यशैया, यर्मिया, विलाप

यशैया, यर्मिया, विलाप

 

अगमवक्ताहरू

पुरानो नियमका पुस्तकहरू भएर जाने क्रममा हामीले मोशाका पाँच पुस्तकहरू, इतिहासका पुस्तकहरू र पद्य पुस्तकहरूलाई हेरिसक्यौं। हामी अब पुरानो नियमको अन्तिम खण्डमा आइपुगेका छौं, अर्थात् अगमवाणीका पुस्तकहरू। पुरानो नियममा १६ ओटा अगमवाणीका पुस्तकहरू छन्। प्रत्येक पुस्तकलाई त्यसलाई लेख्ने अगमवक्ताकै नाम दिइएको छ। जस्तै, दनिएलको पुस्तक कसले लेखे? _____________। मीकाको पुस्तक कसले लेखे? __________। मलाकीको पुस्तक कुन अगमवक्ताले लेखे? ______________।

बृहत् अगमवाणी र लघु अगमवाणी

यी १६ ओटा पुस्तकहरूलाई प्रायः दुई समूहमा विभाजन गरिन्छ: बृहत् अगमवाणी र लघु अगमवाणी। बृहत् अगमवाणीका पुस्तकहरू ४ ओटा छन्: यशैया, यर्मिया, इजकिएल, दनिएल। लघु अगमवाणीका पुस्तकहरूमा भन्दा धेरै पन्नाहरू र धेरै अध्यायहरू भएकाले यी पुस्तकहरूलाई बृहत् अगमवाणीका पुस्तकहरू भनिन्छ। लघु अगमवाणीका पुस्तकहरू १२ ओटा छन्। बृहत् अगमवाणीका पुस्तकहरूको तुलनामा थोरै पन्नाहरू र थोरै अध्यायहरू भएकाले यी पुस्तकहरूलाई लघु अगमवाणीका पुस्तकहरू भनिन्छ। उदाहरणको लागि, यशैयाको पुस्तकमा ६६ अध्यायहरू छन् जब कि बाह्रैओटा लघु अगमवक्ताका पुस्तकहरूमा केवल ६७ अध्यायहरू छन्। यसको मतलब, के बृहत् अगमवाणीका पुस्तकहरू लघु अगमवाणीका पुस्तकहरूभन्दा कम महत्त्वका हुन् त? के पुस्तकको लम्बाइले पुस्तकको महत्त्वलाई दर्शाउने हो त? नयाँ नियमको विचार गर्नुहोस्। धेरैओटा अध्याय हुँदैमा के यूहन्नाको सुसमाचारको पुस्तक पहिलो यूहन्नाको पुस्तकभन्दा महत्त्वपूर्ण हो त? ______। परमेश्वरको वचन सबै नै महत्त्वपूर्ण छ! येशूले भन्नुभयो, “यो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ’” (मत्ती ४:४) ! ओबदियाको एउटै अध्याय भएको पुस्तक ६६ अध्यायहरू भएको यशैयाको पुस्तक जत्तिकै महत्त्वपूर्ण छ! यदि कुनै कुरा परमेश्वरले भन्नुभएको हो र यदि त्यो बाइबलमा छ भने त्यो महत्त्वपूर्ण छ! तसर्थ, लघु अगमवाणीहरूको बृहत् महत्त्व< छ (र त्यसै गरी बाइबलका अन्य पुस्तकहरूको पनि)!

अगमवक्ताहरूको सेवकाइ

आत्मिक गिरावटका समयहरूमा इस्राएल जातिलाई आफ्नो सन्देश सुनाउनका लागि परमेश्वरले उठाउनुभएका व्यक्तिहरू ‘अगमवक्ता’ कहिलिन्थे (पाँचौं अध्याय हेर्नुहोस्)। परमेश्वर यी मानिसहरूद्वारा बोल्नुभयो। ती अगमवक्ताहरूले परमेश्वरको सन्देश बताउनुपर्दा, उनीहरूले कतिपटक यसरी घोषणा गर्थे, “परमप्रभु यसो भन्नुहुन्छ!” अनि त्यसपछि आफ्नो सन्देश बताउँथे। अगमवाणीका विभिन्न पुस्तकहरूमा पल्टाएर हेर्नुहोस् र निम्न उल्लेखित वाक्यांशहरूलाई भेट्टाउन खोज्नुहोस्:

“परमप्रभु यसो भन्नुहुन्छ”
“परमप्रभु भन्नुहुन्छ”
“परमप्रभुको वचन मकहाँ आयो”

परमेश्वर यी मानिसहरूद्वारा बोल्नुभयो!

अघि कि पछि कि बीचमा?

प्रायः जसो अगमवक्ताहरू राजाहरूको समयमा जिउँदथे। तर अरूहरूचाहिँ बेबिलोनी कैदको समयमा र अरूचाहिँ बेबिलोनी कैदपछि जिउँदथे। बेबिलोनी कैदलाई ‘निर्वासन’ पनि भनिन्छ (आफ्नो मौलिक भूमिबाट यहूदीहरू जबरजस्ती अन्यत्र लगिएको घटना)।

  1. धेरैजसो अगमवक्ताहरूले आफ्ना पुस्तकहरू निर्वासनअघि लेखे (हेर्नुहोस् अध्याय १ – मुकुट)
  2. इजकिएल र दनियलले आफ्ना पुस्तकहरू निर्वासनकै समयमा लेखे (हेर्नुहोस् अध्याय १ – कैद)
  3. हग्गै, जकरिया र मलाकीले आफ्ना पुस्तकहरू निर्वासनपछि लेखे (हेर्नुहोस् अध्याय १ – निर्माण)

यशैया, इस्राएलका मसीहलाई प्रस्तुत गर्छन्

यशैया निर्वासनअघि जिउने र लेख्ने अगमवक्ताहरूमध्ये एक थिए। पुस्तकको पहिलो पदमा यशैयाको जीवनकालमा शासन चलाएका चारजना राजाहरूको सूची भेटिन्छ (अध्याय ५ मा सबै राजाहरूको सूची हेर्नुहोस्)। यशैयाले आफ्नो सेवकाइ ख्रीष्ट आउनुभन्दा ७०० वर्ष अगाडि सम्पन्न गरेका थिए। परम्परागत भनाइअनुसार यी विश्वासयोग्य अगमवक्ता दुष्ट राजा मनस्सेको राज्यकालमा आराले दुई भागमा चिरिएका थिए (हेर्नुहोस् हिब्रू ११:३७)।

आज त्यस्ता धेरैजना छन् जोहरू यशैयाको पुस्तकलाई दुई भागमा चिर्न खोज्दैछन्! ती अविश्वासीहरू भन्छन् कि त्यहाँ कम्तीमा पनि “दुईजना यशैयाहरू” (दुईजना लेखकहरू) भएकै हुनुपर्छ। पुस्तकको पछिल्लो आधा भाग (अध्याय ४०-६६) लेख्ने व्यक्ति पुस्तकको अघिल्लो आधा भाग (अध्याय १-३९) लेख्नेभन्दा बेग्लै व्यक्ति हुनुपर्छ भनी दावी गर्छन् उनीहरू। उनीहरूको दावीअनुसार, यशैयाको दोस्रो भाग लेख्ने व्यक्ति यशैया अगमवक्ताको समयभन्दा २०० वर्ष अगाडि जिएको हुनुपर्छ।

त्यस्तो कुरा उनीहरू किन गर्छन्? यसको मुख्य कारण यस्तो छ: यशैया ४४:२८ र ४५:१ मा को_____________ नाम गरेका एकजना मनिस उल्लेखित छन्। कोरेस एक फारसी राजा थिए जो छैटौं शताब्दीको पछिल्लो अर्ध-कालखण्डमा जिउँथे, अर्थात् यशैया अगमवक्ताभन्दा २०० वर्ष पछाडि। निज जन्मनुभन्दा अगाडि नै उक्त राजाको नाउँ यशैयाले कसरी बताए, जो राजा यशैयाको देहान्तको कैयौं वर्षपछि मात्र जन्मे? त्यो त राजा पृथ्वीनारायण शाहले २०७० सालमा नेपालको प्रधानमन्त्री कसलाई नियुक्त गरिनेछ भनेर पूर्वउल्लेख गर्नु जस्तै हुन्थ्यो! यी पदहरू पढ्ने अविश्वासीहरू यस्तो ठान्छन् कि कोरेसको बारेमा लेख्ने व्यक्ति कोरेसकै समयमा वा कोरेसको समयपछि जिउने व्यक्ति हुनुपर्छ।

यी अविश्वासीहरूले एउटा महत्त्वपूर्ण कुरा बुझिरहेका छैनन् । जीवित परमेश्वरले “______________को कुरा ___________देखि नै” बताउन सक्नुहुन्छ (यशैया ४६:१०) अनि कोरेसको बारेमा परमेश्वरलाई ऊ जन्मनुभन्दा सयौं वर्ष पहिलेदेखि नै थाहा थियो!

यशैयाको पूरै पुस्तक लेख्ने यशैया नै हुन्! यो कुरा हामी कसरी जान्दछौं? यो कुरा बाइबलले नै भनेकोले हामी जान्दछौं! यूहन्ना १२:३७-४१ मा यशैयाबाट दुईटा खण्डहरू उद्दरण गरिएका छन्। पहिलो (पद ३८) चाहिँ यशैया ५३ अध्यायबाट उद्दरण गरिएको हो (पुस्तकको पछिल्लो आधा भाग) र दोस्रो (पद ४०) चाहिँ यशैया ६ बाट उद्दरण गरिएको हो (पुस्तकको अघिल्लो आधा भाग), अनि बाइबलले भन्दछ यशैयाले नै दुवै खण्डहरू लेखेका हुन्!

एउटा सङ्क्षिप्त बाइबल

यशैयाको पुस्तक एउटा “सङ्क्षिप्त बाइबल” जस्तै छ। बाइबलमा कतिओटा पुस्तकहरू छन्? ______________। यशैयामा कतिओटा अध्यायहरू छन्? _____________। यशैयाको पुस्तक दुईटा मुख्य भागहरूमा विभाजित छ: भाग १ (अध्याय १-३९) र भाग २ (अध्याय ४०-६६)। भाग १ मा ३९ ओटा अध्यायहरू छन् जसरी पुरानो नियममा __________ ओटा पुस्तकहरू छन्। भाग २ मा २७ अध्यायहरू छन् जसरी नयाँ नियममा ___________ ओटा पुस्तकहरू छन्। साथै यशैया ४० (भाग २ को पहिलो अध्याय) को सुरुआत र नयाँ नियमको सुरुआतमा एउटा समानता पाइन्छ; यी दुवै खण्डको सुरुआतमा बप्तिस्मा दिने यूहन्नालाई भेटिन्छ (यशैया ४०:३)! तुलना गर्नुहोस् मर्कूस १:३।

इस्राएलका महान् मसीह

पुरानो नियमका धेरैओटा पुस्तकहरूमा इस्राएलको प्रतिज्ञा गरिएको मसीहको झलक पाउन सकिन्छ। यो हामीले भजनसङ्ग्रहमा देखिसकेका छौं (अध्याय ७)। यशैयाको पुस्तकमा मुक्तिदाता मसीहलाई पुरानो नियमका अन्य पुस्तकमा भन्दा छर्लङ्गसित देख्न सक्दछौं। केही उदाहरणहरू निम्न प्रकार छन्:

  1. यशैया ७ मा कुन पदले मसीह कन्याबाट जन्मनुहुनेछ भनेर बताउँछ? पद: _________। इम्मानुएल शब्दको माने के हो (मत्ती १:२२-२३ मा हेर्नुहोस्)? ________________________________________________।
  2. यशैया अध्याय ९ मा कुन पदले मसीह दुवै परमेश्वर तथा मानिस हुनुहुनेछ भनेर बताउँछ? पद ______________
  3. मानिस हुनुभएकोले उहाँ एक जन्मेका बालक हुनुहुनेछ! परमेश्वर हुनुभएकोले उहाँ दिइनुहुने पुत्र हुनुहुनेछ (हेर्नुहोस् यूहन्ना ३:१६) अनि उहाँ “सर्वशक्तिमान् ___________________” को नामले कहलिनुहुनेछ (यशैया ९:६ मा हेर्नुहोस्)।

सायद बाइबलभरिमा मसीहको सबभन्दा महान् अगमवाणी यशैया ५३ मा भेटिन्छ। पदैपिच्छे यस अध्यायले मसीह हाम्रा पापको निम्ति मर्नुहुनेछ भनेर बताउँदछ! पाँचौं पदलाई हेर्नुहोस्:

“तर ऊ ता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्‍यो, र उसका कोर्राका चोटहरूद्वारा हामीहरू निको भयौं।”

याद गर्नुहोस्, ख्रीष्ट को हुनुहुन्छ भन्ने बारेमा र उहाँको जन्म र उहाँको मृत्युको बारेमा सम्पूर्ण कुराहरू बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा ७०० वर्ष अगाडि नै यशैयाद्वारा लेखिएका थिए।

इस्राएलका महान् राजा

सारा संसारमा राजा स्वरूप येशू ख्रीष्टले राज्य र शासन गर्नुहुने प्रतिज्ञा गरिएको राज्यको बारेमा बताउने थुप्रै खण्डहरू यशैयाको पुस्तकमा छन्। निम्न खण्डहरूलाई ध्यान दिनुहोस्:

  1. यशैया २:१-५
    राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________
  2. यशैया ९:६-७
  3. राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________
  4. यशैया ११:१-९
  5. राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________

के मसीह एकभन्दा धेरै छन्?

हामीले मसीहको बारेमा यशैयाको पुस्तकका विभिन्न खण्डहरू पढ्दाहुँदि, यी व्यक्तिलाई दुई भिन्न तरिकाहरूले वर्णन गरिएको हामीले देख्न सक्छौं:

  1. कष्टमा पर्नुभएको मसीह जो मर्नुहुन्छ। यशैया ५३ मा हामीले मसीहको कष्ट र मृत्युको बारेमा पढ्न सक्छौं।
  2. राजकीय मसीह जसले सदासर्वदाको लागि राज्य गर्नुहुन्छ। यशैया ९:६-७ र यशैया ११:१-५ मा हामीले एकजना मसीहको बारेमा सिक्न पाउँछौं जो सारा पृथ्वीमाथि राजा बन्नुहुनेछ र जसले सदाको निम्ति शासन र राज्य गर्नुहुनेछ!

झट्ट हेर्दा यी खण्डहरूले दुई भिन्नाभिन्नै व्यक्तिहरूको वर्णन गरिरहेको जस्तो देखिन सक्छ: १) एकजना मसीह जो कष्टमा पर्नुहुन्छ र मर्नुहुन्छ। २) एकजना मसीह जसले राजा भएर शासन गर्नुहुन्छ। प्राचीन कालका केही यहूदीहरूले यी पदहरू पढ्दथे र निश्चय पनि त्यहाँ एकभन्दा बेसी मसीहहरू हुनुपर्छ भनी सोच्दथे! यूहन्ना १२:३३-३४ मा समेत यहूदीहरू साह्रै छक्क परेका थिए। कसरी मृत ख्रीष्टले सदाको निम्ति राज्य गर्नुहुनेछ त?

त्यहाँ दुईजना मसीहहरू हुनेछन् भनी केही यहूदीहरूले विश्वास गर्दथे। कष्टमा पर्नुभएको मसीलाई उनीहरूले “यूसुफका पुत्र” भन्दथे र राजकीय मसीहलाई उनीहरूले “दाऊदका पुत्र” भन्दथे।

नयाँ नियमले यो समस्याको समाधान गरिदिन्छ र हामीलाई मसीह एकजना मात्र हुनुहुन्छ भनी देखाउँछ, अर्थात् प्रभु येशू ख्रीष्ट। नयाँ नियममा हामी सिक्न सक्छौं कि त्यहाँ एकजना मात्र मसीह हुनुहुन्छ तर पृथ्वीमा उहाँको आगमन चाहिँ दुईओटा छन्:

  1. पहिलो आगमन त्यस बेला भयो जब येशू ख्रीष्ट पापी मानिसहरूलाई बचाउनको निम्ति यस संसारमा दु:ख भोग्न र क्रूसमा मर्नको निम्ति आउनुभयो (१ तिमोथी १:१५)।
  2. दोस्रो आगमन त्यसबेला हुनेछ जब येशू ख्रीष्ट संसारको न्याय गर्न र संसारमा राज्य गर्नको लागि फेरि आउनुहुनेछ (प्रकाश १:७)।

यशैया अनुसारको सुसमाचार

यशैयाको पुस्तकले मुक्तिको शुभ-समाचारलाई एकदम स्पष्ट रूपमा प्रस्तुत गर्दछ। यशैयाको पुस्तक मात्र प्रयोग गरेर कुनै व्यक्तिलाई मुक्ति कसरी पाउन सकिन्छ भनी देखाउन सम्भव छ। पुरानो नियमलाई विश्वास गर्ने तर नयाँ नियमलाई विश्वास नगर्ने यहूदीहरूलाई बताउँदा यसो गर्न सकिन्छ। तपाईंले निम्न जोडा मिलाउने कार्य गर्नुहुँदा यशैयाको पुस्तकले ख्रीष्ट र मुक्तिको बारेमा सिकाउने महत्त्वपूर्ण सत्यताहरू पत्ता लगाउन सक्नुहुन्छ:

के तपाईंले उहाँको उदेकको शुभ समाचारमा विश्वास गर्नुभएको छ? के तपाईंले यस महान् मसीहलाई तपाईंको व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको छ?

चाबी अध्याय

यशैयाको पुस्तकका महत्त्वपूर्ण अध्यायहरूमध्ये एउटा चाहिँ यशैया ६ हो। यो एकदम व्यक्तिगत खाले अध्याय हो जसले हामीलाई यशैया नाम गरेका एकजना व्यक्तिको बारेमा र तिनले देखेका दुईटा कुराहरूको बारेमा बताउँदछ:

१) यशैयाले परमेश्वरलाई देखे! १ पदमा, यशैयाले भने, “मैले _______________लाई ………देखें” र ५ पदमा: “किनकि मेरा _______ राजालाई, अँ, सेनाहरूका ____________ देखे”। जब यशैयाले परमेश्वरको एक झलक पाए, तिनले परमेश्वरको बारेमा देखेको एउटै कुरा के थियो (३ पद हेर्नुहोस्):

  1. परमेश्वरको प्रेम
  2. परमेश्वरको पवित्रता
  3. परमेश्वरको दया
  4. परमेश्वरको भलोपन

२) यशैयाले आफैलाई देखे! ५ पदमा यशैयाले आफूलाई तिनी जस्ता थिए त्यस्तै देखे। पहिले तिनले परमेश्वर कति पवित्र हुनुहुन्छ भनी देखे, र त्यसपछि आफ्नै बारेमा तिनले केहि कुरा सिके। आफ्नो बारेमा तिनले के भने (५ पद)?

  1. “म कति उदेकको छु!”
  2. “म कति बुद्धिमान छु!”
  3. “म कति खुशी छु!”
  4. “म कति पापी र अशुद्ध छु!”
  5. “म कति धर्मी छु!”

जब मान्छेले परमेश्वरको सामु आफ्नो वास्तविक अवस्था देख्न थाल्दछ, तब ऊ परमेश्वरबाटको अनुग्रहपूर्ण क्षमा र शुद्धिकरणका निम्ति तयार भएको हुन्छ (६-७ पदहरू पढ्नुहोस्)।

के तपाईंले परमेश्वरलाई वचनमा उहाँ जस्तो प्रस्तुत हुनुहुन्छ त्यस्तै देख्नुभएको छ? के तपाईंले बाइबलको अध्ययन गरेर परमेश्वर कति पवित्र र धर्मी अनि शुद्ध हुनुहुन्छ भनी जान्नुभएको छ?

के तपाईंले आफैलाई परमेश्वरको सामु तपाईं वास्तवमै जस्तो हुनुहुन्छ, त्यस्तै देख्नुभएको छ? के तपाईंले आफू पापपूर्ण र अशुद्ध छु भनी देख्नुभएको छ? के तपाईं महान् मसीहलाई तपाईंको पाप क्षमा गर्न र तपाईंलाई बचाउन दिन इच्छुक हुनुहुन्छ?

परमेश्वरले तपाईंको निम्ति जे गरिदिनुभएको छ, त्यसको खातिर के तपाईं उहाँको निम्ति एउटा प्रयोजनको भाँडो हुन र उहाँको जस्तोसुकै इच्छा पूरा गर्न तयार हुनुहुन्छ (यशैया ६:८ पढ्नुहोस्)?

परमेश्वर पवित्र हुनुहुन्छ
म पापपूर्ण छु।
मसीह मेरो निम्ति मर्नुभयो (यशैया ५३)
परमेश्वले क्षमा गर्न सक्नुहुन्छ
प्रभु, धन्यवाद छ, म यहाँ छु!

सुसमाचार अर्थात् ख्रीष्टको असल समाचार, अँ, मसीह स्वयंलाई इन्कार गर्न सकिन्छ तर परमेश्वरको शासनबाट भने उम्कन असम्भव छ! तपाईंले उहाँलाई मुक्तिदाताको रूपमा इन्कार गर्नुभयो भने एकदिन तपाईंले उहाँलाई तपाईंको न्यायकर्ताको रूपमा सामना गर्नै पर्छ!

यर्मिया र विलाप

यी दुई पुस्तकहरू एकसाथ अध्ययन गर्न सकिन्छ किनभने यी दुवै पुस्तकहरू एउटै व्यक्ति अर्थात् अगमवक्ता यर्मियाद्वारा लेखिएका हुन्।

यर्मियाले आफ्नो सेवकाइ यशैयाको मृत्युको ६० वर्षपछि सुरु गरेका हुन्। उनले आफ्नो पुस्तक ख्रीष्टको समयभन्दा ६०० वर्ष अगाडि लेखेका थिए। यर्मियाले आफ्नो सन्देश यरुशलेमको अन्तिम दिनहरूमा, बेबिलोनीहरूद्वारा शहर सर्वनाश गरिनुभन्दा अगाडि बताएका थिए। उनले विश्वासयोग्यतापूर्वक मानिसहरूलाई तिनीहरूको पापहरूको कारणले आउन लागेको इन्साफको बारेमा चेतावनी दिए, तर तिनीहरूले उनको चेतावनीलाई ध्यान दिन इन्कार गरे। उनले परमेश्वरको सन्देश यहूदाका अन्तिम पाँच राजाहरू अर्थात् योशियाहबाट सुरु गरेर सिदकियाहसम्मको राज्यकालमा बताएका थिए। यी राजाहरूमध्ये असल राजाहरू कतिजना थिए (पाचौं पाठमा भएको चार्ट हेर्नुहोस्)? _________________________

यर्मियाले यहूदी मानिसहरूलाई परमेश्वरको चेतावनी यहूदा राज्यको अन्तिम दिनहरूमा घोषणा गरेका थिए (दक्षिणी राज्य, ५ अध्याय पढ्नुहोस्)। ती दिनहरू कस्ता थिए? ती दिनहरूमा जिइरहेका मानिसहरूको बारेमा परमेश्वरले यर्मिया १:१६ मा वर्णन गर्नुभएको छ:

“अनि उनीहरूको सारा _________ सम्बन्धमा म उनीहरूकै विरोधमा मेरा फैसलाहरू घोषणा गर्नेछु, जसले _________ __________ छन्, ______ ___________ निम्ति धूप बालेका छन् र आफ्नै हातहरूका कामहरू (मूर्तिहरू) लाई दण्डवत् गरेका छन्।”

यर्मिया, उनको चेतावनी र आउन लागेको न्यायको बारेमा सन्देश लिएर यस किसिमका मानिसहरूकहाँ पठाइएका थिए! यर्मिया करिब ५० वर्षसम्म यहूदा र यरूशलेमको शहरका निम्ति परमश्वरकै आवाज भएका थिए।

प्रेम नगरिएका अगमवक्ता

जब यर्मियाले परमेश्वरको सन्देश प्रचार गरे, उनका श्रोताहरू मित्रभावले भरिएका थिएनन्! उनको सेवकाइको सुरुमा परमेश्वरले यर्मियालाई ठीक कुन कुराको अपेक्षा गर्नुपर्छ भनी बताउनुभएको थियो:

“अनि उनीहरू तिमीसित _________ _________; तर उनीहरू तिमीमाथि विजयी हुनेछैनन्; किनकि तिमीलाई ___________ म तिम्रो _________ छु, परमप्रभु भन्नुहुन्छ” (यर्मिया १:१९)।

यर्मिया आफ्नै मानिसहरूद्वारा सताइनेछन् भन्ने कुरा उनले जानेको परमेश्वर चाहनुहुन्थ्यो, तर यो पनि जानेको चाहनुहुन्थ्यो कि परमेश्वरले उनलाई छुटाउनुहुनेछ र उनको ख्याल राख्नुहुनेछ। यर्मिया खासै लोकप्रिय प्रचारक थिएनन्!

यर्मियाको सन्देश पनि वास्तवमा धेरै लोकप्रिय सन्देश थिएन। यर्मिया १९:१५ मा भएको न्यायको सन्देश पढ्नुहोस्। के यो सुनेर त्यस ठाउँका मानिसहरू खुशी भए होलान् जस्तो लाग्छ तपाईंलाई? उनको प्रचारको कारणले यर्मियालाई के भयो (यर्मिया २०:२)? _____________________________________________________________

यर्मिया परमेश्वरको निम्ति आवाज थिए, तर उनले बहिरा कानहरूकहाँ बोले। के मानिसहरूले उनको सन्देशलाई ध्यान दिएर सुने (यर्मिया ३७:२)? __________ तिनीहरूले यर्मियालाई के गरे (यर्मिया ३७:१५)? ____________________________________________________

पछि उनलाई एउटा डरलाग्दो झ्यालखानामा फालियो अर्थात् एउटा दलदले खाडलमा (यर्मिया ३८:६ पढ्नुहोस्)! तर तिनीहरूले यर्मियालाई जस्तो व्यवहार गरे तापनि अथवा तिनीहरूले उनलाई जहिँ राखे तापनि, परमेश्वर सधैं उनीसँगै हुनुहुन्थ्यो! उनी मानिसहरूद्वारा प्रेम गरिएनन् तर उनको परमेश्वरद्वारा साह्रै प्रेम गरिए!

यर्मियाको सेवकाइ

उनको इलाका: (उनके प्रचार गरेका मानिसहरू):
	सत्यत्याग गरेको एउटा जाति (परमेश्वरबाट पछि हटेका मानिसहरू)।
उनको सन्देश:
	आउन लागेको न्याय र विनाश! बेबिलोनीहरू आउँदैछन्!
उनको जनप्रियता:
	शत्रु कसरी बनिन्छ भनी उनी राम्ररी जान्दथे!
उनको वासस्थान (उनी बस्ने गरेको स्थान):
	प्राय: जसो झ्यालखाना
उनको प्रोत्साहन:
	एउटा __________ शूरवीर मानिससमान परमेश्वरको उनको साथमा
         हुनुहुन्थ्यो (यर्मिया २०:११)।
उनको प्रेरणा: 
	परमेश्वरको वचन उनको हृदयमा जलिरहेको थियो (यर्मिया २०:९)।

चाबी शब्दहरू

यस पुस्तकमा “बेबिलोन” शब्द १६४ पटक पाइन्छ! घरि-घरि यर्मियाले यहूदीहरूलाई तिनीहरूको पापहरूको कारणले परमेश्वरको न्याय आउँदैछ, र परमेश्वरले बेबिलोनीहरू तिनीहरूको शहर विनाश गर्न र तिनीहरूलाई कैद गरेर लैजान पठाउँदैहुनुहुन्छ भनी चेतावनी दिइरहे। यहूदीहरूले बेबिलोनको बारेमा सोच्न चाहेनन् तर यर्मियाले तिनीहरूलाई आउँदै गरेको न्यायको बारेमा सम्झना दिलाइरहे। यसको एउटा नमूना यर्मिया २०:५ मा पाइन्छ: “अनि म शहरको सारा धनसम्पत्ति, यसको सारा परिश्रम र यसका सबै बहुमूल्य थोकहरू सुम्पिदिनेछु, अँ, यहूदाका राजाहरूका सबै भण्डारहरू म तिनीहरूका _________ हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई लुट्नेछन्, तिनीहरूलाई _________ गर्नेछन् र तिनीहरूलाई __________ लैजानेछन्”। यर्मियाको दृढ सन्देश यहि थियो: “बेबिलोनीहरू आउँदैछन्! परमेश्वरको न्याय आउँदैछ!”

अर्को चाबी शब्द “पछि हट्नु” हो। यो १३ पटक पाइन्छ (यर्मिया ३:२२; ५:६; ६:५; १४:७)। तिनीहरूको पापहरूको कारणले त्यो जाति परमेश्वरबाट पछि हटिरहेको थियो। परमेश्वरले उहाँका मानिसहरूको पछि हटाइलाई निको पार्न सक्नुहुन्छ तर उनीहरूले प_________ गर्नैपर्छ (यर्मिया ३:१२, २२)।

तेस्रो चाबी शब्द “मान्नु” हो। यो १८ पटक पाइन्छ। घरि-घरि यर्मियाले मानिसहरूलाई यो सन्देश सुनाए: “तर तिमीहरूले न _________ आफ्नो परमेश्वरको वाणी, न अरू कुनै कुरा नै ___________ छौ” (यर्मिया ४२:२१; साथै ३:१३; ९:१३; ३२:२३; ४०:३ इत्यादि पनि पढ्नुहोस्)। परमेश्वरका जनहरूले उहाँले भन्नुभएको कुरा अनुसार गर्न इन्कार गरे र यसैले तिनीहरूमाथि जोखिम आइपर्‍यो। यहि कुरा आजका मानिसहरूको सम्बन्धमा पनि सत्य छ। परमेश्वरको वाणी नमान्ने हरेक खतरामा छन्। परमेश्वरको आशिष आज्ञा मान्नेहरूमा छ र परमेश्वरको श्राप आज्ञा नमान्नेहरूमाथि छ (यर्मिया ११:३)। आज पनि आज्ञापाल गर्नु लाभदायक छ!

“मकहाँ फर्की!”

यर्मियाको पुस्तकका पदहरूमध्ये एउटा चाबी पद ४:१ मा पाइन्छ—“परमप्रभु भन्नुहुन्छ: हे इस्राएल, तँ फर्कन्छस् भने ___कहाँ _______!” परमेश्वरका जनहरू परमेश्वरबाट अन्तै फर्केका थिए र आफ्नो अनाज्ञाकारिता र पापमा जीवन बिताइरहेका थिए। यस पदमा परमेश्वरले मानिसहरूलाई फेरि आफूकहाँ बोलाइरहनुभएको छ! परमेश्वर यर्मियाद्वारा यसो भन्दै मानिसहरूसँग बोल्नुभयो, “परमेश्वरकहाँ फर्क! परमेश्वरकहाँ फर्केर आओ!”

के मानिसहरूले परमेश्वरले भन्नुभएझैं गरे? के तिनीहरू परमेश्वरकहाँ फर्के? यर्मिया ५:३ मा भएको दु:खद पदहरूलाई बिचार गर्नुहोस्। यस पदको अन्तिम चार शब्दहरू के-के हुन्? _________ __________ __________ ________। परमेश्वरले तिनीहरू उहाँकहाँ आएको चाहनुहुन्थ्यो। तिनीहरूले आउन इन्कार गरे! यूहन्ना ५:४० सँग तुलना गर्नुहोस्। के आजा येशू ख्रीष्टले मानिसहरू उहाँकहाँ आएको चाहनुहुन्छ? (मत्ती ११:२८ र यूहन्ना ६:३५, ३७)? ___________ के तपाईं उहाँकहाँ आउनुभयो, अथवा के तपाईंले उहाँकहाँ आउन इन्कार गर्नुभयो?

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ!

यर्मियाको पुस्तकमा केहि खुशीका समाचारहरू पनि छन्! यद्यपि न्याय आउँदैथियो, चहकिलो दिन पनि आउँदैछ भनी यर्मिया जान्दथे! परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि, उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ! परमेश्वरको महान् विश्वासयोग्यताको कारणले, भविष्यमा इस्राएल राष्ट्रको निम्ति उहाँले केहि उदेकको कार्य गर्नुहुनेछ।

यर्मिया ३१:३१-३४ मा परमेश्वरले हामीलाई एउटा उदेकको नयाँ वाचाको बारेमा भन्नुहुन्छ जुन उहाँले कुनै एकदिन इस्राएल राष्ट्रसँग बाँध्नुहुनेछ। विगतमा परमेश्वरले इस्राएलका सन्तानहरूलाई मोशाको व्यवस्था दिनुभयो। के उनीहरूले यो व्यवस्था पालन गरे कि यो व्यवस्था तोडिदिए (यर्मिया ३१:३२)?________________________________ भविष्यमा परमेश्वरले केहि विशेष कार्य गर्नुहुनेछ। “म मेरो _________ तिनीहरूको अन्तस्करणमा हालिदिनेछु, र म त्यो तिनीहरूको _________ लेखिदिनेछु; अनि म तिनीहरूको __________ हुनेछु, र तिनीहरू _________ प्रजा हुनेछन्” (यर्मिया ३१:३३)। के परमेश्वरले तिनीहरूका अधर्म क्षमा गरिदिनुहुनेछ (यर्मिया ३१:३४)? _________ के तिनीहरू सबैले परमप्रभुलाई चिन्नेछन् (यर्मिया ३१:३४)? __________

यो नयाँ वाचा राज्यको समयमा बाँधिनेछ, अर्थात्, जब येशू ख्रीष्ट राजाहरूका राजाको रूपमा संसारमा फर्की आउनुहुनेछ। यशैयाले जस्तै यर्मियाले पनि हामीलाई यस महिमित राज्यको बारेमा बताउँछन्। यस महान् राज्यको बारेमा वर्णन गर्ने खण्डहरूमध्ये एउटा चाहिँ यर्मिया २३:५-८ हो। यी पदहरूले बताएका महान् राजा को हुनुहुन्छ, के तपाईंलाई थाह छ? ___________________________________________

विलापको पुस्तक

बेबिलोनीहरू पलिस्ती भूमिमा आएर अनि यरुशलेम शहरमाथि विजय हासिल गरेको भयानक आक्रमण देख्न यर्मिया जीवित रहेका थिए। यो हुनेछ भनी यर्मियाले मानिसहरूलाई चेतावनी दिएका थिए, अनि यो घटना घटेको उनले आफ्नै आँखाले देखे (यर्मिया ३९ अध्याय पढ्नुहोस्)।

यो न्यायको बारेमा यर्मियाले के सोचे? के उनले आनन्दित हुँदै यसो भने, “यी अधर्मी मानिसहरू जुन कुराको योग्य थिए त्यही भोगिरहेको देख्दा म औधी खुसी छु!”? होइन, यर्मियाको हृदय टुटेको थियो! उनले उनका यहूदी मानिसहरूका निम्ति विलाप गरे र शोक मनाए। तिनीहरूले उनलाई घृणा गरे तापनि, उनले तिनीहरूलाई प्रेम गरे।

यर्मिया “रोइरहेका अगमवक्ता” अथवा “चूर्ण हृदय भएका अगमवक्ता” भनी चिनिन्छन्। के साँच्चै उनले उनका मानिसहरूका निम्ति आँसु झारे (यर्मिया ९:१; १३:१७; १४:१७)? ________

यरुशलेमको सर्वनाश पश्चात् यर्मियाले एउटा पुस्तक लेखे जसलाई आज हामी “विलापको पुस्तक” भन्छौं। “विलाप” शब्दको अर्थ “शोक र दु:खमा रुनु” हुन्छ। रोइरहेका अगमवक्ता उनको प्रिय शहर र उनको प्रिय मानिसहरूको निम्ति शोक मनाइरहेका थिए।

विलापको पुस्तक पद्य (कविता) शैलीमा लेखिएको पुस्तकहरू मध्ये एउटा हो (पाठ ७ हेर्नुहोस्)। यो वर्णक्रममा मिलाएर लेखिएको कविता वा गीत हो (पाठ ७ हेर्नुहोस्)। उदाहरणको निम्ति, पहिलो अध्यायमा २२ ओटा पदहरू छन् र पहिलो पद हिब्रू वर्णमालाको पहिलो अक्षरबाट सुरु हुन्छ, दोस्रो पद दोस्रो अक्षरबाट सुरु हुन्छ, आदि। विलापको पुस्तकलाई “चूर्णहृदयको गीत, दु:खको भजन, शोकको राग र आँसुको कथा” भनिएको छ।

चाबी पद

यर्मिया १:१८ चाबी पद हो र यो पदले यरूशलेम किन विनाशमा छ भन्ने कारण दिन्छ। परमप्रभु ध____ हुनुहुन्छ उहाँका जनहरू पापी छन् र उहाँको विरोधमा बिद्रोह गरेका छन्! तर विलापको पुस्तकमा केही खुशीका खबरहरू र आशाका सन्देशहरू पनि छन् (३:२१)। परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि उहाँ विश्वासयोग्य हुनुहुन्छ! जब परमेश्वरले त्यस जातिको न्याय गर्नुभयो उहाँले यहूदीहरूलाई पूर्ण रूपले नष्ट गर्नुभएन। उहाँले त्यसो गर्न सक्नुहुन्थ्यो र तिनीहरू यसको योग्य थिए, तर परमेश्वरले तिनीहरूलाई पूरै नाश पार्नुभएन! किन? यसको जवाफ विलाप ३:२२-२३ मा पाइन्छ: “परमेश्वरका ____________ कारणले हामी ____________ भएनौं; किनभने उहाँका कोमल कृपाहरूको अन्त हुँदैन। हरेक बिहान ती नयाँ-नयाँ हुन्छन्; तपाईंको ______________ महान् छ”। परमेश्वरको कृपाहरू र विश्वासयोग्यताको कारण तिनीहरूको विनाश पूरै भएन! परमेश्वरले इस्राएलसँगको आफ्नो व्यवहार सिद्ध्याउनु भएन। तिनीहरूको निम्ति उहाँले एउटा उदेकको भविष्य राख्नुभएको छ! यद्यपि तिनीहरूले यर्मिया र उनको सन्देशलाई इन्कार गरिदिए (र पछि येशू र उहाँको सन्देशलाई इन्कार गरिदिए), अझैपनि परमेश्वरले आफ्नो जनहरूलाई परित्याग गर्नुभएन (रोमी ११:१)। परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि उहाँ विश्वासयोग्य हुनुहुन्छ!

जब हामी विलापको पुस्तक अध्ययन गर्दछौं, हामीले यर्मिया र उनका आँसु पछाडि हेर्नुपर्छ र विलाप गरिरहनुभएको अर्को व्यक्तिलाई देख्नुपर्छ! आफ्नो जनहरूका पापहरूको कारण परमेश्वरको आफ्नै हृदय टुटेको थियो। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई प्रेम गर्नुहुन्छ भनी हामीले कहिल्यै पनि बिर्सनुहुँदैन। हृदय टुटेको अगमवक्ताले यो प्रकट गर्दछन् कि परमप्रभुका मानिसहरूको पापले परमप्रभुको हृदयलाई चोट पुर्‍याउँछ।

शताब्दियौंपछि जब परमेश्वर आफै संसारमा आउनुभयो, उहाँले यर्मियाले जस्तै गर्नुभयो! उहाँले यरूशलेम शहरको निम्ति विलाप गर्नुभयो (लूका १९:४१)। धेरै हिसाबमा येशूको सेवकाइ यर्मियाको सेवकाइसँग मिल्दोजुल्दो थियो। येशूको सन्देश प्रायः बहिरा कानहरूमा पर्‍यो। उहाँका आफ्नै मानिसहरूले उहाँलाई इन्कार गरे (यूहन्ना १:११)। मानिसहरूले उहाँलाई घृणा गरे र यहाँसम्म कि उहाँलाई क्रूसमा टाँगिदिए, तर उहाँले तिनीहरूलाई प्रेम गर्नुभयो। उहाँ असाध्यै इच्छुक हुनुहुन्थ्यो (“मैले…इच्छा गरें”—मत्ती २३:३७), तर तिनीहरू असाध्यै अनिच्छुक थिए (तिमीहरूले इच्छा गरेनौ—मत्ती २३:३७)।

मानिसहरू पापमा जीवन बिताइरहेको र न्यायमा पर्न लागिरहेको देख्नुभएर परमेश्वर कदापि प्रसन्न हुनुहुन्न। यर्मियाको समयमा बाँचिरहेका मानिसहरूको निम्ति जस्तै आजका दिनमा बाँचिरहेका मानिसहरूको निम्ति पनि परमेश्वरको सन्देश उही नै छ: मकहाँ फर्क! के तपाईं फर्कनुहुन्छ? कि तपाईं फर्कन इन्कार गर्नुहुन्छ? सन्तगणका पापहरूले जहिल्यै पनि सन्तगणकहाँ शोक ल्याउँछ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email