भन्ने आशा मोर्दकैले राखेका थिए। यस पदमा मोर्दकैले उक्त परिस्थितिमा परमेश्वकरको हात रहेको कुरा महसुस गरेको देखिन्छ। परमेश्वरले आफ्नो जातिलाई छुटाउनुहुनेछ भनी उनी निश्चित थिए। अनि आफ्नो अन्तस्करणमा मोर्दकै जान्दथे, एस्तर रानी हुनु कुनै संजोगको कुरा होइन भनेर (उनी कसरी रानी बन्न पुगिन् भन्ने कुरा एस्तर अध्याय १-२ मा बताइएको छ)। त्यो “भाग्य” को सवाल थिएन। “यस्तै समयको निम्ति” उनी रानी बन्नु परमेश्वरकै योजना थियो। उक्त समयमा एस्तर रानी बन्न पुग्नु भनेको आफ्ना जातिका निम्ति परमेश्वरको योजनाभित्रकै कुरा हुनुपर्छ भनी मोर्दकै निश्चित थिए। अनि एस्तरको पुस्तक पढ्दै जाने क्रममा हामी मोर्दकैको धारणा एकदम ठीक भएको पाउँछौँ। ठीक समयमा ठीक कुरा बोल्नलाई ठीक ठाउँमा ठीक व्यक्ति हुनलाई परमेश्वरले एस्तरलाई नियुक्त गर्नुभएको थियो!
यो कुरा आज हाम्रो जीवनमा लागु हुन्छ। तपाईँ यस संसारमा जन्मनु, तपाईँको बाबु आमा जो जो हुनुहुन्छ वा हुनुहुन्थ्यो उहाँहरू नै हुनु, तपाईँ बस्ने ठाउँ जुन छ त्यही हुनु, कुनै संजोगको कुरा होइन। यी सारा कुराहरू संजोगले भएका होइनन्। परमेश्वरको एउटा सुन्दर योजना छ जसलाई उहाँले अघि बढाउँदै हुनुहुन्छ र सारा कुरामाथि उहाँको पूरै नियन्त्रण छ भन्ने कुरालाई हामीले महसुस गर्नैपर्छ। हामी ठीक समयमा, ठीक ठाउँमा, ठीक व्यक्ति हुन सकौं भनेर परमेश्वरले सब कुरा मिलाएर काम गर्दै हुनुहुन्छ! धेरैजसो मानिसहरू आफ्नो जीवनमा परमेश्वरको कुनै हात देख्न सक्दैनन् तर हरेक विश्वासीले यस कुरालाई महसुस गर्नुपर्दछ। बाइबलका परमेश्वर हजारौं वर्ष अगाडि हुनुहुने र एस्तर र एज्रा जस्तालाई मात्र मद्दत गर्न सक्ने परमेश्वर हुनुहुन्न। बाइबलका परमेश्वर सारा सृष्टिकै महाराजा हुनुहुन्छ जसले आफ्नो सिद्ध योजनालाई आज समेत पूरा गर्दै हुनुहुन्छ! के तपाईँ परमेश्वरलाई आफ्नो जीवनलाई नियन्त्रण गर्न दिँदै हुनुहुन्छ? के उहाँलाई तपाईँको हृदयको सिंहासनमा बस्न दिनुभएको छ र त्यहाँबाट उहाँलाई राज्य गर्न दिँदै हुनुहुन्छ? परमेश्वरको योजनाको विरुद्धमा लड्ने प्रयास नगर्नुहोस्। यस्तै प्रयास गर्दा हामान नष्ट भए!
एज्राको वृत्तान्त
(एज्रा ७-१०)

चाबी पद
यस खण्डको चाबी पद: एज्रा ८:२२ (पदको अन्तिम भाग) – “उहाँलाई ___________ सबैमाथि हाम्रा परमेश्वरको ____________ रहन्छ, तर उहाँलाई ______________ सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (याद्) को अक्षरश: रूपान्तर हो: “हात”।) उहाँलाई खोज्नेहरूले आफूअरूमाथि परमेश्वरको आशिषको हात रहेको पाउनेछन्! उहाँलाई खोज्नेहरू उहाँलाई खोजेकोमा कहिल्यै पछुताउनेछैनन्! उहाँलाई त्याग्नेहरू र उहाँदेखि तर्केर जानेहरू ठूलो सङ्कटमा पर्नेछन्! यही कुरा हामीले अर्को चाबी पद १ शमूएल २:३० मा पनि पाएका थियौं (अध्याय ४ मा हेर्नुहोस्)। उहाँलाई आदर गर्नेहरूलाई परमेश्वर आदर गर्नुहुनेछ। परमेश्वरलाई आदर नगर्नेहरूले कष्ट भोग्नुपर्ने हुन्छ!
एज्रा अध्याय ७-८ मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वा यस्तै वाक्यांश ६ पटक दोहोरिएको पाइन्छ! यी पदहरू भेट्टाउनुहोस्: _______________________________________। उहाँलाई खोज्नेहरूमाथि परमेश्वरको कृपालु हात रहन्छ! यो एज्राको समयमा साँचो थियो र आज पनि साँचो नै छ।
एज्रा अध्याय ९-१० मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वाक्यांश पढ्न पाइँदैन। एज्रा ७-८ मा पटकपटक दोहोरिएको वाक्यांश पुस्तकका अन्तिम दुई अध्यायमा नपाइनुको कारण के हो? अन्तिम दुई अध्यायले इस्राएलीहरू ठूलो पापमा फसेका कुरा बताउँदछ। धेरै पुरुषले परमेश्वरको आज्ञा (व्यवस्था ७:१-४) लाई उल्लङ्घन गरी अन्यजाति स्त्रीहरूसित विवाह गरे। जतिबेला मानिसहरू प्रभुलाई परित्याग गर्छन् र उहाँको आज्ञा उल्लङ्घन गर्छन्, त्यतिबेला परमेश्वरले आफ्नो आशिषको अनुग्रहमय हातलाई पनि हटाउनुपर्ने हुन्छ।
एज्राको असल नमुनाको कारण यहूदीहरूले आफ्ना पापलाई स्वीकार गरे र एज्राको निर्देशनबमोजिम आफ्ना अन्यजाति पत्नीहरूलाई परित्याग गरे। जतिबेला हामी हाम्रा पाप स्वीकार गर्छौँ र परमेश्वरको आज्ञा मान्छौँ तब फेरि हामी परमेश्वरको अनुग्रहमय हातको आशिषको भागीदार बन्दछौँ। यहूदीहरू आफ्ना पापबाट फर्केपछि हामी फेरि कुनचाहिँ सुन्दर वाक्यांश पढ्न पाउँछौँ (नहेम्याह २:८ र २:१८)? ________________ _________________________________________ _________
के परमेश्वरको आशिषको हात तपाईँमाथि रहेको चाहनुहुन्छ? तपाईँ उहाँलाई खोज्दै हुनुहुन्छ कि त्याग्दै हुनुहुन्छ? तपाईँ परमेश्वरतर्फ फर्कँदै हुनुहुन्छ कि उहाँदेखि तर्कँदै हुनुहुन्छ? याद राख्नुहोस्, परमेश्वर उहाँलाई यत्नसित खोज्नेहरूलाई _____________ दिनुहुन्छ (हिब्रू ११:६)।
नहेम्याहको वृत्तान्त
(नहेम्याहको पुस्तक)

चाबी पद
नहेम्याहको पुस्तकको चाबी: नहेम्याह ६:३ – “यसैकारण मैले यस्तो जवाफ दिएर समाचार पठाएँ ‘अहिले मेरो हातमा __________ ______________ छ। म त्यहाँ आउन सक्दिनँ। काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” (टिप्पणी: अक्षरश: रूपान्तर => “म एउटा महान् काम गर्दैछु…”)। उनले आफ्ना काम छोडी उनीहरूसित भेट्न गाउँमा ओर्लेर आओस् भन्ने कुरा नहेम्याहका शत्रुहरूले चाहिरहेका थिए (नहेम्याह ६:२)। योचाहिँ नहेम्याहलाई नाश गर्नलाई रचिएको धूर्त षड्यन्त्र थियो (नहेम्याह ६:२)। नहेम्याह आफू एउटा महान् काममा लागिरहेको छु भन्ने कुरा जान्दथे अनि परमेश्वरको त्यो कामबाट उनी कुनै हालतले पनि बिथोलिन चाहँदैनथे! कसैले नहेम्याहलाई रोक्नेवाला थिएन, न कुनै कुरा न कोही व्यक्ति न शैतानले नै! के विश्वासी जन कुनै कुराले परमेश्वरको काम गर्नदेखि रोकिनुहुन्छ (१ कोरिन्थी १५:५८)? ______________
प्रार्थना र परमेश्वरको वचन
परमेश्वरको काम गर्न नहेम्याह सफल भए। उनको सफलताको रहस्य के थियो? रहस्य यति थियो: प्रार्थना! नहेम्याह प्रार्थनामा बलिया थिए! नहेम्याहको अर्को चाबी पद हो, नहेम्याह १:४- “यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहेँ, र उपवास बसेँ अनि स्वर्गका _____________सित ____________ गरेँ।” यरूशलेमका पर्खालहरू भत्केका छन् भन्ने खबर उनको कानमा पुगेपछि नहेम्याहले उक्त विषयलाई आफ्नो परमेश्वरका सामु प्रार्थनामा ल्याए। नहेम्याहको पुस्तक पढ्दै जाँदा परमेश्वरले उनको प्रार्थनालाई अचम्म प्रकारले जवाफ दिनुभएको देख्छौँ र साथै पर्खालहरू निर्माण गर्ने महान् काममा मानिसहरूलाई नेतृत्व गर्नलाई परमेश्वरले नहेम्याहलाई नै प्रयोग गर्नुभएको देख्छौँ।
हो, दिनभरि नै परमेश्वरमाथि भरोसा राख्न र उहाँमा भर पर्दै हिँड्न नहेम्याहले सिकेका थिए। दिनभरि नै परमेश्वरसित कुरा गर्न नहेम्याहले जानेका थिए! नहेम्याहको पुस्तकमा ११ पटक नहेम्याहले प्रार्थना गरेको कुराको उल्लेख छ। तीमध्ये एउटा हो नहेम्याह २:४-५ मा (योचाहिँ राजाको प्रश्नको जवाफ दिन सक्नलाई चढाइएको एउटा छोटो प्रार्थना थियो)। नहेम्याहको पुस्तक पढ्ने क्रममा नहेम्याहले अरू १० पटक गरेका प्रार्थनाहरू भेट्टाउन सक्नुहुन्छ? ___________________ _____________________________________
नहेम्याहको पुस्तकमा हामी घरिघरि प्रार्थनाको महत्त्वपूर्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा हामी घरिघरि परमेश्वरको वचनको महत्त्वपू्र्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा परमेश्वरको वचनलाई १० पटक उल्लेख गरिएको छ: एज्रा १:१; ३:२; ६:१४; ६:१८; ७:६ (एज्रा व्यवस्थाका एक महान् शास्त्री अर्थात् एक कुशल बाइबल शिक्षक थिए); ७:१०; ७:१४; ९:४; १०:३; १०:५। नहेम्याह अध्याय ८ मा फेरि पनि एज्रा यहूदीहरूलाई परमेश्वरको वचन पढेर सुनाउँदै उनीहरूलाई सिकाइरहेको पाउँछौँ!
आज परमेश्वरका जनहरूले प्रार्थना र परमेश्वरको वचनको महत्त्वलाई महसुस गर्नुपर्छ (प्रेरित ६:४)! प्रार्थनाद्वारा परमेश्वरसित कुरा गर्नु र बाइबल पठनद्वारा परमेश्वरलाई तपाईँसित कुरा गर्न दिनु जत्तिकै महत्त्वपूर्ण कुरा अरू कुनै छैन। एज्रा ९:४ र १०:३ मा हामी देख्छौँ, ती यहूदीहरू परमेश्वरको वचनहरूदेखि “डराए” (trembled, थरथर काँपे)। परमेश्वरको वचनप्रति एज्रा लगायत ती मानिसहरूको धारण कस्तो रहेछ? के तिनीहरूले परमेश्वरको वचनलाई हल्का प्रकारले लिएका थिए? के तपाईँ नहेम्याहजस्तै प्रार्थनामय जीवन बिताउने मानिस हुनुहुन्छ? के तपाईँ एज्राजस्तै परमेश्वरको वचनमा लिप्त मानिस हुनुहुन्छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)