परागसेचन

बालबालिका विशेष

ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्‍ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ। सतहमा देख्दा अर्थहीन जस्तो तपाईंलाई लागे तापनि वास्तमा यी कुरा वैज्ञानिक ढङ्गले अति नियमपूर्वक हुने एउटा प्रक्रियाका भाग हुन् जुन प्रक्रिया एउटा आश्चर्यकर्म नै हो। यसलाई परागसेचन भनिन्छ।

एउटा फूलको सबैभन्दा मसिनो अङ्गलाई हेर्दा समेत त्यो आफ्‍नै जातअनुसारका अरू फूल उत्पादन गर्ने प्रमुख उद्देश्य पूरा गर्न रचना गरिएको देखिन्छ। हरेक अङ्गको रङ्ग, वासना, रूप, लमाइ र आकार सिद्धरूपमा यही उद्देश्यसित मिलेको पाइन्छ।

परागसेचनको समस्यालाई विचार गर्नुहोस्: फूलहरू उत्पन्न गर्न सक्ने बीजहरू विकास हुनलाई अति साना अविकसित बीजहरूिसत ठीक समयमा ठीक किसिमका सुक्ष्म पराग कणहरूको मिलन हुनुपर्छ। एउटा परागकणले आफ्‍नो काम गर्न सक्न त्यो केवल एक दुई घण्टा मात्र जीवित र सक्रिय रहन्छ। उक्त परागकणलाई  केही ईञ्च पर मात्र पुर्‍याइनुपर्ने हुन सक्छ अथवा त्यसलाई कैयौं किलोमीटर पर पुर्‍याइनुपर्ने पनि हुन सक्छ। यो उदेकको काम सम्पन्न हुन सक्नलाई परमेश्वरले हावा र किराहरूको रचना गर्नुभएको छ।

एकजना वैज्ञानिकले आफ्‍नो क्यामेरा एउटा फूलको केवल दुई ईञ्चको भागमाथि फोकस गरेर हेरेको थियो। उसले त्यहाँ प्रत्येक पाँच सेकेन्डमा एउटा किरा टुप्लुक्क आइपुगेको देख्यो। आठ घण्टाको अवधिभित्रमा त्यहाँ ५७६० पाहुनाहरू आइपुग्न भ्याए! कमिला एक मीनटमा एउटा आएको थियो। एउटा बारुला स्वाट्ट आइपुगेको थियो र एउटा कमिलोले उसलाई उसका पाउमा टेक्यो भनेर त्यसले खच्चरले जस्तै लात हान्यो! फूलहरूका केवल दुई ईञ्चभित्र यति धेरै काम भइरहेको छ! छुँदा र हल्लँदा परागकणहरू खस्छन् र तिनले आफ्‍नो काम गर्न पाउँछन् जसको फलस्वरूप बीजहरू बढ्न थाल्छन्।

हामीले एउटा शब्द प्रयोग गर्ने गर्छौं: संरक्षण। यो भनेको परमेश्वरले रचना गर्नुभएका प्रकृतिका ती नियम र सिद्वान्तहरू हुन् जसद्वारा सबै कुरा चलिरहन्छन्, जीवनलाई पाल्ने काम भइरहन्छ, एक पुस्तादेखि अर्को पुस्तासम्म जीवहरूको निरन्तरता रहिरहन्छ। परमेश्वरले सबै जीवित प्राणीहरू तिनका एक-एक अङ्गहरू र विशिष्ट रचनाहरू केवल बनाउनुभयो भन्ने मात्र होइन उहाँले ती सब जीवित प्राणीहरूलाई चलिरहने र काम गरिरहने तुल्याइरहनुहुन्छ भन्ने हो। परमेश्वर पालनहार हुनुहुन्छ। परमेश्वर संरक्षक हुनुहुन्छ।

भजनसङ्ग्रह १२१ मा भजन लेखकले लेखे:

“पहाडहरूतिर म मेरा आँखाहरू उठाउँछु; मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता परमप्रभुबाट नै आउँछ, जसले आकाश र पृथ्वी बनाउनुभयो। उहाँले तिम्रो पाउ चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन। हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न निदाउनुहुनेछ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ। दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैन, न ता रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ। परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ। परमप्रभु तिम्रो जावत-आवत अहिलेदेखि सदा-सर्वदा रक्षा गर्नुहुनेछ।”

हामी परमेश्वरलाई धन्यवाद दिइरहौं कि उहाँले फूलको एक-एक मसिनो कुराको रचना गर्न कति धेरै ध्यान पुर्‍याउनुभयो अनि हावा र किरा फटेङ्ग्राहरूको रचना गर्नुभयो जसद्वारा आँखाले देख्न नसकिने परागकणहरूलाई ठीक समयमा ठीक ठाउँमा पुर्‍याउन बन्दोबस्त गर्नुभयो ताकि बीज उत्पादन हुन सकोस्। यही परमेश्वरले झन् कति बढ्ता गरी आफ्‍ना प्रिय जनहरूसित ध्यानपूर्वक व्यवहार गर्नुहुन्छ र उनीहरूलाई वास्ता गर्नुहुन्छ।

के तपाईं उहाँको हुनुहुन्छ? के तपाईं उहाँका जनहरूमध्येका हुनुहुन्छ?

Translated and published with permission from bibleline.org

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email