शमूएलका, राजाका र इतिहासका पुस्तकहरू

शमूएलका, राजाका र इतिहासका पुस्तकहरू

 

अब हामी परमेश्वरबाटका छओटा ऐतिहासिक पुस्तकहरूलाई हेर्नेछौं। यी पुस्तकहरूमा समस्त यहूदी राजाहरूको वृत्तान्त लेखिएको छ जो राजाहरूले प्यालेस्टाइन भूमिमा शासन गरे। यस ऐतिहासिक कालखण्डले प्रथम राजा (शाऊल) देखि अन्तिम राजा सिदकियासम्म समेट्छ जसको शासनकालमा बेबिलोनीहरू आएर प्यालेस्टाइनलाई कब्जा गरे। यी छओटा पुस्तकहरू जोडी-जोडी गरी तीनओटा समूहमा विभाजित छन्: अर्थात् शमूएलका दुईओटा पुस्तक, राजाहरूका दुईओटा पुस्तक, इतिहासका दुईओटा पुस्तक।

यी पुस्तकका विषय के-के हुन्?

 

यी छओटा पुस्तकहरूलाई अर्को तरिकामा पनि हेर्न सकिन्छ:

 

माथिका तालिकाहरूको आधारमा निम्न प्रश्नहरूका उत्तरहरू लेख्नुहोस्:

  1. कुनचाहिँ पुस्तकले मात्र राजा शाऊलको शासनको बारेमा बताएको छ? _________________
  2. कुन दुई पुस्तकहरूले राजा दाऊदको शासनको बारेमा बताएका छन्? _____________________________
  3. कुन पुस्तकले दाऊद राजा बन्नुभन्दा अघिको बारेमा बताएको छ? _______________
  4. कुन पुस्तकले पहिलो र दोस्रो राजाका पुस्तकहरूले समेटेको समयावधिलाई समेटेको छ? ______________
  5. कुन दुई पुस्तकहरू बेबिलोनी कैदमा टुङ्गिएका छन्? _______________________

शमूएलका पुस्तकहरू –
राजा शाऊल र राजा दाऊद

अब हामी यी छओटा पुस्तकहरूमध्येका पहिलो जोडी – अर्थात् शमूएलका दुई पुस्तकहरूको बारेमा विचार गर्न तयार भएका छौं। पहिलो शमूएलको पुस्तकले हामीलाई इस्राएलको प्रथम राजा अर्थात् शाऊलको बारेमा बताएको छ। दोस्रो शमूएलको पुस्तकले हामीलाई इस्राएलका दोस्रो राजा अर्थात् दाऊदको बारेमा बताएको छ।

 

यी पुस्तकहरू किन “शमूएल” को नाउँले जनाइन्छन्?

शमूएल परमेश्वरका एक भक्तजन थिए। उनी एक उत्कृष्ट पूजाहारी साथै अगमवक्ता थिए। शमूएल न्यायकर्ता र राजाहरूको समयलाई जोड्ने पुलजस्तै थिए भन्न सकिन्छ।

 

यी दुई पुस्तकहरू शमूएल नाउँले जनाइनुमा दुइटा कारण छन्:

  1. पहिलो शमूएलको शुरुमा मुख्य व्यक्तिको रूपमा शमूएललाई नै पाउँछौं। हामीलाई शमूएलको जन्म, जीवन, सेवाकार्य र मृत्युको बारेमा जति पनि कुरा थाहा छ ती पहिलो शमूएलमा नै पाउँछौं।
  2. शमूएलले नै शाऊल र दाऊदलाई अभिषेक गरेका हुन् अनि शमूएलका पुस्तकहरूले यिनै दुई व्यक्तिहरूको चर्चा गरेका छन्। शमूएलले १ शमूएल १०:१ मा शाऊललाई अभिषेक गरे। पहिलो शमूएलको पुस्तकले राजा शाऊल र उनको शासनको बयान गरेको छ। शमूएलले १ शमूएल १६:१३ मा दाऊदलाई अभिषेक गरे। दोस्रो शमूएलको पुस्तकले राजा दाऊद र उनको शासनको बयान गरेको छ। यी दुई व्यक्ति इस्राएलका पहिला दुई राजाहरू थिए। शमूएलका पुस्तकहरूले यिनै दुई व्यक्तिका वृत्तान्तहरू बताएका छन्।

राज्यको शुरुआत

के न्यायकर्ताको समयमा इस्राएलमा कुनै मानव राजाहरू थिए (न्यायकर्ता २१:२५)? _______________। परमेश्वरलाई नै उनीहरूले राजा मान्नुपर्थ्यो। तर हामीले अघिल्लो अध्यायमा अध्ययन गरेका थियौं, इस्राएलका सन्तानले परमेश्वर उनीहरूमाथि शासन गर्नुभएको चाहेनन् बरु उनीहरू आफैं राजा हुन चाहे।

पछि शमूएलको पालामा इस्राएलीहरूले अरू जातिका जस्तै एउटा __________ (१ शमूएल ८:५) चाहे। के उनीहरूले परमप्रभुले शासन गर्नुभएको चाहेका थिए (१ शमूएल ८:७)? ____________। मानव राजाको माग गर्दा उनीहरूले कसलाई इन्कार गर्दै थिए (१ शमूएल ८:७)? ______________

कहिलेकाहिँ मानिसहरूलाई पाठ सिकाउनालाई र तिनीहरूले दुःख पाएर भए पनि सिक्न सकून् भनेर परमेश्वरले उनीहरूलाई उनीहरूले चाहेकै कुरो दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई एउटा राजा दिएरै छाड्नुभयो! उहाँले तिनीहरूलाई उनीहरूकै छनोटअनुसारको राजा दिनुभयो।उनको नाउँ थियो शाऊल। शाऊल किन एक आदर्श राजाजस्तै देखिन्थे (१ शमूएल ९:२)? _________________________ ___________________। मानिसहरूले शाऊललाई कसरी हेरे (१ शमूएल १६:७)? ____________________________। परमेश्वरले शाऊललाई कसरी हेर्नुभयो (१ शमूएल १६:७)? _________________ ________________

शाऊल पूर्णरूपमा असफल राजा भए। ती मानिसहरू गलत भएको ठहरिए, परमेश्वरचाहिँ सही ठहरिनुभयो।

इस्राएलका प्रथम दुई राजाहरूको तुलना गरौं:

 

पहिलो शमूएलको ठूलो खण्ड शाऊलले दाऊदलाई हत्या गर्ने ध्येयले उनलाई खेदेको कुराको बयान गरेको छ। शाऊल कस्ता खालका मानिस थिए भन्ने कुरा यसैबाट थाहा गर्न सकिन्छ। पहिलो शमूएलको अन्तिम अध्यायमा हामी शाऊल रणभूमिमा पराजित भएर मारिएका कुराको बयान पाउँछौं।

चाबी पद

शमूएलका पुस्तकहरूको चाबी पद १ शमूएल २:३० मा पाउँछौं। विशेष गरी उक्त पदको आखिरी भागलाई हेर्नुहोस्: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्।” परमेश्वर यहाँ के भन्दै हुनुहुन्छ? यस पदमा राम्रो पक्ष (आशिष) पनि छ, नराम्रो पक्ष (श्राप) पनि छ:

आशिष: “यदि तपाईं परमेश्वरलाई आदर गर्नुहुन्छ भने परमेश्वरले तपाईंलाई आदर गर्नुहुनेछ।” परमेश्वरलाई आदर गर्ने व्यक्तिले परमेश्वर ज्यादै मूल्यवान् र महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ भनी मान्दछ। उसले भन्छ, “परमेश्वर यति महान् हुनुहुन्छ र उहाँ मेरो निम्ति यति महत्त्वपूर्ण हुनुहुन्छ कि मैले जीवनपर्यन्त उहाँका कुरालाई विश्वास गर्नैपर्छ र उहाँको आज्ञापालन गर्नैपर्छ।”

श्राप: यदि कसैले परमेश्वरलाई आदर गर्दैन र उहाँलाई तिरस्कार गर्छ भने परमेश्वरले उक्त व्यक्तिलाई कम महत्त्वको ठान्नुहुन्छ र उक्त व्यक्तिको जीवनमा परमेश्वरको आशिष हुँदैन। यो व्यक्तिले भन्छ, “परमेश्वर मेरो लागि कुनै महत्त्वको हुनुहुन्न। परमेश्वरले जे भन्नुभएको भए तापनि मलाई खासै मतलब छैन। परमेश्वरले भन्नुभएका कुरा मेरा लागि ज्यादै कम महत्त्वका छन्!”

शमूएलका पुस्तकहरूमा यो सत्यता मानिसहरूको जीवनमा पूरा भएको देख्छौं। उहाँलाई आदर गर्नेहरूलाई परमेश्वरले कसरी आदर गर्नुभयो सो कुरा देख्न सक्छौं। साथै उहाँलाई तिरस्कार गर्नेहरूलाई परमेश्वरले कसरी श्राप दिनुभयो सो कुरा पनि देख्न सक्छौं। शमूएलका पुस्तकहरूमा हामी परमेश्वरलाई आदर गर्ने र आदर नगर्ने व्यक्तिहरूको विषयमा सिक्छौं।

 

तपाईं कुनचाहिँ समूहसित मेल खानुहुन्छ? तपाईं परमेश्वरलाई आदर गर्ने व्यक्ति हुनुहुन्छ कि परमेश्वरलाई तिरस्कार गर्ने? के परमेश्वर तपाईंको निम्ति ज्यादै महत्त्वपूर्ण हुनुहुन्छ? के परमेश्वरको वचन तपाईंको निम्ति ज्यादै महत्त्वपूर्ण छ? परमेश्वरले भन्नुभएको कुराको विषयमा तपाईं साँच्चै वास्ता राख्नुहुन्छ? के तपाईं परमेश्वरको आज्ञापालन गर्न र उहाँको इच्छाअनुसार गर्नालाई साँच्चै गम्भीर हुनुहुन्छ? तपाईं कस्तो खालको व्यक्ति बन्न चाहनुहुन्छ? दाऊदजस्तो कि शाऊलजस्तो? धेरैजसो मानिसहरू शाऊलजस्तो हुनालाई रोज्छन्। तिनीहरू परमेश्वरलाई आदर गर्न रोज्दैनन्। के तपाईं परमेश्वरलाई आदर गर्न रोज्ने दाऊदजस्तै अल्पसङ्ख्यक (थोरै) व्यक्तिहरूमध्ये एक बन्नुहुन्छ?

राजाहरूका पुस्तकहरू –
सोलोमनदेखि बेबिलोनी कैदसम्म

अब हेरौं राजाका पुस्तकहरूको जोडीलाई। यी दुईओटा पुस्तकले करिब ४०० वर्ष (चार शताब्दी) को इतिहासलाई समेटेको छ।

विभाजित राज्य

विभाजित राज्यको सम्बन्धमा हामीले अध्याय १ मा सानो टिप्पणी गरेका थियौं। पहिलो राजाको पुस्तकको प्रारम्भमा हामी राजा दाऊदको मृत्युको बारेमा पढ्छौं। त्यसपछि दाऊदका छोरा सोलोमन राजा भए। सोलोमन इस्राएलका सबैभन्दा धनी र शक्तिशाली राजा भए। मत्ती ६:२९ मा येशूले समेत सोलोमनको राज्यको महिमाको उल्लेख गर्नुभयो।

सोलोमनपछि राज्य दुई टुक्रा भयो:

१) राजा यरोबामको नेतृत्व अन्तर्गत उत्तरी राज्य

  • यसको राजधानी सामरियालाई बनाइयो
  • यस राज्यलाई इस्राएलको राज्य भनियो

२) राजा रहोबाम (सोलोमनका छोरा) को नेतृत्वमा दक्षिणी राज्य

  • यसको राजधानी यरूशलेम थियो
  • यस राज्यलाई यहूदाको राज्य भनियो

टिप्पणी: यहूदाका सबै नै राजाहरू दाऊदका वंशका थिए।

पराजित राज्यहरू

यी दुवै राज्यका मानिसहरूका हृदय परमेश्वरदेखि पछि हटे र फलस्वरूप परमेश्वरले तिनीहरूलाई इन्साफ गर्नुपर्ने भयो। परमेश्वरले सर्वप्रथम अश्शूरीहरूद्वारा उत्तरको दुष्ट राज्य इस्राएललाई इन्साफ गर्नुभयो। ई. पू. ७२२ मा अश्शूरीहरूले इस्राएललाई पराजित गरे अनि मानिसहरूलाई बन्दी बनाएर लगे। पछिबाट परमेश्वरले राजा नबूकदनेसरको नेतृत्वमा बेबिलोनीहरूद्वारा दक्षिणको यहूदा राज्यको इन्साफ गर्नुभयो। ई. पू. ५८६ मा यरूशलेमको शहर र मन्दिर बेबिलोनीहरूद्वारा ध्वस्त पारियो र यहूदीहरू बन्दीको रूपमा बेबिलोन लगिए। दोस्रो राजाको पुस्तकमा हामी यी दुई राज्यहरू कसरी पतन भए र पराजित भए भन्ने कुरा सिक्छौं।

परमेश्वरले अगमवक्ताहरूलाई उठाउनुहुन्छ

राजाका पुस्तकहरू पढ्ने क्रममा परमेश्वरको तर्फबाट अगमवाणी गर्ने अगमवक्ताहरूको महत्त्व बढ्दै बढ्दै गएको देख्छौं। साथै पूजाहारीहरूको महत्त्व घट्दै घट्दै गएको देख्छौं। मानिसहरूलाई परमेश्वरको वचन सिकाउने काम पूजाहारीहरूको थियो। तर अधिकांश पूजाहारीहरूले त्यसो गरेनन्। त्यसैले परमेश्वरले अगमवक्ताहरूलाई उठाउनुभयो जोहरूले नै प्रजा लगायत राजाहरूलाई उहाँका सन्देश घोषणा गरे। राजाका पुस्तकहरूमा हामी दुईजना महान् अगमवक्ताहरूको सेवाकार्यका बारेमा सिक्छौं:

  • पहिलो राजामा एलियाको बारेमा
  • दोस्रो राजामा एलिशाको बारेमा

टिप्पणी: वर्णाक्रममा “शा” भन्दा “या” पहिला आएजस्तै समयमा “एलिशा” भन्दा “एलिया” पहिला आएका थिए।

राजाहरू सम्बन्धीका पुस्तकहरू

राजाका दुई पुस्तकहरूले हामीलाई राजाहरूकै विषयमा बताएका छन्। यी दुई पुस्तकहरूमा हामी सोलोमनदेखि बेबिलोनी कैदसम्मका इस्राएल लगायत यहूदाका राजाहरू सम्बन्धी विस्तृत विवरणहरू पाउँछौं।

यी पुस्तकहरूले हामीलाई समस्त राजाहरूका नामहरू प्रस्तुत गरेका छन्। राजाको नामको सासाथमा निम्न कुराहरू पनि बताइएका छन्:

  1. राजाको नाम
  2. उनी इस्राएलका राजा थिए कि यहूदाका
  3. उनले कति उमेरमा शासन गर्न थाले
  4. उनले कति वर्षसम्म शासन चलाए
  5. उनी खराब राजा थिए (“खराब गरे”) कि असल राजा थिए (“असल गरे”)

जस्तै, २ राजा १५:१-४ मा हामीलाई राजा अजर्याहको परिचय दिइएको छ। उनी यहूदाका राजा थिए कि इस्राएलका? _____________। राज्यारोहण गर्दा उनी कति वर्षका थिए? _________। उनले कति वर्षसम्म शासन चलाए? _________। उनी असल राजा थिए कि खराब? _____________। अब हामी इस्राएल र यहूदाका तमाम राजाहरूको सर्वेक्षण गर्न तयार भएका छौ:

 

इस्राएलमा असल राजाहरू कतिजना थिए? _____________। कुनचाहिँ राज्यमा असल राजाहरू अर्कोमा भन्दा बढी थिए? ____________। कुन राज्यलाई परमेश्वरले पहिला इन्साफ गर्नुभयो? _________________। यहूदाका अन्तिम चार राजाहरू असल थिए कि खराब? _____________। दक्षिणी राज्यका राजाहरू सबै दाऊदकै वंशका थिए। सूचिमा हेर्नुहोस्: यहूदाको हरेक राजाको नामको मुनि उनकै छोराको नाम उल्लेख गरिएको छ जो उनीपछि राजा भएका थिए (जस्तै, राजा यहोराम राजा यहोशापातका छोरा थिए)। के असल राजाको खराब छोरा हुन सक्छ? ____________। के खराब राजाको असल छोरा हुन सक्छ? ___________। ठीक कि बेठीक: ___________ एक व्यक्ति सधैं आफ्नो बाबुआमा जस्तै हुन्छ। के असल राजाको असल छोरा हुन सक्छ? _____________। के खराब राजाको खराब छोरा हुन सक्छ? ______________। ठीक कि बेठीक: ____________ एक व्यक्ति आफ्नो बाबुआमा जस्तै हुन सक्छ।

दुई पुस्तकहरूको तुलना

 

चाबी पद

राजाका यी दुई पुस्तकहरूको चाबी पद १ राजा १८:२१ हो। बाल देउतालाई पूजिरहेका मानिसहरूलाई एलियाले दिएको चुनौती यस प्रकार थियो: “यदि _____________ नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई _____________। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ।”

एलियाले त्यसबेलाका यहूदीहरूलाई यसो भन्दै थिए: यदि परमप्रभु (यहोवा) साँच्ची नै परमेश्वर भएर पनि तिमीहरूले उहाँको सेवा गरेनौ र उहाँलाई पछ्याएनौ भने तिमीहरूमाथि बिपत्ती आइपर्नेछ! दोस्रो राजाको पुस्तकमा हामी सिक्छौं यहूदीहरू परमेश्वरलाई पछ्याएनन् जसको फलस्वरूप तिनीहरूमाथि विपत्ति आइपर्यो।

उत्तरी राज्यमाथिको विपत्ति: “इस्राएलीहरू यारोबामका सबै _____________मा लागिरहे, र ती त्यागेनन्, जबसम्म परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूद्वारा _____________ ____________ तिनीहरूलाई आफ्नो उपस्थितिबाट _________________। यसैले इस्राएलका मानिसहरू आफ्नो मातृ-भूमिबाट ___________ देशमा ___________ भएर ___________, र तिनीहरू अझै पनि त्यहीँ छन् (२ राजा १७:२२-२३)।” इतिहासमा यसलाई अश्शूरी कैद (Assyrian Captivity)भनिन्छ।

दक्षिणी राज्यमाथिको विपत्ति: “त्यहाँ हमातका देशको रिब्लामा ___________का राजाले तिनीहरूलाई मार्न लाए। यसरी _________ आफ्नो देशबाट ______मा _________ (२ राजा २५:२१)।” इतिहासमा यसलाई बेबिलोनी कैद (Babylonian Captivity) भनिन्छ।

यदि बाल देउता साँच्ची नै परमेश्वर हो भने उसकै सेवा गरिनुपर्छ, उसलाई नै पछ्याइनुपर्छ। तर यदि ऊ परमेश्वर होइन भने (र होइन पनि), उसको सेवा गरिनु हुँदैन। बाइबलकै परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न, हरेक व्यक्तिले निर्णय गर्नुपर्छ। यदि उहाँ परमेश्वर नै हुनुहुन्छ भने उहाँलाई पछ्याउनुहोस्सारा हृदयले उहाँको सेवा गर्नुहोस्। धेरै मानिसहरू कथित ईश्वरहरूलाई पछ्याउँछन् जोहरू वास्तवमा परमेश्वर होइनन् (१ कोरिन्थी ८:४-६)।

राजाहरूमध्ये धैरैजनाको यही समस्या थियो। इस्राएलका सबै नै राजाहरू र यहूदाका धेरैजसो राजाहरूले मूर्तिहरू (झूटा ईश्वरहरू) को सेवा गरे। धेरैजना “असल” राजाहरूले समेत “अल्गा-अल्गा ठाउँहरू” लाई हटाएनन् (जस्तै, २ राजा १५:३-४ मा पढ्नुहोस्)। यी “अल्गा-अल्गा ठाउँहरू” मूर्तिपूजाका थानहरू थिए जो डाँडाहरूहुँदो स्थापना गरिएका थिए। यी मूर्तिपूजाका थानहरू पूरै नष्ट गरिनुपर्थ्यो। प्रायःजसो राजाहरू त्यसो गर्न राजी थिएनन्। के हिजकिया राजा प्रभुलाई पूरै पछ्याउन राजी थिए (जस्तै २ राजा १८:४-६ मा पढ्नुहोस्)? _____________। तिनीहरूले मूर्तिपूजा गरेका हुनाले परमेश्वरले आफ्ना जनहरूलाई इन्साफ गर्नुभयो। यही नै थियो तिनीहरूलाई कैद गरी निर्वासनमा लगिनुको कारण (२ राजा १७:९-१२)।

के परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ? के उहाँ साँच्ची नै सारा सृष्टिका राजा हुनुहुन्छ? के उहाँ साँच्ची नै तपाईंको मुक्तिदाता र प्रभु हुनुहुन्छ? यदि परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याउनुहोस्। बाइबलले हामीलाई आज्ञा गर्दछ, “आफूलाई _______________बाट जोगाइराख (१ यूहन्ना ५:२१)।” यसको मतलब हामीले आफूलाई असत्य र गलत कुराहरूबाट जोगाउनुपर्छ अनि सत्य परमेश्वरलाई पछ्याउनुपर्छ। परमेश्वर यदि परमेश्वर नै हुनुहुन्छ भने उहाँकै सेवा गर्नुहोस्। के थेस्सलोनिकीका विश्वासीहरूले त्यसो गरे (१ थेस्सलोनिकी १:९)? ___________। के तपाईंले त्यसरी नै गर्दैहुनुहुन्छ? ___________। एक व्यक्तिले परमेश्वरलाई कसरी पछ्याउन सक्दछ (यूहन्ना ८:१२)? ___________________________ _________________। एक व्यक्तिले कसरी परमेश्वरको सेवा गर्न सक्दछ? प्रायःजसो राजाहरूले परमेश्वरलाई आफ्नो राजा बनाएनन्। के तपाईंचाहिँ प्रभुलाई आफ्नो जीवनका राजा बन्न दिनुहुन्छ?

इतिहासका पुस्तकहरू –
यहूदाको विशेष इतिहास

यस अध्यायको शुरुमा तालिकामा देखाइएअनुसार इतिहासका दुई पुस्तकहरूले शमूएलका र राजाका पुस्तकहरूकै कालखण्डलाई समेटेका छन्। तिनमा अन्य विवरणहरू थप्न र परमेश्वरको दृष्टिमा कुन-कुन कुरा महत्त्वपूर्ण छन् भनी प्रस्ट्याउन अघिबाटै शमूएलका र राजाका पुस्तकहरूमा उल्लेखित विषयवस्तुलाई उहाँले यहाँ फेरि दोहोर्याउनुभएको पाइन्छ। यी दुई पुस्तकहरूमा ऐतिहासिक घटनाहरूलाई समयको आधारमा मेलैसित क्रमिक र विस्तृत रूपमा बयान गरिएको हुनाले यी लेखोटहरूलाई “इतिहासका पुस्तकहरू” को नाउँले जनाइएका छन्। राजाहरूको कालखण्डको बारेमा हामीलाई आवश्यक ज्ञान मिलोस् भनेर परमेश्वरले हामीलाई त्यसबेलाको ठीक-ठीक इतिहासको अभिलेख यी दुई पुस्तकहरूमा दिनुभएको छ।

इतिहासका पुस्तकहरू सम्भवतः शास्त्री एज्राद्वारा लेखिएका हुन्। एज्राको बारेमा हामी अर्को पाठमा सिक्नेछौं। दोस्रो इतिहासको पुस्तकका आखिरी दुई पदहरू र एज्राको पुस्तकका पहिला तीन पदहरू दुरुस्तै छन्।

पहिलो इतिहासले दोस्रो शमूएलले समेटेकै कालखण्डलाई समेटेको छ। दुवैले दाऊदको शासनकालको बारेमा बयान गरेका छन्।

दोस्रो इतिहासले पहिलो र दोस्रो राजाले समेटेकै कालखण्डलाई समेटेको छ। दुवैले सोलोमनदेखि बेबिलोनी कैदसम्मको कालखण्डको बारेमा बयान गरेका छन्।

तर त्यहाँ एउटा भिन्नता छ। इतिहासका पुस्तकहरूले राजाहरूलाई बेग्लै दृष्टिकोणले हेरेका छन्। इतिहासका पुस्तकहरूले केवल यहूदाका राजाहरू (दक्षिणी राज्य) का बारेमा मात्रै बताएका छन्। यिनीहरू दाऊदका वंशका राजाहरू थिए:

 

इस्राएलका राजाहरूलाई भने इतिहासका पुस्तकहरूमा उल्लेखै नगरिएको पाइन्छ (तिनीहरूले यहूदाका राजाहरूलाई असर पार्ने कुनै काम गर्दा बाहेक)।

चाबी पद

इतिहासका पुस्तकहरूको चाबी पद २ इतिहास १६:९ मा पाइन्छ: “किनकि जसका हृदय उहाँप्रति ___________ छन्, तिनीहरूलाई _____________ दिन सारा पृथ्वीभरि नै परमप्रभुको __________ रहिरहन्छ।” यसको आखिरी भागलाई हिब्रूअनुसार अक्षरशः यसरी अनुवाद गर्न सकिन्छ: “…सारा पृथ्वीभरि नै परमप्रभुका आँखाहरू यताउता दगुर्छन्”। परमेश्वर, उहाँलाई आदर गर्न चाहनेहरू र उहाँलाई पूरै पछ्याउन चाहनेहरूको खोजीमा हुनुहुन्छ। यो अचम्मको पदअनुसार परमेश्वरका आँखाका खुट्टाहरू छन् (ती दगुर्छन्!)। हुन त, परमेश्वरका न आँखा छन्, न खुट्टा, तर यस पदले हामीलाई यो बताउँदैछ कि परमेश्वर अति राम्ररी देख्नुहुन्छ र जता पनि सजिलैसँग पुग्नुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँलाई आदर गर्ने व्यक्तिहरू भेट्टाउने काममा परमेश्वर विशेषज्ञ नै हुनुहुन्छ। यदि परमेश्वरप्रति झुकाव राख्ने तपाईको हृदय छ भने र त्यो परमेश्वरप्रति भक्त छ भने यसमा निश्चित हुनुहोस् कि परमेश्वरले तपाईंलाई भेट्टाउनुहुनेछ र परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ।

इस्राएल र यहूदाका अधिकांश राजाहरूका हृदय परमेश्वरप्रति भक्त थिएनन्। के आसा राजाको हृदय परमेश्वरप्रति भक्त थियो (२ इतिहास १६:७-१०)? _____________

यस चाबी पदले वास्तवमा १ शमूएल २:३० ले बताएकै कुरा बताउँदैछ।उहाँलाई आदर गर्नेहरूलाई परमेश्वरले आदर गर्नुहुनेछ् उहाँमाथि भरोसा राख्नेहरूको पक्षमा परमेश्वरले आफूलाई सामर्थी देखाउनुहुनेछ र उनीहरूलाई आशिष दिनुहुनेछ। उहाँलाई आदर गर्न र उहाँमाथि भरोसा नराख्नेहरूलाई परमेश्वरले श्राप दिनुहुनेछ। परमेश्वरका आँखाहरू पृथ्वीभरि यताउता दगुर्ने क्रममा, निश्चय जान्नुहोस् कि उहाँले तपाईंलाई देख्नुहुन्छ। उहाँले तपाईंलाई कस्तो भेट्टाउनुहुन्छ त? के उहाँलाई आदर गर्ने व्यक्ति भेट्टाउनुहुन्छ? के उहाँले आशिष दिन मिल्ने व्यक्ति भेट्टाउनुहुन्छ?

याद गर्नुहोस्,

  • उहाँलाई आदर गरे, उहाँले तपाईंलाई आदर गर्नुहुनेछ (शमूएलका पुस्तकहरू)
  • यदि परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ भने उहाँको सेवा गर्नुहोस् र उहाँलाई पछ्याउनुहोस् (राजाका पुस्तकहरू)
  • परमेश्वर, उहाँले आशिष दिन मिल्ने खालको हृदय भएका व्यक्तिहरूलाई खोज्दै हुनुहुन्छ (इतिहासका पुस्तकहरू)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email