इजकिएल र दानियल
इजकिएल र दानियल
इजकिएल र दानियल
यस अध्यायमा हामी अन्तिम इजकिएल र दानियल दुई वृहत अगमवक्ताहरूको बारेमा अध्ययन गर्न तयार छौं। यी दुवै मानिसहरू निर्वासनकालको समयमा, अर्थात् बेबिलोनीद्वारा कैद गरिएको समयमा जिएका थिए (अध्याय ९ हेर्नुहोस्)। पहिले हामी इजकिएलले लेखेको पुस्तकमा ध्यान दिनेछौं।
इजकिएल—पाप, इन्साफ र भविष्यको महिमा
शासक यहोयाकिनको शासनकालमा बेबिलोन लगिएका इजकिएल एक जवान पूजाहारी थिए (इजकिएल १:३)। उक्त निर्वासनको बारेमा तपाईंले २ राजा २४:१०-१६ मा अध्ययन गर्न सक्नुहुन्छ। इजकिएल पूजाहारी भए तापनि, यरूशलेममा भएको त्यो महान् मन्दिरमा उनले कहिल्यै पनि सेवा गर्ने अवसर पाएनन्। उनी बेबिलोन लगिएका थिए र केहि समय पछि यरूशलेमको मन्दिर ध्वस्त पारिएको थियो। तर परमेश्वरको हा_____ (इजकिएल १:३) ती मानिसमाथि थियो, र उनी वैदेशिक भूमीमा नै परमेश्वरको महान् अगमवक्ता बने!
इजकिएल कल्दीहरूको देशमा (बेबिलोनीहरूको भूमीलाई जनाउने यो अर्को शब्द थियो) कबार नदीको किनारमा थिए भनी हामीले इजकिएल १:३ बाट जान्न सक्छौं। बेबिलोन शहर नजिकै अवस्थित रहेको कबार चाहिँ एउटा नहर थियो। इजकिएल आफ्नो स्वदेश भूमीबाट झण्डै १५०० किलोमिटर टाढा थिए। अरू धेरै यहूदीहरू त्यहाँ उनीसँगै थिए, र यी कैदमा परेकाहरूको माझ इजकिएलको महत्त्वपूर्ण सेवकाइ थियो।
इजकिएल अरू दुई प्रख्यात मानिसहरूकै जीवनकालमा जिएका थिए। उनी दानियलको समयकालमा जिएका थिए। उनले दानियलको नाम पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। के तपाईंले इजकिएल १४ अध्यायमा दानियलको नाम दुई पटक उल्लेख गरिएको पदहरू भेट्टाउन सक्नुहुन्छ? पदहरू: ________ के तपाईंले इजकिएल २८ अध्यायमा दानियलको नाम उल्लेख गरिएको पद भेट्टाउन सक्नुहुन्छ? पद: ______ दानियल बेबिलोन शहरमा बस्दथे जहाँ उनले राजाको सेवा गर्दथे। यी दुई मानिसहरू झण्डै १५०० किलोमिटरको दुरीले टाढा भए तापनि इजकिएल अगमवक्ता यर्मियाको समयकालमा नै जिएका थिए । इजकिएल बेबिलोनमा कैद गरी लगिएका थिए तर यर्मिया “देशका सबैभन्दा गरिब मानिसहरू” का साथ यहूदाकै भूमीमा बसे (२ राजा २४:१४)।
इजकिएलको सन्देश
इजकिएलकहाँ “इस्राएलको सम्पूर्ण घराना” को निम्ति परमेश्वरको तर्फबाट एउटा सन्देश थियो (इजकिएल ३९:२५ पढ्नुहोस्)। उनी सम्पूर्ण जातिको निम्ति परमेश्वरको एउटा आवाज थिए। यो कस्तो किसिमको जाति थियो? इजकिएल २ अध्यायमा, तपाईंले कतिचोटी “विद्रोही, विद्रोह” शब्द भेट्टाउन सक्नुहुन्छ?_________ चाहे ती मानिसहरूले सुनुन् वा तिनीहरूले सुन्नलाई इन्कार गरुन् (इजकिएल २:५, ७), इजकिएलले तिनीहरूकहाँ परमेश्वरको सन्देश लिएर आउनैपर्थ्यो, र तिनीहरूले तिनीहरूको बीचमा एकजना _____________ रहेछन् भनी जान्नेथिए (इजकिएल २:५)।
इजकिएल पुस्तकको आवश्यकता किन पर्यो? उनको सन्देशको उद्देश्य के थियो? वास्तवमा त्यहाँ तीन मूल कारणहरू थिए:
१.परमेश्वरको न्यायलाई अत्यावश्यक बनाएको मानिसहरूका ठूला पापहरूलाई तिनीहरूको सामु राख्नु थियो।
पापलाई परमेश्वरले जसरी हेर्नुहुन्छ त्यसरी नै परमेश्वरका जनहरूले पनि यसलाई देख्नुपर्छ। यहूदी जाति परमेश्वरबाट फर्किएका थिए र परमेश्वरका आज्ञाहरूलाई तोडेका थिए। बेबिलोनी कैद कुनै एउटा दुर्घटना थिएन। यहूदी मानिसहरूलाई सजाय दिन र तिनीहरूलाई तिनीहरूका पापहरूदेखि पश्चात्ताप गराएर परमेश्वरकहाँ फर्काएर ल्याउन बेबिलोनीहरू परमेश्वरद्वारा पठाइएका थिए।
दोषी को-को थिए? सबैजना! इजकिएल २२:२३-२९ मा चार व्यक्तित्वहरू छन् जोहरूले त्यस देशका दोषीहरू को-को थिए भनी हामीलाई सम्झाउँछन्:
- १) भविष्यवक्ताहरू (यिनीहरू झूटा अगमवक्ताहरू थिए)-२५ र २८ पदहरू
- २) पूजाहारीहरू (धार्मिक अगुवाहरू)- २६ पद
- ३) शासकहरू (देशका शासकहरू)- २७ पद
- ४) त्यस देशका मानिसहरू- २९ पद
तिनीहरूका पापहरूको कारणले परमेश्वरले के गर्नैपर्थ्यो (इजकिएल २२:३१)? _________________________________________________
झूटा भविष्यवक्ताहरूले मानिसहरूलाई झूटो समाचारहरू सुनाइरहेका थिए। परमेश्वरले बोल्दै नबोल्नु भए तापनि तिनीहरूले यसो भन्दै थिए, “प्रभु यहोवा यसो भन्नुहुन्छ” (इजकिएल २२:२८)। ती भविष्यवक्ताहरूले मानिसहरूलाई तिनीहरू बेबिलोन लगिए तापनि, तिनीहरू छिट्टै यरूशलेम फर्काइनेछन् र यरूशलेम शहर नाश हुने छैन भनिरहेका थिए। मानिसहरूले सुन्न चाहेको सन्देश यही थियो, तर यो परमेश्वरको सन्देश थिएन। मानिसहरूले सुन्न नचाहे तापनि इजकिएलले तिनीहरूलाई साँचो सन्देश बताए। इजकिएलले तिनको पुस्तकको सुरुका अध्यायहरूमा परमेश्वरको न्याय आउनेछ भन्ने स्पष्ट बनाएका छन्। समयको अन्तरमा, इजकिएल चाहिँ ठीक थिए र अन्य अगमवक्ताहरू गलत। इजकिएलले आफू बेबिलोन पुगेको १२ वर्ष पछि यरूशलेम बेबिलोनीहरूद्वारा ध्वस्त भयो भन्ने खबर प्राप्त गरे (इजकिएल ३३:२१)।
के त्यस जातिमाथि इन्साफ ल्याउनुभएकोमा परमेश्वर अन्यायी हुनुहुन्थ्यो? इजकिएलको पुस्तकले परमेश्वरले गर्नुभएको हरेक कार्यमा उहाँ ठीक हुनुहुन्छ भनी एकदम स्पष्ट बनाउँछ किनभने त्यो जाति यही न्याय पाउने योग्यको थियो। अधिकांश यहूदीहरूले परमेश्वर अन्यायी हुनुहुन्छ भन्दै थिए (इजकिएल १८:२५,२९; ३३:१७,२०) तर तिनीहरूप्रति परमेश्वरको जवाफ यस्तो थियो: “तर तिम्रा मानिसहरूका सन्तानहरूले भन्छन्: ‘प्रभुको चाल _____________ (अन्यायी) छैन’; तर तिमीहरूचाहिँ — अँ, ____________ ________ एकसमान छैन” (इजकिएल ३३:१७)। अर्को शब्दमा भन्नुपर्दा समस्या परमेश्वरमा थिएन तर तिनीहरूमा थियो! दोष दिनुपर्ने परमेश्वरलाई होइन तर तिनीहरूलाई हो!
मानिसहरू सबै कुरामा सबैलाई दोष लगाउन मन पराउँछन् र तिनीहरूले परमेश्वरलाई समेत दोष लगाउँछन्! वास्तवमा दोषी व्यक्ति “म, म आफैं र म नै हुँ” भन्ने सत्यता हामी स्वीकार गर्न चाहँदैनौं। हामीले जे भन्नुपर्ने हो त्यो भन्न हामी इन्कार गर्दछौं, “परमेश्वर ठीक हुनुहुन्छ र म गलत छु! समस्या परमेश्वरमा होइन तर ममा छ!” इजकिएलको पुस्तकले हरेक मानिस व्यक्तिगत रूपमा नै परमेश्वरको सामु जिम्मेवार छ भन्ने पनि सिकाउँछ। हामीले गरेका कामहरूका निम्ति हामीले हाम्रा बुबाहरूलाई अथवा हाम्रा आमाहरूलाई अथवा आदमलाई वा अरू कुनै व्यक्तिलाई दोष लगाउन सक्दैनौं। हरेक मानिस उसको आफ्नै असल वा खराब कामहरूको कारणले खडा रहनेछ वा लड्नेछ। एउटा असल बुबाले स्वत: असल छोरालाई जन्म दिँदैन र खराब बुबाले स्वत: खराब छोरालाई जन्म दिँदैन (इजकिएल १८)। एउटा छोरा उसको बुबाद्वारा वा अन्य व्यक्तिहरूद्वारा प्रभावित हुन सक्छ, तर ऊ कस्तो किसिमको मानिस बन्ने हो भन्ने कुराको निर्णय ऊ स्वयंले गर्नुपर्छ र उसले गरेका निर्णयहरूको निम्ति ऊ स्वयं नै जिम्मेवार हुन्छ। मैले म कस्तो मानिस हुनेछु भनी निर्णय गर्नैपर्छ, र यदि म खराब भएर गएँ भने, यो मेरो आफ्नै गल्ती हो। मैले गरेका व्यक्तिगत रोजाइहरू र निर्णयहरूको लागी मैले अरूलाई दोष दिनु हुँदैन।
२.यहूदीहरूलाई उनीहरूको इतिहासको घोर अन्धकार समयमा हिम्मत प्रदान गर्नको निम्ति
इजकिएलको पुस्तकमा “खराब समाचारहरू” भन्दा पनि अझै धेरै कुराहरू छन्। वैदेशीक भूमीमा कैदी भएर बसेका यहूदीहरूलाई आशाको सन्देशको खाँचो थियो। त्यस जातिको निम्ति यो एकदम अन्धकार समय थियो। तिनीहरूको प्यारो शहर र मन्दिर शत्रुहरूद्वारा ध्वस्त पारिएको थियो र त्यहाँ भग्नावशेषहरूबाहेक केहि पनि बाँकी थिएन। के इजकिएलसँग आशा र सान्त्वनाको कुनै सन्देश थियो? सुरुङ्गको अन्त्यमा के कुनै ज्योती देख्न सकिन्थ्यो, कि त्यो पूरै अन्धकार थियो?
इजकिएलको ठूलो अगमवाणीले (विशेषगरी त्यस पुस्तकको अन्तिम खण्ड) एउटा उज्यालो दिन आउँदैछ भनी यहूदीहरुलाई एकदम स्पष्ट बनायो। “इस्राएलको सम्पूर्ण घराना” को निम्ति त्यहाँ एउटा असल खबर थियो (इजकिएल ३९:२५)। आफ्नो मानिसहरूको न्याय गर्नुहुने उही परमेश्वरले उहाँका मानिसहरूलाई आशिष पनि दिन सक्नुहुन्छ। यशैया र यर्मियाले जस्तै, इजकिएलले कुनै एकदिन संसारमा स्थापित हुने त्यस महिमित राज्यको बारेमा बताए। इजकिएलको अन्तिम अध्यायहरूमा (४०-४८ अध्यायहरू), ती अगमवक्ताले हजार वर्षको समयमा पृथ्वीमा हुने महान् मन्दिरको महिमित दर्शन देखे।
इजकिएलको दिनहरूमा भएका यहूदीहरूको निम्ति भविष्यको मन्दिरको दर्शन निकै अर्थपूर्ण भएको हुनुपर्दछ। बेबिलोनीहरूले सुलेमानले बनाएका सुन्दर र महिमित मन्दिरलाई पूरै सर्वनाश गरिदिएका छन् भनी उनीहरूलाई थाह थियो। सुलेमानले बनाए जस्तै विशाल मन्दिर कहिल्यै पनि बनेको थिएन। तरैपनि, परमेश्वरले निराश भएका यहूदीहरूलाई इजकिएलद्वारा आशाको सन्देश दिई उत्साहित गराउनुभयो। उहाँले भविष्यमा सुलेमानको मन्दिरको महानतालाई पनि उछिन्ने एउटा अर्को मन्दिर हुनेछ भनी तिनीहरूलाई बताउनुभयो। वर्तमान अवस्था रङ्गहीन र उराठलाग्दो देखिए तापनि भविष्य भने एकदम उज्यालो हुनेछ!
३परमेश्वरले इस्राएलको शत्रुहरूलाई पनि दण्डित गर्नुहुनेछ भनी उनीहरूलाई सम्झना दिलाउन।
परमेश्वरले उहाँका पापले पूर्ण मानिसहरूको इन्साफ गर्नुहुनेछ भन्ने सत्य कुरा हो तर परमेश्वरले अन्य पापले पूर्ण जातिहरूको पनि इन्साफ गर्नुहुनेछ। इजकिएल पुस्तकको मध्य भागका अध्यायहरूले अरू जातिहरूमाथि परमेश्वरले गर्नुहुने इन्साफको बारेमा बताउँदछ (२५-३२ अध्यायहरू)। ती मानिसहरूले पनि उहाँ परमेश्वर नै हुनुहुन्छ भनी जान्नेथिए!
परमप्रभुको महिमाको अगमवक्ता
इजकिएललाई “परमप्रभुको महिमाको अगमवक्ता” भनिएको छ किनभने उनको पुस्तकमा परमेश्वरको महिमाको बारेमा थुप्रै कुराहरू बताइएको छ। पहिलो अध्यायमा नै इजकिएलले परमप्रभुको महिमाको उदेकको दर्शन देखे। परमप्रभुको महिमा देखेपछि तिनले के गरे (इजकिएल १:२८)?__________________________________________________________
त्यस जातिको पापको कारणले सुलेमानको मन्दिरलाई परमेश्वरको महिमाले छोडेर गएको कुरा इजकिएल ११:२३ बाट हामीले जान्न सक्दछौं। तरुन्तै बेबिलोनीहरूद्वारा उक्त मन्दिर ध्वस्त हुन गइरहेको थियो। राज्यको युगमा परमेश्वरको महिमाले मन्दिर पुन: एकपटक भरिनेछ भनी इजकिएलको पुस्तकको पछिल्ला खण्डहरूमा हामीले सिक्न सक्छौं (इजकिएल ४३:२)। परमेश्वरले अचम्म तरिकाले आफ्नो उपस्थितिको बारेमा ज्ञान दिलाउनुहुनेछ।
चाबी खण्ड
इजकिएलको पुस्तकमा एउटा वाक्यांश घरि-घरि दोहोरिएको पाउन सकिन्छ। त्यो वाक्यांश इजकिएलको पुस्तकमा झण्डै ६० पटक भेट्टाइन्छ:
“तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ”
अथवा
“तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्”
कक्षाको निम्ति सुझाव: कुन चाहिँ विद्यार्थीले यो वाक्यांश भएको पदहरू धेरै भेट्टाउन सक्छ भनी कक्षा सञ्चालनको समयमा प्रतिस्पर्धा गर्न सकिन्छ। विद्यार्थीलाई ती पदहरू खोज्न दुई वा तीन मिनट दिन सकिन्छ, र त्यस समयको अन्त्यमा कुन विद्यार्थी धेरै पदहरू भेट्टाउन सफल हुनुभयो भनी जाँच्न सकिन्छ। विद्यार्थीहरूले उक्त पुस्तकको बिच भाग तिर खोज्न सुरु गरे भने उत्तम होला (एकदम सुरुमा पनि होइन वा एकदम अन्तिममा पनि होइन)।
परमेश्वरले आफैंलाई जनाउनुहुनेछ! परमेश्वरले आफैंलाई उहाँका मानिसहरूको सामु जनाउनुहुनेछ र परमेश्वरले आफैंलाई संसारका जातिहरूका सामु पनि जनाउनुहुनेछ! परमेश्वर, परमेश्वर नै हुनुहुन्छ भनी एकदिन सबै मानिसहरूले जान्नेछन्! के नयाँ नियमले पनि यो सिकाउँछ (फिलिप्पी २:१०-११)? ____________
पतन हुनु अघि सैतान कस्तो थियो?
पापमा खसेर सैतान बनेको स्वर्गदुतको बारेमा इजकिएलको पुस्तकमा एकदम रोचक खण्ड छ! यो खण्ड इजकिएल २८:११-१६ मा भेट्टाउन सकिन्छ। के परमेश्वरले सिद्ध स्वर्गदुत सृष्टि गर्नुभएको थियो कि उहाँले पापले पूर्ण सैतानलाई सृष्टि गर्नुभएको थियो? _____________________________________ सैतानको पापको बारेमा यशैया १४:१२-१५ मा पनि हामीले जान्न सक्छौं। यदि इजकिएल २८ मा यो खण्ड हामीसँग नभएको भए, पापमा खस्नु अघि सैतान कस्तो थियो भन्ने बारेमा हामीलाई निकै थोरै मात्र थाह हुनेथियो।
परमेश्वरको सन्देश अनुसार बोल्ने मात्र नभएर कार्य पनि गर्ने मानिस
इजकिएलले परमेश्वरको सन्देश बताउने मात्र भन्दा पनि अधिक काम गरे! उनले परमेश्वरको सन्देशलाई अभिनय पनि गरे। यो कुरा हामीले इजकिएल ४ र ५ अध्यायमा पनि देख्न सक्छौं। उनले गरेका कामहरू मध्ये केही यी हुन्:
१.बेबिलोनीहरूले शिघ्र भविष्यमा के गर्नेछन् भनी देखाउन तिनले इँटालाई यरूशलेम शहर मानिलिए र त्यसलाई आक्रमण गरेको अभिनय गरे (इजकिएल ४:१-४)।
२.तिनी ३९० दिनसम्म देब्रे कोल्टो परेर सुते र त्यसपछि ४० दिनसम्म दाहिने कोल्टो परेर सुते (इजकिएल ४:४-६)।
३.तिनले आफ्नो टाउको र दाह्री खुइलाए र केशहरूबाटको विभिन्न कामहरू गरे (इजकिएल ५:१-५)। यी सबै कामहरू महत्त्वपूर्ण कारणहरूले गरिएका थिए। तिनले परमेश्वरको सन्देशलाई नबिर्सने तरिकाले अभिनय गरिरहेका थिए।
आज परमेश्वरले इजकिएललाई भन्नुभएझैं हामीलाई त्यस्तो कार्यहरू गर्नलाई आज्ञा गर्नुभएको छैन। तर हामीले इजकिएलले परमेश्वरको सत्यतालाई कार्यमा उतारेको तरिकाबाट केही कुरा सिक्नु पर्छ। परमेश्वरको सत्यताको बारेमा बोल्ने वा भन्ने मात्र होइन, तर हामीले परमेश्वरको सत्यतालाई व्यवहारमा उतार्ने र त्यस अनुसार कार्य पनि गर्ने गर्नुपर्छ। हामीले परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा व्यवहारमा उतार्नुपर्छ ताकि मानिसहरूले हामीलाई हेर्दा हामीले “बाइबललाई व्यवहारमा उतारेको” देख्न सकून्। हामीहरू “जिउँदो पत्रहरू” र जिउँदो बाइबल हुनुपर्छ जो “_________ मानिसहरूद्वारा चिनिन्छ र ____________” (२ कोरिन्थी ३:२-३)। जब मानिसहरूले तपाईंको जीवनलाई हेर्दछन्, के तिनीहरूले परमेश्वरको सत्यता व्यवहारिक भएको देख्न सक्छन्? विद्यालयमा तपाईंले कसरी परमेश्वरको वचनलाई व्यवहारमा उतार्नुहुन्छ? छिमेकमा? तपाईंको परिवारको साथ घरमा? मण्डलीमा? हामीहरू परमेश्वरको वचन सुन्नेहरू मात्र होइन तर पालन गर्नेहरू पनि हुनुपर्छ (याकूब १:२२ हेर्नुहोस्)!
दानियल — राज्यहरूको उत्थान र पतन
हामीहरूमध्ये धेरैले सम्झन सक्छौं, हामीहरू साना छँदा दानियल सिंहको खोरमा फालिएको कथा अनि दानियल र तिनीसँगै आगोको भट्टीमा फालिएका तीनजना साथीहरूको कथा सुन्ने गर्दथ्यौं। परमेश्वर महान् परमेश्वर हुनुहुन्छ जसले उहाँका जनहरूलाई अचम्म तरिकाहरूले छुटकारा दिन सक्नुहुन्छ, तर दानियलको पुस्तकका ३ र ६ अध्यायहरूमा पाइने यी कथाहरू भन्दा पनि धेरै कुराहरू यस पुस्तकमा पढ्न सकिन्छ।
दानियल एक जवान मानिस थिए जो इजकिएल बेबिलोन आउनुभन्दा करिब ८ वर्ष अगाडि त्यहाँ कैद गरिएर लगिएका थिए। यस पुस्तकको सुरुमा दानियल केवल एउटा जवान व्यक्ति थिए (सम्भवत: १९ वर्ष नजिक)। त्यस समय ताका यर्मिया र इजकिएल पनि जिवितै थिए। बेबिलोनीहरूको हातमा ठूलो शक्ति थियो। यस पुस्तकको अन्त्यमा दानियल एक वृद्ध मानिस थिए (करिब ८० वर्ष वा बढी)। त्यस समय ताका यहूदी महापुजाहारी यहोशू, र यहूदी शासक जेरूबाबेल जिवित थिए। उनीहरूको बारेमा एज्राको पुस्तकको पहिलो खण्डतिर (यस अध्ययनमालाको अध्याय ६ हेर्नुहोस्) र हाग्गैको पुस्तकमा पनि पढ्न सकिन्छ। यो समयमा शक्ति बेबिलोनीहरूको हातमा होइन तर फारिसीहरूको हातमा थियो।
दानियल-एक मानिस
दानियल एक ईश्वरीय र धर्मी मानिस थिए। इजकिएल १४:१४,२० मा परमेश्वरले दानियलको नाम संसारकै मानिसहरूमध्ये दुईजना अति धर्मी मानिसहरूसँग जोड्नुभयो, नूह (उत्पत्ति ६:९) र अय्यूब (अय्यूब (१:१)। दानियलको पुस्तकमा यस व्यक्तिको बारेमा महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौं जो उनको परमेश्वरका “अति _______ मानिस” थिए (दानियल १०:११)।
१.दानियल एक अठोट भएको मानिस थिए।
“तर दानियलले आफ्नो ________ आफूलाई अशुद्ध नपार्ने _________ गरेका थिए” (दानियल १:८)। दानियलले आफैंलाई कुनै एउटा अन्यजातिको माझमा भेट्टाए जसले परमेश्वरको आदर गर्दैनथ्यो तर वरिपरिका मानिसहरूले जे सुकै गरे तापनि आफूले चाहिँ परमेश्वरको आदर गर्नेछु भनी दानियलले आफ्नो हृदयमा निर्णय गरे। एउटा अङ्ग्रेजी भजनमा यसरी गाउने गरिन्छ, “दानियल हुन साहस गर, एक्लै खडा रहन साहस गर, स्थिर उद्देश्य राख्न साहस गर, अरूहरूलाई थाह गराउन साहस गर” तपाईं नि? तपाईंको वरिपरि भएका मानिसहरूले परमेश्वरको आदर नगरे तापनि के तपाईं आफूले चाहिँ परमेश्वरको आदर गर्ने निर्णय गर्नुभएको छ? स्कूलमा साथीहरूमध्ये कसैले पनि आफ्नो खाजा खानुभन्दा अगाडि प्रार्थनामा शिर निहुराउँदैनन् भने नि? के तपाईंले शिर निहुराउनुपर्छ?
२.दानियल प्रार्थना गर्ने मानिस थिए।
दानियलले कति-कति समयमा उनको परमेश्वरलाई प्रार्थना र धन्यवाद चढाउँथे (दानियल ६:१०)? ___________________________________ _______________________
प्रार्थना नगर्न इन्कार गरेको हुनाले उनलाई सिंहहरूको खोरमा फ्याँकियो! तपाईं कति-कति समयहरूमा प्रार्थना गर्नुहुन्छ? के तपाईंले आफैंलाई कुनै पनि कुराले प्रार्थना गर्नदेखि रोक्न दिनुहुन्छ?
३.दानियल बाइबल पढ्ने मानिस थिए।
दानियलले परमेश्वरको वचनलाई प्रेम गर्दथे र पढ्दथे अनि यसलाई विश्वास गर्दथे। दानियलले यर्मियाको पुस्तक पढेर बेबिलोनी निर्वासन केवल ७० वर्ष लामो हुनेछ भन्ने ज्ञान पाएको कुरा हामीले दानियल ९:२ बाट जान्न सक्छौं। दानियलको निम्ति परमेश्वरको वचन अति महत्त्वपूर्ण थियो! के तपाईंको निम्ति यो महत्त्वपूर्ण छ?
राज्यमा उच्च पारिएको
दानियलले आफ्नो जीवनकालमा विभिन्न राज्यहरूको उत्थान र पतन देखे। उनले यहूदा (उनको आफ्नै मानिसहरू) को पतन देखे र बेबिलोनीहरूको उत्थान देखे। उनले आफ्नो जीवनकालमै बेबिलोनीहरूको पतन पनि देखे (दानियल ५) र मादी-फारिसीहरूको उत्थान पनि देखे। जुनसुकै राज्यको हातमा शक्ति भए तापनि, दानियललाई जहिल्यै पनि धेरै उच्च पद दिइन्थ्यो। परमेश्वरको आशिष उनीमाथि थियो (दानियल २:४८; ६:१-३ पढ्नुहोस्)। जसरी यूसुफ मिश्रको राज्यमा नेतृत्व र सामर्थ्यको स्थानमा उच्च पारिएका थिए, ठीक उसरी नै दानियल पनि बेबिलोनीहरू र फारिसीहरूको राज्यमा नेतृत्व र सामर्थ्यको स्थानमा उच्च पारिएका थिए।
राजाहरू र राज्यहरूको बारेमा एउटा पुस्तक
दानियलको पुस्तक राजाहरू र राज्यहरूको बारेमा हो। दानियल पुस्तकको २ र ७ अध्यायाहरूमा हामीले संसारको आउनेवाला राज्यहरूका बारेमा दुई ठूला भविष्यवाणीहरू भेट्टाउन सक्छौं। दानियल २ अध्यायले संसारको राज्यहरू मानवीय नजरबाट वर्णन गर्दछ। राजाको सपनामा देखिएको मूर्तिलाई तल चित्राङ्कन गरिएको छ:
यही चार राज्यहरू वा संसारका साम्राज्यहरू दानियल ७ अध्यायमा परमेश्वरको नजरबाट एउटा क्रूर, निर्दयी र निल्ने किसिमको पशुहरू (जङ्गली जनावर) को रूपमा देखाइएको छ:
- १)दानियल ७:४ मा बेबिलोनी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ? ___________________
- २)दानियल ७:५ मा मादि-फारिसी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ? ___________________
- ३)दानियल ७:६ मा ग्रीक साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ?__________________
- ४)दानियल ७:७ मा रोमी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ?
___________________

सयौं-सयौं वर्षहरूदेखि इस्राएल पशुहरू (दुष्ट अन्यजाति साम्राज्यहरू) द्वारा शासन गरिँदै आइरहेको छ; यो कुरा आज पनि सत्य छ किनभने अधिकांश यहूदीहरू संसारको विभिन्न राज्यहरूमा बसोबासो गरिरहेका छन्। इस्राएल अन्यजातिहरूका शासनको अधिनमा रहिरहेको समयलाई “अ____________ स_________” भनिएको छ (लूका २१:२४)। यस समयावधिमा, संसारमा अन्यजातिहरूको सामर्थ्य उच्च स्थानमा हुनेछ। अन्यजातिका समयहरू बेबिलोनी निर्वासनबाट सुरु भएको थियो र येशू ख्रीष्ट संसारमा आफ्नो राज्य स्थापित गर्न आउनुहुने समयमा यसको अन्त्य हुनेछ। सयौं वर्षहरूदेखि इस्राएल देश अन्य राज्यहरूद्वारा र अन्य मानिसहरूद्वारा शासन गरिँदै आइरहेको छ। परमेश्वरलाई आफ्नो राजा र शासक हुन इन्कार गरेको कारण यहूदीहरूले धेरै दु:ख भोगेका छन्।
पाँचौ राज्य
दानियलको पुस्तकले वास्तवमा पाँच राज्यहरूको बारेमा बताउँदछ। त्यहाँ चार अन्यजातिका साम्राज्यहरू छन् (बेबिलोन, मादी-फारिसी, ग्रीस र रोम), तर दानियल २:४४ र ७:१३-१४ मा पाचौँ राज्यको बारेमा पनि वर्णन गरिएको छ। यो कसको राज्य हो? _________________________________________________________ एकदिन परमेश्वर स्वयंले संसारमा राज्य गर्नुहुनेछ!
परमेश्वरले राज्य गर्नुहुनेछ र परमेश्वरले राज्य गर्दैहुनुहुन्छ!
यहूदीहरूले दुई महत्त्वपूर्ण कुराहरू जानेको दानियल चाहन्थे। १) भविष्यमा परमेश्वरले संसारमा राज्य गर्नुहुनेछ। परमेश्वरको राज्य वास्तवमै यस संसारमा आउनेछ र यो चाहिँ संसारले अहिले सम्म थाह गरेको मध्ये सबैभन्दा महिमित राज्य हुनेछ (दानियल २:४४ र ७:१३-१४); २) यहूदीहरूले जान्नुपर्ने त्यहाँ अर्को कुरा पनि थियो। परमेश्वरले भविष्यमा राज्य गर्नुहुनेछ, तर उहाँले आज पनि संसारमा राज्य गर्नुहुन्छ! दानियलको दिनहरूमा भएका यहूदीहरूले सम्भवत: यस्तो सोच्थे होलान्: “आजको दिनमा बेबिलोनीहरूले संसारमाथि शासन गर्छन्। सबै नियन्त्रण तिनीहरूको हातमा छ। एकदिन सायद हाम्रो परमेश्वरले संसारमाथि राज्य गर्नुहुनेछ होला, तर आज राजा नबूकद्नेस्सरले संसारमाथि राज्य गरेका छन्!” तर दानियलले उनीहरूलाई परमेश्वरले आज पनि संसारमा राज्य गर्नुहुन्छ भनी सम्झना गराए! उहाँ वर्तमान समयमा पनि सर्वोच्च शासक हुनुहुन्छ!
चाबी पद
दानियल ४:१७ मा यस पुस्तकको चाबी पद भेट्टाउन सकिन्छ: “यस उद्देश्यले कि जीवित प्राणीहरूले यो _________, कि _______________ मानिसहरूको _________ शासन गर्नुहुन्छ; अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यो दिनुहुन्छ”। (दानियल ४:३२-३७मा पनि हेर्नुहोस्, यी ती पदहरू हुन् जसले हामीलाई एउटा समयको बारेमा बताउँछ जब राजा नबूकदनेस्सरले को चाहिँ साँचो राजा हुनुहुन्छ भनी स्वीकार गरेका थिए!)। आज परमेश्वरले संसारमा शासन गर्दै हुनुहुन्छ! परमेश्वरले पूरै नियन्त्रण गर्नुभएको छ! परमेश्वरले हरेक सांसारिक शासकमाथि राज्य गर्नुहुन्छ, र उहाँले राजाहरू हटाउनुहुन्छ र राजाहरू बसाल्नुहुन्छ (दानियल २:२१)। परमेश्वरको अनुमति बिना कोही पनि राजा वा शासक हुन सक्दैन (यूहन्ना १९:११ हेर्नुहोस्)!
आज पनि परमेश्वर यस ब्रम्हाण्डको सिंहासनमा हुनुहुन्छ भनी हामीले सम्झना गर्नु पर्छ। हाम्रो वरिपरि भएका राज्यहरू एकदम शक्तिशाली देखिन सक्छन् (जस्तै रसिया, चाइना राज्यहरू इत्यादि), तर परमेश्वर सबैमाथि शासन गर्नुहुन्छ! हामीले यही परमेश्वरलाई हाम्रो हृदयहरूमा राज्य र शासन गर्न दिनुपर्छ!
बेबिलोनीहरू यहूदामाथि बिजयी त भए तर तिनीहरू यहूदाका परमेश्वरमाथि बिजयी हुन सकेनन्! परमेश्वरले यस दुष्ट राज्यलाई उहाँको इच्छा पूरा गर्न प्रयोग गर्नुभयो र त्यसपश्चात उहाँले बेबिलोनको इन्साफ गर्नुभयो (दानियल ५ अध्याय)! राज्यहरू उत्थान होलान् र पतन होलान् तर परमेश्वर सदा-सर्वदै उहाँको सिंहासनमा बिराजमान हुनुहुन्छ!
दानियल र प्रकाश
दानियललाई “पुरानो नियमको प्रकाशको पुस्तक” भनिएको छ। दानियलमा पाइने अगमवाणीहरू प्रकाशको पुस्तकमा (मत्ती २४ अध्यायमा पनि) पाइने अगमवाणीहरूसँग धेरै मात्रामा दुरुस्त छन्। वास्तवमा, दानियलको पुस्तक बिना प्रकाशको पुस्तकका केही खण्डहरू बुझ्न झण्डै असम्भव नै हुन्छ। मत्ती २४ अध्यायको सवालमा पनि यो सत्य छ। मत्ती २४ मा भएको येशूको ठूलो अगमवाणी बुझ्न सक्नकाई मानिसहरूले दानियलको पुस्तक बुझेको उहाँ चाहनुहुन्छ (मत्ती २४:१५)। यही कारणहरूले दानियलको पुस्तक बाइबलका अगमवाणीका पुस्तकहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण छ।
दानियलको पुस्तकको अर्को चाबी पद दानियल २:२२ मा पाउन सकिन्छ: “उहाँ (परमेश्वर)ले गहिरा-गहिरा र गुप्त कुराहरू ____________ गर्नुहुन्छ; __________ के छ, सो उहाँ जान्नुहुन्छ, अनि उहाँसित ज्योतिले वास गर्छ”। परमेश्वरले दानियललाई केहि अचम्मका कुराहरू (आउनेवाला राज्यहरू र राजाहरू को बारेमा) प्रकट गरिदिनुभयो। परमेश्वर मात्रै एकजना व्यक्ति हुनुहुन्छ जसले हामीलाई आउने कुराहरू प्रकट गर्न र आउने वर्षहरूमा के-के घटनाहरू घट्नेछन् भनी बुझ्न सहायता गर्न सक्नुहुन्छ। परमेश्वरको असल पक्षमा रहनु र उहाँसँग असल सम्बन्धमा रहनु लाभदायक हुन्छ। जो यसरी बसेका छैनन् उनीहरू समस्यामा छन्!
अगमवाणीका ७० वर्षहरू
दानियलको पुस्तकमा भएका अगमवाणीहरू मध्ये एउटा महत्त्वपूर्ण अगमवाणी दानियल ९:२४-२७मा पाइने “७० हप्ताहरू” हो। येशू ख्रीष्ट यस संसारमा कहिले आउनुहुनेछ भनी बताउने पुरानो नियममा यो एउटै मात्र अगमवाणी हो। हिब्रू शब्दावली “हप्ता” ले सातको समयावधिलाई जनाउँदछ। सामान्यतया हप्ता भनेको सात दिनहरूको समय हो भन्ने हाम्रो बुझाइ छ। तर दानियल ९ अध्यायको हप्ताले सात वर्षहरूको समय ओगटने हप्तालाई जनाउँदछ। यसको अर्थ ७० हप्ताहरू =७०×७=४९० वर्षहरू। यी ४९० वर्षहरूले ख्रीष्ट संसारमा फर्केर आउनुहुने समयसम्मको सम्पूर्ण यहूदी जातिको इतिहासलाई सङ्केत गर्दछ। तलको तालिकाले सो बुझ्न मद्दत गर्छ:

दानियलको ७०औं हप्ता अझै भविष्यमै छ (दानियल ९:२७ हेर्नुहोस्)। यसलाई कहिले-काहिँ सङ्कष्टकालको समय पनि भनिन्छ। यो समय ख्रीष्ट आफ्नो राज्य स्थापना गर्न आउनुभन्दा ७ वर्ष अगाडि हो।

सुरुमा दानियलको अगमवाणी अलमल पार्ने वा कठीन देखिए तापनि हामीले यो बुझेको येशू चाहनुहुन्छ: “पढ्नेले ________” (मत्ती २४:१५)। हामी परमप्रभुमा झन्-झन् बढ्दै जाने क्रममा परमेश्वरले हामीलाई दानियलको पुस्तक बुझ्न मद्दत गर्नुभएको होस्!
मानिसहरू, विशेषगरी विश्वासीहरू परमेश्वरको शासनप्रति जवाफदेही हुनुपर्छ!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)